विकासन्युज

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले छोडे, परशुराम कुँवर क्षेत्री आउँदै

कुमार लम्शाल काठमाडौं । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत पदबाट कुमार लम्सालले राजीनामा दिएका छन् । उनको राजीनामा बुधबार नैं बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ । यस बैंकले तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भएको छ । स्रोतका अनुसार परशुराम कुँवर क्षेत्रीलाई बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने सम्भावना उच्च छ । क्षेत्रीले यसअघि ग्राण्ड बैंक नेपाल र बैंक अफ एशिया नेपालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए । त्यसअघि उनले सिटिजन्स बैंक इन्टरनेशन र नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए । ‘अनिलकेशरी शाह, किशोर महर्जनसँग पनि कुरा भईरहेको छ । तर क्षेत्रीलाई नियुक्ती गर्ने सम्भावना बढी देखिन्छ’ स्रोतले भन्यो । शाह मेघा बैंकमा सीइओ छन् भने किशोर परशुराम कुँवर क्षेत्री महर्जनले हालै सिभिल बैंकबाट अवकाश पाएका थिए । जनता बैंकमा प्रमुख कार्यकारी अधिकृत अस्थिर भएको छ । ७ वर्ष पुरा गरेको यो बैंकले अब नियुक्त गर्ने प्रमुख कार्यकारी अधिकृत चौथो हुनेछ । संस्थापक प्रमुख कार्यकारी अधिकृत विजय पन्तले पहिलो तीन वर्ष काम गरेका थिए भने त्यसपछि नियुक्त डा रमेश कुमार भट्टराई र कुमार लम्सालले २/२ वर्ष मात्र जिम्मेवारी सम्हालेका  छन् । ३ बर्षे कार्यकाल सकिएपछि थप कार्यकालको लागि नविकरण नहुँदा पन्त बाहिरीएको थिए । भट्टराई र लम्सालले दुबैले व्यक्तिगत कारण देखाएर राजीनामा गरेका हुन् । बुधबार राजीनामा दिएका लम्सालले विकासन्युजसँग कुरा गर्दै  थप अध्ययन गर्ने चाहानाको कारण आफूले राजीनामा दिएको बताए । ‘बैंक राम्रो छ, वित्तीय अवस्था सुधार भईराखेको छ, मैले स्वेच्छाले राजीनामा दिएको हुँ’ लम्सालले भने । संस्थापक प्रमुख कार्यकारी अधिकृत विजय पन्तले पहिलो तीन वर्ष काम गरेका थिए भने त्यसपछि नियुक्त डा. रमेश कुमार भट्टराई र कुमार लम्सालले २/२ वर्ष मात्र जिम्मेवारी समालेका छन् । जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि जनतामा त्रिवेणी विकास बैंक गाभिएको थियो । दुई वटा विकास बैंक गाभेपछि जनता बैंक ठूलो बैंक बन्दैछ ।

वायुसेवा निगमलार्इ जहाज भाडामा दिन दुई कम्पनीको आवेदन, कस्ले मार्दैछ २ महिने उडानकाे बाजी ?

काठमाडौं । नेपाल वायुसेवा निगमलाई आगामी साउन २ गतेबाट एउटा ठूलो जहाज भाडामा दिन दुई वटा विदेशी वायुसेवाले आवेदन दिएका छन् । निगमले ४५ दिनको समय दिएर माग गरेको आवेदनमा भुटान एयरलाइन्सको मात्रै आवेदन परेपछि निगमले पुनः ७ दिनको समय थप गरेको थियो । उक्त ७ दिनको समयसीमामा बुधबार अन्तिम दिन अर्को एक विदेशी वायुसेवा कम्पनीको आवेदन परेको छ । वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार सात दिन सयम थप नगर्दै भुटान एयरलाइन्सको मात्रै निगमलाई जहाज भाडामा दिन आवदेन परेको थियो । वायुसेवा निगमको विनियमावलीमा एउटा कम्पनीसँग मात्रै आवेदन दिएमा पुनः समय थप गर्नुपर्ने वयवस्था अनुसार थप गरेको एक साताकोसमयमा अर्को एक विदेशी वायुसेवाको आवेदन परेको छ । उनका अनुसार कुन वायुसेवाको आवेदन परेको भन्ने विषयमा आफूले जानकारी लिएकाे छैन । दुइवटाकाे अावेदन परेकाे छ अब दुबैकाे प्रस्ताव हेरेर मात्रै भन्न सकिन्छ उनले भने । उनका अनुसार दुबै वायुसेवाको प्रस्ताव आजै बिहीबार नै खोलिने भएकोले छ । त्यसैले कुन वायुसवाको प्रस्ताव परेको छ भन्दा पनि कसले सस्तोमा सेवा दिने भएको छ भन्ने विषयले अर्थ राख्ने पनि उनको बुझाई छ । निगमले एउटा ठूलो जहाज भाडामा लिन मागेको ग्लोवल टेण्डर गत बैशाख २७ मा नै सार्वजनिक भएको थियो । वायुसेवा निगमले माग यस्तो सार्वजनिक प्रस्तावमा सात दिन अगाडि भुटान एयरलाइन्सले मात्रै आवेदन परेकोले प्रतिस्पर्धा गराउँन सहज हुने भन्दै निगमले एक साताको समय दिएर थप कम्पनीबाट आवेदनको अपेच्छा गरेको थियो । निगमले लिने जहाज आगामी साउन २ गतेबाट जम्मा २ महिनाको लागि मात्रै हुने छ । यो जहाज भाडामा दिँदा जहाज मात्रै लिने र निगम आफैंले उडाने भन्ने उल्लेख छ । यस अघि निगमलाई निगमलाई जहाज भाडामा दिन नेपालकै हिमालय एयरलाइन्सले पनि इच्छा देखाएको भएपनि यसले आवेदन नदिएको उल्लेख छ । वायुसेवा निगमसँग हाल १५८ सिट क्षमताको एयरवसको ए३२० नामक दुईवटा न्यारोवडी जहाज छ । १९० सिट क्षमताको दुईवटा बोइङको बी ७५७ जहाज भएपनि एउटा भने विक्रीमा राखिएको छ । एउटाले मात्रै उडान गरिरहेको छ । आगामी साउनबाटै निगमको एउटा ठूलो जहाज नियमति मर्मतमा जाने र उक्त जहाज आउन २ महिना लाग्ने भएकोले सो समयमा जहाज अभावमा निगमको उडान प्रभावित नहोस भनेर भाडामै लिएर पनि संचालन गर्न लागिएको निगमले जानकारी दिएको छ ।

व्रिटानिया अब नेपालमै उत्पदन, नेपालमै एक अर्ब रुपैयाँको उद्योग खुल्दै

काठमाडौं । भारतको चर्चित विस्कुट तथा वेकरी ब्रान्ड व्रिटानिया अब नेपालमा नै उत्पादन हुने भएको छ । यसका लागि ब्रिटानियाले उद्योग विभागबाट स्वीकृति लिएको छ । ब्रिटानियाले बारा जिल्लामा उद्योग स्थापना गरी विभिन्न विस्कुट र बेकरी उत्पादन गर्ने गरी विभागमा उद्योग दर्ता गराएको छ । यसका लागि कम्पनीले विभागबाट १ अर्ब ११ कारोड रुपैयाँको स्वीकृत लिएको विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । यसले एक अर्ब लगानी गरेर ३ सय ४५ जनलाई रोजगारी दिने भएको छ । यो कम्पनीले आगामी डेढ वर्षमा नै उत्पादन थाल्नेगरी तयारी पनि गरिरहेको छ । भारतीय व्यवासायीक समूह दी बाडिाया ग्रुपको सिस्टर कम्पनी ब्रिटानियया इन्डट्रिज लिमिटेड भारतको पब्लिक कम्पनी हो । यसको ब्रान्ड भारत तथा दक्षिण एसियामै चर्चित छन् । नयाँ पत्रिका दैनिकबाट ।

संस्थापकले नै किनेनन् देवः विकास बैंकको ३ लाख ५६ हजार कित्ता सेयर

काठमाडौं ।  देवः विकास बैंकको साढे तीन लाख कित्ता सेयर संस्थापकले नै नकिनेका कारण लिलाम बढाबढमा विक्री हुने भएको छ । यो बैंकले गत माघ ९ गतेदेखि फागुन २७ सम्म खुला गरेको हकप्रद सेयर विक्रीमा संस्थापककै चासो कम देखिएको छ । यो बैंकले संस्थापक समूहको ३ लाख ५६ हजार २९७ कित्ता सेयरको न्युनतम एक सय रुपैयाँ कबोल गर्ने गरी विक्रीमा राखेको सूचाना जारी गरेको छ । यो सेयरमा आवदेन दिन यही जेठ २८ गतेबाट असार १ भित्र आवेदन दिइसक्नुपर्ने छ । यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।

एनआइसी एसियाको २ लाख ९८ हजार सेयरको लिलाम बिक्रीमा

काठमाडौं । एनआइसी एसिया बैैंक लिमिटेडको २ लाख ९८ हजार ५३६ कित्ता सेयरको लिलामीमा विक्री हुने भएको छ । यो बैंकको गत चैत १६ देखि बैशाख १९ गतेसम्म माग गरिएको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण तर्फको यो सेयर लिलाम बढाबढमा विक्री हुने भएको छ । न्युनतम एक सय रुपैयाँ कबोल गरेर एक सय कित्ता वा सो भन्दा बढी सेयरको लागि आवेदन दिनुपर्ने छ । यही असार १ गतेबाट खुला हुने गोप्य सिलवबन्दी मार्फत याे सेयर खरिदकाे आवेदन ८ गतेभित्र दिइसक्नुपर्ने पनि बैंकले जानकारी दिएको छ । यसको बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड हो ।

हिमालयन पावरको २१ लाख कित्ता साधारण सेयर निष्कासन, असार १ देखि आवेदन खुला

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले २१ लाख ३० हजार ८३४ कित्ता साधारण सेयर निष्कासन गरेको छ । प्रति कित्ता १ सय रुपैयाँ अंकित यसको साधारण सेयरमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । जम्मा ५ प्रतिशत सेयर अर्थात १ लाख ६ हजार ५४२ कित्ता सामूहिक लगानी कोषको लागि राखेर बाँकी सेयर सर्वसाधारणको लागि निष्कासन गरेको यो कम्पनीले जानकारी दिएको छ । न्युनतम ५० कित्ता सेयरको आवेदन दिन पाउने र अधिकतम १० हजार कित्ताको आवेदन दिन पाइने यसको सेयर यही आगामी असार १ गतेबाट खुला हुने छ । सेयरको आवदेन दिन असार १ देखि छिटोमा ५ गते र ढिलोमा १५ गते भित्र आवेदन दिइसक्नु पर्ने छ । यसको सेयरको आवेदन दिन ग्लोवल आइएमई क्यापिटल जमल, हिमालयन पावर लिमिटेड पानीपोखरी, ग्लोवल आइएमई बैंकको कठमाडौं बाहिरका ८ शाखाबाट दिन सकिने छ । काठमाडौं क्यापिटल लिमिटेड काठमाडौं प्लाजासहिको काठमाडौंका ९ वटा क्यापिटल लिमेटेड र नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त आश्वा प्रणलीमा आवेदन दिन सक्ने बैंकबाट यसको सेयरको आवेदन दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड हो ।

सपनाकाे देश ठानिने अमेरिकाबाटै सात नेपाली निष्कासित

काठमाडौ । अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निस्कासन गरेको छ। निष्कासित सातै जनालाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधवार साँझ ल्याइएको हो। जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो। निष्कासित हुनेमा रामेछापका टासी शेर्पा, रूकुमका तारक पुन मगर र धनीराम बुढा, पोखराका केशव थापा, हेम्जाका चित्रबहादुर थापा र मकवानपुरकाक रवीन्द्र बलामी तथा बागलुङका अमर बस्नेत छन्। उनीहरू ९ देखि १६ महिनासम्म अमेरिकाको अध्यागमन हिरासतमा बसेका थिए। अमेरिकास्थित नेपाली दूतावासले उनीहरूको ट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको अध्यागमनले उनीहरूलाई निष्कासन गरेको हो। अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अवैध रूपमा अमेरिका छिरेका ७ नेपालीलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको पुष्टी गरे। ‘यसबाट अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्नेले पाठ सिक्नुपर्छ। यो घटनाबाट सबैमा सकारात्मक सन्देश जाओस्,’ गेलालले भने।

साझा यातायातले समेतले समेत ताेकिएभन्दा बढी भाडा लियाे, सरकारी लगानीकाे दुरूपयाेग

काठमाडौं । सरकार र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयुक्त अनुगमन टोलीले उपत्यकाको विभिन्न ठाउँमा सञ्चालन हुने ५८ वटा यातायातका साधनको अनुगमन गरिएकोमा साझा यातायातसहितका ३६ वटाले तोकिएको भन्दा बढी भाडा लिएको पाइएको जानकारी गराएको छ। साझा बस चलाउन सरकारले हरेक वर्ष अनुदान दिदै अाएकाे छ । अनुगमन टोलीले तोकिएको भन्दा बढी भाडा लिने सवारीचालकलाई पाँच हजार जरिवानासहित तोकिएको भन्दा बढी लिइएको भाडा फिर्ता दिन लगाइएको विभागका प्रवक्ता एवं बजार अनुगमन संयोजक श्रेष्ठले जानकारी गराए। उनका अनुसार तोकिएको भन्दा बढी भाडा फिर्ता गर्न अटेर गर्ने दुई सवारीसाधनलाई नियन्त्रणमा लिइएको र तिनीहरूलाई उपभोक्ता ठगीको मुद्दा लगाई कारबाही अगाडि बढाइनेछ। सरकारले पटक–पटक माछा मासु पसलको अनुगमन गरे पनि अधिकांश पसलले सडेगलेको र दुर्गन्धित माछामासु बिक्री वितरण गर्ने गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयोजकत्वमा पशु सेवा विभाग, सुरक्षाकर्मी, पत्रकार उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन टोलीले बुधबार भक्तपुर क्षेत्रमा सञ्चालित माछामासु पसलको अनुगमन गर्दा यस्तो पाइएको हो । विभागका निर्देशक एवं बजार अनुगमन प्रमुख लक्ष्मण श्रेष्ठको नेतृत्वमा गरिएको अनुगमनका क्रममा भक्तपुरस्थित विके साह मिटसपको फ्रिजमा राखिएको कुखुराको मासुमा कीरा पर्नुका साथै पसलमा छिर्न नसक्ने गरी दुर्गन्ध रहेको पाइएपछि तत्काल मासुको कारोबार नगर्न र सफासुग्घर गर्न निर्देशन दिइएको छ । निर्देशक श्रेष्ठले उपभोक्ताको स्वास्थ्यमा हानि हुने खालको सडेगलेको मासु बिक्री गरेकाले निज व्यापारीको स्थानीय सुरक्षाकर्मीको निगरानीमा सरसफाई गरेर तत्काल दुर्गन्ध हटाउन निर्देशन दिइएको जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा भक्तपुर ठिमी चारदोबाटोस्थित काठमाडौँ कोल्ड स्टोरमा विक्रीका लागि राखिएको २४ केजी खसी र कुखुराको मासु पनि दुर्गन्धित हुनुका साथै ढुसी लागेको देखिएपछि नष्ट गरियो । मासु पसलकै अनुगमनका क्रममा भक्तपुरकै व्यासीस्थित बारिहरी अनिमाको कोल्डस्टोरबाट पनि कुहिएको दुर्गन्धित १९ केजी मासु नष्ट गरिएको अनुगमन संयोजक श्रेष्ठले जानकारी गराए। कैफियत देखिएका मासु व्यवसायीलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको भन्दै उनले व्यवसायीसँगको बयानपछि थप कारबाही प्रक्रिया अघि बढाउने बताए। मङ्गलबार भक्तपुर क्षेत्रमा सञ्चालित सातवटा मासु पसलको अनुगमन गर्ने क्रममा अधिकांशले सामान्य सरसफाईमा र नियम पालनामा ध्यान नदिएको पाइएकाले पसललेलाई मूल्यसूची र साइनबोर्ड राख्न, कामदारले माक्स, पन्जा तथा एप्रोनको प्रयोग गर्न, दर्ता गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दिइएको पनि जानकारी गराइयो । यसैगरी अनुगमन टोलीले उपत्यकाका विभिन्न ठाउँमा वटा मिठाई पसल र तीनवटा पेट्रोल पम्प अनुगमन गरेकोमा सामान्य अवस्था पाइएको पनि जानकारी गराइएको छ । यस्तै बुधबार अनुगमनमा खटिएको अर्को अनुगमन टोलीले उपत्यकाका विभिन्न ठाउँमा चारवटा पेट्रोल पम्पको अनुगमन गरिएकोमा जोरपाटीस्थित जीएमवि इन्टरप्राईजेज जोरपाटीको मिटरमा कैफियत देखिएकाले उक्त पम्पको कारोबार रोक्का गरिएको जनाएको छ । विभागका अनुसार स्वास्थ्यसेवातर्फ जम्मा ११ वटा औषधि पसलको अनुगमन गरिएकोमा अधिकांशमा औषधि तथा कस्मेटिक आइटम बिना ईजाजत बिक्री वितरण गरेको पाइएकाले इजाजत लिएर मात्र बिक्री गर्न निर्देशन दिइएको छ । त्यसैगरी चारवटा खानेपानी उद्योगको अनुगमन गरी जार र बोटलको पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको पनि विभागले जनाएको छ । गाेरखापत्र दैनिकबाट ।