मानवसेवा आश्रमलाई नेपाल एसबिआई बैंकको सहयोग, खाद्यान्न र नगद सामग्री हस्तान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंकले मानवसेवा आश्रम, धनगढी (कैलाली)लाई अत्यावश्यक सामग्री र नगद आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले यस प्रकारको सहयोगमार्फत सडकमा बसोबास गर्ने घरबारविहीन, शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई राहत प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई सामग्री तथा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइरालासहित बैंक तथा आश्रमका अन्य वरिष्ठ पदाधिकारीहरू समेत उपस्थित थिए । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायस्तरमा यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव गर्छौ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने जानकारी दिएका छन् । बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वल्र्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताएका हुन् । मन्त्री पाण्डेका अनुसार, यसअघि ४७ औं बैठकमा तिलौराकोटलाई सूचीमा समावेश गराउने नेपाल सरकारको प्रयास प्राविधिक कमजोरी र कूटनीतिक असहमतिका कारण सफल हुन सकेन । उनले भने, 'भारतले प्रस्तावित स्थलका सम्बन्धमा ३३ बुँदे असहमति राखेको थियो, जसका कारण प्रक्रिया जटिल भयो । तर नेपालसँग तिलौराकोटको ऐतिहासिकता पुष्टि गर्ने पर्याप्त प्रमाणहरू छन्, अब समस्या आउँदैन ।' त्यसैगरी, मन्त्री पाण्डेले लुम्बिनीलाई युनेस्कोको ‘खतरा सूची’मा पर्न नदिन भारतले सहयोग पुर्याएको तथ्य समेत सार्वजनिक गरे । यद्यपि, लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गर्दै उनले केही सुधारात्मक कामहरू अगाडि बढेको र आगामी दिनमा योजनाहरू थप व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।
अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी हुने
काठमाडौं । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो । मन्त्री पौडेलले अस्पतालहरुमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सके सम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरुलाई भनेका थिए । यसअन्र्तगत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरुले मन्त्रालयसमक्ष जनाएको नौबुँदे प्रतिबद्धता अन्तर्गत नै भीड व्यवस्थापन गर्ने विषय समेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए ।
हाइलाइफले भित्र्यायो भारतको नम्बर वान बासमती चामल, मूल्य कति ?
काठमाडौं । हाइलाइफ फूड्सले भारतको नम्बर वान ब्राण्ड बासमती चामल नेपाल भित्र्याएको छ । भारतको लालकिल्लाब्राण्डको बासमती चामललाई नेपालमा हाइलाइफले आफ्नो ब्राण्डिङमा बिक्री वितरण गर्ने भएको हो। बुधबार बुढानिलकण्ठस्थित लेमोन ट्री हाटेलमा आयोजना गरिएको कार्यक्रमममा व्यवसायी मीन बहादुर गुरुङको आथित्यतामा उक्त चामलको सार्वजनिक गरिएको हो । कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले आम उपभोक्तासम्म पुग्न उत्कृष्ट उत्पादन बासमती चामल ल्याएको जानकारी दिए । बासमती चामलका लागि भारतको उत्कृष्ट कम्पनी लालकिल्लासँग सहकार्य गरेको उनले बताए । ‘लालकिल्लाभारतको उत्कृष्ट ब्राण्ड हो । लालकिल्लाब्राण्डको बासमति चामल नेपाली उपभोक्ता माझमा असाध्यै लोकप्रिय छ । जुन चामल अब हाइलाइफ ब्राण्डमार्फत नेपालमा भित्र्याएका छौं,’ पौडेलले भने । हाइलाइफले बासमती चामललाई तीनवटा प्रकारमा बजारमा उपलब्ध गराउने छ । अध्यक्ष पौडेलका अनुसार हाइलाइफ एक्स्ट्रा लङ्ग ग्रेन, हाइलाइफ पुलाउ र हाइलाइफ लो जी बासमती राइस क्याटागोरीमा बजारमा उपलब्ध हुनेछन् । तत्कालका लागि कम्पनीले १ केजी, ५ केजी र २० केजीको प्याकेजिङमा बासमती चामल बिक्री वितरण गर्ने उनले बताए । ‘निकट भविष्यमा ग्राहकको चाहना तथा मागअनुरूप हामीले यसलाई १० केजी र १५ केजीको समेत प्याकेजिङ गर्नेछौं,’ पौडेलले भने । कम्पनीका अनुसार चामलको मूल्य प्रतिकेजी २२५ रुपैयाँदेखि २५० रुपैयाँ तोकेको छ । २० केजीको मूल्य भने ३ हजार रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ । कम्पनीले सबैभन्दा चर्चित ब्राण्ड चिउरासहित चोको प्लस, चोको फिल्स, कन्फ्लेक्स, सोया, मस्यौरा, बेसन, चिया, ओट्स लगायतका २० वटाभन्दा बढी प्रडक्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
इप्पानले सार्वजनिक गर्यो ‘पावर समिट, २०२५’ को लोगो
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’को लोगो सार्वजनिक गरेको छ । आगामी असोज २९ र ३० गते (१५-१६ अक्टोबर,२०२५) काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटको लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो । 'मिसन २८ हजार ५०० मेगावाट: पावरिङ नेपाल, इनर्जाइजिङ रिजन' भन्ने मुल नारा सहित आयोजना हुन लागेको समिटको लोगोमा नेपालको ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विकास र भविष्यको उच्चस्तरको सम्भावना देखाइएको छ । यसको मूलखण्डमा रहेको हरियो पातजस्तै संरचनाले दिगोपनको संकेत गरेको छ भने, यहाँबाट नेपालको ऊर्जा उत्पादनका विभिन्न स्रोतहरू जस्तो जलविद्युत, सोलार, वीन लगायत पनि देखाइएको छ । लोगोमा ठूलो आकारमा देखाइएको जलविद्युत आयोजनाले नेपालको विशाल जलस्रोत क्षमता र स्वच्छ ऊर्जाको मुख्य आधार नै जलविद्युत हो भन्ने दर्शाउँछ । यसको छेउमा देखिएका आधुनिक ब्याट्री ऊर्जा भण्डारण प्रणालीहरूले नेपालको ऊर्जा सुरक्षातर्फको यात्रालाई झल्काएको छ । त्यस्तै, सौर्य ऊर्जा लगायतले नवीकरणीय ऊर्जातर्फको विविधिकरणको पनि एकसाथ संकेत गरेको छ । पहाड र हिमालभरी देखिएका प्रसारण लाइनले नेपालमको विद्युत सीमापारका बजारमा विक्री गर्ने अन्तरदेशिय विद्युत व्यापारको तयारीलाई झल्काएको छ । विद्युतीय सवारी चार्जिङ स्टेशन, औद्योगिक क्षेत्र र सडक बत्तीहरूले उत्पादन भएको ऊर्जा देशका विभिन्न क्षेत्रमा कसरी प्रयोग भईरहेको छ भन्ने देखाएको छ । लोगोमा प्रयोग भएका यी कुराले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै दक्षिण एशियाली क्षेत्रलाई ऊर्जा निर्यात गर्ने सम्भावनातर्फ लैजाने राष्ट्रको दुरदर्शी यात्रालाई प्रतिबिम्बित गरेका छन्। पावर समिटको संरक्षकत्व ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गरेको छ भने कन्ट्रि पार्टनरका रुपमा भारतीय राजदूतावास रहेको छ । समिटमा १० वटा विभिन्न समसामयिक सत्रहरुमा छलफल हुनेछ भने ३० देशका १ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने अनुमान गरिएको छ ।
‘हुन्डाई असम अगस्ट’ योजना सार्वजनिक, ८ लाख रुपैयाँसम्म नगद छुट
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई असम अगस्ट’ योजना सुरु गरेको छ । यसमा ग्राहकहरूले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् । साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुने कम्पनीले जनाएको छ । हुन्डाईको स्टल नम्बर एल फोर रहेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ । योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ । नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन् । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन् । दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ । हुन्डाईले आफ्नो ग्रान्ड आई टेन निओस, भेन्यू, क्रेटा इलेक्ट्रिक, क्रेटा आईसीई र आयोनिक फाइभजस्ता आधुनिक मोडलहरुसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको छ ।
सेयर बजारमा ७ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ अंकले बढेर २८३३ बिन्दुमा झरेको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३२० कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, शिवम् सिमेन्टको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड र बलेफी हाइड्रोको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कामना सेवा विकास बैंक र स्काइ वाकबीच टिकट शुल्कमा छुट सम्बन्धी सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौं कमलादीस्थित स्काइ वाकबीच सेवा शुल्कमा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, बैंकका ग्राहक तथा कर्मचारीहरूले स्काइ वाकको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा लिन ग्राहकहरूले बैंकसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात देखाउनुपर्नेछ । बैंकले उक्त सहकार्यले आफ्ना सेवाग्राहीहरूलाई मनोरञ्जन तथा विश्रामसँग जोडिएको नयाँ अनुभव प्रदान गर्नुका साथै विशेष लाभ दिलाउने विश्वास व्यक्त गरेको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइ वाकका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।