आजदेखि उपत्यकामा हर्न बजाउँन प्रतिवन्ध, हर्न बजाए १५ सय रुपैयाँ जरिवाना
काठमाडौं । उपत्यकामा आजदेखि हर्न निषेधित क्षेत्र नियम लागू भएको छ । उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो नियम लागू गरिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका डिआइजी मिङमार लामाले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिएको जानकारी दिए । त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । घुमाउरो बाटो र दुर्घटना जोखिमकाे क्षेत्रमा हर्न बजाउन पाइने यो नियम लागू भएपछि दुईवटा अवस्थामा मात्र हर्न बजाउन पाइन्छ । एउटा घुमाउरो बाटो र अर्को दुर्घटना हुने जोखिम अवस्थामा मात्रै सवारीचालकलाई हर्न बजाउने नियममा छुट दिइएको छ । यसबाहेक हर्न बजाए प्रहरीले कारबाही गर्ने व्यवस्था छ । हर्न बजाएमा पहिलोचोटिका लागि पाँच सय, त्यसपछि क्रमशः एक हजार, १ हजार ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । प्रहरीलाई पनि निषेध सडकमा गुड्ने सम्पूर्ण सवारीसाधनका लागि यो नियम लागू गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निजी, सार्वजनिक मात्र नभएर सरकारी र प्रहरी गाडीमा पनि यो नियम लागू हुनेछ । कुनै पनि सवारीचालकले यो नियम उल्लंघन गरे तोकिएको जरिवानाअनुसार कारबाही गरिने डिआइजी लामाले बताए । नयाँ पत्रिका दैनिकबाट ।
२०७३ मा आर्थिक विकास उच्च, २०७४ सालको शुभसंकेत
काठमाडौं। अघिल्लो वर्ष गएको गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सरकारको मूलउद्देश्यमा सकारात्मक लक्षण देखिएको छ । आर्थिक वर्ष २०७३/७४को बजेटमा भनिएजस्तै आर्थिक क्षेत्रले उत्पादकत्व र उत्पादन वृद्धि गरी उच्चदरको आर्थिक वृद्धि गर्ने सपना विस्तारै पूरा होला भन्ने सकारात्मक अपेक्षा गर्न सकिने अवस्था देखिएका छन् । शून्य दशमलव ८ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर चालु आवमा ६.५ प्रतिशतले वृद्धि हुने सरकारको अपेक्षाले पनि अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको हो । त्यसैगरी वित्तीय क्षेत्रमा देखिएको सुधार, सेवा क्षेत्रको मनोबल उच्च र निजी क्षेत्रमा देखिएको उत्साह, पुँजी निर्माणमा देखिएको सक्रियताजस्ता सकारात्मक पाटाले आर्थिक जगतमा उत्साह देखिएको हो । आर्थिक क्षेत्रको अर्को पाटोलाई हेर्ने हो भने नयाँ संविधानको कार्यान्वयन र वित्तीय सुधारका लागि भनेर सार्वजनिक गरिएको बजेटको कार्यान्वयनमा जोडदार प्रयास गरिएको भनिए पनि चित्त बुभ्mदो अवस्था देख्न नसकिएको तीतो यथार्थ पनि यस वर्ष गर्नुपरेको छ । सरकारले यस आर्थिक वर्षलाई ‘बजेट कार्यान्वयन वर्ष’का रुपमा व्याख्या गरेको भए पनि अपेक्षित सुधारको अपेक्षा अधूरै हुने देखियो । चालु आवको तीन महिना मात्र बाँकी रहँदा सरकारले ४२।१० प्रतिशत खर्च गरेको छ । चालुतर्फ ५२ प्रतिशत, पुँजीगततर्फ २६ र वित्तीय व्यवस्थातर्फ ३३.४४ प्रतिशतमात्र खर्च भएको छ । यो अपेक्षित सुधार होइन । तर, राजस्व सङ्कलनमा भने गत वर्षका जस्तै सकारात्मक देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र एसियाली विकास बैंकले पनि सरकारले राखेको आर्थिक लक्ष्य पूरा हुने बताएका छन् । तर शून्य विन्दुबाट अपेक्षित सुधारमा चित्त बुझाउन त्यति ठूलो उपलब्धिका रुपमा लिनु पनि ठिक होइन । आर्थिक क्षेत्रमा सार्वजनिक जवाफदेहिता कमजोर भएकाले पनि मुलुकको आर्थिक क्षेत्रको मनोबल उठ्न नसकेको प्रस्ट देखियो । महालेखाको ५४औंँ वार्षिक प्रतिवेदनमा बजेट व्यवस्थापन, सार्वजनिक खरिद व्यवस्थापन, राजस्व प्रशासनका क्षेत्रमा जवाफदेहिता नगरेको देखिएको उल्लेख हुनुु पक्कै पनि आर्थिक क्षेत्रका लागि प्रिय होइन । आर्थिक क्षेत्रमा देखिएका आर्थिक गतिविधिबारे अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राडा पुन्यप्रसाद रेग्मीले तुलनात्मकरुपमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशले पनि अर्थतन्त्रमा राम्रो वातावरण बनाएको बताउनुभयो । काठमाडौँमा भएको पूर्वाधार सम्मेलन र लगानी सम्मेलनले नेपाल लगानीका लागि उपयुक्त उर्वरभूमि रहेको सन्देश दिन सफल भयो । अन्तर्राष्ट्रिय समुदायले नेपालमा लगानी गर्ने उच्चमनोवलका साथ प्रतिबद्धता जनाउनु सकारात्मक अवस्था हो । मौसममा देखिएको सुधारका कारण कृषि क्षेत्र सकारात्मक हुनु, ऊर्जा क्षेत्रमा छलाङ मार्न सफल हुनु र राजनीतिमा ठूलो उथलपुथल नदेखिएकाले पनि त्यसको प्रत्यक्ष फाइदा आर्थिक क्षेत्रमा देखिएको अर्थशास्त्री रेग्मीको बुझाइ छ । भारतले गरेको ‘डिमोनिटाइजेसन’को प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा देखियो तर अनौपचारिक रुपमा रहेको भारुले मुलुकको आर्थिक अङ्कलाई प्रभावित पारेको भने देखिएन । आगामी आर्थिक वर्ष पक्कै राम्रो होला यस वर्षमा देखिएका आर्थिक अवरोध आगामी वर्ष न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुकका ग्रामीण अर्थतन्त्र चलायमान हुने भएकाले आर्थिक क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ । मुलुकको आर्थिक स्रोत प्रत्येक जनतासम्म पुग्ने विश्वास गरिएकाले आगामी आर्थिक वर्ष आर्थिक समृद्धिका लागि कासेढुङ्गा सावित हुने अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राडा रेग्मीको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “विसं २०७४ साल पक्कै राम्रो हुन्छ ।” मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाएर सन् २०२२ मा विकासोन्मुख र सन् २०३० सम्ममा मध्यमस्तरको आय गर्ने मुलुकको सूचीमा पु¥याउने लक्ष्य भेट्टाउन पनि आर्थिक वृद्धिदर ८ देखि १० प्रतिशतमा पु¥याउनुपर्नेछ । नेपाल उद्योग वाणिज्य महासङ्घका नव निर्वाचित अध्यक्ष भवानी राणाले विसं २०७४ साल राज्यले राखेका लक्ष्य पूरा गर्न सहयोग गर्ने गरी मुलुकको आर्थिक क्षेत्र अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचपछि मुलुकमा आर्थिक सुधार हुन्छ ।” विगतको भूकम्प र आपूर्तिमा देखिएको अवरोधका कारण मुलुकमा देखिएको आर्थिक शिथिलताको असर अब नहरने बताउँदै अध्यक्ष राणाले आर्थिक समृद्धिको बाटो खुला हुने सकारात्मक लक्षण देखिएको छ, भन्नुभयो । रासस
पर्यटनका लागि उत्साहपूर्ण वर्ष– २०७३
काठमाडौं । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण गरेका थिए । यसबाट नेपालको हिमाल आरोहण सुरक्षित रहेको सन्देश प्रवाह भयो । आरोहण सफलतासँगै ‘मनास्लु–ल्होत्से र मकालु कञ्चन्जङगा’ हिमालको हीरक महत्सवले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्यो । महोत्सवको अवसरमा विश्वचर्चित जुनको तावेइलगायत आरोहीको नेपाल आगमन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीको जमघटले नेपालको पर्वतीय पर्यटनको सकारात्मक सन्देश पुग्यो । त्यस्तै गत मे २९ २०१६ मा मनाइएको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा विश्वभरका आरोहीको आवागमनले थप उत्साह जगायो । पोखरामा सम्पन्न विश्व शान्ती पूजामा विश्वभरबाट आएका पाहुनाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्यो । नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सहकार्यमा देश तथा विदेशमा गरेका विभिन्न कार्यक्रमले पनि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको छ । साथै बोर्डले भूकम्प र नाकाबन्दीबाट थलिएको नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न चर्चित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, रोयटर र ट्रिप एडभाइजरसँग गरेको साझेदारीले वर्षको उत्तरार्धमा थप सकारात्मक सन्देश गयो । यसैगरी गत चैत २५ गते राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ‘ए’ ३३०–२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग खरिद सम्झौता गरेको छ । नेपालको उड्डयन इतिहासमा यति ठूलो रकम खर्चेर एकै पटक विमान खरिद गरेको यो पहिलो पटक हो । यसले नेपालको पर्यटन क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउँदा पर्यटन व्यवसायी झन उत्साहित भएका छन् । अर्कोतर्फ सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ का कारण आन्तरिक पर्यटनप्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्यो । यसरी एकपछि अर्को अन्तर्राष्ट्रियस्तरका पर्यटकीय गतिविधि, गन्तव्य प्रवद्र्धनका नयाँ प्रयास, पर्यटन सेवाको विविधिकरण र सेवा विस्तारको तीव्रताले २०७३ साललाई उपलब्धिमूलक बनायो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय पर्यटनको हिसाबले २०७३ साल उत्साहजनक रहेको र यस वर्ष पर्यटकको सङ्ख्यामा ४० प्रतिशतले वृद्धि भएको बताउनुहुन्छ । घुमफिर वर्ष २०७३ ले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो उपलब्धि हासिल गरेको र पर्यटक आवागमन बढको उहाँको बुझाइ छ । प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तीव्रता र हालै एनएसीले दुई बाइड बढी विमान खरिदका लागि गरेको सम्झौताले वर्ष २०७३ लाई निकै उपलब्धिमूलक बनायो । त्यस्तै पुरातात्विक सम्पदाको पुनःनिर्माणको तीव्रताले पर्यटन क्षेत्रमा थप उत्साह थपेको उहाँको भनाइ छ । मुलुकको अर्थतन्त्रको मूलआधार मानिने पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण बन्यो । साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै अहिले उल्लेख्य रुपमा आरोही र पदयात्री आइरहनुले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका छन् । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा पनि भूकम्प र नाकाबन्दीपछि २०७३ सालमा नेपालको पर्यटन क्षेत्रले निकै राम्रो पुनरुत्थान गरेको बताउनुहुन्छ । यस वर्ष गरिएको चर्चित अन्तर्राष्ट्रिय ‘इभेन्ट’ पर्यटन प्रवद्र्धनका नयाँ आयाम आदिले पर्यटनमा नयाँ उत्साहज जगाएको उहाँको भनाइ छ । मुलुकको पर्वतीय पर्यटनमा वर्षको सुरुमै उत्साहजनक नतिजा देखिएकोमा यस पटक पनि धेरै आरोही सगरमाथासहितका हिमाल आरोहणका लागि आएका छन् । यस वर्षको वसन्त ऋतुमा आठ सयदेखि नौ सय स्वदेशी तथा विदेशी आरोही हिमाल आरोहणमा जाने अध्यक्ष शेर्पाले बताउनुभयो । पदयात्रा पर्यटनका लागि पनि २०७३ साल निकै उपलब्धिमूलक र उत्साहजनक रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल बताउनुहुन्छ । उहाँका अनुसार यस वर्ष पदयात्रामा कुनै अप्रिय घटना भएनन् । थुप्रै पदयात्री गन्तव्यमा पुगे । पदयात्रामा समेत आन्तरिक पर्यटन प्रबद्र्धन भयो । अध्यक्ष रिजाल २०७३ हालसम्मकै उत्साहजनक वर्ष भएको दाबी गर्नुहुन्छ । वर्ष २०७३ मा मुलुकको होटल व्यवसायले निकै प्रगति हासिल गरेको पाइयो । पर्यटकीय याममा बुकिङ राम्रो भएका कारण पर्यटक बढ्ने होटल एसोसिएसन नेपाल(हान)का महासचिव विनायक शाह बताउनुहुन्छ । हानको विवरण अनुसार होटलमा हाल ३८ हजार सुविधायुक्त वेड रहेका छन् । अझै थपिने क्रम जारी छ । सन् २०२० सम्ममा चार हजार अन्तराष्ट्रियस्तरका सुविधायुक्त वेड थपिदैछन् । होटल व्यवसायमा लगानी पनि बढेको छ । काठमाडौँलगायत मुख्य सहरमा उत्साहपूर्ण लगानी रहेको हानले जनाएको छ । विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्ष (सन् २०१६) मा सात लाख २९ हजार पर्यटक नेपाल घुम्न आएका छन् । अहिलेसम्म सबैभन्दा बढी सन् २०१२ मा आठ लाखको हाराहारीमा पर्यटक नेपाल आएका थिए । अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा जम्मा पाँच लाख ५४ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस
टाटा मोटर्सको प्रमुख शोरुम नेपालगञ्जमा
नेपालगञ्ज । भारतको सवैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफनो् प्रमुख शोरुम नेपालगञ्जमा शुरु गरेको छ । टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ्ग प्रा.ली. ले आफनो महत्वपुर्ण ग्राहकहरुको लागी आधुनिक तथा सुविधा सम्पन शोरुम तथा विक्री पश्चात दिने सेवा सुविधा केन्द्रको नेपालगञ्जमा स्थापना गरेको छ । टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रा.ली. को प्रतिबद्घता अनुुसार आफनो सजांल नेपाल भरी फैलाउने क्रममा नेपाल भित्रको सबैभन्दा ठुुलो सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको छ । कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेहिकलका कार्यकारी निर्देशक रवीन्द्र पिसारोड्डीले भने, “नेपाली बजारमा टाटाको कमर्सियल गाडीहरुको व्यावसायिक संजाल नेपालमा बिस्तार भएकोमा अत्यन्त हर्षित छु । विश्व बजारमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेलिरहेको टाटाका ब्रान्डहरुले उपभोक्ताको आवश्यकता र भावनाहरुलाई नजिकसँग बुझेको छ । यही स्वरुप टाटाले नेपालगञ्जमा बिक्री र सेवाको शुरुवात गरेको छ । अन्तर्राष्ट्रिय स्तरको यो सेवाबाट टाटाका हरेक प्रकारका कमर्सियल गाडीहरुले भरपूर रुपमा गुणस्तरीय एवं प्रभावकारी सेवा प्राप्त गर्नेछन् ।” कार्यक्रममा बोल्दै टाटा मोर्टसका अन्तंराष्ट्रिय ब्यापार, कमर्सियल भेहिकल्स युुनिट का प्रमुुख रुद्ररुप मैत्रले भने “ नेपाल टाटा मोर्टसको लागी एउटा केन्द्रीत बजार हो र आफना ग्राहकहरुलाई स्तरीय विक्री तथा विक्री पश्चात को सेवा अनुभवको निश्चीत गर्नेको लागी नेपाल भित्र आफनो ब्यापार विस्तार गर्ने रणनितीक योजना अनुुरुप यो एउटा थप पहल हो । उच्च कुुशलता हासिल गरेको तालीम प्राप्त टोलीले ग्राहकहरुको चाहाना र आवश्यकता अनुुसार जति सक्दो चाँडो र भरपर्दो उपायहरु अवलम्वन गरि आधुुनिक विधी अनुुसार सेवा दिने ब्यवस्था मिलाइएको छ ’’। टाटा मोटर्सको यो सेवा सुविधा केन्द्र रणनितीक रुपमा नेपालगञ्जमा स्थापना गरिएको छ जहाँ टाटा मोटर्सका सम्पुर्ण रेन्जका उत्पादनहरुको झलक देख्न सकिने गरि सजावट गरिएको छ । यसमा १५ वटा बे अत्याधुनिक इक्वीपमेन्ट सहित सुसज्जित छन् र ग्राहकहरुको हरेक आवश्यकता अनुसार सेवा दिन तालीम प्रप्त प्राविधीकहरु हाजिर हुने छन् । ग्राहकहरुलाई आफनो गाडीको अधिकतम उपयोग गर्ने मौँका मिलोस भनेर ठाउँमै गएर सेवा दिन मोवाइल सर्भिस गाडीहरुको पनि ब्यवस्था गरिएको छ । यी सबै प्रगतीहरुबाट टाटा मोटर्सले नेपालको बजारमा आफना ग्राहकहरुलाई पुर्ण सन्तुष्टी दिने प्रतिबद्धता झल्काउँदछ । सेवा सुविधा केन्द्रको उद्धाटन सगै कार्यक्रममा पहिलो मोबाइल वर्कशपको पनि शुरुवात गरियो । १६१३ /५२ च्यालीस माथी बनाइएको मोबाइल वर्कशप गाडी भीत्र समग्र रुपमा टाटा कमर्सियल गाडीहरुको मर्मत तथा सभिसीडं गर्न सक्ने गरि इक्वीपमेन्टहरु जडान गरिएको छ । यो मोबाइल वर्कशपको साथै सिप्रदीले टाढा रहेका गाउहरुमा गएर विक्री पश्चातको सेवाहरु दिने र त्यस्तै गरि शहरी क्ष्त्रहरुमा पनि साना गाडीहरु मर्मत सेवा प्रदान गनै लक्ष्य राखेका छ । आफना ग्राहकहरुलाई विक्री पश्चात दिने विभीन्न मुल्य अभिबृद्री सेवाहरु मध्य यो पनि एउटा थप सेवा भएको छ ।
निजगढ विमानस्थलको मुआब्जाका लागि ५० करोड तयार, एक कठ्ठा जमिनको ४ लाख ६० हजारसम्म
काठमाडौं । निर्माणाधिन निजगढ विमानस्थलको मुआब्जा दर निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा निर्धारण समितिले प्रति कठ्ठा २ लाख ४१ हजारदेखि ४ लाख ६० हजारसम्म हुने गरि मुआब्जा निर्धारण गरेको हो । मुआब्जा निर्धारण गरेपछि आयोजनाले निवेदन दिनका लागि ३५ दिने सूचना समेत प्रकाशित गरिसकेको छ । मुल सडकले छोएको जमिनको प्रति कठ्ठा मूल्य ४ लाख ६० हजार तोकिएको छ भने सडक नपुगेको जमिनको मूल्य २ लाख ४१ हजार ५ सय रुपैंयाँ तोकिएको छ । सहायक सडकले छोएको जमिनको मुल्य भने प्रति कठ्ठा ३ लाख ३९ हजार २ सय ५० रुपैंयाँ तोकिएको छ । निजगढ विमानस्थल आयोजनाका प्रमुख हरि अधिकारीका अनुसार ११० बिगाह जमिनको मुआब्जाका लागि ५० करोड रुपैंयाँ लाग्नेछ । जमिन बाहेक नागरिकका घर तथा अन्य भौतिक संरचनाको पनि मुआब्जा वितरण गरिनेछ । त्यसको दर रेट पनि तय भैसकेको छ । बाँसको टाटीदेखि पक्की घर तथा परालको बार लगाइएका घरहरुको प्रति वर्ग फिटका दरले मुआब्जा दर निर्धारण गरिएको छ । नरिवल, तेजपात, पिपल, फुलका बिरुवाको समेत मुआब्जा दर निर्धारण गरिएको छ । जिल्ला प्रशासनले प्रति वर्ग फिट तीन सय रुपैंयाँदेखि एक लाख रुपैंयाँसम्म मुआब्जा दिने प्रस्ताव गरेको हो । आयोजना प्रभावित क्षेत्रमा रहेका नागरिकले अबको २० दिनभित्र आयोजनाको कार्यालय सिमरा विमानस्थलमा पुगेर आफ्नो कागजात बुझाउनु पर्ने प्रमुख अधिकारीले बताए । मन्त्रि परिषदले ६ लाख ८४ हजारको संख्यामा रहेका रुख काट्ने र ८० वर्ग किलोमिटर क्षेत्रको वरिपरि सडक बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ । वातावरिणय प्रभाव मुल्यांकन(इआइए)को ६० प्रतिशत भन्दा बढि काम सम्पन्न भैसकेको अधिकारीले जानकारी दिए ।
नेप्सेले दियो नयाँ वर्षको शुभकामना, प्रथम त्रैमासमा अनलाईन कारोबार शुरु गर्ने
काठमाडौं । नेप्सेले नयाँ वर्ष २०७४ को अवसरमा सम्पूर्ण लगानीकर्ता, नियामक निकाय, धितोपत्र व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुमा शुभकामना दिएको छ । नयाँ वर्षको शुभकामना दिँदै नेप्सेले आगामी आर्थिक वर्षको प्रथम त्रैमासमा अनलाईन कारोबार प्रणाली सञ्चालन गर्ने बताएको छ । साथै, नेप्सले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली स्थापना तथा सञ्चालन गर्ने गरी काम अगाडि बढाइ सकेको बताएको छ । नेप्सेले लगानीकर्ताहरुको दोस्रो बजारमा पहुँचलाई सहज बनाउन उक्त प्रणाली शुरु गर्न लागेको हो ।
सेञ्चुरी बैंकको १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्ताव बिहीबार सम्पन्न कम्पनीको छैठौ वार्षिक साधारण सभाले पारित गरेको हो । साथै, साभाले सेयरधनीलाई ४० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीको बैंक सञ्चालक समितिको प्रस्ताव पनि पारित गरेको छ । उक्त सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्वीकृति समेत प्रदान गरेको छ । यी संस्था प्राप्ती पछि मात्र बैंकले सो मात्राको हकप्रद निष्कासन गर्ने भएको छ । यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७ करोड पूँजी र चार संस्था प्राप्तीबाट करिब २ अर्ब रुपैयाँ पूँजी थप हुनेछ । त्यस्तै, नपुग पूँजीको लागि ४० प्रतिशत हकप्रद शेयर र चालु आ.व.को मुनाफाबाट ८ अर्ब रुपैयाँ पूँजी पुग्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यालयहरु करिब ९० वटा हुने छन् ।
सिभिल बैंकले बचत खातामा ५ प्रतिशत देखि ७ प्रतिशत ब्याज दिने
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा नव वर्ष २०७४ को अवसरमा बचत खातामा ५ देखि ७ प्रतिशत सम्मको वार्षिक व्याजदर दिने भएको छ । यस नयाँ व्याजदरले न्यून व्याजदरका कारणले बैंकमा निक्षेप नराख्ने ग्राहकहरु पनि आकर्षित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । बैंकले यस अघि पनि २०७३ फाल्गुन १ गते १ प्रतिशतले बचत खातामा व्याजदर बृद्धी गरेको थियो । यस नयाँ व्याजदरले न्यून व्याजदरका कारणले बैंकमा निक्षेप नराख्ने ग्राहकहरु पनि आकर्षित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । आगामी दिनमा सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ नयाँ योजना अघि सार्ने पनि बताएको छ ।