विकासन्युज

राष्ट्रिय बाणिज्य बैंक र नागरिक लगानी कोषबीच सेवा सम्झौता

काठमाडौं, ३ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषबीच रकम संकलन तथा ट्रान्सफर गर्ने सम्बन्धमा एक समारोहका बीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरेका छन् । नागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले सो सम्झौता भएको बैंकले जनाएको छ । उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले दुई ठूला सरकारी निकाय बीचको संझौताले कर्मचारीको वचत बानी विकासमा थप सघाउ पुग्ने अपेक्षा गरेका छन् । आगामी आर्थिक वर्षमा बैंकले पुनस्थापना गर्ने ३० वटा शाखा कार्यालयको सेवाबाट कोषका बचतकर्ता र सर्वसाधारण जनता लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले यो सम्झौताले नागरिक लगानी कोषका ५ लाख ७० हजार बचतकर्ता लाभान्वित हुने बताएका छन् । यस नयाँ सम्झौता अनुसार नागरिक लगानी कोषको बैंकका विभिन्न शाखामा रहेका अनेकौं खाताहरु बन्द गरि स्किम अनुसारको ६ वटा केन्द्रिकृत खाताहरु मात्र संचालन गरिने बैंकले जनाएको छ ।

अब सबै कर्मचारीसँग करार सम्झौता, पहुँचका भरमा सरुवा नहुने

काठमाडौं, ३ साउन । सरकारले सबै कर्मचारीसँग कार्य सम्पादन करार सम्झौता गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम एंव बजेट कार्यान्वयनका लागि भन्दै आर्थिक वर्षको सुरुमै सबै कर्मचारीसँग करार सम्झौता गर्न लागिएको हो । अब सबै मन्त्रालयहरुले आफ्ना मातहतका कर्मचारीसँग कार्य सम्पादन करार गरेर मात्रै कार्य क्षेत्रमा खटाउने छन् । सोही कार्य सम्पादन करार सम्झौतालाई कर्मचारीको बढुवा लगायतका वृत्ति विकासमा समेत मुल्यंकनको आधार बनाईनेछ । कर्मचारीले आफुले प्राप्त गरेको जिम्मेवारी पुरा नगरेको आरोप लागेपछि सरकारले कार्य सम्पादन सम्झौता अनिवार्य गरेको हो । त्यस्तै, सरकारले एक आर्थिक वर्षभित्र कुनै पनि कर्मचारीको सरुवा नगर्ने निर्णय समेत गरेको छ । कुनै पनि कार्यालयमा खटिएका कर्मचारीको चाँडो चाँडो हुने सरुवाले काम प्रभावित भएको निष्कर्ष निकाल्दै सरकारले एक आर्थिक वर्षसम्म सरुवा नगर्ने निर्णय गरेको हो । यसले विकासे आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सहयोग गर्नेछ । पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने–‘कर्मचारीलाई काम प्रति जिम्मेवार बनाउने निर्णय साह्रै राम्रो छ, यस्तो निर्णय धेरै पहिले हुनुपथ्र्याे ।’ उनले आफ्ना कार्यकालमै कार्यसम्पादन करार सम्झौता र एक आर्थिक वर्षभित्र सरुवा नगर्ने नीति कार्यान्वयन गर्न खोजेपनि सफलता प्राप्त नगरेको पनि बताए । उनले अब कर्मचारीहरुको काम प्रति जिम्मेवारीपन बढ्ने र मन्त्री तथा पहुँचवालाको दबावमा सरुवा हुने प्रवृत्तिको अन्त्य हुने अपेक्षा समेत व्यक्त गरे । मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षमा सोमबार बसेको सरकारका सचिवहरुको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि सरकारले अघिल्लो आर्थिक वर्षको अन्तिमसम्म विकासे आयोजनाका प्रमुखहरुको सरुवा नगर्ने निर्णय गरेको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैंकले दियो सुरक्षा बचत खाता बीमाको एक लाख रुपैयाँ

काठमाडौं, ३ साउन । नेपाल इन्भेष्टमेण्ट बैंकले बचत खाता धनी स्वर्गीय जसोदा देवी कानु वानीयाको जीवन बीमा बापतको एक लाख रुपैयाँ इन्स्योरेन्स उपलब्ध गराएको छ । बैंकले बैंकमा खाता खोल्ने ग्राहकहरुका लागि १ लाख रुपैयाँको निशुल्क जीवन बीमा वा २ लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा गराउदै आएको छ । सोही व्यवस्था अनुरुप बचत खाता धनी जसोदा देवी कानु वानियाको कानूनी वारिस, इन्स्योरेन्स गर्ने व्यवस्था अनुसार गणेश कानु बानीयालाई एक लाख रुपैयाँ दिएको छ । बैंकले नेपाल लाईफ इन्स्योरेन्ससँग मिलेर “सुरक्षा बचत खाता” धनीहरुका लागि निशुल्क जीवन बीमा वा दुर्घटना मृत्यु बीमाको सुविधा उपलब्ध गराई आई रहेको छ । यो सुबिधा हाललाई १८ देखि ६० बर्षका सम्पूर्ण नेपाली नागरिकहरुका लागी उपलब्ध रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अग्नि इन्कर्पाेरेटेड अन्तर्गत महिन्द्राको नयाँ शोरुम लगनखेलमा

काठमाडौं, ३ साउन । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले ललितपुरको लगनखेलमा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले ग्राहकहरुका माझ सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले सोमबार उक्त स्थानमा सो शोरुमको सुरुवात गरेको हो । कम्पनीले टियूभी र इन्ट्री–लेभल एस्यूभी गाडी, केयूभी१००को विक्री वितरण पनि उक्त लगनखेल शोरुम मार्फत गराउने भएको छ । महिन्द्राका शोरुम मार्फत सेवाग्राही समक्ष आफ्ना सेवाहरुको पहुँच सफलता पूर्वक बढाउँदै जाने लक्ष्य लिइको छ । अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आई आफ्ना सेवाहरु सञ्चालन गर्दै आएको छ । यस शोरुमले ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स अनि उत्कृष्ट सेवा प्रस्तुत गर्नेमा कम्पनी विश्वस्त रहको विज्ञप्तिमा उल्लेख छ ।

लघुवित्तका लगानीकर्तालाई फेरी झट्का, गुमाउने १० कम्पनीमध्ये ८ वटा लघुवित्त मात्रै

काठमाडौं, ३ साउन । लघुवित्त कम्पनीका लगानीकर्ताले गुमाउने क्रम सोमबार पनि निरन्तर बनेको छ । बजार ४० दशमलब ८३ अंकले बढेर एक अर्ब ९५ करोडको कारोबार हुँदा पनि लघुवित्त कम्पनीहरुको सेयर मुल्यमा भने निरन्तर गिरावट नै आयो । सोमबार गुमाउने टप १० कम्पनीमध्ये ८ वटा माइक्रोफाइनान्स मात्रै रहेका छन् । सबै भन्दा धेरै नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रति सेयर २७० रुपैयाँ गुमाएका छन् । नेरुडेको सेयर मुल्य घटेर २४३० रुपैंयामा आईपुगेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले पनि प्रतिकित्ता ३३५ रुपैंयाँ गुमाएका छन् । यो कम्पनीको सेयर मुल्य घटेर ३०२० रुपैंयाँमा आइपुगेको छ । नेपाल ग्रामिण विकास बैंकको लगानीकर्ताले प्रति कित्ता ७० रुपैंयाँ गुमाउँदा कम्पनीको सेयर मुल्य १०१० मा झरेको छ । त्यस्तै, आइएलएफसीओ माइक्रोफाइनान्सको मुल्य १४५ रुपैंयाँ घटेको छ । यसको सेयर मुल्य १३५० रुपैयाँमा आइपुगेको छ । मिथिला लघुवित्त कम्पनीका लगानीकर्ताले पनि प्रति कित्ता १४५ रुपैयाँ घाटा खाएका छन् । यो कम्पनीको सेयर मुल्य २४२० मा सिमित भएको छ । विजय लघुवित्त कम्पनीको सेयर मुल्य १५०० रुपैंयामा आइपुग्दा लगानी कर्ताले ८४ रुपैंयाँ गुमाउन पुगेका छन् । साना किसान विकास बैंकका लगानीकर्ताले पनि प्रति कित्ता ११८ रुपैयाँ गुमाउनु परेको छ । यो कम्पनीको सेयर मुल्य २१३२ मा सिमित भएको छ । त्यस बाहेक रुरल माइक्रोफाइनान्सको सेयर मुल्य ५० रुपैंयाँले घटेको । यो कम्पनीको सेयरको मुल्य १२०० मा झरेको हो । यस बाहेक सोमबार जलविद्युत लगानी तथा विकास कम्पनी र युनाइटेड फाइनान्स पनि उच्च दरमा गुमाउने कम्पनीको सूचिमा परे । जलविद्युत कम्पनीको सेयर मुल्य २१ रुपैंयाले घटेर ४५५ रुपैयाँ कायम भएको छ भने युनाइटेड फाइनान्सको मुल्य पनि ११६ रुपैयाँले घटेर ४१२ रुपैयाँमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको चुक्ता पुँजी बढाउने हल्ला चलेपछि सेयर मुल्य आकाशिएको थियो । तर केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत लघुवित्त कम्पनीको स्प्रेड दर ७ प्रतिशत तोकि दिएपछि बजार ओरालो लाग्न थालेको हो ।

सोमबार नेप्से परिसूचक ४० अंकले बृद्धि, कारोबार रकम २ अर्ब नजिक

काठमाडौं, ३ साउन । सोमबार नेप्से परिसूचक ४० दशमलब ८३ अंकले बढेर उच्च अंक १७८६ मा पुगेको छ । सो दिन १३७ कम्पनीको २८ लाख ७० हजार कित्ता सेयर एक अर्ब ९५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ७ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, किसान माइक्रोफाइनान्स वित्तिय संस्था र नेको इन्स्योरेन्सका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, अरु १४ वटा कम्पनीका लगानीकर्ताहरुले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । बजारमा नेपाल बङगलादेश बैंकको सबैभन्दा बढी १८ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको क्रमशः ८ र ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन अन्य समूह, विकास बैंक र फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१८ अंकले उकालो लागेको छ । त्यस्तै उत्पादनमलक, बैंकिङ्, हाइड्रोपावर र होटल समूहको परिसूचक क्रमशः ४४, ४०, १४ र १ अंकले बढेको छ । बजारमा अन्य समूह, विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः ११, २ र ०.२८ अंकले आरालो लागेको छ ।

सिटिजन्स बैंकद्धारा ब्याडमिन्टन खेलाडिलाई २५ हजार रुपैयाँ सहयोग

काठमाडौं, ३ साउन । सिटिजन्स बैंक इन्टरनेसनलले राष्ट्रिय ब्याडमिन्टन खेलाडि नङसल तामाङलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो नगद उपलब्ध गराउने गरि एक वर्षको सम्झौता गरेको छ । यस्तो कार्यले अन्य राष्ट्रिय खेलाडिहरुलाई पनि खेलको साथसाथै पेशागत वृत्ति विकासको कार्यमा अघि बढ्न हौसला मिल्ने विश्वास बैंकले लिएको छ । राष्ट्रिय खेलाडि नङसलले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा भाग लिएकी छिन् र पदकहरु समेत जित्न सफल भएकी छिन् । हालै उनले २०१६ को १२औं साउथ एशियन खेलको महिला टिम इभेन्टस् र महिला एकल उपाधिमा काश्य पदक र २०१० को एघारौैं साग खेलको महिला टिम इभेन्ट्मा पनि काश्य पदक जित्न सफल भएकी थिईन् ।

हुण्डाई युरोकप भविष्यवाणी प्रतियोगीतका विजेताहरु पुरस्कृत

काठमाडौं, ३ साउन । हुण्डाई युरोकप भविष्यवाणी प्रतियोगीताका विजेताहरुलाई पुरस्कृत गरिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले युरोकप सन २०१६ को अवसरमा सञ्चालन गरेको प्रतियोगीताका विजेताहरुलाई सोमबार पुरस्कृत गरेको हो । प्रतियोगीतामा शोयोश राणा, महेश रेग्मी, अभि गुप्ता ग्राण्ड विजेता बनेका थिए । जेठ २४ देखि असार २६ गतेसम्म सञ्चालन गरिएको प्रतियोगीमा अशोक सापकोटा, अनिशा बटाजु र आशिष मानन्धर टुर्नामेन्ट विजेता बनेका थिए । प्रथम भएका शोयोग राणाले ४० इञ्जको सामसङ एलइडी टिभी, दोश्रो हुने महेश रेग्मीले ३२ इञ्चको सामसङ एलइडी टिभी तथा तेश्रो भएका अभि गुुप्ताले सामसङ जे५ मोबाइल प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्ताको भविष्यवाणाी गरेका अशोक सापकोटा, उत्कृष्ठ खेलाडी भविष्यवाणी गर्ने अनिशा बटाजु र युरोकपको विजेता भविष्यवाणाी गर्ने आशिष मानन्धरले सामसङ जे७ प्राप्त गरेका हुन् । प्रतियोगीतामा २५ हजार जनाले सहभागीता जनाएका थिए । हुण्डाई ओनर्स कार्यक्रममा विजयी भई युरोकप २०१६ को फाइनल खेल गर्न फ्रान्स जाने अवसर प्राप्त गरेका अमित श्रेष्ठ र राजेन्द्र गुरुङले आफ्नो अनुभव सुनाएका थिए । मिस नेपाल २०१६ अस्मि श्रेष्ठले विजयीहरुलाई पुरस्कार वितरण गरेकी थिईन् ।