विकासन्युज

ऋणीसँग सम्मानजनक व्यवहार गर्न र बजार मूल्यअनुसार धितो लिलाम गर्न निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्ति, तिनको परिवार र सम्बन्धित नातेदारसँग सम्मानजनक व्यवहार गर्न, धितोमा उनीहरुको सम्पत्तिको सहि मूल्याङकन गर्न र बजार मूल्यअनुसार लिलाम तथा सकार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।  साथै कर्जा लिँदाका बखतमा गरिएको वाचा विपरित बारम्बार व्याजदरमा वृद्धि नगर्न/नगराउने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आइतबार निर्देएन दिएको छ । २०७३ कात्तिक ८मा सर्वोच्च अदालतबाट भएको फैसला अनुसार कर्जा लिने क्रममा नै ऋणीको सम्पत्तिको सही मूल्याङ्कन हुने बातावरणको सुनिश्चितता गर्ने, धितोमा रहेको सम्पत्ति लिलाम गर्दाको बखतको प्रचलिन बजार मोल अनुसार लिलाम बिक्री तथा सकार गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘प्रत्येक ऋणीले ठगी गर्ने नियतवश नै कर्जा लिएको रकम नबुझाएको हो भन्ने मान्यता कर्जा प्रदायक संस्थाले राख्नु उपयुक्त नहुने हुनाले ऋणी र निजका परिवारप्रति सम्मान र सहानुभूति राखी न्यायोचित तवरले कर्जा असुली गर्ने प्रक्रिया थाल्न उपयुक्त हुने हुँदा सो को सुनिश्चितता हुने गरी व्यवस्था मिलाउने’ राष्ट्र बैंकले दिएको निर्देशमा उल्लेख गरिएको छ–‘ऋण असुली प्रक्रिया प्रारम्भ भएपछि ऋणीको परिवारसँग सम्बन्धित अन्य सदस्यहरुको सामाजिक प्रतिष्ठ, इज्जत, सम्मानमा प्रतिकूल प्रभाव नपर्ने गरी आवश्यक व्यवस्था मिलाउने ।’

स्ट्याण्डर्ड चार्टर्ड बैंककाे एफपीअाेमा ३८ अर्बकाे अावेदन, शुक्रबार म्याद सकियाे तर अाइतबार १० अर्ब अावेदन थपियाे

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको फरदर एफपिओमा ३८ अर्ब २० कराेड ९४ लाख ९३ हजार५४० रूपैयाँको आवेदन परेको छ । नेपाल धिताेपत्र बाेर्डका प्रवक्ता निरज गिरीका अनुसार २ लाख २३ हजार ३०८ वटा अावेदनबाट उक्त रकमकाे सेयर माग भएकाे हाे । गिरीका अनुसार आश्वा प्रणालीमार्फत  ८४ हजार ९१६ वटा आवेदक मार्फत २४ अर्ब ५२ करोड ८ लाख ११ हजार ६८०रुपैयाँ बराबरको आवेदन परेको छ । त्यसैगरी, नगद तथा चेक फारम मार्फत १ लाख ३८ हजार ३९२ आवेदकले १३ अर्ब ६८ करोड  ८६ लाख ८१ हजार ८६० रुपैयाँ बराबरको सेयर माग भएकाे छ । याे अार्इतबार साँझसम्म धिताेपत्र बाेर्डलार्इ प्राप्त विवरण हाे । शुक्रबार रातीसम्म २८ अर्ब ४९ कराेड रूपैयाँकाे अावेदन परेकाे विवरण एनएमवी क्यापिटलले दिएकाे थियाे । अाइतबार मात्र थप १० अर्ब अावेदन परेकाे विवरण बाेर्डले दिएकाे छ । यस एफपीअाेकाे अावेदन गर्ने समय शुत्रबार नै सकिएकाे थियाे । नियम अनुसार अावेदन बुझाउने अवधि सकिएकै दिन साँझ सबै विवरण बिक्री प्रबन्धक र धिताेपत्र बाेर्डलार्इ जानकारी दिनुपर्छ ।

भैरहवाबाट गोल्छा टिमको उम्मेदवारी घाेषणा, पशुपति मुरारका र भवानी राणाकाे खुला समर्थन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि शेखर गोल्छाको समूहले भैरहवाबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ । गोल्छाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने उनको प्यानलबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञनेन्द्रलाल प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । गाेल्छा समूहलार्इ समर्थन गर्दै उम्मेदवारी घोषणा सभामा वर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरु चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ सहभागि थिए । वर्तमान अध्यक्ष मुरारका र आगामी अध्यक्ष भवानी राणा उक्त सभामा भाग लिनु र निर्वाचनको प्रतिस्पर्धामा उत्रिएको एउटा पक्षको समर्थनमा खुलेर मैदानमा जानुलाई धेरै व्यवसायीले ननिको मानेको देखिन्छ । ‘अध्यक्षको निर्वाचनले गुटको राजनीति निम्त्याएको भन्दै वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने गरि महासंघको विधान संशोधन गरिए पनि पुरानो समस्याले निरन्तरता पायो’ महासंघको एक पूर्व अध्यक्ष भने–‘कम्तिमा वर्तमान अध्यक्ष मुरारका र विधान अनुसार निर्वाचनपछि स्वतः अध्यक्ष भईसकेकी राणा चुनावी मैदानमा नउत्रिएको भए राम्रो हुन्थ्यो ।’ उम्मेदवारी घोषणा गर्न देशका विभिन्न स्थानबाट करिव ३०० जना व्यवसायी हवाईजहाज र हेलिकप्टरबाट भैरहवा उतारिएको थियो । यसअघि महासंघको निर्वाचनमा अध्यक्षको उम्मेदवारले जिल्ला जिल्लामा भोट माग्न गाडी र हवाई टिकटमा ठूलो खर्च गर्ने गरेका थिए । यसपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा हेटिकप्टर चार्टड गरेर विभिन्न जिल्लामा भोट माग्न हिडेका छन् । स्राेतका अनुसार गोल्छा समूहले निर्वाचनमा करिव १५ करोड रुपैयाँ खर्च गर्ने अनुमान गरिएकाे छ । महासंघको निर्वाचन निकै महँगो र भड्किलो भएकोमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

३ अर्बको १० करोड किलो विदेशी प्याज नेपालीका भान्छामा

काठमाडौं । के तपाइँले आफ्नो भान्छामा पाक्ने प्याज स्वदेशी हो वा विदेशी भनेर कहिल्यै ख्याल गर्नु भएको छ ? तपाइँ हाम्रै भान्छामा पाक्ने तरकारीमा स्वाद भर्न बर्षेनी अरबौं नेपाली रुपैंयाँ बाहिरिरहेको छ । गत आर्थिक बर्ष २०७२/७३ मा मात्रै ३ अर्ब १८ करोड ६२ लाख २४ हजार ७ सय ८० रुपैंयाँ मूल्यमा १० करोड ५ लाख ८ हजार २ सय ४४ किलो प्याज नेपाल भित्रिएको छ । जबकी पाँच बर्ष अघि अर्थात आर्थिक बर्ष २०६८/६९ मा एक अर्ब १७ करोड पैंयाँमा ८ करोड ३२ लाख किलो प्याज आयात भएको थियो । यो क्रम बर्षेनी वृद्धि भैरहेको छ । आव ६९/७० मा एक अर्ब ८५ करोडको ९ करोड ४६ लाख किलो प्याज आयात भएको थियो । आव २०७१/७२ मा ३ अर्ब ७६ लाखको ९ करोड ६२ लाख किलो प्याज आयात गरिएको थियो । गत आवमा नेपाल भित्रिएको प्याजको औषत मूल्य प्रति केजी ३१ रुपैंयाँ ७० पैसा पर्न आउँछ ।

बैंक अफ काठमाण्डूकाे अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । चैत ४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि लुम्बिनी बैंकको अध्यक्ष थिए । उनी पर्यटन क्षेत्रमा विस्तापित व्यवसायी हुन् । गत बिहीबार बसेको बैंककाे २२औँ वार्षिक साधारणसभाले कम्पनीको संस्थापक लगानीकर्ताको तर्फबाट सञ्जयबहादुर शाह, केदारनाथ गौतम, प्रकाश श्रेष्ठ र राधेश पन्त गरि चार जनालाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ । साथै, उक्त सभाले कम्पनीको साधारण लगानीकर्ताको तर्फबाट डा. प्रेम हेमराज सुबेदी, गोबिन्दप्रसाद शर्मा रेग्मी, सौरभ केसी र मदनलाल जोशीलाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ ।

अशोक लेलैण्डको भाईकिंग बस नेपालमा

काठमाडौं । अशोक लेलैन्ड कमर्शियल भेइकल्स्को भाइकिंग बस नेपालमा भित्रिएको छ । अशोक लेलैण्डको आधिकारिक विक्रेता एलटी ईन्टरप्राईजेजले भाइकिंग बस नेपाल भित्र्याएको हो । आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अशोक लेलैन्ड कम्पनीका उप सभापति रविकुमार पंगाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । नयाँ १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआईपी तथा मेकानिकल गर्भनर जडान गरिएका छन् । भाइकिंग बसले न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्ने प्रतिवद्धता जनाएकोे छ । एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैन्ड बसहरुले सधैं कुशल लागत र आरामदायी बसका रुपमा ख्याति कमाएको बताए । हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो । जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै बस उत्पादकमा विश्वको सोह्रौँ ठूलो कम्पनी हो । कम्पनीको भारतमा ७ ओटा कारखाना छन् र साथै खाडी मुलुक, केन्या र बंगलादेशमा पनि कारखाना छन् । अशोक लेलैण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । अशोक लेलैण्ड यात्री परिवहनको १८ सिट देखि ८० सिट सम्मका विभिन्न सवारी साधन उत्पादन गर्दै आइरहेको छ । नेपालमा कम्प्नीका ट्रक/टिप्पर, बस, लाइट कमर्सिअल गाडीहरु, डिफेन्स प्रयोजनका स्पेशल गाडीहरु बिक्रि भैरहेका छन् ।

इभरडाइमको आधिकारीक बिक्रेतामा एफजी इन्कर्पोरेटिड नियुक्त

काठमाडौं । दक्षिण कोरियाली कम्पनी इभरडाइमले एफजि इन्कर्पोेरेटिड प्रालीलाई नेपालका लागि आधिकारीक बिक्रेता नियुक्त गरेको छ । यस अघि फोर्स ग्रुपले नेपालमा इभरडाइमका हेभी इक्युपमेन्ट आयात गर्दै आएको थियो । नेपालमा इभरडाइमको बजार राम्रो देखेसँगै फोर्स ग्रुपले एफजी इन्कर्पोेरेटिड प्राली नामको भगीनी कम्पनी खोलेर आधिकारीक बिक्रेता बनेको हो । करिब पाँच बर्ष अघिदेखि नै इभरडाइमका हेभी इक्युपमेन्ट नेपाली बजारमा थिए । हालसम्म इभरडाइमका ७५ थान भन्दा बढि हेभिइक्युपमेन्ट नेपाली उपभोक्तासम्म पुगिसकेको फोर्स ग्रुपका अध्यक्ष केदार लामिछानेले बताए । कम्पनीले ९ वटा सेवा सञ्जाल मार्फत इभरडाइमका हेभी इक्युपमेन्ट बेच्ने जानकारी दिएको छ । साथै २५ जना इञ्जिनियरहरुले मर्मतको सेवा प्रदान गर्नेछन् । फोर्स ग्रुपका निर्देशक विपिन लामिछानेले हेभी इक्युपमेन्टका साथमा पार्ट पुर्जाको आयात र व्यवस्थापनमा बिशेष ध्यान दिने बताए । इक्युपमेन्ट बेच्ने धेरै कम्पनीले पार्टपुर्जा सहज रुपमा उपलब्ध गराउन नसकेको आरोप लाग्ने गरेको तर आफ्नो कम्पनीले भने समयमै आवश्यक पार्ट पुर्जा उपलब्ध गराउने उनले जानकारी दिए । इभरडाइमका रक ब्रेकर, एट्याचमेन्ट, फायर फाइटिङ भेइकल, टावर क्रेन, बुम पम्प, ह्यामर ड्रिल जस्ता उत्पादन संसारका ८० भन्दा बढि मुलुकमा उपयोग भैरहेका छन् । दक्षिण कोरियामा हेभी इक्युपमेन्टको सबै भन्दा ठुलो बजार हिस्सा इभरडाइमले ओगटेको लामिछानेले बताएका थिए ।

एनआईबिएल प्रगति फण्डको ७ करोड ५० लाख इकाई नेप्सेमा सूचिकृत

काठमाडौं । एनआईबिएल प्रगति फण्डको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ । आइतबार मात्र यो फण्डको सो मात्राको इकाई नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गरिएको छ ।