विकासन्युज

सीजी मोटोकर्पले ल्यायो तीन दिने सुजुकी एक्स्चेञ्ज मेला

काठमाडौं । सुजुकी मोटरको आधिकारिक विक्रेता सीजी मोटोकर्पले तीन दिने ‘सुजुकी एक्स्चेञ्ज मेला’ योजना ल्याएको छ । यस तीनदिने योजना मार्फत ग्राहकलाई झन्झट मुक्त कागजपत्र, सरल र कम किस्ताबन्धीको व्यवस्था गरिने कम्पनीले जनाएको छ । उक्त योजना मार्फत ८.९९ प्रतिशत न्युन व्याजदरमा फाईनान्स सुविधा साथसाथै पुनबिक्री सुविधा, सरल एक्स्चेञ्ज, एक्स्चेञ्ज बोनस, निःशुल्क २ वर्ष सर्भिसिङ्ग र ४ वर्ष वारेन्टिको सुविधा प्राप्त गर्न सकिने छ । कम्पनी अनुसार यो योजना सबै मोडलका गाडीहरुमा काठमाडौं उपत्यका भित्रका सम्पूर्ण सोरुमबाट सेवा लिन सकिन्छ । विशेष अफर अन्तर्गत ब्रिजा जेडडिआई मोडलमा विक्री मुल्य ३९ लाख ४९ हजार रुपैयाँ तोकेको छ ।

चन्द्रागिरि केबलकार दैनिक एक घण्टा बन्द, लन्च ब्रेकको व्यवस्था लागु गर्ने

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चैत ६ गते(आइतबार)देखि लागु हुने गरी दिउसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको छ । नयाँ व्यवस्था अनुसार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहिसमय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको हो । यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागु हुने छैैन । केबलकार वाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवाहरु जस्तैः–रेस्टुरेन्ट, बार, वालउद्यान नियमति संचालन हुनेछन् । स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेका छन् ।

नेप्से परिसूचक २४ अंकले उकालो लाग्दा ६८ करोडको सेयर कारोबार, सबै सूचक हरिया

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार भएको छ । आइतबार नेप्से २४ दशमलब ८५ अंकले बढेर १३८२ दशमलब १९ अंकमा पुगेको छ । परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । बजारमा ६८ करोड ७७ लाख रुपैयाँको सेयर करोबार भएको छ । सो दिन कुल १३६ कम्पनीको १४ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार करोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३६७ दशमलब ४९ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर, विकास बैंक र बैंकिङ् समूह क्रमशः ६०, ५५, १७ र १२ अंकले उकालो लागेका छन् । त्यसैगरि, अन्य समूह, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ९, ६ र २ अंकले बढेका छन् । सो दिन तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.९९, ९.९९ र ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, आइतबार यी तीन कम्पनीको सेयर मूल्य क्रमशः १४६, १३९ र ७३ रुपैयाँ रहेको छ ।

सवारी लाइसेन्स लिन सजिलो, लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने

काठमाडौं । सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ । यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारीसाधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो । यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डेले सबै नागरिकलाई सहज रुपमा सवारीसाधन अनुमतिपत्र लिन पाउन भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू गरिएको बताए । उनले भने, “ यसबाट लिखित परीक्षा दिँदा धेरै भिडभाड हुने, बिचौलियाको चलखेल हुनेलगायतका कुरा घट्छ ।” यसअघि सवारीसाधन अनुमतिपत्र लिँदा सय पूर्णाङ्कमध्ये १९ लब्धाङ्कको विषयगत र ८१ लब्धाङ्कको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए । विभागले लिखित परीक्षा दिएर अनुमतिपत्र लिएका चालकलाई फेरि अनुमतिपत्र लिँदा परीक्षा दिनु नपर्ने व्यवस्था गरेको डा पाण्डेले बताए। रासस

दीक्षा श्रेष्ठले जितिन् रेसनारी नेशनल क्याम्पियनसिपको उपाधी

काठमाडौं । ‘रेसनारी नेशनल क्याम्पियनसिप २०१७’ को प्रतियोगितामा दीक्षा श्रेष्ठले प्रथम स्थान हासिल गरेकी छिन् । त्यसैगरी वर्षा बस्नेतले दोस्रो र सुनिता देसारले तेस्रो स्थान हासिल गरेकी छिन् । ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा आयोजना सम्पन्न उक्त रेसिङ च्याम्पियनसिपमा २१ जना महिला राइडरले ११० सिसीको होन्डा नाभी कुँदाएका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई क्रमशः रु. १० हजार, ७ हजार र ५ हजार नगद, शिल्ड र प्रमाणपत्ररेसनारी नेसनल च्याम्पियनसिप प्रदान गरिएको छ । मोटरसाइकल रेसिङका प्रथम विजेतालाई आगामी वर्ष एसियाली स्तरको रेसिङमा भाग लिन थाइल्यान्ड/मलेसिया पठाउने व्यवस्था गरिने छ । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेन्द्र श्रेष्ठ (राजु) ले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् । युवायुवतीहरुका बीचमा लोकप्रिय उक्त इभेन्ट गत वर्षदेखि सञ्चालन गरिएको हो । नेपालकै लागि नयाँ, रोमाञ्चकारी र साहसिक मानिने उक्त रेसनारी प्रतियोगिता महिला बाइक राइडरहरुलाई लक्षित गरि सञ्चालन गरिएको हो । नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले यो प्रतियोगिता सञ्चालन गर्छ । पर्वतीय खेलकुद महासंघको प्रस्ताव एवं समन्वयमा पाँचौ पर्वतीय खेलकुद महोत्सव २०१७ अन्तर्गत यस पटक यो प्रतियोगिता सञ्चालन गरिएको हो ।

नलसिङ गाड जलविद्युत आयोजनाको अनियमितता छानविनको दायरामा, १० करोड ३९ लाखको नोक्सानी कसले व्यहोर्छ ?

काठमाडौं । नलसिङ गाड जलविद्युत आयोजनाको परामर्श दाता छनौटमा भएको अनियमितता छानविनको दायरामा आएको छ । ११ करोड बढि रकम कबोल गर्ने कम्पनीलाई परामर्श दाताका रुपमा छनौट गरिएको तथ्य फेला परेपछि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले छानविनका लागि उप समिति गठन गरेको हो । नलसिङ गाड जलविद्युत आयोजना विकास समितिले भ्याट बाहेक ८६ करोड ६५ लाख ६६ हजार २ सय ३३ रुपैंयाँ कबोल गरेको एएफ कन्सल्ट जेभीलाई नदिएर भ्याट बाहेक एक अर्ब १९ करोड ९१ लाख ५६ हजार ८ सय ३२ रुपैंयाँ ८१ पैसा कबोल गरेको स्मेक जेभीलाई परामर्श दाताका रुपमा छनौट गरेको थियो । एएफ जेभीले भ्याटसहित एक अर्बमा काम गर्ने भनेको थियो भने स्मेक जेभीले भ्याट सहित एक अर्ब २८ करोडमा काम गर्ने भनेको थियो । स्मेक जेभील एक अर्ब ११ करोडमा काम गर्ने भनेपछि विकास समितिले उसैलाई परामर्श दाताका रुपमा छनौट गरेको थियो । यसबाट राज्यलाई १० करोड ३९ लाख ३१ हजार ४२ रुपैंयाँ ५३ पैसा नोक्सानी भएको सांसदहरुले आरोप लगाएका छन् । तर आयोजना विकास समितिका प्रमुख मोति बहादुर कुँवरले भने प्राबिधिक पक्ष बलियो देखिएकाले १० करोड ३९ लाख बढि कबोल गरेको कम्पनीलाई परामर्श दाता छनौट गरेको बताए । परामर्श दाता छनौट गर्दा ८५ प्रतिशत अंकभार प्रबिधिक पक्षको र १५ प्रतिशत आर्थिक प्रस्तावको अंकभार रहने नियम अनुसार नै स्मेक जेभीलाई छानेको पनि बताएका थिए । बैठकमा सांसदहरुले १० करोड भन्दा बढि रकम राज्यलाई हानी भएको भन्दै छानविन गरेर कारवाही गर्नुपर्ने बताएका थिए । सांसद पशुपति चौलागाईँ, रामहरी खतिवडा, मोहन बहादुर बस्नेत, विकास लम्साल लगायतले आयोजनाको काम नरोकी छानविन अघि बढाउनु पर्ने धारणा राखेका थिए । ‘राज्यलाई करिब ११ करोड घाटा लागेको छ, त्यो नोक्सानी कसले व्यहोर्छ’, सांसद रामहरी खतिवडाले प्रश्न गरेका थिए । लेखा समिलते एक महिना भित्रै छानविन सम्पन्न गर्नेगरि उप समिति गठन गरेको छ ।

‘बजाज डोमिनार ४००’ नेपाली बजारमा, मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ मात्र

काठमाडौं । बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू ‘बजाज डोमिनार ४००’ बाइक बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारमा सो बाइकको मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ डोमिनार ४०० ले रोमाञ्चक अनुभव प्रदान गर्नेछ, जून अन्य मोटरसाइकल भन्दा अत्यन्तै पृथक छ । यसमा आधुनिक चेसिस इन्जिनियरिङका साथमा ३७३ दशमलव ३ सीसीको ट्रिपल स्पार्क डीटीएसआई इन्जिन रहेको छ । यसमा ३५ पीएस २८००० आरपीएम आठ अधिकतम टर्क ३५-एनएम-२६५०० सम्म दिन सक्ने क्षमता रहेको छ । यसमा ६ स्पिड गियरबक्स र स्लिपर क्लच राखिएको छ भने यसले १ सय ४८ किलोमिटर प्रतिघण्टाको उच्च गति प्रदान गर्छ । डोमिनार ४०० ले शून्यदेखि सय किलोमिटर प्रतिघण्टाको गति केवल ८ दशमलव २३ सेकेन्डमा नै तय गर्न सक्ने कम्पनीको भनाइ छ । यसले ४६ दशमलव १९ मिटरमा सय किलोमिटर प्रतिघण्टाबाट शून्यमा ब्रेकिङ गर्न सक्छ । यसमा भएको एड्भान्स लिक्विड कुलिङ सिस्टमले इन्जिनको कार्यक्षमतालाई निरन्तरता दिँदै लामो यात्राका लागि सहज बनाउँछ । यसमा ३२० एमएमको फ्रन्टमा रहेको डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । यसमा रहेको डुअल च्यानल एबीएस (एन्टीलक ब्रेकिङ सिस्टम) ले ब्रेकिङलाई सुरक्षित बनाउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यस बाइकमा ११०/७० सेक्सन टायर फ्रन्टमा र १५०÷६० सेक्सन टायर रियरका साथमा १७ इन्चको एलओए ह्वील राखिएको छ । डोमिनार ४०० पेरिमिटर सशक्त फ्रेमका साथै कन्टाउर प्रेस्ड स्टिल स्विङआमले सशक्त यात्राको अनुभूति दिन्छ । यसको फ्रन्टमा ४३ एमएमको टेलिस्कोपिक फर्क र मल्टी स्टेप एड्जस्टेबल मोनो सक राखिएको छ । डोमिनार ४०० मा बाइकको श्रेणीमा फुल एलईडी हेडल्याम्पका साथै अटोमेटिक हेडल्याम्प अन विशेषता रहेको छ, जसले युनिक र प्याटेन्टेड प्रविधिको सहकार्यले स्तरीय कार्य दक्षता दिन्छ । सानदार आकार र अवस्थिति गर्दै बजाज डोमिनारको लम्बाइ २ हजार १ सय ५६ एमएम, चौडाइ ८ सय १३ एमएम तथा १ हजार १ सय १२ एमएमको उचाइ प्रदर्शित गरिरहेको छ । यस बाइकमा १ हजार ४ सय ५३ एमएमको ह्वीलबेस छ भने यसको ग्राउन्ड क्लियरेन्स १ सय ५७ एमएम रहेको छ । यसका साथै बाइकको इन्धन ट्यांकको क्षमता १३ लिटरको छ भने यसको कुल तौल १ सय ८२ केजी रहेको कम्पनीले जनाएको छ ।

कुमारी बैंकको ५० प्रतिशत हकप्रद खुला, वैशाख १० गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । कुमारी बैंकले सर्वसाधारणको लागि ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले चैत ६ गते (आइतबार)देखि  ५० प्रतिशत (अर्थात २ बराबर १ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी २०७४ वैशाख १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ३२४ रुपैयाँमा कारोबार भएको थियो ।