विकासन्युज

राजविराज र धरानमा सिद्धार्थ इन्स्योरेन्सका दुई शाखा थपिए

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले राजविराज र धरानमा दुई नयाँ शाखा थपेको छ । दुबै शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरेका थिए । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै बीमा समितिका अध्यक्ष चापागाईले सिद्धार्थ इन्स्योरेन्स सर्वसाधारणमा बीमाको चेतना जगाउने काममा अगाडी बढेकाले भोलिका दिनमा अझै सेवा बिस्तार गर्दै जानेमा आफु विश्वास रहेको बताए । उनले नयाँ शाखा मार्फत कम्पनीले स्थानियलाई बीमाको पहुँच पुर्यान सहयोग पुग्ने बताए । उक्त अवसरमा स्थानिय व्याक्तित्वहरुले पनि सिद्धार्थ इन्स्योरेन्सले यस क्षेत्रलाई महत्व दिएकोमा खुशी व्यक्त गरेका थिए । यी दुई शाखा सहित सिद्धार्थ इन्स्योरेन्सको शाखा संख्या ३४ पुगेको छ ।

किंग्स् कलेजले ‘हाम्रो उत्सव’को आयोजना गर्ने, फाल्गुन १७ गतेदेखि शुरु

काठमाडौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा रमनोरञ्जन विषय बस्तुअन्तर्गत यहि फाल्गुन १७ देखि १८ गतेसम्म काठमाडौं कमलादीस्थित एकेडेमी हलमा ‘हाम्रो उत्सव’को आयोजना गर्न लागेको छ । गत वर्षको किंग्स् उत्सवको अपार सफलतापछि कलेजले यस कार्यक्रमलाई आफ्नो वार्षिक फ्ल्यागसिप कार्यक्रममको रुपमा स्थापना गर्ने उदेश्यका साथ हाम्रो उत्सवको नाममा आयोजना गर्न लागेको हो । किंग्स् कलेजको प्रमख दृष्टिकोण तीनवटा ईः यजुकेशन(शिक्षा), आन्टरप्रेनरशिप (उद्यमशिलता) र इन्टरटेनमेण्ट (मनोरञ्जन) माथि प्रमुखजोड दिइएको यस उत्सव स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुकालागि नेपालको सबैभन्दा बृहत कार्यक्रम हुने अपेक्षा लिइएको छ । साथै, यस सातदिने वार्षिक कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुको ज्ञान, शिप, अनभव र प्रतिभाको प्रस्फुटन गराउन अत्यावशेक मञ्च प्रदान गर्नेछ । विभिन्न क्रियाकलाप तथा प्रतिस्पर्धाहरुको सँगालो यस उत्सवले विद्यार्थीहरुलाई उनीहरुको उद्यमशिलता क्षमताको प्रदर्शन गर्न, लुकेर बसेको श्रृजनशिलताको उद्घाटन गर्न र मनोरञ्जन र उत्साहको क्षण प्रदान गर्न सहयोग गर्नेछ । “गतवर्ष किंग्स् उत्वसको नाममाअन्तर विजनेश स्कुलप्रति स्पर्धाको रुपमा सुरु भएको यस कार्यक्रम हाम्रो उत्सवको रुपमा परिबर्तीत र बिस्तारित भइ नेपाल भरीको विद्यार्थीहरुकामाझ एक बृहत प्रतिस्पर्धाको रुपमा स्थापित हुन लागेको छ,”कलेजका कार्यकारी निर्देशकएवं प्रिन्सिपल नरोत्तम अर्यालले भने, “हामीले आफ्नो स्वरुप र क्षमताको प्रबद्र्धनद्धारा धेरै भन्दा धेरै विद्यार्थी एवं सरोकारवालाहरु सम्म पहुँच राखि हरेक पटक आफुलाई सुधार गर्दै विद्यार्थीहरुको विविधताको सम्मानमा पृकथ रुपमा प्रस्तुत हुने उदेश्य राखेका छौँ ।” “हाम्रो उत्सव जस्तो कार्यक्रमले प्रतिभाशाली विद्यार्थीलाई एकै थलोमा जमघट गराइ उनीहरुको ज्ञान र बझाइ बृद्धि गर्न र विभिन्न स्वरुपको प्रतिस्पर्धाहरुद्धारा उनीहरुमा अनेक किसिमका शैक्षिक तथा उद्यमशिलता सम्बन्धि समस्याहरुको समाधान गर्नमा नेतृत्वदायी भूमिकाको प्रबद्र्धन गर्न उपयुक्त माध्यम प्रदान गर्ने हामीले विश्वास लिएका छौँ । हामीले जोडदिने गरेको कक्षा कोठा बाहिरको शिकाइ बास्तवमा यहि नै हो ।” किंग्स् कलेजका विद्यार्थीहरुको क्लबले ब्यवस्थापन गर्ने यस उत्सवले नेपालभरीका १७ वटा कलेजहरुका विभिन्न संकायहरुको जस्तै विज्ञान, कला, मानविकी, ब्यवस्थापन, फेसन लगायत ५०० भन्दा बढी विद्यार्थीहरुलाई एकै थलोमा ल्याउने अपेक्षा लिइएको छ ।

घुस नखाएकोले जेल जानु पर्यो, सुटकेस फाेर्ने कर्मचारीलाई कारवाही गर्दा महाभारत शुरु भयो-सुगतरत्न कंसाकार

सुगतरत्न कंसाकार कुशल व्यवस्थापकको रुपमा स्थापित नाम हो । नेपाल टेलिकममा ३४ वर्ष काम गरी प्रबन्ध निर्देशकबाट अवकाश लिएपछि उहाँ नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा नियुक्त हुनुभयो । कंसाकारले नेतृत्व लिएपछि निगमले करिब चार बर्षमा ४ वटा जहाज किन्दैछ । जवकी त्यसअघि निगमले २८ वर्षसम्म एउटा पनि नयाँ जहाज किन्ने निर्णय लिन सकेको थिएन । २ वटा एयर बस किन्न बैना पठाएपछि भ्रष्टाचारको आरोपमा उहाँ जेल समेत पर्नुभयो । पछि अदालतबाट सफाई पाउनु भयो । फेरी सरकारले उहाँलाई निगमको महाप्रबन्धकमा नियुक्त गर्यो । पहिलाको निर्णय अनुसार २ वटा जाहाज आएर अन्तराष्ट्रिय उडान भरिरहेको छ भने फेरी दुईवटा एयरवस खरिद गर्दैछ । निगमले २ वटा वाइडवडिका एयर बस किन्नको लागि १० लाख अमेरिकी डलर बैंना पठाई सक्यो । कंसाकारको नेतृत्वमा नेपाल टेलिकमले मोवाइले सेवा शुरु गरेर विजनेशमा फड्को नै मारेको थियो । निरन्तर ओरालो लागेको नेपाल वायु सेवा निगममा उहाँले जिम्मेवारी लिएपछि निगमको यात्रामा यू टर्न आएको छ । संकुचित बन्दै गएको निगमको सेवा क्षेत्र र व्यापार अहिले विस्तार हुँदै गएको छ । खस्कदो ब्राण्ड इमेज सुध्रदै गएको छ । निगममा मात्र होइन, पर्यटन क्षेत्रमा कंसाकारको कामको प्रसंशा भईराखेको छ । प्रस्तुत छ कंसाकारको व्यवस्थापन शैली र नेतृत्वको विषयमा केन्द्रीत विकासन्युजका लागि सम्पादक रामकृष्ण पाैडेलले गरेकाे विकास वहस । सुगतरत्न कंसाकार, महाप्रबन्धक–नेपाल वायुसेवा निगम नयाँ जहाजहरु थप गर्दै हुनुहुन्छ, निगमको व्यवस्थापन सुधारको काम कसरी भईरहेको छ ? कुनै पनि एनजीओ, आइएनजीओ तथा व्यापारिक संस्थामा सबैभन्दा महत्वपूर्ण पक्ष नै व्यवस्थापन हो । निगम सेवा उद्योग हो । हामीले हवाईजहाजको सिट बेच्ने हो । जहाज नै छैन भने जहाज भित्रको सिट कसरी बेच्ने ? २८ वर्षसम्म जहाज नकिन्ने निगमले कसरी सिट बेच्ने ? मेरो बुझाईमा पान पसल र हामीमा केही फरक छैन । पान पसलले पान बेच्छ, हामीले हवाई जहाजको सिटको सेवा बेच्ने हो । मध्यान्न दुई बजे नै पान पसलले ग्राहकसँग पान छैन भन्नु र हवाई जहाज कम्पनीले ग्राहकलाई सिट छैन भन्नु त्यस्तै हो । मैले निगमको व्यवस्थापन जिम्मेवारी पाएपछि दुईटा प्राथमिकता तोकेँ । सबैभन्दा पहिला हवाई जहाज किन्नुपर्छ । दोस्रो, आन्तरिक व्यवस्थापन सुदृढ गर्नुपर्छ । जहाज किन्ने कुरा गर्दा धेरैले एउटै प्रकारको टिप्पणी गरेको पाएँ । उनीहरुले भने–‘निगमका कर्मचारीले फोन उठाउँदैनन्, हवाई जहाजको टिकट नै दिँदैनन्, पहिला जहाज किन्ने होइन, व्यवस्थापन सुधार गर्नुपर्छ ।’ नेपाल वायु सेवा निगमको एयर होस्टेज हाँस्दै हाँस्दैन, एमडीको कक्षमा कार्पेट च्यातिएको छ, एमडीले भनेको काम कर्मचारीले टेर्दैन जस्ता कुरा सुनाए । तर मैले निरन्तर जोड दिए कि पहिला हवाइ जहाज किन्नैपछै । कर्मचारीका समस्या र अन्य सुधारका काम दोस्रो प्राथमिकतामा पर्छन । जहाज किन्नु पहिलो प्राथमिकता हो भनेर बुझाउन कठिन भयो । धेरै ठाउँमा प्रष्टीकरण दिए । बुझाउने प्रयास गरे । अहिले धेरैले जहाजको महत्व बुझेका छन् । अहिले सचिव, सांसद, मन्त्री, प्रधानमन्त्री, ठूला दलका ठूला नेता जोसँग भेट भयो भने पनि उहाँहरुले नै पहिले सोध्नुहुन्छ, नयाँ जहाज कहिले आउँछ ? केही समय अघि प्रधानमन्त्रीसँग भेट भएको थियो । उहाँले पनि जहाज छिटो ल्याउनुपर्यो भन्नुभयो । दुईटा एयरबस ल्याएपछि धेरै राम्रो भएको छ । फेरी दुईटा वाईडबडी जहाज ल्याउने प्रक्रिया अगाडि बढेको छ । जहाज थपिएपछि सिट थपिन्छ । सिट भएपछि बेच्च पाइन्छ । अब आयो व्यवस्थापन सुधारको पाटो । व्यवस्थापन भनेको निरन्तर सुधारको विषय हो । व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण विषय भनेकै संस्था भित्रको संस्कार हो । नयाँ कितावहरुमा यसलाई कन्टेक्स्ट भन्ने गरिएको छ । संसारको सबैभन्दा राम्रो हवाई जहाज किनेपनि त्यो सँगै सबैभन्दा राम्रो संस्कार आउँदैन । काम गर्ने संस्कार सुधार गर्ने हामी भित्रैबाट हो । संस्कार सुधार कसरी गर्नुहुन्छ ? जबकी निगममा बलिया युनियन छन्, सरकारमा, राजनीति नेतृत्वमा तपाईको भन्दा उनीहरुको पहुँच बलियो छ ? हामीकहाँ १४ सय जवान कर्मचारी छन् । म निगममा आउँदा उनीहरु एकदमै शिथिल थिए । कति कर्मचारीले त यो संस्था डुब्ने निश्चत छ भनेर छोडेर गएको पाएँ । रिटायर्ड हुने बेलासम्म कुर्दा निगमले पैसा दिनै सक्दैन, बरु अहिले राजीनामा दिएमा केही पैसा त आउँछ भनेर भटाभट छोड्न थालेका रहेछन् । कर्मचारीहरु संस्थाप्रति यतिधेरै निराश भएको अवस्थामा १०० वटा जहाज भएपनि संस्थाको प्रर्फमेन्स राम्रो हुने कुरै भएन । कर्मचारीभित्र पनि व्यापक गुटबन्दी । त्यो विस्तारै हटाउने प्रयास गरे । अझै केही गुठबन्दी छ । म दुरसंचारमा हुँदा एउटा विभागबाट अर्कोमा कर्मचारी सरुवा गर्दा माथिबाट फोन गर्ने चलन थिएन । माथिबाट फोन गरेर सरुवा बढुवा गराउने चलनै थिएन । यहाँ (निगममा) त व्यापक हुँदो रहेछ । तीन तहको कर्मचारीलाई सरुवा गर्दा पनि माथिल्लो तहबाट फोन आउँने । ८/९ तहको कर्मचारीको कुरै नगरौं । असाध्यै खराव प्रवृति के रहेछ भने राम्रो काम गर्ने कर्मचारीको भन्दा पनि पहुँच हुनेहरुको बोलवाला । पावरफूल नेतासँग पहुँच हुनेले कामै नगरे पनि प्रमोशन पाउने, राम्रो ठाउँमा बसेर काम गर्न पाउने तर राम्रो काम गर्ने, संस्थाको हितमा काम गर्नेले अवसर नै नपाउने । ७ वर्ष पहिला म यहाँ आउँदा जिल्ल परे । अचम्मको संस्था रहेछ भन्ने लाग्यो । २ जनालाई मैले रेड ह्याण्ड समाते । एयरपोर्टमा यात्रुको सुटकेस फोरिरहेको रहेछन् । दुबै जना स्थायी कर्मचारी रहेछन् । अस्थायी भएको भए तुरन्तै हटाउने थिए । स्थायी भएको दुबै जनालाई डिमोशन गर्र्र्दिएँ । त्यसपछि त महाभारत शुरु भयो । कहाँकहाँबाट फोन आयो कहाँकहाँबाट । वर्वाद नै भएजस्तो । ८ जना मसलवाला यहीँ कार्यकक्षमा आएर धम्की दिए । म पनि के कम, ज्यानजाला मानिन । अस्ती मात्रै पनि यस्तै काम गर्दै गरेका ४ जनालाई भेटिए । अस्थायी रहेछन्, हटाईदिएँ । व्यवस्थापन भित्र यस्ता धेरै समस्या रहेछन्–देख्दा सानो जस्तो लाग्छ तर यसले सन्देश नराम्रो जान्ने, संस्थाको बदनाम हुने । यस्तै भएर हो ९० अर्ब रुपैयाँ बराबरको बजार छ तर ९ अर्बको व्यापारमै चित्त बुझाउनु परेको । मैले त यो संस्थालाई सरकारको सबै संस्थानको तुलनामा सबैभन्दा माथि लैजान सक्ने रुपमा हरेको छु । धेरै सुधार पनि भएको छ र अहिले निगमका कर्मचारीमा निरासा हटेको छ । विदेशमा, त्यो पनि आकर्षणक क्षेत्रमा सरुवा माग्ने कर्मचारीको मागलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? यसमा पनि तरिका हुन्छ । मैले दुरसञ्चारमा कस्ता जिएमहरु पनि भोगेको छु भने मन्त्री, सचिवले भने तुरुन्तै गर्नुपर्ने । मिल्ने काम पनि गर्ने, नमिल्ने काम पनि गर्ने । माथिबाट भनिएका कामहरु मिल्नेसम्म गर्दिनुपर्छ । मन्त्री, सचिवहरुको पनि इज्जत राखिदिनुपर्छ । तर संस्थालाई हानी नै पुग्छ, कर्मचारीको मनोवलमा ठेस नै लाग्छ भने मन्त्री, सचिवलाई बुझाउनु पर्यो । यस्तो गर्दा यहाँ समस्या हुन्छ भन्नुपर्यो । कहिले कही मन्त्री, सचिवहरुले पनि आफ्ना मान्छेको मन राख्नको लागि मात्र भनेको हुन्छन् । उनीहरुले पनि त्यो काम गराउन चाहेका हुँदैनन् । भन्नको लागि भनिएका हुन्छन् । मेरो बुझाई क्षमता भएको कर्मचारी प्रमोशन वा सरुवाको लागि मन्त्री सचिव वा नेताको घरमा जाँदैजाँदैन । क्षमता नभएको, काम गर्ने जाँगर नभएका मान्छेहरु पहुँच प्रयोग गर्न खोज्छन् । मन्त्री, सचिव वा बोर्डसँगको सम्बन्ध राम्रो भएन भने पनि यो पदमा बसेर काम गर्न सक्दैन । त्यसैले नेतृत्वले आफ्नो सम्बन्धलाई व्यालेन्समा राख्नुपर्छ । व्यवस्थापन भित्र पनि म्यानेजमेन्ट र लिडरशीपसीप फङ्सन हुन्छ । नेतृत्वसँग डिल जानेन भने पनि संस्था समस्यामा पर्छ । कहिले कही युनियनहरु साथीहरु आउँछन्– सरबाट नहुनुपर्ने काम भयो कि भन्छन् । माथिबाट फोन आएकै भरमा सरुवा गर्यो, अलिकति प्राथमिकता दियो । मान्छे गलत पर्छ । अरुको मन दुख्छ । धेरै पटक यस्तो भोग्नु परेको छ मैले । नेतृत्वले कहिले कही जानी जानी पनि गलत काम गर्नुपर्ने हुन्छ । विरोधभाषपूर्ण काम नगर्ने मान्छे नेतृत्वमा पुग्नै सक्दैन । मन्त्री, प्रधानमन्त्री चलाउनै सक्दैनन् । व्यवहारिक विज्ञानले यहि भन्छ । नेतृत्वले कहिले कही जानी जानी पनि गलत काम गर्नुपर्ने हुन्छ । यी कुरा व्यवस्थापनका कितावहरुमा पढ्न पाईन्छ । सिद्धान्त र आदर्शबाट एक इन्च पनि बाहिर जान्न भन्यो भने त्यो मान्छेले नेतृत्व लिनै सक्दैन । यो कुर्सीमा बस्नै सक्दैन । नेताहरुले विरोधभाषपूर्ण काम गरे भनेर समाचार आउँछ, म पढ्छु । विरोधभाषपूर्ण काम नगर्ने मान्छे नेतृत्वमा पुग्नै सक्दैन । मन्त्री, प्रधानमन्त्री चलाउनै सक्दैनन् । व्यवहारिक विज्ञानले यहि भन्छ । च्यातेको कार्पेट पनि नफेर्नु, एयर होस्टेज नहास्नु व्यवस्थापकी कमजोरी हो । १४०० कर्मचारीलाई एक ठाउँमा ल्याउन नसक्नु, संस्थालाई भिजन दिन नसक्नु, सरकारसँग समन्वय गर्न नसक्नु नेतृत्व सम्बन्धि कमजोरी हुन्छ । मेरो पिए छिटो फोन नउठाउनु व्यवस्थापकीय कमजोरी हो । नेपालमा समस्या नेतृत्वको कमी हो । व्यवस्थापनका सानो सानो काममा अल्झनु नेतत्वको कमजोरी हो । मेरो ध्यान स्टेशनरीका सामान किन्ने विषयमा जानु भएन । बोर्ड मिटिङमा चिया र विस्कुट मात्र खानु भनेर माथिल्लो तहबाट सर्कुलर आयो । मलाई विरक्त लाग्यो । प्रतिव्यक्ति आम्दानी कसरी बढाउने भन्नेमा हाम्रो ध्यान गएन । खर्च घटाउने विषय मात्र उठ्यो । निगमले १४८ जनाको लागि आवेदन माग्दा ४२ हजारको आवेदन पर्यो । निगमले १४८ जनालाई स्थायी जागिर दियो । १४८ परिवारको आम्दानी बढ्यो । उनीहरु खुशी भए, उनीहरुको ठूलो प्रगति भयो । यसलाई मैले ठूलो धर्म मान्छु । आवदेन गरेर जागिर नपाउने ४१ हजार चानचुनलाई कसले चागिर दिने ? मैले सासद्हरुलाई यहि प्रश्न गर्ने गरेको छु । राजनीति गर्नेले पौनै तीन करोड नेपालीलाई कसरी जागिर दिने भनेर किन काम गर्दैनन् ? मेलेसियमा भन्दा आधा तलव पाएपनि नेपाली नेपालमा नै काम गर्न चाहान्छ, परिवारसँग बस्न चाहान्छन् । मैले निगमका कर्मचारीलाई भन्ने गरेको छु–हामीले विदेशी पर्यटक ल्याएर प्रत्येक नेपालीको १ रुपैयाँ आम्दानी बढाइदियौ भने पशुपतिनाथको लाख पटक दर्शन गरे सरह धर्म हुन्छ । म जहिले पनि नेपालीको आम्दानी बढाउन मद्दत गर्यो भने धर्म हुन्छ भन्ने ठान्छु । त्यसैले मैले ७ पटक राजनीतिक नियुक्ती पाईसकेँ । सरकारले पत्याएमा आठौं पटक नियुक्ती खान तयार छु । तपाई कर्ममा विश्वास गर्नुहुन्छ कि धर्ममा ? कर्म गर्ने धर्म प्राप्तिको लागि । बेद, गीता, वाईवलमा मात्र धर्मको कुरा छैन । अक्स्फोर्ड, हार्डवर्ड विश्वविद्यालयले प्रकाशन गरेको व्यवस्थापनका आधुनिक कितावमा पनि धर्मको कुरा उल्लेख गरिएको छन् । काम पैसाको लागि मात्र गरिदैन, धर्मको लागि पनि गरिन्छ । विनोद चौधरी, पद्म ज्योति लगायत धेरै व्यवसायीले सात पुस्तालाई पुग्ने पैसा कमाइसेको छन् तर पनि दिनरात किन काम गर्छन । पद्म ज्योति मेरो दाई । ९ बजे नै अफिस जानुहुन्छ, किन ? कर्मसँग धर्म जोडिएको छ । धर्मले शक्ति प्राप्त हुन्छ । ८औ पटक राजनीति नियुक्ती खान तयार छु भन्नुभयो, ६५ वर्ष नाघेको व्यक्तिलाई सरकारी जिम्मेवारीमा नियुक्त गरिदैन नि ? काम गर्न उमेरले छेक्छ ? तपाई पत्राकार । ७० वर्ष भए भनेर लेख लेख्न छोड्नु हुन्छ ? कविले कविता लेख्न नछोड्ने, गाउनेले गाउँन नछोड्ने अनि मैले व्यवस्थापन गर्न किन छोड्ने ? भारतमा ७९ वर्षसम्म एक जानाले मेट्रो रेलमा नियुक्ती पाएका थिए । स्वास्थ्यको कारण उनले राजीनामा दिए । तत्कालिन  प्रधानमन्त्री मनमोहन सिंहले त्यो मान्छेलाई ‘अरु राम्रो मान्छे भेटिएन तपाईले नै गर्नुपर्यो’ भनेका थिए । क्षमता भएको मान्छेले काम गर्नुपर्छ । नेपाल वायुसेवा निगम जहिले पनि घाटामा जान्छ किन ? १७ वर्षपहिले लाउडा जहाज ल्याउँदा १ अर्ब जति घाटा भएको थियो । त्यसपछि कहिल्यै पनि निगम घाटामा छैन । हरेक वर्ष नाफामा नै छ । निगमको वार्षिक सेल्स १०÷१२ अर्बको हाराहारीमा छ । गत वर्ष पनि ७/८ करोड रुपैयाँ नाफा भएको छ । अहिले पनि संचित नोक्सान १ अर्ब जति छ । त्यो घाटालाई देखाएर जहिले पनि निगम घाटामा छ भनिन्छ । । त्यसलाई राईटअफ गर्नुपर्छ भनेको छु । यो अन्तराष्ट्रिय सिद्धान्त र मान्यता पनि हो । वार्षिक ११/१२ अर्बको कारोबार गर्नुहुन्छ, १ अर्ब नाफा निकाल्न किन सक्नुहुन्न ? यो हवाई उड्डयनको व्यापार भनेको निकै खतरनाक व्यापार हो । कुनै व्यक्ति खर्बपति छ र अर्बपति बनाउन उसलाई यही एभिएसन व्यापारमा लगाए हुन्छ पनि भन्ने गरिन्छ । किङफिसरको विजय माल्याको हालत हेनुहोस् न, उनी देश छोडेर भाग्न वाध्य छन् । दुरसञ्चारमा जस्तो नाफा छैन एभिएशनमा । केही दिनअघि मैले अर्थ मन्त्रालयमा एउटा प्रस्तुतीकरणमा गरे र अर्थमन्त्री, पर्यटन मन्त्री, सचिवहरु सबैलाई भने ‘वायु सेवा निगमलाई सडक विभागको रुपमा लिनुहोस् । जसरी सडक विभागलाई वर्षेनी अर्बौ लगानी गरेर पनि नाफा खोज्दैन सरकारले त्यसरी नै निगमको जहाज किन्न लगानी गर्नुपर्यो । यसले पर्यटन उद्योग फस्टाउँछ । होटल, रेस्टुरेन्ट फास्टाउँछ । बैंकहरुको नाफा बढ्छ । बैंकहरुको कर्जा लगानी रहेछ ३५ अर्ब । निगमले नयाँ जाहाज ल्याएन भने होटलहरु ढुब्छन् । तपाईको विचार बाझियो । एकातिर भन्दै हुनुहुन्छ– निगम व्यापारी संस्था हो, सिट बेचेर नाफा गर्नुपर्छ । अर्कोतिर भन्नुभयो–सरकारले सडक निर्माणमा लगानी गरे झै जहाज किन्नमा लगानी गर्नुपर्छ । तपाईले यस्तो विवादस्पद तर्क गर्न मिल्छ ? १२ अर्बको व्यापार गर्दा ७ करोड नाफा भन्दा तपाईले किन कम भनेर सोध्नुभयो । यो क्षेत्रमा नाफा कम हुन्छ । अहिलेसम्म निगमले तलव खुवाउन सरकारसँग पैसा मागेको छैन । विद्युत प्राधिकरण, नेपाल आयल निगमलाई झै सरकारले हामीलाई ऋण दिएर मिनाहा गर्नु परेको छैन । वायुसेवा निगम बलियो नभएसम्म पर्यटक वृद्धि हुँदैन । अहिले २६ वटा विदेशी वायुसेवाले सेवा दिइरहेका छन् । यो संख्या बढेर ५२ वटा भएपनि पर्यटक आउँदैनन् । पर्यटक बढाउन निगमले नयाँ जहाज ल्याउनैपर्छ । त्यसैले निगममा गरिएको लगानी सडक बनाउन गरिएको लगानी जस्तै हो भनेको मैले । वायुसेवा निगम हुँदा मात्रै पर्यटक आउने, विदेशी जहाजको भरमा पर्यटक नआउने भन्ने कसरी हुन्छ ? पाँच दिन अगाडि मात्रै एक जना अन्तर्राष्ट्रिय व्यापारीसाग कुरा भएको थियो । उनले कोरियामा नेपाल एयरलाईन्स ल्याउनु पर्यो भने । जहाज भाडा महँगो भएकोले कोरियनहरु काठमाडौं आउन नमान्ने गरेको बताए । एयरलाइन्सको सीधै उडान नहुँदा काठमाडौं आउन धेरै महंगो हुने । एनआरएनमा पूर्व अध्यक्ष देवमान हिराचनले मलाई भेटेर जापानबाट काठमाडौं आउँदा १६ सय डलर टिकट खर्च गरेको देखाए । त्यो पैसाले त जापानीजहरु तीन पटक ‘हवाई टापु’ यात्रा गरेर फर्कन्छन् । जापानमा हाम्रो उडान हुँदा वार्षिक ५६ हजार पर्यटक आएका थिए । अहिले ५ हजारमा झरेको छ । मेरो छोरी अष्ट्रेलियाबाट काठमाडौं आउन टिकट किन्न गएकी । काउन्टरमा सोध्य छ– यति पैसाले तिमी संसार घुम्न सक्छौ, किन काठमाडौं जाने ? बोस्टनबाट देल्ली जान ८०० डलर छ भने काठमाडौं आउन १२०० डलर छ । संसार भर सबलाई थाहा छ नेपाल जान भाडा मात्रै महँगो हो । नेपाल आएपछि ५ डलर देखि ५०० डलरसम्मका पर्यटकीय होटल छन् । सामान्य होटलमा त २/३ डलरमा टन्न खान पाइन्छ । अन्तर्राष्ट्रिय उडानमा विदेशीभन्दा नेपाली जहाजको भाडा कति कम हुन्छ ? हाम्रो जहाजको उडान भएको क्षेत्रमा मलेसिया, कतार, युएई जस्ता देशमा अन्य वायुसेवाकै जस्तै भाडा छ । दिल्लीमा एक साता अगाडि एउटा विदेशी वायुसेवाले ५५ हजार भाडा लियो भन्ने सुन्न आएको थियो । टिकट नपाउने र सोर्स लगाउन पर्ने अवस्था पनि भयो । दिल्लीमा दिनको ३ वटा फ्लाईट गरिरहेका छौं । विदेशीको तुलनामा निगमको दिल्ली उडान निकै सस्तो छ । जहाँ निगमको उडान छैन, त्यहाँ धेरै महँगो छ । निगमलाई जहाज किन्ने निर्णय गर्न किन गाह्रो ? निर्णय क्षमता महत्वपूर्ण कुरा हो । संस्थाको भिजन पनि चाहिन्छ । मैले जहाज किन्ने विषयमा छलफल चलाउँदा केही कर्मचारी साथीहरुले भन्नुभयो–विवादमा परिन्छ । एक जना साथीले जहाज किन्ने फाइलमा सहि नै गर्न मान्नु भएन । उहाँले भन्नुभयो–‘स्क्याण्डलको कुरा आउँछ । तपाई पहिला पनि विवादमा पर्नुभयो ।’ साँच्चै हो पनि । तर विवाद हुन्छ भनेर जाहाज नै नकिन्ने, महत्वपूर्ण फाइलमा सहि नै नगर्ने कुरा भएन । ‘भ्रष्टाचारको विवादमा परिन्छ, मन्त्रिपरिषद्बाटै निर्णय गराउँ’ भन्ने उहाँको भनाई थियो । मैले मैले बुझाउँदै गए, पछि सहि पनि गर्नुभयो । निगमको सञ्चालक समितिलाई २ वटा होइन, २ सय वटा जहाज खरिद गर्ने निर्णय गर्ने अधिकारी दिएको छ । मन्त्रीको सहि पनि चाहिँदैन, प्रधानमन्त्रीको कुरै छोडौं । ऐनले दिएको अधिकार किन प्रयोग नगर्ने ? निर्णय नगर्ने हो भने कामै छैन । निजगढ एयरपोट बनाउने भनेको २० वर्ष भयो । अहिलेसम्म १ वोरा सिमेन्ट झरेको छैन, किन ? किन फाइल दराजमा थन्क्याएर राखेको ? निर्णय क्षमताको कमीले त्यस्तो भएको हो । जहाज किन्ने अधिकार सञ्चालक समितिलाई छ तपाई भने किन मन्त्रालय धाईरहनुहुन्छ ? मन्त्रालयमा प्रिजेन्टेशन दिनुहुन्छ ? हामी अहिले पर्यटन मन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीलाई भेट्न जानु परेको जहाज खरिद गर्न पैसाको लागि होइन, जहाज किन्नको लागि जमानी बसिदिनुप¥यो भनेर मात्र हो । तपाईको कार्याकालमा कतिवटा जहाज किन्ने योजना छ ? मेरै कार्यकालमा अझै ४ वटा जहाज आउँछन् । पहिले २ वटा वाइडवडि आउँनेछन् । त्यसपछि अर्को दुईवटा न्यारोबडि खरिद गर्नेछु । त्यतिबेला अन्तराष्ट्रिय उडानको लागि हामीसँग ६ वटा जहाज हुन्छ । अहिले भएको बोइङ एउटा विक्री गर्न लागेको छौं, अर्को पनि बेच्छौं । आन्तरिकमा पनि ९ वटा जहाज हुन्छ । मेरो उद्देश्य त अन्तर्राष्ट्रिय उडानकै बजार विस्तार गर्ने हो । अन्तर्राष्ट्रियको बजार अहिले नै बार्षिक ९० अर्बको छ आन्तरिकको भने जम्मा ९ अर्बको मात्रै छ । त्यसैले प्राथमिकता ९ अर्बमा नभएर ९० अर्बमा हुनुपर्छ । प्रत्येक वर्ष २ वटा जहाज थप किन्न भन्ने सोच छ । यदि संस्थालाई बचाउने र बजारमा प्रतिस्पर्धी बनाउने हो भने कम्तिमा वर्षमा एउटा जहाज थप्नैपर्छ । पर्यटन क्षेत्रको विकास गर्ने हो भने, पौनै तीन करोड जनताको प्रति व्यक्ति आयस्तर विकास गर्ने हो भने निगमले प्रत्येक वर्ष जहाज थप्नैपर्छ । धेरै आलोचनाको बीचमा तपाईले जोखिम पूर्ण निर्णय लिनुभएको देखिन्छ, त्यसको पृष्ठभूमि के हो ? ठूलो पदमा बस्नेले ठूलो जोखिम लिनुपर्छ । ठूलो जोखिम लिनु पर्ने भएकोले उसलाई बढी तलब सुविधा दिने हो । तर नेपालमा उल्टो भएको छ । निर्णय नगर्दा चोखो बनिन्छ भनेर तलव मात्र खाएर बस्नु ठूलो पाप हो । अखवारले समाचार लेख्छन्, कसले के भन्छ भनेर चुप बस्नु हुँदैन । नेतृत्व गर्ने व्यक्ति शिक्षक पनि बन्न सक्नुपर्छ । कर्मचारीलाई सिकाउनु पर्यो । तालिम दिनु पर्यो । मलाई एक जना चिनेको व्यापारीले फोन गरेर भने–एनएसीको सेवा एकदम राम्रो लाग्यो । खाना पनि फष्टक्लास । तर एउटा एयरहोस्टेजले चुईगम चपाईरहेको थियो । त्यो राम्रो भएन । त्यो एयरहोस्टज पत्ता लगाए र भन्न लगाए ‘अबदेखि प्लेनभित्र हुँदा चुईगम नखानु’ । विचरा उसलाई थाहै थिएन । थाहा नभएको कुरा सिकाउनुपर्यो । ठूलो पदमा बस्नेले ठूलो जोखिम लिनुपर्छ । ठूलो जोखिम लिनु पर्ने भएकोले उसलाई बढी तलब सुविधा दिने हो । तर नेपालमा उल्टो भएको छ । विधि व्यवहार सिकाउनु पर्यो । २० जनालाई सिकाउँदा ५ जनाले सिके भने पनि संस्थालाई पुग्छ । १५ जना ल्वाठ नै हुन्छन, के गर्ने । सोल्टी होटलमा राखेर, सबै सुविधा दिएर सिकाउँदा पनि सिक्दैनन भने के गर्ने ? अफिसमा स्मार्ट मान्छे घरमा पनि स्मार्ट हुन्छ । अफिसमा अरुलाई गाली गर्ने मान्छेले घरमा आमा बुबालाई गाली गर्छ । समाजमा यस्तो मान्छे हुन्छन् । तर मैले सबै कमचारीलाई भन्छु–तपाई राम्रो मान्छे बन्नुहोस् । अहिले त कर्मचारीमा धेरै सुधार भएको छ । यसअघि जहाज किन्ने निर्णय गर्दा तपाईलाई भ्रष्टाचारको आरोप लाग्यो । अख्तियारले छानविन गर्यो, मुद्दा हाल्यो, जेल पर्नुभयो । अन्तिममा सर्वोच्च अदालतबाट सफाई पनि पाउनुभयो । नेपाल वायुसेवा निगम आफैमा भ्रष्टाचारमा बारम्बार विवादमा आएको संस्था हो । अहिले पनि नयाँ जहाज किन्दा करिब अर्बको डिल गर्दै हुनुहुन्छ । यो डिलमा पनि भ्रष्टाचार भयो भन्ने समाचारहरु आएका छन् । यो सन्दर्भमा तपाईको व्यवस्थापकीय अनुभव के हो ? यो विषयमा बोल्दा अरु भन्दा म जान्ने हुन खोजेको जस्तो हुन्छ । पहिलो, भ्रष्टाचारको विषयमा हजारौं वर्षदेखि बहस गरिरहेका छन । इतिहासको कितावमा पनि लेखिएको छ, रामायण, महाभारतमा पनि भ्रष्टाचारको विषय लेखिएका छन् । दोस्रो, नेपाल २ सय मुलुक मध्ये सबैभन्दा धेरै भ्रष्टाचार हुने देश जसरी चित्रण गरिन्छ । त्यो वाहियात हो । नेपालकै हाराहारीमा भ्रष्टाचार हुने देश करिब ६० वटा रहेछन्, मैले अध्ययन गरेको छु । एक पटक ट्रान्सपरेन्सी इन्टरनेशनलाई चुनौति दिएर अंग्रेजीमा आर्टिकल लेखेँ, रिपप्लिकामा छापिएको छ । त्यो आर्टिकल छापिएपछि फेसबुक र ट्वीटरमा भनाभन भयो । ७ वर्षमा तयार गर्ने भनिएको मेलम्ची २४ वर्षसम्म किन बनेन ? निगमले २८ वर्षसम्म जहाज किन किनेन ? घुस खाएर जाहाज किन्ने थिए निगमको व्यवस्थापनले भटाभट खुस खाँदै जाहाज किन्दै जान्थे । कमिशन र भ्र्रष्टाचार खाएर काम गर्नेले २८ वर्षसम्म कुरेर बस्छ ? जीएमको पद जम्मा ३/४ वर्षको हुन्छ । धेरैलाई थाहा छैन दक्षिण एशियामा भ्रष्टाचार विरुद्ध सम्बन्धी ऐनमा सबैभन्दा कठोर ऐन नेपालमा छ । अख्तियार निकै बलियो संस्था छ । जेमा पनि नेपाल खत्तम भनेर हुन्छ ? हाम्रो मानसिकता विकास विरोध हुँदै गयो । यतिसम्म कि कसैले गाँउमा पीच सडक बनाईदिन्छु भन्यो भने स्थानीय मान्छे आएर ‘सडक बनाउँदा ठेकदारले इन्जिनियरलाई खुस खुँवाउँछ, भ्रष्टाचार हुन्छ, हामीलाई सडन नै चाहिँदैन ।’ गलत काम रोक्ने, भ्रष्टाचार रोक्ने निकायहरु छन् । उनीहरुले काम गरिरहेका छन् । सार्वजनिक खरिद ऐन फष्टक्लास छ । त्यसैलाई फलो गर्ने हो । ७ वटा मुलकका १० वटा कम्पनीले टेण्डर हालेको ठाउँमा पनि मिलेर आयो होला भन्नु विकास विरोधी मानसिकता हो । ती स्वाठ हुन् । संसारमा व्यापारी र उद्योगपतिको सहभागिता विना कुनै पनि विकास निर्माणको काम हुँदैन । उद्योगी व्यापारीले नाफा नलिई काम गर्दैन । नाफा विना कसैले काम गर्दैन । निगमलाई जहाज बेच्ने कम्पनीले कति नाफा गर्यो, उसले नाफा कसकसलाई बाँड्यो, श्रीमतीलाई गहना किन्यो कि जुवा खेलेर सक्यो कि, राजनीति गर्नेको लागि चन्दा दियो कि त्यो मेरो चासोको विषय होइन । निगमले गुणस्तरमा सम्झौता गर्दैन, टेण्डरमा जस्ले सस्तो दिन्छु भन्यो, त्यसैसँग किन्ने निर्णय गरेको छ । भ्रष्टाचारको विषयमा गम्भीर वहस जरुरी छ । जनता भनेको इन्द्रभगवान पनि हो, आठ वर्षको बालक पनि हो । आठ वर्षको बच्चालाई उसको टिचरले हिटलार ठूलो मान्छे हो, महात्मा गान्दी चोर हो भनेर पठायो भने त्यो बच्छाले त्यहि नै हो भन्छ । हामीकहाँ बौधिक वहस उल्टो भईराखेको छ । भ्रष्टाचार उल्मुलन पछि विकास हुन्छ भन्ने सोच गलत हो । भ्रष्टाचार शुन्यमा झार्ने उपाय एउटा छ–विकास बजेट शुन्यमा झार्ने । त्यसपछि विकास पनि हुन्न, भ्रष्टाचार पनि हुन्न । अघिल्लो पटक जहाज किन्ने निर्णय गर्दाको तितो अनुभव तपाईसँग छ । यसपटक जहाज किन्ने निर्णय गर्दा फेरि विवादमा पर्छु कि भन्ने लागेन ? मलाई त त्यतिबेला पनि म विवादमा पर्छु भन्ने पटक्कै थिएन । सोझै एयरबससँग कुरा भएको । एजेन्ट नै थिएन । सुरज बैद्यलाई एजेन्ट भनेर त्यत्तिकै हल्ला गरिदिए । फ्रान्स, व्रिटिस, जर्मन, इयू एम्बेस्डर सबै मेरो निर्णयमा कन्भेन्स भएका थिए । ६ महिनासम्म अख्तियारले बयान लियो । सबै प्रक्रिया पुरा भएको छ, तैपनि उजुरी परेपछि छानविन गर्नै पर्यो भनेर त्यहाँको वकिले भनेका थिए । मुद्दा हालेपछि म त छक्क परे । कस्तो मुलक रहेछ भन्ने मनमा लाग्यो । घुस नखाएकोले जेल जानु पर्यो जस्तो पनि लाग्यो । मैले खुस खाएको भए, जेल त के मुद्दा नै नहाल्ने रहेछ । अब यसमा थप व्याख्या गर्न चाहन्न म ।

लगानी सम्मेलनमा साढे ३५ प्रतिशत चिनियाँ सहभागीता, सरकारी प्रतिनिधी भने नआउने

काठमाडौं । सरकारले फागुन १९ र २० गते आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनमा साढे ३५ प्रतिशत चिनियाँ सहभागीता रहने भएको छ । सम्मेलनमा सहभागीता जनाउने प्रतिवद्धता गर्नेहरुमध्ये सबै भन्दा धेरै चिनियाँ लगानी कर्ता देखिएका हुन् । हालसम्म २३७ जना विदेशी लगानी कर्ताले सहभागीताका लागि नाम दर्ता गराएका छन् । तीमध्ये चिनियाँहरुको सख्या सबै भन्दा धेरै अर्थात ८९ जना रहेको छ । जुन संख्या कुल वैदेशिक सहभागीताको ३५ दशमलब ७७ प्रतिशत हुन आउँछ । चिनियाँ लगानी कर्ताको यति ठुलो सहभागीता रहने सम्मेलनमा उच्चस्तरिय चिनियाँ सरकारी टोली भने सहभागी नहुने भएको छ । जबकी भारतका तर्फबाट अर्थमन्त्री अरुण जेट्लीलाई प्रमुख वक्ताका रुपमा निम्त्याइएको छ । सम्मेलनमा भारतबाट जम्मा २१ जना लगानी कर्ताले मात्रै सहभागीता जनाउँदै छन् । केहि दिन अघि सम्पन्न दोश्रो पुर्वाधार सम्मेलनमा पनि भारतीय रेल मन्त्री प्रमुख वक्ताका रुपमा निम्त्याइएका थिए । यति धेरै चिनियाँ लगानी कर्ता आउने सम्मेलनमा उच्चस्तरिय सरकारी प्रतिनीधी को आउँदै छ भन्ने विकासन्युजको प्रश्नमा उद्योग मन्त्री नविन्द्र राज जोशाीले भने–चिनियाँ टोलीलाई निम्ता दिएका थियौं तर ढिलो निम्ता पाएको भन्दै उनीहरुले नआउने जानकारी गराए ।’ सम्मेलनमा चीन र भारत बाहेक श्रीलंकाका २०, जापानका १५, मलेसियाका १३, क्यानाडाका १२, हङकङका १०, बेलायत, दक्षिण कोरिया र भियतनामका ८/८ लगानी कर्ताले सहभागीता जनाउँदैछन् । त्यसबाहेक रसियाका ७, अमेरिकाका ६, सिंगापुर र टर्कीका ३/३ लगानी कर्ता आउँदैछन् । सम्मेलनमा माइक्रोसफ्टका प्रतिनिधीले १० मिनेटको प्रस्तुति राख्नेछन् । सम्मेलनमा स्वदेशी तथा विदेशी गरि ६ सय भन्दा बढि लगानी कर्ताले सहभागीता जनाउनेछन् ।

सोलुखोला आयोजनाको ४० प्रतिशत निर्माण सम्पन्न, २२ महिनामा निर्माण पुरा गर्ने

सोलुखुम्बु। सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य भएको छ । अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । ऊर्जा मन्त्रालयले सन् २०१० मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो । सन् २०१५ को मध्यबाट २२ महिनामा आयोजना निर्माण पुरा गर्ने लक्ष्यसहित निजी क्षेत्रको लगानीमा काम भइरहेको हो । संरचनागत विवरण/प्रगति आयोजनाको सम्पन्न ४० प्रतिशत निर्माणमध्ये बाँधस्थलको प्रगति बढी देखिएको छ । बाँधस्थलमा करिब ७० प्रतिशत निर्माण कार्य भइसकेको छ भने बाँध भन्दा तल एक सय २० मिटर तल डिसेन्डर (बालुवा थिग्र्याउने) पोखरी निमार्ण भइरहेको छ । यसको करिब ८० प्रतिशत निर्माण बाँकी छ । डिसेन्डरमा छानिएको पानी विद्युत गृहसम्म पुर्याउन ‘लो प्रेसर’ र ‘हाइ प्रेसर’ पेनस्टक पाइप जडान गरिने भएको छ । दुई दशमलव पाँच मिटर ब्यास र एक दशमलव नौ मिटर उचाइका पेनस्टक पाइप ठेकेदार ‘सिई कन्सट्रक्सन’ले आयोजनास्थलमै निर्माण गर्दै जडान गरिएको छ । कूल चार दशमलव तीन किलोमिटरको पाइपमध्ये तीनसय नौ मिटर लो प्रेसर र चारसय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाले जनाएको छ । यो बीचमा एक सय ७० मिटर सुरुङ पनि निर्माण हुँदैछ ।

सेयर बजार राताम्मे, नेप्से परिसूचक २४ अंकले ओरालो, २५ करोडको सेयर कारोबार

काठमाडौं । आइतबारको सेयर बजार पनि राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक २४ अंकले ओरालो लागेर १३१३ अंकमा झरेकोे छ । परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन बजारमा जम्मा २५ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा करोबार भएका सबै परिसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६८ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य र होटल समूहको परिसूचक क्रमशः ४१ र २९ अंकले ओरालो लागेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक ३१ वर्षमा प्रवेश, पाँच पटक अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक आइतबारदेखि स्थापना कालको ३० वर्ष पुरा गरेर ३१ वर्षमा प्रवेश गरेको छ । सो अवधिसम्म बैंकले पाँचौँ पटक “बैंक अफ द इयर“को गरिमामय अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । बैंकले फाइनान्सियल टाइम्स लण्डनबाट उक्त पुरस्कार पाएको हो । बैंक नेपाल राष्ट्र बैंकद्धारा तोकिएको मितिभन्दा अगाडि नै आठ अर्वको चुक्ता पूँजी पुराउने निजी क्षेत्रको पहिलो वाणिज्य बैक बन्न सफल भएको छ । बैंकले आफ्नो तीन दशकको सेवा अवधिमा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तिुष्टिलाई उच्चस्तरमा कायम राख्न सफल भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्ना ४७ वटा शाखाहरू, दुईवटा एक्स्टेन्सन काउन्टर, ८४ वटा ए.टि.एम मेसिन र ४२ वटा शाखारहित संजालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ । गत आ.व.२०७२/७३ मा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो भने बैंकको खुद नाफा २ अर्व ५५ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा क्रमश ३२.६ र ३० प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्व ५८ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । दोस्रो त्रैमासीक सम्ममा चुक्ता पूँजी ८ अर्ब ७१ करोड स्पैयाँ रहेको छ । बैंकको पूँजी पर्याप्तता अनुपात १४.२८ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७० प्रतिशतमा सिमित पारेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सन् २०१०-११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ ।

लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोको तेस्रो शाखा पुल्चोकमा, धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० हजार सहयोग

काठमाडौं । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखाविस्तार गरेको छ । कम्पनीले ललितपुर पुल्चोकस्थित भाटभटेनीमा संचालनमा ल्याएको शाखाको आइतबार चर्चित हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुमुर्स सुन्तीलले उद्घाटन गरेका हुन । स्टुडियो उद्घाटन गर्न पुगेका उनीहरुलाई धुर्मुस सुन्तली फाउण्डेसनका लागि भन्दै स्टुडियोले ५० हजार रुपैंया नगद सहयोग समेत प्रदान गरेको छ । १७ बर्षदेखि राजधानिमा संचालनमा रहेको लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले काठमाण्डौको महाराजगञ्ज र कोटेश्वर भाटभटेनी पछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । यहाँबाट महिलातथा पुरुषले कपालतथासौन्दर्य सम्बन्धि सम्पूर्ण सेवाहरु लिन सक्नेछन । बुटिक शैलीमा संचालनमा आएको ललितपुर शाखा पारीवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए । भाटभटेनी स्टोर पुलचोकको पछाडी तर्फको खुल्ला भागमा आकर्षक शैलीको डिजाइनमा तयार पारिएको स्टुडियोले एक पटकमा १५ जनालाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने छ । ललितपुर क्षेत्रका ग्राहकहरुको अत्यधिक मागका कारण यस क्षेत्रमा शाखा संचालनमा ल्याइएको स्टुडियोका अध्यक्ष ठाकुरले बताए । ‘बच्चादेखि वृद्धासम्म हाम्रा ग्राहक हुन, मध्यम वर्गदेखि उच्च घरानिया सम्मका लागि लक्षितगर्दै हामीले स्टुडियो सञ्चालनमा ल्याएका हौं ।’ उनले भने । सन् १९९६ मा केही नयाँ काम गर्ने सोचका साथभारतको मुम्बइमाचार वर्ष बसेर बसेर व्यवशायिक दक्षता हासिल गरी नेपाल आएका लक्ष्मी ठाकुर विगत १७बर्षदेखि यो व्यवसायमाआबद्ध छन । उनले नेपालको चलचित्र, सांगितिक क्षेत्रका ख्याती प्राप्त कलाकार तथा प्रख्यात मिडिया कर्मीहरुको कपाल नियमित रुपमा काट्दै आएका छन । उनी भन्छन् ‘अन्य मुलुकको तुलनामा सौनदर्य तथाकपाल कटाई व्यवशायिक हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा अझै आक्रामक व्यवशायिक योजना लिएर आउँछौं । जसले सर्वसाधारणलाई यस किसिमको सेवामा अभ्यस्त बनाउन सकोस् ।’ महोत्तरी जिल्लामा तेस्रो नमुना एकीकृत मुसहर बस्ती निर्माणमा सक्रिय रहेको धुर्मुस सुन्तली फाण्डेसनलाई नगद सहयोग गर्दै स्टुडियोले सामाजिक उत्तरदायित्व वहन गर्न अरुलाई पनि अपील गरेका छन् । फाउण्डेसनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि स्टुडियोले गरेको सहयोगको स्वागतगर्दै एकीकृत बस्ती निर्माणमा सहकार्य गर्न सबैलाई आग्रह गरे । व्यवशायिक प्रतिष्ठानको चेनका रुपमा स्थापित हुँदै आएको स्टुडियोले तीन शाखामा ४५ जनालाई रोजगारी समेत दिएको छ ।