आईएमईद्धारा १० उत्कृष्ट एजेन्ट साझेदारलाई थाईल्यान्ड भ्रमण
काठमाडौं, ४ पुस । आईएमई लिमिटेडले आफ्ना १० उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ । कम्पनीका अनुसार उक्त भ्रमणमा २०७२ साल पौष देखि २०७३ साल असारसम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायीक साझेदारहरु समेटिएका थिए। कम्पनीको १ सय ४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्टहरु रहेका छन् । हाल कम्पनीले बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कमाएको रकम देशका विभिन्न ठाँउममा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
अध्यक्षको प्रतिस्पर्धाबाट फत्तबहादुर केसी बाहिरिए, पुनः नियुक्ती नहुने भएपछि कर्मचारीसँग लिए बिदा
काठमाडौं, ४ पुस । बीमा समितिको अध्यक्षमा तेस्रो कार्यकालको लागि लविङ गर्दै आएका बर्तमान अध्यक्ष फत्तबहादुर केसी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनलाई प्रधानमन्त्री प्रचन्डका प्रशासकीय सचिव नारायण दाहालले समेत भेट गर्न नदिएपछि उनी निरास हुँदै दाैढबाट बाहिरीएका हुन् । आफू पुनः नियुक्ति नहुने पक्का भएपछि अध्यक्ष केसीले आईतबार सबै बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई समितिमा बोलाएर आफ्नो कार्यकालमा गरेका राम्रो कामको चर्चा गरेका थिए । त्यस्तै कर्मचारीहरुसँग पनि आफू बीमा समितिबाट विदा लिन लागेको जानकारी गराएका छन् । ८ वर्षसम्म समितिमा अध्यक्ष भएका केसी पुस ७ गतेबाट विदा हुँदैछन् । समितिको अध्यक्ष बन्ने लविङका लागि करिव डेढ दर्जन व्यक्ति अर्थमन्त्रालय पुगेका छन् । समितिको अध्यक्ष बन्न रविन्द्र घिमिरे, केवी बस्नेत, रणबहादुर श्रेष्ठ, केशव भट्टराई, ऋषिराम गौतम, चिरञ्जीवि चापागार्इ, विजयबहादुर शाह, जनार्दन आचार्य, कृष्णप्रसाद आचार्य, श्रीमान् कार्की, रमेशकुमार भट्टराई, अश्विनीकुमार ठाकुर, केशव दुवाडी, चिरायु भण्डारी, नरेन्द्र सिंह लगायत शक्ति केन्द्रमा लविङ गर्दै गरिरहेका छन् ।
भक्तपुर फाइनान्सको छैटौँ वार्षिक साधारणसभा पुस ७ गते
काठमाडौं, ४ पुस । भक्तपुर फाइनान्स कम्पनीले आगामी पुस ७ गते आफ्नो छैटौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको प्रस्तावित ३ दशमलब ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलब १८ प्रतिशत नगद लाभांशलाई अनुमोदन गर्न कम्पनीले सो दिन साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पूँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ ।
कामना विकास बैंकले २१ प्रतिशत बोनस दिने, चुक्ता पूँजी ८० करोड रुपैयाँ नाघ्ने
काठमाडौं, ४ पुस । कामना विकास बैंकले २१ दशमलब ५८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बिहान बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकका आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैठकको निर्णयलाई सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात बैंकको चुक्ता पूँजी ८० करोड ४३ लाख रुपैयाँ पुग्ने छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३५५ रुपैयाँ रहेको छ ।
आइओएम डिन जगदीश अग्रवाललाई बर्खास्त गर्न माग, नहटाईए अनशन बस्ने चेतावनी
काठमाडौं, ४ पुस । शिक्षामन्त्री धनीराम पौडेललाई सोमबार ज्ञापनपत्र बुझाउँदै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बचाउ सङ्घर्ष समितिले संस्थानका डिन डा जगदीश अग्रवाललाई बर्खास्त गर्न माग गरेको छ । अग्रवाललाई हटाएर प्रक्रियागत रुपमा नयाँ डिन नियुक्ति नगरिए अनशन बस्ने चेतावनी समितिका संयोजक डा सुरेश उप्रेतीसहितको टोलीले दिएको हो । समितिले विगत १६ दिनदेखि डिन कार्यालयमा तालाबन्दी गर्दै आएको छ । डा गोविन्द केसीको अनशन तोडाउन सरकारले अग्रवाललाई नियुक्त गरेको थियो । शिक्षामन्त्री पौडेलले सङ्घर्षरत पक्षलाई वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरेका छन्। उनले यही पुस १४ गते बस्ने त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा यस विषयमा छलफल हुने बताए । रासस
१० महिनासम्म पनि थपिएन नयाँ क्यिरिङ बैंक, नेपाल धितोपत्र बोर्ड भन्छ-सिसिडएसले टेरेन
काठमाडौं, ४ पुस । नेपाल धितोपत्र बोर्डले थप तीनवटा क्लियरिङ बैंक थप्नको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्यिरिङ लिमिटेडलाई निर्देशन दिएको १० महिना वितिसक्दा पनि अझै क्लियरिङ बैंक थपिएको छैन । माघ १३ गते धितोपत्र बोर्डले उनीहरुलाई २०७३ बैसाख १ गतेभित्र थप तीनवटा क्लियरिङ बैंक थप्नको लागि निर्देशन दिएको थियो । तर अहिलेसम्म पनि नेप्से र सिडिएसले क्लियरिङ बैंक थप्ने विषयमा वेवास्ता गरेको छ । धितोपत्र बोर्डले पटक पटक क्लियिरङ बैंक थप्नका लागि नेप्से र सिडिएसलाई निर्देशन दिएपनि उनीहरुले आलटाल गर्दै आइरहेका छन् । ‘काम अन्तिम चरणमा पुगेको भन्दै बोर्डलाई नेप्से र सिडिएसले अल्मल्याइरहेको छ,’ बोर्डका प्रबक्ता निरज गिरीले भने । पटक पटक नेप्से र सिडिएसलाई क्लियरिङ बैंक थप्ने बारेमा स्पष्ट पार्न भनिएपनि विभिन्न बहाना बनाएर उनीहरु तर्किने गरेको गिरीले जानकरी दिए । गिरीका अनुसार बोर्डले छिट्टो काम गर भनेर दवाव दिनुबाहेक अन्य विकल्प छैन । बोर्डले कारबाहीको नाममा पनि जरिवाना गराउन सक्छ तर त्यसले केही असर गर्दैन, प्रबक्ता गिरीले भने । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमूख कार्यकारी अधिकृत देशप्रकाश गुप्ता भने आगामी सञ्चालक समितिको बैठकमा क्लियरिङ बैंक थप्नेबारेमा निर्णय हुने बताउँछन् । उनले भने,‘आगामी सञ्चालक समितिको बैठकमा हामी प्रस्ताव लिएर जान्छौ । ‘सम्पुर्ण काम सकिएको छ सञ्चालक समितिबाट निर्णय हुनेवित्तिकै सार्वजनिक सुचना प्रकाशित गरी टेन्डर आव्हान गर्दछौ,’ गुप्ताले भने । प्राविधिक काम भएकोले समय लागेको उनले बताए । बोर्डले ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । तर नेप्सेले चैत मसान्तमा बोर्डलाई पत्र लेखेर प्राबिधिक कारण देखाउँदै तत्कालै नयाँ क्लियरिङ बैंक थप्न नसक्ने बताएको थियो । बोर्डले आफ्नो निर्देशनको अवज्ञा गरे कारवाही गर्ने चेतावनी दिएपछि क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढाउन नेप्से र सिडिएस बाध्य भएका थिए । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गरिरहेको छ । सेयर बजारको आकार र कारोबार निकै ठुलो भैसकेकाले राफसाफ प्रक्रिया चुस्तदुरुस्त बनाउन भन्दै बोर्डले क्लियरिङ बैंक थप्नुपर्ने आवश्यकता औल्याएको बताएको छ ।
विश्व बैंकद्धारा पाँच अर्ब ९४ करोड ऋण सहयोग, ग्रामीण अर्थतन्त्रलाई सवल बनाउने
काठमाडौं, ४ पुस । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उक्त रकम परियोजनाअन्तर्गतका सडक र पुल विकास, संस्थागत सवलीकरण तथा परियोजना कार्यान्वयन र सवलीकरण अभिवृद्धिमा खर्च गरिने जनाइएको छ । परियोजनाका समयमा विभिन्न २१ वटा क्रियाकलाप गरिने र परियोजनाको समाप्तिसँगै विभिन्न ३१ जिल्लामा बाह्रै महिना सडक पहुँच, यात्रा समयमा कटौती र आर्थिक केन्द्रको सुधार तथा सामाजिक सेवा पुग्ने विश्वास लिइएको छ । परियोजना कार्यान्वयका क्रममा ७०० किमी सडकको स्तरोन्नति र दुई हजार ५५० किमी रणनीतिक सडक मर्मत गरिने अर्थमन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गको सडक विभागले कार्यान्वयन गर्ने उक्त आयोजनामार्फत गत वर्षको भूकम्पमा भत्किएका पुल एवम् विभिन्न ३३ वटा रणनीतिक पुल प्रतिस्थापन गरिने छ । सम्झौतापछि महाशाखा प्रमुख अर्यालले विश्व बैंकबाट प्राप्त हुने रकमले ग्रामीण अर्थतन्त्रलाई सवल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसले समग्र यातायात प्रणालीमा सुधार आउने बताएका छन्। त्यसैगरी विश्व बैंकका प्रबन्धक कामाताले सडक विस्तारसँग त्यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।रासस
नेप्से परिसूचक दोहोरो अंकले तल झर्यो, सबै सूचक राताम्मे
काठमाडौं, ४ पुस । आइतबार सामान्य अंकले बढेको बजार सोमबार फेरि दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ दशमलब ४७ अंकले घटेर १५१४ अंकमा अडिएको छ । सोमबार ५६ करोड १६ लाख रुपैयाँको किनबेच भएको छ । कम्पनीको १३७ कम्पनीको ६ लाख ८९ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा कारोबार भएका सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमाको परिसूचक १०३ अंकले ओरालो झरेको छ । त्यस्तै, बैकिंङ्, हाइड्रोपावर र होटलको परिसुचक दोहोरो अंकले ओरालो लागेका छन् भने उत्तपादनमूलक समूहको परिसूचक भने सामान्य अंक (स्थिर) अवस्थामा रहेका छन् । सो दिन सबैभन्दा बढी एमबी इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशले बढेको छ । एभरेष्ट बैंकको १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार उक्त बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार २७१ रुपैयाँ रहेको छ ।