विकासन्युज

जापानको विमानस्थलमा भीषण हिमपात, हजारौँ यात्रु अलपत्र

टोकियो, १० पुस । उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको बताएका छन् । उत्तरी क्षेत्रमा जाने प्रमुखद्धारको रुपमा रहेको न्यु चिटोसे विमानस्थलका सयौँ उडान हिमपातका कारण स्थगित भएका छन् । विमानस्थलका सुरक्षा अधिकारीहरुले बिहीबार दुई हजार पाँच सय, शुक्रबार छ हजार र शनिबार दुई छ सय जना विमानस्थलमै जवरजस्ती रातभरी बसेका बताएका छन् । बिदा मनाउनका लागि सबैजसो उडानहरु भरिएकाले विमानस्थलमा यात्रुहरुको दुर्दशा भएको जापानको राष्ट्रिय प्रसारण एनएचकेले जनाएको छ । शुक्रबार मात्रै २८० भन्दाबढी उडान र हप्तान्तमा सयभन्दा बढी रेलसेवा रद्ध भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर आइतबारदेखि भने मौसममा धेरै सुधार आएको बताइएको छ । निकै ठूलो पहाडी क्षेत्र र धुले हिउँका लागि प्रख्यात होकाईदोमा जापानका नागरिकबाहेक अस्ट्रेलिया र चीनबाट पनि पर्यटक आउने गर्दछन् । रासस/एएफपी

बुबाको पेन्सन सेयर बजारमा डुबेपछि निन्द्रा लाग्न छोड्यो

धेरै दिन भो गहिरो निद्रामा सुत्न नसकेको । ६ महिना देखिको नेप्सेको उतारचढाव चढाव नै मेरो निद्राको उतारचढाव प्रमुख कारण हो । गत बर्ष देखि पूँजी बजारमा प्रवेश गरेकी सिकारु लगानीकर्ता । विद्यार्थी जीवनबाट भर्खर सामान्य जागिर गरेकी । मेरो जागिरको सानो बचत, बुवा आमाले माया गरेर दिएको केही पैसा, दाजु र भिनाजुबाट प्राप्त रकम समेत खाई नखाई र लुकाई राखेको पैसाले गत वर्ष देखि शेयर बजारमा प्रवेश गरे । सायद म बजार प्रवेश गर्दा नेप्से १२०० को हाराहारी थियो । शेयर बजारमा म प्रवेशको परिवेश पनि आफ्नै छ । मेरा धेरै चिनेजानेका आफन्तहरुले शेयर बजारमा लगानी गरि मनग्य कमाएका थिए । तीन चार बर्ष अगाडी च्याउरिएको अनुहार सहित बसमा हिड्नेहरु आफ्नै कारमा हिंड्न् थालेका थिए । त्यो सबै देखेकी म र तिनीहरु भन्दा सक्षम छु भन्ने मेरो बुझाईले म पनि केही गर्न सक्छु त्यो पनि शेयर बजारबाटै भन्ने सोची यो क्षेत्रलाई नै बचत लगानीको क्षेत्रको रुपमा रोजेकी थिए । जम्मा जम्मी ५ लाखबाट शुरु गरेको यो मेरो आफ्नो ब्यबसाय गत असारमा आउदा करिब १२ लाखको भएछ । म अति नै उत्साहित थिए । मेरो सम्पति बढेको देखेर । मेरो लोभ अनि जोस संगसगै बढेको थियो। मैले मेरा बुवा दाजु भिनाजु सबैलाई मेरो प्रगतिबारे सुनाए । सबै खुशी हुनु भयो । सबैले मलाई स्याबासी दिनुभयो । छरछिमेकले बजारबाट कमाएको देखेको हाम्रो परिवार अनि मैले नै कमाएको प्रमाण देख्नु भएको मेरो बुवा शेयर बजारप्रति अति नै उत्साहित हुनुभयो । मेरो शेयर बजारमा गरेको प्रगति देखेर मेरो बुवाले ५८ वर्ष निजामती सेवामा जागीर गरेर अबकास हुँदा प्राप्त गरेको रु २० लाख साउनको पहिलो हप्ता मलाई लगानी गर्न दिनुभयो । म सारै उतसाहित भए । तुरुन्तै त्यो रकम बजारमा लगानी गरे । सायद त्यतिबेला नेप्से १८०० मा थियो । सबै भन्दै थिए बजार छिट्टै २२०० पुग्छ । बुवाले जीवनकाल भरी कमाउन नसकेको रकम अब म बुवालाई कमाएर दिन्छु भन्ने प्रतिबद्धता साथ बजारमा बुवाको त्यो मेहनतको कमाई लगाए । साथी भाईको सल्लाह र मेरो आफ्नै विवेकलेले गरेको त्यो लगानी आज धेरै घटेको छ । मैले गत बर्ष गरेको लगानी त नोक्सानमा छैन अझसम्म तर मेरा बुवाको लगानी ३०% जति नै घटेको छ । मलाई मेरो लगानीको भन्दा मेरो बुवाको जिन्दगी भरीको कमाई डुबाएकोमा ठूलो पश्चाताप छ । बेलुका सुत्न गाह्रो भएको छ । दिन एकान्त प्रेमी बन्न थालेको छ । कहाँ जाउ के गरौं जस्तो भएको छ । बेचौ घाटा छ नबेचौ अझै कति नोक्सान हुने हो थाहा छैन । सधै यस्तै तरङ्गले मन बिचल्लीत भएको छ । बुवाको जिन्दगी भरीको त्यो मेहनत को कमाई ३०% घटेको कसरी सहन गर्न सक्नु हुने छैन । धेरै साथी भाइसंग सरसल्लाह गरेको छु । कसैले भन्छ यो त घटन मात्र सुरु गरेको अबस्था मात्र हो नानी । सम्झ तिमीले शेयर खरिद गर्दाको अबस्था भर्खरै असारको शुरुको खोलाको बहाव थियो । तिम्रो बुवाको लगानी मध्य साउनको खोलाको बहाव थियो । मानौ अहिलेको अबस्था दसैं तिरको खोलाको बहाब हो । पौषमा पानी जम्न त बाकी नै छ । बिस्तारै चैत आउछ अनि हिउँ पग्लिन्छ र फेरि बर्षा शुरु हुन्छ अर्थात फेरि शेयर चरम उत्कर्शमा पुग्छ । धैर्य गर नानी तिमी गलत समयमा बजार प्रवेश गरेउ । अर्को साथीलाई सोध्यो यो पुरै ठूलाहरुको चलखेल हो । यस्तो अवस्था पटक पटक आएको हो । अब ठूलाले सबै शेयर बेची सके । केही दिनमा यिनीहरु बजारमा आइ हाल्छन । अनि क्रमस बजार बढ्छ । तिमीले तिम्रो बुवाको सपना छिट्टै साकार गर्दैछौ । शुक्रबार राती अबेर सम्म एस्तै कुराले राती २ बजेसम्म निद्रा परेन अनि बल्ल २:३० बजे निदाएछु । तर झन डरलाग्दो सपनी देखे । मन पुरै बेचैनी छ । के गरु कसो गरु भनेर । फेसबुकबाट

‘न्यूरोड मोबाइल महोत्सव’ पुस १३ गतेदेखि शुरु, ग्राहकलाई हातखाली नजाने उपहार

काठमाडौं, १० पुस । ‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव- २०७३’ हुने भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुस १३ गतेदेखि पुस १९ गतेसम्म (डिसेम्बर २८ तारिखदेखि जनवरी ३ तारिख) एनसेलको प्रायोजनमा मोबाइल महोत्सव आयोजना गर्ने भएको छ । संघले नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्न लागेको हो । नेपालीहरुले पनि गुणस्तरीय मोबाइल सेटहरु खरिद गरुन र नठगिउन भन्ने उदेश्यका साथ “जहाँ मोबाइल बजार त्यहिँ मोबाइल महोत्सव” भन्ने मूल नाराका साथ मोबाइल महोत्सव गर्न लागिएको हो । महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यो महोत्सवमा सबै मोबाइल ब्राण्डको सहभागीता रहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्ताहरुलाई अधिकतम छुट दिइने बताएका छन् । “अंग्रेजी नयाँ वर्ष शुरु हुँदै गर्दा आफ्ना नजिकका साथीभाई तथा परिवारलाई मोबाइल उपहार दिने यो सबैभन्दा उपयुक्त अवसर हुनेछ” उनले भने, यो महोत्सव अहिलेसम्मकै ठूलो र भव्य मेला हुनेछ । नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो संस्था हो । यस संघमा हाल ५०० भन्दा बढि रिटेलरहरुको आबद्धता रहेको छ । मोबाइल महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड मोबाइल महोत्सवमा आउने हरेक ग्राहकलाई हातखाली नजाने उपहार राखिएको भन्दै न्यूरोड क्षेत्रमा गुणस्तरीय उत्पादनमात्र बिक्री गरिएको बताएका छन् । उनले भने, “हामी ग्रे मार्केटका कुनै पनि उत्पादनहरु बिक्री गर्दैनौं र ग्राहकहरुलाई स्तरिय सामान मात्र उपलब्ध गराउँछौं ।” महोत्सव अवधि भर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिनेछ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिक रुपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिनेछ । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिक रुपमा बिक्री शुरु गर्नेछन् । महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरुमा फुड जोन, किड्स जोन, गेमिंग जोन ग्राहकहरुका लागि राखिनेछ भने हरेक मोबाइलको खरिदमा विशेष छुट दिईनेछ । नेपालका अधिकांश मोबाइल ब्राण्डहरुको सहयोगमा आयोजना हुने न्यूरोड मोबाइल महोत्सवले ग्राहकहरुलाई नयाँ मोबाइल तथा एसेसरिज किन्ने उपयुक्त अवसर प्रदान गर्ने आयोजकले बताएका छन् ।

धादिङ महोत्सवमा मास, आलु र भटमासको चर्चा, महोत्सव पुस १७ गतेसम्म चल्ने

धादिङ, १० पुस । धादिङबेंसीमा यही पुस ७ गतेदेखि सञ्चालित धादिङ महोत्सवमा सल्यानटारको मास, झार्लाङको आलु र लेकाली भटमासले चर्चा पाएको छ । विशेष कृषि प्रदर्शनी आकर्षणको केन्द्रका रुपमा रहेको छ । बेमौसममा उत्पादन भएका बाली तथा हस्तकला, पर्यटन, स्थानीय उद्योगका सामग्री केही कक्षमा पनि भिड लागेको आयोजक समितिका सचिवालयका रोहित भण्डारीले जानकारी दिएका छन् । यही पुस १७ गतेसम्म चल्ने महोत्सवमा रहेका दुई २१ कक्षमध्ये भारतका व्यवसायीका कक्ष पनि छन् । अचार, कपडा, खेलौना, बदाम बिक्री गर्ने भारतीयको पनि बाहुल्य छ । रासस

लगानी बोर्ड सुस्ताएकामा सांसदको आपत्ति, समस्या समाधान गर्न सरकारलाई निर्देशन

काठमाडौं, १० पुस । लगानी बोर्डले अगाडि बढाएका आयोजना प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भनी सांसदहरुले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्, अर्थ समितिको आइतबारको बैठकमा सांसदले ठूला जलविद्युत् आयोजना एवम् भौतिक पूर्वाधारको विकासका लागि बोर्ड स्थापना गरिए पनि पछिल्ला दिनमा बोर्ड सुस्ताएको आरोप लगाए । पाँच महिनादेखि बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता महत्वपूर्ण आयोजनाको काम रोकिँदै आएको छ । आयोजनाका प्रवद्र्धकले निजी जग्गा सहज रुपमा प्राप्त गरे पनि सरकारी तथा वन क्षेत्रको जग्गा प्राप्त गर्न अप्ठ्यारो परेको गुनासो आएको छ । आयोजना विकासका लागि परियोजना सम्झौता सम्पन्न भएको लामो समय भइसकेको र निजी जग्गा प्राप्तिको काम करिब सम्पन्न हुने दिशामा अगाडि बढेको भए पनि सरकारले नै उपलब्ध गराउनुपर्ने वन तथा सरकारी जग्गा प्राप्त गर्न नसक्नु दुःखद हो भन्दै सांसदले किन त्यस्तो भयो भन्ने प्रश्न गरेका थिए । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतलज विद्युत् निगमले निजी जग्गालाई एक अर्ब १० करोड ८८ लाख रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्लिकाजून राव (जिएमआर)ले प्रभावित क्षेत्रमा प्रतिरोपनी रु आठ लाख ७५ हजार मुआब्जा वितरण गरिने तयारी गरेको छ । बोर्डको बैठक बस्न नसक्दा वन क्षेत्रको जग्गा प्राप्त गर्ने विषयमा निर्णय हुन नसकेको जनाउँदै सांसदले बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसँग जिज्ञासा राखेका थिए । सांसद शक्तिबहादुर बस्नेत, कमला पन्त, उदयशम्शेर राणा, विदुर सापकोटा र शेरबहादुर तामाङले बोर्डको काम प्रभावकारी हुन नसक्नाका कारण तत्काल जानकारीमा आउनुपर्ने बताए । बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले समग्र तयारी गर्न समय लागेका कारण बैठक बस्न नसकिएको बताउँदै केही दिनभित्रै आवश्यक निर्णय लिइने जानकारी दिए । उनले अरुण तेस्रोको काम प्रभावकारी रुपमा अगाडि बढेको र उसलाई वित्तीय व्यवस्था गर्न समस्या नरहे पनि माथिल्लो कर्णालीका सम्बन्धमा भने अझै केही जटिलता रहेको उल्लेख गए । समस्या समाधानमा केन्द्रित छौं– श्रेष्ठ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समग्र विषयमा छलफल हुने र ठूला आयोजनामा परेको जटिलता फुकाइने बताए । राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीले समेत नियमित अनुगमन गरिरहेका र आयोगका सबै सदस्यसमेत नियमित अनुगमनमा लागको जानकारी दिँदै उनले यही पुस १८ गते बस्ने समितिको बैठकबाट सबै समस्याको निरुपण हुने बताए । कर्मचारीमा काम गर्नेभन्दा जिम्मेवारी पन्छाउने प्रवृत्ति कायम रहेसम्म काम गर्न समस्या हुने र विकास निर्माणका काममा समेत गत्यावरोध उत्पन्न हुने जनाउँदै उपाध्यक्ष श्रेष्ठले जिम्मेवार निकाय मुलुक र जनताप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिए । तत्काल समस्या समाधान गर – समिति अर्थ समितिले माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता आयोजनामा देखिएको जग्गा प्राप्तिको समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अरुण तेस्रोले निर्माण सुरु गर्ने वचन दिएको र वित्तीय व्यवस्थापन गर्ने सम्बन्धमा समेत जानकारी गराइसकेका सन्दर्भमा बोर्डको बैठक बसेर आवश्यक निर्णय लिन समितिले सरकारलाई निर्देशन दिएको सभापति प्रकाश ज्वालाको भनाइ छ । समितिले नेपाली नागरिकले लगानी गर्न सक्ने गरी एउटा महत्वपूर्ण जलविद्युत् आयोजनाको निर्माण सुरु गर्नसमेत बोर्डलाई निर्देशन दिएको छ । रासस

८ खर्ब ३८ अर्बको पुर्ननिर्माणमा अनिवार्य बीमा कार्यान्वयनमा आलटाल, प्राधिकरण भन्छ-छलफल हुँदैछ

काठमाडौं, १० पुस । ८ खर्ब ३८ अर्ब खर्चेर भैरहेको पुर्ननिर्माणमा अनिवार्य बीमा गराउने संसदिय समितिको निर्णय कार्यान्वयनमा पुर्ननिर्माण प्राधिकरणले आलटाल गरेको छ । भविष्यमा आउन सक्ने भूकम्प लगायतका प्राकृतिक विपक्तिबाट निजी तथा सार्वजनिक सम्पदा लगायतको जोखिम हस्तान्तरणका लागि भन्दै व्यवस्थापिका संसदको विकास समितिले भदौँ २० गते अनिवार्य बीमा गाराउन निर्देशन दिएको थियो । ‘भूकम्पले क्षति पुर्याएका निजी तथा सार्वजनिक संरचनाको पुर्ननिर्माणका क्रममा अनिवार्य बीमा गराउनेबारे हामीले पटक पटक सम्बन्धित निकायसँग छलफल गरेका छौं, तर ठोस उपलब्धि हासिल हुन सकेको छैन’, आइतबार प्राधिकरणको एक बर्षे प्रगति सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भने । उनले अनिवार्य बीमा गराउन अनेकौं प्राबिधिक कठिनाई रहेको दावी समेत गरे ।‘पुर्ननिर्माणका क्रममा बन्ने संरचनाको अनिवार्य बीमा गराउन जटिलता धेरै देखिए, एक पटकको प्रिमियम सरकारले तिरिदेला तर त्यसपछिको प्रिमियम कस्ले तिर्ने भन्ने पनि देखियो’, ज्ञवालीले भने । उनले गाउँ गाउँका गरिब जनताले बीमाको प्रिमियम तिर्न सक्ने अवस्था समेत नरहेको तर्क पनि गरेका थिए । यद्यपी भूकम्पपछि निर्माण हुने निजी तथा सार्वजनिक संरचनाको अनिवार्य बीमा गराउन सकिए जोखिम हस्तान्तरणमा सघाउ पुग्नेमा पनि उनी पनि सहमत नै देखिए । २०७२ सालको बैशाख १२ गते गएको भूकम्पले ४ लाख ९८ हजार ८ सय ५२ वटा निजी घर भत्किएका थिए । २ लाख ५६ हजार ६ सय ९७ वटा निजी भवनमा आंशिक क्षति पुगेको थियो । ९ हजार विद्यालय ध्वस्त भए भने ११ सय वटा सरकारी कार्यालय भत्किँदा कुल ७ खर्ब ६ अर्बको क्षति भौतिक सम्पति क्षति पुगेको थियो । तर जम्मा १७ हजार ८ सय ४० घरको मात्रै बीमा दावी परेको थियो ।ती घरको १६ अर्ब ६३ करोड ६७ लाख रुपैंयाँ बराबर बीमा दावी गरिएको थियो । भदौ २० गते बसेको विकास समितिको बैठकले ‘पुनर्निर्माणको क्रममा बनाइने निजी तथा सार्वजनिक संरचनाहरुको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउन’ सरकारलाई निर्देशन दिएको थियो । विकास समितिको बैठकमा अनिवार्य बीमा बारे आवाज उठाउन सांसद रामकुमार भट्टराई भन्छन–‘बीमा नगरिएकाले पुननिर्मााणको ठुलो बोझ सरकारको काँधमा आयो, अब पनि बीमालाई अनिवार्य गरिएन भने भोली आइपर्ने यस्ता विपत्तिहरुको बोझ फेरी सरकारकै काँधमा आउँछ, त्यसकारण बीमा गरेर जोखिम हस्तान्तरण गर्नु आवश्यक ठानेर नै मैले विकास समितिमा कुरा उठाएको थिए, समितिले निर्देशन पनि दिएको थियो तर कार्यान्वयन नहुँदा दुःख लागेको छ ।’

विद्युत्भार कटौती अभियानमा अवरोध नगर्न सङ्गठनको आग्रह

काठमाडौं, १० पुस । काठमाडौं उपत्यकामा जारी विद्युत्भार कटौती मुक्त अभियानमा अवरोध नगर्न र नेपाल विद्युत् प्राधिकरणमा राजनीतिलाई हाबी हुन नदिन नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (संयुक्त)ले आग्रह गरेको छ । प्राधिकरणमा क्रियाशील नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेनशले पारित गरेका नीति तथा कार्यक्रमका बारेमा आज जानकारी दिँदै सङ्गठनले लामो समयदेखि विद्युत्भार कटौती गरेर मुलुकको आर्थिक विकासमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ । सङ्गठनले प्राधिकरणलाई नाफामा लैजान अनावश्यक राजनीतिक नगर्न र युनियनको नाममा व्यवस्थापनलाई अटेर गर्ने काम नगर्न तथा विद्युत्भार कटौतीमुक्त अभियानमा असहयोग गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरेको छ । काठमाडौंमा मात्रै विद्युत्भार कटौतीको अन्त्य हुँदा आमनागरिकमा राहतको महसुस भएकोे, उद्योग व्यवसायमा सकारात्मक परिणाम उत्पन्न भएकामा खुसी व्यक्त गर्दै प्राधिकरणभित्र रहेको अनियमितता, भ्रष्टाचार नियन्त्रण गर्न सङ्गठनले आग्रह गरेको छ । प्राधिकरणले अगाडि बढाएका आयोजना तत्काल पुरा गर्न, प्राधिकरणको संस्थागत सुधारमा ध्यान दिन तथा टे«ड युनियनलाई मर्यादित बनाउनसमेत सङ्गठनले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकको ऊर्जा क्षेत्रको विकासमा केही सकारात्मक सङ्केत देखा परेको अवस्थामा त्यसलाई पूर्णता दिन विवाद गर्नुको अर्थ छैन भन्दै सङ्गठनले टे«ड युनियन सहयोगी बन्नुको साटो असहयोगी भएकामा आपत्तिसमेत प्रकट गर्नुपरेकोे अध्यक्ष खगेन्द्र शाहीले जानकारी दिए । शाहीको अध्यक्षमा नयाँ समिति प्राधिकरणमा क्रियाशील नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनले खगेन्द्र शाहीको अध्यक्षतामा ९७ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (संयुक्त) गठन गरेको छ । सङ्गठनको उपाध्यक्षमा झुलिराम थापा, रवीन्द्र आचार्य, माधव ढकाल, बमबहादुर जिसी, भानबहादुर चन्द, महेश सिग्देल, शिसनाथ चौधरी, कल्याण भुजेल। महासचिवमा माधव अधिकारी, उपमहासचिवमा टीकाराम दाहाल, सचिवहरुमा नवीन आचार्य, लीलाबहादुर थापा, सज्जन कुइँकेल, नरबहादुर थापा कोषाध्यक्षमा प्रकाश पौडेल, सहकोषाध्यक्षमा यज्ञ ढकाल, सङ्गीता बानियाँ निर्वाचिन भएका छन्। रासस

एनबी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा हेमराज ढकाल चयन

काठमाडौं, १० पुस । एनबी इन्स्योरेन्स कम्पनी लि.को अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । आइतबार बसेको कम्पनीको सञ्चालक समितिले ढकाललाई अध्यक्ष बनाएको हो । ढकालले यस कम्पनीको प्रवद्र्धक समूह आइएमई ग्रुपबाट प्रतिनिधित्व गरेका हुन् । यस अघि सोही ग्रुपबाट अम्बिकाप्रसाद पौडेलले प्रतिनिधित्व गरेका थिए । मंसिर १७ गते कम्पनीको साधारणसभा सम्पन्न भएपछि पौडेलले अध्यक्षको पदबाट राजीनामा गरेका थिए ।