विकासन्युज

देशका केही स्थानमा वर्षा, यी जिल्लाका खोलामा जल सतह सतर्कता तह पार गर्दै

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जल सतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।   भक्तपुरको हनुमन्ते खोला कौशलटार जल मापन केन्द्रको जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ । रुकुम पश्चिमको ठूलो भेरी, रिम्ना जल मापन केन्द्रको जल सतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।  यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गर्दै आम जानकारी गराएको छ ।

फुटबलर साम्बालाई हेटौँडामा सम्मान

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई हेटौंडामा सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले शनिवार हेटौंडामा आयोजना गरेको देश चिनाउने सम्बासँग हाम्रो चिनजान कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।  सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवं हटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेण्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । सम्मानपछि बोल्दै खेलाडी भण्डारीले आफूले धेरै मेहनत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताइन् । मोजाको भकुण्डोबाट आफ्नो फुटबल करियर शुरु भएको स्मरण गर्दै अभावै अभावमा हुर्किएर यो स्थानमा आएको उनले बताए । कप्तान भण्डारीले मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको बताए ।  कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गरे । नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उनको भनाई थियो । फुटबलको माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा नेपाली महिला फुटबल टिम रहेको उनले बताए । सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै नेपालको नाम चिनाउनका लागि आफू सदैव अग्रसर रहने उनले प्रतिवद्धता जनाए । कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको धारणा राखे । 

अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्न सक्ने

काठमाडौं । अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्न सक्ने व्यवस्था कानुनी रूपमा स्थापित भएको छ । संघीय संसदबाट पारित ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रमाणीकरण गरेसँगै यस्तो अधिकार मन्त्रिपरिषद्को जिम्मामा गएको हो । प्रमाणीकरण भएसँगै ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको पारिश्रमिक र सेवा–सुविधा सम्बन्धी ऐन, २०४९’ मा संशोधन भएको छ । संशोधित व्यवस्थाअनुसार अब नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर प्रधानमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तोक्न सक्नेछ । २०४९ मा बनेको मूल ऐनअनुसार प्रधानमन्त्रीको मासिक तलब ९ हजार रुपैयाँ तोकिएको थियो । उपप्रधानमन्त्रीको ७ हजार ५ सय, मन्त्रीको ७ हजार, राज्यमन्त्रीको ६ हजार ७ सय र सहायक मन्त्रीको ५ हजार ८ सय तोकिएको थियो । समयानुकूल नबन्दा सरकारले विगतमा कार्यसञ्चालन निर्देशिका मार्फत पारिश्रमिक र सुविधा पुनरावलोकन गर्दै आएको थियो। २०७७ माघ २२ मा पारित आठौं संस्करणमा प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मका तलब–सुविधा अद्यावधिक गरिएको थियो । तर अब यो प्रक्रिया पूर्ण रूपमा कार्यपालिका-मन्त्रिपरिषद्‌कै निर्णयमा आधारित हुनेछ । सरकारले जुनसुकै बेला मन्त्रिपरिषद्बाट निर्णय गरेर तलब वृद्धि वा संशोधन गर्न सक्ने कानुनी अधिकार पाएको हो ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वामलोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताए । उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे । कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।  

अमेरिकी कर नीति र रोजगारीको घट्दो दरले बजारमा नकारात्मक असर

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै देशहरूमा नयाँ भन्सार कर लगाउने निर्णय गरेका छन् । त्यसैगरी, अमेरिकामा रोजगारीको संख्या अपेक्षा भन्दा कम देखिएपछि चिन्ता थपिएको छ । यी दुई कारणले गर्दा शुक्रबार विश्वका प्रमुख सेयर बजारहरूमा उल्लेखनीय गिरावट आएको छ । अमेरिकी डाउ जोन्स सूचकांक १.२ प्रतिशतभन्दा बढीले घटेर खुलेको छ भने पेरिस र फ्राङ्कफर्टका सेयर बजार दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् । अमेरिकी डलरले पनि प्रमुख मुद्राहरूको तुलनामा आफ्नो पहिलाको लाभ गुमाएको छ । ट्रम्पले अगस्ट १ को म्याद अगाडि नयाँ शुल्कको घोषणा गरे, जसले विभिन्न देशलाई सम्झौतामा आउन दबाब दिएको थियो । कमजोर रोजगारी तथ्यांकले बजारमा झनै दबाब अमेरिकी श्रम विभागका अनुसार, जुलाई महिनामा केवल ७३ हजार नयाँ रोजगारी सिर्जना भएको छ, जुन विश्लेषकहरूको अपेक्षाभन्दा निकै कम हो । साथै, मे र जुन महिनाको रोजगार तथ्यांकलाई पनि घटाएर संशोधन गरिएको छ । ट्रेडिङ समूहकी अनुसन्धान निर्देशक क्याथलीन ब्रुक्सले भने, 'अब रोजगारीको तथ्यांकले बजारको ध्यान पुरै तानेको छ । ट्रम्पका भन्सार शुल्कभन्दा पनि यो समाचार प्रभावशाली भएको छ ।' स्विट्जरल्यान्ड र क्यानडा प्रमुख निशानामा ट्रम्प प्रशासनले ७० देशमाथि नयाँ शुल्क लगाएको छ, जसमा क्यानडामाथि ३५ प्रतिशत र स्विट्जरल्यान्डमाथि ३९ प्रतिशत शुल्क प्रस्ताव गरिएको छ । स्विस सरकारले त्यसविरुद्ध अमेरिकासँग वार्ता गर्ने तयारी गरिरहेको जनाएको छ । केही देशहरू बेलायत, युरोपेली संघ, जापान र दक्षिण कोरियाले शुल्कबाट बच्न अमेरिका सँग सम्झौता गरिसकेका छन् । चीन भने वार्ताको प्रक्रियामा छ । फार्मा र प्रविधि कम्पनीमाथि असर ट्रम्पले अमेरिकी बजारमा औषधिको मूल्य नघटाएमा कडा कदम चाल्ने चेतावनी दिएपछि युरोपेली औषधि कम्पनीहरूको सेयर मूल्य घटेको छ । यता, प्रविधि कम्पनीहरूले राम्रा आर्थिक नतिजा देखाए पनि बजारमा अनिश्चितताले ती परिणामहरू ओझेलमा परेका छन् ।

एनएमबि बैंकले रुपन्देहीको तिलोत्तमा पार्कमा गर्‍यो वृक्षारोपण

काठमाडौं । एनएमबि बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो ।   एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपरे वृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए ।  उनले एनएमबि बैंक दिगो विकास अन्तरगत वातावरण मैत्री  र पर्यावरण संरक्षणको लागि प्राथमिकता राखेर काम गरिरहेको बताए ।  जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा बृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरु  निरन्तर गरिरहेको बताए । उनले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात  वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिने गरि एनएमबि बैंकका सम्पूर्ण बैंकिङ्ग कारोबार तथा  कर्जा लगानीहरु गरेको बताउदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायु अनुकूललाइ एनएमबि बैंकले आत्मसात् गरेको उल्लेख्य गरे । तिलोत्तमा वाड नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छ्नौट गरि वृक्षारोपण गरेको आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे । तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाइ उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफुहरु लागेको जानकारी दिए ।

देशमा भ्रष्टाचारले सीमा नाघ्यो : अध्यक्ष श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शनिबार काठमाडौंमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने गरेपनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गरे । उनले भ्रष्टाचार बढ्नुको मुख्य कारण प्रत्यक्ष निर्वाचन प्रणाली रहेको बताए । करोडौँ पैसा खर्च गरेर निर्वाचन जित्ने र त्यसपछि मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडा अध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेको बताए । मन्त्रीहरुले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उनको निष्कर्ष छ ।  उनले भने, ‘आज देशमा भ्रष्टाचारले सीमा नाघिरहेको अवस्था छ । किन भ्रष्टाचार हुन्छ, त्यो भ्रष्टाचारलाई उन्मुलन गर्नुपर्छ । भ्रष्टाचारीको आँखै हेर्दिन जस्ता अनेकौँ कुराहरु भनिइरहिएको छ । मुखै हेर्दिन भनिएको छ । यसको मुख्य कारण भनेको एउटा निर्वाचन प्रणाली हो । जसमा प्रत्यक्ष निर्वाचनमा करोडौँ पैसा खर्च गरेर जितेर आउने, सावाँ ब्याज चाहीँ सांसद मन्त्री भएपछि विभिन्न पालिकाका, मेयर, अध्यक्ष वा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु भएपछि असुल्ने प्रवृत्तिले गर्दा यो समस्या जन्मिएको छ ।’ अध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै अहिले फलानो राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्नेमा बहस भइरहेको बताए । एउटा नेता परिवर्तन हुने कुराले खासै फरक नपार्ने तर एजेण्डा लिएर अघि बढ्दा राम्रो हुने बताए । अहिलेको संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने जानकारी दिए ।

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

इलाम । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका लागि छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको हो । सागररसुभारम्भरएरिसा जेभीले सो बेलिब्रिज निर्माण गरेको हो । पुल नहुँदा विगतमा यात्रीहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । विशेष गरी वर्षायाममा सडक पूर्णरुपमा बन्द हुने गर्दथ्यो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखमा बेलिब्रिज निर्माण गरिएको हो । बेलिब्रिज ४८.६ मिटर लम्बाइको भएको सडक डिभिजन इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले बताए । इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चहानले बेलिब्रिज निर्माणसँगै झापा–इलाम सवारी आवागमनमा हसजता आएको बताए । ‘पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो’, उनले भने, 'बेलिब्रिज निर्माणले बाह्रै महिना सवारी आवागमनमा सहज हुने भएको छ ।’ गतवर्ष पहिरोका कारण दुई साता राजमार्ग बन्द हुँदा यात्रीहरुले ठूलो सास्ती खेपेका थिए । त्यतिबेला वैकल्पिक सडक नहुँदा ताप्लेजुङ, पाँचथर र इलामबाट झापा झरेका यात्रुहरु माईखोला वरिबाट पारीसम्म पैदल र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आएका यात्री पारीबाट वरिसम्म पैदल हिँडेर गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्न बाध्य भएका थिए । हाल पुवा खोलामा बेलिब्रिज निर्माण भएसँगै मेची राजमार्गको गोलाखर्क खण्डबाट सिधैँ केचना–कञ्चनजङ्गा सडक प्रयोग गर्दा ४७ किलोमिटरको दुरीमा झापाको विर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा ८३ किलोमिटर दुरीमा मात्र विर्तामोड पुग्न सकिन्छ । मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडकअन्तर्गत इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईले बताए । रासस