भोजपुर खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच
भोजपुर । जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका-८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युतको पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो । विद्युत् विस्तारको शुन्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । बाँकी रहेका घरमा पनि चाडै विद्युत् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले बताए । 'यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौँ' उनले भने, 'यहाँ शून्य अवस्थाबाट विद्युतको काम थालेर विस्तारको अन्तिम चरणमा पुर्याएका छौँ । यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।' केन्द्रीय विद्युत् विस्तार भएपछि वषौँदेखीको टुकीबत्तिको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी दिलकुमार योगीले बताए । पुस्तौँबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युतको केन्द्रीय लाइन विस्तारले सहजता भएको उनले बताए । विद्युत् विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । 'हाम्रो ठाउँका प्रायः सबै स्थान बिजुली पुगेको छ' उनले भने, 'विद्युत् विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ । अध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । वषौँपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ ।' दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयबासी दलबहादुर राईले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ । 'विद्युत् नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौँ', उनले भने, 'विद्युत् विस्तारपछि हामी धेरै खुसी छौँ । विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाएका छन् ।'
डोङफेङ नामीको चाडपर्व अघि नै अफर सार्वजनिक, ८० हजारसम्मको छुट पाइने
काठमाडौं । चाडपर्वको माहोल सुरु हुनु अघि नै विद्युतीय गाडी निर्माता डोङफेङ नामीले ‘अर्ली फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय प्रिमियम इलेक्ट्रिक ह्याचब्याक ‘नामी’ मा ८० हजार रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको हो । अहिले ग्राहकहरूले नामी ईभीलाई रु ३४ लाख ७९ हजारको साटो रु ३३ लाख ९९ हजारमै खरिद गर्न सक्नेछन् । ‘व्हाई वेट फर द फेस्टिभल’ भन्ने नारासहित ल्याइएको यस अफरमार्फत ग्राहकहरूले चाडपर्वको भीड र पर्खाइबिना नै समयमै उत्सवको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि मोटर्सका अनुसार, नामी ईभी छोटो समयमा नेपाली बजारमा लोकप्रिय बन्न सफल भएको छ । सेग्मेन्ट–फर्स्ट फिचरहरू, भरपर्दो रेन्ज, उत्कृष्ट मूल्य र लक्जरी अनुभवका कारण यो ह्याचब्याकले नयाँ पुस्ताका लागि आधुनिक र स्मार्ट रोजाइको रूपमा आफूलाई स्थापित गरिसकेको कम्पनीको दाबी छ । नामी ईभीमा बोल्ड डिजाइन, सुविधायुक्त इन्टेरियर, स्मार्ट प्रविधि र प्रयोगकर्ता मैत्री अनुभव रहेको छ, जसले यसलाई फाइभ–स्टार लक्जरी ईभीको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ । यस अफरमार्फत डोङफेङ नामीले विद्युतीय सवारी साधनलाई अझ धेरै नेपाली उपभोक्तासम्म पुर्याउने र चाडपर्वको अवसरमा ग्राहकहरूलाई अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
साढे ४१ अर्बमा माथिल्लो सेती बन्ने, कुमारीको नेतृत्वमा एक दर्जन बैंकको लगानी
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका-४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि शनिबार कुमारी बैंकको नेतृत्वमा तथा एनएमबी बैंकको सह नेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । यस्तै, सो आयोजनामा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसि फाइनान्स सहितको सह वित्तीय व्यवस्थापन भएको छ । एक समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरे । ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने छ । सो आयोजना अर्ध जलाशय युक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ । आयोजनाको डिजाइन डिस्चार्ज ३४.१ घनमिटर प्रति सेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.ट मिटर रहेको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनाले विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ । आयोजना आगामी ५ वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवर्द्धक गुरागाईँले जानकारी दिए । आयोजनाबाट वार्षिक एक हजार २२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् आयोजना स्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रस्तावित ४०० केभी बझाङ सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड २५ करोड रूपैयाँ हुनेछ । आयोजनाको ३० प्रतिशत स्व पुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ । स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत आयोजना नेपालको जल विद्युत् विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।
एक सय २५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
ढोरपाटन । बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ । बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिए । ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उनको भनाइ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्य बताउँछन् । आचार्यले भने, 'अघिल्लो वर्ष परीक्षण गर्दा १०३ वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर १२५ पुग्यो, धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरेका गर्नुभएको छ, हामीहरूले सबै पालिकामा परीक्षणको दायरा बनाउँदै जाने छौँ, धेरै ठाउँका मुहानमा कोलिफर्म देखिएको छ ।' धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाकालको रोग लाग्न सक्ने उनको भनाइ छ । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले सुझाए । सबैभन्दा बढी कोलिफर्म दिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले मुहान सरसफाइ र संरक्षणमा लागेको बताए । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ । पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार नागरिकलाई सहज रूपमा शुद्ध पिउने पानीको व्यवस्थापन मिलाउन थालेको उपप्रमुख शर्मा बताउँछन् । रासस
काठमाडौं नेशनल मेडिकल कलेज पुन: सञ्चालनमा, प्राइभेटभन्दा सस्तो सेवा दिने दावी
काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उक्त अस्पतालको उद्घाटन गरे । उनले स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदम रहेको बताए। ८ वर्षअघि नै अध्यापनको लागि सम्बन्ध पाएको यो कलेजले सेवा दिन पाएको थिएन । अहिले एक सय शैयाको स्वीकृति लिएर अस्पताल सञ्चालन भएको हो । कलेजले अबको केही वर्षमा पाँच सय शैयाको अस्पतालसहित एमबीबीएस तथा एमडी कोर्ष गर्ने लक्ष्य लिएको छ। निजी मेडिकल कलेज संघका पूर्वअध्यक्षसमेत रहेका बसुरुद्दिन अन्सारीले २०६८ सालदेखिको प्रयासपछि कलेज अस्पताल सञ्चालनमा ल्याउँदा खुसी भएको बताए । उनले अब गुणस्तरमा कुनै पनि हामी कम्प्रोमाइज नहुने दाबी गरे । ‘हाम्रो सिद्धान्त नागरिकले सस्तो, राम्रो, बलियो, भरपर्दो सेवा पाउन् भन्ने हो,’ उनी भन्छन्, ‘अब कुनै हालतमा क्वालिटीमा कम्प्रोमाइज हुनेवाला छैन । पैसाको कुरा गर्नुहुन्छ भने हामीले सबैभन्दा सस्तो सरकारीभन्दा १० प्रतिशत बढी र प्राइभेटभन्दा धेरै सस्तो सेवा दिनेछौं।’ अन्सारीले गरिब निमुखा र असहायको लागि पनि अस्पतालमा विशेष व्यवस्था गरिएको पनि दाबी गरेका छन् । उनले यो अस्पताल पुनः सञ्चालनमा ल्याउनुको मुल उद्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु भएको बताए । आजदेखि सञ्चालनमा आएको नेशनल मेडिकल कलेजमा अनुभव टोली छ । नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन ल्याएको हो । ओपीडी निःशुल्क काठमाडौं नेशनल मेडिकल कलेज फेरि सञ्चालन गरेको अवसरमा अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको छ । अर्को सूचना जारी नहुँदासम्म निरन्तर उपलव्ध हुने जनाइएको छ । अस्पतालले अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको जनाएको छ । केही दिनसम्म विशेषज्ञ सेवाअन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोनी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक–कान–घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ । अबदेखि अस्पतालमा एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड एक्सरे र फिजियोथेरापी सेवामा पनि छुट दिइने छ भने आपतकालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहने छ । फार्मेसी सेवा भने अस्पताल परिसरमै उपलब्ध गराइने छ । बसुरुद्धिनले स्वास्थ्य मन्त्रालयबाट कुनै अनुमति नलिइ अवैध रूपमा सञ्चालन भएको थाहा भएपछि यो अस्पताल बन्द गराइएको थियो । तर बसुरुद्धिन अवैध नभइ विशेष कारणवश गोविन्द केसीको अनसनबाट बन्द गर्नु परेको बताउँछन् । ‘पहिले केही प्राविधिक समस्याहरू थिए, चलिसकेको अस्पताल रोक्नुपर्यो, फेरि चिकित्सा शिक्षा आयोगले अर्कै बार लगाइदियो र हामी बीचमा हराएजस्तै भयौं । अब हामी गुणस्तरीय र सस्तो सुलभ सेवा प्रदान गर्नेछौं,’ उनले भने । उनले अब सबै सरकारी प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याएको बताए।
एलएस अटोका २ नयाँ कार नेपालमा
काठमाडौं । एलएस अटोको नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ मोडलका विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएको छ । एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचब्याक र अलह्वील ड्राइभका दुई मोडल नेपाल आइपुगेका हुन् । आगामी साउन २१ बाट सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा एलईभी ०५ र एलईभी एक्स प्रदर्शन हुनेछ । एलईभी ०५ एक प्रिमियम ह्याचब्याक कार हो । यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट अवारको ब्याट्रीप्याक रहेको छ । ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने कम्पनीले दावी गरेको छ । त्यस्तै, एलईभी एक्स एक अलह्वील ड्राइभ क्रसओभर एसयूभी हो । यसअघि नेपालमा बिक्री भईरहेको एलईभी वानको अलह्वील ड्राइभ भर्सन एलईभी एक्समा ७७ किलोवाट आवरको व्याट्रीप्याक र १९८ किलोवाटको मोटर रहेको छ । यो एसयूभीले ५५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दावी गरेको छ । सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभी अलह्वील ड्राइभ भएसँगै जस्तोसुकै बाटोहरूमा समेत आरामले चलाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एलईभी वानमा भन्दा अलह्वील ड्राइभ एलईभी एक्समा क्याविनका केही फिचरहरू समेत अपडेट भएका छन् । यी कारको मूल्य भने नाइमा मोबिलिटी शोमा सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको छ ।
धितो मूल्याङ्कनमा त्रुटि भेटियो, एनबीएले पूरा गर्न नसकेका माग सम्बोधन हुँदैनन्
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको धितो मूल्याङ्कनकर्ता (इन्जिनियर)हरू विभिन्न माग राख्दै आन्दोलित छन् । मूल्याङ्कर्ताहरुको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभीए)ले ६ बुँदे माग राख्दै बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध आन्दोलन जारी राखेका छन् । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक मन्दी र घरजग्गा व्यवसायमा आएको शिथिलताले खरिदबिक्रीमा कमी आएको मूल्याङ्कनकर्ताहरुको ठम्याइ छ । तर, केन्द्रीय बैंकको निर्देशन विपरीत बैंकहरुले मूल्याङ्कनकर्तालाई सर्तनामा गराउने, एकपक्षीय रुपमा बिना सुनुवाइ कालोसूचीमा राख्ने लगायतको काम भएकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)मा सम्पूर्ण मूल्याङ्कन सम्बन्धी कार्य बन्द गर्ने घोषणा गरेका छन् । नेपाल बैंकर संघ (एनबीए) र नेपाल भ्यालुयर्स एसोसिएशनबिच भएको सर्भिस ड्राफ्ट एग्रीमेन्ट फर्म्याट कार्यान्वयन गर्नुपर्ने, घरजग्गा मूल्य र मूल्याङ्कन घटेको आधारमा मूल्याङ्कनकर्ता इन्जिनियरहरूमाथि गरिएको कालोसूची लगायतका कारबाहीको सिफारिस फिर्ता लिनुपर्ने, अनगिन्ती मूल्याङ्कनकर्ता सूचीकृत गर्ने तर काम नदिने परिपाटी तुरुन्त अन्त्य गर्नु पर्ने, चक्रिय प्रणाली अन्तर्गत बाँडफाँट गर्नुपर्ने तथा न्यूनतम् मासिक रुपमा सूचीकृत मूल्याङ्कनकर्ताले कार्यदेश प्राप्त गर्ने सुनिश्चित गर्नुपर्ने माग मूल्याङ्कनकर्ताहरुले राखेका छन् । यस्तै, एनभीएद्धारा जारी मूल्याङ्कन परामर्श सेवा शुल्क तत्काल लागू गर्नुपर्ने, नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम मूल्याङ्कनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व अनिवार्य उल्लेख गरेर मूल्याङ्कनकर्तासँग सम्झौता गर्ने र मूल्याङ्ककनकतालाई विभिन्न बहानामा काम नदिई निलम्बन गरेको कारबाही तत्काल फिर्ता लिनुपर्ने मूल्याङ्कनकर्ताहरुले माग राखेका छन् । मूल्याङ्कनकर्ताहरुले गरेको आन्दोलनप्रति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै, बैंकर्स संघले समेत स्वीकार नगरेको मागलाई एनआईएमबिसँग जोडि गलत प्रचार गरेर बैंकको प्रतिष्ठामा आघात पार्न खोजिएकाले बैंकले गम्भीर आपत्ति जनाएको छ । मूल्याङ्कनकर्ताको समस्या समाधान तथा मूल्याङ्कन कार्य सुधार सम्बन्धमा बैंक गम्भीर नभएको भन्ने आरोपप्रति असहमति जनाउँदै एनभीएका मागहरु एनआईएमबिप्रति मात्र लक्षित नभई सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित रहेको बैंकको बु्झाइ छ । साथै बैंकले एनभीएले राखेका ६ बुँदे मागको जवाफ समेत दिएको छ । एनभीएको माग: नेपाल बैंकर संघ र नेपाल भ्यालुयर्स एसोसिएशनबिच भएको सर्भिस ड्राफ्ट एग्रीमेन्ट फर्म्याट तत्काल पूर्ण रुपमा कार्यान्वयन गर्नुहुन । बैंकको धारणा: बैंकले हाल व्यवस्था गरेको बैंक र मूल्याङ्कनकर्ताबिच गरीने सेवा सम्झौता पत्र विगत देखिनै मूल्याङ्ककनकर्ता र बैंक बिचमा छलफल भई लागु भएको र सो लाई समय सापेक्ष परिवर्तन तथा परिमार्जन गर्न सकिनेछ । यस बैंक नेपाल बैंकर एसोसिएशन र अन्य बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा उल्लेखित कार्यको लागि गरिनु पर्ने सहयोग एवं अग्रसरताका लागि सदैव तत्पर नै रहेको छ । एनभीएको माग: घरजग्गाको मूल्य र मूल्याङ्कन घटेको आधारमा मूल्याङ्कनकर्ता इन्जिनियरहरूमाथि गरिएको कालोसूची लगायतका कारबाहीको सिफारिस फिर्ता लिन हुन । बैंकको धारणा: बैंकले हचुवाको भरमा वा प्रतिशोध राखि कुनै पनि मूल्याङ्कनकर्तालाई कालोसूचीमा समावेश गर्नका लागी सिफारिस गरेको तथा भविष्यमा समेत गर्ने पनि छैन भने कालोसूचीमा समावेश गरिएको मूल्याड्ढकनकर्ताको हकमा समेत तहाँ एशोसियसनमा सूचीकृत मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरेको अचल धितो सम्पत्तिको सुरुवाती मूल्यमा एनभीएमा नै सूचीकृत नयाँ मूल्याङ्कनकर्ताबाट पुर्नमूल्याङ्कन गराउँदा धितो सम्पत्तिको मूल्यमा अस्वाभाविक रुपमा नकारात्मक अन्तर देखा परे पश्चात् बैंकले सो सम्बन्धमा हालको बजार मूल्यलाई समेत आन्तरिक अध्ययन पश्चात् मूल्याङ्कनमा नकारात्मक अन्तर आउनुको कारण स्पष्ट पार्न सम्बन्धित मूल्याङ्कनकर्ता (सुरुमा मूल्याङ्कन गर्ने)सँग स्पष्टीकरण माग गरी पत्र पठाएको तर उक्त पत्रको सम्बन्धित मूल्याङ्कनकर्ताबाट सन्तोषजनक जवाफ नपाए पश्चात् सम्बन्धित मूल्याङ्कनकर्तालाई पुनः लिखित रुपमा जानकारी गराई प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं २०८१, निर्देशन नं १२ को बुँदा नं ७ (३) मा उल्लेखित व्यवस्था 'कुनै इजाजतपत्र प्राप्त संस्थाले धितो लिलामी गर्दा धितो मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरेको रकम र पुर्नमूल्याङ्कन गर्दा दुई तिहाइ भन्दा कम भएमा वा गलत स्थान/प्रकृतिको धितोलाई सही हो भनी मूल्याङ्कन गरेमा त्यस्ता धितो मूल्याङ्कनकर्तालाई इजाजतपत्र प्राप्त संस्थाको सिफारिसमा केन्द्रले कालो सूचीमा समावेश गर्नु पर्नेछ’ बमोजिम नै बैंकले हालसम्म तीन मूल्याङ्कनकर्तालाई कालो सूचीमा समावेश गर्नको लागी कर्जा सूचना केन्द्रलाई सिफारिस गरेको अवस्था छ । माथि उल्लेखित व्यवस्थाको आधारमा मूल्याङ्कनकर्तालाई कालोसूचीमा समावेश गर्नको लागी कर्जा सूचना केन्द्रलाई सिफारिस गरेको सम्बन्धमा उक्त कार्य रोक्नको लागि यस बैंकको तत्कालीन मूल्याङ्कनकर्ता पशुपति इन्जिनियरिङ एण्ड टेक्नोलोजी प्रोमोशन सेन्टर प्रा. लि (अशोक लोहनी) वादी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रलाई प्रतिवादी बनाई वि.सं २०८१ मंसिर ४ मा उच्च अदालत पाटनमा मुद्दा ( रिट दायर गरेको उक्त मुद्दाको वि.सं २०८१ फागुन २१ मा न्यायाधीश शुदर्शनदेव भट्ट र न्यायाधीश टीकाराम आचार्यको संयुक्त इजलासमा सुनुवाइ भई पशुपति इन्जिनियरिङ एण्ड टेक्नोलोजी प्रोमोशन सेन्टर (अशोक लोहनी) को विपक्षमा फैसला भई रिट खारेज भएको जानकारी गराउन चाहन्छौ । एनभीएको माग: अनगिन्ती मूल्याङ्कनकर्ता इन्जिनियरहरू सूचीकृत गर्ने तर काम नदिने परिपाटी तुरुन्त अन्त्य गर्नु पर्ने । चक्रीय प्रणाली अन्तर्गत बाँडफाँट गर्नुहुन तथा न्यूनतम् मासिक रुपमा सूचीकृत मूल्याङ्ककनकर्ताले कार्यदेश प्राप्त गर्ने सुनिश्चित गर्नुहुन । बैंकको धारणा: बैंकले अचल धितोको मूल्याङ्कनको लागी मूल्याङ्कनकर्ता छनौट स्वचालित प्रणाली मार्फत गरिरहेको एनभीएलाई विदित छ । मूल्याङ्कनकर्ता छनौट स्वचालित प्रणाली मार्फत गरिने हुँदा मनोमानी तरिकाले मूल्याङ्कनकर्ता छनौट गर्ने कार्यको अन्त्य भइसकेको छ । बैंकले कुन मूल्याङ्कनकर्ताले कति पटक कामको लागी छनौट भएको छ भन्दा लगातार एउटै मूल्याङ्कनकर्तालाई मात्र छनौट नहोस् भन्नेमा बैंक सजग रहेको जानकारी गराउँछौ । बैंकको स्वचालित प्रणालीको तथ्याङ्क अनुसार झण्डै ३० हजार ग्राहकको स्वचालित प्रणाली मार्फत मूल्याङ्कनकर्ता छनौट भएको देखिन्छ । उहाँसम्म तीन मूल्याङ्ककनकर्ता मात्र कालोसूचीमा समावेश हुनु कुल ग्राहक संख्यामध्ये जम्मा ३ ग्राहकको अचल धितो मूल्याङ्कनको कारण भएको अवस्था छ जुन कुल संख्याको ०.०१ प्रतिशत हुन आउँछ । एनभीएको माग: नेपाल भ्यालुयर्स एसोसिएशनद्धारा जारी मूल्याङ्कन परामर्श सेवा शुल्क तत्काल लागु गर्न । बैंकको धारणा: यस बैंक मूल्याङ्कनकर्ताहरुले गरेको कार्य बमोजिम न्यायोचित पारिश्रमिक पाउनु पर्छ भन्ने पक्षमा नै रहेको जानकारी गराउँदै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा एकै प्रकारको परामर्श सेवा शुल्क निर्धारण गरि लागू गर्नका लागि नेपाल भ्यालुयर्स एसोसिएशन, नेपाल बैंकर एसोसिएशन तथा अन्य सम्बन्धित पक्षबिच छलफल भई वैज्ञानिक तवरले परामर्श सेवा शुल्क निर्धारण गरि सो सम्पूर्ण पक्षलाई मान्य भएमा सोही बमोजिमको परामर्श सेवा शुल्क निर्धारण गर्न यस बैंकको समेत पूर्ण सहमति रहनेछ । तर परामर्श सेवा शुल्क प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि बढी भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू तथा नेपाल बैंकर एसोसिएशन लगायत सम्बन्धित सबै पक्षलाई समेत समेट्नु पर्ने हाम्रो बुझाई रहेको छ । एनभीएको माग: नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम मूल्याङ्कनकर्ता इन्जिनियरहरूको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्त्व अनिवार्य उल्लेख गरी मात्र मूल्याङ्कनकर्तासँग सम्झौता गर्नुहुन । बैंकको धारणा: नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं २०८१, निर्देशन नं १२ को बुदा नं ७ ( १ )इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कन गराउने प्रयोजनका लागि मूल्याङ्कनकर्ता सूचीकृत गर्दा मूल्याङ्कनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्त्व स्पष्ट रुपमा उल्लेख गरी सम्झौता गर्नुपर्ने भएको व्यवस्था बमोजिम बैंकले मूल्याङ्कनकर्ताहरुसँग गरिने सम्झौतामा प्रष्ट रुपमा मूल्याङ्कनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्त्व उल्लेख गरी अचल सम्पत्तिको मूल्यांकन गर्नको लागि न्यूनतम् मापदण्ड समेत समावेश गरी सो लाई मूल्यांकन नीतिमा समावेश गरी बैंकको मूल्यांकन कार्यविधि सञ्चालक समितिबाट अनुमोदन गरी सम्झौता लागु गरिएको जानकारी गराउँछौ । एनभीएको माग: मूल्याङ्ककनकताहरुलाई विभिन्न बहानामा काम नदिई निलम्बन गरिएकाे कारबाही तत्काल फिर्ता गर्नुहुन । बैंकको धारणा: यस बैंक सदैव उचित र असल नियतले मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ताको योगदान र हित प्रति प्रतिबद्ध रहेको जानकारी गराउँछौ । बैंकले ऋणीलाई ऋण लगानी गर्ने विभिन्न आधारहरू मध्येका महत्वपूर्ण एवं संवेदनशील आधारको रुपमा रहेको अचल धितोको मूल्याङ्कन रकममा गम्भीर त्रुटी वा लापरबाही भेटिएको अवस्थामा त्यस्ता मूल्याङ्ककनकर्तालाई पर्याप्त स्पष्टीकरणको मौका दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएको अवस्थामा बैंकले आफ्नो मूल्याङ्कन नीति बमोजिम त्यस्ता मूल्याङ्कनकर्तालाई निलम्बन गरिएको हो । अन्त्यमा, मूल्याङ्कन कार्यलाई पारदर्शी, वैज्ञानिक एवं व्यवस्थित बनाउने तथा मूल्याङ्कनकर्ताको हकहितका लागि यस बैंक तहाँसंग समन्वय र सहयोगका लागि सदैव तत्पर रहेको तथा समय समयमा अन्तरक्रिया, तालिम, ज्ञान आदान प्रदान जस्ता कार्यक्रम मार्फत यस्ता मतभेदहरू छलफल गरी समय सापेक्ष क्षमता विकास कार्यक्रम मार्फत मूल्याङ्कन कार्यविधि, प्रतिवेदन ढाँचामा एकरूपता लगायत विषयका लागी नेपाल भ्यालुयर्स एसोसिएशन नेपाल बैंकर एसोसिएशन तथा बैंक तथा वित्तीय संस्थाहरुबिच हुने कुनै पनि सहकार्यमा यस बैंकको सदैव साथ र सहयोग रहने कुरामा हामी विश्वस्त गराउन चाहन्छौं ।
जुलाईमा भित्रिए ७० हजार विदेशी पर्यटक
काठमाडौं । सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनःलयमा आएको छ । सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कूल छ लाख ४७ हजार आठ सय ८२ जना विदेशी पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले यो सङ्ख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए । जुलाईमा कूल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार एक सय ५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट छ हजार आठ सय ९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट छ हजार छ सय २६ जना (९.४ प्रतिशत), बङ्गलादेशबाट चार हजार चार सय १३ जना (६.३ प्रतिशत) र बेलायतबाट तीन हजार पाँच सय ४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आगमन भएको छ । क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार सात सय ८७ जना (४८.१ प्रतिशत) र छन् अन्य एसियाली मुलुकबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट नौ हजार दुई सय ९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार सात सय ७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट एक हजार आठ सय सात जना (२.६ प्रतिशत), मध्यपूर्वबाट आठ सय २६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट तीन सय १८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट तीन हजार तीन सय २९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ । बोर्डका सीईओ जोशीले भने, ‘भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ ।’