मत्स्य विकास केन्द्र कुलेखानीको दुई हजार ५२४ किलो माछा उत्पादन, ६ लाख बढी आम्दानी
बागमती । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेको छ । कार्यालय प्रमुख मनिता पौडेललका अनुसार आव २०८१/८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेर बिक्री गरी ६ लाख १७ हजार २१६ राजस्व संकलन गरेको छ । अघिल्लो आव २०८०/८१ मा सो कार्यालयले दुई हजार ५१८ किलो माछा उत्पादन गरेर ६ लाख १७ हजार ५०० राजस्व संकलन गरेको थियो । कार्यालयको आव २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत इन्द्रसरोवर रिजरभ्वायरको जलिय जैविक विविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सिल्भर तथा बिगहेड कार्प माछाको सात लाख ३० हजार भुरा छोडिएको प्रमुख पौडेलले बताए । मकवानपुरको इन्द्रसरोवर तालमा केन्द्रले उत्पादन गरेको माछा स्थानीयस्तरमा नै खपत हुने गरेको छ। केन्द्रले हाल सिल्भर, बिगहेड, कमन ग्रास, रहु, नैनी, भाकुर, टीलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ । यस्तै माछापालनलाई प्रोत्साहन गर्न सो कार्यालयले विद्यार्थी र कृषकलाई लक्षित गरी मत्स्य घुम्ती शिविर र स्कुल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यालयले आव २०८१/८२ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्र कुलेखानीले माछापालनसम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। कार्यालय प्रमुख पौडेललका अनुसार कालिका मावि फाखेलमा स्कुल शिक्षा कार्याक्रमअन्तर्गत २४ जना विद्यार्थी, नौ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, नेपालमा मत्स्यपालनको अवस्था, पालनको लागि सिफारिस माछाको जातलगायत माछाको पौष्टिक महत्त्व तथा प्राकृतिक जलाशयको संरक्षण विषयमा प्रशिक्षण दिइएको छ । त्यस्तै सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा माछापालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता तथा स्कुल शिक्षा कार्यक्रम सम्पन्न गरिएको प्रमुख पौडेलले बताए । कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा मत्स्यपालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा १२ जना विद्यार्थीको सहभागिता रहेको थियो । सो कार्यक्रमबाट विद्यार्थीमा मत्स्य क्षेत्रको महत्त्वपूर्ण ज्ञान र जानकारी वृद्धि हुनुको साथै मत्स्यपालनका विभिन्न पक्ष र माछाको महत्वलाई अझ स्पष्ट रूपमा बुझ्न पाएको प्रमुख पौडेलको भनाइ छ । माछापालनलाई प्रोत्साहन गर्ने उद्देश्यले मत्स्य विकास केन्द्र कुलेखानीले चितवनको खैरहनी, सिन्धुलीको मरिण र नुवाकोटको ककनीमा मत्स्य घुम्ती शिविर समेत सञ्चालन गरेको छ। चितवनको खैरहनीमा आयोजित शिविरमा सुन्दरदीप महिला सहकारी संस्थामा आबद्ध २१ जना कृषकको सहभागिता रहेको थियो । यसैगरी सिन्धुलीको मरिण ४ सहान र नुवाकोटको ककनीमा सञ्चालित मत्स्य घुम्ती शिविरमा सहभागी ६० जना कृषकलाई मत्स्यपालनसम्बन्धी सैद्धान्तिक विषयवस्तुका विषयमा जानकारी दिँदै कृषकको पोखरी अवलोकन तथा अनुगमन गरी पोखरीको पानीको गुणस्तर मापन समेत गरिएको प्रमुख पौडेलले बताए । साथै विभिन्न गुणस्तरको उचितस्तर, माछामा लाग्ने विभिन्न रोग र तिनको नियन्त्रणको उपाय, पोखरीमा हुने सूक्ष्म जीव तथा जलीय वनस्पतिको भूमिकाजस्ता अन्य विषयवस्तुका बारेमा किसानसँग छलफलसमेत गरिएको प्रमुख पौडेलको भनाइ छ । कृषकलाई पोखरी व्यवस्थापनको लागि आवश्यक पर्ने विभिन्न रसायनहरूमध्ये चुना, टक्सिमार र मिनरल मिक्स्चर वितरण गर्नुको साथै ती सामग्रीको प्रयोग गर्ने विधिबारे समेत सहजीकरण गरिएको जनाएको छ ।
बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर
किमाथाङ्का । यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी– ७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक रहेका छन् । घाइतेमध्ये धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उनलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ बताए । अन्य घाइतेको बसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटना लगत्तै चालक सङ्खुवासभाको धर्मदेवी–६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ ।
भारत लैजान लागेका ७ किशोरीको उद्धार, भारतीय नागरिक पक्राउ
झापा । वैदेशिक रोजगारीको बहानामा भारत पु-याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पु-याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए । उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको छ । किशोरीलाई भारत पु-याउने अभियुक्तमध्ये एक जना भारतको दार्जीलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन् । अभियुक्तले वैदेशिक रोजगारका लागि हङ्कङ लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटङ्की नाका पु-याएका थिए । किशोरीहरुको आधार कार्डलगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेका बेला भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । नेपाली किशोरीलाई नेपाल ल्याउन माइती नेपालका संयोजक घिमिरेसहितको टोली शुक्रबार नै पानीटङ्की पुगेको थियो । तर, कानुनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरुलाई खोरीबारी प्रहरी थानामै राखेको उनले जानकारी दिए । उक्त घटनाबारे भारतीय प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । रासस
मधेस प्रदेश सरकारले १८ करोडको लागतमा वितरण गर्यो स्यालो ट्युबवेल
जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार दुई सय स्यालो ट्युबवेल वितरण गरिने उनको भनाइ छ । एउटा स्यालो ट्युबवेल जडान गर्न रु एक लाखदेखि तीन लाखसम्म खर्च हुने मन्त्रालयको अनुमान छ । साथै सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा पानीको सतह (गहिराई) कति छ त्यसको आधारमा खर्च लाग्ने उनको भनाइ रहेको छ । स्यालो ट्युबवेल वितरणका लागि अहिले सातदिने सूचना जारी गरिएको छ । एउटा ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने छ । मन्त्रालयले पानीको अभावमा मधेस प्रदेशमा अहिलेसम्म ५० प्रतिशत धानखेती भएको जनाएको छ ।
अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन् । ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपंक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा छन् । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुन पनि फार्ममा फलेको अकबर खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा बजारमा भौतारिरहेका छन् । शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबर खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ । बनौँ, शिवाङ र बेनी नगरपालिका–३ भकिम्लीमा अकबर खुुर्सानीको व्यावसायिक खेती भएको छ । ‘गत वर्ष परीक्षणका लागि लगाएको ९० वटा बिरुवाको अकबर बेचेर रु ३० हजार आम्दानी भएपछि यसपाली छ रोपनीमा १२ हजार बिरुवा लगाएको छु’, उनले भने, ‘स्थानीय बजार सानो छ । खपत थोरै हुुन्छ । धेरै खपत हुने ठूला सहरका व्यापारी र अचार उद्योग सञ्चालकसँग सम्पर्क नहुँदा समस्या भएको छ ।’ यस क्षेत्रमा यसअघि व्यावसायिक अकबर खुुर्सानीखेती भएका थिएन । घरायसी उपभोगका लागि मात्र अकबर खुुर्सानीखेती गरेका थिए । बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वी पहाडी जिल्लाबाट अकबर खुर्सानी आयात हुने गर्छ । आयातित खुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ । स्थानीय किसानहरूले रासायनिक मल र विषादीको विकल्पमा जैविक विधिबाट खुर्सानीखेती गरेका छन् । रोग र किराबाट बचाउन खिर्राको पात, तितेपाती, गाईभैंसीको गहुँतको प्रयोगका साथै झार उम्रिन नदिन ‘मल्चिङ’ प्रविधि प्रयोग गरेका छन् । खुर्सानीको बोटभन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन प्लास्टिकले छोपेर मल्चिङ गरिएको हो । प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने किसान ओमराजले बताए । स्थानीय बजारमा अकबर खुर्सानीको मूल्य प्रतिकिलो रु २५० देखि रु ३०० छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबर खुर्सानीखेती गर्न सकिन्छ । तरकारी, दाल, अचारमा ताजा खुर्सानीको प्रयोग हुन्छ । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले अकबर खुर्सानीको बजारीकरणका लागि स्थानीय व्यापारीका साथै पोखरा, काठमाडौंका बजार र अचार उद्योगीलाई कृषकको सम्पर्कमा ल्याउन पहल गरिरहेको बताए । खुर्सानीखेतीका लागि मल्चिङ, खनजोत गर्ने उपकरण र रोगकिरा नियन्त्रणका लागि परामर्शका साथै प्राविधिक सहयोग गरेको उनले बताए ।
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश
महोत्तरी । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । 'अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ', भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भने, 'पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिल्यो ।' यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् । पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ । प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार महतो बताउँछन् । 'खेत हिल्याउने गरी त पानी पर्न सकेन, तर लगालगीजस्तो तीन दिनको वर्षाले निकै राहत दियो', महतो भन्छन्, 'खासमा यसअघि रोपिएको धान, खडेरीले सुक्दै गएको उखु, कोदो, मकै र तरकारीबालीलाई अमृत बर्सेजस्तै भयो ।' लामो खडेरीले आहत भएका बेला यो क्षणिक वर्षा पनि केकेन भेटाएजस्तो भएको किसान बताउँछन् । पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको भङ्गाहा–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनको पनि भनाइ छ । 'लामो रौदी (खडेरी) ले उखुका टुप्पा खङरङ्ग सुक्दै गएका थिए, पछिल्लो वर्षाले राम्रो चिस्यान भएपछि जादुजस्तै भएको छ, उखुका बोट फेरिँदै छन्,' उनले भने । यो वर्षाले धानबाहेकका बालीलाई अलिबारलाई पर्याप्त चिस्यान भएको छ । धानको रोपोमा भने गर्‍हामा भरिनेगरी पानी चाहिएको किसान बताउँछन् । पछिल्लो वर्षा महोत्तरीका सबै भेगमा धेरथोर परेको छ । यद्यपि दक्षिणतिरभन्दा उत्तरतर्फ बढी पानी परेको सर्वसाधारणसँगको कुराकानीबाट बुझिएको छ । पछिल्लो वर्षाले प्रचण्ड गर्मीको रापबाट राहत मिलेको सर्वसाधारणले बताएका छन् । यसपालि लामो खडेरीले गर्दा महोत्तरीमा धान रोपाइँ निकै पछि सरेको छ । जिल्लाको कूल धानखेतीयोग्य जग्गा ४२ हजार ५०० हेक्टर मानिन्छ । तर साउन तेस्रो साता सुरू भइसक्दासम्म जिल्लामा ३५ प्रतिशत रोपाइँ नकटेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । रोपाइँ थप बढाउने गरी पानी पर्न नसके पनि पछिल्लो वर्षाले यसअघिको रोपोलाई भने निकै राहत दिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादव बताउँछन् । रासस
अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु
काठमाडौं । अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ । चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप लाइन बिच्छ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताए । अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन रहेको बताए । उक्त परियोजनाको पाइपलाइन बिच्छ्याउने काम १५ महिनाभित्रै सम्पन्न गरेको बताए । अमलेखगञ्ज-लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिच्छ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको जानकारी दिए । उनले ५४ महिनाको काम तीन वर्षमा सक्नेगरी प्रयास गर्ने पनि बताए ।
भोजपुर खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच
भोजपुर । जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका-८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युतको पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो । विद्युत् विस्तारको शुन्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । बाँकी रहेका घरमा पनि चाडै विद्युत् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले बताए । 'यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौँ' उनले भने, 'यहाँ शून्य अवस्थाबाट विद्युतको काम थालेर विस्तारको अन्तिम चरणमा पुर्याएका छौँ । यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।' केन्द्रीय विद्युत् विस्तार भएपछि वषौँदेखीको टुकीबत्तिको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी दिलकुमार योगीले बताए । पुस्तौँबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युतको केन्द्रीय लाइन विस्तारले सहजता भएको उनले बताए । विद्युत् विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । 'हाम्रो ठाउँका प्रायः सबै स्थान बिजुली पुगेको छ' उनले भने, 'विद्युत् विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ । अध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । वषौँपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ ।' दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयबासी दलबहादुर राईले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ । 'विद्युत् नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौँ', उनले भने, 'विद्युत् विस्तारपछि हामी धेरै खुसी छौँ । विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाएका छन् ।'