अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण ठेकेदारबीचको विवादका कारण अलपत्र
बैतडी, २ मङ्सिर । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा दुई वर्षअघि सुरु भएको सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको दशरथचन्द क्रिकेट रङ्गशाला निर्माण कार्य अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको विवादका कारण करोडौँको काम अलपत्र परेको हो । सुदूरपश्चिममै पहिलोपटक करिब रु ११ करोडको लागत अनुमानसहित बैतडी सदरमुकाम नजिकै सुन्दरखालीमा दशरथचन्द क्रिकेट स्टेडियमको निर्माण एक वर्षअघि देखि रोकिएको छ । दुई वर्षअघि राष्ट्रिय खेलकुद परिषद्ले बहुउद्देश्यीय क्रिकेट स्टेडियम निर्माणका लागि काम सुरु गर्दा चन्द्रा एन्ड वसन्त कन्सट्रक्सनले निर्माण जिम्मा पाएको थियो । “सम्झौताअनुसार हामीले निर्माण कार्य सम्पन्न गरिसकेका छौँ”, चन्द्रा एन्ड वसन्त कन्सट्रक्सनका प्रबन्ध निर्देशक गणेश चन्दले भने , “खाल्डाखुल्डी छ मैदानमा भन्ने राखेपले आरोप लगाएको छ ।” गत वर्ष नै निर्माण कार्य सम्पन्न गरिसकेको र हामीलाई जानकारी नदिईकनै रङ्गशाला निर्माणको अनुगमन गरेको समेत उहाँको आरोप रहेको छ । “निर्माण कार्य सम्पन्न गरेर बिल पेस गरेका छौँ, प्रक्रिया चलिरहेको छ, ” निर्माण कम्पनीका ठेकेदार सुरेश चन्दले, भने “६३ हजार घनमिटर माटो काट्ने सम्झौता भएको हो ।” ठेकेदारले स्वीकृत ठेक्का रु एक करोड १९ लाख बरारबको काम गरेपनि खेलकुद परिषद्ले पूरै रकम भुक्तानी नदिएको दाबी गरेको छ भने खेलकुद परिषद्ले कामको मूल्याङ्कनका आधारमा रकम भुक्तानी दिइसकेको बताएकाले विवाद बढेको बताइएको छ । खेलमैदानको अभाव काम रोकिएर निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदान अभाव भएको छ । डेढ दशकअघि बाट क्रिकेटको सुरुवात भएसँगै बैतडीको दशरथचन्द नगरपालिकाको सुन्दरखालीमा क्रिकेट फिल्ड निर्माण गरिएको थियो । यही फिल्डमा अभ्यास गर्दागर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याएको बैतडीमा हाल आएर खेलमैदानको नै अभाव भएको क्रिकेट एसोसिएसन नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । “सुविधासम्पन्न स्टेडियम निर्माण सुरु हुँदा उत्साहित बनेका क्रिकेटप्रेमी तथा प्रतिभावान् खेलाडी अहिले चिन्तित भएका छन्”,उनले भने , “निर्माण कार्य जुनसुकै हालतमा पनि चाँडोभन्दा चाँडो अघि बढ्नुपर्छ ।” दुवै पक्षबीचको टकरावका कारण क्रिकेट खेलाडी भने मर्कामा पर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको दशरथचन्द क्रिकेट रङ्गशाला निर्माण कार्य जिल्लामा कुनै पनि क्रिकेट प्रतियोगिता हँुदासमेत समस्या हुने गरेको छ । खेलाडी निराश जिल्लामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हँुदा हर्षित भएका स्थानीय खेलाडीमा भने केही निराशा छाएको छ । नियमित अभ्यासका साथै स्थानीय टुर्नामेन्ट सञ्चालन गर्न नसकिने अवस्था आएकाले खेलमैदानको निर्माण सुरु हुनुपर्ने स्थानीय क्रिकेट खेलाडी मोहित भण्डारीले बताए । बैतडीमा क्रिकेटप्रति आकर्षण बढ्दै गएपनि उचित खेलमैदान भने बन्न सकेका छैनन् । वर्षमा विभिन्न टुर्नामेन्ट गर्दा स्थानीय खेलाडी उत्पादन हुने भएपनि दुईवर्ष यता आफूले कुनै टुर्नामेन्ट गर्न नसकेको अर्का क्रिकेट खेलाडी खेमराज भट्टको भनाइ छ । दशरथचन्द क्रिकेट मैदान भत्काइएपछि स्थानीय खेलाडी सदरमुकामभन्दा १० किलोमिटर टाढाको देहिमाडौँ र बुड्ढामा रहेको धुलाम्मे मैदानमा जानुपर्ने बाध्यता सिर्जना भएको छ । टाढाको खेलमैदान एकतिर सानो आकारको धुलाम्मे रहेको र अर्कातिर त्यहाँसम्म जान खर्चिलो हुँदा समस्या भएको छ । करिब रु ११ करोडमा निर्माण हुने भनिएको क्रिकेट स्टेडियममा ५५ गेजभन्दा बढीको खेलमैदान, डे«सिङ रुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल र प्राक्टिस हलसहितको सुविधासम्पन्न खेलमैदान बनाउने तयारी अलपत्र परेको छ । रङ्गशालाको निर्माण कार्य तीन वर्षभित्रै सम्पन्न गरिसक्ने गरी रु ११ करोड अनुमानित बजेट लाग्ने अनुमान गरिएको थियो । रङ्गशाला निर्माणपछि भारतसँग सीमा जोडिएको सो ठाउँमा भारतका खेलाडी आउन सक्ने र खेलको स्तरसमेत बढ्न सक्ने आँकलनसमेत गरिएको छ । बैतडीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला र पुरुष गरी दर्जनौँ क्रिकेटर जन्माइसकेकाले रङ्गशाला निर्माण भएपछि थप सहयोग पुग्ने आशा गरिएको छ । रासस
भक्तपुरमा विद्युत चुहावट नियन्त्रण विषेष अभियान सुरु, ३३ प्रतिशत विद्युत् चुहावट
भक्तपुर, २ मङ्सिर । उपत्यकालाई विद्युत् भार कटौती मुक्त गर्ने अभियानलाई सफल पार्न नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावट नियन्त्रण विशेष अभियान सुरु गरेको छ । अभियान सुरु गरेकै दिन प्राधिकरणले बुधबार भक्तपुर नगरपालिका–२ लिवालीमा १२ वटा घरमा विद्युत् चोरी गरेर सञ्चालन गरेका लाखौँ मूल्य बराबरको विभिन्न मेसिन नियन्त्रणमा लिएको छ । प्राधिकरणका कर्मचारी र प्रहरीको टोलीले लिवाली क्षेत्रमा आकस्मिक विद्युत् चुहावट निरीक्षण गर्दा घरघरमा विद्युत् चुहावट गरेको पाइएको छ । भूकम्पपीडित बसेको टहरा, नयाँ बन्दै गरेको अधिकांश घरमा विद्युत् चुहावट गरेको पाइएको बताउँदै प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले भने – “विद्युत् चोरी गर्दै गरेका घरबाट चोरीमा प्रयोग भएका केबल (तार), पानी तान्ने पम्प, पानीको पाइप, ब्याट्री, इन्भटर, काठ चिरानमा प्रयोग गरिने मेसिनलगायतका सामान नियन्त्रणमा लिएका छौँ ।” नियन्त्रणमा लिएका सामान प्रयोग गर्ने व्यक्तिलाई नियमानुसार जरिवाना लिइने बताउँदै उनले जरिवाना नतिर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताए । मिटर नराखी विद्युत् चोरी गरेको, हुकिङ गरेर चोरी गरेको, नयाँ बन्दै गरेको अधिकांश घरमा चोरी कै विद्युत्बाट काठ चिरान गर्ने, मेसिन लगाएर पानी तान्ने, मार्बल काट्नेलगायतका काम भइरहेको पाइएको उनले बताए । भक्तपुरमा अझै पनि ३३ प्रतिशत विद्युत् चुहावट भइरहेको बताउँदै शाखा प्रमुख अमात्यले चुहावटलाई शून्यमा झार्न विशेष अभियानलाई निरन्तरता दिने बताए । उपत्यकामा भक्तपुर जिल्ला सबैभन्दा बढी विद्युत् चुहावट हुने जिल्ला भएकाले विशेष अभियानलाई निरन्तरता दिने अमात्यले बताए । प्राधिकरणका अनुसार विशेष गरी भक्तपुर नगरपालिका क्षेत्रभित्र बढी विद्युत् चुहावट भएको पाइएको छ । विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले माइकिङ गर्ने, सूचना तथा सन्देश प्रवाह गर्ने कामलाई समेत तीव्रता दिएको छ । रासस
नेपालीसँग रहेको भारु ५०० र १००० साट्न सरकारलाई निर्देशन, भारत सकारात्मक: अर्थमन्त्री
काठमाडौं, २ मंसिर । व्यवस्थापिका संसदको अर्थ समितिले नेपाली नागरिकसँग रहेको ५०० र १००० दरका भारतीय रुपैंयाँ साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । अर्थ मन्त्री कृष्ण बहादुर महरा र नेपाल राष्ट्रका गभर्नर डा. चिरञ्जिवी नेपालको उपस्थितीमा बसेको अर्थ समितिको बैठकले भारत सरकारसँग समन्वय गरेर नेपाली नागरिकसँग रहेको बैध भारतीय रुपैंयाँ साट्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । ‘नेपाली नागरिकले दुःख गरेर जोडेको पाँच सय र एक हजार दरका बैध नोट साट्ने व्यवस्था मिलाउनु नेपाल सरकारको कर्तव्य हो, जनताले आर्जन गरेको रकमको सुरक्षाका लागि सटहीको व्यवस्था मिलाउन नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइन्छ’, समिति बैठकको निर्णय सुनाउँदै सभापति प्रकाश ज्वालाले भने । समितिको बैठकमा बोल्ने सबै जसो सांसदहरुले नेपाली नागरिकसँग रहेको पाँच सय र एक हजार दरका बैध भारतीय नोट साट्ने व्यवस्था गर्न सरकारले ढिलाई गरेको आरोप लगाएका थिए । पुर्व अर्थमन्त्री डा. रामशरण महतले नोट सटहीका लागि सरकारले आवश्यक लबिङ गर्न ढिलाई गरेको आरोप लगाएका थिए । त्यस्तै, पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले पनि भारु नोट सटहीका लागि सरकारले ठोस पहल गर्नुपर्नेमा जोड दिएका थिए । दुबै जना पुर्व अर्थमन्त्रीले २५ हजारको सिमा नतोकी श्रोत खुलेको रकम सटहीको व्यवस्था गर्नुपर्ने बताएका थिए । बैठकमा अर्थमन्त्री कृष्ण बहादुर महराले भारतीय अर्थमन्त्रीसँग आफुले फोनमा कुरा गरेको र नेपालको चाहना अनुसार नोट सटहीको सुबिधा दिन उनी तयार रहेको जानकारी गराएका थिए ।‘भारतीय अर्थमन्त्रीले नेपाली नागरिकको हितलाई मध्यनजर गर्दै ५०० र १०० दरका भारतीय नोट साट्ने व्यवस्था मिलाउन आफु तयार रहेको बताउनुभएको छ’, अर्थमन्त्री महराले बैठकमा भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले समेत भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरिहेको जानकारी गराएका थिए । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले रिजर्भ बैंक अफ इण्डियाका गभर्नर अजित पटेलसँग दैनिक २/३ पटक कुरा गरिरहेको जानकारी गराएका थिए । आरबिआईका गभर्नर पटेलले नेपालमा रहेका ५०० र १०० दरका भारतीय नोट साट्ने कुरा आफ्नो हातमा मात्रै नरहेकाले उच्चस्तरमा कुटनीतिक लबिङ गर्न सुझाएको पनि बताएका थिए । नेपालको बैंकिङ प्रणालीमा सो दरका भारतीय नोट ३ करोड ६० लाख ९० हजार मात्रै रहेको पनि उनले जानकारी गराएका थिए ।
चलचित्र जात्राले बुधबारसम्ममा एक करोड ५ लाख कमायो
काठमाडौं । चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो । चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन् । मल्टिप्लेक्स हलहरुमा जात्राको शो थपिएको पनि उनले बताएका छन् । थपिएका शोहरुमा पनि दर्शकको गतिलो उपस्थिति रहेको निर्माता एवं कलाकार रविन्द्र सिंह बानीयाँको भनाई छ । दोश्रो सातामा प्रवेश गर्न लागेको बेलामा शोहरु थपीनुका साथै दर्शकको उपस्थिति बाक्लीँदै गरेकाले फिल्म निर्माण टोली उत्सहित रहेको उनले बताएका छन् । समिक्षकहरुबाट समेत गतिलो प्रशंसा बटुलेको जात्रालाई मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको फिल्म विहिबारदेखि दोश्रो सातामा प्रवेश गर्दैछ ।
सवै स्वास्थ केन्द्रमा चिकित्सक पुगेको सरकारी दावी गलत, १६ स्वास्थ्य केन्द्रमा चिकित्सक छैनन्
काठमाडौँ,२ मङ्सिर । सरकारले सबै स्वास्थ्य केन्द्रमा चिकित्सक पुगेको भनी गरेको दाबी गलत भएको पाइएको छ । बुधबारदेखि काठमाडौँमा सुरु भएको ‘आव २०७२\७३ मा सम्पादित स्वास्थ्य सेवा तथा कार्यक्रमको राष्ट्रिय वार्षिक प्रगति समीक्षा गोष्ठी’मा आफ्ना विकास क्षेत्रको स्वास्थ्य प्रतिवेदन प्रस्तुत गर्दै पाँचै विकास क्षेत्रका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशकले अझै पनि आफ्ना कार्यक्षेत्रभित्रका कतिपय जिल्लाका स्वास्थ्य केन्द्रमा चिकित्सक नपुगेको जानकारी गराए । स्वास्थ्य मन्त्रालयले गत महिनामात्र देशभरका सबै स्वास्थ्य संस्थामा चिकित्सक पुगिसकेको बताएको थियो । तर अझ पनि देशभरका १६ प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक नभएको प्रतिवेदन निर्देशकले प्रस्तुत गरेका छन् । पूर्वाञ्चलका तीन, मध्यमाञ्चलका तीन, पश्चिमाञ्चलका पाँच, मध्यपश्चिमाञ्चलका दुई र सुदूरपश्चिमाञ्चलका तीन प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना पनि चिकित्सक छैनन् । स्वास्थ्यमन्त्री गगनकुमार थापाले गत असोजमा नियमित पत्रकार भेटघाटमा आफूले मन्त्रालय सम्हाल्नुअघि देशभरका २३ स्वास्थ्य केन्द्रमा एकजना पनि चिकित्सक नभएको बताउँदै आफूले त्यहाँ चिकित्सकको व्यवस्था गरिसकेको जानकारी गराएका थिए । उनले प्रत्येक स्वास्थ्य संस्थामा कम्तीमा दुईजना चिकित्सक राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । अझै पनि १६ स्वास्थ्य संस्थामा एकजना पनि चिकित्सक नभएको पाइएको छ । अहिले ७५ जिल्लामा २०४ प्राथमिक स्वास्थ्य केन्द्र छन् । तीमध्ये १६ स्वास्थ्य संस्थामा एकजना पनि डाक्टर छैनन् । एकचालीस स्वास्थ्य संस्थामा भने तीनभन्दा बढी डाक्टरले काम गरिरहेको मन्त्रालयको तथ्याङ्क छ । प्रत्येक वर्ष सरकारी छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी डाक्टर उत्पादन हुन्छन् । उनीहरुलाई कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा गई काम गर्नै पर्ने प्रावधान छ । अहिले सरकारले छात्रवृत्ति, करार स्थायी दरबन्दीमा चिकित्सकलाई स्वास्थ्य संस्थामा पठाउने गरेको छ । तीमध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, बिपी कोइराला राष्ट्रिय प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालयलगायतबाट छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी एमबिबिएस चिकित्सकलाई सरकारले तलब दिएर सम्पूर्ण सेवा सुविधासहित दुर्गम स्वास्थ्य संस्थामा पठाउने गर्छ । तर बिरामी कम हुने र ठूलो रोग लागेमा जिल्ला अस्पताल वा बाहिर जाने परिपाटीले दुर्गम र ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य संस्थामा बसेका चिकित्सकले काम सिक्ने मौका नपाउने भएकाले चिकित्सक पठाउन भने सरकारलाई चुनौती छ । तर, स्वास्थ्य सेवा विभागका उपसचिव तारानाथ लुइँटेल भने सुर्खेतको एक स्वास्थ्य केन्द्रबाहेक अन्य सबैमा कात्तिक महिनासम्म एक चरण चिकित्सक पु¥याएको बताए । उनले कतिपय अवस्थामा चिकित्सकको सरुवा, अध्ययनमा जानेलगायतका कारणले रिक्त रहने गरेको भए पनि मन्त्रालयले ती रिक्त स्थानमा करारमा नियुक्त गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिएको छ । रासस
सिभिल बैंकको नाफा एक करोड ४५ लाख, खराव कर्जा ४ प्रतिशत भन्दा माथि
काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४५ लाख खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले ऋणको व्याज र किस्ताको लागि ३२ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्जा विस्तार गरेर मात्र २२ करोड ९७ लाख रुपैयाँ कमाएको छ । बैंकको खराव कर्जा ४ दशमलव १३ प्रतिशत पुगेको छ । गत वर्ष यहीअवधिमा बैंकको खराव कर्जा २ दशमलव ५४ प्रतिशत रहेको थियो । आइएलएफसीओ फाइनान्सलाई मर्ज गरेपछि बैंकको चुक्तापुँजी भने ३ अर्व ८ करोड रुपैयाँ पुगेको छ । बैकको प्रतिसेयर आम्दानी साढे एक रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११७ दशमलव ४५ रहेको छ । बैंकले गत वर्षमा ३३ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
विद्यालयका लागि दुई लाख रुपैयाँ सहयोग
पाल्पा, २ मङ्सिर । रामपुर नगरपालिका–८ सानीअमराईमा रहेको बालकल्याण प्राथमिक विद्यालयका लागि दुई लाख रुपैयाँ आर्थिक रकम सहयोग प्राप्त भएको छ । विद्यालयको स्तरोन्नतिका लागि जापानी नागरिक ताकासी होन्डाले दुई लाख रुपैयाँ सहयोग गरेका हुन् । शैक्षिक तथा भौतिक विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको सहयोगदाता होन्डाले बताए । सो रकम विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक क्षेत्रमा खर्च गरिने विद्यालयका शिक्षक नारायणप्रसाद खनालले बताए । रासस
ग्रीन डेभलपमेन्ट बैंकको सेयर सुचिकृत, ७ दिन पछि कारोबार हुने
काठमाडौं , २ मंसिर । ग्रीन डेभलपमेन्ट बैंकको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । नेप्सेले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी ग्रीन डेभलपमेन्ट बैंकले जारी गरेको १० लाख कित्ता साधारण सेयर सुचिकृत गरेको जनाएको छ । नेप्सेको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले निर्णय गरेअनुसार सो बैंकको सेयर सुचिकरण गरिएको हो । ग्रीन डेभलपमेन्ट बैंक र नेप्सेविच मंसिर १ गते सेयर सुचिकरण सम्झौता सम्पन्न भएको थियो । सेयर सुचिकरणको सुचना प्रकाशित भएको मितिले ७ दिनपछि मात्र नेप्सेमा बैंकको कारोबार सुरु हुने छ । बैंकको प्रधान कार्यालय बाग्लुङमा रहेको छ ।