विकासन्युज

तरुण दलको अध्यक्षमा बस्नेत, भागबण्डामा पदाधिकारी बाँडफाँड

काठमाडौँ, १ मङ्सिर । नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेनको आज पाँचौँ दिन सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको पार्टीको निर्देशन समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए । पार्टीले मुलुकको वर्तमान परिस्थितिका कारण सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको जनाए पनि नेताले भागबन्डा गरी पदाधिकारी चयन गरेका हुन् । उपाध्यक्षमा उत्तम चापागाइँ, महामन्त्रीमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भएका छन् । अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने उपाध्यक्ष चापागाइँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् । त्यस्तै महामन्त्री शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छन् भने भने कोषाध्यक्ष पार्टी नेता खुमबहादुर खड्का निकट हुन् । संशोधित विधानअनुसार कुल ९५ सदस्य रहने समितिका अन्य सदस्यको नामावली निर्देशन समितिको अर्को बैठकले काठमाडौँमा तय गर्ने नेता यादवले बताए ।

निजी लगानीमा   विद्युतीय पुस्तकालय स्थापना

फलेवास, १ मङ्सिर । उत्तरी पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योति माविमा विद्युतीय पुस्तकालय स्थापना भएको छ । धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का युरोप संयोजक कुल आचार्यले कम्प्युटरमा पढ्न र सुन्न सकिने पुस्तकालय स्थापना गरेका हुन् । आचार्यले आफूले माध्यामिक तहसम्मको अध्ययन गरेको विद्यालयमा आफ्नो आमा चौरासी वर्ष पुगेको अवसरमा विद्युतीय पुस्तकालय स्थापना गरेको बताए । कक्षा २ देखि १० सम्मका पाठ्यक्रमसहित विभिन्न विधाका १० हजार पुस्तकलाई ‘डिजिटलाइज्ड’ गरिएको पुस्तकालयमा २० वटा कम्प्युटर रहेका छन् । पुस्तकालय स्थापना गर्न आचार्यले करिब रु आठ लाख लगानी गरेको विद्यालयले जनाएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा ३६२ जना बालबालिका अध्ययरत छन् । मङ्गलबार एक समारोहबीच आचार्यले पर्वत क्षेत्र नम्बर– १ का सांसद अर्जुनप्रसाद जोशी, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललगायतको उपस्थितिमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरे । आचार्यले शैक्षिक गुणस्तर वृद्धि होस् र ग्रामीण क्षेत्रका बालबालिकाले प्रविधियुक्त शिक्षा पाउन् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद जोशी, जिशिअ पौडेल, नेपाली काँग्रेसका मुरारी शर्मा र नेकपा ९माओवादी केन्द्र०का नेता बाबुराम कार्कीले सहयोगदाता आचार्यको प्रशंसा गर्दै पुस्तकालयको दिगो र व्यवस्थित प्रयोगमा जोड दिए ।  कार्यक्रममा सहयोगदाता आचार्य र उनकी आमालाई सम्मान गरिएको थियो । रासस

विजयी खेलाडीलाई प्रतिव्यक्ति ३ लाख नगद दिने खेलकुद मन्त्रीको घोषणा

काठमाडौं , १ मंसिर । एएफसि सोलिडारिटी कप विजेता नेपाली टोलीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने सरकारले घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन लाख नगदले सम्मान गर्ने घोषणा गरेका हुन् । ‘हाम्रो खेलाडीले अन्तर्राष्ट्रिय रुपमा ठूलो विजय हासिल गरेको छ,’ मन्त्री श्रीपालीले भने,‘यो विजयले हाम्रो सान र गरिमालाई उच्च बनाएको छ । नेपाल सरकारले विजयी खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगदले सम्मान गर्ने निर्णय गरेको छ ।’ नगद सहितको सम्मानको लागि मन्त्री श्रीपालीले तयारी गर्न सम्बन्धित निकायलार्इ निर्देशन दिएका छन् । मलेसियाको कुचिङमा सम्पन्न एएफसि सोलिडारिटी कपमा मकाउलाई १ शुन्यले हराउँदै नेपाली टोली विजेता बनेको थियो । यो विजयले नेपाली फूटबलमा ३७ वर्षदेखिको ईतिहास तोडेको बताइएको छ ।

उत्कृष्ट करदाताहरु सम्मानित, सबैभन्दा बढी आय कर बुझाउने व्यक्ति सिद्धार्थ शम्शेर जबरा

सिद्धार्थ शम्शेर जबरा काठमाडौं, १ मंसिर । सरकारले पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताहरुलाई समान गरेको छ । त्यसक्रममा व्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ शम्शेर जबरा सम्मानित भएका छन् । उनी सिप्रदी ट्रेडिङ ग्रुप, भोटेकोशी जलविद्युत आयोजना, तारागाउँ इन्भेन्टमेन्ट लगायत कम्पनीका कार्यकारी अध्यक्ष हुन् । यसअघि पनि उनी उत्कृष्ट करदाताको रुपमा सम्पमानित भएका थिए । उनको कम्पनी सिप्रदी ट्रेडिङ पनि उत्कृष्ट करदाताबाट समानित भएको छ । व्यापारीक कम्पनीहरु मध्ये सिप्रदीले सबैभन्दा बढी कर तिरेको राजश्व विभागले जनाएको छ । त्यस्तै, प्राइभेट कम्पनीतर्फ सबैभन्दा बढी आयकर तिरेर सूर्य नेपाल प्रालि सम्मानित भएको छ । सबैभन्दा बढी कर तिर्ने निर्यात कर्ता डाबर नेपाल र सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा युनिलिभर प्रालि समानित भएका छन् । त्यस्तै कृषि तथा पशुपंक्षीतर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा ओम फिड इन्ट्रष्ट्रिज पनि उत्कृष्ट करदाताबाट समानित भएको छ । यसैगरी सहकारीतर्फ राष्ट्रिय सहकारी बैंक, लघुवित्ततर्फ छिमेक लघुवित्त विकास बैंक र बैंकतर्फ नबिल बैंक पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । यसैगरी बीमातर्फ लाइफ इन्सुरेन्स कर्पोरेशन, रेमिटेन्सतर्फ आइएमइ र पर्यटन तर्फ तारागाउँ होटल लिमिडेट समानित भएका छन् । सेवातर्फ सबैभन्दा बढी कर तिर्ने नेपाल टेलिकम पनि सम्मानित भएको छ । ५ करोडसम्मका साना करदातामा साङ्ग्रिला इनर्जी लिमिटेड र ५ करोडदेखि ४० करोडसम्म मझौला करदाताको रुपमा शिवेक हस्पिटल समानित भएका छन् । आन्तरिक राजस्व विभागले बुधबार राजधानीमा गरेको एक कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले उत्कृष्ट करदाताहरुलाई समान गरेका छन् ।

लेन्टो ब्राण्डका सोलार इन्भटर र सोलार लाईट नेपाली बजारमा

काठमाडौं, १ मंसिर । त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्न प्रालिले लेन्टो इन्डष्ट्रीज प्रालि इन्डियाबाट उत्पादिन लेन्टो ब्राण्डका सोलार इन्भटर र सोलार लाईटको आधिकारिक बिक्रेता भई नेपालमा बिक्री थालेको छ । लेन्टो सोलार इन्भटर ५५० भीएदेखि ५००० भीएसम्म र स्ट्रीट लाईट २०, ४० र ६० वाटमा उपलब्ध रहेको छ । दुबै प्रडक्ट रिन्युवल इनर्जी टेष्ट स्टेशनबाट क्वालिटी सर्टिफाइड भएको त्रिथुङ्गा ट्रेडिङ्गले जनाएको छ । त्रिथुङ्गा कम्पनी बतास अर्गनाईजसन भातृ संस्था हो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बतास अर्गनाईजेसनका सिईओ शान्तराज बतास, त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्न प्रा.लि. का प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी, लेन्टे इन्डस्ट्रीजका इन्टरनेशनल सेल्स एण्ड मार्केटिङ हेड्सले कम्पनीका उत्पादन र गुणस्तरबार जानकारी दिएका थिए ।

रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बनाउन भारतकाे तकेता, चीनबाट इन्धन ल्याउने नेपालकाे प्रयास थन्कियाे

काठमाडौं, १ मंसिर । नेपालको इन्धन बजारमा एकाधिकार कायम राख्दै आएको इण्डियन आयल कर्पोेरेशनले रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माण चाँडो अघि बढाउन दबाव दिएको छ । इण्डियन आयल कर्पोेरेशनले नेपाल आयल निगमलाई पाइपलाइन निर्माणको काम यथासिघ्र अघि बढाउन लगातार ताकेता गरेकाे अधिकारीहरूले बताएका छन् । ‘आइओसीले आफ्नो तर्फको सबै तयारी पुरा गरिसकेको छ, हामीलाई पनि चाँडो गर्नुस भनेर भनिरहेक छन्, हामी तयारी गरिरहेका छौं’, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले विकासन्युजँसग भने । त्यस्तै, चीनबाट इन्धन ल्याउने तर्फ देखिने ठाेस काम नभएकाे उनले बताए । नेपाल र भारतबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ३९ किलोमिटर पाइपलाइन नेपाल भूभागमा निर्माण गरिनेछ भने दुई किलोमिटर भारतीय भूमिमा पर्नेछ । निर्माण आरम्भ भएको ३० महिनामा पाइपलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कुल ४ अर्ब ४० करोड नेपाली रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि नेपालले एक अर्ब २० करोड र भारतले ३ अर्ब २० करोड लगानी गर्नेछन् । पाइपलाइनले पेट्रोल र डिजेलमध्ये ८० प्रतिशत आयात गर्नेछ भने हवाई इन्धन र मट्टितेलको ९५ प्रतिशत आयात गर्नेछ । पाइपलाइनले ढुवानीवापतको ७० करोड रुपैयाँ निगमलाई थप फाइदा पुग्ने अनुमान गरिएको छ । १५ वर्षसम्म भारतबाटै इन्धन किन्नुपर्ने ? निगम र आइओसीबिच पाइपलाइन निर्माणपछि आगामी १५ वर्षसम्म आइओसीसँगै इन्धन खरिद गर्नेबारे पनि अनौपचारिक रुपमा सहमति भएको छ । आइओसीले २५ वर्षसम्म आफूसँग मात्रै इन्धन खरिद गर्नुपर्ने सर्त राखेको थियो । निगम र आइओसीका अधिकारीहरुबीचको लामो छलफलपछि २५ वर्षलाई घटाएर १५ वर्ष बनाइएको निगमका कार्यकारी प्रमुख खड्काले बताए । पाइपलाइन बनाउन भारतलाई हतारो किन ? भारतले १५ वर्षसम्म आफुसँग मात्रै इन्धन खरिद गर्ने सर्त अनुसार पाइपलाइन बनाइदिने भनेको छ । यसले आगामी समयमा चीनसँग इन्धन खरिद गर्ने नेपाली योजनालाई थाँती राख्न दबाब पुग्नेछ । पाइपलाइन निर्माण भएपछि भारतबाट इन्धन आयातमा केहि सहजता आउनेछ जसले गर्दा इन्धन आयातको बैकल्पिक माध्यमका रुपमा अघि बढेको चीनसँगको खरिद प्रक्रियामा ओझेलमा पर्नेछ । त्यस्तै, भारतले आफुले पाइपलाइन बनाइदिएर इन्धन आयात गर्ने बाटो सहज बनाइदिएकाले चीनसँग इन्धन खरिद नगर्न नेपाल माथि कुटनीतिक दबाव बढाउने आशंका गर्न थालिएको छ । चाइनिज इन्धन रोकिन्नः मन्त्रालय  १५ वर्षसम्म आइओसीसँगै इन्धन खरिद गर्नुपर्ने सम्झौतासहित अघि बढ्ने पाइपलाइन निर्माणले चीनसँग इन्धन खरिद गर्ने बाटो बन्द हुने आरोप लागेको छ । यस अघि नै निगमका प्रमुख खड्काले चीनमा पुगेर ३३ प्रतिशत इन्धन चीनसँग खरिद गर्ने सम्बन्धि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । ‘पाइपलाइन निर्माणले चीनसँग इन्धन खरिद गर्ने प्रक्रियामा कुनै अवरोध गर्दैन, हामी भारतसँग पनि इन्धन किन्छौं र चीनसँग पनि किन्ने प्रक्रिया अघि बढ्छ’, आपुर्ति मन्त्रालयको आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख सूर्य प्रसाद श्रेष्ठले विकासन्युजसँग भने ।

माछापुच्छ्रे बैंकको ५० प्रतिशत हकप्रद निष्काशन, २० प्रतिशत बाेनस सेयर प्रस्ताव

काठमाडौं, १ मंसिर । माछापुच्छ्रे बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले प्रति सेयर एक सय रुपैयाँ अंकित एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । उक्त हकप्रद सेयरका लागि मंसिर १९ गतेदेखि पुस २४ गतेसम्म आवेदन र पैसा बुझाउन बैंकले सेयरधनीलाई आह्वान गरेको छ । कात्तिक १२ गते बुक क्लोजहुनुपूर्व सेयरधारण गरेको सेयरधनीले मात्र हकप्रद सेयर लिन पाउनेछन् । माछापुच्छ्रे बैंकका सबै शाखा कार्यालय र यस बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट् लिमिटेडबाट हकप्रद सेयरका लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ । हाल तीन अर्ब ८६ करोड ४५ लाख ४० हजार चुक्ता पूँजी रहेको यो बैंकले दुई सेयर बराबार एक सेयर अर्थात विद्यमान सेयरको ५० प्रतिशत सेयर निश्काशन गरेको हो । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड ६० लाख १० हजार रुपैयाँ हुनेछ । बैंकले गत वर्षको नाफाबाट २० प्रतिशतका अर्थात ८० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस सेयर थपिदा बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ हुनेछ । बैंकले चालु आर्थिक वर्षको नाफाबाट करिव ८० करोड रुपैयाँको बोनस सेयर दिने र अपुग पुँजी एक्विजिशनबाट जुटाउने योजना बनाएको छ ।

खुला नभएको हिमाल अनुमति बिनानै आरोहण, ३३ हजार डलरसहित कारवाही हुने

काठमाडौं १, मंसिर ।सरकारले आरोहणका लागि खुला नगरेको हिमालमा अमेरिकी नागरिक सेन ब्रुचले अनुमति विना नै अरोहण गरेका छन् । ब्रुचले नेपालका विभिन्न ३१ वटा हिमाल २१ दिनमै आरोहण गरेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अमेरिकी नागरिकले आरोहण दाबी गरेका हुम्ला जिल्लाका तीन हिमालमध्ये एउटाको आरोहण खुला नै भएको छैन । ब्रुचले हुम्ला जिल्लामा रहेको हालसम्म नै मानव पाइल नपरेको चण्डी हिमाल(६१४२ मि), चाङ्ला हिमाल (६५६३ मि)को आरोहण गरेको दाबी गरेका छन् । यस बाहेक हुम्ला भ्याली रिजनको काङ्गुँ हिमाल, आरोहण गरेको दाबी गरेका छन् । मन्त्रालयका अनुसार यो हिमाल आरोहणको लागि खुला नै नभएको छैन । ब्रुचले आरोहण दाबी गरेको अन्य दुई हिमाल पनि ६ हजार मिटर माथिका छन् । मन्त्रालयका अनुसार यी हिमालमा पर्यटन मन्त्रालयको अनुमति विना नेपाली मात्रै चढ्न पाउँछन् । विदेशीले आरोहण गर्न चाहो तीन जना नेपाली अनिवार्य चाहिने, गार्वेज डिपोटिज, नेपाली कामदारको विमा, हिमाल आरोहणको अनुमतिसमेत चाहिन्छ । सुदुरपश्चिम र मध्य पश्चिमका हिमाल आरोहण गर्न सरकारले पाँच वर्षका निम्ति अनुमति शुल्क मिनाहा गरेको भएपनि आरोहण अनुमति भने अनिवार्य भएको मन्त्रालयको भनाइ छ । नेपालमा १३ सय १० हिमाल रहेको भएपनि सरकारले भने ४१४ वटाको मात्रै आरोहण लागि अनुमति दिने गरेको छ । सरकारले आरोहण खुला नगरेको हिमाल आरोहण गर्ने नपाईने पन मन्त्रालयको भनाइ छ । अनुमति विनाका हिमाल आरोहण गरेका ती अमेरिकी नागरिकलाई पर्यटन ऐन २०३५ को दफा ३८ बमोजिम ३३ हजार डलर नगदसिहत कारवाही हुने भएको छ । यो ऐनमा भएको व्यवस्था अनुसार नेपाल सरकारले आरोहणका लागि खुला नगरेको हिमाल आरोहण गरेमा सर्वोच्च शिखर आरोहणमा लाग्ने दस्तुरको तीन गुण शुल्क जरीवानावापत दिर्नुपर्छ । सर्वोच्च शिखर सगरमाथाको आरोहण अनुमति शुल्क ११ हजार डलर रहेकोले कम्तिमा ३३ हजार डलर शुल्क जरीवाना लाग्ने मन्त्रालयको भनाइ छ । २१ दिनमा ३१ हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेको दाबी गर्दै हिडेका ब्रुच द नेपाल ट्रस्टमार्फ आरोहणमा गएका हुन । ट्रस्टले भने उनको दाबीलाई आधिकारिकता दिन प्रयास भइरहेको बताएको छ । उनले एउटा हिमालको नाम भने आफ्नै हजुरआमाको नामबाट नामाकरण गरेको दाबी गरेका छन् । सरकारले आरोहण खुला नगरेको हिमाल चढेको, एजेन्सी विना गएको, नेपाली अनिवार्य जानुपर्नेमा नेपाली नलगेको, पदयात्राको अनुमतिले पर्वतारोहणमा गएकोसहतिका कमजोरी भेटिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले बताए । उनका अनुसार ती अमेरिकी नागरिकले अपराध गरेको अनौपचारिक रुपमा जानकारी आइसकेको छ । उनलाई आवश्यक कारावही गर्न पर्यटन मन्त्रालयले पत्रमार्फत नै मातहतका निकाय र अन्य निकासँग समन्वय गर्ने भएको जानकारी पनि दिए । मन्त्रालयका अनुसार २१ दिनमा ३१ हिमाल आरोहण संम्भव नभएको र ब्रुचले कुनकुन हिमाल आराहेण गरे भन्ने विवरण पनि नभएको बताएको छ । अन्नपूर्ण पोस्टबाट ।