विकासन्युज

स्वास्थ्यका कर्मचारीको विदेश भ्रमण, एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण

काठमाडौं २७, कात्तिक । स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारीले तालिम अवलोकन भ्रमण तथा गोष्ठीका नाममा एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण गरेका छन् । विभिन्न देश र दातृ निकायले आयोजना गरेका कार्यक्रममा स्वास्थ्यमन्त्रीदेखि विभिन्न तहका कर्मचारी विदेश भ्रमणमा गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। केपी ओली नेतृत्वको अघिल्लो सरकारका स्वास्थ्यमन्त्री रामजनम चौधरी नौ महिनाको अवधिमा तीनपटक विदेश भ्रमणमा गएका छन् । उनी दुईपटक विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा सम्मेलन र मिटिङमा भाग लिन गएको मन्त्रालयको रेकर्डमा छ भने एकपटक हैदराबाद गएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, तत्कालीन स्वास्थ्यसचिव एक वर्षमा सातपटक विदेश भ्रमणमा गएको पाइएको छ । उनी जेनेभा, टिमोर, इन्डोनेसिया, बैंकक, नयाँदिल्लीलगायत ठाउँ गएका हुन् । एकैपटक १८ जना भ्रमणमा विनाशकारी भूकम्पपछि पुनर्निर्माणको अनुभवका लागि भन्दै विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरी १५ देखि १९ सम्म भारतको गुजरातमा १८ जनालाई अवलोकन भ्रमण गराएको थियो । त्यसैगरी, स्वास्थ्य बीमाको कार्यक्रमका लागि तत्कालीन स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा सातजना जर्मनी गएको थियो । त्यसको दुई महिना पनि नपुग्दै स्वास्थ्य बीमाको अवलोकन भ्रमण गर्न भन्दै हालका सचिव (तत्कालीन प्रमुख विशेषज्ञ) डा. सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा नौजनाको अर्को टोली गुजरात नै गएको थियो । त्यसैगरी एक महिनाको बीचमा १७ जना कर्मचारी चीन भ्रमणमा गएका थिए । नयाँ पत्रिका दैनिकबाट ।

विश्वको सबैभन्दा ठूलो थाङ्का प्रदर्शन, ७० फीट लामो थाङ्कामा गौतम बुद्धको जीवनी प्रस्तुत

काठमाडौँ, २६ कात्तिक । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा १६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा राखिएको छ । मनाङ सेवा समाजको आयोजनामा दशरथ रङ्गशालामा नेपाली कलाकार सूर्यबहादुर थकाली र जापानी कलाकार यासुका तातागीको नेतृत्वमा निर्माण गरिएको ७० मि लम्बाइ र ५० मि चौडाइको सो थाङ्काले गौतम बुद्धको जीवनीलाई प्रस्तुत गरेको छ । सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुद्धले देखाएको बाटो नै मानवसभ्यताको दिगो बाटो भएकाले उनको सन्देश विश्वभरि फैलाउनुपर्नेमा जोड दिए । उनले भने, “बुद्धको सिद्धान्तलाई विश्वसामु चिनाउन यो थाङ्काले महत्वपूर्ण भूमिका खेलेको छ ।” नेपालका लागि जापानी राजदूत मासासी ओगावाले थाङ्का प्रदर्शनीले नेपाल–जापान सम्बन्ध अझै बलियो हुने बताउँदै सम्बन्धको ६० औँ स्थापनाका अवसरमा राजदूतावासले विभिन्न कार्यक्रम गर्ने जानकारी दिए । पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले विश्वकै सबैभन्दा ठूलो थाङ्कालाई सरकारले नेपालमा राख्न सके नेपाल पर्यटकको आकर्षकको केन्द्रबिन्दु हुन सक्ने बताए । कार्यक्रममा नेपाली कलाकार थकाली, जापानी कलाकार तातागी लगायतले १२ वर्षको अथक प्रयासले गर्दा उक्त थाङ्का निर्माण भएको र यसमा बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको अवस्थालाई समेटेको जानकारी दिए । उक्त थाङ्का शुक्रबार र शनिबार काठमाडौँमा, आगामी मङ्सिर ५ र ६ गते पोखरामा र मङ्सिर ११ र १२ गते लुम्बिनीमा प्रदर्शन गरिने छ । रासस

भार्गव विकास बैंकले धितोपत्र बोर्डमा दियो शतप्रतिशत हकप्रदको लागि निवेदन

काठमाडौं, २६ कात्तिक । भार्गव विकास बैंकले १ बराबर १ (१०० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत बुधबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १२ करोड रूपैयाँको १२ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी १२ करोड रूपैयाँ रहेको छ । बोनस सेयर बाहेक शतप्रतिशत प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी २४ करोड रुपैयाँ पुग्नेछ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरिरहेको छ ।

विद्युत् चुहावट घटाउने तयारी, आगामी आर्थिक वर्षको अन्त्यसम्ममा ३.५ % कम गर्ने लक्ष्य

काठमाडौं, २६ कात्तिक । सरकारले विद्युत् चुहावट नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउने कार्ययोजना अगाडि सारेको छ । मुलुकभर २५ प्रतिशतभन्दा बढी विद्युत् चुहावट भइरहेको बेला त्यसलाई आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कम्तीमा ३ दशमलव ५ प्रतिशत कम गर्ने लक्ष्यका साथ काम सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत् चुहवाटका कारण करिब एक सय मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ । खेर गइरहेको विद्युत्लाई सदुपयोग गर्न सके सहज रुपमा विद्युत् उपलब्ध गराउन सकिन्छ । कुल जडित क्षमता कम रहेको र उक्त विद्युत् चुहावटका कारण खेर गइरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कार्ययोजना अगाडि बढाउन लागिएको हो । ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगमा भने आफँैले घोषणा गरेको भन्दा २ दशमलव ५ प्रतिशत कम अर्थात आगामी एक वर्षभित्र एक प्रतिशत मात्रै विद्युत् चुहावट नियन्त्रण गर्ने कार्ययोजना पेस गरेको छ । प्राविधिक चुहावट नियन्त्रण गर्न सकिए राहत महसुस गर्न सकिने प्राधिकरणले जनाउँदै आएको छ । गैर प्राविधिक चुहावट भने सामान्य रहेको छ । मुलुकका विभिन्न स्थानमा भइरहेको चुहावटलाई समेत नियन्त्रण गर्ने योजनालाई पनि महत्वपूर्ण कार्ययोजनाका साथ काम गर्ने प्राधिकरणको तयारी छ । विद्युत् विकास विभागका उपकार्यकारी निर्देशक एवम् विद्युत् चुहावट नियन्त्रण अनुगमन समितिका संयोजक सञ्जीव देवले जिल्ला, क्षेत्र र केन्द्रमा लक्ष्यसहित चुहावट नियन्त्रणको काम सुरु गरिएको बताए । विशेषगरी तराईका केही जिल्ला, झक्तपुर, चितवनलगायतका जिल्लामा बढी विद्युत् चुहावट हुने गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । विद्युत् चुहावट हुने जिल्ला तथा क्षेत्रमा प्राधिकरणले ६० प्रतिशतभन्दा बढी विद्युत्भार कटौती गर्ने गरेको छ । विद्युत् बढी चुहावट हुने जिल्लालाई पहिलो प्राथमिकतामा राखी नियन्त्रण अभियान सुरु गरिएको र ६० प्रतिशतभन्दा बढी विद्युत् चुहावट हुने जिल्लामा कम्तीमा पनि पहिलो चरणमा ५० प्रतिशत कम गर्ने योजनाका साथ काम सुरु भएको संयोजक देव बताउछन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जिल्ला, क्षेत्रीय कार्यालय, वितरण केन्द्रमा समेत चुहवाट नियन्त्रण कार्ययोजनालाई पूर्ण योजनाका साथ कार्यान्वयन सुरु गरिएको बताउछन् । चुहावट नियन्त्रणबाट प्राप्त हुने रकम नियन्त्रणमा खट्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने भएकाले नियन्त्रण प्रभावकारी हुने प्राधिकरणको विश्वास छ । ‘‘निश्चित प्रतिशतभन्दा बढी चुहावट नियन्त्रण एवम् बक्यौता असुल गर्न सहयोग गर्ने कर्मचारीलाई निश्चित प्रतिशत प्रोत्साहन दिने लक्ष्य राखिएको छ । त्यसले हाम्रो लक्ष्यलाई पूर्णता प्रदान गर्ने विश्वास लिएका छौ,’’ उनले भने । ऊर्जा सचिव अनुपकुमार उपाध्याय चुहावट हुने विद्युत् जोगाउनु थप उत्पादन गर्नु जस्तै भएकाले त्यसमा मन्त्रालय र संवद्ध निकाय योजनाका साथ लागेको बताउछन् । ऊर्जामन्त्री जनार्दन शर्माले केही समय पहिले सार्वजनिक गरेका ३७ बुँदे कार्ययोजना र गत साल सरकारले घोषणा गरेको ९९ बुँदे ऊर्जा सङ्कटकाल कार्ययोजनामा समेत विद्युत् चुहावट नियन्त्रण गर्ने विषयलाई प्रमुख प्राथमिकता दिइएको बताउछन् । ‘‘उत्पादित विद्युत् बिना चुहावट उपभोक्ताले पाउनुपर्छ भन्नेमा सरकार प्रतिवद्ध छ, जुनसुकै चुहावट नियन्त्रण गर्न पनि हामी प्रतिवद्ध भएर लाग्नैपर्छ, त्यसमा कोही कसैले छुट पाउन सक्दैन र दिइदैन,’’ मन्त्री शर्माले भने । प्राधिकरणले प्राविधिक रुपमा रहेको १५ प्रतिशत बढी चुहावटलाई नियन्त्रण गर्न नयाँ प्रविधिको आवश्यकता महसुस गरेको छ भने हुकिङलगायतबाट हुने चुहावट नियन्त्रणलाई भने कानुनी कारबाही तथा सम्झाइबुझाइ र जनचेतना फैलाउने जनाएको छ । रासस

सगरमाथा फाइनान्सलाई ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति

काठमाडौं, २६ कात्तिक । नेपाल धितोपत्र बोर्डले सगरमाथा फाइनान्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि फाइनान्सको १०ः८ अर्थात् ८० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले २९ लाखको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोर्डले कम्पनीलाई प्रति कित्ता १ सय रुपैयाँका दरले २९ करोड ५४ लाख रुपैयाँ मूल्य बराबरको हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो । कम्पनीले एनआइबिएल क्यापिटल माक्रेटस्लाई बिक्रि प्रबन्धक तोकेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३६ करोड ९२ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात बैंकको पूँजी ६४ करोड ४७ लाख रुपैयाँ पुग्ने छ ।

केपी ओलीले गरे बजारमुखी अर्थतन्त्र र आर्थिक उदारीकरणको आलोचना

काठमाडौँ, २६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजारमुखी अर्थतन्त्र, उदारीकरण तथा खुल्ला समाज आर्थिक उन्नतिका लागि प्रमुख बाटो होइन भन्ने तथ्य पुटि भएको बताएका छन् । नेपाल उद्योग व्यवसायी महासङ्घको चौथो वार्षिकोत्सवको उद्घाटन गर्दै देशलाई आर्थिक, सांस्कृतिक, वैचारिक दृष्टिले अगाडि बढाउने सोच नेकपा (एमाले) बाहेक अरुसँग नभएको बताए । नेपालमा पुष्पक विमान उडाउने मानिस विद्वान् हुने र सडकमा गाडी चलाउने मानिस ड्राइभर हुने समाजको मनोगत विचारका कारण देशको आर्थिक विकास नभएको उनको भनाइ थियो । नेपालको औद्योगिक क्षेत्रमा रहेको समस्या राष्ट्रिय समस्याका रुपमा रहेको चर्चा गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीले प्रगतिशील आर्थिक नीति अवलम्बन नगरेसम्म आर्थिक विकास असम्भव रहेको बताए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडाले नेपालमा २० लाख परिवार लघुवित्त पेसामा संलग्न रहेको उल्लेख गर्दै विदेशी बजारमा नेपालबाट बर्सेनी चार लाख श्रमिक बाहिरिने गरेको बताइ । महासङ्घका अध्यक्ष लक्ष्मीदास मानन्धरको सभापतित्वमा भएको सो कार्यक्रमका अन्य वक्ताहरुले नेपालमा औद्योगिक क्षेत्र राम्रोसँग सञ्चालन गर्न वार्षिक एक हजार ८०० मेगावाट विद्युत्को आवश्यकता रहेको तथा विशेष गरी फलाम, आल्मोनियम, सिमेन्टजस्ता उद्योगका लागि बिजुलीको आवश्यकता उच्च रहेको बताए । देशमा औद्योगिक विकास भए मात्र आन्तरिक तथा बाह्य बजारमा पनि नेपालको प्रवेश सुनिश्चित हुने भएकाले निश्चित समयसम्म राज्यले औद्योगिक उत्पादन वृद्धिका लागि लगानी गर्नुपर्छ र पूर्वाधारको विकासमा उच्च प्राथमिकता दिनुपर्नेमा उनीहरुको जोड थियो । रासस

राष्ट्रपति भण्डारी सपरिवार चन्द्रागिरीमा, पूजा र अवलोकनमा बिताए साढे चार घण्टा, मंसिरमा उद्घाटन हुने

काठमाडौं, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी ज्याईसहित सहपरिवार चन्द्रगिरीको अवलोकन गरेकी छिन् । चन्द्रगिरीमा नबनिर्मित भलेश्वर महादेवको पूजा गर्न शुक्रबार साढे ८ बजे पुगेका राष्ट्रपति भण्डारीको परिवारले त्यहाँ साढे चार घण्टा बिताएका थिए । ‘उहाँको अनौपचारिक भ्रमण हो । मन्दिरमा पूजा गर्नु भयो । ठाउँ रमाईलो भएकोले वरिपरि दृष्याबलोकन गर्नु भयो’ सम्बद्ध स्रोतले भन्यो । राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै चन्द्रागिरीका प्रवद्र्धकहरु चन्द्रप्रसाद ढकाल, अम्बिकाप्रसाद पौडेल, मिनबहादुर श्रेष्ठ लगायतले भण्डारीलाई चन्द्रागिरी केबलकार परियोजनाको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराएका छन् । ‘ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिम श्रृखलाहरुको समेत दृश्यावलोकन गर्नु भयो’ कम्पनीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ । त्यस क्षेत्रको रमणीय वातावरण र चन्द्रगिरी हिल्सले पूर्वाधार निर्माणमा गरेको कार्यबाट राष्ट्रपति निकै खुशी हुनु भएको सम्बद्ध स्रोतले बतायो । आयोजनाको औपचारिक उद्घाटन मंसिरमा गर्ने तयारी भइरहेको तर मिति तय नभएको स्रोतले बतायो ।

स्वदेशी लघुवित्तले धितोपत्र बोर्डमा दियो ३ लाख सेयर निष्काशनका लागि निवेदन

काठमाडौं, २६ कात्तिक । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाउने बित्तिकै आईपीओ निष्काशन गर्ने कम्पनीले जानकारी दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । साधारण शेयर जारी पश्चात कम्पनीको पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।