विकासन्युज

पूर्व प्रधानमन्त्री देउवालार्इ जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको उपाधि

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको उपाधि पाएका छन् । विश्वविद्यालयका उपकूलपति प्रा. जगदेश कुमारले एक कार्यक्रमका बीच मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेका हुन् । यो उपाधिबाट पाउने सभापति देउवा पहिलो नेपाली हुन् । यो भन्दा अगाडिका वर्षहरुमा यो उपाधिबाट नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ्साङ सुकी र भारतका पूर्व राष्ट्रपति डा. ऐ.पि.जे. अब्दुल कलामले पाएका थिए । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाहरलाल नेहरु विश्वविद्यालयले प्रदान गरेको यो उच्च सम्मानप्रति नेपाली कांग्रेस हार्दिक धन्यवाद व्यक्त गरेको छ । गत साता मात्र नेपाल भ्रमणमा आएका भारतीय राष्टपति प्रणम मुखर्जीलाई काठमाडौ विश्वविद्यालयले मानार्थ विद्यावारिधी दिएको थियो । यस्तो सम्मानले दुई देशबीचको सम्बन्ध सुधारमा सहयोग गर्ने जानकारहरु बताउँछन् ।

क्लिन्टनकाे अर्थनीति ‘सुधारात्मक’,  ट्रम्पको अर्थनीति ‘अराजक’ :अर्थविद्

वासिङ्गटन, २१ कात्तिक । अमेरिकी कर प्रणाली, सार्वजनिक खर्चब्यबस्था र आरक्षण सम्बन्धि ब्यबस्थापनका विषयमा राष्ट्रपतीय उम्मेदबारद्वय मध्ये क्लिन्टनको अर्थनीति सुधारात्मक हुने र ट्रम्पकाे अर्थनीति अराजक हुने अमेरिकाका एक वरिष्ठ अर्थविद्ले बताएका छन् । एउटा निष्पक्ष, स्वतन्त्र र व्यावसायिक अर्थनीति समूहः कमिटि फर इकोनोमिक डेभेलप्मेन्टका अर्थविद् स्टिभ अड्ल्याण्डले भनेका छन्, क्लिन्टनकाे अर्थनीति  “निरन्तरता” र ट्रम्पको अर्थनीति “अज्ञानता” हो  । हिलारी क्लिन्टनका अभिव्यक्तिले वर्तमान अमेरिकी अर्थतन्त्रलाई निरन्तरता दिने तर, ट्रम्पले बेलाबखतमा अभिव्यक्त गरेका आर्थिक प्रस्तावले भने वर्तमान अमेरिकी अर्थतन्त्रलाई झस्काउने वा आर्थिक उग्रवादतर्फ धकेल्ने सम्भावना देखाएको छ । ट्रम्पका बिभिन्न आर्थिक अभिब्यक्तिलाई धेरै अर्थशास्त्री तथा अर्थविदहरु अमेरिकाको वर्तमान आर्थिक समृद्धिलाई खतरा पु¥याउने खालको भनी झस्किने गर्छन् तापनि यी रिपब्लिकन उम्मेदवारले प्रस्तुत गरेका आर्थिक सुधारका योजनाबाट अमेरिकी अर्थतन्त्रले थप लाभ उठाउन सक्नेमा अमेरिकाका साना ब्यबसायी तथा स–साना लगानीकर्ताहरु भने आशावादी रहेका भेटिएका छन् । दुई उम्मेदबारकाबीच अति कडा प्रतिस्पर्धा भैरहेको यस स्थितिमा निर्वाचन सम्पन्न हुन दुई दिन मात्र बाँकी छँदा गरिएको अर्थतन्त्रीय पूर्वसर्भेक्षणात्मक मतसङ्कलनको नतिजालाई हेर्ने हो भने विश्व अर्थतन्त्र आंकलन र अनुगमन गर्ने दुई विशाल संस्थाहरुमध्ये “वाल स्ट्रिट” क्लिन्टनको पक्षधर र “मेन स्ट्रिट” चाहीँ ट्रम्पको पक्षधर रहेको पाइएको बताउँछन् उनै अर्थविद् स्टिभ अड्ल्याण्ड । त्यस्तै, अर्को आर्थिक संस्था सिएनबिसी नेटवर्कद्वारा आयोजित, अर्थविज्ञ तथा वाल स्ट्रिट सदस्यहरु समेत ५० जनासँग गरिएको पूर्वसर्भेक्षणमा ८२ प्रतिशतले क्लिन्टन विजयी हुने मत प्रकट गरे । अर्थतन्त्रका लागि ट्रम्पको आर्थिक प्रस्तावले लाभ दिने पक्षमा ४६ प्रतिशत खडा भए भने क्लिन्टनको पक्षमा ३९ प्रतिशत मात्र । रासस/एएफपी

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जित्ने चिनियाँ बाँदरको भविष्यवाणी

चीन, २१ कात्तिक । चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो । गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि उक्त अलौकिक जनावरले सन् २०१० को विश्व कप फुटबलका धेरै प्रतिस्पर्धामा को विजयी हुन्छन् भनेर सोधिएको प्रश्नमा सही विजेता छान्न सफल भएको थियो । पहेँलो सर्टमा सिङ्गारिएको उक्त भविष्यवक्ता बानरराजलाई दुई वटा केराका टुक्राहरूलाई अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा राखिएको थियो र उक्त बादरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय दिएको थियो । बाँदरले निर्णय दिनुभन्दा पहिले केहीबेर ध्यानपूर्वक केराका टुक्रा नजिक बसेको र ट्रम्पको प्रतीक बनाई राखिएको केराको टुक्रालाई उचालेर भविष्यवाणी गरेको, सियाङ हु इकोलोजिकल टुरिजम पार्कले बिहीबार आफ्नो वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/एएफपी

पोखराको प्राकृतिक सुन्दरतामा भारतीय राष्ट्रपति मुखर्जी माेहित, ‘भगवानले फुर्सदमा बनाएकाे सुन्दर ठाउँ’

पोखरा, २१ कात्तिक । अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले पछिल्लो पटक भारतीय राष्ट्रपति मुखर्जीको मनलाई पनि लोभ्याएको छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यको रुपमा रहेकोे पोखरामा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिको भ्रमणमध्ये यही शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट राजकीय भ्रमणको सिलसिलामा गरिएकोे भ्रमण सबैभन्दा पछिल्लो हो । जनकपुरबाट पोखरा विमानस्थलमा झर्नासाथ पोखरेली जनताको न्यानो स्वागत पाएका मुखर्जी पोखराको प्राकृतिक सुन्दरतामा मोहित भए । छोटो समयको भ्रमणका क्रममा यहाँस्थित भारतीय पेन्सन क्याम्पमा नेपाली भूतपूर्व भारतीय गोर्खा सैनिकलाई गरेको ११ मिनेटको सम्बोधनको सुरुमा नै राष्ट्रपति मुखर्जीले पोखराको सुन्दर नगरीको अवलोकनका लागि अवसर जुट्नु आफ्ना लागि सन्तोषको विषय भएको बताए । विश्वका विभिन्न राष्ट्रका विशिष्ट व्यक्तिले प्राकृतिक सुन्दरताले भरिएको यस क्षेत्रको अवलोकनका गन्तव्यस्थल बनाउनु आफैमा महत्वपूर्ण उपलब्धि भएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल बताउछन् । यस्ता विशिष्ट व्यक्तिको भ्रमणका कारण यहाँको प्राकृतिक सुन्दरता विश्वका लागि थप चर्चाको विषय भएको छ भन्दै उनले यस्ता भ्रमणले यहाँको गरिमा र महत्व बढ्ने विश्वास व्यक्त गरे । गतवर्ष सम्पन्न सार्क मन्त्रिपरिषद्को बैठकमा सार्क राष्ट्रबाट प्रतिनिधित्व गर्ने परराष्ट्र एवम् विदेशमन्त्री तथा अन्य पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेर फर्केको विषय राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको थियो । उक्त बैठकमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायतका पाहुनाले पोखरालाई भगवानले फुर्सदमा बनाएको यो ठाउँ, प्रकृतिको अनुपम बरदान भएकाले महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त गन्तव्यजस्ता उपमा दिएकाले पनि यहाँकोे सुन्दरता विश्व माझ सबैको चासो र चर्चाको विषय बनेको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा विश्वका पर्यटकलाई लोभ्याइरहेको पोखरामा अति विशिष्ट व्यक्तिको भ्रमण एवम् उच्चस्तरीय बैठकका लागि पनि छनोटमा पर्नु समग्र पोखराका लागि गौरवको विषय भएको बताउछन् । “पछिल्ला समयमा पोखरामा सम्पन्न सार्क शिखर सम्मेलन, बेलायती राजकुमार ह्यारीको भ्रमणसँगै सम्पन्न भारतीय राष्ट्रपतिको भ्रमणले पोखराको पर्यटकीय विकासका लागि थप ऊर्जा प्रदान गरेको छ”– उनले भने । इतिहास खोतल्दा यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए । रासस

एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’ योजना, सोमबारदेखि लागू हुने

काठमाडौंं, २१ कात्तिक । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा कर सहित मात्र १५०० रुपैयाँमा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्नेछन् । कम्पनीका अनुसार उक्त योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा यहि सोमबार (कार्तिक २२, २०७३) देखि लागु हुनेछ । यो योजना सुचारु गर्ने एनसेलका प्रिपेड वा पोस्टपेड ग्राहकले आफु सम्बन्धित रोमिङ् देशहरुमा रहँदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशहरुका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कल, २५ एसएमएस र २५ एमबि डेटा पाउनेछन् । प्याक अन्र्तगत उपलब्ध हुने यी सेवाहरुको प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ । यो योजना सुचारु गरी एनसेलका ग्राहकले रोमिङ् देशहरुमा आफु यात्रामा भएको समयमा पनि आफ्ना परिवार, आफन्त तथा व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा कुराकानी गर्दै संचार सेवाको खर्चमा कटौती गर्न सक्नेछन् । उदाहरणका लागि कम्बो प्याक लिई भारत यात्रामा जाने एनसेलका ग्राहकले १२,५०० रुपैयाँ बचत गर्न सक्नेछन् । बिना प्याक भारतमा रोमिङ्मा रहँदा भ्वाईसको २५ रुपैयाँप्रति मिनेट, प्रति एसएमएस १० रुपैयाँ र डेटाको शुल्क प्रति एमबि ५०० रुपैयाँ लाग्दछ । यसरी प्याक अन्र्तगत पाईने यही भोल्युमका सेवाहरुका लागि बिना प्याक प्रयोग गर्दा ग्राहकहरुले १४ हजार रुपैयाँ खर्च गनुपर्ने हुन्छ । त्यसैगरी, कम्पनीका अनुसार थाईल्याण्ड र अन्य देशहरुमा यो कम्बो प्याक सुचारु गरेर भ्रमणमा जाने ग्राहकहरुले क्रमशः१६,४५० र १३,९५० रुपैयाँ बचत गरेर रोमिङ् सेवाको फाईदा लिन सक्छन् । पोष्टपेड सेवाका ग्राहकहरुले एस्ट्रिक्स १७१२९ ह्यास डायलगरी चौथो विकल्प रोजेर प्राप्त जानकारी अनुसार यो रोमिङ् कम्बो प्याक सुचारु गर्न सक्नेछन् । प्रिपेड ग्राहकका हकमा, ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायलगरी दोस्रोे विकल्प रोजेर त्यसपछि प्राप्त जानकारी अनुसार यो प्याक लिन सक्छन् । “आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता बमोजिम २५ वटा देशमा लागु हुनेगरी रोमिङ् कम्बो प्याक अन्र्तगत शुल्क घटाउदै यो योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यसले रोमिङ्मा रहने हाम्रा ग्राहकलाई एउटै प्याकको माध्यमबाट भ्वाईस, एसएमएस र डेटा सेवाहरु सुलभ मुल्यमा उपलब्ध गराउने छ र भ्रमणका बेलामा सुलभ र सहज रुपमा सम्पर्कमा रहन मद्दत गर्नेछ ।” आफ्नो संचार सेवाको आवश्यकता बमोजिम, ग्राहकले जति पटक पनि यो प्याक लिन सक्छन् । प्याक प्रयोग गर्ने समयसिमा वा प्याकमा उपलब्ध भएको सेवाहरु उपयोग गरी सकेपछि हाल रोमिङ्का बेलामा लाग्दै आएको शुल्कहरु लागु हुनेछ । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो कम्बो प्याकमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न सक्छन् । यो अफरमा प्याक स्वत पुन सुचारु हुने व्यवस्था समावेश गरिएको छैन ।

कालीगण्डकी करिडोरमा व्यावसायिक भेडापालनका लागि ७० लाख रुपैयाँ बजेट

म्याग्दी, २१ कात्तिक । कालीगण्डकी करिडोरका भेडाबाख्रा पालक कृषकलाई यस आर्थिक वर्ष ७० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । व्यावसायिक भेडापालन कार्यक्रमअन्तर्गत जिल्ला पशुसेवा कार्यालयले कृषकलाई सघाउन सो बजेट उपलब्ध गराएको हो । भेडा पालन पेशालाई थप व्यावसायिक बनाई जिल्लालाई ऊन र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले पशु उत्पादन निर्देशनालय र केन्द्रीय भेडाबाख्रा प्रवद्र्धन कार्यालयमार्फत सो बजेट उपलब्ध गराइएको हो । जिल्लाका भेडापालक कृषकलाई लक्षित गरी पहिलो पटक आएको उक्त कार्यक्रमलाई कालीगण्डकी करिडोर भेडापालक स्रोत विकास समितिमार्फत परिचालन गर्न लागिएको जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले बताए । उनका अनुसार जिल्लाका भेडापालक कृषकलाई तीन करिडोरमा विभाजन गरी पहिलो वर्ष उत्तरी १० गाविसका कृषकमाझ कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रमबाट भगवती, बेगखोला, दोबा, दाना, भुरुङतातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चे गाविसका भेडापालक कृषक लाभान्वित हुने अधिकृत बानियाँले जानकारी दिए । “यस क्षेत्रमा ५० कृषक भेडापालनमा सम्लग्न छन्, उनीहरुसंग हाल आठ हजार ३८१ वटा भेडा छन्, कृषकलाई पत्यक्ष राहत पुग्ने गरी भेडापालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउने गरी कार्यक्रम परिचालन हुन्छ, उनले भने ।” घुम्ती गोठ, टहरा निर्माण, पोखरी निर्माण, ऊन सङ्कलन तथा बिक्री केन्द्र स्थापना, राडी पाखी माड्ने मेसिन सहयोगजस्ता विषय कार्यक्रममा समेटिएको छ । त्यसैगरी भेडाको गोठ मर्मत, भेडाको तौल लिने डिजिटल उपकरण सहयोग, ऊन काट्ने चर्खा वितरण, परजीवी नियन्त्रणका लागि ट्याङ्की निर्माणलगायतको सहयोग पनि गरिने पशुसेवा कार्यालयका प्राविधिक डिल्लीराम रेग्मीले जानकारी दिए । उनका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन समूह गठन, स्रोत केन्द्र निर्माण, स्थलगत अनुगमन, कार्ययोजना निर्माण, अन्तक्र्रिया, पशु स्वास्थ्य कार्यक्रम र आहारा विकासका कार्यक्रमसमेत समावेश गरिएको छ । “यो पहिलो चरणको कार्यक्रम हो, यसलाई केही वर्षसम्म निरन्तरता दिने सम्भावना छ, कृषक क्रियाशील भए भेडापालनका लागि यसले ठूलो सहयोग पुग्छ”, प्राविधिक रेग्मीले बताए । जिल्लामा कालीगण्डकी करिडोरबाहेक राहुघाट र म्याग्दीखोला करिडोर अन्तर्गत १२ गाविसमा समेत भेडापालन हुने गरेको छ । ती करिडोरमा समेत आगामी वर्षका लागि कार्यक्रम माग गरिएको छ । जिल्लाभित्र हाल करिब २०० कृषक भेडापालनमा आबद्ध छन् भने करिब २८ हजारको हाराहारीमा भेडा रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । रासस

आर्थिक पत्रकार सञ्जय न्यौपानेको निधनले सञ्चार क्षेत्र स्तभ्ध

काठमाडाैं, २१ कात्तिक । कारोबार दैनिकका पूर्व सम्पादक तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व उपाध्यक्ष सञ्जय न्यौपानेको ४५ वर्षको अल्पायुमै भएको निधन भएको छ । एक वर्षदेखि मस्तिष्क सम्बन्धि गम्भीर रोग एनाप्लाष्टिक एट्रोसिटोमाको उपचार गराइ रहेका न्यौपानेको शनिबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको हो । त्यसअघि भारतको मेदान्त अस्पतालमा उनको उपचार भइरहेको थियो । कान्तिपुरको ललितपुर संवाददाताबाट पत्रकारिता शुरु गरेका न्यौपाने कान्तिपुर दैनिकको आर्थिक ब्युरो प्रमुख, डेपुटीचिफ रिपार्टर हुँदै २०७० देखि २०७२ सम्म कारोबार दैनिकको सम्पादक रहेर काम गरेका थिए । ललितपुर बडिखेलका स्थायीबासिन्दा न्यौपानेका बुवा,आमा, श्रीमती एक छोरा र एक छोरी छन् । उनको निधनले नेपालको आर्थिक पत्रकारिताका क्षेत्रमा अपुरणीय क्षतिपुगेको भन्दै नेपाल आर्थिक पत्रकार समाजले न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । झण्डै दुई दशकदेखि आर्थिक पत्रकारितामा रहेका न्यौपानेले सेजनको कार्य समिति सदस्य र उपाध्यक्ष समेत भएर सेवा गरेका थिए । न्याैपानेकाे निधनले अार्थिक क्षेत्रसहित सिंगाे पत्रकारिता क्षेत्र स्तभ्ध बनाएकाे छ ।

नेपाल चेम्वर र नेशनल चेम्वर अफ कमर्स बिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २१ कात्तिक । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठ र नेशनल चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज मलेशियाका पदाधिकारीसंग भेटघाट भएको छ । भेटघाटमा श्रेष्ठले मलेशियाका पदाधिकारीसंग नेपालमा लगानी विस्तार गर्न अनुरोध गरेका छन् । भेटघाटका अवसरमा दुई देश विचको व्यापार तथा लगानी अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल चेम्वर अफ कमर्स र नेशनल चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज विच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । समझदारीले दुई देश विचको आर्थिक सम्वन्ध अझ सुदृढ हुने चेम्वरको विश्वास रहेको छ ।   उक्त अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा राजनैतिक स्थायीत्व भई लगानीको वातावरण बन्दै गएकोले नेपालमा लगानी गर्न मलेशियाका व्यवासायीहरुलाई अनुरोध गरेका हुन् । उनले सस्तो श्रम, भारत र चीन जस्ता दुई ठुला बजारबाट प्रशस्त फाईदा लिन सकिने भएकोले नेपालमा उद्योग स्थापना गर्न मलेशियाका उद्यमी व्यवसायीहरुलाई अनुरोध गरेका छन् । विनाशकारी भुकम्प पश्चात नेपालमा पुर्ननिर्माणका लागि ठूलो पूजीँ र प्रविधिको आवश्यकता माथि प्रकाश पार्दै अध्यक्ष श्रेष्ठले पुर्वाधार निर्माण, कृषि, पर्यटन, उर्जा, जलश्रोतको विकास, खानी तथा खनिजजन्य उद्योग, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् ।