विकासन्युज

बन्ला त त्रिपुरेश्वर-माइतीघर खण्डमा फ्लाईओभर, जाइका भन्छ ‘खाका बन्यो नौ अर्ब लाग्छ’

काठमाडौं, २१ कात्तिक । सरकारले उपत्यकामा बढ्दै गएको ट्राफिक जाम समस्याको समाधान गर्न विभिन्न स्थानमा फ्लाईओभर व्रिज निर्माण गर्ने भएको छ । अत्यधिक ट्रापिक जाम हुने सबै स्थानमा फ्लाईओभर बनाउने सरकारको दीर्घकालीन योजना हो । यसका लागि सरकारले गुरु योजना बनाउने तयारी गरिरहेको छ । हाल कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, टेकु, भद्रकाली, चावहिल, लैनचौरलगायतका स्थानमा अत्यधिक ट्राफिक जाम हुन्छ । अत्यधिक सवारी साधनको चापले सर्वसाधारणलाई बाटो काट्न मुस्किल परिरहेको छ । बाटो काट्न धेरै बेरसम्म उभिनु पर्ने भएकोले यस्ता सव बाटोहरु निर्माण गर्न सके आगन्तुकलाई सहज हुनका साथै दुर्घटना कम हुने मन्त्रालयको ठम्याइ छ । यो समस्याको विकल्पको रुपमा फ्लाईओभर व्रिज भएकाले यसका लागि गुरु योजना तयार पार्न लागेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्की बताउँछन् । भर्खरै त्रिपुरेश्वर– माइतीघर खण्डमा फ्लाईओभर व्रिज निर्माणका लागि सम्भाव्यता अध्ययन सकिएको छ । जापान सहयोग नियोग जाइकाले गरेको सो अध्ययनले करीब एक किलोमिटर लम्बाइको फ्लाईओभर निर्माण गर्न नौ अर्ब लाग्ने अनुमान गरेको छ । चार र दुई दुबै लेनको अध्ययन जाइकाले गरेको हो । सम्भाव्यता अध्ययन सकिएको फ्लाइओभर परियोजनाको निर्माण कार्य कहिलेदेखि शुरु हुन्छ भन्ने विषयमा भने सरकार मौन छ । यद्यपी यसको विस्तृत अध्ययन प्रतिवेदन (डीआरपी) भने हुन वाँकी नै छ । जाइकाले उक्त स्थानमा करीब दुई वर्ष अघिदेखि फ्लाईओभरको अध्ययन गर्दै आएको छ । यस्ता ठाउँमा फ्लाईओभर निर्माण गर्न सके ट्राफिक जानको समस्या समाधान गर्न सजिलो हुने भौतिक योजना तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । अब छिट्टै जाइकाले बानेश्वर र कोटेश्वरमा पनि फ्लाईओभर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्दै छ । आगामी एक वर्षभित्र जाइकाले बानेश्वर र कोटेश्वरमा पनि फ्लाईओभर निर्माणका लागि सोको अध्ययन सम्पन्न गरिसक्ने योजना रहेको छ । दीर्घकालीन योजना अन्तर्गत चावहिल, कलंकी लगायतका स्थानमा पनि फ्लाईओभर निर्माण गर्ने योजना सरकारको छ । सरकारले २०६९ सालमा नयाँ बानेश्वरमा फ्लाईओभर बनाउने प्रक्रिया अघि बढाएकोर आर्थिक वर्ष २०६८/६९ मा सरकारले फ्लाइओभर निर्माणका लागि चार करोड रुपैयाँ विनियोजनसमेत गरेको थियो । तर, त्यतिबेला त्यो प्रभावकारी हुन सकेन । तत्कालीन सयममा फ्लाईओभरको सम्भाव्यता अध्ययनका लागि करीब ५० लाख रुपैयाँ खर्च भएको थियो । ‘त्यसबेला फ्लाईओभर निर्माणले गति लिन नसकेपछि अहिले पुनः सोको अध्ययन अघि बढाइएको हो,’ कार्कीले भने ‘पहिलाको अध्ययनलाई पनि आधार मानेर अहिले फेरि जाइकाले अध्ययन गर्न लागेको छ ।’ हुन त नेपालमा यस्ता धेरै योजना कागजमा मात्रै सीमित भएका छन् । तर, यो योजनालाई अघि बढाउन सके आम नेपालीले बाटो काट्दा झेल्दै आएको समस्याबाट केही हदसम्म मुिक्त पाउने थिए । सरकारले पनि यस्ता सार्वजनिक हितका योजना तथा परियोजनाहरुलाई जतिसक्दो छिटो कार्यान्वयनमा लान सक्नुपर्छ ।

हवाई उड्डयनमा नयाँ कम्पनी थपिँदै, एभरेष्ट हेलिकोप्टर संचालन गर्न श्रीका दुईवटा हेलिकोप्टर खरिद

काठमाडौं २१, कात्तिक । हेलिकोप्टर सेवामा नयाँ कम्पनी आउने भएको छ । मनाङ हेलिकोप्टरबाट छुट्टिएर गएको लाक्पा शेर्पासहितको टिमले एभरेष्ट हेलिकोप्टर संचालनको अन्तिम तयारी गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो वायुसेवाले जहाज ल्याउनको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाइसेको छ । अब, जहाज ल्याएपछि यसले आवश्यक प्रक्रिया पूरा गरेको अवस्थामा उडान संचालन अनुमति (एओसी) पाउँछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सात महिना अगाडि नै इजाजतपत्र (लाइसेन्स) पाएको यो वायुसेवा कम्पनीले प्राधिकरणबाट एओसी पाउने तयारीमा रहेको छ । यो वायुसेवा करीब अन्तिम तयारीमा रहेको र आवश्यक डकुमेन्ट जुटाउने क्रममा रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । एभरेष्टल श्री एयरलाइन्सको दुई वटा एसए ३५० बीथ्री ई नामक हेलिकोप्टर खरिदको सम्झौतासमेत गरिसकेको छ । श्रीले आन्तरिक तथा वाह्य उडानमा नियमित उडानका जहाजबाटै सेवा दिने तयारी गरेकोले पनि यसले दुईवटा हेलिकोप्टर बेचेर जहाजमै लगानी गर्न खोजेको पनि प्राधिकरणको बुझाई छ । श्रीले एक महिना अगाडि नै दुई वटा हेलिकोप्टर एभरेष्ट हेलिलाई दिन औपचारिक सहमति गरेको स्रोतको भनाइ छ । हाल यो दुइवटा हेलिकोप्टरको उडान आवर नबढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा राखिएको छ । प्राधिकरणका अनुसार आन्तरिक उडानमा पछिल्लो समय हेलिकोप्टरको व्यवसाय निकै चर्को प्रतिस्पार्धामा गएको छ । एउटा हेलिकोप्टरलाई कम्तिमा २० करोडका दरले पनि दुई वटालाई ४० करोड र अन्य कम्पनी तथा कर्मचारी तथा पाइलट र इन्जिनयरको व्यवस्थापन गर्दा हेलि एभरेष्टले कम्तिमा दुई वटा हेलि संचालन गर्न ५० देखि ६० करोड खर्च गर्नुपर्ने पर्यटन मन्त्रालय स्रोतको भनाइ छ । यो वायुसेवाले प्राधिकरण अन्तर्गतको हवाई उडान सुरक्षा विभागमा अनुमतिको लागि आवेदन दिएको छ । यो वायुसेवाको आवेदनमा प्राधिकरणले आवश्यक मूल्यांकनको काम गरिरहेकोले आगामी एक सातासम्ममा उडान अनुमति पाउनसक्ने पनि प्राधिकरण स्रोतको भनाई छ । हाल नेपालमा हेलिकोप्टर सेवामा नै विभिन्न ८ वटा कम्पनी रहेका छन् । यी कम्पनीमध्ये श्री, सिम्रिक, फिस्टेल, एयर डाइनेस्टि, माउन्टेन, मनाङ, अल्टिच्यूड हेलिकोप्टर संचालमा रहेका छन् । यी हेलिकोप्टरका २ देखि ४ वटासम्म हेलिकोप्टर उडानमा रहेका छन् । थप हुने तयारीमा रहेको एभरेष्टले पनि हाललाई दुईवटै हेलिकोप्टर संचालनमा ल्याउने भएको छ ।

विश्वकै ठूलो शालिग्राम शिला सङ्कटमा, कालीगण्डकीले परिक्रमा स्थल भत्काउँदै

पर्वत, २१ कात्तिक । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ । गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो । शिला संरक्षण तथा भक्तजन परिक्रमा गर्नका लागि निर्माण गरिएको संरचना नदीतर्फको भागमा पूरै भत्किएको छ । जसले गर्दा कालीगण्डकीको बहावले सिधै शिलामा ठोक्किने भएकाले शिला नै बगाउने सम्भावना बढेर गएको स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । भगवान् विष्णुको अवतारका रुपमा लिइने शिला परिक्रमा गरेमा मनोकामना पूरा हुने विश्वासमा दैनिक हजारौंको सङ्ख्यामा तीर्थालु आउने गरेकामा शिलाको परिक्रमा गर्न नपाएपछि तीर्थालुको सङ्ख्यासमेत ह्वात्तै घटेको छ । पर्वत, स्याङजा, गुल्मी, बागलुङ, पाल्पा, चितवन, नवलपरासी, अर्घाखाँची लगायत मुलुकभरबाट दैनिक हजाराँैको सङ्ख्यामा आउने भक्तजन र शैक्षिक भ्रमणमा आउने विद्यार्थी तथा अन्य तीर्थालुले समेत शिलाको उचित व्यवस्थापन नभएको गुनासो गरेका छन् । सुनेकै भरमा शिला शालिग्रामको दर्शन गर्न आएका नवलपरासीको खैरेनी माविमा कक्षा १० मा पढ्ने अनिष चौधरीले शिला शालिग्रामको चर्चा अनुसारको व्यवस्थापन रहेनछ, यसको तत्काल उचित व्यवस्थापन हुनु रहेको बताए । पाँच वर्षअघि शालिग्राम परिक्रमा गर्न कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको सहयोगमा करिब ५० लाख खर्चिएर बनाइएको परिक्रमास्थल गत साउन १२ गतेको बाढीले भत्काएपछि अहिले यहाँ पर्यटक आउनै डराउने गरेको शिलाका पुजारी भगवानहरि पराजुलीले बताए । “अघिल्लो बर्सातमा पनि परिक्रमास्थल केही भत्किएको थियो । उक्त समयमा बाँस तेस्र्याएर अल्पकालीन समस्या समाधान गरियो”, उनी भन्छन, “तर यस वर्षको शिला डुबाउने गरिआएको बाढीले परिक्रमा गर्नै नमिल्ने बनाएको छ । परिक्रमा स्थलमा थप सुरक्षा नहुँदा ज्यान पनि जोखिममा पर्ने गरेको छ ।” उक्त शिलाको व्यवस्थापन तथा सुरक्षाको जिम्मा भने कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले लिएको उनले बताए । शिला जोखिममा परेपछि त्यसको सुरक्षाका लागि परियोजनालाई जानकारी गराइसकिएको तर हालसम्म पनि सुनुवाइ नभएको उनले उल्लेख गरे ।

उर्जामा लगानी बढ्दै , जलविद्युतमा २० अर्ब चिनियाँ लगानी थपिँदै,

काठमाडौं २१, कार्तिक २१ । १ सय २ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजनामा चीनको हाइड्रो चाइना कर्पोरेसनले लगानी गर्ने भएको छ । शतप्रतिशत लगानी रहने गरी चीनको उक्त कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । ‘२० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्ने गरी कर्पोरेसनले प्रस्ताव पेस गरेको हो,’ उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले भने, ‘औद्योगिक प्रवद्र्धन बोर्डको बैठक राख्ने तयारी भइरहेको छ । बोर्ड बैठकमा उक्त कम्पनीको एफडीआई स्वीकृतिका लागि एजेन्डा पेस हुनेछ ।’ विद्युत् विकास विभागबाट सर्वेक्षण लाइसेन्स लिई उक्त कम्पनीले वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनसमेत पेस गरिसकेको छ । विद्युत् विकास विभागमै विद्युत् उत्पादनका लागि अनुमति माग गरी प्रक्रिया अघि बढिसकेको जनाएको छ । विद्युत् व्यापार सम्झौता ९पीपीए० का लागि समेत आवश्यक प्रक्रियाहरू अगाडि बढेपछि कर्पोरेसनले एफडीआई स्वीकृतिको माग गरेको हो । उद्योग विभागका अनुसार उक्त जलविद्युत् रसुवाको गुल्जुङ र गोल्टाङ गाविसमा निर्माण हुनेछ । जलविद्युत् आयोजनाका लागि स्थिर पुँजी २० अर्ब २१ करोड ५० लाख रुपैयाँ रहने प्रस्ताव छ । चालु पुँजी ६ करोड ५० लाख रुपैयाँ रहनेछ । हाइड्रो चाइना कर्पोरेसन चीनको एक ठूलो जलविद्युत् कम्पनीमा पर्छ । यो कम्पनीले हालसम्म बनाइसकेको र बनाउन लागेको सहित १६ गिगावाट विद्युत् उत्पादनको योजना छ । कर्पोरेसनका १० वटा सहायक कम्पनी छन् । १० हजार २ सय जनाले रोजगारीको अवसर पाएका छन् । यसमध्ये ५ हजार ७ सय जना त प्राविधिक मात्रै छन् । चीनबाहेक अन्य मुलुकमा समेत यो कम्पनीले जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको छ । जलविद्युतमै नेपालमा पनि लगानी विस्तार गर्ने तयारी हो ।सन् २०२० सम्ममा गर्जेजले बनाएका आयोजनाबाट ८० हजार मेगावाट बिजुली उत्पादन हुनेछ । जलविद्युतमा थ्री गर्जेजपछि हाइड्रो चाइनाले ठूलो लगानी गर्न लागेको हो । यसबाहेक चीनकै ठूलो सिमेन्ट उत्पादनक होङसीले लगानीको स्वीकृति बोर्डबाट लिइसकेको छ । ३६ अर्ब रुपैयाँ लगानी गर्न अनुमति पाएको हो । होङ्सीले नेपालको शिवम सिमेन्टसँग मिलेर लगानी गर्ने गरी अनुमति पाएको हो । दैनिक १२ हजार टन उत्पादन गर्ने लक्ष्य छ । एक हजार जनालाई रोजगारी दिने प्रतिबद्धता छ ।कान्तिपुर दैनिकबाट ।

घुमफिर वर्षको प्रवद्र्धन गर्न पर्यटकीय प्याकेज, संस्थाको सहकार्यमा पर्यटकीय प्याकेज

काठमाडौं २१, कात्तिक ।  नेपालको आन्तरिक पर्यटक प्रवद्र्धन गर्न घुमफिर वर्षको औचित्य पुष्टि गर्न नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय संस्थाको सहकार्यमा पर्यटकीय प्याकेज निर्माण गर्न थालेको छ । नेपालमा विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक प्याकेज बनाउन थालिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । उनका अनुसार पर्यटकीय गतिविधि बढाउन र व्यवसायीक प्याकेज लिएर पर्यटकीय गन्तव्यमा जाने उत्साह बढाउन पनि बोर्डले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटकीयगतिविधि बढाउने अभियान गरेको हो । पर्यटन बोर्डले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको हो । यस्तो पर्यटकीय प्याकेजमा पर्यटकीय संस्थाले बनाएर प्रवद्र्धन गर्न अनुरोध गरेका र बोर्डसँगको सहकार्यमा निर्माण भएकै प्याकेज रहेको पनि बोर्डले जानकारी दिएको छ । धेरैले घुमफिर वर्षलाई नै दृष्ट्रिगत गरेर प्याकेज ल्याउन अनुरोध गरेकोले औपचारिक रूपमै पर्यटकीय प्याकेज ल्याउन थालिएको नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले बताए । उनका अनुसार बोर्डले नेपालको सबै अञ्चलको पर्यटकीय स्थलहरूलाई समेटेर प्योकज ल्याउने प्रयास गरेको छ । व्यवसायीलाई पनि संघीयताको संरचना अनुसार नै प्याकेज निर्माण गर्न अनुरोध गरिएको जानकारी पनि सुवेदीले दिए । आन्तरिक पर्यटकीय प्याकेज ल्याउने र पर्यटन प्रवद्र्धन गर्ने विषयमा सबै पर्यटकीय गन्तव्यको महत्व बराबरी नै हुने भएपनि घुम्न जानेको रोजाइमा गन्तव्य पहिचान छिटो हुने बोर्डको भनाइ छ । बोर्डले तयार पारेको पहिलो चरणको प्याकेजमा हलेसी महादेव दर्शन टुर, जनकपुरधाम, पाथिभरा मन्दिरको भ्रमण, खप्तड टुर, लुम्विनी–स्वर्गद्वारी भ्रमणका टुुर, रारा टुर रहेका छन । यी पर्यटकीय प्याकेज नाट्टा र सोट्टोको सहकार्यमा तयार भएका हुन । ट्रेकिङ, राफ्टिङ, होमस्टे, क्यानोनिङसहितका पर्यटकीय प्याकेजपनि सम्वन्धित संस्थाको सहकार्यमा आउने बोर्डले जानकारी दिएको छ । बोर्डले आफ्नो वेवसाइटमार्फत यस्तो प्योकजको जानकारी दिने र सम्वन्धित पर्यटकीय संस्थामार्फत प्याकेज खरिद गर्न सकिने बताएको छ । पर्यटन बोर्डले र पर्यटन व्यवसायीको संयुक्त पहलमा नेपालभरका सबै पर्यटकीय गन्तव्यमा भ्रमण प्याकेज तयार पार्दै जाने जानकारी पनि दिएको छ । पर्यटकीय गन्तव्यको घुमघाम र भ्रमणका लागि न्युनतम एक दिनदेखिको पर्यटकको रुची अनुसारको महिना दिनसम्मको पर्यटकीय प्याकेज तयार पार्ने पनि उल्लेख छ । घुमफिर वर्ष २०७३ संचालमा रहेको र आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पनि यस्तो प्याकेज आवश्यक भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्यले जानकारी दिए । उनका अनुसार हाल जुनसुकै गन्तव्यमा जान पनि स्वतन्त्र रूपमा जाने गरिएकोमा त्यसलाई ट्राभल एजेन्सीमार्फत जाने र पर्यटकीय प्याकेजका रूपमा बिक्री गरिने पनि बताए । सबै पर्यटकीय गन्तव्यको भौगोलीक अवस्था, हावापानी, बस्ने, खाने सुविधा र भैपरि आउनसक्ने यात्राका समस्यासहितका विषयमा स्पष्ट जानकारीसहितको प्याकेज नै आन्तरिक पर्यटकको अहिलेको आवश्यकता भएको पनि नाट्टाको भनाइ छ । आन्तरिक पर्यटन भ्रमणको प्याकेजका रूपमा एउटा व्यवसायीक संस्थाले बनाएको प्याकेजलाई अर्कोसँग गरेर प्रचार गर्ने पनि उल्लेख छ । अन्नपूर्ण पोस्टबाट  ।

मोबाइल हराए के गर्ने? आइएमइआई सुरक्षित राख्नुहोस्

तपाईँले बोक्ने गरेको मोबाइल सेट हराए नेपाल टेलिकम,एनसेल वा कुन दुरसंचार प्रदायक कम्पनीको सिम लिनु भएको हो त्यहाँ जानु पर्देन। मोबाइल हराएमा ट्रयाकिङका लागि तपाईँले सिधै नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ ।   तपाईँले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ ।तर त्यसका लागि तपाईँले आफ्नो मोबाइल सेटको इएमइआइ नम्बर भने उपलब्ध गराउनु पर्छ । प्रत्येक मोबाइल सेटको इएमइआइ नम्बर फरक हुन्छ । इएमइआइ  नम्बर मोबाइलको परिचय दिने १५ वा १७ अङ्कको संख्या हो । यो विशेषगरी मोबाइलको पछाडिको भागमा अर्थात ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ । त्यस्तै मोबाइलमा *#06#  डायल गरेर पनि आफ्नो इएमइआइ  नम्बर पत्ता लगाउन सकिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा नेपाल प्रहरीले हराएका मोवाइल सेटहरु खोजी गर्ने गरेको छ। आइएमइआई नम्बर सुरक्षित राख्नका लागि तपाइले त्यसलाई इमेल वा डायरीमा टिपेर राख्नुपर्ने हुन्छ।

नाकाबन्दीको समयमा अगाडि सारिएका योजना अलपत्र, अधिकांश योजना कागजमै थन्कियो

काठमाडौं २१, काठमाडौं । गत वर्ष भारतले गरेको ५ महिना लामो नाकाबन्दीका बेला पेट्रोलियम आपूर्तिका वैकल्पिक योजना अघि सारिए पनि तीमध्ये अधिकांश योजना अलपत्र छन् । आपूर्ति मन्त्रालयले नाकाबन्दीको समयमा पेट्रोलियम भण्डारण क्षमता विस्तार, व्यवस्थित वितरणमा ग्यास कार्ड र चीनसँग पेट्रोलियम पदार्थ आयत गर्नेजस्ता सुधारात्मक योजना बनाएपनि कार्यान्वयनमा आउन सकेको छैन् । भारतले गरेको नाकाबन्दीबाट पाट सिक्नुपर्ने भन्दै तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले कम्तीमा १० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण निर्माण गर्ने, असहज अवस्थाको बेलामा ग्यास कार्डमार्फत तथा सफ्टवेयरमार्फटत पेट्रोलियम पदार्थ वितरणको व्यवस्था गर्नुका साथै चीनबाट दीर्घकालका लागि पेट्रोलियम पदार्थ आयात गर्ने योजना बनाएका थियो । यी योजनाहरु अलपत्र अवस्थामा छन् । कारोबार दैनिकबाट ।

कांग्रेस नेतृ सुजाता कोइरालाई स्तन क्यान्सर, उपाचार गर्न सरकारसँग एक करोड माग

काठमाडौं २१, कात्तिक । कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका छ। एसियाली महिलाहरूको सञ्जाल आइक्याप (आइक्याप)को सम्मेलनमा मलेसियामा पुगेका वेला चेकअप गराउँदा चिकित्सकले क्यान्सरको आशंका गरेको कोइरालाले बताएकी छिन् । ‘मलेसियामा सम्मेलनमा भाग लिन गएको थिएँ । छोरी र ज्वाइँसँगै मलेसियामा घुम्दा रिँगटा लागेपछि अस्पताल पुगेर चेकअप गर्दा ब्रेस्टमा क्यान्सरको शंका भयो । मेरो त खानदानमा त्यस्ता बिरामी पहिले पनि धेरै थिए,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले मलाई पनि डर लाग्यो । क्यान्सरको शंकैशंका छ । ब्रेस्टमा सिस्ट ९भित्र पानी भरिएको डल्ला० निकाल्न मिल्ने भए निकालिहालौँ भन्ने भएपछि अप्रेसन गराएँ । सिस्ट निकालेँ, अब फलोअपमा जान्छु ।’ सुजाता १० कात्तिकमा नेपाल आएकी थिइन् । उनी अहिले मण्डिखाटारस्थित निवासमा आराममा छिन् । उनले ब्रेस्टको ‘मेमोग्राम’ गराउँदै आए पनि पहिले क्यान्सरको आशंका नगरिएको बताएकी छिन् । दाजु एवं बिपीका जेठा छोरा प्रकाश कोइरालाले पनि सुजाताको ब्रेस्टमा क्यान्सरको आशंका गरिएको बताए । अब सिंगापुर, मलेसिया वा भारतमा उपचार गराउन जाने तयारी भएको उनले जानकारी दिए । ‘महिलाको ब्रेस्टमा क्यान्सरको समस्या धेरै देखिन्छ । मनिषालाई पनि क्यान्सर लागेको शंका नेपालमा नै गरिएको थियो । पछि बम्बई पुगेर पुष्टि भयो,’ प्रकाशले भने, ‘सुजाताले मलेसियामा ब्रेस्टको चेकअप गर्दा क्यान्सरको शंका भयो । अहिले प्रारम्भिक चरणको उपचार भएको छ । डाक्टरको सेकेण्ड ओपिनियनपछि कुन स्टेजको कस्तो समस्या हो टुंगो लाग्छ । यसका लागि छिट्टै सिंगापुर, थाइल्याण्डको बैंकक र भारतको टाटा इन्टिच्युटमा जानेबारे छलफल भइरहेको छ ।’ अब केमियोथेरापी गर्ने भन्नेबारे पनि छलफल भएको तर दोस्रो परीक्षणपछि मात्र केमियाथेरापी गर्न आफूले सुझाव दिएको उनले बताए । पार्टी सभापतिसंग उपचार खर्च माग पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी सुजाताले आफ्नो उपचार खर्च जुटाइदिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । देउवा निकट स्रोतका अनुसार मलेसियाबाट फर्किए लगत्तै सुजाताले उपचार खर्च महंगो हुने भन्दै एक करोड रुपैया जुटाइदिन आग्रह गरेकी हुन् । ‘उपचारमा केही बढी नै खर्च लाग्ने भन्दै उहाँले रकम जुटाइदिन सभापति देउवासँग आग्रह गर्नुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘सभापतिले खर्चका लागि सरकारसँग पार्टीले पहल गर्ने बताउनुभएको छ।’ क्यान्सरको परीक्षण र प्रारम्भिक उपचारमा सुजाताले करिब ५० लाख रुपैया खर्च गरेको उनी निकट स्रोतको दाबी छ । थप उपचारमा जाँदा एक करोड रुपैयाँसम्म लाग्ने उनले निकट व्यक्तिहरुलाई बताउने गरेकी छिन्। कोइराला परिवारमा क्यान्सर खानदानी रोग कोइराला परिवारमा क्यान्सर खानदानी रोग जस्तै छ । बिपी कोइरालालाई घाँटी र फोक्सोमा, गिरिजाप्रसादलाई फोक्सोमा, मनिषालालाई ब्रेष्टमा क्यान्सर देखिएको थियो । सुशील कोइरालालाई पनि जिब्रो र फोक्सोमा क्यान्सर भएको थियो । सुशील र मनिषाको क्यान्सर उपचारपछि निको भएको थियो । नयाँ पत्रिका दैनिकबाट ।