तीन महिनामा दुई खर्बको विदेशी सामान नेपाल भित्रियो, निर्यात भने १८ अर्ब मात्रै
काठमाडौं ८, कात्तिक । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब २० अर्ब ६० करोड रुपैयाँबराबरका विदेशी सामान भित्रिएका छन् । निर्यात भने १८ अर्ब १० करोड रुपैयाँबराबरको मात्रै भएको छ । यो अवधिमा निर्यातभन्दा आयात ११७ गुणा बढिरहेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको भदौ र असोजमा मधेसी मोर्चा गरेको आन्दोलन र भारतको नाकाबन्दी वैदेशिक व्यावपारमा ठूलो अवरोध वेहोरेको थियो । नाकाबन्दीले न्यून मात्रै वस्तु आयात भएकोले यस वर्ष आयत उल्लेख्य बढेको तथ्यां देखिएको छ । कुल अयातको ६५ प्रतिशत भारतीय वस्तु भित्रने गरेका छन् । भारतबाट १ खर्ब ४३ अर्ब ९४ करोड रुपैयाँबराबरको वस्तु भित्रिएको छ । निर्यात भने आयातको ७ प्रतिशतमात्र छ । चीनमा निर्यातभन्दा आयत ८६ गुणा बढी छ । चीनबाट ३ अर्ब १० करोड र निर्यात ३८ करोडको मात्र छ । कारोबार दैनिकबाट ।
उपत्यकामा रगतको अभाव, रगत सङ्कलन कार्यक्रम नहुँदा समस्या
काठमाडौं ८, कात्तिक । केही दिनदेखि काठमाडौँ उपत्यकामा ताजा रगतको अभाव भएकाले बिरामी र उनीहरूका आफन्त समस्यामा परेका छन् । दसैँदेखि उपत्यकामा रगत सङ्कलन कार्यक्रम नभएकाले अभाव भएको रक्त सञ्चार केन्द्रले जनाएको छ । केन्द्रका उपनिर्देशक प्रकाश यादवका अनुसार सोमबारदेखि अझै अभाव हुने सम्भावना छ । शनिबार ५० युनिटका लागि रक्तदान कार्यक्रम आयोजना गरे पनि १०/१२ युनिट मात्र सङ्कलन भएको छ । हाल दैनिक साढे ३५० युनिट रगतको माग छ तर सङ्कलन भने त्यो अनुरूप नभएको केन्द्रको भनाइ छ । उपनिर्देशक यादवका अनुसार दसैँको फूलपातीसम्म एक हजार २०० युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेकोमा अहिले १०/१२ युनिट पनि सङ्कलन भएको छैन । रगतको अभाव हुन थालेकाले रक्तदाता स्वयंसेवक र आयोजकलाई रक्तदान गर्न केन्द्रले आग्रह गरेको छ । स्वयंसेवक रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाले भने यस्ता कार्यक्रम गर्ने संस्था वा व्यक्तिलाई प्रोत्साहन गर्नुका साटो बेवास्ता गर्ने गरेकाले यो समयमा बर्सेनि रगत अभाव हुने गरेको जनाएका छन् । गोरखापत्र दैनिकबाट ।
टर्कीसको जहाज कवाडिमा विक्यो, काठमाडौमै जहाजभित्र संग्राहालय संचालन गर्दै बेद उप्रेती
काठमाडौं ८, कात्तिक । उडान भर्न मिल्ने अवस्थामा कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ । स्रोतका अनुसार, आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकलले बेद उप्रेती ट्रष्टलाई जहाज बिक्रि गर्ने सम्झौता गरेको छ । मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । ‘हामीबिच खरिद रकम केही समयकालागी सार्वजनिक नगर्ने सहमति भएको छ,’ विमान खरिद गर्ने बेद उप्रेती ट्रष्ट निकट स्रोतले भन्यो । एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन । हाल उनी इन्डोनेशियाको लायन एयरको विमान उडाउँछन् । दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ । बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरीट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम त्यस भेगका स्थानिय तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरुकालागि अनिवार्य घुम्नै पर्ने थलो बनेको छ । यता टर्किससँग खरिद गरिने एयरबस ए–३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन् । ‘यो विमान बाहिर लैजान सकिँदैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमै राखिने छ,’ उप्रेतीले भने । काठमाडौंमा स्थापना गरिने म्युजियमले सर्वसाधरणलाई नेपाली उडड्यन, यस्का चुनौती र अन्तर्राष्ट्रिय उड्डयनबारे जानकारी गराउने भनेको छ । ‘विश्वमै एभिएसन सम्बन्धित जनशक्तिको कमी हुँदै गएको छ, हामीले स्थापना गर्ने म्युजियमले आउँदो पुस्तालाई यस क्षेत्रमा आर्कषित गराउन उत्प्रेरणा दिने छ,’ एटीआर ७२–६०० सिरिजको विमान उडाउँदै आएका उप्रेतीले भने । कान्तिपुर दैनिकबाट ।
अर्थमन्त्री र अर्थसचिव धितोपत्र बोर्डको कार्यालयमा, ‘पूँजी बजारमा अबैध लगानी रोक्न निर्देशन’
काठमाडौं, ७ कात्तिक । उपप्रधानतथा अर्थमन्त्री कृष्णबहादुर महरा र अर्थसविच राजन खनाले आईतबार नेपाल धितोपत्र बोर्डको निरीक्षण गरेका छन् । त्यसक्रममा अर्थमन्त्री महराले जुनसुकै राजनैतिक व्यवस्थामा पुँजी बजारको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस बजारको विकासमा जोड दिएका छन् । पुँजी परिचालनको महत्वपूर्ण अंगको रुपमा रहेको धितोपत्र बोर्डल प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन् । नियामक निकायको प्रभावकारी भूमिकाको अभावमा बजारमा अराजकता आउन सक्ने उनले बताए । बोर्डले आफ्नो क्षमता विकास गर्दै बजारमा लगानीकर्ताहरुको विश्वास बढाउने गरि काम गर्न मन्त्री महराले निर्देशन दिएको बोर्डले जनाएको छ । वर्तमान नेतृत्व बोर्डको संस्थागत क्षमता तथा प्रभावकारिता बढाउन सकारात्मक रहेको बताउदै बोर्डमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बोर्डको भूमिका तथा उद्देश्यअनुसार उच्च मनोवल तथा सकारात्मक सोच सहित कार्यजिम्मेवारी पूरा गर्न पनि निर्देशन दिएका छन् । अर्थमन्त्रीसँगै बोर्डमा पुगेको राजस्व सचिव राजन खनालले पुँजी बजारमा अवैध सम्पत्तिको प्रवाह रोक्न सक्नुपर्ने बताए । ‘दीर्घकालीन पुँ जी परिचालनको लागि विश्वसनीय वातावरण बनाउन, पुँजीबजारलाई स्वच्छ तथा पारदर्र्शी बनाउन ऐनले धितोपत्र बोर्डलाई अधिकार दिएको छ । त्यसको प्रयोग गरेर विशेष गरी पुँजी बजारमा अवैध सम्पत्तिको प्रवाह रोक्न सक्नुपर्छ’ अर्थसचिवको भनाई उदृत गर्दै बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले स्वागत गर्दै उपप्रधानमन्त्री पुँजीबजारको विकासलाई प्रोत्साहन गर्न प्रतिवद्ध हुनु भएकोले आगामी दिनमा पुँजीबजारको विकासले गतिलिने विश्वास व्यक्त गरे । यसै क्रममा अध्यक्षले बोर्डले बजार सुधार तथा विकासक लागि गरेका कार्यहरु, बजारको वर्तमान अवस्था, सुधारको पहल र विकासका समस्या तथा चुनौतिहरु सम्बन्धमा संक्षिप्त प्रस्तुती राखेका थिए ।
उच्च शिक्षाकाे लागि ४२ प्रतिशत चिनियाँ विद्यार्थी विदेशिए, अधिकांश अमेरिकामा
वेइजिङ, ७ कात्तिक । चीनमा हालका युवा पुस्ताहरु अध्ययनका लागि विदेशीने गरेका छन् । चीनको ‘नेशनल एजुकेशन पोर्टल साईट’ हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको छ । सार्वजनिक भएको सो प्रतिवेदनकाअनुसार गत वर्ष चिनियाँ स्नातक स्तर का ४२ प्रतिशत विद्यार्थीले अमेरिकामा अध्ययन गरेका छन् । विदेश गएर उच्चशिक्षा हासिल गर्ने चिनियाँ विद्यार्थीहरुको संख्या अत्याधिक रुपमा बढ्दै गईरहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१५मा झण्डै ५ लाख २० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश गएका छन् भने, सन् २०१६मा त्यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । विदेश गएर पढ्न चाहने चिनियाँ विद्यार्थीहरु मध्ये अधिकांशको गन्तव्य अमेरिका हुने गरेको छ । सो प्रतिवेदनका अनुसार सन् २०१६ मा हालसम्म अमेरिकामा अध्ययनका लागि तीन लाख २३ हजार भन्दा बढी विद्यार्थी गईसकेका छन् । रासस/सिन्ह्वा
निगमको साख गिराउने पदाधिकारीलाई कारबाही गर्न निर्देशन
काठमाडौँ, ७ कात्तिक । व्यवस्थापिका–संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको साख गिराउने कार्यमा संलग्न जिम्मेवार पदाधिकारीलाई छानबिन गरी कानुनी कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आईतबार बसेको बैठकले निगमलाई ठूलो घाटा लागेको सन्दर्भमा निजी वायु सेवा कम्पनीसँग मिलेमतो गरी निगमको साख गिराउने कार्यमा संलग्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र निगमका पदाधिकारीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो । वायु सेवा कम्पनीले तोकिएको समयमा उडान नगर्ने तथा अन्तिम समयमा उडान रद्द गर्ने प्रवृत्ति बढ्दै गइरहेको सन्दर्भमा उक्त समस्या समाधान गर्नुको साटो मिलेमतोमा ढिलो उडान गर्ने तथा उडान रद्द गर्ने गरेको भन्दै समितिले संलग्न पदाधिकारीलाई अविलम्ब कारबाही गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति प्रभु शाहले बताइ । समितिले नेपालका प्रत्येक एयरपोर्टमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनिवार्य एक्स–रे मेसिन तथा सिसी क्यामरा जडान गर्र्नुका साथै वाइफाईको सुविधा एवम् यात्रु कक्ष बाहिर यात्रु पु¥याउने सहयोगीलाई बस्ने कुर्सीसहित आवश्यक स्थानको व्यवस्था साथै सरसफाइको समेत व्यवस्था गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । निगमको उडान नियमित हुन नसकेका सन्दर्भमा निगमलाई पर्याप्त मात्रामा खाली ठाउँ राख्न, आवश्यक पाइलट तथा अन्य उडान कर्मचारीको व्यवस्था गर्न, निगमको दीर्घकालीन व्यावसायिक कार्ययोजना तयार गरी सोहीअनुसार जहाज खरिद गर्ने प्रक्रियालाई द्रूतमार्गबाट अगाडि बढाउन पनि निर्देशन दिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डडनमन्त्री जीवनबहादुर शाहीले निगमले नियमित रुपमा हवाई सेवा सञ्चालन सम्बन्धमा जानकारी गराउए । । निगमको सेवाबारे बैठकका सदस्य सांसदले जवाफ माग गरेपछि मन्त्रालयका निमित्त सचिव शङ्करप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र क्यानका महाप्रबन्धक सञ्जीव गौतमले स्पष्ट परेका थिए । रासस
टेलिकमले ‘फोर जी’ सेवा सञ्चालन गर्ने अनुमति पायो, पुसदेखि सेवा सञ्चालन गर्ने
काठमाडौँ, ७ कात्तिक । नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो । टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनका अनुसार पुस २०७३० देखि सेवा सञ्चालन तथा विस्तार गर्नेगरी प्राधिकरणले अनुमति दिएको छ । अब फोर जी सेवासँगै टेलिकमले १० मेगाहर्जबाट ‘टु जी’ र ‘थ्री जी’ सेवालाई निरन्तरता दिनुका साथै ५ मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्ने जनाएको छ । टेलिकमले दसैँअघि नै प्राधिकरणलाई कार्ययोजना बुझाएको थियो । उक्त कार्ययोजनाअनुरुप दुई महिनाभित्र काठमाडौँ र पोखरामा ‘फोर जी’ सेवा सञ्चालनमा ल्याउने जनाएको छ । रासस
आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागबीच सूचना आदन प्रदान गर्ने सम्झौता
काठमाडौं, ७ कात्तिक । कर छली तथा राजस्व चुहावट नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागको तर्फबाट महानिर्देशक चुडामणि शर्मा र राजस्व अनुसन्धान विभागका तर्फबाट महानिर्देशक निर्मलहरि अधिकारीबीच समझदारी पत्रमा कात्तिक ७ गते हस्ताक्षर भएको छ । आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने, कर सहभागिता अभिवृद्धि गर्ने र समग्रमा राजस्व संकलन बढाउने ध्येयले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्राप्त गरेका राजस्व चुहावट सम्बन्धी सूचनाहरु आदान प्रदान गर्ने सम्बन्धमा दुवै पक्षबीच पारस्परिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा कर छली तथा राजस्व चुहावट सम्बन्धी अनुसन्धान गर्न प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानूनको परिधिभित्र रही आवश्यकताअनुसार एक आपसमा सूचना आदान प्रदान गरिने उल्लेख गरिएको छ । कर छली तथा राजस्व चुहावट सम्बन्धी जोखिमका क्षेत्रहरु पहिल्याई सोको निवारणका लागि संयुक्त वा अलग अलग रुपमा जोखिम व्यवस्थापन गरिने, आ–आफ्नो क्षेत्राधिकारका विषयहरु सुक्ष्म रुपमा अनुसन्धान तथा अन्वेषण गरी आवश्यकताअनुसार निष्कर्ष आदान प्रदान गरिने सम्झौतामा उल्लेख गरिएको छ । त्यसैगरी कर छली तथा राजस्व चुहावट नियन्त्रण सम्बन्धी कार्यमा संलग्न जनशक्तिहरुको क्षमता विकास गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ । दुवै पक्षले सूचना आदान प्रदान गर्ने कार्यलाई व्यवस्थित गर्न आ–आफ्नो निकायमा सम्पर्क व्यक्ति तोकिने तथा दुवै पक्षले आआफ्नो निकायमा संचालन रहेका विद्युतीय अभिलेख प्रणालीहरुमा आवश्यकताअनुसार तोकिएका पदाधिकारीहरुलाई सहज पहु“चको व्यवस्था गरिने पनि उल्लेख गरिएको छ । समझदारी पत्र २ वर्षको लागि मान्य हुने तथा आपसी समझदारीमा आवश्यकता अनुसार पुनः नवीकरण गर्न सकिने जनाइएको छ । समझदारी पत्र दुवै पक्षबाट हस्ताक्षर भएको मितिदेखि लागू हुने र दुवै पक्षबाट आपसी सूचना आदान प्रदानको अभिलेख व्यवस्थित गरी सोको वार्षिक प्रतिवेदन तयार गरी सो समेत आदान प्रदान गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ । दुवै पक्षको सहमतिमा आवश्यकताअनुसार समझदारी पत्रमा संशोधन गर्न सकिने पनि उल्लेख गरिएको छ ।