विकासन्युज

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोडको एफपिओ जारी गर्ने, १ अर्ब ९३ करोडको बोनस सेयर थपिने

काठमाडौं, ७ कात्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको पुँजी एफपिओबाट जुटाउने भएको छ । बैंकले आफ्नो वेवसाइडमा राखेको पुँजी वृद्धि योजनामा चालु आर्थिक वर्षभित्रै एफपिओ जारी गरी ३ अर्ब ३० करोड रुपैयाँ पुँजी वृद्धि गर्ने जनाएको छ । त्यस्तै बैंकले गत आर्थिक वर्षको नाफा र चालु आर्थिक वर्षको नाफासहित १ अर्ब ९३ करोड रुपैयाँ बराबरको बोनस सेयर थप्ने भएको छ । एफपीओ जारी गरेपछि यस बैंकमा नेपालीको सेयर हिस्सा वृद्धि हुने भएको छ । हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा ७५ प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको छ भने २५ प्रतिशत सेयर मात्र नेपालीको स्वामित्वमा छ । नेपाल राष्ट्र बैंक नीतिअनुसार २०७४ असार मसान्तभित्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेपछि चार्टर्डले सेयर संरचना नै परिवर्तन गर्ने गर्दै आफू भने ग्रुपले नयाँ पुँजी लगानी नगर्ने नीति लिएको देखिएको छ । परिवर्तित सेयर संरचनामा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको कति हुने र नेपालीको कति हुने भन्ने स्पष्ट छैन । बैंकले एफपिओ जारी गरि प्रिमियमसहित ३ अर्ब ३० करोड पुँजी जुटाउने जनाएको छ । बैंकसँग अहिले दुई अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी छ । बैंकले यो चुक्ता पुँजीको ३३.३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । वोनस सेयर वितरणपछि चुक्ता पुँजी ९४ करोड रुपैयाँले बढ्छ ।  एफपिओ जारी पछि ३ अर्ब ३० करोड रुपैयाँ जम्मा हुने र चालु आर्थिक वर्ष २०७३÷७४को नाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुर्याउने योजना बैंकले सार्वजनिक गरेको छ ।

तीन महिनामा २०१ अर्ब रुपैयाँ नोक्सान, २२० अर्बको माल आयात, १९ अर्बको माल निर्यात

काठमाडौं, ७ कात्तिक । गत आर्थिक वर्ष २०७३÷७४ को पहिलो तीन महिनामा २ खर्ब २० अर्ब ६० रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ भने १८ अर्ब ९० करोड मूल्य बराबरको वस्तुहरु नेपाल भित्र्याएको छ । चालू आवमा तीन महिनामा २ खर्ब १ अब ६९ करोडको व्यापार घाटा भएको छ । गत आवमा नाकाबन्दीका कारण वस्तु तथा सेवाका आयात निर्यातमा असर परेको थियो । चालू आवमा भने सामान्य अवस्था भएकाले आयात अत्यधिक बढेको छ भने निर्यातको सामान्य भएको छ । चालू आवमा भएको आयात गत आवको भन्दा करिब ७१ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा १ खर्ब २९ अर्बको वस्तु तथा सेवा नेपाल भित्रिएका थिए । त्यस्तै गरी १७ अर्ब ५१ करोडका वस्तु तथा सेवाबाट वाहिरिएका थिए । गत आवको तुुलनामा चालू आवमा भएको निर्यात ७ दशमलव ९० प्रतिशतले बढी हो । यस वर्षको पहिलो तीनमा कुल २ खर्ब ३९ अर्ब ५० करोडको आन्तरिक तथा वाह्य व्यापार भएको छ । गत आवमा यस्तो व्यापार १ खर्ब ४६ अर्ब ७४ करोड कुल व्यापार भएको थियो । चालू आवका सबैभन्दा बढी २५ अर्ब ४७ करोडको सवारी साधन तथा यसका एशोसेरिजहरु आयात भएका छन् । २३ अर्ब ९ करोडको पेट्रोलियम पदार्थ र अन्य तेलहरु को आयात भएको भन्सार विभागको तथ्याङ्क छ । समीक्षा अवधिमा २१ अर्ब ६० करोडको फलाम तथा स्टीलहरु आयात भएका छन् । नेपालमा भारतबाटमात्र १ खर्ब ४३ अर्ब ९३ करोडको वस्तु तथा सेवा नेपाल भित्रिएको छ भने चीनबाट ३३ अर्ब मूल्य बराबरका सामानहरु नेपाल भित्रिएका छन् । नेपालमा बढी सामान भित्र्र्याउने तेस्रो देशमा युनाइटेड अरब इमिरेट्स परेको छ ।

सनराइजद्धारा ३३ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं, ७ कात्तिक । सनराइज बैंकको नवौं वार्षिक साधारण सभाले ३३ दशमलब ३३ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको छ । कात्तिक ७ गते सम्पन्न साधारण सभाले गत आवको नाफा तथा जगेडा कोषको रकम प्रयोग गरि लगानी कर्तालाई एक अर्ब ३२ करोड ५३ लाख ४८ हजार ८ सय रुपैंयाँ बराबरको ३३ दशमलब ३३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साधारण सभाले बोनस शेयर वितरण गरेपछि कायम हुने पूँजीको ३० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय समेत पारित गरेको हो । बोनस सेयर र हकप्रद सेयरपछि बैंकको चुक्ता पूँजी ७ अर्ब पुग्नेछ । बैंकले चालु आवको नाफाबाट बोनश शेयर वितरण गरेर आठ अर्ब चूक्त पूँजी पुर्याउने लक्ष्य निर्धारण गरेको छ । हाल बैंकका शाखाहरुको संख्या ६७ र एटिएमको संख्या ७२ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २७ शाखाहरु र उपत्यका बाहिर ४० शाखाहरु रहेका छन् । बैंकले सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङ्ग लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन, १५ सदस्यीय समितिमा भारत र चीनकाे प्रतिनिधि समेत रहने

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्का अध्यक्ष पुष्पकमल दाहालले विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन गरेका छन् । गत असोज १८ गते बसेको परामर्श परिषद्को बैठकले समिति गठन गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं अध्यक्ष दाहाललाई दिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत संयोजक रहने गरी गठन गरिएको समितिमा भारत सरकार, चीन सरकार, विश्व बैंक, एसियाली विकास बैंकका एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् । यस्तै नेपालस्थित अन्य अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको समूहका तर्फबाट तोकिएका २ जना सदस्य, उद्योग वाणिज्य महासंघको अध्यक्ष वा प्रतिनिधि, गैर सरकारी संस्था महासंघ नेपालको अध्यक्ष वा प्रतिनिधि, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको संघ नेपालको अध्यक्ष वा प्रतिनिधि सदस्य रहनेछन् । समितिको सदस्य सचिवमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रहनेछन् । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव वा तोकिएको प्रतिनिधि, अर्थ मन्त्रालयको सचिव वा तोकिएको प्रतिनिधि, परराष्ट्र मन्त्रालयको सचिव वा तोकिएको प्रतिनिधि, राष्ट्रिय योजना आयोग सचिव वा तोकिएको प्रतिनिधि र महालेखा नियन्त्रक वा तोकिएको प्रतिनिधिलाई आमन्त्रित गरिनेछ । समितिले आवश्यकतानुसार परामर्श परिषद्, निर्देशक समिति वा कार्यकारी समितिका पदाधिकारी वा सदस्यहरु एवं अन्य संबद्ध व्यक्ति तथा निकायहरुलाई आमन्त्रण गर्न सक्नेछ । समितिको काम, कर्तव्य र अधिकार विकास सहायताद्वारा सञ्चालित पुनर्निर्माण सम्बन्धी कार्यमा संलग्न भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु एवं नागरिक समाजका बीचमा आवश्यक समन्वय र सहजीकरण गर्ने÷गराउने रहेको छ । यस्तै भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण तथा भूकम्पबाट प्रभावित व्यक्ति एवं परिवारहरुको पुनस्र्थापना गर्नका निम्ति आवश्यक पर्ने वित्तीय एवं प्राविधिक सहयोग परिचालनार्थ नेपाललाई सहयोग गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, नागरिक समाज एवं निजी क्षेत्रलाई प्रेरित गर्नेछ । विकास सहायताद्वारा संचालित पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यक्रमलाई प्रभावकारी र पारदर्शी बनाउन आवश्यक अनुगमन तथा कार्य प्रगति अवस्थाको समिक्षा गरी नेपाल सरकार, प्राधिकरण एवं संबद्ध विकास साझेदार संस्था वा निकायलाई आवश्यक सल्लाह तथा सुझावहरु उपलब्ध गराउने पनि समितिको कार्य क्षेत्र रहेको छ । विकास सहायताद्वारा सञ्चालित पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनमा एक रुपता कायम गर्न र सामन्जस्यता ल्याउन एवं दोहोरोपना हटाउन आवश्यक पहल गर्ने, विकास सहायताद्वारा संचालित पुनर्निर्माण तथा पुनस्र्थापनासँग सम्बन्धित कार्यक्रमहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउने सन्दर्भमा प्राधिकरणको परामर्श परिषद्, निर्देशक समिति एवं कार्यकारी समितिबाट तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने÷गराउने पनि समितिको कार्य क्षेत्र रहेको छ । त्यस अतिरिक्त समितिले आफ्नो कार्य सञ्चालन कार्यविधि आफै तय गर्न सक्ने र आवश्यकतानुसार उपसमिति एवं कार्यदलहरु बनाई आफ्नो कार्य सम्पादन गर्न÷गराउन सक्नेछ । प्राधिकरणको नीति, योजना अनुगमन तथा विकास सहायता समन्वय महाशाखाले उक्त समितिको सचिवालयको रुपमा कार्य गर्नेछ ।

स्वाधिन अर्थतन्त्रलाई फूलको स्वागत, आत्मनिर्भर बन्ने बाटोमा पूष्प व्यवसाय

काठमाडौं, ७ कात्तिक । बढ्दो व्यापार घाटाले थाला पर्दै गरेको अर्थतन्त्रलाई पूष्प व्यवसायले केहि राहत दिएको छ । फूलमा आत्मनिर्भर बनाउँदै पूष्प व्यवसायीले स्वाधिन अर्थतन्त्र निर्माणको जगलाई बलियो बनाउँदै लगेका हुन् । यसको प्रमाण हो फुल तथा फूलजन्य उत्पानको आयातमा भैरहेको कटौती । नेपालले आर्थिक गत आर्थिक वर्ष २०७२/७३ मा जम्मा ६ करोड ४ लाख मूल्य बराबरको फूल तथा फूलजन्य उत्पादन मात्रै आयात गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा करिब २ करोडले कम हो । आर्थिक वर्ष २०७१/७२ मा ८ करोड २१ लाख मूल्य बराबरको फूल तथा फूलजन्य उत्पादन आयात भएको थियो । यसरी आयात गरिएका उत्पादनमध्ये पनि थोरै मात्र तयारी फूल रहेका छन् । बाँकी फूलका बिरुवा रहेका छन् । नेपालमा गत आर्थिक बर्षमा एक अर्ब ३४ करोडको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसियन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । अध्यक्ष कुमार कसजु श्रेष्ठले भने ‘निरासा जनक वैदेशिक व्यापारमा पुष्प व्यवसायले उत्साह थपेको छ, हामी आत्मनिर्भर उन्मुख छौं ।’ उनले बर्षेनी ५ प्रतिशतका दरले फूलको आयात घटाउने अभियान सञ्चालन भैरहेको पनि बताए । नेपालमा फूलको बजार भने बर्षेनी १२ देखि १५ प्रतिशतले बढिरहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार गोदावरी र मखमली फुलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । तिहारका समयमा सयपत्री फुलका २ लाख वटा माला मात्रै आयात गर्नुपर्ने अवस्था छ । नेपालको फूल बजारमा तिहारको हिस्सा १५ प्रतिशत रहेको छ । तिहारमा १० लाख माला खपत हुने उनले जानकारी दिए । तर नेपालमा दैनिक १५ हजार माला खपत भैरहेका छन् । नेपालको पुष्प व्यवसायमा ७ सय पुष्प व्यवसायीले ४ अर्ब भन्दा बढि लगानी गरेका छन् ।

प्रोफेसनल दियालोलाई अक्वायर गर्ने लक्ष्मी बैंकको निर्णय, शतप्रतिशत हकप्रद सेयर पनि

काठमाडौं, ७ कात्तिक । लक्ष्मी बैंक लिमिटेडको बिशेष साधारण सभाले प्रोफेसनल दियालो विकास बैंक लिमिटेडलाई अक्वायर गर्ने निर्णय पारित गरेको छ ।साधारण सभाले स्वाप रेसिया १ः०५ कायम गर्दै प्रोफेसनल दियालो विकास बैंक अक्वायर गर्ने निर्णय गरेको हो । साथै बिशेष साधारण सभाले प्रोफेसनललाई अक्वायर गरेपछि कायम हुने पूँजीको शतप्रतिशत हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ । लक्ष्मी बैंकको चुक्ता पूँजी तीन अर्ब रुपैंयाँ रहेको छ । लक्ष्मीले गत आवमा ६७ करोड नाफा कमाएको थियो । उता, प्रोफेसनल दियालोको चुक्ता पूँजी २४ करोड छ र यसले गत आवमा ३ करोड नाफा कमाएको थियो ।

बुमबाट पठाएको रेमिट्यान्स सिद्धार्थ डेभलपमेन्ट बैंकले भुक्तानी दिने

काठमाडौं, ७ कात्तिक । बुम रेमिट्यान्स प्रालि र सिद्धार्थ डेभलपमेन्ट बंैक लिमिटेडबिच रेभिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम रकम सिद्धार्थ डेभलपमेन्ट बंैकका शाखाहरु मार्फत भुक्तानी दिईनेछ । साथै बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक रुपमा समेत विप्रेषणको भुक्तानी गर्ने कार्य गर्नका लागि सम्झौता भएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३१५० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । सो सम्बन्धी सम्झौता पत्रमा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र सिद्धार्थ डेभलपमेन्ट बंैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले हस्ताक्षर गरेका हुन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, मालदिभ्सस, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि एक अर्ब कम

काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार बजार १२ दशमलब शुन्य ८ अंकले घटेर १७८२ दशमलब ३९ अंकमा आइपुगेको हो । सो दिन होटल विकास बैंक समुह बाहेक सबै समुहका परिसूचकमा ओरालो लागेका छन् । बैंक समुह १७ दशमलब ९९ अंक, उर्जा २८ दशमलब ७६, फाइनान्स ४ दशमलब शुन्य ८, इन्स्योरेन्स १२ दशमलब १५ र अन्य समुह ९ दशमलब २५ अंकले घट्दा होटल समुह भने १५ दशमलब ८४ अंकले बढेको छ । विकास बैंक समुह पनि ८ दशमलब ७३ अंकले बढेको आइतबार १२६ कम्पनीको १० लाख कित्ता सेयर ९६ करोड ४५ लाख रुपैंयाँमा किनबेच भएको हो ।