विकासन्युज

बैंकले निक्षेपकर्तालाई ८ प्रतिशत व्याज दिन थाले, निक्षेपको व्याजदर मुद्रास्फिति दर नजिक

काठमाडौं, ७ कात्तिक । बैंकका बचतकर्ताले करिव ६ वर्षपछि निक्षेपको व्याज दर मुद्रास्फिति दरको हाराहारी पाउन थालेका छन् । व्यक्तिगत बचतकर्तालाई मुद्दती खातामा बैंकले ७.५ प्रतिशत व्याज दिन थालेका छन् । सिद्धार्थ बैंकले ६ महिने अवधिको मुद्दतीमा ७.५ प्रतिशत व्याज दिने योजनासहित निक्षेककर्तालाई बचत गर्न आह्वान गरेको छ । अन्य धेरै बैंकहरुले कात्तिकको पहिलो साता व्याजदर वृद्धि गरेको सूचना पत्रपत्रिकामा प्रकाशित गरेको छन् । अधिकांशले मुद्दति बचतमा ७ प्रतिशत व्याजदर तोकेका छन् । बैंकहरुले प्राथमिकताका ग्राहकलाई सार्वजनिक गरेको सूचनामा भन्दा १ प्रतिशतसम्म थप व्याज दिन सक्ने राष्ट्र बैंकको नियम छ । सामान्यतय वाणिज्य बैंकले भन्दा विकास बैंकहरुले निक्षेपकर्तालाई बढी व्याज दिन्छन् । त्यस्तै विकास बैंकले भन्दा वित्त कम्पनीले बढी र वित्त कम्पनीले भन्दा बचत तथा ऋण सहकारी संस्थाले बढी व्याज दिन्छ । विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछानेको अनुसार अन्तर बैंक व्याजदर ४ प्रतिशत नाघेको छ । जबकी एक वर्ष पहिले अन्तरबैंक व्याजदर १ प्रतिशतभन्दा कम थियो । बैंक तथा वित्तीय संस्थाको सेयर पुँजी वृद्धिसँगै लगानी वृद्धिमा परेको चापले बजारमा विगतमा रहेको अधिक तरलता हट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अधिक तरलताको समस्या समाधान भएको छ । निक्षेपकर्ताले उचित व्याज दर पाउने थालेका छन् । वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी अधिक हुँदा निक्षेपकर्ता मर्कामा परेका थिए । बैंकले कम व्याज दिँदा वित्तीय क्षेत्रमा जम्मा हुनुपर्छ बचत अनौपचारिक क्षेत्रमा गएको थियो । ‘बैंकले बढी व्याज अपर गरेपछि निक्षेप संकलन बढ्छ, बैंकमा लगानी योग्य पुँजी जम्मा हुन्छ । औपचारिक क्षेत्रमा लगानी बढ्छ । त्यसले समग्र आर्थिक वृद्धिमा सहयोग पुग्छ’ थापाले विकासन्युजसँग भने । बैंक तथा वित्तीय क्षेत्रमा २०६६/६७ सालमा जस्तै लिक्विडिटि क्रन्च (लगानी योग्य पुँजीको हाहाकार) हुने हो कि भन्ने आशंका देखिएको छ । तर त्यस्तो अवस्था नआउने थापा बताउँदछन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले राख्र्ने पर्ने अनिवार्य रकम बाहेक अझै थप ३५ अर्ब रुपैयाँ लगानी योग्य अवस्थामा छ । बैंकहरुले निक्षेपको व्याज बढाएपछि निक्षेप वृद्धि हुन्छ । यतिबेला व्यक्तिगत निक्षेपकर्ताले भन्दा संस्थागत निक्षेपकर्ताले बढी व्याज पाउन थालेका छन् । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलका अनुसार कोषले वाणिज्य बैंकमा निक्षेप राख्दा कम्तिमा ८ प्रशित व्याज पाउन थालेको छ । ‘८ देखि ८ दशमलव २५ प्रतिशतसम्म व्याज चलेको छ’ विकासन्युजसँग कुरा गर्दै पोखरेलले भने । राष्ट बैंकका अनुसार चालु आर्थिकको प्रथम दुई महिनामा कर्जा लगानी ३ प्रतिशतले विस्तार भएको छ भने निक्षेप करिव १ प्रतिशतले विस्तार भएको छ । यो क्रम अझै केही महिना रहने हो भने बचतकर्ताले मुद्रस्फिति दर भन्दा बढी व्याज दर पाउनेछन् । राष्ट्र बैंकका अनुसार भदौंमा उपभोक्ता मुद्रास्फिति दर ७ दशमलव ९ प्रतिशतमा झरेको छ । ५ वर्षअघि वार्षिक मुद्रास्फिति दर १४ प्रतिशतसम्म पुगेकोमा क्रमशः घट्दै गएको छ । यद्यमी गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १ प्रतिशत भन्दा कम रहदा मुद्रास्फिति करिव ९ प्रतिशत रहेको छ । सामान्यतय आर्थिक वृद्धिदर भन्दा मुद्रस्फिति दर कम हुनुपर्छ । भारतमा मै पनि पछिल्लो समय आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा रहदा उपभोक्त मुद्रास्फिति ४ प्रतिशतको हाराहारीमा छ ।

सिन्धु विकास बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं, ७ कात्तिक । सिन्धु विकास बैंकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत बोनस सेयर र शुन्य दशलब ८८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकका लगानी कर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् । १२ करोड चुक्ता पुँजी भएको सिन्धु विकास बैंकले गत आर्थिक बर्षमा २ करोड ७२ लाख नाफा कमाएको थियो ।

आईएमई हात हुँदैन खाली योजनाको विजेता शेर्पा र श्रेष्ठ

काठमाडौं, ७ कात्तिक । आईएमई लिमिटेडको हात हुँदैन खानी योजनाको तेश्रो र चौथो हप्ताका विजेता घोषणा गरिएको छ । दशैं तथा तिहारका अवसरमा कम्पनीले अघि सारेको प्रवद्र्धनात्मक योजनाको तेश्रो हप्ताको विजेता मलेसियाबाट पैसा पठाउने आङ्ग नर्बु शेर्पा र डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठ चौथो हप्ताका विजेता बन्न सफल भएका हुन् । शेर्पाले मलेसियाबाट नेपाली रुपैयाँ २०, ६०९ र श्रेष्ठले २,२६८ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त गर्नेछन् । आइमएमइले असोज १ गतेदेखि असोज ३० गतेसम्म “आईएमई हात हुँदैन खाली” योजना सञ्चालन गरेको थियो । नेपालमा १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राहीलाई यसमा समावेश गरिएको थियो । आईएमईले उपभोक्तालाई टि सर्ट तथा दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराएको थियो ।

साइन रेसुङगा र मुक्तिनाथले पाए बोनस सेयरको स्विकृति, २१ प्रतिशत लाभांश दिँदै भार्गव

काठमाडौं, ७ कात्तिक । साइन रेसुङगा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकलाई बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्विकृती दिएको छ । राष्ट्र बैंकले आइतबार दुबै बैंकको बोर्ड बैठकले प्रस्ताव गरे बमोजिमको बोनस सेयर वितरण गर्न अनुमति दिएको हो । साइन रेसुङगा बैंकको सञ्चालक समिति बैठकले २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो भने मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । ८६ करोड ८४ लाख चुक्ता पुँजी रहेको साइन रेसुङगा डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७२/७३ मा २७ करोड नाफा कमाएको थियो । ८३ करोड ८४ लाख चुक्ता पुँजी भएको मुक्तिनाथ विकास बैंकले गत आवमा ३५ करोड ८८ लाख रुपैंयाँ नाफा कमाएको थियो । यसैबिच भार्गव विकास बैंकले २१ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ६ गते सम्पन्न बैंक सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र एक दशमलब शुन्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । १२ करोड चुक्ता पुँजी रहेको बैंकले गत आवमा २ करोड ५८ लाख रुपैंयाँ नाफा कमाएको थियो ।

सनराइज बैंकको नाफा ११४ प्रतिशतले बढ्यो, वार्षिक नाफा १ अर्ब नाघ्ने

काठमाडौं ७, कात्तिक । सनराइज बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा २५ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४ प्रतिशतले बढेको छ ।  बैंकले गत वर्षको पहिलो त्रैमासमा ११ करोड ७८ लाख २ हजार रुपैयाँ खुद नाफा कामएको थियो । यस बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा कुल ९५ करोड १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । पहिलो त्रैमासको नाफाका आधारमा यस बैंकले चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गर्ने देखिएको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । सनराइज बैंकले असोज मसान्तसम्ममा बैंकले ५४ अर्ब निक्षेप संकलन गरेको छ भने ४६ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको लगानी ७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको निस्क्रिय कर्जा अनुपात २ दशमलव ६९ बाट घटेर १ दशमलव ६९ प्रतिशतमा आइपुगेको छ । बैंककको निक्षेप कर्जा अनुपात (सीडी रेसियो) ७८ दशमालव ७२ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी यो वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार १९ दशलव १० रुपैयाँ रहेको छ । यो बैंकको प्रति सेयर कारोबार न्यनुतम ६२० रुपैयाँ रहेको छ ।

औद्योगिक व्यवसाय सम्बन्धि विधयेक खारेज गर्न ट्रेड युनियन काँग्रेसको माग

खिलानाथ दाहाल काठमाडौं, ७ कात्तिक । नेपाल ट्रेड युनियन काँग्रेसले संसदबाट पारित औद्योगिक व्यवसाय सम्बन्धि कानूनलाई संशोधन गर्न बनेको विद्येयक तत्काल खारेज नभए आन्दोलन गर्ने निर्णय गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्दै संसदले पारित गरेको विधेयकमा गरेको हडताल गर्न नपाउने र नो वर्क नो पे सम्बन्धि ब्यवस्थाले श्रमिकको ट्रेड युनियन अधिकार सम्बन्धि मौलिक अधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठनको आधारभूत महासन्धीहरु हनन् भएको जनाएको छ । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले यो ऐन जस्ताको तस्तै प्रमाणीकरण भई लागू भएमा नेपालको ट्रेड युनियन आन्दोलन धारासायी हुने भएकोले कडा आन्दोलनको बिकल्प नरहेको बताए । महासचिव महेन्द्र प्रसाद यादबले पारित ऐन नेपालको संविधान विपरित र राजनीतिक दलले गरेको प्रतिबद्धता विपरित आएको भन्दै तत्काल सच्याउन माग गरे । उनले यसको विरोधमा कडा भन्दा कडा आन्दोलन गर्ने र अन्र्तराष्ट्रिय श्रम संगठनमा मुद्धा दायर गर्ने पनि बताए । पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन काँग्रेसको आगामी महाधिवेशन २०७४ साल भाद्र महिनामा गर्ने, नेपालको संविधानमा उल्लेख भए बमोजिम नेपाल ट्रेड युनियन काँग्रेसलाई पनि ७ वटा प्रदेशमा रुपान्तरण गर्ने निर्णय गरेको जानकारी गराए । यसैगरी बैठकले महासंघका सदस्यहरु विरामी भएमा, मृत्यु भएमा, प्रसुति भएमा तथा प्रकृति बिपत्तिमा परेमा आर्थिक सहयोग उपलब्ध गराउन श्रमिक कल्याणकारी कोषमा १ करोड रुपैयाँको व्यवस्था गर्ने निर्णय गरको छ । बैठकले अध्यक्ष खिलानाथ दाहाल, महासचिव महेन्द्र प्रसाद यादब र कोषाध्यक्ष योगेन्द्र कुमार कँवरद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ । सरकार उद्योगपति र श्रमिक प्रतिनिधी बिच सहमति भई घोषणा गरिएको श्रमिकको न्यूनतम ज्यालाको कार्यान्वयन गर्न, संबैधानिक राष्ट्रिय श्रम आयोग गठन गर्न, प्रभागकारी श्रम निरिक्षण प्रणालीको व्यवस्था गर्न, सार्वजनिक सेवा, वित्तीय क्षेत्र र निजामती सेवामा थप गरिएको २५ प्रतिशत पारिश्रमिकको रकममा समानता कायम गर्न सरकारको ध्यानाकर्षण गराउने लगायतका निर्णय गरेको उनले बताए । याे पनि बढ्नुहाेस, औद्योगिक व्यवसाय ऐन फिर्ता गराउन राष्ट्रपति समक्ष एमालेको लविङ, राष्ट्रपतिले लालमोहर लगाए सडक संघर्षमा जाने

सेयर बजारमा मन्दीको संकेत, व्याजदर वृद्धि र आपूर्ति वृद्धिसँगै सेयर मूल्यमा गिरावट

काठमाडौं, ७ कात्तिक । गत साता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा १ करोड ३५ लाख २२ हजार कित्ता सेयर सूचिकृत भयो, जसको अंकित मूल्य हो १ अर्ब ३५ करोड रुपैयाँ हो । नेप्सेका अनुसार एनएमबी बैंकको ९४ लाख ३१ हजार कित्ता, साङग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर ३३ लाख ७५ हजार ५६० कित्ता र रिलायवल डेभलपमेन्ट बैंकको ७ लाख १६ हजार कित्ता सेयर सूचिकृत भएको हो । बजारमा सेयर आपूर्ति भएको बढ्दै गएको यो एउटा उदाहरण हो । अन्य तथ्याङ्कहरुले पनि बजारमा सेयर आपूर्ति निकै बढेको संकेत गर्छ । चालु आर्थिक वर्ष पहिलो तीन महिनामा मात्रै १० करोड कित्ता बराबरको हकप्रद सेयरलाई नेपाल धितोपत्र बोर्डले स्विकृति दिइसकेको छ । तीमध्ये अधिकांशले हकप्रद सेयर जारी गरिसकेका छन् । कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हिमालयन बैंकले कात्तिक २६ गतेदेखि ६४ लाख कित्ता हकप्रद सेयर हकप्रद सेयर निष्काशन गरेको छ । सिद्धार्थ बैंकले ७५ लाख ५५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । त्रिवेणी विकास बैंकले ४१ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । अरु १४ कम्पनीले ४ अर्ब रुपैंयाँ बराबरको हकप्रद सेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । देवः विकास बैंक, कैलाश विकास बैंक, कामना विकास बैंक, अपि पावर कम्पनी, नेकोे इन्स्योरेन्स लगायतका कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति मागेका हुन् । त्यस्तै विभिन्न १० वटा कम्पनीले ७ अर्ब ५१ करोड मूल्य बराबरको आइपिओ जारी गरि पाउँ भन्दै बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिने कम्पनीहरु मध्ये नेपाल इन्स्योरेन्स कम्पनी र नेपाल एसबिआई बैंकले फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भनेका छन् । अरुण कावेलीले ३० करोड बराबरको आइपिओ निष्काशनको अनुमति पाईसकेको छ । बजारमा सेयरको आपूर्ति बढेसँगै मू्ल्य घटिरहेको छ । पछिल्लो समय नेप्सेमा सूचिकृत अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले धमाधम हकप्रद सेयर घोषणादेखि निष्काशन गरिरहेका छन् । हकप्रद र नयाँ निश्काशन मात्र होइन, बोनस सेयरको रुपमा पनि धेरै सेयर बजारमा थपिदैछ । २८ वटा वाणिज्य बैंकले मात्र करिव २६ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछन् । राष्ट्र बैंकले तोकेअनुसार पुँजी वृद्धिको चापले गर्दा वाणिज्य बैंक मात्र होइन, विकास बैंक, माइक्रो फाइनान्स र वित्त कम्पनीहरुले पनि गत वर्षको सबै नाफा बोनस सेयरको रुपमा वितरण गर्दैछन् । नेप्सेमा सूचिकृत सबै बीमा कम्पनीहरु नाफामा छन् तर उनीहरुले पनि सेयरधनीलाई नगद लाभांश वितरण गर्न बीमा समितिले रोकेकोले बोनस सेयर नै वितरण गर्नुपर्ने वाध्यता छ । सूचिकृत कम्पनीहरुले गत वर्षको नाफाबाट ५० अर्ब रुपैयाँ भन्दा बढीको बोनस सेयर नेप्सेमा सूचिकृत गर्ने सम्भावना देखिएको नेप्सेका एक अधिकारीले बताए । पुँजी वृद्धिको लागि चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले अर्बौ रुपैयाँ बराबरको हकप्रद सेयर निश्काशन गर्ने निश्चित छ । आपूर्ति बढेकाले मात्र होइन, बैंकको व्याजदर वृद्धिले पनि सेयर बजारलाई असर गरेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर समेत बढेपछि बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरु बजारबाट बाहिरिएका छन् । त्यसको प्रभाव पनि सेयर बजारमा परेको देखिन्छ । यसरी बजारमा निरन्तररुपमा सेयरको आपूर्र्ति बढिरहेपछि सेयर बजारमा ओरालो लाग्न थालेको देखिन्छ । गत साता मात्र नेप्से परिसूचक ९ दशमलब २७ अंकले घटेर अन्तिम दिन १७९४ दशमलव ४७ अंकमा झरेको थियो । मूल्य घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । पाँच दिन खुलेको सेयर बजारमा जम्मा ३८ लाख ८८ हजार कित्ता सेयर ३ अर्ब १ करोड २८ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको हो । जबकी तीन तीन महिना अघि सातामा ६/७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुने गरेको थियो । मूल्य र कारोबार दुबै गिरावट हुनुले सेयर बजारमा मन्दीको संकेत गरेको जानकारहरु बताउँछन् । बजार सिद्धान्तमा माग र आपूर्तिले मूल्य श्रृंखला निर्धारण गर्छ । माग बढ्दा मूल्य बढ्छ भने आपुर्ति वृद्धि हुँदा मूल्य पनि घट्छ । अहिले सेयर बजारमा त्यहि माग र आपूर्ति श्रृंखलाको प्रभाव देखिइरहेको छ । अर्कोतिर बैंकको व्याजदर वृद्धिसँगै बैंकबाट ऋण लिएर सेयर कारोबार गर्ने लगानीकर्ता सेयर बजारबाट वाहिरीन थालेको अनुमान गरिएको छ । घरजग्गा कारोबार र मूल्यमा वृद्धि देखिएकोले सम्पत्ति बजारमा लगानी गरेर नाफा खोज्नेहरु सेयर बिक्री गरेर जग्गामा लगानी गर्न थालेको जानकारहरु बताउँछन् । यसले सेयर बजारमा थप गरावट आउने सम्भावना बढेर गएको छ ।

अस्तव्यस्त कलंकी चोक स्वरूप फेरिँदै, कलंकी चोकमा १६ मिटरको सबवे बन्दै

काठमाडौं, ७, कात्तिक । राजधानी भित्रिने र बाहिरिने मुख्य प्रवेशद्वार कलंकीले चाँडै आफ्नो स्वरूप फेर्ने भएको छ । विनाअवरोध काम अघि बढे कलंकी चोकले अबको डेढ वर्षभित्र रूप फेर्नेछ । विनाअवरोध सवारीसाधन आवागमन गर्न सक्नेछन् । यात्रुले घन्टौँ ट्राफिक जामको समस्या झेल्नुपर्ने छैन । यसका लागि सडक विभाग निर्माण कार्यमा जुटिसकेको छ। चिनियाँ सरकारको सहयोगमा विभागले कलंकी चोकको रूप फेर्न लागेको हो । सडक विभागले कलंकी चोकको निर्माण कार्यमा चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपलाई जिम्मेवारी दिएको छ । ठेकेदार कम्पनीको आग्रहपछि विभागले कलंकीस्थित ओभरहेड ब्रिज हटाइसकेको छ । कलंकी चोकलाई अत्याधुनिक बनाउन आसपास रहेका संरचनासमेत हटाइसकिएको छ । काठमाडौं चक्रपथ विकास आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाका अनुसार अबको केही वर्षभित्रै कलंकी चोक नयाँ बन्नेछ । ‘कलंकी चोकले डेढ वर्षभित्रै स्वरूप फेर्नेछ । कलंकी चोकलाई अत्याधुनिक बनाइनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन विनाअवरोध आउजाउ गर्न सक्नेछन् । चक्रपथ परिक्रमा गर्ने सवारीसाधन पनि अवरोधविनै चल्न सक्नेछन्,’ उनले भने । चोकमा १६ मिटरको सब–वे थानकोटबाट कालिमाटीतर्फआउने र जाने यातायात साधनका लागि कलंकी चोकमा १६ मिटर फराकिलो सडक हुनेछ । र, त्यसको ठीक तल १६ मिटर लामो सब–वे हुनेछ । जसबाट बल्खुबाट स्वयम्भूतर्फ आउने र जाने गाडी वारपार हुनेछन् । सब–वेको अन्डरपास भने आठ सय ४० मिटर लामो हुनेछ। खसीबजार पुलबाट अन्डरपासमा छिरेका गाडी बाफल पुलमा निस्कनेछन्। अन्डरपास र सुरुङ चार लेनको हुनेछ । यो बाटोबाट सीधै रिङरोडमा अघि बढ्ने गाडी मात्र गुड्नेछन् । खसीबजार पुलबाट सुरु हुने अन्डरपासबाहेक दायाँबायाँबाट भने अहिलेको जस्तै स्लोपमा समानान्तर सडक बाफल पुलसम्म पुग्नेछन् । खसीबजारतिरको दायाँ स्लोपबाट कालिमाटीतर्फ गाडी आउ(जाउ गर्नेछन् भने बायाँ स्लोपबाट थानकोटतर्फ आउ(जाउ गर्नेछन् । त्यस्तै, स्वयम्भूतर्फको बायाँ स्लोपका गाडी कालिमाटीतर्फआउ(जाउ गर्नेछन् भने दायाँ स्लोपबाट थानकोटतर्फ आउ(जाउ गर्नेछन् । प्रत्येक लेन चार मिटर चौडा हुनेछन् । कुन सडकमा कसरी सवारीसाधन गुडाउने ? नागढुंगाबाट स्वयम्भूतर्फ जाने सवारीसाधन विनाअवरोध ओभरहेड ब्रिजको बायाँतर्फ मोडेर जान सक्नेछन् । स्वयम्भूबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । नागढुंगाबाट बल्खुतर्फ जाने सावरीसाधन विनाअवरोध दायाँ मोडेर जान सक्नेछन् । बल्खुबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रूपट प्रयोग गर्न सक्नेछन् । त्रिपुरेश्वरबाट स्वयम्भू जाने सवारीसाधनले ओभरहेड ब्रिजको दायाँ मोड प्रयोग गरेर जाने सक्नेछन् । स्वयम्भूबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । त्रिपुरेश्वरबाट बल्खु जाने सवारीसाधनले ओभरहेड ब्रिजको बायाँ मोड प्रयोग गर्न सक्नेछन् । बल्खुबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही मोड प्रयोग गर्न सक्नेछन् । नयाँ पत्रिकामा दैनिकबाट ।