विकासन्युज

नेपाली कामदारको कोटा बढाउन कोरिया सकारात्मक, नेपाली कामदार इमान्दार र लगनशील रहेको कोरियाली भनाई

काठमाडौं ६, कात्तिक । दक्षिणकोरियाले नेपाली कामदारको कोटा बढाउन सकारात्मक रहेको बताएको छ । काठमाडौंमा शुक्रबार भएको नेपाल दक्षिणकोरिया तेस्रो परामर्श संयन्त्र बैठक’ मा दक्षिणकोरियाली विदेश मन्त्रालयका अधिकारीले त्यस्तो बताएका हुन् । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल नेतृत्वको सरकारी टोली सहभागी थियो भने कोरियाली विदेश मन्त्रालयका दक्षिणएसिया तथा प्रशान्त मामिला महाशाखाका महानिर्देशक र्‍यु जियोङ हृयुनले कोरियाली पक्षको नेतृत्व गरेका थिए । कोरियाली पक्षले कामदारको कोटा बढाउन सकारात्मक रहेको सहसचिव अर्यालले बताए । बैठकमा कोरियाली अधिकारीले नेपाली कामदार इमान्दार र लगनशील रहेको भन्दै प्रशंसा गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट।

लामखुट्टे नष्ट गर्न सरकारलाई सकस, पटकपटक निर्देशन दिएपनि प्रभावकारी काम हुन सकेन

काठमाडौं ६, कात्तिक । सरकारले केही महिनायता फैलिरहेको डेंगु रोगबाट कसैको पनि मृत्यु नभएको दाबी गरेको छ । चितवन, पर्सा कैलाली, कञ्चनपुर, झपा, सप्तरी नवरपरासीलगायतका जिल्लामा डेंगुबाट प्रभावित हुनेको संख्या व्यापक रुपमा बढेको र केहीको ज्यानसमेत गएको सूचना आइरहेका बेला स्वास्थ्य मन्त्रालयले त्यस्तो दाबी गरेको हो । पछिल्लो साता राजधानीकै बिरामीमा डेंगुको संक्रमण प्रमाणित भएपछि सन्त्रास फैलिएको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा भीम आचार्यले डेंगुबाट प्रभावितको संख्या जिल्लामा बढेको तर यो वर्ष कसैको पनि मृत्यु नभएको दाबी गरे । प्रभावित जिल्लामा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने र सरोकारवाला निकायसँग छलफल गर्ने काम भइरहेको छ । केन्द्रबाट लामखुट्टे नियन्त्रणका लागि पटकपटक निर्देशन गए पनि जिल्लामा भने प्रभावकारी काम हुन सकेको छैन । अन्नपूर्ण पोष्टबाट ।

पूर्वराजाले उद्घाटन गरेको कार्यक्रममा कुटाकुट, शान्ति फैलाउन आयोजित विराट हिन्दु सम्मेलनमा अशान्ति

काठमाडौं ६, कात्तिक । हिन्दु धर्मका नाममा पूर्वराजा ज्ञानेन्द्रलाई पुनस्र्थापित गर्ने अभियान चलाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय विराट् हिन्दू सम्मेलनमा कुटाकुट र हुलदंगापछि भाँडभैलो मच्चिएको छ । सनातन हिन्दू मोर्चासहितको एउटा ठूलो समूहले अप्रजातान्त्रिक प्रक्रियाबाट पूर्वजनरल भरतकेशर सिंहलाई शुक्रबार जबर्जस्ती विश्व हिन्दू महासंघको अध्यक्ष घोषणा गरिएको भन्दै विरोध जनाएपछि सम्मेलनमा कुटाकुट र भाँडभैलो मच्चिएको हो । बिहीबार पशुपतिस्थित वनकालीमा उद्घाटनपछि प्रज्ञाभवन कमलादीमा धर्मसभा चलिरहँदा भाँडभैलो मच्चिएपछि सम्मेलनको दोस्रो दिन नै प्रतिनिधिहरू तितरबितर भएका छन् । सम्मेलन समापन हुँदा साँझ २५–३० जनाको संख्यामा प्रतिनिधि धर्मसभामा थिए । निर्वाचनमण्डलले सिंहलाई अध्यक्ष घोषणा गरिरहेकै वेला मोर्चा प्रतिवाद गर्दै सम्मेलनबाट बाहिरिएको थियो । सिंह पक्षधर र मोर्चा पक्षधरको झडपमा ज्योतिष परिषद्का केन्द्रीय सदस्य विशाल सिवाकोटी घाइते भएका छन् । उनलाई टाउको, आँखा र ढाडमा चोट लागेको छ । घाइते सिवाकोटीको वीर अस्पतालमा उपचार गरिएको मोर्चाका प्रवक्ता पुष्पराज पुरुषले बताए । सम्मेलनमा १० देशबाट करिब दुई सय प्रतिनिधि सहभागी भएको बताइए पनि करिब सयभन्दा बढी सम्मेलनमा सहभागी थिएनन् । विश्व हिन्दू महासंघको महत्वपूर्ण घटक सनातन हिन्दू मोर्चा सम्मेलनबाट विधान संशोधन गरी चुनावी प्रक्रियाबाट अध्यक्ष चयन गर्नुपर्ने पक्षमा थियो । सिंह पक्षधर भने भारतीय जनता पार्टीका नेता तथा लोकसभभा सांसद आदित्यनाथ सिंहको समर्थनमा उनैलाई अध्यक्षमा दोहो(याउने पक्षमा उभियो । मोर्चामा आबद्ध प्रतिनिधिहरूले हिन्दू राज्य पुनस्र्थापना घोषणा गर्नुपर्ने, तर पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनस्र्थापित गर्ने अभियानको विरोधमा रहे पनि सिंह पक्षधर भने दुवै काम गर्नुपर्ने पक्षका कारण सम्मेलन उद्घाटनदेखि नै विवाद सुरु भएको थियो । सम्मेलन चलिरहँदा विधान संशोधन नै नगरी निर्वाचनमण्डलले एक्कासि सिंहलाई अध्यक्ष घोषणा गर्नासाथ धर्मसभामा झडप सुरु भएको थियो । निर्वाचनमण्डलका संयोजक केशव सापकोटाले सिंहलाई अध्यक्ष घोषणा गर्नासाथ मोर्चाको नेतृत्व गरिरहेका अध्यक्ष प्रा.डा. माधव भट्टाई, महासचिव भरतराज पौडेललगायतको निर्देशनमा उनीपक्षीय प्रतिनिधिहरूले प्रक्रियाको विरोध जनाएका थिए । नयाँ पत्रिका दैनिकबाट ।

स्थानीय तहको सङ्ख्या ५०७ देखि ७४४ सम्म, जनसङ्ख्यालाई मात्र मुख्य आधार

काठमाडौं ६, कात्तिक । स्थानीय तह पुनःसंरचना आयोगले नयाँ मापदण्ड निर्माण गरेसँगै अब स्थानीय तहको सङ्ख्या न्यूनतम ५०७ देखि अधिकतम ७४४ हुने भएको छ । यसअघि आयोगले बनाएको मापदण्ड अनुसार स्थानीय तहको सङ्ख्या ५६५ हुने थियो । आयोगले शुक्रबार सार्वजनिक गरेको नयाँ मापदण्ड अनुसार हिमाली क्षेत्रमा गाउँपालिका बन्नका लागि जनसङ्ख्या १३ हजार, नगरपालिकालाई १७ हजार निर्धारण गरेको छ । त्यस्तै पहाडमा गाउँपालिकामा २२ हजार, नगरपालिकामा ३१ हजार, तराईमा गाउँपालिकालाई ४० हजार र नगरपालिकाका लागि ६० हजार निर्धारण गरिएको छ । काठमाडौँ उपत्यकामा नगरपालिका मात्र निर्माण हुने र नगरपालिका निर्माण हुनका लागि न्यूनतम जनसङ्ख्या ६० हजार हुनुपर्ने नयाँ मापदण्ड आयोगले निर्धारण गरेको छ । त्यस्तै उपमहानगरपालिका निर्माणका लागि एक लाख ५० हजार र महानगरपालिका निर्माण गर्न तीन लाख जनसङ्ख्या आवश्यक पर्ने आयोगले जनाएको छ । आयोगले यसअघि जनसङ्ख्या र भूगोललाई मुख्य आधार मानेर स्थानीय तहको पुनःसंरचनाको आधार निर्धारण गरे पनि अहिले जनसङ्ख्यालाई मात्र मुख्य आधार मानेको छ । उक्त मापदण्डका आधारमा आयोगले प्रत्येक जिल्लामा न्यूनतमदेखि अधिकतम सङ्ख्या बन्न सक्ने आधार आयोगले जिल्ला प्राविधिक सहयोग समितिलाई प्रदान गरेको नयाँ मापदण्डमा उल्लेख गरेको आयोगले जनाएको छ । आयोगको नयाँ मापदण्ड अनुसार सबैभन्दा कम मुगु र रसुवामा ३ देखि ५ र सबैभन्दा धेरै स्थानीय तह मोरङमा ११ देखि १७ वटासम्म बन्न सक्ने जनाइएको छ । फाइल तस्बिर आयोगका अनुसार स्थानीय तहको वडा विभाजन गर्दा प्रत्येक वडामा स्थानीय तहमा भएको १५ प्रतिशत जनसङ्ख्या हुनुपर्नेछ । आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको पनि छुट्टाछुट्टै मापदण्ड निर्धारण गरेको छ । आर्थिक र सामाजिक रूपमा अति पछि परेका क्षेत्र वा सुमदायलाई विशेष क्षेत्र निर्धारण गर्नुपर्ने, त्यस्तै अति अल्पसङ्ख्यक बसोवास भएको क्षेत्र, लोपोन्मुख समुदाय बसोवास गरेको क्षेत्र र अति सिमान्तकृत समुदाय बसोवास गरेको क्षेत्रलाई संरक्षित क्षेत्र निर्धारण गर्न सक्नेछ भने जिल्लामा कुनै भाग वा एक जाति समुदाय वा भाषा संस्कृति भएका समुदायको सघन उपस्थिति भएको खण्डलाई समेटिएर सिङ्गो नगरपालिका वा गाउँपालिकालाई नै स्वायत्त क्षेत्र घोषणा गर्न सकिने मापदण्ड आयोगले निर्धारण गरेको हो । आयोगका सदस्य डा. श्याम भुर्तेलले आयोगले निर्धारण गरेको नयाँ मापदण्डका आधारमा जिल्लालाई आगामी कात्तिक २० गतेभित्र स्थानीय तहमा छलफल गरी स्थानीय तहको सङ्ख्या एकिन गरी आयोगमा पठाउन निर्देशन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिरभरमा प्रतिवेदन तयार हुनेछ । सरकारले गत चैत १ गते स्थानीय तहको पुनःसंरचनाका लागि भन्दै गाउँपालिका नगरपालिका विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग गठन गरेको थियो । गोरखापत्र दैनिकबाट ।

निलम्बित कार्की अझैं अख्तियार चलाउँदै, प्रमुख आयुक्तसरह नियमित गतिविधि गर्दै

काठमाडौं ६, कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले टंगालस्थित कार्यालय परिसरबाटै अख्तियार सञ्चालन गरेको भेटिएको छ । आयोग मुख्यालयसँगै रहेको परिसरबाटै कार्कीले प्रमुख आयुक्तले झैं नियमित गतिविधि गरिरहेका छन् । कार्कीले शुक्रबार कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्णय गरेको स्रोतले बतायो । निलम्बन हुनुअघिको मिति राखेर कार्कीले कर्मचारीहरू कोरिया पठाउने सूची स्वीकृत गरेका हुन् । फाइल लिएर अख्तियारका सहसचिव बेगेन्द्र शर्मा पौडेल कार्कीको निवास पुगेका थिए । कार्कीको कार्यकक्ष र सचिवालयमा रहेका महत्त्वपूर्ण फाइल र प्रमाणका कागजात निवासमा पुर्‍याइएको स्रोतले बतायो । अधिकांश ठूला, संवेदनशील र महत्त्वपूर्ण मुद्दाका अनुसन्धान अधिकृतले सोझै प्रमुख आयुक्त कार्कीलाई ब्रिफिङ गर्थे । ‘प्रमुखको निजी सचिवालयमा अहिले खासै कुनै कागजात छैन,’ स्रोतले भन्यो, ‘सबै ओसारेर निवासमा पुर्‍याइएको छ ।’ कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि पनि आलोचक र विरोधीमाथि निगरानी र गोप्यताको जासुसी गर्न प्रयोग भएको टिम झनै सक्रिय भएको स्रोतले बतायो । स्रोतका अनुसार यसबीचमा कतिपयको फोनको ‘कल डिटेल’ हेर्ने र म्यासेजका विवरण तान्ने काम भइरहेको छ । यस्ता विवरण टंगाल परिसरस्थित कार्कीकै निवासमा पुर्‍याइन्छ । शुक्रबार आयोग कार्यालय खुल्नासाथ कान्तिपुर संवाददातालाई सूचना दिएको भन्दै सोधपुछ भइरहेको थियो । गोप्य ढंगले कान्तिपुरको सम्पर्कमा आएका एक उपसचिवले सामान्य भलाकुसारी गरेकै कारण आफूमाथि अप्ठेरो परेको बताए । कार्कीसँग निकट रहेर काम गरेका आयुक्त राजनारायण पाठकले आयोगभित्रका गतिविधिबारे उनलाई भेटेर जानकारी गराइरहेका छन् । कार्कीले नियमित काम कारबाही नगरे पनि आयोगका सुरक्षाकर्मी, उनीप्रति बफादार सचिवालयका कर्मचारी छन् । उनले विशेषज्ञका रूपमा नियुक्त गरेका केही व्यक्तिले हरेक महाशाखाको निगरानी गरिरहेको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकबाट ।

नोकियाका पाँचवटा फोन जसको बिक्री रेकर्ड कसैले उछिन्न सकेनन्

सबैभन्दा बढी बिक्री भएका २० मोवाइलमा १२ नोकियाका काठमाडौं, ५ कात्तिक। कुनै समयको मोवाइल फोनको बजारमा मार्केट लिडर रहेको नोकिया केही समयको बिश्रामपछि फेरि कमब्याक गर्न लागेको छ। अहिलेको बजारको समिकरणमा नोकियाको कुनै उपस्थिति नभएपनि संसारमा सबैभन्दा बढी बिक्री हुने २० वटा मोवाईलमा १२ वटा नोकियकै रहेका छन् अहिले पनि। बजारमा नयाँ गुमनाम भएको नोकिया अहिलेसम्म पनि सबैभन्दा बढी बिक्री भएको ब्राण्डमा गनिन्छ। टेलिग्राफले प्रकाशित गरेको समाचार अनुसार संसारमा आजसम्म बिक्री संख्याको आधारमा उत्कृष्ट २० को सूचीमा नोकियाका विभिन्न १२ वटा मोडलहरु अहिले पनि सबैभन्दा बढी बिक्री हुने सूचीमा रहेका छन्। उक्त सूचीको सबैभन्दा बढी बिक्री हुने सूचीमा पनि नोकियाकै ११०० मोडलको फोन रहेको छ। सन् २००३ मा सार्वजनिक भएको यो फोन आजसम्म २५ करोडभन्दा बिक्री भएको बताइएको छ। त्यस्तै सन् २००५ मा उत्पादन भएको नोकियाकै १११० मोडलको सेट दोस्रो सूचीमा रहेको छ। जुन पनि ११०० मोडलकै संख्यामा बिक्री भएको छ। सबैभन्दा बढी बिक्री हुने फोनको सूचीको तेस्रो स्थानमा पनि नोकियाकै ३२१० मोडलको सेट रहेको छ। १५ करोडभन्दा बढी बिक्री भएको यसको रेकर्ड अझैसम्म अरु फोनले उछिन्न सकेका छैनन्। यसैगरी नोकिया १२०० मोडल चौथो स्थानमा छ बढी बिक्री हुनेको सूचीमा जुन १५ करोडकै हाराहारीमा छ। सूचीको ५ औं स्थानमा ५२३० छ भने ६ औं स्थानमा ६६०० मोडलको फोन पनि १५ करोडकै हाराहारीमा बिक्री भएको जुन आजसम्म आरु कुनै पनि ब्रान्डको फोन बिक्री नभएको बताइएको छ। त्यस्तै अर्को ८ औं स्थानमा रहेको नोकियाको सेट हो २६०० मोडलको फोन जुन साढे १३ करोडभन्दा बढी  बिक्री भएको छ। सबैभन्दा बढी बिक्री हुने सूचीको ९ स्थानमा रहेको सन् २००६ मा आएको नोकिया १६०० मोडल हो जुन चिन र भारतको लागिमात्र भनेर डिजाइन गरिएको थियो। सुचीको ११ र १२ औ स्थानमा रहेका क्रमशः ३३१० र १२०८ मोडल पनि १० करोड बढी बिmक्रीको रकेर्ड रहेको छ। त्यस्तै सन् २००४ मा आएको नोकिया ६०१० मोडलको फोन पनि ७ करोडभन्दा बढी बिक्री भएको छ भने सन् २००७ मा आएको नोकिया ५१३० मोडलको फोनको बिक्री रेकर्ड ६ करोड रहेको छ।

एक वर्षभित्र काठमाडौँका मुख्य सडक झिलिमिली हुने, साैर्य बत्ति राख्दकाे खर्च एक वर्षमा विज्ञापनबाट उठ्ने

काठमाडौँ, ५ कात्तिक । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा २० करोड ५७ हजार रुपैयाँ लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ । काठमाडौँ महानगरपालिकाले तीन भागमा विभाजन गरी एक वर्षभित्र एक हजार ८५ खम्बामा कामपाले आगामी एक वर्षभित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो । उक्त कार्यका लागि कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र बिके ट्रेडर्स सप्लायर्सका रञ्जनराज श्रीवास्तवले हस्ताक्षर गरिसकेका छन् । सम्झौतानुसार कम्पनीले एक वर्षभित्र महानगरका विभिन्न क्षेत्रमा सौर्यबत्ती जडान गरिसक्नुपर्नेछ । केही समयअघि सौर्यबत्ती जडानका लागि कामपाले आवेदन मागेको र जडानका लागि १५ कम्पनीले आवेदन दिएकामा विके ट्रेडर्स छानिएको हो । काठमाडौँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ सो कार्यक्रम अगाडि बढाइएको तामाङले जानकारी दिए । उक्त सुविधा जनताले बिनालगानी पाउने छन् । एउटा खम्बाका लागि रु एक लाख ५० हजार लाग्ने महानगरका खरिद एकाइ प्रमुख दीपक अधिकारीले जानकारी दिए । सौर्यबत्ती जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै बेहोर्ने छ । निर्माणका लागि जिम्मा पाएको कम्पनीले खम्बामा विज्ञापन राखेर आम्दानी गर्ने छ । खम्बामा विज्ञापन राखेपछि कम्पनीले कामपालाई वार्षिक रुपमा विज्ञापन कर बुझाउनुपर्छ । प्रत्येक वर्ष पाँच प्रतिशतका दरले बढ्ने सहमतिका साथ कम्पनीले एउटा खम्बाको वार्षिक आठ हजार ७०० रोयल्टी बुझाउनुपर्ने छ । स्वीकृत प्रस्तावले एक वर्षको निर्माण अवधि बाहेक १० वर्षपछि सो सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः कामपाको हुनेछ । सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्की, त्रिपुरेश्वरदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजु चोक हुँदै नयाँ बसपार्कसम्म पहिलो खण्डमा ४०० बत्ती राखिने छ । त्यस्तै दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौँ प्लाजा, कृष्ण पाउरोटी तथा गौशालामा राखिने छ । तेस्रो खण्डमा ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली र डिल्लीबजार पुतली सडकमा जोडिने बताइएको छ । सो खण्डमा ३०० सौर्य बत्ती जडान गरिने प्रमुख तामाङले जानकारी दिए । त्यसैगरी पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्गल चोकसम्म महानगरले पहिचान गरेको तेस्रो खण्डमा तीन सय ८५ खम्बा राखिने जानकारी कामपाले दिएको छ । साैर्य बत्ति राख्न महानगरपालिकाले शुरूमा २० कराेड रूपैयाँ लगानी गर्ने छ । साेही स्थानमा राखेकाे विज्ञापनबाट महानगरपालिकाले वार्षिक १६ कराेड रूपैयाँ भन्दा बढी विज्ञापन करबाट उठाउने भएकाे छ ।

सिद्धार्थ बैंकद्धारा ई–सेवा खाता संचालनमा, शुन्य मौज्दातमै खोल्न सकिने

काठमाडौं, ५ कात्तिक । सिद्धार्थ बैंकले ई–सेवाका ग्राहकहरुलाई लक्षित गरी “सिद्धार्थ ई–सेवा खाता” संचालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार उक्त खाता शुन्य मौज्दातमै खोल्न सकिने छ । यस खाताद्धारा ग्राहकहरुले निःशुल्क चेकबुक, इलेक्ट्रोनिक बैंकिङ्ग प्याकेज लगायत अन्य थुप्रै आकर्षक सुविधाहरु प्राप्त गर्नसक्ने बैंकले बताएको छ । साथै, ग्राहकहरुले आफुलाई पायक पर्ने ई–सेवाका कुनै पनि आधिकारिक प्रतिनिधि मार्फत् यो खाता सजिलै खोल्न सक्नेछन् । उक्त “सिद्धार्थ ई–सेवा खाता” खोल्ने आधिकारिक सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्याल र ई–सेवाका तर्फबाट ई–सेवा फोनपे प्रा. लि का अध्यक्ष असगर अलीले हस्ताक्षर गरेका हुन् ।शुन्य मौज्दात र विभिन्न आकर्षक सुविधाहरुसहितको यस खातामार्फत ई–सेवाका प्रविधिमैत्री ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ्ग सेवा प्राप्त गर्ने बैंकको विश्वास छ । बैंकले हाल नेपालभर रहेका आफ्ना ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।