इमाडोलमा पाइपबाट ग्यास निकालियो, टेकुमा एक महिना भित्रै
काठमाडौं, ५ कात्तिक । ललितपुरको इमाडोलस्थित ग्यास कुवाबाट पाइपमा ग्यास निकालेर चुलो बालिएको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले शुक्रबार पाइपबाट निकालिएको ग्यासले चुलो बालेका हुन् । उपत्यका भित्रका १४ वटा कुवामध्ये ब्लक नम्बर सीमा पर्ने इमाडोलको प्लान्टमा नेपाली इञ्जिनियरहरुले तयार पारेको कम्प्रेसर मेसिनले ग्यास निकालिएको हो । पछिल्लो तथ्यांक अनुसार जमिन मुनिबाट निकालीएको पदार्थमा ८५ प्रतिशत पानी र १५ प्रतिशत मिथेन ग्यास पाइएको छ । यसअघि जापानी सहयोग नियोग(जाइका)ले सन १९७८ मा गरेको अध्ययनले भने ४० प्रतिशतसम्म ग्यास रहेको प्रतिवेदन तयार पारेको थियो । उद्योग मन्त्री नविन्द्रराज जोशीले एक महिना भित्रै टेकुको प्लान्टबाट समेत ग्यास निकाल्ने बताए । ‘आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि आन्तरिक श्रोत तथा साधानको अधिकतम उपयोग गर्ने नीति अनुसार सरकार अघि बढेको छ, अब टेकु प्लान्टको काम पनि एक महिना भित्रै सम्पन्न हुन्छ’, मन्त्री जोशीले भने । खानी तथा भुगर्भ बिभागका महानिर्देशक राजेन्द्र खनालले विभागको बार्षिक कार्यक्रम अनुसार परिक्षणका रुपमा पाइपबाट ग्यास निकालिएको बताए । अब बिशेष अध्ययनपछि व्यवसायीक रुपमा ग्यास निकाल्न सम्भव छ वा छैन पत्ता लगाउने पनि बताए । कसरी निकालियो ग्यास ? गत बर्ष भारतले नाका बन्दी लगाएपछि सरकारले आत्मनिर्भर बन्ने भन्दै तत्कालिन तथा दिर्घकालिन सबै उपाय खोजेको थियो । जस अनुसार सोही अवधीमा इमाडोलमा ३५० मिटर खनेर वेल हालिएको थियो । सो वेलबाट मेसिनले पानी तानेर कम्प्रेसरमा राखिन्छ । कम्प्रेसरले ग्यसलाई पाइपको माध्यमबाट पठाउँछ भने पानीलाई बाहिर फालिदिन्छ । १५ लाखको मोबाइल ग्यास प्लान्ट पुल्चोक इञ्जिनियरिङ कलेज, थापाथली इञ्जिनियरिङ कलेज, नास्ट र विभागका इञ्जिनियरहरुको संयुक्त प्रयासमा मोबाइल ग्यास प्लान्ट तयार पारिएको छ । प्लानतलाई गुडाएर अन्यत्र समेत लैजान मिल्छ । त्यसका लागि १५ लाख रुपैंयाँ खर्च लागेको विभागका महानिर्देशक राजेन्द्र खनालले जानकारी दिए । २० हजार परिवारलाई ५० बर्षसम्म पुग्ने ग्यास जाइकाको अध्ययनले २० हजार परिवारलाई ५० वर्षसम्म उपभोग गर्न पुग्ने ग्यास रहेको रिपोर्ट तयार पारेको थियो । तर पछिल्लो अध्ययनले भने पानीमा ग्यासको मात्रा कम रहेको उल्लेख गरेको छ । पाइपबाट मात्रै उपभोग मिथेन ग्यासलाई सिलिण्डरमा भरेर प्रयोग गर्न सकिन्न । यसलाई पाइपमार्फत घर घरमा पुर्याउनु पर्ने हुन्छ ।
दुई महिनामा १३ अर्बको वस्तु निर्यात, अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढी
काठमाडौं, ५ कात्तिक । चालु आवको दुई महिनासम्ममा कुल वस्तु निर्यात ७ दशमलव ७ प्रतिशतले वृद्धि भई कुल १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा १५ दशमलव २ प्रतिशतले कमी आएको थियो । यस अविधिमा भारततर्फ नौ, चीनतर्फ २४ दशमलव ५ र अन्य मुलुकतर्फ ५ दशमलव ५ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ४३ दशमलव ४ प्रतिशतले बढेर रु १४९ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दशमलव ५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ४९ दशमलव ८, चीनबाट भएको आयात २६ दशमलव २ र अन्य मुलुकबाट भएको आयात ३६ दशमलव ५ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा ४८ दशमलव १ प्रतिशतले बढी रु १३५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १७ दशमलव ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव ८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ८ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको दुई महिनासम्ममा रु ३८ अर्ब ४८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा व्यापार घाटा बढेको, विदेशी लगानीको लाभांश भुक्तानी उल्लेख्य रुपमा बढेको तथा वैदेशिक अनुदान घटेका कारण रु ११ अर्ब १२ करोडले घाटामा छ । अघिल्लो वर्षको दुई महिनासम्ममा रु ३१ अर्ब ८८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु तीन अर्ब ५० करोडले घाटामा छ । यस अवधिमा पुँजीगत ट्रान्सफर रु एक अर्ब ५४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु दुई अर्ब १९ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ५१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु ८३ करोड थियो । चालु आवको साउन महिनामा ८ दशमलव ६ प्रतिशत पुगेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौ महिनामा ७ दशमलव ९ प्रतिशतमा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको प्रतिवेदनका अनुसार समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थ, फलफूल, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, मसला, लत्ताकपडालगायतका सामग्रीको मूल्य भने अपेक्षित रुपमा घट्न सकेको छैन । कुल विदेशी विनिमय असार मसान्तको रु १० खर्ब ३९ अर्ब २१ करोडबाट ० दशमलव ६ प्रतिशतले कमी आई भदौ मसान्तमा रु १० खर्ब ३२ अर्ब ७० करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु आठ खर्ब ८७ अर्ब एक करोडको तुलनामा २०७३ भदौ मसान्तमा ० दशमलव ८ प्रतिशतले कमी आई रु आठ खर्ब ८० अर्ब १६ करोड रहेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थामा (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको एक खर्ब ५२ अर्ब २० करोड रुपैयाँको तुलनामा शून्य दशमलव २ प्रतिशतले वृद्धि भई एक खर्ब ५२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२ दशमलव ४ प्रतिशत छ ।
सिटिजन्स बैंकको ललितपुरको मानभवन शाखा स्थानान्तरण
काठमाडौं, ५ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनलको ललितपुर स्थित मानभवन शाखा स्थानान्तरण भएको छ । उक्त शाखा ललितपुरको ग्वार्को-६ ‘कु’ स्थित हारती भवनबाट संचालन गरिएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुजापाठ गरि नया भवनबाट यस शाखाको आरम्भ गरेका हुन् । बैंकको हाल कुल ५८ वटा शाखा, ५१ वटा ए.टि.एम. काउन्टर र ४८ वटा शाखाबाट बैंकले आधुनिक बैकिङ्ग सेवा दिँदै आइरहेको छ । बैंकले हाल करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । बैंकले निकट भविष्यमा बर्दिवासमा रहेको बैंकको शाखालाई पनि स्थानान्तरण गर्ने भएको छ ।
नयाँ मर्चेन्ट बैंकरको आवेदन बन्द, प्रक्रियामा रहेका १० वटाले अनुमतिपत्र पाउने
काठमाडौं, ५ कात्तिक । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमतिपत्र दिने कार्य स्थगित गरेको छ । हालसम्म बोर्डवाट १९ वटा संगठित संस्थाहरुले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमतिपत्र प्राप्त गरेका छन् भने दश वटा संगठित संस्थाहरुले अनुमतिपत्रका लागि बोर्डमा आवेदन गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डले नयाँ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको लागि अनुमति बन्द भएकोले बजारको कमी हुन सक्ने जनाउँदै नयाँ मर्चेन्ट बैंकरको अनुमति बन्द गरेको जनाएको छ । बोर्डले भनेको छ ‘१९ वटा मर्चेन्ट बैंकर कार्यरत रहेको एवं थप दश वटा संगठित संस्थाहरु प्रक्रियामा रहेको परिप्रेक्ष्य, विद्यमान बजारमा बैंक तथा वित्तीय संस्था र बीमा सम्वन्धी संस्थाहरुको वाहुल्यता रहेकोमा हाल बैंक तथा वित्तीय संस्था तथा बीमा सम्वन्धी संस्थाहरुको अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया स्थगित भएको’ ले मर्चेन्ट बैंकरको लागि आवेदन दर्ता बन्द गरिएको छ । मर्चेन्ट बैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, करिव दश वर्ष अगाडिकोे पूँजी सम्बन्धी व्यवस्था, पूर्वाधार व्यवस्था, व्यवसायिक क्षेत्रको विस्तार आदिको सम्बन्धमा अध्ययन भइरहेको पनि बोर्डले जनाएको छ । मर्चेन्ट बैकिङ्ग व्यवसायको दायरा बढाउने, पूर्वाधार व्यवस्था सुदृढ गरी सेवाको स्तर वृद्धि गर्ने जस्ता उद्देश्यले मर्चेन्ट बैकिङ्ग सम्बन्धी नियमावली संशोधन प्रक्रिया अगाडि बढाईएको बोर्डले उल्लेख गरेको छ । हाल अनुमतिका लागि बोर्डको प्रक्रियामा रहेका १० वटा मर्चेन्ट बैंकरलाई भने विद्यमान नियमावलीको व्यवस्था अनुसार अनुमतिपत्र प्रदान गरिने बोर्डले स्पष्ट पारेको छ ।
रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले गर्ने
काठमाडौं, ५ कात्तिक । रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले गर्ने भएको छ । पुरातत्व विभागले दिएको नमूना डिजाइन अनुसारको काम काठमाडौं महानगरपालिकाले प्राविधिक कारणले गर्न कठिन परेकाले पुनर्निर्माणको जिम्मेवारी पुरातत्व विभागलाई दिने निर्णय भएको हो । निर्णय अनुसार पुरातत्व विभागकै नमूना डिजाइन अनुसार मन्दिरको पुनर्निर्माण हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको कार्य टोली तथा पुरात्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ सहित बसेको बैठकले सो निर्णय गरेको हो । महानगरपालिकाले निर्माण गरेको बालगोपलेश्वर मन्दिरको पुनर्निर्माण मापदण्ड अनुसार नभएको भन्दै पुरातत्व विभागले आपत्ति जनाएपछि केही समयदेखि मन्दिर पुनर्निर्माण प्रक्रिया अवरुद्ध भएको थियो । कार्तिक ३ गतेको निर्णयले रोकिएको कार्य पुनः सुरु हुने भएको हो । बैठकमा भएको सहमति अनुसार रानीपोखरी निर्माणका सम्बन्धमा बालगोपालेश्वर मन्दिर बाहेकका निर्माण गर्नुपर्ने सबै कामको निर्माण कार्य काठमाडौं महानगरपालिकाले यथाशीघ्र कार्यन्वयन गर्ने गराउने पूर्ववतः निर्णयलाई काठमाडौं महानगरपालिकाले प्राथमिकताका साथ कार्यान्वयन गर्नेछ । यस्तै भाई टिका एवं छठ पर्वका कार्यक्रमहरु सहज बनाउन काठमाडौं महानगरपालिकाले नेतृत्व लिई आवश्यक व्यवस्थापन गर्ने गराउने निर्णय भएको छ । काठमाडौं दरबार क्षेत्रलाई सुव्यवस्थित बनाउने सम्बन्धमा गुरु योजना तयार पार्नका लागि काठमाडौं महानगरपालिकाले अध्ययन गराउने कार्य अघि बढाउने तथा सो कार्यमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिका र पुरातत्व विभाग लगायतका सम्बन्ध निकायसँग आवश्यक सहजीकरण एवं समन्वय गर्ने निर्णय पनि भएको छ । यस्तै काठमाडौं दरबार क्षेत्रमा बन्ने वा बन्दै गरेका मापदण्ड विपरितका निजी घरहरुका सम्बन्धमा महानगरपालिका एवं पुरातत्व विभागले अनुगमन गरी अनाधिकृत रुपमा बन्न लागेको पाइएमा तत्काल निर्माण कार्य रोकी सो को प्रतिवेदन प्राधिकरणमा पठाउने निर्णय भएको छ ।
सनराइज बैंक र जेएमई रेमिटबीच रेमिटेन्स सम्झौता
काठमाडौं, ५ कात्तिक । सनराइज बैंक लिमिटेड र जे.एम.ई रेमिट कम्पनी प्रा.लि. बीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता बैंकको प्रधान कार्यालय गैह्रिधारामा सम्पन्न भएको हो । सम्झौतामा सनराइज बैंकको तर्फबाट नायव महाप्रवन्धक रविन नेपाल र जे.एम.ई रेमिटको तर्फबाट कम्पनीका अध्यक्ष दिपेन्द्र जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जापानको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहिहरुले सनराइज बैंकको ६७ वटा शाखा र २ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्नेछन् ।
साताभर सेयर बजारमा ३ अर्बको सेयर कारोबार, सबैभन्दा बढी कुमारी बैंकको
काठमाडौं, ५ कात्तिक । यो साता सेयर बजारको परिसूचक साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२७ अंकले घटेर अन्तिम दिन १७९४ दशमलव ४७ अंकमा पुगेको छ । साताको सुरुवात देखि नै निरन्तर घटेको बजार बिहीबार भने सामान्य अंकले बढेको थियो । यो साता परिसूचक जस्तै कारोबार रकममा पनि गिरावट आएको छ । साताभर ३८ लाख ८८ हजार कित्ता सेयर ३ अर्ब १ करोड २८ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छ । सो अवधिमा १४९ कम्पनीहरुको कारोबार भएको नेप्सले जनाएको छ । कारोबार रकमको आधारमा कुमारी बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको साताभर ३८ करोड ६२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा पनि कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सेयर बजारमा बैंंकिङ समूह १५ दशमलव ५७ अंकले घट्दा विकास बैंंक ५ दशमलव ८, वित्त १२ दशमलव २९ अंकले, होटल ५७ दशमलव ८८, उत्पादनमूलक समूह १३ दशमलब ९१ अंकले ओरालो लागेका छन् । जलविद्युत २७ दशमलव ८, बीमा १७ दशमलव ५६ र अन्य समूह ५ दशमलव ४९ अंकले बढेका छन् । व्यापार समूह भने स्थिर रहेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.१६ अंकले घटेर ३८९.२४ अंकमा आईपुगेको छ ।
ज्योति विकास बैंकले ११ प्रतिशत बोनसका साथै सतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं, ५ कात्तिक । ज्योति विकास बैंकले सेयरधनीलाई ११ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै बैंकले सतप्रतिशत (१००) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ९८ करोड ७० लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ पुग्ने छ । शुक्रबार बैंकको प्रतिकित्ता सेयर करिब ४१८ रुपैयाँमा कारोबार भइरहेको छ ।