स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित
काठमाडौं, ७ भदौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को नेपाली विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।
काठ बिक्रीबाट अठार करोड पचास लाख आम्दानी
काठमाडौं, ७ भदौ । वन पैदावार विकास समितिले आर्थिक वर्ष २०७२/७३ मा काठ बिक्रीबाट १८ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । समितिले सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षरोपण आयोजनाभित्र रहेका वनमा वृक्षरोपण गरी त्यसबाट उत्पादित काठ बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । समितिका कार्यकारी अध्यक्ष डा विनयकुमार कुसियैतले पछिल्लो समय अतिक्रमण बढेपछि सशस्त्र प्रहरीको सहयोगमा संरक्षण र सम्बद्र्धनमा जुटेको बताए । समितिले सर्लाही, महोत्तरी र रौतहटको सिमानामा रहेको सागरनाथ वन तथा झापाको रतुवामाई वनको संरक्षण र वृक्षरोपण गरी काठ बिक्रीबाट उक्त रकम सङ्कलन गरेको हो । समितिले हाल सागरनाथ वनको १३ हजार ५०० र रतुवामाईको दुई हजार ६५० हेक्टर वनको वृक्षरोपण, संरक्षण गरी उत्पादित काठ बिक्री गर्दै आएको बताइएको छ। रासस
नियमावली नबन्दा शिक्षक सरुवा प्रभावित
काठमाडौँ, ७ भदौ । नयाँ शिक्षा नियमावली निर्माणमा ढिलाइ हुँदा शिक्षक सरुवाका काम प्रभावित भएको छ । सम्बन्धित विद्यालयको सहमतिमा मात्र सरुवा हुने विगतको व्यवस्थाको ठाउँमा पाँचवर्ष काम गरेकालाई सरकारले चाहेमा जहाँ पनि सरुवा गर्नसक्ने नयाँ प्रावधान कसरी कार्यान्वयन हुने भन्ने नियमावलीमा स्पष्ट पार्न बाँकी छ । गत असार १५ मा कार्यान्वयनमा आएको शिक्षा ऐन (आठौँ संशोधन)मा ‘एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पूरा गरेको स्थायी शिक्षकलाई तोकिए बमोजिमको मापदण्डको आधारमा जिल्ला शिक्षा अधिकारीले आफ्नो जिल्ला भित्रको, क्षेत्रीय निर्देशकले आफ्नो क्षेत्रभित्रको र शिक्षा विभागले नेपालको कुनै पनि विद्यालयमा सरूवा गर्नसक्ने’ व्यवस्था छ । ऐन आउनु पूर्व सम्बन्धित विद्यालयबीच सहमति भइसकेका सरुवाका फाइल पनि शिक्षा मन्त्रालयको निर्देशनमा रोक्का भएको छ । शिक्षक सेवा आयोगले पनि निमावि र मावि तहको शिक्षक पदपूर्तिका लागि शिक्षा विभाग मार्फत रिक्त शिक्षकको विवरण माग गरेको छ । नेपाल शिक्षक महासङ्घले निजामतीमा जस्तो आफूखुसी सरुवामा शिक्षकलाई पार्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ । महासङ्घका अध्यक्ष केशव निरौलाले भने – “शिक्षकको सहमतिबिना सरुवा गर्नसक्ने प्रावधानले शिक्षक सरुवाको दफा दुरुपयोग हुनसक्ने भएकाले त्यस्तो व्यवस्था परिवर्तन हुनुपर्छ भन्ने माग गरेका छौ ।” ऐनको कार्यान्वयनका लागि नियमावली संशोधनमा जुटिरहेको शिक्षा मन्त्रालयमा शिक्षामन्त्री र शिक्षा सचिव पद रिक्त भएका कारण पनि निर्णय हुनसकेको छैन । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले नयाँ मापदण्ड तयार नभएसम्मका लागि शिक्षक सरुवा रोक्का गरिएको बताए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम थापाले शिक्षकलाई सरकारले आवश्यकता अनुसार विन्यास गर्न सकिने भए पनि हाल कायम ६३ हजार अपुग दरबन्दी पूर्तिको व्यवस्थापन नगरी पञ्चायतकालमा जस्तो आस्थाका आधारमा शिक्षकलाई सरुवा गर्न सकिने नीति अमान्य भएको जनाए । हाल करिब ३४ हजार सामुदायिक विद्यालयमा सवा लाख शिक्षक छन् । ऐनमा भनिएको छ – ‘अविच्छिन्न रूपमा कार्यरत रहेका अस्थायी शिक्षकले सुविधा लिई अवकाश लिनका लागि दरखास्त दिने अन्तिम मिति अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने र उत्तीर्ण हुन नकसेका अस्थायी शिक्षक स्वतः अवकाश भएको मानिनेछ । यस अनुसार हुने विज्ञापनमा राहत शिक्षकको लागि उमेरको हद लाग्ने छैन ।’ यसका लागि शिक्षा विभागले रिक्त शिक्षकको विवरण माग गरिसकेको छ । रासस
प्रभु बैंक र केइसी कलेजबीच सम्झौता, बैंकले प्रमाणपत्रको धितोमा तीन लाख ऋण दिने
काठमाडौं, ७ भदौ । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ्ग कलेज (केइसी)मा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले कर्जा दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता बमोजिम काठमाडौं ईञ्जिनियरिङ्ग कलेजमा इञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम् तीन लाख रुपैयाँसम्मको शैक्षिक कर्जा उपयोग गर्न पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो स्कीम अन्तर्गत कर्जा लिन विद्यार्थीले आफ्ना एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाण पत्र बैंकमा बुझाउनु पर्नेछ । शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार चार वर्ष भित्र भुक्तानी गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आफ्ना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको प्रभु बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई पनि शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा रसुवाको टिमुरेमा सञ्चालन
काठमाडौं, ७ भदौ । नेपाल इन्भेष्टमेन्ट बैंकले ४७ औं शाखा रसुवा जिल्लाको टिमुरेबाट कारोबार संचालन गरेको छ । उक्त शाखा कार्यालयले ग्रामिण क्षेत्रमा संचालन हुने उद्योग, नेपाल चीनबीच सकमार्गबाट हुने वाणिज्य व्यापार तथा कृषिमा गरिने लगानीलाई सेवा पुर्याउने उद्देश्य लिइएको बैंकले जनाएको छ । मंगलबार एक समारोहकाबीच बैंकका नायब महाप्रबन्धक राजन कुमार अमात्यले गरेका हुन् । बैंकको हालसम्म आफ्ना ७ लाखभन्दा बढि ग्राहकहरुलाई ४६ वटा शाखाहरु तथा ४७ वटा शाखा रहित बैंकिङ् सेवा मार्फत सेवाहरु दिदै आएको छ । बैंकको हाल ८२ वटा एटिएमहरु संचालनमा छन् तथा ५ लाख ५० हजार भन्दा बढि ग्राहकले कार्डको प्रयोग गर्ने गरेका छन् । साथै, बैंकले चार पटक ‘बैंक अफ दि इयर’ को उपाधि प्राप्त गरे सँगै आर्थिक वर्ष २०६७/६८ देखी लगातार इक्रा रेटिङ् ‘‘ए’’ को मान्यता प्राप्त गरेको बैंकले जनाएको छ ।
सार्क अर्थमन्त्री स्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री महरा आज पाकिस्तान जाँदै
काठमाण्डौ, ७ भदौ । उप–प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा सार्कको आठौ अर्थमन्त्रीस्तरीय बैठकमा सहभागी हुन मंगलवार पाकिस्तान जाने भएका छन् । उप–प्रधानमन्त्री महरा राती साँढे नौ वजे कतार एयरवेजबाट पाकिस्तान उड्ने भएका हुन् । नेपालका तर्फबाट उपप्रधानमन्त्री महराले अध्यक्ष राष्ट्रको रुपमा बैठकको अध्यक्षता गर्ने अर्थमन्त्रालयका संचार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए । बैठकमा मुख्यतयाः सार्क क्षेत्रको आर्थिक बिकासका लागि गर्न सकिने साझेदारीका बारेमा छलफल हुनेछ । मन्त्री स्तरीय बैठक अघि भदौ ९ गते सार्कका अर्थ सचिबहरुको बैठक हुने कार्यक्रम रहेको छ । सचिब स्तरीय बैठकको भोलिपल्ट अर्थमन्त्रीहरुको बैठक हुने कार्यक्रम तय भएको छ । उपप्रधानमन्त्री महरा भदौ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । महराका साथ मन्त्रालयका सहसचिब बैकुण्ठ अर्याल पनि पाकिस्तान जाने कार्यक्रम छ । सार्कको सातौ अर्थमन्त्री स्तरीय बैठक नेपालमा भएको थियो । यसैबिच, उपप्रधानमन्त्री महरासँग मंगलवार नेपालका लागि अमेरिकी अलेना बी. टेप्लिट्स राजदुत र सोमबार नेपालका लागि भारतीय राजदुत रञ्जित रेले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरी नेपाल सरकारको उपप्रधान तथा अर्थमन्त्री बनेकोमा महरालाई बधाइ दिएका थिए । सो भेटमा दुबै देशका राजदुतहरुले विगतमा भइरहेका सहयोगलाइ निरन्तरता दिने र थप सहयोगका लागि तयार रहेको जानकारी आ–आफ्नो मुलुकको धारणा सुनाएका थिए ।
नविरकण शुल्क तिर्न नेप्सेको पत्राचार, १५ देखि ५० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने
काठमाडौं, ७ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सवै सुचिकृत कम्पनीहरुलाई सुचिकरण वापतको नविकरण शुल्क बुझाउन जानकारी गराएको छ । नेप्सेमा सुचिकृत भएर कारोवार गरे वापत सवै सुचिकृत कम्पनीहरुले चालु आर्थिक बर्ष सुरु भएको असोज मसान्तभित्रमा नविकरण शुल्क बुझाइ सक्नुपर्ने ब्यवस्था बमोजिम त्यस्तो शुल्क बझाउन नेप्सेले सवै सुचिकृत कम्पनीहरुलाई पत्राचार समेत गरेको नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । धितोपत्र कारोवार सुचिकरण नियमावाली २०५० को दफा ९ मा सुचिकरण नविकरण शुल्क बार्षिक रुपमा नेप्सेलाई बुझाउनु पर्ने ब्यवस्था छ । सो ब्यवस्था अनुसार तोकिएकै समयमा शुल्क बुझाएर नविकरण गर्न गराउन नेप्सेले कम्पनीहरुलाई पत्राचार गरेको हो । यस्तो शुल्क ग्लोबल आइएमइ बैंकमा रहेको नेप्सेको खाता नम्बर ७५०१०१००००७७५ मा जम्मा गरेर सक्कल प्रति भौचर नेप्सेमा बुझाउन पत्रमा उल्लेख गरिएको छ । नेप्सेमा बार्षिक सुचिकरण नविकरण शुल्क वापत १ करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले १५ हजार, १ करोडदेखि ५ करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले बार्षिक २५ हजार, ५ करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले बार्षिक ३५ हजार र १० करोड रुपैयाँ चुक्ता पूजी भएका कम्पनीहरुले बार्षिक ५० हजार रुपैयाँ शुल्क तिर्नु पर्छ ।
डाटा सेवामा ध्यान केन्द्रित गर्दै एनसेल, फोजी सेवा सञ्चालनमा ल्याउने तयारी
काठमाडौं, ७ भदौ । ईन्टरनेट सेवाको माग र ग्राहक संख्या बढीरहेको अहिलेको अवस्थामा एनसेलले यो वर्ष आफुले डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ । एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले उक्त कुरा बताएका हुन् । पर्किन्सले भने, ‘यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीकोे पहिलो प्राथमिकता हो ।’ अहिले फोरजी व्यापक चर्चाको विषय बनेको छ । यही विषयमा बोल्दै पार्किन्सले नियमक निकायको अनुमति पश्चात कम्पनीले फोरजी सेवा शुरु गर्ने तयारीमा रहेको बताए । सरकारले गरेको फ्रिक्वेन्सी नीतिको परिमार्जन अनुरुप फोरजी सेवा सञ्चालनका लागि कम्पनीले १ हजार ८ सय मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सी र आवश्यक अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरण समक्ष निवेदन दिई सकेको छ । सरकारले अनुमति दिएमा २ महिना भित्रै सेवा सञ्चालनमा ल्याउन सकिने एनसेलले बताउँदै आएको छ । केही महिना अघि एनसेलले आफ्नो सेवा ग्रामिण तथा दुर्गम स्थानमा विस्तार गर्न पुर्वाधारमा सन् २०१६ भित्र १२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । शहरी क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घि गर्दै उच्च गतिका डाटा सेवा प्रदान गर्ने कार्यमा समेत यो लगानीको उपयोग गरिने कम्पनीले जनाएको थियो । अहिले एनसेलको मोबाईल डाटा सेवा देशका ७५ जिल्लामा र थ्रीजी प्रविधीमा आधारित उच्च गतिको डाटा सेवा ६३ जिल्लामा पुगि सकेकोे छ । एनसेलले काठमाडौं उपत्यका र सगरमाथा क्षेत्रका आफ्ना उपभोक्तालाई थ्रीजी प्रविधिमा आधारित २१ एमबी प्रति सेकेन्ड सम्मको डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडौं उपत्यका बाहिरका शहरहरुमा पनि क्रमशः नेटवर्क आधुनिकिकरण गर्दै लैजाने बताएको छ । अहिले ५६ लाख ३८ हजार ग्राहकले एनसेलको ईन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । थ्रीजी प्रविधि अन्तर्गत नेटवर्कमा आधुनिकिकरण र फोरजीको शुरुवात पछि डाटा सेवाको माग र ग्राहक संख्यामा थप वृद्धि हुने कम्पनीको अपेक्षा छ । “फोरजीमा मोबाईल ईन्टरनेटको गति सुधार हुन्छ यसले गर्दा उपभोक्ताले सजिलैसँग अनलाईन भिडियो हेर्न तथा गेमहरु खेल्न सक्छन्,” पर्किन्सले आजीयाटा गु्रप अन्तर्गत फोरजी सेवा सञ्चालन गरिसकेका देशहरुको अनुभव सुनाउदै भने । नयाँ ब्राण्ड लोगोको औपचारिक रुपमा अनावरण पश्चात एनसेलले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्न आगामी २ वर्ष भित्रै थप ७० अर्ब रुपैयाँ पुँजीगत तथा सञ्चालन लगानी गर्ने उद्घोष पनि गरेका छ । यस अन्तर्गत कम्पनीले सन् २०१७ र २०१८ मा औसतमा प्रत्येक वर्ष ३५ अर्ब रुपैयाँ लगानी गर्नेछ । हाल सम्म एनसेलले नेपालमा रु ७४ अर्ब लगानी गरिसकेको जानकारी दिएकोे छ । एनसेलमा ८० प्रतिशत शेयर लगानी रेनोल्डस् होल्डिङ्गको र २० प्रतिशत नेपालीको शेयर रहेको छ । गत चैत्रमा मलेशियन कम्पनी आजीयाटाले रेनोल्डस् होल्डिङ्को शतप्रतिशत स्वामित्व किने पछि गत साउन ३२ गते एनसेलको नयाँ ब्राण्ड लोगो अनावरण गरिएको थियो ।