विकासन्युज

पूर्वमन्त्री विद्याधर मल्लिक, विमल वाग्ले र रविन्द्र घिमिरे राष्ट्र बैंक सञ्चालक बन्ने लाईनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक बन्न पूर्व मन्त्री, पूर्व सचिव, अर्थविद, प्रध्यापकहरुको दौडदुप चलेको छ । बैकिङ क्षेत्रको लागि पावर, पैसा र प्रेष्टिज (सम्मान) सबै दृष्टिले राम्रो मानिने सञ्चालक पदमा नियुक्त खान शक्ति केन्द्रहरुमा चहलपहल बढेको छ । स्थानीय निर्वाचनको मिति तोक्न सत्ता साझेदार र विपक्षी दलहरुबाट सरकारलाई दवाव परिरहेकोले निर्वाचनको मिति तोक्नु पूर्व नै राष्ट्र बैंकका सञ्चालकहरु नियुक्ती गर्ने सरकारको योजना छ । राष्ट्र बैंकको सञ्चालक समितिमा पदेनबाहेकका सबै सदस्यहरु परिवर्तन खाली हुँदैछ । सञ्चालक बालकृष्णमान (विकेमान) श्रेष्ठ योग्यता विवादमा निलम्बित भएका छन् । त्यस्तै, सञ्चालकद्वय श्रीराम पौडेल र डा रामहरि अर्यालको कार्यकाल फागुनबाट सकिन लागेको छ । स्रोतका अनुसार विकेमान निलम्बरनमा परेपछि उनको ठाउँमा पूर्व सचिव विमलप्रसाद वाग्लेलाई नियुक्त गर्न अर्थमन्त्रालयले सिफारिस गर्दै थियो । तर थप दुई पद पनि खाली हुन लागेकोले तीन वटै पदमा एकै पटक नियुक्त गर्ने लाईनमा सरकार रहेको स्रोतले बतायो । अर्थमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा र नेपाली काँग्रेस नेतृत्वबीच एउटा अनौपचारिक सहमति भएको छ । त्यसमा काँग्रेसको तर्फबाट पूर्वमन्त्री विद्याधर मल्लिक, माओवादीको तर्फबाट अर्थविद् डा. रविन्द्र घिमिरे र दुबै पार्टीले विश्वास गरेको पूर्व सचिव विमलप्रसाद वाग्लेलाई मन्त्रिपषिद्को एउटै बैठकबाट नियुक्त गर्ने सहमति भएको छ । पौडेल र अर्यालको कार्यकाल अझै एक महिना बाँकी भएकोले नयाँ सञ्चालकहरुको नियुक्त तत्काल हुनेछैन । ‘समय धेरै छ, धेरै चलखेल हुन्छ, अहिलेको सहमति अनुसार नै निर्णय हुन्छ भन्ने निश्चित छैन’ स्रोतले भन्यो–‘राष्ट्र बैंकको सञ्चालक बन्न प्रधानमन्त्री निवास, काँग्रेस सभापति शेरबहादुर देउवा निवास र अर्थमन्त्रालय धाउने धेरै जना छन् ।’ राष्ट्र बैंकमा ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । त्यसमा ४ जना पदेन हुन्छन् । गभर्नर सञ्चालक समितिको अध्यक्ष समेत रहने व्यवस्था छ भने अर्थसचिव र दुई जना डेपुटी गभर्नर सञ्चालक समितिमा पदन सदस्य रहने व्यवस्था छ । तीन जना सरकारले नियुक्त गर्छ । राष्ट्र बैंकका सञ्चालकहरुले नियमित तलब त पाउँदैनन् तर भत्ता तथा अन्य सूविधा आकार्षक हुन्छ । भत्ता मात्र मासिक १ लाख रुपैयाँ भन्दा बढी हुन्छ । विदेश भ्रमणका अवसर धेरै हुन्छन् । राष्ट्र बैंकमा सञ्चालक हुनेले पावर प्रयोग गरी वित्तीय क्षेत्रमा आफ्ना मान्छेलाई रोजगारी दिलाउने गरेको पाइन्छ । राष्ट्र बैंकको सञ्चालक समितिमा सर्बसहमतिय निर्णयलाई उच्च स्थान दिने संस्कार भएकोले हरेक सञ्चालकसँग निर्णायक पावर भएको मानिन्छ । थप समाचारस : राष्ट्र बैंक सञ्चालक समितिको बैठक खर्च १२२ प्रतिशतले वृद्धि, भत्ता र खान्कीमा प्रतिव्यक्ति वार्षिक १२ लाख खर्च

एक अर्बको लगानीमा संचालन हुँदै अन्नपूर्ण केवलकार, स्थानीय पनि केवलकार मालिक बन्ने

फाइल फोटो काठमाडौं । पोखराको सेतीवगरदेखि सराङ्कोटसम्म २३ सय मिटरको दूरीमा अन्नपूर्ण केवलकार संचालन हुने भएको छ । केवलकारमा मात्रै एक अर्ब रुपैयाँ लगानी गरिरहेको यो कम्पनीले स्थानीयलाई नै मालिक बनाउने भएको छ । अन्नपूर्ण केवलकारका एक संचालक तीर्थराज त्रिपाठीका अनुसार सेतीवगरदेखि सराङ्कोटसम्म केवलकारको स्पेशमा पर्ने स्थानीयलाई सेयर दिएरै संचालन गरिने भएको छ । यो केवलकारमा जापानी नागरिक ताकासिं मियाहाराको १५ प्रतिशतसहित धेरै पोखरेली नागरिकको लगानी रहेको छ । ‘हामीले मेरो भन्दा पनि हाम्रो केवलकार भनेर संचालन सुरु गर्न लागेका हौ’, त्रिपाठीले भने । उनका अनुसार केवलकार संचालन गर्न करिब एक अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ । केवलकार निर्माण सुरु भइसकेकोले आगामी दुई वर्षभित्रमा नै संचालन हुने भएको छ । हाललाई १८ वटा गोन्डुला रहने छ । यो केवलकारमा प्रतिघण्टा ६ सय जनाको क्षमता हुने उल्लेख छ । संचालनमा आएपछि गोन्डुला (केबलकार) थप गरेर प्रतिघण्टा नै एक हजार जनाको क्षमतमा संचालन गर्ने योजना रहेको पनि त्रिपाठीले जानकारी दिए । उनका अनुसार हाल सराङ्कोटबाट अन्नपूर्ण पानारोमा भ्यू हेर्नेदेखि, सूर्योदय, सूर्यास्तको दृश्याववलोकन गर्नेसम्मको लागि निकै उपयुक्त स्थान हो सराङ्कोट । प्याराग्लाइडिङ, जिपफ्लार गर्न र पोखराको आकर्षण दृश्यावलोकन गर्न पनि उपयुक्त भएकोले पनि अब केवलकारमार्फत यसको सुविधा लिन सकिने भएको छ । केवालकार निर्माणको जिम्मा भने मनाकामना केवलकार निर्माण गर्ने चितवन कोई ग्रुपले पाएको छ । यो कम्पनीमार्फत केवलकार निर्माण गर्ने विषयमा आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । मोनो डीएचएल नामक आधुनिक प्रविधिको यो केवलकार जापानी प्रविधिमा निर्माण हुने भएको छ । होटल पनि संचालनमा आउँदै केवलकारसँगै सराङ्कोटमै आधुनिक रेस्टुरेन्ट, मनोरन्जक पार्क तथा होटल पनि संचालनमा आउने भएको छ । अन्नपूर्ण केवलकारसमूहले आधुतिक रेस्टुरेन्ट र मनोरन्जन पार्कसहितको योजना अगाडि बढाएको छ । सो ठाउँमा भएको होटल पूर्वाधारले थप आकर्षण दिने पनि त्रिपाठीको भनाई छ । उनका अनुसार होटल निर्माण धामाधम भइरहेकोले केवलकार भन्दा अगाडि नै १०० कोठाको सुविधासम्पन्न होटल संचालन हुने उल्लेख छ ।  निर्माण सम्पन्नको अन्तिम तयारीमा रहेको होटलमा पनि एक अर्ब रुपैयाँ खर्च भइसकेको उल्लेख छ । ४० वर्षलाई २४ रोपनी वन क्षेत्र भाडामा केवलकार संचालन गर्नकै लागि अन्नपूर्ण केवलकारले २४ रोपनी सरकारी वन क्षेत्र आगामी ४० वर्षको लागि भाडामा लिइसकेको छ । वैदेशिक लगानीको ठूलो उद्योग भएकोल आवश्यक सरकारी प्रकृया पूरा गरेर काम भएको पनि उल्लेख छ । केवलकारले निजी आवधिक जग्गा पर्नेलाई र स्थानिय दुबैलाई सेयर दिने योजना अगाडि सारेको उल्लेख छ । पर्यटक आकर्षणको केन्द्र पोखरा पुगको हरेक स्वादेशी तथा विदेशी पर्यटक सराङ्कोट पुग्ने भएकोले यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य पनि हो । अहिले पनि दैनिक चारपाँचसय जान पोखरा तथा उत्तरी क्षेत्रतर्फको हिमाली दृश्यावलोकनकै लागि सराङ्कोट पुग्ने गरेका छन् । केवलकार संचालनमा आएपनि प्रमुख पर्यटकीय गन्तव्य हुनुका साथै यसको महत्व पनि थप उजागर हुने उल्लेख छ ।

आठ वर्षपछि हुँदै छ स्ववियु चुनाव, विद्यार्थी संगठनबीचकै मतभेदले २ वर्षमा हुनेपर्ने चुनाव थकेलिएको थकेलियै

काठमाडौं । आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया सुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव सम्पन्न गर्न सक्रिय भएका छन् । केही संगठन भने अझै चुनावको विपक्षमा देखिएका छन् । त्रिविले भने सबैलाई चुनावी प्रक्रियामा सहभागी भएर सहयोग गर्न अपिल गरेको छ । त्रिविले यसअघि नै सार्वजनिक गरेको चुनावको कार्यतालिकाअनुसार १ फागुनमा मतदाता सुची प्रकाशित गर्ने कार्यक्रम छ । ३ फागुनमा मतदाता सुचीमा दाबी विरोध गर्ने र मतदाताको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । कार्यतालिकाअनुसार १४ फागुनमा मतदान हुनेछ । नेविसंघका असन्तुष्टदेखि साना संगठन विपक्षमा नेविसंघभित्रको एउटा असन्तुष्ट पक्ष र केही साना संगठनको विरोधका बाबजुद चुनावी प्रक्रिया सुरु हुन लागेको हो । चुनावको पक्षमा भएका नेविसंघका केही असन्तुष्ट विद्यार्थीले २८ वर्षे उमेर हदबन्दीको विरोध गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले न्याय माग्दा संगठनले बेवास्ता गरेपछि अदालतको आदेश पर्खने बताए । पार्टी सभापति शेरबहादुर देउवाले चुनावमा होमिन निर्देशन दिए पनि असन्तुष्टहरूले अटेर गरी तालाबन्दी जारी राखेका छन् । शनिवबार विद्यार्थी संगठनको संयुक्त बैठक बसे पनि नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादीनिकटको अखिल ९क्रान्तिकारी०, राप्रविसंघलगायत केही संगठनले १४ फागुनमा हुने चुनावमा सहभागिता नजनाउने भन्दै बैठक बहिष्कार गरेर हिँडेका थिए । पहिले चुनावका विपक्षमा भएका केही संगठन भने शनिबारको बैठकबाट १४ फागुनमा चुनाव गराउने पक्षमा उभिएका छन् । यस्ता छन् १० संगठनका निर्णय अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायत १० संगठनले विभिन्न चारबुँदे निर्णय गरेका छन् । १) त्रिविले १४ फागुनमा हुने घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा पूर्ण सहमति भएको छ । १ फागुनदेखि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविलाई अनुरोध गरेका छन् । २) त्रिविले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न–गराउन प्रतिबद्धता व्यक्त गरेका छन् । आचारसंहिताविपरीत केही क्याम्पसमा एकमुष्ठ र फर्जी भर्ना गरिएको पाइएकाले त्यस्ता भर्ना छानबिन गरी तत्काल बदर र सम्बन्धित प्रशासनलाई कारबाही गर्न माग गरेका छन् । आचारसंहिता प्रत्येक क्याम्पसमा नियमित अनुगमन गर्न सबै संगठनका महासचिव÷महामन्त्री वा तोकिएका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरेका छन् । ३)  आचारसंहिता वा कहीँ–कतै विवाद भए केन्द्रीय तहबाट समाधान गर्ने निर्णय गरेका छन् । ४)  सम्पूर्ण विद्यार्थीलाई निर्वाचनमा भाग लिन, आफ्नो विचार स्वतन्त्रता, मताधिकार र निर्वाचित हुन पाउने अधिकारको उपयोग गर्नसमेत अपिल गरेका छन्। यी संगठन चुनावको पक्षमा अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), तराई मधेस विद्यार्थी फ्रन्ट, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्यनिकट), अखिल (पाँचौँ) स्ववियु चुनावको पक्षमा छन् । चुनावमा सहभागी हुन त्रिविको अपिल त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संघ–संगठनलाई स्ववियु चुनावको प्रक्रियामा सहभागी हुन अपिल गरेको छ । त्रिविका शिक्षाध्यक्ष तथा त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समिति संयोजक प्रा।डा। सुधा त्रिपाठीले प्रेस विज्ञप्ति जारी गरी सबैलाई अपिल गरेकी हुन् । ‘फागुन १ देखि निर्वाचन प्रक्रिया प्रारम्भ हुन गइरहेको छ । यस सन्दर्भमा सबै विद्यार्थी संघ–संगठनबीच विभिन्न तहमा छलफल पनि भइरहेको छ,’ शिक्षाध्यक्ष त्रिपाठीले भनेकी छिन्, ‘केही असहमतिका कुरा पनि बाहिर आइरहेका छन्, तथापि त्रिविले केही आगामी दिनमा त्यस्ता असहमति भए पनि सम्बोधन गर्दै अघि बढ्ने गरी घोषित निर्वाचनलाई प्रतिबद्धता साथ सम्पन्न गर्न अघि बढेको छ ।’ त्रिविले असहजतालाई सहजतातर्फ लगी सबैलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । नयाँ पत्रिका दैनिकबाट ।

८० वर्षमा नागरिकता, गाँउमै टोली पुगेर मात्रै वितरण

  फाइल तस्बिर बैतडी ।  बैतडीको मेलौली गाविस ८ खोचा निवासी ८० बर्षीया द्रोपती चन्द हर्षित मुद्रामा भेटिइन। जिल्ला प्रशासन कार्यालयको संयोजनमा कुलाउमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उनी हर्षित भएका छन् । उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, सरकारले गाउँमै आएर सेवा दियो’, उनले भनिन्, ‘गाउँमै सरकारी टोली आएपछि नागरिकता बनाउन पाउँदा खुशी नहुने कुरै भएन ।’ चन्दले द्रोपतीका छोरा रमेशबहादुर चन्द शिविरमा आमालाई लिएर नागरिकता बनाउन पुगेका थिए । ‘अहिलेसम्म हामीले पनि खास मतलब गरेका थिएनौं, तर गाउँमा शिविर आएपछि आमाले नागरिकता बनाउने कुरामा कर गर्नुभयो, बुढेसकालमा आमाले नागरिकता पाउँदा म पनि धेरै खुशी छु,’ उनले भने । अन्नपूर्ण पोस्टबाट ।

कोटवाडामा उत्रियो हवाईजहाज, विमास्थल निर्माण सुरु भएकको ३१ वर्षपछि जहाज अवतरण

कालिकोट । शिलान्यास भएको तीन दशकपछि कालिकोटको कोटवाडा सुनथराली विमानस्थलमा शनिबार पहिलोपटक विमान उत्रिएको छ । तारा एयरको सिक्स एन ए बी एम ट्विनअटर विमानले शनिबार परीक्षण उडान गरेको हो । अवतरित विमानलाई स्थानीयले पञ्चेबाजा र फूलमालाले स्वागत गरेका छन् । तारा एयरका वरिष्ठ चालक सन्तोष शाहको टोलीले विमान अवतरण गराएका हुन् । अवतरणपछिको कोणसभामा उनले उडानका लागि भौगोलिक बनावट उपयुक्त भएको बताए । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीलगायत पनि परीक्षण उडानमा थिए । उनले अब चाँडै विमानस्थल उद्घाटन गरी नियमित उडान गरिने बताए । कोटवाडामा ०४२ सालमा विमानस्थल बनाउन सुरु गरिएको थियो । निर्माण कार्य अन्तिम चरणमा पुगेका वेला माओवादी द्वन्द्वका कारण निर्माण रोकिएको थियो । माओवादीको आरोपमा विमानस्थल निर्माणमा संलग्न धादिङ जोगिमाराका १७ मजदुरलाई तत्कालीन शाही सेनाले मारेको थियो । त्यसयता निर्माण ठप्प भएको थियो । पहिलोपटक अवतरण भएको जहाज हेर्न लालु, माल्कोट, रुप्सा, कुमालगाउँ, कोटवाडा, रकु, मान्मलगायतका गाविसबाट हजारौंको संख्यामा स्थानीय जम्मा भएका थिए।  नयाँ पत्रिका दैनिकबाट ।

महानगरपालिकामा चालक व्यवस्थापन गर्न हम्मे हम्मे, २९ जना चालकबाट १८ लाख रुपैयाँ असुल

फाइल तस्बिर काठमाडौं । काठमाडौं महानगरपालिकाले विज्ञापन निकाल्दा ढंग नपुर्याएपछि अहिले आन्तरिक चालक व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । चालकका मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । २०६८ मा श्रेणीविहीन हुने चालकलाई चौथो तह (खरिदार) सरहको पद दिएर महानगरपालिकाले भटाभट तलब वितरण गरेपछि चालकबीच द्वन्द्व उत्पन्न भएको हो । तत्कालिन समयमा महानगरपालिकाका कार्यकारी प्रमुख केदारबहादुर कार्कीले पाँचौं तहमा बढुवा गरेर तलबभत्ता खुवाएका थिए । फेरि कार्यकारी प्रमुख आनन्द पोख्रेल आएपछि अवैध रुपमा रकम बाँडिएको भन्दै नियुक्त गरिएका २९ जना चालकबाट १८ लाख रुपैयाँ असुल गर्ने निर्णय गरेर मासिक पैसा कटाएका थिए । अन्नपूर्ण पोस्ट दैनिकबाट ।

नेपाली नर्सको तलव जम्मा ४ देखि ८ हजार, अधिकांश नर्सको पीडा एउटै पैसा थोरै, पेलान धेरै

हेल्थपोष्टको फाइल तस्बिर काठमाडौं । सिता शर्मा राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा काम गर्छिन। उनले त्यस अस्पतालमा काम गरेको २ वर्षभन्दा बढी समय भयो। उनी बेलुका ४ बजे अस्पताल पुग्छिन । अस्पतालका शैथ्यामा विरामीहरुको सेवामा तत्लिन हुन्छिन् । राती १० बजे ड्युटी सकिन्छ। घर फर्कदा उनलाई सुरक्षाको कुनै अनुभूति छ न त उनलाई अस्पताल प्रशासनले घरसम्म लगिदिन्छ। यो समस्या सिताको मात्र होइन । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको हो। नेपाल नर्सिङ एशोसिएसनको तथ्थांक अनुसार ६७ हजार नर्स नेपालमा दर्ता भएका छन् । जसमध्ये ६ हजार ५ सय जना सरकारी सेवामा छन् । २२ हजार निजी अस्पतालमा छन् । केही एनजिओ र थुप्रै विदेशमा छन् । उनीहरुको तलव मासिक ४ हजारदेखि ८ हजार रुपैयाँसम्म हुन्छ।  समस्या उठायो भने जागिर जाने डर उनीहरुमा छ। नेपाल समाचार पत्र दैनिकबाट ।

नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व, मेनेजर अफ दि एयर २०१६’ सम्मान एनएमबी बैंकका सिइओ पौडेललाई

काठमाडौं । नेपाल व्यवस्थापन संघमा नयाँ कार्यसमित चयन भएको छ । शुक्रबार राजधानीमा सम्पन्न २६ औं साधारणसभाले १७ जनाको कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा डा सुनिल पन्त, डा विनोद आत्रेय, शुशील भट्ट, जेनिशा भट्टराई, डा फत्तबहादुर केसी, सुशील कुमार अर्याल, डा विष्णु खनाल डा राजन थापा, दिलिपराज पौडेल,  डा शतिस कुमार ओझा र  माेहन पन्त निर्वाचित भएका छन् । उनीहरु व्यक्तिगत सदस्यहरुमध्येबाट चुनिएका हुन् । संस्थागत तर्फबाट नेपाल राष्ट्र बैंकका निर्देशक तथा बोर्ड सचिव राजेन्द्र पण्डित, सिदार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ, नागरिक लगानी कोषका प्रबन्ध निर्देशक रामकृष्ण पोखरेल, कर्मचारी सञ्चय कोषका प्रबन्धक धुर्ब भट्टराई र नेपाल टेलिकमका प्रमोद उपाध्यय निर्वाचित भएका छन् । सघको विधानअनुसार निर्वाचित कार्यसमितिले अध्यक्षसहित पदाधिकारी छनौट गर्ने छ । अध्यक्षमा पदका लागि म्यानका निवर्तान प्रथम उपाध्यक्ष सुशील भट्टराई, महासचिव सुशील कुमार अर्याल, फत्तबहादुर केसी लगायतले आकांक्षा राखेका छन् । मेनेजर अफ दिन एयर २०१६ पौडेललाई यसैबीच संघले  ‘मेनेजर अफ दिन एयर २०१६’ को अवार्ड एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेललाई प्रदान गरेको छ । शुक्रबार सम्पन्न संघको साधारणसभाले ‘मेनेजर अफ दि एयर २०१६’ बाट एनएमबीका सिइओ पौडेललाई सम्मान गरेको हो । पौडेले सो बैंकमा विगत १६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत छन् । फाइनान्स तथा मर्चेन्ट बैंकबाट कारोबार शुरु गरेको यो कम्पनीलाई वाणिज्य बैंकसम्म पुर्याउने र बाणिज्य बैंक मध्ये पनि विजनेश, ब्राण्ड, नाफा, सेवा स्तरको हिसावले उच्चस्तरको बैंक बनाउन सफल भएको भन्दै बैंकले यो सम्मान दिएको हो । भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई ‘मेनेजर अफ दि वाच २०१६’ बाट सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । यस्तै संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का महाप्रबन्धक सीताराम थपलियालाई ‘मेनेजमेन्ट रिकग्नाइजेसन अवार्ड २०१६’ र भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई ‘मेनेजर अफ दि वाच २०१६’ बाट सम्मान गरेको छ ।