विकासन्युज

घातक मस्तिष्कको ट्युमरको उपचारका लागि रुसी वैज्ञानिकहरूले बनाए अद्वितीय उपकरण

काठमाडौं । रुसी वैज्ञानिकहरूले मस्तिष्कमा रगत प्रवाहको प्रतिकृति बनाउने माइक्रोफ्लुइडिक प्लेटफर्म बनाएका छन् । यो ग्लियोब्लास्टोमा ( घातक मस्तिष्कको ट्युमर) कोशिकाहरूको महत्त्वपूर्ण गतिविधिलाई समर्थन गर्न सक्षम छ, जुन मस्तिष्कको क्यान्सरको सबैभन्दा आक्रामक र उपचार गर्न कठिन रूपहरू मध्ये एक हो । अनुसन्धानकर्ताहरूले यो उपकरण रातो प्रकाशको सम्पर्कमा आउँदा कोशिकाहरूमा आयन च्यानलहरूको गतिविधिलाई उत्तेजित गर्ने र तिनीहरूमा टेमोजोलामाइडको प्रवेशलाई बढाउने पत्ता लगाए । टेमोजोलामाइड ट्युमरको उपचारका लागि मुख्य औषधिहरू मध्ये एक हो । ‘आयन च्यानलहरूले पम्पहरू जस्तै काम गर्छन्- तिनीहरूले कोशिकामा अणुहरूलाई तान्छन् । टेमोजोलामाइडले क्यान्सर कोशिकालाई नष्ट गर्न न्युक्लियसमा पुग्नुपर्छ । रातो प्रकाशले च्यानलहरूको खुल्ने र बन्द हुने क्रियालाई बढाउँछ, कोशिकामा औषधिको एकाग्रता छिटो बढ्छ र कोशिकाको मृत्यु हुन्छ । प्रयोगहरूमा हामीले ९५ देखि ९८ प्रतिशतसम्म ग्लियोब्लास्टोमा कोशिकाहरूलाई नष्ट गर्न सफल भयौं । यो उत्तेजना बिनाका नियन्त्रण नमूनाहरू भन्दा पाँच गुणा बढी हो,’ अध्ययनका प्रमुख, बायोनिक टेक्नोलोजी एवं इन्जिनियरिङ संस्थानका सहप्राध्यापक अलेक्जान्डर मार्कोभले भने । भविष्यमा अनुसन्धानकर्ताहरूले क्यान्सरका अन्य रूपहरूका लागि हाइब्रिड थेरापी छनोट गर्न यो प्लेटफर्म प्रयोग गर्न चाहन्छन् । बायोनिक टेक्नोलोजी एवं इन्जिनियरिङ संस्थानका वैज्ञानिकहरूले सेचेनोभ विश्वविद्यालयको पुनरुत्पादक चिकित्सा संस्थानको प्रयोगात्मक बायोथेरापी समूहसँग मिलेर माइक्रोफ्लुइडिक प्लेटफर्मको निर्माणमा काम गरेका हुन् ।  

सत्याग्रहमा बसेका नगरप्रमुख भट्टराई भन्छन् : बाँदर, नील गाई र बँदेलले मतदान गर्ने स्थिति नआओस्

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीका न्युनिकरण गर्न माग गरेका छन् । आइतबारबाट माईतीघर मण्डलामा सत्याग्रह शुरु गरेका उनले यस्तो बताएका हुन् ।  सोमबार कुराकानीका क्रममा उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको बताए । स्थानीय श्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानून बनाउन नसक्ने स्थिति रहेको बताए । गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्युनिकरण गर्न सकिने उनको भनाइ छ ।  यसले स्थानीयलाई रोजगारी दिन सकिने र वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु बनाउन सकिने बताए । नगरपालिकाले बाँसको प्रवद्र्धनमा जोड दिइरहेको पनि बताए । बाँदरको समस्याले नागरिकहरु बसाईं सरिरहेको र अबको पाँच वर्षपछि कुनैपनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदरले मतदान, बँदेलले, नील गाईले मतदान गर्नुपर्ने अवस्था भइरहेको बताए । प्लास्टिकजन्य वस्तुको व्यवस्थापन उत्पादन गर्नेले नै गर्नुपर्ने र त्यो गर्न नसके प्रत्येक स्थानीय तहमा १० प्रतिशत रकम अतिरिक्त उपलब्ध गराउनुपर्ने माग गरे ।  ‘स्थानीय श्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानून बनाउन सक्दैन । ऐन बनाउन सक्दैन । असरल्ल गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्युनिकरण गर्न सकिन्छ । त्यसैले स्थानीय श्रोत र सामग्रीको प्रयोग गर्ने प्रयास गरिरहेका छौँ । तर कानून वाधक भएको कारणले सकिएको छैन,’ उनले भने । उनले भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको बताए ।   

एमसीसी पुनः सुचारु, अमेरिकाले पठायो पत्र

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ कार्यक्रम फेरि कार्यान्वयनतर्फ अगाडि बढ्ने भएको छ । एमसीसीले २०८२ साउन ८ गते (२०२५ जुलाई २४) मा नेपाल सरकारलाई पठाएको पत्रअनुसार सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशले गरेको पुनरावलोकन प्रक्रिया अब औपचारिक रूपमा समाप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।  सो पत्रमा एमसीसीको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरिएको उल्लेख छ । नेपाल सरकार र एमसीसीबीच २०७४ साल भदौ २९ गते सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार नेपालमा विद्युत प्रसारण लाइन निर्माण तथा सडक सुधार परियोजना कार्यान्वयन गर्ने सहमति भएको थियो । तर सन् २०२५ मा राष्ट्रपति कार्यालयबाट परियोजना पुनरावलोकनमा जाने निर्णय भएको थियो । यस निर्णयपछि नेपालमा एमसीसीसम्बन्धी कार्यहरू केही समयका लागि स्थगित भएका थिए । हाल पुनरावलोकनको कार्य समाप्त भई नेपाल कम्प्याक्ट कार्यान्वयन पुनः सुरु गर्ने सिफारिस आएको जानकारी अर्थ मन्त्रालयले सरोकारवालालाई दिएको छ ।   

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्धयामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको तयारी थाल्न निर्देशन दिएका हुन् । उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका थिए । छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष  ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी थिए ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीच दन्त उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सहकार्यअनुसार बैंकका ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखामा डिजिटल भुक्तानी गरी सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यसअन्तर्गत ग्राहकले जनरल हस्पिटल सेवामा १५ प्रतिशत, फिजिओथेरापी, आई ग्लास र जनरल डेन्टल सेवामा १० प्रतिशत तथा दाँतको विशेष उपचार सेवामा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् । यो सुविधा काठमाडौंको जोरपाटीस्थित केडीसी एस्थेटिक सेन्टर, पोखराको न्युरोडस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटल, साथै सतुंगल, भरतपुर (चितवन) र भलवारी तिलोत्तमा (बुटवल) स्थित शाखामा उपलब्ध छ । ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गरेपछि छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यो सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहज पहुँच र विशेष छुट दिलाउनुका साथै डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

वर्षाका कारण देशभरका ८ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरोध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।   

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम

काठमाडौं । भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको छ ।   पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो । उक्त कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी रहेको कम्पनीले जनाएको छ ।  तालिम भीजी मोटर्सको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको हो । यसको मुख्य उद्देश्य विद्यालय तथा सार्वजनिक सवारी चालकहरुलाई दीर्घकालीन रूपमा सुरक्षित, सचेत र जिम्मेवार तरिकाले विद्युतीय गाडी चलाउने बनाउनु रहेको छ । तालिमका सहभागीलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भीजी मोटर्सले जनाएको छ । उनीहरुलाई ईभीको सुरक्षित सञ्चालन, शैक्षिक संस्थाका र सार्वजनिक सवारी साधनको सुरक्षामा आवश्यक सावधानी तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण दिइएको थियो ।  उक्त तालिममा ईभीको तत्काल उत्पन्न हुने गति र आकस्मिक तीव्र गति नियन्त्रण, उकालो-ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग, साइलेन्ट अपरेसनका कारण देखिने जोखिम र सजगताका उपाय, स्टेरिङ र ब्रेकिङको संवेदनशीलता सम्हाल्ने व्यावहारिक अभ्यास लगायत ज्ञान दिइएको छ । यस्तै, ड्यासबोर्डका संकेतहरू - एसओसी, पावर मोटर, टर्टल मोड आदि बुझ्ने तरिका पनि सिकाइएको छ ।  उक्त् तालिम देश विदेशमा अध्ययन र अनुभव प्राप्त प्रशिक्षकद्वारा दिइएको थियो । तालिमका सम्बन्धमा यस तालिमका मुख्य प्रशिक्षक एवं भीजी मोटर्सका अनुसन्धान तथा विकास विभाग प्रमुख सम्राट गौतम भन्छन्, ‘हामी ईभी बेच्ने मात्र होइन, यसको सुरक्षित प्रयोग सुनिश्चित गर्ने अभियानको पनि नेतृत्व गर्न चाहन्छौं । यी प्रशिक्षकहरूमार्फत अब विद्यालय र सार्वजनिक गाडीका चालकहरूलाई देशैभर प्रशिक्षित गर्न सकिनेछ ।’ गौतमले फिनल्यान्डबाट मेकाट्रोनिक्स इन्जिनियरिङ विषयमा विशेषज्ञता हासिल गरेका छन् । उक्त कार्यक्रममा भिजि मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो पहिलो चरणको तालिम रहेको र भविष्यमा दोस्रो चरणको तालिम पनि आयोजना गरिने बताए । उनले भने, ‘हामी यो सीपलाई ड्राइभिङ इन्स्टिच्युटमार्फत अन्तिम प्रयोगकर्तासम्म पुर्‍याउन चाहन्छौं, ताकि व्यावसायिक सवारीको सुरक्षित प्रयोग सुनिश्चित होस् । यस्तो सवारी सही ढंगले नचलाइएमा चालक, यात्रु र तिनका परिवारलाई समेत जोखिममा पार्न सक्छ ।’ भिजि मोटर्सले नेपाली बजारमा विद्युतीय माइक्रोबस एसआरएम र जोयलङका गाडीहरू बिक्री गर्दै आएको छ, जुन सार्वजनिक रुट तथा विद्यालयहरूमा धेरै प्रयोग हुने गरेका छन् । वातावरण अनुकूलता, भन्सार र अन्य करमा सहुलियतका साथै सञ्चालन खर्च धरै कम लाग्ने भएकाले ईभीको प्रयोग बढ्दो छ । तर, ईभी प्रविधिसँग तालमेल गर्न नसक्दा दुर्घटनाको जोखिम पनि बढिरहेको छ । ईभी प्रविधि आफैंले दुर्घटना नगराए पनि यो प्रविधिलाई राम्ररी नबुझ्दा दुर्घटनाको सम्भावना धेरै हुने भएकाले तालिम जरुरी हुने कम्पनीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले रेबिजविरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।  विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको बताए ।  रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधी अभाव भएको समाचार आएलगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए ।  उनले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय अपनाउन अधिकारीहरुलाई बोलाएर भनेका थिए । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरुमा दुवै प्रकारका औषधी आपूर्ति गरेको हो ।  विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरुमा पुगिसकेको छ ।  सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ ।  यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आपूर्ति गरिएको छ ।  मागका आधारमा अन्य प्रदेशहरूमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।  विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ ।