विकासन्युज

हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चार जनाको मृत्यु

गोरखा, २४ साउन । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चार जना परेका छन् । सो हेलिकप्टरमा जिल्लाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनको पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ ल्याइँदै थियो । हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिए । जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू सथए। रासस

सात दिनमा सेयर बजारमा २०२ अंकको गिरावट, किन घट्यो बजार ?

काठमाडौं, २४ साउन । साउन १२ गते १८८१ अंकमा पुगेर नेप्से परिसूचकमा इतिहासकै सर्वाधिक उचाई कायम भएको थियो तर साउन २४ गते आईपुग्दा बजार ओरालो लागेर १६७५ दशमलब ९१ अंकमा आईपुगेको छ । पछिल्लो ७ वटा कारोबारमा नेप्से परिसूचक २०२ दशमलब २१ अंकले घटेको छ । त्यसो त पछिल्लो आठ दिनको कारोबारमा भने बजार २०६ अंकले घटिसकेको छ । पुँजी बजार साउन १३ गतेदेखि नै ओरालो लाग्न थालेको थियो । एक साता अघि लगानी कर्ता कहाँबाट आएका थिए र अहिले कहाँ गए भन्ने जिज्ञासा उत्पन्न भएको छ । तर नियामक निकायसँग यसको चित्त बुझ्दो जवाफ भेटिन्न । यस्ता छन बजार घट्नुका कारणहरु धितोपत्र बोर्डको लगाम नेपाल धितोपत्र बोर्डले बजार अनावश्यक रुपमा बढेको भनेर पटक पटक सचेत गराउँदै विज्ञप्ति प्रकाशित गर्दै आएको थियो । पछिल्लो पटक बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले नियमित पत्रकार भेटघाट कार्यक्रममा बजार अश्वभाविक रुपमा बढेको र साना लगानी कर्ता जोखिममा परेको बताएका थिए । त्यसको केहि दिनपछि बजारका बारेमा एउटा लेख नै लेखेका थिए । त्यहि लेखका कारण बजार ओरालो लाग्न थालेको आरोप लगानी कर्ताहरुको छ । ब्रोकरको बदमासी सेयर बजारका पण्डितहरुका अनुसार बजार अनावश्यक रुपमा बढ्नुका पछाडी सेयर ब्रोकरहरुको ठुलो भूमिका थियो । ब्रोकरहरुले आफन्तहरुका नाममा कारोबार गरिरहेका थिए । पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकरको कारोबारमाथी निगरानी बढाएपछि उनीहरु भटाभट सेयर बिक्रि गर्न लागिपरेका छन् । माग भन्दा आपुर्ति बढी भएपछि बजार घट्ने नै भयो । कालोधनको सकस सेयर बजारमा कालोधन लगानी भएको भन्दै बोर्डले छानविन समिति नै बनाएर अध्ययन गरिरहेको छ । त्यसकारण श्रोत खुलाउन नसकेका सम्भावित कालोधन वाला लगानी कर्ता सुरक्षित तवरले सेयर बेचेर अवतरणको प्रयास गरिरहेका छन् । ठुला लगानी कर्ताको चलाखी नेप्से परिसूचक १५०० अंक नाघेपछि ठुला लगानी कर्ता बाहिरिईसकेको स्वंय लगानी कर्ताहरुले दावी गरेका थिए । ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले लाली गरासँ लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनिदिनु पर्यो भन्दै लगानी कर्ता आएको बताएका थिए । यसले पनि बजारमा नयाँ लगानी कर्ता ठुलो मात्रामा भित्रिएको पुष्टि हुन्थ्यो । नयाँ र बजार नबुझेका लगानी कर्ता भित्रिएपछि बढेको बजार ओरालो लाग्नु स्वभाविक नै देखिन्छ ।  

धितोपत्र बोर्डले भन्यो–लगानीकर्ताहरु हतोत्साहित नभई लगानी गर्नुस

काठमाडौं, २४ साउन । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानी कर्ता हतोत्साहित नभई लगानी गर्न आग्रह गरेको छ । केहिदिन देखि धितोपत्र बोर्डले नियोजीत ढंगले बजार घटाउन लागिपरेको आरोप लगानी कर्ताहरुले लगाईरहेका छन् । त्यसको जवाफमा बोर्डले सूचिकृत कम्पनीहरुको वित्तिय विवरणको सुक्ष्म अध्ययन गरि सुझबुझपुर्ण ढंगले लगानी गर्न पनि आग्रह गरेको हो । बोर्ड आफ्नो उदेश्य बजार घटाउनु वा बढाउनु नभएर लगानी कर्ताको हित सुरक्षित गर्ने तर्फ केन्द्रित रहेको समेत स्पष्ट पारेको छ । नेपालको पुँजी बजारलाई थप व्यवस्थित र लगानी कर्ता मैत्री बनाउने अभियानमा सामेल भएको बोर्डलाई बजार घटाउन लागेको आरोप लगाइनु आपक्ति जनक भएको पनि बोर्डले भनेको छ । सोमबार बजार ८८ दशमलब ८१ अंकले घटेर सर्किट ब्रेक लगाउँदै कारोबार बन्द भएपछि बोर्डले लगानीकर्तालाई हतोत्साहित नहुन पनि आग्रह गरेको हो ।

पानासोनिक मोबाइलको पार्टनर्स मिट सम्पन्न

काठमाडौं, २४ साउन । नेपालका लागी पानासोनिक स्मार्ट् फोनको आधिकारिक बिक्रेता अलाईड ट्रेडलिन्क इन्टर्नेसनल प्रालिले देशभरका आफ्ना आधिकारिक बिक्रेताको भेला पानासोनिक पार्टनरस मिट२०१६ सम्पन्न गरेको छ। अलाईडट्रेड लिन्क इन्टर्नेसनलका प्रबन्ध निर्देशक मनिस राजभण्डारीले बजार विस्तारमा प्रमुख प्राथमिकता दिने बताए । पानासोनिक इन्डियाबाट आएका बिनित शर्माले नेपालमा आगामि योजना तथा रणनितीका बारेमा चर्चा गरेका थिए ।उक्तकार्यक्रममा बिक्रेतहरुसंग कम्पनीका प्रतिनीधीहरुले बजार विस्तार बारे सुझाव समेत मागेका थिए ।

नेप्से ५ प्रतिशतभन्दा बढीले घट्यो, कारोवार रोकियो

काठमाडौं, २४ साउन । बजार अत्याधिक घटेपछि सोमवार कारोवार नै रोकिएको छ । दिउसो साढे १ बजेसम्ममा बजार ५ प्रतिशतले घटेपछि  दिनभरकै लागि कारोवार रोकिएको हो । गत सातादेखि घट्न लागेको बजार सोमवार ८८ दशमलब ८१ अंकले घटेको छ । सो दिन बजार ५ दशमलब ०३ प्रतिशतले घटेको छ । सेयर कारोवार रकम पनि उल्लेख्य रुपमा घटेको छ । सोमवार जम्मा ८७ करोड ९३ लाख रुपैयाँको मात्रै सेयर कारोवार भएको छ । अघिल्लो साता दैनिक करिब २ अर्ब रुपैयाँको हाराहारीमा कारोवार हुदै आएको थियो । सेयर विक्री गर्न आउनेको मात्रै चाप बढेको धितोपत्र दलाल ब्यवसायी संघका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले जानकारी दिए । सोमवार बैंकिङ समुह ९२ दशमलब ३८ अंकले, होटल समुह ६२ दशमलब ९६ अंकले, विकास बैंक समुह ६९ दशमलब ६१ अंकले, जलविद्युत समुह ११७ दशमलब ३५ अंकले, फाइनान्स समुह ३० दशमलब ३० अंकले, बीमा समुह ५३७ दशमलब ८४ अंकले र अन्य समुह ३२ अंकले घटेको छ ।

टेलिकमका १० टावर बन्द, एक दर्जन गाविस सम्पर्कविहीन

बागलुङ, २४ साउन । जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ । टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित बनेको छ । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ । टेलिकमको ल्यान्ड फोन, प्रिपेड, पोस्पेड, स्काइलगायतका सबै सेवा बन्द रहेको प्रयोगकर्ताले जनाएका छन् । लघुजलविद्युत् आयोजनाबाट निस्कने विद्युत्मा निर्भर रहेका ‘बिटिएस टावर’ सञ्चालनको प्रयास भइरहेको नेपाल टेलिकम बागलुङले जनाएको छ । तत्काल पाँच ठाउँको ‘टावर’ सञ्चालनमा ल्याउन आवश्यक उपकरण पठाउन लागिएको इन्जिनियर अमृत नेपालले बताए । विद्युत् रोकिएको चार दिनसम्म ब्याट्रीले धाने पनि त्यसपछि १० वटै टावर बन्द भएको उनको भनाइ छ । बोङ्गादोभान, देवीस्थान, दर्लिङ र खुङ्खानीमा केही दिनमै सेवा सुचारु हुने जनाइएको छ । अधिकारीचौर, बुर्तिवाङलगायतका गाविसमा भने समय लाग्ने देखिएको छ । तत्कालको लागि सानो क्षमताको सोलार राखेर भए पनि आंशिक सेवा सञ्चालन गर्ने योजना टेलिकमले बनाएको छ । त्यसो गर्दा बुर्तिवाङ बजार क्षेत्रमा रहेका ‘ल्याण्ड–लाइन’ टेलिफोन सञ्चालनमा ल्याउन सकिने जनाइएको छ । अन्य केही स्थानका टावरमा पनि सानो जेनेरेटर राखेर सेवा सुचारु गर्ने तयारी भइरहेको छ । “सडकमार्ग अवरुद्ध भएका कारणले पनि जेनेरटरलगायतका उपकरण पु¥याउन कठिन भइरहेको छ । ग्वालीचौरदेखि पश्चिमका गाविसमा टेलिकमको कुनै पनि नेटर्वकले काम नगरेको बुर्तिवाङका ऋतुवर्ण पौडेलले बताउनुभयो । ठूलो सङ्ख्यामा लघुजलविद्युत् आयोजना बन्द भएपछि १० हजारभन्दा बढी घरधुरी अहिले अँध्यारोमा बस्न बाध्य छन् । आयोजनाको पावर हाउस, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८३५ किलोवाट विद्युत् उत्पादन रोकिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग, जिविस, गाविस, साझेदार सङ्घसंस्था र स्थानीयको समेत लगानी र श्रमदानमा बनेका आयोजनामा करोडौँको क्षति पुगेको छ । ऊर्जामा आधारित लघु उद्योग समेत बन्द भएका छन् । जिल्लाको पश्चिमका निशी, भुजी र तमान खोलामा आएको बाढीले आसपासका बस्ती, भौतिक संरचना र सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ ।

लगानीकर्ताले भने–सेयर बजार घट्नुपर्ने कारण छैन, धितोपत्र बोर्डको हस्तक्षेप सह्य हुन्न

काठमाडौं, २४ साउन । सेयर बजारका लगानीकर्ताहरुले बजार घट्नुको कारण नभएको दावी गर्दै नेपाल धितोपत्र बोर्डको अनावश्यक हस्तक्षेप आफुहरुलाई सह्य नहुने घोषणा गरेका छन् । सेयर लगानीकर्ता संघको तदर्थ समिति घोषणा सभामा लगानीकर्ताहरुले बजार घट्नु पर्ने कारण नभएको बताउँदै बजारमा अनावश्यक हस्तक्षेप नगर्न बोर्डलाई चेतावनी दिएका हुन् । इन्भेष्टर्स फोरमका सदस्य समेत रहेका हाथवे इन्भेष्टमेन्टका अम्बिका पौडैलले बजार घटाउन बोर्डले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए । उनले बजारमा यथेष्ठ मात्रामा तरलता रहेको, लगानीको अन्य विकल्प नभएको, बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरण राम्रो रहेको तथा बैंकको ब्याजदर समेत न्युन रहेकाले सेयर बजार बढेको बताए । धितोपत्र बोर्डले सेयर कालोधनको त्रास र साना लगानी कर्ताको त्रास देखाएर बजार घटाईरहेको आरोप लगाए । उनले आफुले हाल दैनिक दुई तीन करोडको सेयर खरिद गरिरहेको पनि जानकारी दिएका थिए । त्यस्तै, अर्का लगानी कर्ता दिपक कार्कीले सिमित व्यक्तिहरुको स्वार्थमा लागेर बोर्डले बजार ओरालो लगाउन थालेको आरोप लगाए । उनले कालोधनको छानविन गर्ने अधिकार बोर्डलाई नभएर सम्पति सुद्धिकरण विभागलाई भएको पनि स्पष्ट पारे । लगानी कर्ता साना र ठुला नहुने भन्दै कार्कीले धितोपत्र बोर्डले नियोजित रुपमा बजारमा चलखेल गरेको दावी गरे । त्यस्तै, अर्का लगानी कर्ता दिलिप श्रेष्ठले पनि धितोपत्र बोर्डको दादागिरीका कारण सेयर बजार ओरालो लागेको आरोप लगाए । उनले बैंकहरुमा निक्षेपको ब्याजदर नबढेसम्म सेयर बजार उकालो लागिरहने स्पष्ट पारे । त्यस्तै, अर्का लगानी कर्ता ज्योति दाहालले पनि धितोपत्र बोर्डले क्षेत्राधिकार नाघेर सेयर बजारमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए । धितोपत्र बोर्ड लगानी कर्ताको हित भन्दा पनि कम्पनीहरुको पक्षपोषणमा लागेको आरोप समेत लगाए । चलचित्र  निर्माता समेत रहेका सेयर बजारका लगानी कर्ता उज्वल घिमिरले बजार घट्नुपर्ने कुनै कारण नभएको दावी गरे । उनले पनि धितोपत्र बोर्डको अनावश्यक हस्तक्षेपका कारण बजार घटेको बताउँदै बोर्डले कसको पक्षपोषण गरिरहेको छ ? भन्दै प्रश्न समेत गरे । उनले आफुले सेयर बजारमा तीन करोड लगानी गरिसकेको बताएका थिए । सेयर लगानीकर्ता संघको घोषणा कार्यक्रममा सैयौंको संख्यामा लगानी कर्ताहरुको उपस्थिती रहेको थियो । सो भेलाले उत्तम अर्यालको अध्यक्षतामा सेयर लगानीकर्ता संघ घोषणा गरेको छ । जसको उपाध्यक्षमा ताराप्रसाद फुल्लेल, महासचिव नवराज सुवेदी र कोषाध्यक्षमा मोहन बहादुर बस्नेतलाई तोकिएको छ । उनीहरुले सेयर बजारलाई घटाउने धितोपत्र बोर्डको नियोजित षडयन्त्र विरुद्ध आवश्यक परेको खण्डमा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

प्रचण्डलाई बधाई दिँदै उद्योगीले भने–साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर चाहियो

काठमाडौं, २४ साउन । नेपाल उद्योग परिसंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालललाई बधाई दिँदै साढे ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पुर्याउन सुझाव दिएको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भूकम्प र नाका बन्दीले जर्जर बनेको औद्योगीक क्षेत्रको पुनरुत्थानका लागि समेत आग्रह गरेको थियो । भेटमा बजेटले लक्ष्य गरे अनुरुप ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सरकारले पूँजीगत खर्च वृद्धि गर्ने, पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने, व्यापार घाटा न्यून गर्ने, आधारभूत तहका जनता समक्ष रोजगारीका अवसरहरु सृजना गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै, भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा पुननिर्माण, नवनिर्माण र आवास निर्माणमा उच्च प्राथमिकता दिनु पर्ने सुझाव पनि उनीहरुले दिएका थिए । प्रधानमन्त्री प्रचण्डले आर्थिक सुधारका कार्यहरु गर्दा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने सरकारको नीति यथावत कायम रहेको जानकारी दिएका थिए । यसैबिच, परिसंघ टोलीले अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि बधाई दिएको छ । टोलीले अर्थ व्यवस्थामा न्यून पूँजीगत खर्च, उच्च मुद्रा स्फीति दर, डरलाग्दो व्यापार घाटा र न्यून आर्थिक वृद्धिको चुनौती चिर्न सुझाव दिएका थिए ।