लिट्मस केबल्सको पावर पार्टनर्स मीट २०८२ सम्पन्न
काठमाडौं । लिट्मस इन्डस्ट्रीज लिमिटेडले आफ्नो तेस्रो 'पावर पार्टनर्स मिट २०८२' काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट करिब २०० जना डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीको प्रस्तुति, डिलरहरूसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो । लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो । उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई सम्मानित गरेको थियो । यसले लिट्मसको सफलता र समृद्धिमा विश्वास, सहकार्य र बलियो साझेदारीको महत्वलाई अझ प्रस्ट पारेको थियो । त्यसै अवसरमा, लिट्मसले 'श्रावण उत्सव' अभियानको घोषणा गर्दै डिलरहरूलाई आकर्षक स्किममार्फत दुबई र थाइल्याण्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको थियो ।
अमेरिका-युरोप गम्भीर व्यापार युद्धबाट जोगिए, १५ प्रतिशत भन्सार सहमतिमा सम्झौता
काठमाडौं । अमेरिका र युरोपेली संघ (ईयू) बीच आइतबार एक महत्त्वपूर्ण व्यापारिक सहमति भएको छ । जसअनुसार अधिकांश ईयू वस्तुमा अब अमेरिकाले १५ प्रतिशत आयात शुल्क लगाउनेछ- जुन पूर्वघोषित दरको आधा मात्र हो । यस सहमतिले दुई प्रमुख साझेदारबीच ठूलो व्यापार युद्ध टार्न सफल भएको छ । यी दुईले संयुक्त रूपमा विश्व व्यापारको करिब एक तिहाइ हिस्सा ओगटेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेयर लायनले स्कटल्यान्डको ट्रम्पको विलासी गफ कोर्समा करिब एक घण्टा लामो छलफलपछि यस सम्झौताको घोषणा गरे । ‘मलाई लाग्छ यो अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता हो,’ ट्रम्पले पत्रकारहरूसँग भने । उनले ईयूले अमेरिकाभित्र करिब ६०० अर्ब डलर लगानी गर्ने योजना बनाएको र अमेरिकी ऊर्जा तथा सैन्य सामग्रीको खरिद उल्लेखनीय रूपमा बढाउने बताउँदै प्रशंसा गरे । ट्रम्पले यस सम्झौतालाई गत साता जापानसँग भएको ५५० अर्ब डलरको सम्झौताभन्दा पनि ठूलो भन्दै यसले पारस्परिक सम्बन्ध विस्तार गर्ने बताए । उनका अनुसार विगतका वर्षहरूमा अमेरिकी निर्यातकर्तासँग अन्यायपूर्ण व्यवहार हुँदै आएको थियो । लायनले ट्रम्पलाई ‘कठिन वार्ताकार’ भन्दै १५ प्रतिशत शुल्क सबै वस्तुमा लागू हुने बताइन् र यो सम्झौता ‘हामीले प्राप्त गर्न सक्ने सबैभन्दा राम्रो’ भएको बताइन् । ‘यो विश्वका दुई सबैभन्दा ठूलो अर्थतन्त्रबीचको सम्झौता हो । यसले स्थिरता र पूर्व अनुमेयता ल्याउनेछ,’ उनले भनिन् । ट्रम्पका अनुसार सम्झौतामा ईयूले आगामी वर्षहरूमा ७५० अर्ब डलर बराबरको अमेरिकी ऊर्जा र ‘सयौं अर्ब डलर’ बराबरको हतियार खरिद गर्ने उल्लेख छ । यदि सबै विवरण लागू भए यो सम्झौता एअरबस, मर्सिडिज बेन्ज, नोभो नोर्डिस्क जस्ता ईयू कम्पनीहरूका लागि सकारात्मक हुने देखिन्छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले यो सम्झौतालाई स्वागत गर्दै यसले जर्मनीको निर्यात–आधारित अर्थतन्त्र र ठूलो अटोमोबाइल क्षेत्रलाई ठूलो झट्का बाट जोगाएको बताए । तर, १५ प्रतिशतको आधारभूत शुल्क अझै पनि धेरै युरोपेलीहरूको दृष्टिमा उच्च मानिन्छ, किनभने युरोपले सुरुमा ‘शून्य–विरुद्ध–शून्य’ शुल्क सम्झौताको अपेक्षा गरेको थियो । युरोपेली संसदको व्यापार समिति प्रमुख बेन्ड लांगेले शुल्कलाई असन्तुलित बताए। उनले ईयूको अमेरिका–केन्द्रित लगानीले अन्ततः युरोपकै घाटा निम्त्याउने चिन्ता व्यक्त गरे । एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार ट्रम्पले भविष्यमा युरोपेली लगानी प्रतिबद्धता पूरा नभएमा शुल्क बढाउने अधिकार सुरक्षित राखेका छन् । सम्झौताको खबर आएपछि यूरो डलर, पाउण्ड र येनमा करिब ०.२ प्रतिशतले वृद्धि भएको छ । टेनेओ रिसर्चका उपनिदेशक कास्र्टन निकेलले यो उच्चस्तरीय राजनीतिक सम्झौता मात्रै भएको भन्दै सशक्त, स्पष्ट व्यापार सम्झौताको विकल्प नबन्ने बताएका छन् । उनले भने, ‘यसले भविष्यमा विभिन्न व्याख्याको जोखिम निम्त्याउँछ- जसरी जापान–अमेरिका सम्झौताको पछि देखिएको थियो ।’ यो सम्झौताले अधिकांश वस्तुहरू- जस्तै सेमिकन्डक्टर र औषधिहरूलाई समेटे पनि केही वस्तुहरू छुट छन् । अमेरिका अझै पनि स्टिल र एल्युमिनियममा ५० प्रतिशत शुल्क कायम राख्नेछ । लायनले यो शुल्कलाई कोटा प्रणालीले प्रतिस्थापन गर्न सकिने संकेत दिइन् । उनले विमान र विमान–पुर्जा, विशेष रसायन, सामान्य औषधि, सेमिकन्डक्टर उपकरण, केही कृषि उत्पादन, प्राकृतिक स्रोत र महत्वपूर्ण कच्चा पदार्थमा कुनैपनि शुल्क नलाग्ने बताइन् । ‘हामी अझ धेरै वस्तुहरूलाई यो सूचीमा थप्ने प्रयास गर्दैछौं,’ उनले भनिन् । मादक पदार्थको विषय अझै छलफलमै रहेको उल्लेख गरिन् । एक अमेरिकी अधिकारीका अनुसार व्यावसायिक विमानमा लाग्ने शुल्क अहिलेको लागि शून्य नै हुनेछ र अमेरिकी समीक्षापछि दुई पक्ष मिलेर निर्णय गर्नेछन् । १५ प्रतिशतभन्दा कम शुल्कमा सहमति हुनसक्ने ‘अवसर राम्रो’ रहेको उनले बताए । तर, त्यो समीक्षा कहिले पूरा हुने भन्ने समय भने दिइएको छैन । यो सम्झौता ट्रम्पको ‘विश्व अर्थतन्त्र पुनर्संरचना’ गर्ने तथा अमेरिकी व्यापार घाटा घटाउने अभियानको सफलता रूपमा चित्रित गरिनेछ । ट्रम्पले यसअघि बेलायत, जापान, इन्डोनेसिया र भियतनामसँग पनि यस्तै सम्झौताहरू गरेका छन्, यद्यपि उनले घोषणा गरेको ‘९० दिनमा ९० सम्झौता’ लक्ष्य भने पुरा भएको छैन । अमेरिकी अधिकारीहरूका अनुसार ईयूले केही कृषिजन्य वस्तु र सवारी साधनमा ‘गैर–शुल्क अवरोध’ घटाउने सहमति जनाएको छ, यद्यपि ईयू अधिकारीहरूले अझै पनि त्यसको मापदण्ड छलफलकै क्रममा रहेको बताएका छन् । ‘युरोपेली संघको अर्थतन्त्र २० ट्रिलियन डलरको छ,’ उनीहरू जापानभन्दा पाँच गुणा ठूलो छन्,’ एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘त्यसैले तिनीहरूको बजार खुला हुँदा हाम्रा किसान, माछा पालक, पशुपालक, र उद्योगहरूलाई ठूलो अवसर मिल्नेछ ।’ ट्रम्पले युरोपेली संघलाई व्यापारमा अमेरिका माथि अन्याय गरेको भन्दै लामो समयदेखि आलोचना गर्दै आएका छन् । अमेरिकी तथ्यांक विभागका अनुसार सन् २०२४ मा ईयूसँगको व्यापार घाटा २३५ अर्ब डलर पुगेको छ । यता युरोपेली संघले भने सेवाक्षेत्रमा अमेरिकी नाफाले सन्तुलन मिलाउने दाबी गर्दै आएको छ । ट्रम्पले आफैले लगाएका भन्सार शुल्कबाट ‘सयौं अर्ब डलर’ राजस्व आर्जन भएको दाबी गर्दै आएका छन्, यद्यपि अर्थशास्त्रीहरूले त्यसबाट मुद्रास्फीतिको जोखिम रहेको चेतावनी दिँदै आएका छन् । सर्वपक्षीय व्यापार सम्झौता नभएमा ट्रम्पले आगामी अगस्ट १ देखि ३० प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए। त्यसपछि ईयूले ९३ अर्ब युरो बराबरको अमेरिकी वस्तुमा प्रतिकारात्मक शुल्क लगाउने तयारी गरेको थियो।
सानिमा रिलायन्सको स्टार एजेन्सी मिट सम्पन्न, उत्कृष्ट स्टार एजेन्सीलाई सम्मान
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूका लागि विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको हो । बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बिमाशुल्क सङ्कलन, बिमालेख सङ्ख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बिमा व्यवसायमा बिमा सल्लाहकारहरूको महत्त्व र अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुर्याउनु पर्ने बताए । साथै कम्पनीले आव २०८१/८२ मा रु ७०० करोडको बिमाशुल्क सङ्कलन गर्न सफल भएकोमा सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन पनि गरे। कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले बोल्दै अभिकर्ताहरूलाई आवश्यक सिप र कलाको बारेमा प्रस्ट परेका थिए । कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ्ग, बनेपा रिजनका नारायण बहादुर गुरुङ्ग र पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरू उत्कृष्ट १ मा पर्न गरेको मेहनतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत राख्ने लक्ष्य रहेको र त्यसै अनुरुप योजनासहित काममा परिचालित भएको बताए । कार्यक्रम ज्ञानबर्द्धक बनाउनको लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई आमन्त्रित गरिएको थियो । उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेका थिए ।
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइन : महान्यायाधिवक्ता बडाल
काठमाडौं । महान्याधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आवद्धता धनी बन्नका लागि नभएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा सेयरमा गरेको लगानी जस्तो नभएको बताए । यसबाट रकम निकालेर कहिँ घरजग्गा वा अन्य व्यवसायमा लगानी गर्न नपाइने उनको भनाई थियो । सामाजिक सुरक्षा कोषमा गरेको लगानीले कसैलाई धनी पनि नबनाउने र रोग र भोकले मर्न पनि नदिने उनको स्पष्टोक्ति थियो । उनले भने, ‘कतिपय सन्भर्दमा साथीहरूको प्रश्न उठ्छ ल, यो त सेभिङ फण्ड हो कि त । मैले राखेको पैसा मैले रिटर्न पाउनुपर्छ भन्ने छ । ‘सोसियल सेक्युरिटी फण्ड’ ले कसैलाई धनी बनाउन खोज्दैन । र यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन । बैंकमा राखेको पैसा निकाले म घरजग्गा किन्छु भनेजस्तो सोसियल सेक्युरिटीमा गरेको कन्ट्रिब्युसन निकालेर म घरजग्गा किन्छु र स्वाट्टै यसको भाउ बढ्ला ।’ महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषलाई सामाजिक सुरक्षाकै रुपमा हेर्न र बचत वा लगानीको रुपमा नहेर्न पनि कानून व्यवसायीहरूसँग आग्रह गरे । नेपाल बार एशोसिएशन र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएसँगै बारमा आवद्ध कानून व्यवसायीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । उनले बच्चा जन्मेदेखि हुने जोखिम र दुर्घटना वा अशक्तताको अवस्थामा सामाजिक सुरक्षा कोषले मद्दत गर्ने पनि स्पष्ट पारे ।
पानीका लागि तड्पिँदै काबुल : सूर्योदयअघि नै भेला हुन्छन् स्थानीय
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको पूर्वी भागमा सूर्योदय हुनुभन्दा धेरै अघिबाट सयौं बासिन्दाहरू सुख्खा, चर्किएको जमिनबाट निस्केको सानो पाइप वरिपरि भेला हुन्छन् । खाली प्लास्टिक ब्यारेलहरू समातेर उनीहरु भेला भएको देख्न सकिन्छ । उनीहरू आशा र निराशा बोकेर त्यहाँ पुगेका हुन्छन् । यो कुनै साधारण इनार होइन तर ३०० मिटर गहिरो जीवन रेखा हो । जुन सतहका स्रोतहरू सुकेपछि समुदायले चट्टानका तहहरूबाट खनेको हो । प्रत्येक व्यक्तिले दुई दिनसम्म केवल एक ब्यारेल (लगभग १० लिटर) मात्रै पानी पाउँछन् । प्रभावितहरूमध्ये काबुलको दुर्गम भागमा बस्ने ६२ वर्षीय वृद्धा हुसेन अली पनि थिए । हरेक केही दिनमा अली पानीको खोजीमा आफ्नो पछाडि पिटेको प्लास्टिकको ब्यारेल तान्दै धेरै किलोमिटर हिँड्छन् । जब उनी अन्ततः सामुदायिक धारा पुग्छन् तब पर्खाइको लाइन सधैं अनन्तसम्म फैलिएको हुन्छ । मानिसहरू पानी लिनको लागि चार घण्टा पर्खन्छन् । गत वर्षको तुलनामा यहाँ पानीको उपलब्धतामा कम्तिमा ५० प्रतिशतले गिरावट आएको छ । ९० वा १०० मिटरमा पानी पुग्ने इनारहरू पूर्ण रूपमा सुकेका छन् । संयुक्त राष्ट्र–आवासीय आवासको रिपोर्ट अनुसार काबुलले पानी संकटको सामना गरिरहेको छ । भूजलस्तर उल्लेखनीय रूपमा घटेको छ । जसले काबुलका ६० लाख भन्दा बढी बासिन्दाहरूलाई गम्भीर जोखिममा पारेको छ ।
स्ववियु आरआर क्याम्पसले भलिबल प्रतियोगिता आयोजना गर्ने, विजेतालाई ३ लाख पुरस्कार
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसले राष्ट्रियस्तरको अन्तरक्याम्पस पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नाराका साथ ‘आरआर स्ववियु कप-२०८२’ आयोजना गर्न लागिएको हो । आगामी भदौ २२ गतेदेखि सुरु हुने प्रतियोगिता ६ दिनसम्म चल्नेछ। भदौ २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता आरआर क्याम्पसकै प्राङ्गणमा आयोजना गरिने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए । अध्यक्ष खड्काले भलिबलको माध्यमबाट विद्यार्थीहरूबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘यो प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने अपेक्षा गरेका छौं । यसले विद्यार्थीमा नेतृत्व विकास र राष्ट्रिय एकताको सन्देश फैलाउन पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । इच्छुक टोलीहरूले थप जानकारीका लागि आयोजकलाई ९८६५८६३२३५, ९८६०१३६६४२ वा ९८६८९०६६६८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । अध्यक्ष खड्काले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि अग्रसर गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै यसलाई सफल बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूलाई सहयोग गर्न अपिल गरेका छन् ।
अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
सिरहा । इलाका प्रशासन कार्यालय लहानमा गत फागुन महिनादेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ । वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि दैनिक सेवाग्राहीको भीड न्यून हुनको साथै सेवा प्रवाह पनि सहज भएको कार्यालयले जनाएको छ । ‘डिजिटल’ सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले सुरु गरिएको यो प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गएको कार्यालयका प्रमुख गोकर्णराज सुयलले बताए । 'अनलाइन सिफारिस प्रणालीबाट नागरिकता बनाउँदा प्रक्रियागत झन्झट कम हुनुका साथै समयको बचत हुने भएकाले सेवाग्राहीलाई धेरै सहज बनाएको छ', उनले भने, 'पहिले दिनभर लाइन बस्नुपर्ने बाध्यता थियो, अब त्यो हट्यो । हामीले दैनिक कामको दबाब पनि व्यवस्थापन गर्न सकिरहेका छौंँ । सेवाग्राहीको चापसमेत व्यवस्थित भएको छ ।' उनका अनुसार, अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरण प्रक्रिया सहज भएको छ भने सेवा प्रवाहमा छरितोपन आएको छ । प्रविधिमैत्री सेवा उपलब्ध गराउन सहज भएको र झुटा वा किर्ते विवरणका आधारमा नागरिकता लिने कार्यमा पनि नियन्त्रण कायम भएको कार्यालय प्रमुख सुयलले बताए । उनले यो प्रणालीले समग्र सेवा प्रवाहलाई ‘विचौलिया मुक्त’ बनाइ थप प्रभावकारी बनाएको उल्लेख गरे । कार्यालयका अनुसार, अनलाइन प्रणाली सुरु भएको पाँच महिनाको यस कार्यालयको कार्यक्षेत्रमा पर्ने विभिन्न स्थानीय तहको गरी ४० वटा वडा कार्यालयबाट अनलाइन सिफारिसमार्फत कूल एक हजार पाँच सय ८१ जना सेवाग्राहीले नागरिकता लिएका छन् । यसमा लहान नगरपालिकाका २४ वटै वडाबाट आठ सय ५४ जना, भगवानपुर गाउँपालिकाका– पाँच वडाबाट दुई सय १२ जना, सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वडाबाट दुई सय एक जना, धनगढीमाई नगरपालिकाका–१२, १३ र १४ बाट एक सय ३४ जना, लक्ष्मीपुर पतारी गाउँपालिकाका –२ र ६ बाट एक सय २० जना र नवराजपुर गाउँपालिकाका–१ बाट ६० जना सेवाग्राही रहेका छन् । सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि त्यहीँबाट अनलाइनमार्फत सिफारिस प्रक्रिया सुरु गरिन्छ । लहान इलाका प्रशासन कार्यालयले जिल्लामै पहिलोपटक अनलाइन नागरिकता सिफारिस सेवा सुरु गरेको हो । सिफारिसका विवरणहरू सफ्टवेयर प्रणालीमा प्रविष्ट भएपछि ती जानकारी गृह मन्त्रालय अन्तर्गत रहेको नागरिकता फाँट विभागमा रजिष्ट्रेशन कोडको आधारमा प्रत्यक्ष रूपमा पहुँचयोग्य हुन्छन् । यसै प्रक्रियाबाट सेवाग्राहीले सहज रूपमा नागरिकता प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ ।
बालबालिकामा बढ्दो ‘नेफ्रोटिक सिन्ड्रम’ : औषधि महँगो, सेवा सीमित
म्याग्दी । तनहुँको दमौली निवासी दिपासा आले ‘नेफ्रोटिक सिन्ड्रम’ (पिसाबमा प्रोटिन चुहिने) समस्या भएका छोराको उपचारका लागि करिब दुई वर्ष काठमाडौँ धाइन् । पर्वतको जलजला गाउँपालिका–३ की चन्द्रकुमारी खत्री पनि ‘नेफ्रोटिक सिन्ड्रम’ भएकी छोरीको उपचारका लागि पछिल्लो दुई वर्ष हरेक तीन / तीन महिनामा काठमाडौँ पुगिन् । तनहुँकी आले र पर्वतकी चन्द्रकुमारी जस्तै देशभरका अभिभावक ‘नेफ्रोटिक सिन्ड्रम’ भएका बच्चाको उपचारका लागि संघीय राजधानी काठमाडौँका अस्पतालमा पुग्नुपर्ने बाध्यता छ । 'पोखरामा रोग पहिचान भए पनि विशेषज्ञ चिकित्सकको(बच्चाको मिर्गाैला र पिसाब रोग विशेषज्ञ) अस्पतालमा सेवा नभएकाले उपचार, औषधि र फलोअपका लागि काठमाडौं जानुपरेको हो,' चन्द्रकुमारीले भनिन् 'बच्चाको उपचारका लागि खानेपानी उपभोक्ता संस्थाको जागिर छाडेर दुई वर्ष काठमाडौँमा डेरा लिएर बसे ।' काठमाडौको त्रिवि शिक्षण अस्पताल, किष्ट, नेपाल मेडिकल कलेज, पाटन, कान्ति बाल र केही निजी बाल अस्पतालमा मात्र ‘नेफ्रोटिक सिन्ड्रम’सम्बन्धी विशेषज्ञ चिकित्सक र उपचार सेवा उपलब्ध छ । त्रिवि शिक्षण अस्पतालका बालरोग तथा बच्चाको मिर्गाैलासम्बन्धी विशेषज्ञ डा दमनराज पौडेलले उपचारका लागि आउने अधिकांश बिरामी उपत्यका बाहिरका भएका जानकारी दिए । 'शिक्षण अस्पतालमा महिनाको आठ दिन ओपिडि हेर्दा २० देखि ३० जना ‘निफ्रोटिक सिन्ड्रोम’का बिरामी हुन्छन्,' उनले भने 'हामी कहाँ आउने बिरामी बच्चाहरु मध्ये श्वाश प्रश्वासपछि सङ्क्रमण र पिसाबसम्बन्धी समस्या भएकाको सङ्ख्या बराबरी छ ।' नेपालमा दुई अङ्क भन्दा कमको सङ्ख्यामा रहेका बच्चाको मिर्गौलासम्बन्धी विशेषज्ञ चिकित्सकहरु सबै काठमाडौंमा छन् । के हो ‘नेफ्रोटिक सिन्ड्रम’ ? डा. पौडेलका अनुसार जनमानसलाइ बुझाउदा 'निफ्रोटिक सिन्ड्रम' मिर्गौलाबाट धेरै प्रोटिन चुहिने एक बिमार वा स्वास्थ्य समस्या हो । हालसम्म नेपाली नामाकरण भएको छैन । दुईदेखि छ वर्ष उमेर समूहका बच्चामा यो समस्या धेरै देखिने गर्छ । नगण्य मात्रामा एक वर्षभन्दा कम उमेरका बच्चा र १२ वर्ष सम्मका बालबालिकामा पनि यस्तो समस्या देखिने गरेको छ । 'मिर्गाैलाको जालीमा असर हुँदा पिसाबमा प्रोटिन धेरै मात्रामा चुहिएर शरीरका लागि आवश्यक पर्ने प्रोटिन पुग्दैन,' डा पौडेलले भने 'शरीरमा आवश्यकता भन्दा कम प्रोटिन हुँदा नशामा भएको पानी बाहिर निस्की शरीर फुल्न वा सुनिन थाल्दछ ।' नेफ्रोटिक सिन्ड्रम’का लक्षणहरू बच्चाको आँखाबाट सुरु गरेर पेट, खुट्टा र पूरा शरीर सुनिदै जान्छ । पिसाब कम हुँदै जाने र फिँज आउनु पनि थप लक्षण भएको डा पौडेलले बताए । वैज्ञानिकहरुले अध्ययन अनुसन्धान गरिरहेको भए पनि हालसम्म ‘नेफ्रोटिक सिन्ड्रम’(१ देखि १२ वर्ष मा लाग्ने) को कारण पहिचान यही हो भनिसकेका छैनन् । ‘भाइरल इनफेक्सन’ र एलर्जीका कारण मिर्गाैलाको जालीमा असर भएर प्रोटिन चुहिने चिकित्सकहरुको अनुमान छ । प्रोटिन चुहिँदा शरीरमा रोगसँग लड्ने क्षमता पनि कमजोर यस बिमारले बनाउँछ । एक वर्षभन्दा कम उमेरका बालबालिकामा हुने नेफ्रोटिक सिन्ड्रमको कारण वंशाणुगत मानिएको छ । बच्चाहरुको नियमित पिसाब परीक्षण, लक्षण देखिने वित्तिकै स्वास्थ्य परीक्षण, औषधि सेवन गर्ने हो भने ‘नेफ्रोटिक सिन्ड्रम’ निको हुन्छ । निश्चित समयपछि दोहोरिने जोखिम यस बिमारमा हुनसक्छ । बालरोग चिकित्सक वा बच्चाको मिर्गाैला रोग विशेषज्ञको सल्लाह अनुसार नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधिले काम गरेको खण्डमा भविष्यमा मिर्गाैला खराब हुने सम्भावना धेरै नै कम हुन्छ । ‘नेफ्रोटिक सिन्ड्रम’का बिरामीले प्रयोग गर्ने ‘प्रेड्निसोलोन’ नामको औषधि नेपालमा पाइन्छ । कहिलेकाँही दोहोरिएको खण्डमा त्यही औषधि छोटो समय लाई सञ्चो पार्न सकिन्छ । धेरैपटक बिमार फर्कदा ‘प्रेड्निसोलोन’ जस्तो औषधि लामो समय वा बारम्बार प्रयोगर्नुपर्ने हुन्छ जसले गर्दा उचाइ नबड्ने, मोतिबिन्दु, आँखाको प्रेसर बढ्ने, सुगर हुने, हड्डी खिइने जस्ता ‘साइड इफेक्ट’ देखिनसक्छ । बारम्बार भइराख्ने बच्चालाई ‘साइड इफेक्ट’ नहुने अरू औषधि प्रयोग गर्नुपर्ने हुन्छ, जुन नेपालमा सजिलैसँग पाइदैन । भारतबाट ल्याउन कहिलेकाँही धेरैनै कठीन र साथसाथै महँगो पर्न गएको नेफ्रोटिक सिन्ड्रमबाट बिरामी भएका म्याग्दीको मालिका गाउँपालिका–४ का ६ वर्षीय बच्चाका अभिभावक दुर्गा आचार्य गौतमले बताए । नेपालमा नपाइने औषधिलाई दर्ता गरेर सहज र उपचार सेवालाई प्रदेश स्तरसम्म विस्तार गरेमा उपचारमा सहज हुने उनले बताए । रासस