विकासन्युज

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।

स्ववियु आरआर क्याम्पसले भदौ २२ देखि भलिबल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । ‘सम्पूर्ण विद्यार्थीहरू एकजुट होऔं’ भन्ने नारा सहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘आरआर स्ववियु कप-२०८२’ अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी भदौ २२ गतेदेखि सुरु हुने भएको हो। ६ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता भदौ २२ देखि भदौ २७ गतेसम्म आरआर क्याम्पसको प्राङ्गणमा आयोजना हुनेछ । प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए ।  उनले भने, ‘भलिबलको माध्यमबाट विद्यार्थीबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवर्द्धन गर्ने उद्देश्य हाम्रो हो। यो प्रतियोगितामा देशभरबाट सहभागी हुने अपेक्षा गरेको छु।’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। देशका विभिन्न शैक्षिक संस्थाहरूबीच खेलकुदमार्फत सकारात्मक प्रतिस्पर्धा र पारस्परिक समझदारी विकास गर्न खड्काले बताए। ‘विद्यार्थीहरूमा नेतृत्व विकास, सहकार्य भावना र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले पनि प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ’, उनले भने। आरआर स्ववियु कप-२०८२ का लागि सहभागी टोलीहरूलाई २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।  विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा खेलकुदमार्फत विद्यार्थी एकताको सन्देश दिन खोजेको भन्दै सबै क्याम्पसका विद्यार्थीहरूलाई सहभागिताका लागि आह्वान गरिएको स्ववियु अध्यक्ष खड्काले बताए।

रिज लाइन इनर्जीले घोषणा गर्‍यो नगद लाभांश

काठमाडौं । रिज लाइन इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ करोड ७८ लाख ३५ हजार ७८९ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।  उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले भदौ ४ गते दिउँसो ३ बजे होटल हिमालय कुपण्डोल ललितपुरमा चौथो वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्नेछ ।  साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा रिक्त १ जना सञ्चालक चयन गर्नेछ ।  कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने र आईपीओबाट प्राप्त रकमको प्रयोग गर्ने प्रस्ताव पारित गर्नेछ । 

नेपाल एसबिआईले प्रधान कार्यालय सञ्चालन गर्न १० वर्षका लागि भवन भाडामा लिने

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले घर तथा भवन भाडामा लिने भएको छ । प्रधान कार्यालय सञ्चालनको लागि कानुनी बाधा अड्चन नभएको तथा व्यवसायीक दृष्टिकोणबाट उपयुक्त बहुतले भवन भाडामा लिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नक्साल, लाजिम्पाट, कमलादी, हात्तिसार, कमलपोखरी, ज्ञानेश्वर, बालुवाटार क्षेत्रमा उक्त भवन आवश्यक परेको हो । ३ हजारदेखि ४ हजार वर्ग फिटसम्म क्षेत्रफल भएको स्थान आवश्यकता भएकाले इच्छुकले १५ दिनभित्र प्रस्ताव पेस गर्न कम्पनीले आग्रह गरेको छ । घर आरसीसी फ्रेमस्ट्रक्चरको हुनुपर्ने, पानी, बत्ती, बाटोको व्यवस्था भएका हुनुपर्ने, सम्बन्धित निकायबाट घरको नक्सा पास भएको वा निर्माण सम्पन्न प्रमाणपत्र लिएको, सडक निर्माणको मापदण्डभित्र नपर्ने वा नभत्किने भएको हुनुपर्नेछ । घर भाडामा दिने न्यूनतम् समय अवधि १० वर्ष र त्यसपछि नवीकरण गर्न सकिने हुनुपर्ने कम्पनीले जनाएको छ । साथै, कम्तीमा ५ वटा गाडी र ३० वटा बाइक पार्किङ सुविधा भएको घरलाई विशेष ग्राहयता दिइनेछ ।

स्थानीय तहलाई बैंक खाता खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने

काठमाडौं । बैंकमा बैंक खाता खोल्नका लगि स्थानीय तहलाई नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने भएको छ ।  स्थानीय तह अन्तर्गतका विभिन्न निकायलाई वाणिज्य बैंकहरुमा खाता खोल्दा राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको हो । सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम स्थानीय तहको ‘ग’ समूह समिति, बोर्ड र कोषको खाता सञ्चालन गर्न राष्ट्र बैंकको अनुमति लिनुपर्दैन । यसअघि राष्ट्र बैंकको अनुमतिपछि मात्रै समिति, बोर्ड र कोष खाता सञ्चालन गर्नु पर्ने व्यवस्था थियो । 

टोपबहादुर रायमाझीसँग रास्वपा सभापतिको भेट, मुद्दा छिटो टुङ्गोमा पुर्याउन माग

काठमाडौं । नेपाल कम्युनिष्ट (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधिसभाका निलम्बित सांसद टोपबहादुर रायमाझीको मुद्दा छिटो टुङ्गोमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले माग गरेका छन् ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि हाल भद्र जेलमा थुनामा रहेका नेता रायमाझीलाई भेटेर सभापति भुसालले सो जोड दिएका हुन् । लामो समय मुद्दा अदालतमा विचाराधीन हुँदा अर्घाखाँची प्रतिनिधि विहीन भएकाले दोषी वा निर्दोष जे भए पनि फैसला चाँडै आएमा जिल्लाको समग्र विकास निर्माणको काममा सहजता हुने उनको भनाइ छ । ‘एउटा निर्वाचित जनप्रतिनिधिलाई पुर्पक्षमा यति लामो समय जेल हाल्दा अर्घाखाँचीलाई प्रत्यक्ष प्रभाव पर्यो । जिल्लावासीको नाताले म आग्रह गर्छु फैसला छिटो होस्,’ सभापति भुसालले भने ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा रायमाझीका प्रतिस्पर्धी रहेका भुसालले तेस्रो स्थान हासिल गरेका थिए । केही दिनअघि नेकपा (माओवादी केन्द्र) नेता जनार्दन शर्माले रायमाझीलाई भद्र जेलमा भेटेर रायमाझीमाथि राजनीतिक पूर्वाग्रह भएकाले चाँडै फैसला भई रिहाइ हुने अपेक्षा व्यक्त गरे । जिल्ला अदालत, काठमाडौंमा विचाराधीन रायमाझीको सो मुद्दामा जाहेरी वाला र साक्षीको बकपत्र (बयान) सकिएको छ भने यही साउन १८ गतेका लागि पेसी तोकिएको छ । उक्त प्रकरणमा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौंले पक्राउ पुर्जी जारी गरी २०८० वैशाख ३१ गते पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौँको एकल इजलासले २०८० असार १ गतेको फैसलाबाट रायमाझीसहितलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

दिसामा पाइने कीटाणु भेटिएपछि ५ पानी उद्योगमा तालाबन्दी

काठमाडौं । दिसामा हुने कीटाणु ‘कोलिफार्म’ भेटिएपछि भक्तपुरमा पानी उद्योगको अनुगमन तीव्र पारिएको छ । बिक्री वितरणमा प्रतिबन्ध लगाएको चाँगुनारायण नगरपालिका-३ झौखेलमा सञ्चालित ५ पानी उद्योगले अटेर गरी खानेपानी बिक्री गरेको पाइएपछि नगरपालिकाले ५ उद्योगमा तालाबन्दी गरेको छ । प्रतिबन्ध लगाएको कम्पनीले पानी बिक्री गरिरहेको गुनासो गरेपछि आइतबार नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको टोली, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ लगायतका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरी ती उद्योगमा तालाबन्दी गरेको हो । अनुगमन टोलीले अक्वा कर्णाली खानेपानी उद्योग, जय छुमा गणेश खानेपानी उद्योग, ओके मिनिरल वाटर प्रालि, झौखेल खानेपानी उच्च वेभरेज प्रालि, एसएन टप वेभरेज प्रालि, ओके मिनिरल वाटर खानेपानी उद्योग र झौखेल खानेपानी उद्योगमा अनुगमन टोलीले तालाबन्दी गरेको हो । पानी पिउन योग्य छ भनेर ल्याब परीक्षणको ‘रिपोर्ट’ नआएसम्म बिक्रीमा रोक लगाएको पानी कम्पनीले त्यसलाई अटेर गर्दै पानी बिक्री गरेको र अरू कम्पनीको ‘स्टिकर’ टाँसेर पानी बिक्री गर्दै आएको पाइएपछि तालाबन्दी गरिएको उपप्रमुख बुढाथोकीले बताए । अनुगमनमा भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर प्रालि, इच्छा कामना वेभरेज प्रालि, हेरिटेज वेभरेज प्रालि लगायतको पनि अनुगमन गरी पानीको गुणस्तर जाँच गर्न पानीको नमूना सङ्कलन गर्नका साथै स्थानीय तहमा दर्ता तथा नवीकरण नगरेका पानी उद्योगलाई एक साताभित्र दर्ता एवं नवीकरण गर्न निर्देशन दिएको उपप्रमुख बुढाथोकीले बताए । चाँगुनारायण नगरपालिका-३ झौखेलमा सञ्चालनमा रहेका केही खानेपानी उद्योगले बिक्री-वितरण गर्दै आएको खानेपानीमा मानवीय स्वास्थ्यका लागि हानि कारक इकोली, कोलिफार्म, एमोनिया लगायत तत्व पाइएको थियो । नगरपालिकाको निर्देशनको अवज्ञा गर्ने उद्योगलाई नियमानुसार कानुनी कारबाही गरिने छ । झौखेलमा २२ पानी उद्योग मात्रै स्थानीय नगरपालिकामा दर्ता गरे पनि अन्य धेरैले दर्ता तथा नवीकरण नगराएको पाइएकाले एक साताभित्रै सबै उद्योगलाई दर्ता एवं नवीकरण गर्न निर्देशन दिइएको छ । उपप्रमुख बुढाथोकीले पानी बन्द गर्ने कुनै नियत नभएको तर भक्तपुरलगायत काठमाडौं उपत्यकामा उद्योगले शुद्ध पानी मात्रै बिक्री गरून् भनेर अनुगमन गरिएको बताए । उनले चाँगुनारायण नगरपालिकाको ल्याबमा पानी परीक्षण गरी बिहीबारसम्म आउने रिपोर्टमा पुनः कोलिफार्म भेटिए तालाबन्दी गर्ने र शुद्ध भेटिए बिक्री गर्न अनुमति दिने बताए ।

१५ अर्बको धान चामल आयात, ४३ करोडको कोदो र फापर भित्रियो

काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात भएको छ ।  अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आवमा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको थियो ।  कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवमा अघिल्लो आवको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको जानकारी दिए । गत आवमा धान मात्रै नभएर चामल आयातमा पनि वृद्धि भएको छ । आव २०८१/८२ मा २ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ करोड ४८ लाख १३ हजार ५३१ किलो चामल आयात भएको छ । अघिल्लो आवमा १ अर्ब ७३ करोड रुपैयाँ बराबरको १ करोड ३२ लाख ४१ हजार ३७६ किलोग्राम चामल आयात भएको थियो ।  अघिल्लो आवको तुलनामा गत आवमा मूल्यको आधारमा ४० प्रतिशतले चामल आयात बढेको छ । गत आर्थिक वर्षमा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको १३ करोड ९६ लाख ५९ हजार ६२१ किलो मकै आयात भएको छ । जबकी अघिल्लो आवमा ५ अर्ब ५९ करोड रुपैयाँ पर्ने १२ करोड ९९ लाख १८ हजार १७३ किलोग्राम मकै आयात भएको थियो ।  गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँ बराबरको ९१ लाख ९२ हजार ९८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ । जबकी अघिल्लो आवमा ४३ करोड रुपैयाँ बराबरको ८४ लाख ९५ हजार ४४५ किलोग्राम फापर, कोदो, र अन्य खाद्यान्न आयात भएको थियो । त्यसैगरी गत आवमा ४ करोड मूल्य बराबरको ८ लाख ४७ हजार ७८० किलोग्राम कनिका आयात भएको छ ।