१२ लाख ठगेर भागेका राजन केसी जेल चलान
काठमाडौं, १२ साउन । १२ लाख रुपैंयाँ ठगी गरेर फरार भएका ललितपुर इमाडोलका राजन केसी जेल चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरि केसीलाई जेल पठाएको हो । केसीले अनिता बुढाथोकीलाई जग्गा बैनाको नक्कली कागजपत्र देखाई १२ लाख रुपैंयाँ लिएर भागेका थिए । पीडित बुढाथोकीको उजुरीमा प्रहरीले केसी विरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका थियो । सो मुद्धामा जिल्ला अदालत काठमाडौंले केसीलाई २०७२ माघ ३ गते १२ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो । फरार रहेका केसीलाई सिआइबीको टोलीले बुधबार पक्राउ गरि अदालत बुझाएको थियो । अदालतले फैसला कार्यान्वयनका लागि केसीलाई जेल पठाएको हो ।
केन्द्रीय दैवीप्रकोप समितिलाई ७५ करोड निकासा, बाढी/पहिरोमा दर्जनौंको मृत्यु
काठमाडौँ, १२ साउन । लगातारको वर्षातले देशका विभिन्न भू–भागमा आएको बाढी, पहिरो र डुबानले उत्पन्न सङ्कटलाई तत्काल सम्बोधन गर्न सरकारले ७५ करोड निकासा गर्ने निर्णय गरेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले घटनाबाट पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि तत्काल सो रकम सम्बन्धित जिल्लामा निकासा गर्ने निर्णय गरेको हो । बाढी, पहिरोका घटनामा पीडितको उद्धार र राहतका लागि समन्वयात्मक र तदरुपताका साथ कार्य गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै बैठकले घटनाको उद्धार, राहत र नदीको कटान, सम्भावित ठाउँमा तटबन्ध भत्काउने खतरा भए ती ठाउँमा तत्काल प्राथमिकताका साथ काम गर्न आग्रह गरेको छ । उक्त कार्यका लागि रकमको अभाव हुन नदिन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषबाट केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई रकम निकासा गरी सम्बन्धित क्षेत्रमा प्राथमिकताका आधारमा परिचालन गरिने जनाइएको छ । बैठकमा गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले विपद्का बेला उद्धार, राहत र पुनःस्थापनाका लागि बजेटको अभाव हुन नदिन तत्कालै केन्द्रीय दैवीप्रकोप समितिमा रकम जम्मा गरिने बताए । “जहाँजहाँ बाढी पहिरोको समस्या छ, विस्थापित जनतालाई सार्वजनिक स्थानमा आश्रय दिलाउने र त्यो नभए पालको व्यवस्था गरी पीडितलाई स्थापित गर्नुप¥यो, यसमा पनि अपाङ्ग, असहाय तथा गर्भवती महिलालाई प्राथमिकता दिनुस्”–उनले भने । बैठकले बढी प्रभावित स्थानमा सम्भावित झाडापखाला र महामारीको खतरा हुन नदिन स्वच्छ पिउने पानीको आपूर्ति र आवश्यक खाद्यान्न र स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । प्रभावित क्षेत्रमा सडकको पहुँच नभए हवाई यातायातबाट पनि अत्यावश्यक वस्तु खाद्यान्न, औषधिलगायतका पु¥याउन तथा घटनासँग सम्बन्धित सत्यतथ्य सूचनाको सरकारी र निजी क्षेत्रका सञ्चारमाध्यमसँग समन्वय गरी जनतालाई विश्वसनीय सूचना प्रवाह गर्न पनि बैठकले आग्रह गरेको छ । उपप्रधानमन्त्री रावलले सङ्कटका बेला सुरक्षा खतरा हुनसक्ने भन्दै सुरक्षा निकायले सचेतनापूर्वक तयारीका साथ कार्ययोजना अघि बढाउन निर्देशन समेत दिए । बैठकले विपद्का बेला उद्धार, राहत र पुनःस्थापनामा एकीकृत ढङ्गले काम गरिरहेका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयात्मक कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरेको छ । बैठकमा उपप्रधानमन्त्री रावलले भू–उपयोग नीतिको व्यावहारिक कार्यान्वयनको अभावले पनि बढी विपत्तिका घटना हुने गरेको भन्दै यसको प्रभावकारी कार्यान्वयनका लागि नीतिगतरुपमा व्यवस्था गर्न सरोकारवालालाई आग्रह गरे। बैठकमा मुख्यसचिव डा सोमलाल सुवेदीले विपद्का बेला कुनै पनि बहानामा बजेटको अभाव हुन नदिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले नियमित बजेटअनुरुप खर्च गर्ने क्षमतामा मन्त्रालय रहेकाले सबै मन्त्रालयले अख्तियारी ल्याउन आग्रह गरे। बैठकमा उपप्रधानमन्त्री रावल, मुख्यसचिव डा सुवेदी, गृहमन्त्रालयका सचिव नारायणगोपाल मलेगो, सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियासहित विभिन्न मन्त्रालयका सचिव तथा मातहत विभागका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका विभिन्न जिल्लामा २८ जनाको मुत्यु, १० जना घाइते, २४ जना बेपत्ता भएका छन् भने ७५ वटा घरमा पूर्ण र दुई वटा घरमा आंशिक क्षति भएको छ । रासस
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बैतडी, १२ साउन । दार्चुलामा एक यार्सा व्यापारीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार दार्चुला सिप्टी–३ होपरीका जमनसिंह महता रहेका छन् । प्रहरीले महताको शव दार्चुलाको घुषा गाविस–८ धनबोहरा भन्ने स्थानबाट ५०० मिटर तल चमेलिया नदी किनारमा फेला परेको हो । यसअघि मङ्गलबार प्रहरीले दार्चुलाको घुषा गाविस–८ धन बोहरा भन्ने स्थानमा पेस्तोल, पाँच राउन्ड गोली, रगतले लत्पतिएको अवस्थामा चक्कु, एक तोला यार्सा, सतुवा एक किलोग्राम रु नौ लाख ९९ हजारलगायतका सामग्री फेला पारेको थियो । मङ्गलबार खण्डेश्वरीका स्थानीय कमल रोकायाले दिएको जानकारीका आधारमा प्रहरीले उक्त स्थानबाट सामग्री बरामद भएको बताएको छ । यस्तै मङ्गलबार घटनास्थलबाटै हत्या गरिएका सिप्टी–३ होपरीका जमनसिंह महताको नाममा जारी भएको यार्सा सङ्कलन परिचयपत्रसमेत फेला परेको थियो । परिचयपत्र फेला परेपछि तथा चक्कुमा रगत लत्पतिएको अवस्थामा प्रहरीले महताको हत्या भएको हुनसक्छ भनेर खोजी कार्य गरेको थियो । प्रहरीले महताको खोजबिन गर्दा मङ्गलबार बरामद गरिएको सामग्रीबाट ५०० मिटर तल चमेलिया नदी किनारमा आज हत्या गरिएको अवस्थामा शव भेट्टिएको हो । प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौर नेतृत्वको एक टोली अहिले घटनास्थलतर्फ गएको छ । घटनास्थल पुगेपश्चात मात्रै घटनाको थप विवरण आउने प्रहरी नायब उपरीक्षक राठौरले बताए । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्दछ । रासस
सेयर बजारका साना लगानीकर्ता जोखिममा, बजार बढ्नुको औचित्य छैनः डा. कार्की
काठमाडौं, १२ साउन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सेयर बजारका साना लगानी कर्ता जोखिममा रहेको बताएका छन् । बुधबार बोर्डले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने–‘बजार निन्तर बढिरहेको छ, ठुला लगानी कर्ता धमाधम सेयर बेचिरहेका छन, नयाँ र साना लगानी कर्ता जोखिममा पर्ने खतरा बढिरहेको छ ।’ कुनै पनि आर्थिक परिसूचकले सेयर बजारमा भैरहेको निरन्तरको वृद्धिलाई पुष्टि गर्ने आधार नभएको उनले बताए । ‘वर्तमान अर्थतन्त्रको कुनै पनि परिसूचकले सेयर बजार यसरी बढ्ने अवस्था देखाउँदैन तर पनि बजार बढिरहेको छ, पैसा आकाशबाट फल्दैन, फेरी पनि लगानी बढिरहेको छ, यो ठुलो चिन्ताको विषय हो’, डा. कार्कीले भने । उनले सेयर बजार बढ्नुमा बोर्डलाई खासै आपक्ति नभएपनि हचुवाका भरमा लगानी कर्ता तानिएकोले आफुहरुलाई चिन्तित बनाएको स्पष्ट पारे । ‘साक्षरता ७० प्रतिशत पुग्यो तर वित्तिय साक्षरता निकै कम छ, त्यसैले जोकोहीले हचुवाका भरमा सेयर बजारमा लगानी गरिरहेका छन्’, डा. कार्कीले भने । उनले ठुला लगानी कर्ता बजारबाट बाहिरिसकेको बताउँदै साना लगानी कर्तालाई डुब्न नदिन बोर्डले बिशेष सतर्कता अपनाईरहेको पनि बताए । ‘ठुला लगानी कर्ता धमाधम सेयर बेचिरहेका छन, नयाँ र साना लगानी कर्ता बजारमा ओइरिएका छन, त्यसैले बजारमा जोखिम बढेको अनुभुति भएको छ’, डा. कार्कीले भने । तरलता, बैंकको न्युन ब्याजदर तथा लगानीका उपयुक्त अवसर नपाएकाले लगानी कर्ता सेयर बजारमा होमिएको बताउँदै उनले यद्यपी बजारको वृद्धिदर अश्वभाविक नै भएको दावी गरे । ‘तरलता, न्युन ब्याजदर र लगानीको उपयुक्त विकल्प नभएर सेयर बजार बढेको भनिएको छ, तर बजार वृद्धिको यो साइजलाई यी तर्कहरुले पुष्टि गर्न सक्दैनन’, डा. कार्कीले भने । उनले छोटो समयमै नेप्से परिसूचक ९ सय अंकले बढ्नुलाई आश्चर्यको बिषय भएको पनि स्पष्ट पारे । सूचिकृत कम्पनीकै मिलेमतोमा इनसाइडर ट्रेडिङ बोर्डका अध्यक्ष कार्कीले सूचिकृत कम्पनीहरुकै मिलेमतोमा बजारमा इनसाइडर ट्रेडिङ भैरहेको आरोप पनि लगाए । कम्पनीका सञ्चालक समिति सदस्यहरुले महत्वपुर्ण निर्णय ब्रोकरलाई सुनाएर रातारात सबै सेयर आफन्तलाई किन्न लगाउँदै आएको उनको आरोप छ । ‘सूचिकृत कम्पनीका सञ्चालकहरुले महत्वपुर्ण निर्णय हुने वित्तिकै ट्वाइलेटबाट ब्रोकरलाई फोन गरेर भनिदिन्छन र आफन्तका नाममा सेयर किन्छन्’, डा. कार्कीले आरोप लगाए ।
लगानी बोर्डको सदस्यमा सिएनआई अध्यक्ष हरिभक्त शर्मा नियुक्त
काठमाडौं, १२ साउन । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष हरिभक्त शर्मा नेपाल लगानी बोर्डको सदस्यमा नियुक्त भएका छन् । लगानी बोर्डको हालै बसेको बैठकबाट उनी उक्त बोर्डको सदस्यमा नियुक्त भएका हुन् । परिसंघका अध्यक्ष शर्मा व्यवसायिक रुपले उद्योगपति भएपनि पूर्वाधार विकास, औद्योगिकीकरण र समष्ठिगत अर्थतन्त्रका बारेमा गहन अध्ययन गर्ने प्राज्ञिक व्यक्तित्व पनि हुन् । उक्त बोर्डमा अध्यक्ष शर्माको प्रतिनिधित्वबाट निजी क्षेत्रको प्रवद्र्धन, प्रत्यक्ष बैदेशिक लगानीको आकर्षण, मुलुकको पूर्वाधार विकास र विस्तारमा थप सहयोग पुग्ने परिसंघले जनाएको छ ।
नेप्से परिसूचक दोहोरो अंकले बढ्दा होटल समूह १९५ अंकले उकालो
काठमाडौं, १२ साउन । बजारमा नेप्से परिसूचक निरन्तर बढ्ने क्रम जारी छ । मंगलबार २८ अंकले बढेको परिसूचक बुधबार पनि १४ अंकले बढेको छ । बुधबार परिसूचक १४ अंकले बढेर १८८१ अंकमा पुगेको छ । सो दिन १४८ कम्पनीको ४३ लाख ८५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ । बुधबार सबैभन्दा बढी होटल समूहको परिसूचक १९५ अंकले उकालो लागेको छ । त्यस्तै हाइड्रोपावर, विकास बैंक, बैकिङ र फाइनान्स समूहको परिसूचक क्रमशः ४५, ३३, १५ र ५ अंकले बढेका छन् । बीमा, उत्पादनमूलक र अन्य समूह भने क्रमशः २३, १३ र ७ अंकले ओरालो लागेका छन् । बजारमा ९ वटा कम्पनीको सेयर मूल्य करिब १० अंकले बढेको छ । सबैभन्दा बढी लुम्बिनी फाइनान्सको १० प्रतिशतले सेयर मूल्य बढेको छ । माउन्ट मकालु डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, तारागाँउ रिजेन्सि होटल, सिन्धु विकास बैंक, प्रोगेसिभ फाइनान्स, गुडविल फाइनान्स कम्पनी, यूनाइटेड फाइनान्स र सोल्टी होटलका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंक लि. प्रमोटर सेयरका लगानीकर्ताले साढे ९ प्रतिशत गुमाएका छन् । बजारमा नेपाल बैंकको सबैभन्दा बढी ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक र प्राइम कमर्सियल बैंकको ८ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । अन्य कम्पनीको ७ करोड भन्दा थौरै रुपैयाँको सेयर कारोबार भएको छ ।
वेष्टर्न डेभलपमेन्ट बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त
काठमाडौं, १२ साउन । वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले अंकित दरको १५ लाख ६९ हजार ६०० कित्ता सेयर १ बराबर १ को अनुपातमा हकप्रद साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नकोलागि कमलादीमा रहेको सो बैंकलाई नियुक्त गराएको हो । सो शेयर निष्काशन सम्झौतामा बैंकको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत खिम बहादुर डि.सी. र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट महाप्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् ।
१६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, एक्सेलको बोनस सूचिकृत
काठमाडौं, १२ साउन । बुधबार मात्र करिब १६ लाख ३८ हजार २४५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्रिभेणी विकास बैंकको १३ लाख ७३ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब त्रिभेणी विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ । त्यस्तै, हामा मर्चेन्ट एण्ड फाइनान्सको २ लाख ६५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस फाइनान्सको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ । सोही दिन एक्सेल डेभलपमेन्ट बैंकको ५ लाख २६ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।