विकासन्युज

लघुवित्तको ब्याजदर कार्यान्वयनमा राष्ट्र बैंक र बैंकर्सको जुहारी

काठमाडौं, १२ साउन । लघुवित्त संस्थाहरुले नेपाल राष्ट्र बैंकले हालै ल्याएको नीति कार्यान्वयन नगर्ने चेतावनी दिएका छन् । लघुवित्त संस्थाले प्रदान गर्ने कर्जाको ब्याज अत्यन्तै महंगो भएको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्नभन्दै राष्ट्र बैंकले ल्याएको लागत (कष्ट अफ फण्ड) को ७ प्रतिशत अन्तर (स्प्रेड) मा कर्जा दिनुपर्ने ब्यवस्था कार्यान्वयन नगर्ने चेतावनी दिएका हुन् । लागतको ७ प्रतिशत स्प्रेडमा कर्जा दिदा संस्था नै चल्न नसक्ने भन्दै लघुवित्त कम्पनीहरुको संस्था नेपाल लघुवित्त बैकर्स एसोसिएसनले कार्यान्वयन गर्न नसक्ने जानकारी नेपाल राष्ट्र बैंकलाई गराइ सकेको छ । आफूहरुको संचालन खर्च अधिक भएकोले त्यति स्प्रेडमा काम गर्न नसकिने संघको भनाइ छ । ‘हाम्रो संचालन खर्च साढे १० प्रतिशत जति छ, ७ प्रतिशतको स्प्रेडमा काम गर्नुपर्ने हो भने नाफा त परै जाओस्, संस्था नै चल्न सक्दैन,’ संघका अध्यक्ष धर्मराज पाण्डेले भने । स्प्रेड कम भएपति त्यसलाई बढाउन संघले लबिङ गरिरहेको छ । अहिले अधिकांश लघुवित्त संस्थाले गरिबलाई दिने कर्जाको ब्याजदर २० प्रतिशतभन्दा माथि छ । यस्तो कर्जाको सवैभन्दा कम ब्याज भनेको १६ प्रतिशत हो । जवकि लघुवित्त संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुवाट लिने रकमको लागत (कष्ट अफ फण्ड) ६ प्रतिशतको हाराहारीमा देखिएको अध्यक्ष पाण्डेले जानकारी दिए । पाण्डेले दिएको जानकारी अनुसार लघुवित्त संस्थाहरुले ६ प्रतिशतको लागतमा रकम ल्याएर २० प्रतिशतमा लगानी गरिरहेका छन् । यसको अर्थ लघुवित्त संस्थाहरुले १४ प्रतिशत स्प्रेड खाइरहेका छन् भन्ने नै हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत यस्तो स्प्रेड ७ प्रतिशतभन्दा माथि हुन नपाइने ब्यवस्था गरेपछि लघुवित्त संस्थाहरुको दौडधुप सुरु भएको हो । नेपाल राष्ट्र बैंकले भने ७ प्रतिशतको स्प्रेड परिवर्तन नहुने प्रष्ट पारेको छ । ‘६ प्रतिशत लागतमा पैसा ल्याएर २४ प्रतिशतसम्ममा लगानी गरिरहेका छन्, ७ प्रतिशत स्प्रेडमा मज्जाले काम गर्न सकिन्छ, नसक्नेले बन्द गरेर गए हुन्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । स्प्रेड बढाउनको लागि लघुवित्त संस्थाहरुले लविङ गरेका भएपनि संसोधन हुने कुनै अवस्था नरहेको ती अधिकारीको भनाइ छ । ‘केही समय यही दर नै लागू हुन्छ, केही महिना हेरौं, त्यसपछि संसोधन गर्दा हुने देखियो भने यो दरभन्दा कम हुने गरी संसोधन गरिन्छ,’ ती अधिकारीले भने ।

काठमाडौंको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’, साउन २२ गते हुँदै

काठमाडौं, १२ साउन । आगामी साउन २२ गते शनिबार राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ हुने भएको छ । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा हुने उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ३० वटा अफरोड डर्ट बाइक राइडरको सहभागिता रहने छ । तिनकुनेमा निर्माण गरिने करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गर्ने छन् । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन गरिने उक्त च्याम्पियनसिपमा भाग लिने खेलाडीहरुलाई समेत रेसिङ सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र निर्देशन प्रदान गरिने छ । च्याम्पियनसिपका बिजेताहरुलाई नगद, सिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने छ । अफरोड राइड रुचाउने बाइक राइडरहरुका लागि यो एउटा उपयुक्त प्लेटफर्म हुने र यसको माध्यमबाट उनीहरुका लागि अन्तर्राष्ट्रिय लेभलको प्रतियोगितामा समेत सहभागी हुने ढोका खुल्ने छ । नेपाल जस्तो कठीन भौगोलिक बनोट भएको देशमा यस प्रकारको इभेन्टले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली युवाहरुका बीचमा अत्यन्तै लोकप्रिय एसिया विङ अन्तर्गतको क्रसफायर बाइकको मूख्य प्रायोजनमा हुने उक्त च्याम्पियनसिपको अन्य प्रायोजकमा यूएम बाइक, टीभीएस टायर, रेडबुल लगायत रहेका छन् । उक्त च्याम्पियनसिपको प्रमोसनल पार्टनर नेपाल अटो इन्फो, म्यगेजिन पार्टनर अटोमोबाइल मासिक, इभेन्ट पार्टनर नेपाल कल्चर एन्ड एड्भेन्चर इभेन्ट र ट्राभल पार्टनर फुटमार्क ट्राभल एन्ड एड्भेन्चर्स रहेका छन् । जिल्ला खेलकुद विकास समिति काठमाडौं र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत सहयोग रहेको उक्त च्याम्पियनसिपले अफरोड बाइक राइडिङको क्षेत्रमा नयाँ पहिचान स्थापना गर्ने विश्वास गरिएको इभेन्ट म्यानेजर सन्तोष न्यौपाने बताउछन् ।

काठमाडौंमा थप एक हजार सौर्य सडकबत्ती जडान गरिँदै

काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकालाई झिलीमिली बनाउने उद्देश्यका साथ एक हजार ८५ सौर्यबत्ती जडान गरिने भएको छ । आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलीमिली गराउनका लागि सौर्य बत्ती जडान गर्न लागिएको काठमाडौँ महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीले बताए । प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्ती जडान गर्न पहिलो चरणका लागि अहिलेसम्म तीनवटा कम्पनीले फारम भरेका छन् । पहिलो चरणका लागि नाम छनोट भएकामा विके ट्रेडर्स सप्लायर्स, होल ट्रेडर्स र कृष्ण ग्रिल एन्ड इन्जिनियर नाम गरेका कम्पनीले निवेदन दिएका छन् । दोस्रो चरणको छनोटबाट भने तीनबाट एकवटा कम्पनी छनोटमा पर्नेछ । दोस्रो चरणका लागि छनोट भएको कम्पनीले नै सौर्य ऊर्जा जडानको सबै काम गर्ने जिम्मा पाउने जानकारी कामपाले दिएको छ । त्यसका लागि एक महिनाको बोलपत्र आह्वान गरिएको छ । काठमाडौंँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमका लागि कामपाले पहिलो चरणका लागि गत जेठ २७ गते सूचना बोलपत्र आह्वान गरेको थियो । सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल तथा क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सौर्यबत्ती राखिनेछ । त्यस्तै, सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो चरणमा चारसय खम्बा गाडिने कामपाको भनाइ छ । त्यस्तै, दोस्रोे चरणमा दरबारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी सडक तथा गौशालामा सौर्यबत्ती राखिनेछ । यसैगरी, ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार र पुतलीसडकमा तीनसय सौर्यबत्ती जडान गरिनेछन् । महानगरले पहिचान गरेको तेस्रो चरणमा ३८५ खम्बा राखिनेछ । सो चरणअन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने–कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्ल चोकसम्म सौर्य बत्ती जडान गरिने बताइएको छ । रासस

नारायणीको बाढीले २८ घर डुबानमा, दुई घरमा क्षति

काठमाडौं, १२ साउन । नारायणी नदीमा आएको उच्च बहावसहितको बाढीले पश्चिम चितवनको मङ्गलपुर क्षेत्रका २८ घर डुबानमा परेको छ । यस्तै दुई घरमा क्षति पुगेका छ भने सयौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ । गएराति विपद् समितिका पदाधिकारीसहित नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेर उनीहरुलाई उद्धार गरिएको हो । विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार मङ्गलबार राति नारायणी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि पुगेर १०.३ मिटर भएको थियो । यहाँ ८.४ मिटर बाढीको सतहलाई खतराको सङ्केत मानिन्छ तर अहिले खतराको सङ्केत समेत नाघेर बाढी उच्च भएपछि बनदी वरपरका धेरै ठाउँमा डुबान भएको हो । चितवनका प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार पश्चिम चितवनको मङ्गलपुरस्थित शरणपुर र झनझनेको डुबानमा परेका २८ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै सोही क्षेत्रमा रहेको मदरसामा समेत बाढी पसेपछि ६० जना बालबालिकालाई समेत अन्यत्र सारिएको कुँवरले बताए । मङ्गलपुरकै दुई घरमा बाढीले क्षति पु¥याएको छ । उनका अनुसार भरतपुर बाह्रघरेमा रहेको हाम्रो घरमा समेत बाढी पसेकाले त्यहाँ आश्रित बालकलाई समेत सुरक्षित स्थानमा सारिएको समितिले जनाएको छ । यसैगरी पश्चिम क्षेत्रमा पर्ने गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान सुरु भएको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए। गोलाघाटमा ड्याममा क्षति पु¥याएकाले अस्थायी मर्मत गरिएको छ । बाढी अवलोकनका लागि नारायणीपुलमा मानिसको भीड बढेपछि प्रहरी परिचालन गरेर चितवनको नारायणी पुलमा बसेर हेर्न समेत रोक लगाएको छ । बुधबार बिहान भने बाढीको सतह घढ्दो क्रममा छ । अहिले बाढी घटेर आठ मिटरमा आएको जनाइएको छ । रासस

इपिएस कोरियाको परीक्षाफल प्रकाशित, तीन हजार ५१७ कोरिया जान पाउने

काठमाडौँ, १२ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत कोरियाली भाषा परिक्षामा तीन हजार ५१७ परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार उतिर्ण सबैले कोरिया जाने अवसर प्राप्त गर्नेछन् । कृषि तथा पशुपालनका क्षेत्रमा दुई हजार १४० तथा निर्माणका क्षेत्रमा एक हजार ३७७ परीक्षार्थी उत्तीर्ण भएका हुन । कोरियामा काम गर्न जान छनोट हुनका लागि भाषा परीक्षामा ६० हजार ६२६ परीक्षार्थीले आवेदन दिए पनि ५७ हजार १२० जना सहभागी थिए । कोरियाले नेपालबाट दक्ष तथा अनुभवी कामदार आफ्नो मुलुकमा लैजान भाषा परीक्षा लिएर योग्य उम्मेदवारलाई छनोट गर्दै आएको छ । यस वर्षसम्म सातौ पटक परीक्षा लिइएको थियो । (नतिजा हेर्न यहाँ क्लिक गर्नु होस)http://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en

ग्रामीण विकास बैंकले सीईओ माग्यो, तलव वार्षिक १७ लाख रुपैयाँ

काठमाडौं, १२ साउन । नेपाल ग्रामीण विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नयाँ नियुक्ती गर्ने प्रक्रिया अगाडि बढाएको छ । पाँच वटा क्षेत्रीय विकास बैंक मर्ज हुनुपूर्व भएको सम्झौता अनुसार नयाँ सीईओ नियुक्ती प्रक्रिया अगाडि बढाएको हो । पाँच वटा विकास बैंक मर्ज गर्दा मर्जपछि एक वर्षभित्र साधारणसभा गरेर सञ्चालक समिति चयन गर्ने, त्यसपछि खुला प्रतिस्पर्धाको आधारमा सीईओ नियुक्ती गर्ने सहमति अनुसार नयाँ सीईओ नियुक्ती प्रक्रिया अगाडि बढाएको वर्तमान सीईओ धर्मराज पाण्डेले विकासन्युजलाई जानकारी दिए । मर्ज भएका पाँच ग्रामीण विकास बैंक मध्ये नाफामा रहेको एक मात्र पश्चिमाञ्चल ग्रामीण विकास बैंकको सीईओ पाण्डेलाई मर्जपछिको नेपाल ग्रामीण विकास बैंकमा सीईओ बनाईएको थियो । नयाँ सीईओको लागि स्नातक पास गरेको, बैंक तथा वित्तीय क्षेत्रमा कम्तिमा ५ वर्ष कार्यकारी पदमा काम गरेको, ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । नयाँ सीईओको लागि वार्षिक १७ लाख रुपैयाँ बराबरको तलव र अन्य सुविधा हुने जनाईएको छ । भदौ ८ गतेसम्म आवेदन खुला गरिएको र आवेदक मध्येबाट पाँच जनालाई सर्ट लिस्टङ गरी अन्तरवार्तामा बोलाईने बैंकले जनाएको छ ।

४४ करोड मूल्य बराबरको परिवार नियोजनका साधन आयात, २६ करोडको कण्डम मात्र

काठमाडौं, १२ साउन । परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग बढेको छ । नेपालीले एकै बर्ष ४४ करोड ८४ लाख रुपैंयाँका त्यस्तो साधन प्रयोग गरेका छन् । त्यसमा पुरुषले २६ करोड १५ लाख रुपैंयाँ बराबरका साधन प्रयोग गरेका छन भने महिलाले १८ करोड ६९ लाख रुपैंयाँ बराबरका साधन उपयोग भएको छ । पुरुषले एक वर्षमा १२ लाख ४३ हजार किलो अस्थायी साधन प्रयोग गरेको देखिन्छ भने महिलाले २० लाख २३ हजार किलो अस्थायी साधन उपयोग भएको छ । पुरुषले सबै भन्दा धेरै कण्डम, प्यान्थर, ढाल प्रयोग गरेको देखिन्छ । महिलाका हकमा भने अस्थायी साधनका रुपमा निलोकन ह्वाइट, आइसीयुडी तथा बिभिन्न ट्याबलेटहरुको प्रयोग भएको देखिन्छ । आयात निर्यातको तथ्यांक राख्ने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तयार पारेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा सो मात्रामा परिवार नियोजनका अस्थायी साधन आयात भएको हो । नेपालले १९ करोड ६४ लाख रुपैंयाँ बराबरको ८ लाख १८ हजार किलो कण्डम तथा प्यान्थर र ढाल लगायतका पुरुषले प्रयोग गर्ने अस्थायी साधन भारतबाट भित्र्याएको छ । त्यस्तै, पाँच करोेड ९१ लाख रुपैंयाँ बरारबका महिलाले प्रयोग गर्ने २० लाख किलो साधन भारतबाट आयात गरेको छ । नेपालले ११ मुलुकबाट पुरुषले प्रयोग गर्ने कण्डम लगायतका साधन आयात गरेको छ । त्यसमा भारत, चीन, बंगलादेश, कोरिया, जापान, मलेसिया, सिंगापुर, नेदरल्याण्ड, थाइल्याण्ड, युके, र अमेरिकाबाट त्यस्ता समान भित्रिएका छन् ।महिलाले प्रयोग गर्ने ट्याबलेट लगायतका समानहरु १७ देशबाट ल्याइएका छन् । जर्मनी, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, हंगेरी, स्पेन, ताइवान, थाइल्याण्ड,इण्डोनेसिया, नेदरल्याण्ड, चीन, बंगलादेश, भारत, बेल्जियम, बेलायत र अमेरिकाबाट महिलाले प्रयोग गर्ने ल्याइएको छ ।

स्मार्टफोनको व्याट्री चाँडै सकिन्छ ? स्मार्टफोनको ब्याट्री चार्ज गर्दा नगर्नुस् यी ५ गल्ती

काठमाडौं, ११ साउन । स्मार्टफोनको ब्याट्री द्रुत गतिमा सकिने समस्या आम हुन्छ । अधिकाँश स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ । दिनभरी फोन चार्जमा राख्न सम्भव हुँदैन तर चार्ज सकिएपछि तनाव हुन्छ । यहाँ ब्याट्री चार्ज गर्दा गर्न नहुने ५ गल्ती र ब्याट्रीको लाइफ बढाउने तरिकाको चर्चा गरिएको छ । १- फोनलाई आधा ब्याट्री हुँदा नै चार्जमा राख्नुस् सके सम्म स्मार्टफोनमा आधा ब्याट्री हुँदा नै चार्ज गर्दा राम्रो हुन्छ । ५० प्रतिशत भन्दा माथि ब्याट्री भएको समयमा पुनः चार्ज गर्नु भो भने यसले ब्याट्रीको लाइफ बढाउन मद्दत गर्छ । २- फोनलाई चिसो राख्नुस् सके सम्म फोनलाई चिसो ठाउँमा राख्नुस् । गर्मी ब्याट्रीको दुश्मन हो । गर्मीले ब्याट्री छिटो सकिने मात्र होइन यसको आयु समेत घटाइ दिन्छ ।   ३- ब्याट्री पुरै सकिन नदिनुस् सके सम्म आफ्नो स्मार्टफोनको ब्याट्रीलाई पुरै सकिन नदिनुस् । ब्याट्रीलाई छोंटो छोंटो समयमा चार्ज गर्नुस् । यसो गर्दा ब्याट्रीको लाइफ बढ्छ । जिरो ब्याट्री पुर्‍याएर पुनः चार्ज गर्दा ब्याट्रीका लागि घातक हुन्छ ।   ४- आफ्नो चार्जर प्रयोग गर्नुस् स्मार्टफोनमा जनु पायो त्यही चार्जरबाट चार्ज गर्दा ब्याट्रीमा असर पुग्छ । कतिपय चार्जरले पट विगारिदिन्छन् भने कतिपयले ब्याट्रीको लाइफ नै । ५- फोन बन्द गरेर चार्ज गर्नु राम्रो फोन चार्ज गर्दा सके सम्म बन्द गरेर चार्ज गर्नुस् । बन्द गरेर ब्याट्री चार्ज गर्दा छिटो चार्ज हुने मात्र होइन ब्याट्री लाइफमा पनि बढोत्तरी हुन्छ ।