विकासन्युज

ब्रोकर कमिसन करिब ४० प्रतिशतले घट्यो, (धितोपत्र बोर्डको निर्देशन पत्रसहित)

काठमाडौं, ५ साउन । अर्थमन्त्रालयले सेयर ब्रोकर कम्पनीहरुको कमिसन करिब ४० प्रतिशतले घटाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिएको छ । मन्त्रालयको स्वीकृति पाएपछि बोर्डले आजै निर्णय गरेर सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिशन  घटाएको छ । । अब ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा शुन्य दशमलब ६ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । यसअघि ५० हजारसम्मको कारोबारमा एक प्रतिशत कमिसन लाग्दै आएको थियो । त्यस्तै, ५० हजारदेखि ५ लाखसम्मको सेयर कारोबारमा शुन्य दशमलब ५५ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ । यस अघि सो मात्राको कारोबारमा शुन्य दशमलब ९ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको थियो । त्यस्तै ५ लाखदेखि २० लाखसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ८ प्रतिशत कमिसनलाई पनि शुन्य दशमलब ५० प्रतिशतमा झारिएको छ । २० लाखदेखि एक करोडसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ७ प्रतिशत कमिसन पनि घटाएर शुन्य दशमलब ४५ प्रतिशत कायम गरिएको छ । एक करोड भन्दा बढिको कारोबारमा भने जम्मा शुन्य दशमलब ४ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । धितोपत्र बोर्डको बोर्ड बैठकले बुधबारै निर्णय अनुमोदन गरेर नेपाल स्टक एक्सचेञ्च(नेप्से)लाई पत्राचार गरेको छ । घटाईएको ब्रोकर कमिसन बिहिबारदेखि नै लागु हुनेछ ।

सुमेरु सेभिङ्गको १८औं वाषिर्कोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, ५ साउन । ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले आफ्नो स्थापनाको १८ औं वाषिर्कोत्सव मनाएको छ । सुमेरु सहकारी र लायन्स क्लव अफ काठमाडौं सुमेरुको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरी वाषिर्कोत्सव मनाइएको हो । लायन्स कल्वका गभर्नर कुमार सुवेदी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले संयुक्त रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जम्मा ५ सय ३९ जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रम “सुमेरुको सामाजिक अभियान गरौं रक्तदान गरौं जीवन दान” भन्ने नाराका साथ सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी र गैर सरकारी कार्यालयका पदाधिकारीहरुको उल्लेख उपस्थितीे रहेको थियो ।

सेयर बजारमा साढे १३ अंकको गिरावट, उत्पादनमूलक बाहेक सबै समूह ओर्लिए

काठमाडौं, ५ साउन । नेप्सेले समयाबधी थप गरेसँगै बजारमा उतार चढावको क्रम जारी छ । मंगलबार १३ अंकले बढेर १८०० अंकमा पुुगेको बजार बुधबार भने १३ दशमलब ६३ अंकले घटेर १७८६ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको ३४ लाख ७४ हजार कित्ता सेयर २ अर्ब १२ करोड ९१ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि करिब २ करोड बढीको गिरावट आएको छ । बुधबार उत्पादनमूलक समूह बाहेक अन्य सबै समूहको परिसूचक आरालो लागेका छन् । बजारमा सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक १२६ अंकले ओरालो लागेको देखिन्छ । होटल, अन्य, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ३५, १५, १२ र ११ अंकले घटेका छन् । विकास बैंक र फाइनान्स समूह भने सामान्य अंक क्रमशः ६ र १ अंकले झरेका छन् । बजारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको ३९ करोड ६९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको करिब १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक र एडिविएल बैंकको ७ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन ६ वटा कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । मिसन डेभलपन्ट बैंक र बोटलर्स नेपाल(तराई) का लागानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन् । त्यस्तै, किसान माइक्रोफाइनान्स वित्तिय संस्था, एडिबिएल, कैलाश विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । मिथिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।

एनबी इन्स्योरेन्सको शाखा गोंगबुमा पनि

काठमाडौं, ५ साउन । एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो १३औं शाखा काठमाडौंको गोंगबुमा खोलेको छ । बुधबार बैंकका संचालक समितिका सदस्य योगेश्वर शर्मा ढकालले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरिनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । कम्पनीका अनुसार निकट भविष्यमा कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराएको छ । त्यस्तै, कम्पनीका कार्यकारी प्रमुख श्रेष्ठले कम्पनीले आ.ब. २०७२/०७३ मा करिब २६ हजार बीमा लेखबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन का साथै करिब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका छन् । हालसम्म कम्पनीले १३ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ७ वटा सेवा काउन्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

बाढी पहिरोले द्वारीखोला हाइड्रोपावरमा करोडौँको क्षति

दैलेख, ५ साउन । दैलेखको द्वारीमा निर्माण सम्पन्न हुने तयारीमा रहेको ३.७५ मेगावाटको द्वारीखोला हाइड्रोपावरले बाढी र पहिरो आउँदा ठूलो क्षति बेहोरेको छ । पाइपलाइन र मुहान साइटमा पहिरो र बाढीले दुई करोड रुपैयाँकोको क्षति पुगेको निर्माण प्रवद्र्धक भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ । बत्ती परीक्षणको तयारी हुन दुई महिना बाँकी रहँदा बाढी पहिरोले क्षति पु¥याउँदा दैलेखवासी निराश भएका छन् । दसैँदेखि विद्युत्भार कटौतीमुक्त जिल्ला हुनेमा निश्चित रहेका दैलेखवासी हाइड्रोमा आएको बाढी पहिरोले निराश भएका हुन् । साइट इन्चार्ज सन्तोष कार्कीले असोजमा काम सकेर बत्ती बाल्ने कार्ययोजना केही दिनपछि धकेलिएको बताए । कम्पनीले द्वारीखोलाबाट २६ सय मिटर लम्बाइको नहर खनेर पाइपलाइनमार्फत एक किलोमिटर तल पानी झारेर पावरहाउसबाट विद्युत् निकाल्नेछ । यसरी द्वारीखोलाबाट निकालिएको विद्युत् ३२ किमी पोल गाडेर सदरमुकाममा रहेको सवस्टेसनमार्फत राष्ट्रिय लाइनमा जोडिने जनाइएको छ । मुहानमा बाढी र पाइप विछ्याउने तयारी रहेको ठाउँमा पहिरोले दुई करोड रुपैयाँकोको क्षति पुगेको आयोजना निर्माण कम्पनी भूगोल इनर्जी प्रालिका साइट इन्चार्ज कार्कीले जानकारी दिएका छन् । कार्कीले भने – “ठूलो पानी परेपछि बाढी र पहिरोले निर्माणस्थलमा क्षति गरायो । कम्पनीका अनुसार पाइप लाइन र ड्यामसाइटमा क्षति भएको छ ।” द्वारीखोला हाइड्रोपावरसँगै अन्य दुईवटा आयोजना निर्माण चरणमा भएपनि सुस्त गतिमा छन् । छिटो निर्माण कार्य सकेमा द्वारीखोला आयोजना दैलेख जिल्लामा ठूलो लगानीमा बत्ती बल्ने पहिलो हाइड्रो हुनेछ जसका लागि पावरहाउस, जेनेरेटर र टर्वाइन जडान, सवस्टेसनसम्म पोलहरु गाड्ने काम भइसकेका छन् । चीनबाट पाइप ल्याइएको हो भने भारतमा पावरहाउसमा जोडिने मेसिन ल्याइएको र निर्माणको काम भइरहेको द्वारीखोला हाइड्रोपावर कम्पनीका सञ्चालक समितिका सदस्य मोहनविक्रम कार्कीले बताए । सिभिल निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकलको कामसँगसँगै गरेर प्रगति राम्रो देखाएको थियो । कम्पनीले प्रभावित क्षेत्र द्वारी गाविसमा रु एक करोड रकम खर्च गरेर गाउँसम्म मोटरबाटो खनेको छ । कम्पनीले ४० रोपनी जग्गाको रु एक करोड क्षतिपूर्तिसमेत दिइसकेको छ । त्यस्तै, कम्पनीले विद्यालय, पुल, सडक, गोरेटो बाटोका साथै स्थानीयवासीलाई रोजगारीसमेत दिएको छ । रासस

राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर, प्लस टु पासले आवेदन दिन सक्ने

काठमाडौं , ५ साउन  ।  राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलला गरेको छ । गत वर्षकै प्रक्रियालाई निरन्तरता दिनेगरी बैंकले १०० जना थप गरी १ सय ९५ जना कर्मचारी भर्ना गर्न लागेको हो । गत वर्ष आवेदन दिएकाले यो वर्ष आवेदन दिनुपर्ने छैन । गत वर्षकै आवेदनले मान्यता पाउने बैंकले जनाएको जनाएको छ । बैंकले गत वर्ष महिला आवेदनका लागि ३५ वर्ष ननाघेका महिलाले आवेदन दिनसक्ने गरी विज्ञापन खुलाएको थियो । तर, ४० वर्षसम्मका महिलाले आवेदन दिन पाउनुपर्ने भन्दै अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो । अदालतले ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्ने फैसला गरेपछि कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको हो । अदालतको फैसलापछि बैंकले आफ्नो कर्मचारीसम्बन्धी नियमावली संसोधन गरेको छ । बैंकले ३ तहमा ७३ जना, ५ तहमा ४१ जना, ६ तहमा ७५ जना, ७ तहमा पाँच जना र ८ तहमा एक जना कर्मचारीका लागि आवेदन मागेको हो । नयाँ कर्मचारीले विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने छ । प्लस टु उतिर्णदेखि माथिल्लो शैक्षिक योग्यता भएकाहरुले आवेदन दिन सक्नेछन् ।

निर्जीबन बीमा ब्यवसाय २४ प्रतिशतले बृद्धि, कुन कम्पनीको बृद्धिदर कति ?

काठमाडौं, ५ साउन । गत आर्थिक बर्षमा निर्जीबन बीमा ब्यवसाय करिब २४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्कका आधारमा यस्तो बृद्धि देखिएको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा निर्जीबन बीमा ब्यवसायको बृद्धिदर २३ दशमलब ६२ प्रतिशत छ । अघिल्लो आर्थिक बर्षमा निर्जीबन बीमा कम्पनीहरुले ११ अर्ब ३१ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकामा गत आर्थिक बर्षमा १३ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ शुल्क आर्जन गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ७३ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ५३ करोड ८ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ३८ दशमलब ५५ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । ओरेन्टल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ६९ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ५९ करोड ९७ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा १६ दशमलब १६ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । नेसनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ७२ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ६८ करोड ४५ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ५ दशमलब ६५ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब ५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ८४ करोड ५३ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा २५ दशमलब ११ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ५६ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ९६ करोड ४० लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ४१ दशमलब ६७ प्रतिशतले बीमा शुल्क आर्जन घटाएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा १८ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ११ करोड रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ६३ दशमलब ७८ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ९१ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ५३ करोड १२ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ७१ दशमलब ५८ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा शुन्य दशमलब ३८ प्रतिशतले बीमा शुल्क आर्जन घटाएको छ । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ७६ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ७३ करोड १४ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ४ दशमलब १४ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । एनबी इन्स्यारेन्स कम्पनीले गत आर्थिक बर्षमा ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ४७ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । पुरानो ब्यवस्थापनले कम्पनी चलाउन नसकेपछि आइएमइ ग्रुपले संचालन गरेको सो कम्पनीले गत आर्थिक बर्षदेखि पुन कारोवार संचालन गरेको हो । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ८७ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ७८ करोड ११ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ११ दशमलब ६ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा २ अर्ब १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले १ अर्ब ३६ करोड ३९ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ४६ दशमलब ७३ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ७७ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ६४ करोड ७ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा २१ दशमलब ४३ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब २१ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ६९ करोड ८९ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा ७३ दशमलब ५९ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब १६ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो कम्पनीले ९६ करोड ५७ लाख रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले गत आर्थिक बर्षमा २० दशमलब ७१ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । गत बर्षदेखि मात्रै कारोवार संचालन गरेको राष्ट्रिय बीमा कम्पनीले ८६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै अघिल्लो आर्थिक बर्षमा ७४ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको भएपनि गत बर्षको विवरण समितिले दिएको छैन ।

भरतराज आचार्य प्लाष्टिक एसोसियसनका सदस्य

काठमाडौं, ५ साउन । पीइटी प्रोडक्ट एण्ड क्लोजर उत्पादक संघ नेपालका अध्यक्ष भरत राज आचार्य काउन्सिल अफ इन्टनेशनल प्लाष्टिक इण्डष्ट्रिज एसोसियसन डाइरेक्टर्स(सिपाड)को कार्यकायरी सदस्यमा निर्वाचित भएका छन् । इटालीको राजधानी रोममा जुलाई १४ देखि १७ तारिखसम्म आयोजना सम्मेलनले आचार्यलाई कार्यकारी सदस्यमा निर्वाचित गरेको हो । सो सम्मेलनले केन्द्रिय सचिवालय समेत गठन गरेको छ । जसको महासचिवमा ब्रिटिस प्लाष्टिक फेडरेशनका फिलिप के लाव चुनिएका छन् । सोसाइटी अफ प्लाष्टिक इण्डिष्ट्रिज एसोसियसन अमेरिकाका माइकल डि टेलर, इटालिय प्लाष्टिक तथा रबर उत्पादक संघका मारियो म्याग्गियानी र नेपालका तर्फबाट भरतराज आचार्य छानिएका छन् । सिपाडमा विश्वका ५६ मुलुकमा रहेका प्लाष्टिक उद्योगका छाता संगठनहरुको सहभागीता रहेको थियो । नेपालले सन २०१२ मा सिपाडको सदस्यता लिएको थियो । सम्मेलनमा आचार्यले नेपालको प्लाष्टिक उद्योगका भ्याल्यु चेनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।