विकासन्युज

बजारमा दिनदिनै नयाँ रेकर्ड, परिसूचक १८०० विन्दुमा, कारोबार रकम २ अर्ब नाघ्यो

काठमाडौं, ४ साउन । नेप्सेले हालै कारोबारको समयावधी थप गरेसँगै सेयर बजारमा पनि दिनदिनै नयाँ नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलब ९० अंकले बढेर १८०० दशमलब ४७ अंकमा पुगेको छ । दिउँसो बजार खुल्ना साथ बढेर १८१३ अंकमा पुगेको परिसूचक १८०० अंकमा पुगेर बजार बन्द भएको छ । सो दिन १३९ कम्पनीको २९ लाख २ हजार कित्ता सेयर करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी माछापुच्छ्रे बैंकको करिब ३० करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बैंकको करिब १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल बङ्गलादेश बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एनआइसी एसिया बैंकको करिब ७ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार इन्स्योरेन्स, अन्य र हाइड्रोपावर समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ४० अंकले बढेको छ । बैंकिङ् र होटल समूहको परिसूचक बराबर ३५ अंकले बढेको छ । त्यस्तै विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः १५ र ८ अंकले वृद्धि भएको छ । इन्स्योरेन्स, अन्य र हाइड्रोपावर समूह क्रमशः २४०, १७ र ९ अंकले घटेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । किसान माइक्रोफाइनान्स वित्तिय संस्था र कैलाश विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।

सकेसम्म सहमतिको सरकार बनाउन सभामुखको सुझाव

काठमाडौं, ४ साउन । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्। स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार आयोजित खोपसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन् – “जनता दलहरु एकजुट भई संविधान कार्यान्वयन भएको देख्न चाहन्छन्, गणतन्त्र स्थापना र संविधान निर्माणमा एक जुट भएका दलहरु विभाजित हुनु राम्रो होइन ।” दलहरु मिलेर सकेसम्म सहमतिको सरकार निर्माण गर्नु राम्रो हुने सुझाव उनले दिए। “अहिले पनि बालबालिकाले सिटामोल र जीवनजल खान नपाएर अकालमा ज्यान गुमाउने अवस्था विद्यमान नै छ, राजनीतिक परिवर्तन भयो आर्थिक र सामाजिक परिवर्तन साथमा जान सकेन’ – उनले भने । सभामुख घर्तीले समयमै सबै बालबालिकलाई पुग्ने खोप खरिद गर्न र नेपाललाई पूर्ण खोपयुक्त बनाउन सरकारको ध्यानाकर्षण गराए । पूर्णखोपयुक्त घोषणा गरिने अभियान सो अवसरमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले मन्त्रालयले खोप कार्यक्रमलाई उच्च प्राथमिता दिँदै आएको र आगामी दिनमा खोपका प्रकार बढाउँदै जाने तथा सबै बालबालिकालाई आवश्यक मात्रामा खोप लगाउने र नेपाललाई पूर्णखोपयुक्त घोषणा गरिने अभियानमा सरकार लागेको जानकारी दिए । व्यवस्थापिका–संसद्, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झाले खोप कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाउन खोप ऐन पारित गरी विनियमावली निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए । मन्त्रालयका नवनियुक्त सचिव डा सेनेन्द्र उप्रेतीले सबै बालबालिकालाई खोपको पहुँच पु¥याउन मन्त्रालयले प्राथमिकता दिएको बताए । बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले हाल नेपालमा ९० प्रतिशतभन्दा माथि खोप व्यवस्था रहेको बताए। कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा नेहाल सिंह, युनिसेफ नेपालका प्रतिनिधि तामो होजुमी, रोटरी क्लबका प्रतिनिधि जया शाह, अर्थ मन्त्रालयका सहसचिव लोकदर्शन रेग्मी, विश्व बैंकका प्रतिनिधि डा मानव भट्टराई र सविन भ्याक्सिन संस्थाका प्रतिनिधि डा जोन अन्डुसरले खोपको व्यवस्थापनका बारेमा प्रकाश पारेका थिए । तीनदिने सो गोष्ठीमा नेपालसहित केन्या, सेनेगल, युगान्डा, मङ्गोलिया लगायत २२ देशका विधायिका र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता छ । गोष्ठीमा खोपका अनुभव आदानप्रदान समेत गरिने छ । हाल मन्त्रालयले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क रुपमा लगाउँदै आएको छ । यी खोपका लागि सविन भ्याक्सिन संस्थाले सरकारलाई आर्थिक एवम् प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । रासस

काभ्रेमा एक हजार ८०० बालबालिकामा कुपोषण

बनेपा, ४ साउन । भूकम्पपछि काभ्रेपलाञ्चोकमा झन्डै एक हजार ८०० बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषित बालबालिकामध्ये शीघ्र कुपोषित ९कडा कुपोषण० भएका बालबालिका ९८ जना रहेका छन् । विगत एक महिनादेखि जिल्लाका विभिन्न गाविस र नगरपालिकामा भएको सर्वेक्षणमा बसाइँसराइ र पोषिलो खानेकुराको अभावमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा त्यस्तो समस्या देखिएको गैर सरकारी संस्था नेपाली प्राविधिक समूह (एनट्याग) का जिल्ला संयोजक रवी न्यौपानेले जानकारी दिए । “अहिले पनि हाम्रो काम जारी छ, सम्भवतः तीन सातामा काम सकिएला, त्यसैले यो सङ्ख्या अझै बढनसक्छ” उनले भने । जिल्ला संयोजक न्यौपानेले भूकम्पअघि पनि कुपोषणको समस्या बालबालिकामा रहेको तर भूकम्पपछि अझै बढेको उल्लेख गर्दै ९०० जना सुत्केरी तथा गर्भवतीमा पनि कुपोषणको समस्या देखिएको जानकारी दिए । सुत्केरी तथा गर्भवतीमा देखिएको कुपोषण मध्यम खालको हो । उनका अनुसार बालबालिकाको तौल, उचाइ र पाखुराको नापका आधारमा बालबालिकामा कुपोषण भएको पत्ता लगाइएको हो । जिल्लाका ३६ वटा स्वास्थ्य केन्द्रमा प्राविधिक समूहको सहयोगमा खाना वितरण गरेर उपचार थालिएको छ । शीघ्र कुपोषित (कडा कुपोषण) भएका बालबालिकाको जिल्ला अस्पताल मेथिनकोटमा विशेष उपचार केन्द्र स्थापना गरेर उपचार भइरहेको छ । जिल्लाका ३६ हजार २७५ हजार बालबालिकामा कुपोषणको परीक्षण गरिने एनट्यागले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा। अर्जुन सापकोटाले भूकम्पपछिको खानपान र जीवनशैलीका कारण बालबालिकामा कुपोषण देखिएको विश्लेषण सुनाए। “भूकम्पले निम्ताएको सङ्कट र गरिबी नै कुपोषणको प्रमुख कारण हो,” उनले भने । रासस

अब पाँच सयको मूल्यमा ७५० एमएल स्प्राइटको आनन्द

काठमाडौं,४ साउन । कोकाकोला नेपालले स्प्राइटमा नयाँ प्रबद्र्धन सार्वजनिक गरेको छ । यसको पछिल्लो प्रबद्र्धन अन्तर्गत, उपभोक्ताहरुले कागतीको स्वाद भएको पेय, स्प्राइट, ७५० एमएल प्याकको आनन्द ५०० एमएलको मूल्य मा नै नेउठाउन सक्नेछन् । यो ५०० एमएल प्याकमा ५० प्रतिशत अतिरिक्त योजना अहिलेदेखि स्टक रहेसम्मका लागि लागू हुनेछ । यो नेपाल भरीका मूख्य शहरहरुमा सार्वजनिक गरिसकिएको छ, र परम्परागत तथा आधुनिक व्यापारिक मूख्य आउटलेटहरुमा उपलब्ध रहेको छ । कम्पनीले कोकाकोलामा पनि यो प्रबद्र्धनात्मक योजना बिस्तार गरेको छ । यो प्रबद्र्धन, उपभोक्ताहरुसँग आबद्ध हुन र कोका(कोला नेपालको पेय पदार्थहरुको पोर्टफोलियोबाट केहि उच्च स्वाद तथा ताजा पेय पदार्थहरुका साथमा रमाइलो गर्न तिनीहरुलाई थपअवसरहरु र कारण दिनका लागि कम्पनीको वृहत रणनीति अन्तर्गतको भाग हो ।

टाटा मोटरको नयाँ बस बजारमा, मञ्जुश्री यातायातले मात्र लियो २२ वटा बस

काठमाडौं, ४ साउन । टाटा मोर्टस्को लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ बस च्यासिस टाटा एल.पी.ओ १६१८/६२ बजारमा ल्याएको छ । १२ मिटर लामो यो वस डिजेल इन्जिनको शक्तिले सम्पन्न रहेको कम्पनीले जनाएको छ । १८० हर्ष पावर भएको यस वाईड बडी च्यासिस नुमेटिक सस्पेन्सन, स्लिपर वर्थ एवम् ४५ रिक्लाइनिङ सिट क्षमताको छ । १८० हर्ष पावर र ६७५ एनएम टर्कको इञ्जिन भएको र आधुनिक प्रविधि प्रयोग भएकोले यो गाडी अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले चल्ने कम्पनीको प्रमुख सञ्चालन अधिकृत राजेश श्रेष्ठले बताए । यस गाडीमा ३ बर्षवा ३ लाख किलोमिटर सम्मको वारेन्टी रहेको उनले बनाए । बसमा १४इन्चको डायामिटरको क्लचप्लेट, ओभर ड्राईभ मेकानिज्म रहेको जी६०० गियर बक्स र ४१/७ अनुपातको क्राउनको संयोजन रहेको कारण यस च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्ने कम्पनीले जनाएको छ । टाटा मोटर्स्को नयाँ बस पहिलो पटक मन्जुश्री यातायात सेवा समितिले ५ वटा किनेको छ । काठमाडौं–दिल्ली बस सेवा सञ्चालनको लागि यो बस खरिद गरिएको समितिका कार्यवहाक अध्यक्ष अनिल चालिसेले बताए । सन् २००१ मा स्थापित मन्जुश्री यातायात सेवा समितिले काठमाडौ दिल्ली र काठमाडौ बनारसमा आवतजावत गर्ने यात्रुहरुको लागि आरामदायी र सुबिधा सम्पन्न बस सेवा सञ्चालन गर्दै आईरहेको छ । मन्जुश्री यातायात सेवा समितिले २२ वटा टाटा बसहरु किनीसकेको छ । २६ वटा भन्दा बढी सेवा केन्द्र भएको सिप्रदी नेपालकै सबैभन्दा व्यापक बस र ट्रकको सेवा संजाल भएको कम्पनी हो । टाटा मोर्टस् लिमिटेड भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी हो, जसले सन २०१५/१६ मा २,७ खर्ब ५,५ खर्ब ६१ करोडको कारोबार गरेको छ ।

जीबन बीमा ब्यवसायको बृद्धि २८ प्रतिशत, कुन कम्पनीको बृद्धिदर कति ?

काठमाडौं, ४ साउन । गत आर्थिक बर्षमा जीबन बीमा ब्यवसायको बृद्धिदर झण्डै २८ प्रतिशत पुगको छ । संचालनमा रहेका जीबन बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कको आधारमा बृद्धि दर यस्तो देखिएको हो । यो बृद्धिदर अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कका आधारमा देखिएको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार जीबन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनको बृद्धिदर २७ दशमलब ५९ प्रतिशत पुगेको छ । कम्पनीहरुले गत आर्थिक बर्षमा ९ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ प्रथम बीमा शुल्क, २० अर्ब ६५ करोड ६५ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र १ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी कुल बीमा शुल्क ३१ अर्ब ८६ करोड २५ लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो आर्थिक बर्षमा कम्पनीहरुले ७ अर्ब ७२ करोड ४५ लाख रुपैयाँ प्रथम बीमा शुल्क, १५ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र १ अर्ब ७२ करोड १३ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी कुल बीमा शुल्क २४ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ आर्जन गरेका छन् । राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जनको बृद्धिदर ११ दशमलब ११ प्रतिशत पुगेको छ । संस्थानले गत आर्थिक बर्षमा ३० करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क, २ अर्ब १७ करोड ४८ लाख रुपैयाँ नविकरणीय गरी २ अर्ब ४७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर २७ दशमलब १६ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब २ करोड ९७ लाख रुपैयाँ प्रथम बीमा शुल्क, २ अर्ब २८ करोड ५० लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र ४२ करोड ९ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी ३ अर्ब ७३ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ११ दशमलब ११ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ३ अर्ब २८ करोड रुपैयाँ प्रथम बीमा शुल्क, ६ अर्ब ४२ करोड रुपैयाँ नविकरणीय बीमा शुल्क र ५३ करोड रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी १० अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ३४ दशमलब ०२ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा २ अर्ब १५ करोड ९३ लाख रुपैयाँ प्रथम बीमा शुल्क, ४ अर्ब ७९ करोड ६० लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र १८ करोड ७५ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी ७ अर्ब १४ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर १७ दशमलब २५ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ६० करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ४० करोड २ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क गरी २ अर्ब २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ४५ दशमलब ४४ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ४० करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क, ४० करोड ९४ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र २३ करोड ६७ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी १ अर्ब ५ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ३९ दशमलब ९४ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ३६ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क, ५५ करोड १ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र ४ करोड ८६ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी ९६ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर २८ दशमलब २४ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ५१ करोड ६० लाख रुपैयाँ प्रथम बीमा शुल्क, ८० करोड ७५ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र ४० करोड ३३ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी १ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । शाखाको रुपमा नेपालमा कार्यरत मेटलाइफ एलिकोको कम्पनीको बीमा शुल्क आर्जन बृद्धिदर २६ दशमलब ६ प्रतिशत छ । गत आर्थिक बर्षमा कम्पनीले ७१ करोड ४६ लाख र १ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क गरी २ अर्ब ५२ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

खाद्य संस्थान दुर्गम र भूकम्पप्रभावित क्षेत्रमा आपूर्ति गर्दै

काठमाडौं, ४ साउन । झन्डै चार दशकदेखि देशका दुर्गम जिल्लामा खाद्यान्न उपलब्ध गराउँदै आएको नेपाल खाद्य संस्थान दुर्गम क्षेत्रका अतिरिक्त भूकम्पप्रभावित क्षेत्र तथा दसैँका लागि चामलको व्यवस्थापनको जिम्मेवारी पनि सहजरुपमा निर्वाह गर्दै आएको छ । विसं २०३१ मा स्थापित सो संस्थानले ४२ वटा दुर्गम क्षेत्रमा धान, चामलसहित खाद्यान्न सस्तो र सुलभ मूल्यमा खाद्यान्न पु¥याउने गरेको छ । विशेषगरी विभिन्न जिल्लाका किसानसँग खरिद गरिएका धान, चामल, गहुँ, चिनी, सिमी, फापर, कोदो, उवा (गहुँजस्तै) को कारोबार संस्थानले गर्दै आएको छ । संस्थानका प्रवक्ता पवनकुमार कार्कीले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्नको कारोवारमा केन्द्रित यो संस्थाले यो आर्थिक वर्षमा ,  राखी खरिद प्रस्ताव गरिएको जानकारी दिए । गत वर्ष प्रयोग भई बाँकी रहेको दुई लाख ६८ हजार ३५० क्विन्टल चामल संस्थानको गोदाममा मौज्दात रहेको छ । आव २०७२/०७३ मा एक लाख ७४ हजार क्विन्टल धान खरिद गरेकोमा हाल एक लाख ६२ हजार ४८० क्विन्टल धान मौज्दात रहेकाले संस्थानले यो वर्ष हालसम्म २५ हजार क्विन्टल खरिद गरेको छ । त्यस्तै, गहुँ ४० हजार क्विन्टल तथा कर्णाली अञ्चलको उत्पादन सिमी, फापर, उवा एक हजार ९८० क्विन्टल खरिद गर्ने लक्ष्य संस्थानले राखेको छ । हालैको विध्वंशकारी भूकम्पबाट पीडित जनतालाई पनि खाद्यान्न उपलब्ध गराइएको छ की भनी राखेको राससको जिज्ञासामा उनले भने– नेपाल खाद्य संस्थानले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत भूकम्प प्रभावित १४ जिल्लामा संस्थानसँग मौज्दात रहेको २४ हजार क्विन्टल तथा बङ्गलादेशबाट प्राप्त २२ हजार क्विन्टल चामल वितरण गरिसकिएको छ । नजिकिदो दसैँ र तिहारका लागि दुर्गम जिल्लामा चामल पठाउने योजना पनि संस्थानले राखेको छ की रु भनी सोधिएको प्रश्नको जवाफमा प्रवक्ता कार्कीले दसैँका लागि संस्थानसँग ४५ हजार ४३८ क्विन्टल चामल मौज्दात रहेको र ती जिल्लामा चामल पठाउन ढुवानी टेण्डर स्वीकृत भइसकेको बताए । बङ्गलादेशबाट सहयोगस्वरुप प्राप्त बाँकी ७८ हजार क्विन्टल चामलमा सुक्खाग्रस्त क्षेत्र कर्णालीमा कामको लागि खाद्यान्न कार्यक्रमअन्तर्गत ३० हजार क्विन्टल तथा बाजुरामा चार हजार क्विन्टल वितरण गरिएको छ । उनले बङ्गलादेशबाट थप प्राप्त हुने एक लाख क्विन्टल चामलमध्ये २० हजार क्विन्टल नेपाल भित्रिसकेको र बाँकी ८० हजार क्विन्टल चामल आगामी एक महिनाभित्र आइपुग्ने जानकारी गराए । रासस

सरकारका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै, सरकार छोड्न लागेको संकेत

काठमाडौं, ४ साउन । बर्तमान सरकार विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि सरकारका मन्त्रीहरु आफ्नो कार्यकालको समीक्षा गर्न पत्रकार सम्मेलन गर्न लागेका छन् । आज (मंगलवार) मात्रै एमालेको तर्फवाट उद्योगमन्त्रालयको जिम्मेवारी पाएका सोमप्रसाद पाण्डेले दिउसो १ बजे पत्रकार सम्मेलन गरेका छन् भने अर्थमन्त्रीले पनि पत्रकार सम्मेलनको निम्तो पठाइसकेका छन् । मन्त्री पाण्डेले १ बजेको लागि पत्रकार सम्मेलनको जानकारी गराए लगत्तै अर्थमन्त्री विष्णु पौडेलले आजै ३ बजे पत्रकार सम्मेलन गर्ने निम्तो आएको छ । दुबै मन्त्रीले पठाएको निम्तोमा समसायिक विषयमा पत्रकारसँग अन्तरक्रिया गर्ने भनिएको छ । बर्तमान सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँग केन्द्रले बर्तमान सरकार विरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गरिसकेको छ । अविश्वास प्रस्तावमा प्रमुख विपक्षी दल नेपाली काँग्रेसको पनि समर्थन छ भने संविधान घोषणा हुनुअघिदेखि नै संविधानले आदिबासी, जनजाति र मधेशी जनताको अधिकार संरक्षण गरेन भन्दै आन्दोलित मधेशी मोर्चाले पनि सरकार विरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकार विरुद्ध वहुमत पुगेपछि सरकार ढल्ने विश्लेषण गर्दै मन्त्रीहरुले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनीहरुले आफ्नो कार्यकालमा भएको प्रगतिको चर्चा गर्ने अनुमान गरिएको छ । सरकार विरुद्ध ब्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि ६ साउनदेखि छलफल हुने कार्यक्रम तय भएको छ । अगामी ८ साउनमा सो प्रस्तावमाथि मतदान हुने चर्चा छ । अहिलेसम्मको राजनीतिक घटनाक्रमले सरकार विरुद्धको अविश्वास प्रस्ताव पारित हुने देखाएको छ ।