सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा अब धनकुटाको भेडेटारमा
काठमाडौं, १४ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सोमबारदेखि धनकुटाको भेडेटारमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले यसअघि घोरेटार (भोजपुर), चौमाला (कैलाली), त्रिभुवनवस्ती (कंचनपुर), केराबारी (मोरंङ), लामीडांडा (खोटाङ्ग), कटरिया (रौतहट), महादेवस्थान – ४ (हलेशी ( खोटाङ्ग) र बाक्सिला (खोटाङ्ग) बाट शाखारहित बैकिङ्ग सेवा पनि प्रदान गदै आएको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । यस बैंकले आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म कुल निक्षेप २६ अर्ब १ करोड रुपैयाँ र कर्जा रकम २२ अर्ब ८३ करोड रुपैयाँ परिचालन गरेको छ । साथै, सञ्चालन मुनाफा ३४ करोड ५० लाख रुपैयाँ र खुद मुनाफा २३ करोड २४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।
अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं, १४ असार । अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । त्यसैले बैंकको सेयर कारोबार यही असार २१ गतेदेखि साउन ८ गतेसम्मको लागि बन्द हुने बैंकले जनाएको छ । उक्त निर्णय बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयर विक्री वितरण हुने बैंकले जनाएको छ । बैंकको आगामी साधारणसभा यही आउँदो साउन ८ गते हुने भएको छ । हाल बैंकको चुँक्ता पूँजी करिब ११ करोड ८० लाख रुपैयाँ रहेको छ भने बजारमा ६६५ रुपैयाँको हाराहारीमा सेयर किनबेच भइरहेको छ ।
पञ्चकन्या समूहद्धारा वागमती सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौं, १४ असार । पञ्चकन्या समूहले कोपुण्डोल नजिक १६३औं सप्ताह वागमती सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूहले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५० जना सहितको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरेको बताएको छ । उक्त कार्यक्रममा समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ लगायत समूहमा आवद्ध कर्मचारीहरु सक्रिय सहभागी भएका थिए । साथै उक्त कार्यक्रममा वागमती सफाईको लागि आवश्यक पर्ने सरसफाईका सामग्रीहरु वागमती सभ्यता बचाउन अभियानका सदस्यलाई हस्तान्तरण समेत गरिएको समूहले जनाएको छ ।
नेपाल श्रीलंका उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश महर्जन निर्वाचित
काठमाडौं, १४ असार । सोमबार नेपाल–श्रीलंका उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाको नेपालका लागि श्रीलंकाका राजदुत डब्लु. एम. सेनेभिरत्नले उद्घाटन गरेका हुन् । कार्यक्रममा संघका अध्यक्ष रमेश महर्जनले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ सुदृढ पार्दै लैजानु पर्ने बताए । साथै उनले दुई देशबीच लगानी, पर्यटन आदि संभावित क्षेत्रमा समेत आपसी समझदारीमा कार्य अगाडी बढाउनु पर्ने जनाएका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजश काजी श्रेष्ठले व्यापार मेला, प्रतिनिधि मण्डलको आदान प्रदान आदि आर्थिक तथा व्यापारिक क्रियाकलापहरु मार्फत काम अगाडी बढाउनु पर्ने बताए । श्रीलंकाका राजदुत सेनेभिरत्नले दुई देशबीचको आर्थिक, सामाजिक सुमधुर सम्बन्ध विस्तारमा दुतावासले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार सम्पन्न भएको उक्त सभाले रमेश महर्जनको अध्यक्षतामा १९ सदस्यीय केन्द्रिय कार्यसमिति र्निविरोध निर्वाचित गरेको छ । जसमा मानार्थ सदस्यमा डा. राजेश काजी श्रेष्ठ, निवर्तमान अध्यक्षमा भक्त बहादुर मल्ल रहेका छन् । त्यसै गरी उपाध्यक्षमा क्रमशः प्रविण बहादुर पाण्डे, बिजय श्रेष्ठ, हेम राज ढकाल, महासचिवमा नरेश दास, कोषध्यक्षमा डा. हरिश जोशी, र सचिवद्वयमा प्रकाश गिरी, राम राजा आचार्य, त्यसै गरी कार्यकारीणी सदस्यहरुमा शिव कुमार अग्रवाल, अनुज मणी तिमलसिना, प्रकाश पाण्डे, स्वयम्भू रत्न तुलाधर, संजय कुमार अग्रवाल, श्याम भक्त कायस्थ, टेक बहादुर शाक्य, बिद्या सागर ताम्राकार, सूर्य बहादुर थापा रहेको वाणिज्य संघले जनाएको छ ।
भूकम्पले चर्किएका घर टाल्न ५० हजार
काठमाडौं, १४ असार । सरकारले भूकम्पमा परि आंशिकरुपमा घर भत्किएकाहरुलाई मर्मत सम्भारका लागि ५० हजार रुपैंयाँ उपलब्ध गराउने भएको छ । भूकम्प पीडितको निजि आवास पुननिर्माण कार्यबिधी अनुसार स्थानिय विकास मन्त्रालय मार्फत आंशिकरुपमा घर भत्किएका पीडितहरुलाई ५० हजार रकम उपलब्ध गराउने जानकारी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले दिए । भूकम्पबाट पूर्ण रुपमा क्षति भएका वा भत्काएर पुनः बनाउनु पर्ने भए दुई लाख रुपैयाँ दिने र आंशिक क्षति भएका घर मर्मतसम्भार गर्न ५० हजार रुपैयाँ दिने व्यवस्थाले धेरै गुनासो सम्बोधन हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको दाबी छ । ८२ हजार ८ सय गुनासो यसैबिच आफु लाभग्राही सूचिमा नपरेको भन्दै ८२ हजार ८ सय ४१ जना भूकम्प पीडितले गुनासो फारम भरेका छन् । उनीहरुले आफ्नो घर भूकम्पका कारण पुर्ण क्षति भएको दावीसहित गाबिस तथा नगरपालिकाका वडा कार्यालयहरुमा गुनासो फारम भरेका हुन् । सोमबारसम्ममा एक लाख ८३ हजार ९ सय ५५ घरधुरीसँग अनुदान सम्झौता गरिसकेको छ । हालसम्म ५ हजार ८ सय ४१ घरधुरीले पहिलो किस्ता वापतको ५० हजार पाईसकेका छन् । यसैबिच प्राधिकरणले क्षेत्रिय कार्यालयहरुलाई सम्बन्धीत क्षेत्रमा एनजिओहरुले निर्माण गर्ने आयोजनाहरुलाई स्विकृति दिने अधिकार सुम्पिएको छ । गैर सरकारी संस्थाहरुबाट प्राप्त परियोजना प्रस्तावको मूल्याङ्कन, स्वीकृति, अनुगमन तथा मूल्याङ्कन क्षेत्रिय कार्यालयहरुले नै गर्न सक्नेछन् ।
अपर पिलुवा खोला दोश्रो जलविद्युत आयोजनामा एनबीबीले लगानी गर्ने
काठमाडौं, १४ जेठ । अपर पिलुवा खोला दोश्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंक (एनबीबी) को अगुवाई तथा नेपाल बैंकको सहकार्यमा लगानी गर्ने सहमति भएको छ । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा हाइड्रोपावरका अध्यक्ष दिपक खड्काले लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । ४ दशमलब ७२ मेघावाट क्षमता भएको उक्त आयोजना २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष दिपक खड्काले दिएका छन् । करिब ८५ करोड रुपैयाँ लागत रहेको उक्त आयोजना बैंक तथा प्रवर्धकको ७० बराबर ३० को अनुपातमा ऋण तथा स्वपूँजी संरचनामा निर्माण गर्न लागिएको कम्पनीले जनाएको हो । उक्त पिलुवा खोलाबाट वार्षिक २ करोड ६४ लाख युनिट विद्युत उत्पादन गरी ३३ के.भी. प्रसारण लाईनबाट नेपाल विद्युत प्राधिकरण बानेश्वर सव–स्टेशन मार्फत राष्ट्रिय प्रशारण लाईनमा उक्त आयोजनाको विद्युत आपूर्ति गरिने कम्पनीले जनाएको छ ।
फोर्स मोटरका शोरूम अब बिर्तामोड, विराटनगर र राजविराजमा
काठमाडौं, १४ असार । फोर्स मोटरर्स लि इन्डीया को नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा लि.ले आफ्नो डिलर बिर्तामोड, विराटनगर र राजविराजमा विस्तार गरेको छ । स्थानीय बिक्रेता शिदार्थ अटो ट्रेडिङमार्फत झापाको बिर्तामोडमा केआर अटो मोबाइल्स मार्फत मोरङ्को विराटनगरमा र मास ग्लोबलमार्फत सगरमाथाको राजविराजमा डिलरको विस्तार गरिएको हो । साथै, फार्स मोटरका ब्राण्डहरु क्रमश, ट्रेक्स क्रुसियर जिप, ट्रेक्स कार्गो किंग, ट्रम्प ४०, बलवान ट्राकटर लगायतका गाडीहरुको लन्चिङ कार्यक्रमको आयोजना गरिएको थियो । सोहि अबसरमा फोर्स माटरर्सका उत्पादहरु ट्राभलर मिनी बस, ट्रेक्स गुर्खा जिप, फोर्स एम्बुलेन्स लगाएतका गाडीहरुको बारेमा पनि जानकारी गराईएको कम्पनीले जनाएको छ । कार्यक्रममा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक राजन लम्साल, फोर्स मोटर्स लि इन्डियामा इन्टरनेशनल सेल्स डिभिजनका सह प्रबन्धक सुनिल सान्क स्थानीय संचालक, स्थानीय ब्यापारी, बैंकर्स, यातायात समितिका पदाधिकारी लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कम्पनीका अनुसार बिगत केहि वर्ष फोर्सले नेपामा आफ्नो आधिकारिक आयातकर्ता र बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा लि मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ । यस भन्दा अगाडी आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरीधारा र पोखराको बुद्धचोकमा आफ्नो शोरूम संचालनमा ल्याइसकेको कम्पनीले जनाएको छ ।
राजधानीमा पुर्वाञ्चल युनिभर्सीटी एजुकेशन फेयर हुने
काठमाडौं, १४ असार । राजधानीमा पूर्वाञ्चल विश्वविद्यालय एजुकेशन फेयर २०१६ हुने भएकको छ । पुर्वाञ्चल विश्वविद्यालयले आयोजना गर्ने फेयर त्रिपुरेश्वरस्थित वल्र्ट ट्रेड सेन्टरमा असार १७ देखि २० गतेसम्म सञ्चालन हुनेछ । फेयरमा विश्वविद्यालयमा सञ्चालित इन्जिनियरिङ, जेनरल साइन्स, हेल्थ साइन्स, मेनेजमेन्ट, फेसन डिजाइन, वायोमेडिकल इन्जिनियरिङ, एग्रिकल्चर भेटनरी, कम्प्यूटर, मास कम्यूनिकसेन, ल र लिभरल आर्टस लगायतका विषय अध्यापन गराइरहेका ६० भन्दा बढी कलेजहरुको सहभागिता रहनेछ । फेयरमा फेसन सो र फुड स्टल पनि समावेश गरिने आयोजकले जनाएका छन । फेयरमा शैक्षिक परामर्श, प्रेजेन्टेसन र सेमिनारहरुमा पनि विद्यार्थीहरु सहभागीता जनाउने अवसर पाउनेछन् ।अवलोकनमा आउने विद्यार्थीलाई विभिन्न शिर्षकमा छात्रवृद्धि, एजुकेसन लोनसहितको सुबिधा प्रदान गरिने आयोजकले जनाएका छन् ।