विकासन्युज

पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय थपियो

काठमाडौं । पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ । असार २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा अब लगानीकर्ताहरुले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो । त्यसैले असार १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।​​​​​​​ केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

बुङ्गल हाइड्रोको आईपीओमा स्थानीयले आवेदन दिने समय लम्बियो

काठमाडौं । बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । असार २९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आवेदन दिने समय आज साउन ११ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं। ६ ९साविक पिपलकोट गा।वि।स। वडा नं. ४, ५ र ७० र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १० का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूले आवेदन दिन पाउनेछन् । साथै, सर्वसाधारणलाई छुट्याइएको २० करोड ७५ लाख रुपैयाँको २० लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै बुङ्गल हाइड्रोको रजिस्टर्ड कार्यालय धोबी घाट ललितपुर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ शाखा, कृषि विकास बैंकको बुङ्गल शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा र आयोजना स्थान खौलाधारबाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

तेह्रथुम पावरको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय आज साउन ११ गते अन्तिम दिन रहेको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा, कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् । 

कोशी, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षा हुने, तराईमा हावा हुरी चल्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावा हुरी चल्ने सम्भावना रहेको छ । यसैगरी आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

७ वर्ष बित्दा पनि निर्मला हत्याको अपराधी पत्ता लगाउन सकेन, प्रहरीको सबैभन्दा बढी खर्च

काठमाडौं । भीमदत्त नगरपालिका-२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घर नजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुक भर आन्दोलन समेत भयो । सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टा छुट्टै छानबिन समिति गठन भए । प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यसै प्रकरणमा भए पनि हालसम्म प्रहरीले उपलब्धि हात पार्न सकेको छैन ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले अहिले पनि प्रहरीले निर्मला पन्तको घटना प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए ।  ‘अनुसन्धानका क्रममा अहिलेसम्म १२४ जनाको डिएनए परीक्षण भएको छ भने ६५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ,’ उनले भने, ‘सिआइबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ अहिले पनि सिआइबी र प्रहरीले अनुसन्धान जारी राखेको छ ।’ घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका-१९ बागफाटाका दिलीप सिंह विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्र रुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।

राष्ट्रिय सभामा पर्यटन विधेयकमा छलफल हुने, आजै ५ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज अपरान्ह १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्दैछ । अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ । चालु आवको  बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिनेछ ।  यस्तै, कृषि सहकारी समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा विज्ञसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । लेखा समितिको बैठकमा ‘महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदन’उपर छलफल हुनेछ ।  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा सिंहदरबार स्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ । 

नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) लाई नेपालका लागि विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधनका रूपमा चित्रित गरेका छन् । चीनको साङ्घाई वर्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले एआईका उपलब्धिको पहुँच र समानताको वकालत गरे । सञ्चारमन्त्री गुरुङले भने, 'एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनुपर्छ । हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङ शक्ति, ओपन मोडल र डेटा सेटहरूको आवश्यकता छ । यसमा अन्तरराष्ट्रिय सहयोगको अपेक्षा छ ।' सम्मेलनअन्तर्गत विश्वव्यापी एआई शासनसम्बन्धी उच्चस्तरीय बैठकमा उनले पारदर्शीता, समावेशिता, जवाफदेहिता र एआईको गैर–सैनिकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घ नेतृत्वको चार्टर्डलाई समर्थन गर्ने बताए । 'एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ । हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्दछौँ', उनले भने । मन्त्री गुरुङले एआईको विकासका लागि नेपालको दृष्टिकोण, समावेशी तथा मानव–केन्द्रित रहेको बताए । उनले नेपाल डिजिटल छलाङको सीमामा उभिएको र यससम्बन्धी नीति अन्तरम चरणमा रहेको उल्लेख गर्दै उक्त नीतिले राष्ट्रिय प्राथमिकतासँग तारतम्य मिलेको समावेशी र नैतिक ‘एआई इकोसिस्टम’को परिकल्पना गरेको बताए । मन्त्री गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै भने,'नेपालले अन्तरराष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशमा नवप्रवर्तन हबहरू सुरु गर्नेछ । शासन, सार्वजनिक सेवा, विपद् प्रतिकार्य, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने हाम्रो लक्ष्य छ ।' यसैगरी उनले नेपालले एआई विलासिता नभई रुपान्तरणका लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 'हाम्रा लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो । हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधलाई नाघेर अगाडि बढ्न सकियोस् । प्रविधिमार्फत सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस्', मन्त्री गुरुङको भनाइ थियो,'मानवताबिना प्रविधि अराजकता हो, नैतिकताबिना नवप्रवर्तन जोखिम हो भन्ने हामीले मनन गर्नुपर्छ। नेपालले खुला सहकार्य, एआईको जिम्मेवार विकास र नैतिक शासनप्रति आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउँछ । हामी सबै राष्ट्रहरूलाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौं ।' उनले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानवजातिको उत्थानमा एआईको प्रयोग सुनिश्चित गर्नु साझा चुनौती भएको उल्लेख गर्दै यसमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

सुक्खा आँखाको समस्या बढ्दो, ‘ब्रेक’ लिएर ल्यापटपको प्रयोग गर्न सुझाव

काठमाडौं । तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन बढ्दै गएको बताएकी छन् । आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो महसुस हुने समस्या भोग्नुभएको छभने सुक्खा आँखाको समस्या हुनसक्ने भन्दै सावधानी अपनाउन उनको सुझाव छ । उनका अनुसार सुक्खा आँखा भन्नाले आँखामा आँसुको मात्रा पर्याप्त नहुनु वा भएको आँसु छिटो वाष्प भएर हराउनु भन्ने बुझिन्छ । यस्तो अवस्थामा आँखामा पोल्ने, बालुवा परेको जस्तो बिझाउने, चिलाउने, रातो हुने र धमिलो देखिने लक्षण देखा पर्न सक्छन् । ‘धुवाँ, धुलो, प्रदूषण, एसी र फ्यानमा लामो समय बस्दा पनि सुक्खा आँखाको सम्भावना बढ्छ । यसैगरी, धुम्रपान गर्नेलाई पनि यो समस्याले सताउन सक्छ । मोबाइल, कम्प्युटर, ल्यापटपजस्ता प्रविधिको अत्यधिक प्रयोग गर्दा आँखा झिम्क्याउने दर कम हुन्छ, जसले आँसु छिटो सुकाउँछ’, डा खनालले भनिन् । उनले मोबाइल, कम्प्युटर, ल्यापटपको प्रयोग गर्दा हरेक २०–२५ मिनेटमा रोकिएर (‘ब्रेक’ लिएर), केहीबेर टाढा हेर्ने र कम्तीमा २०–२५ पटक आँखा झिम्क्याउने बानी बसाल्न सुझाव दिइन् । उनले भनिन्, ‘मोबाइलमा गेम खेल्दा एकदमै ध्यान एकत्रित हुँदा आँखा झिम्क्याउन बिर्सिरहेका हुन्छौँ । आँखामा बढी तनाब पर्ने काम गर्यौं र लामो समयसम्म आँखा झिम्क्याउन बिर्सियौँ भने हाम्रो आँखा सुक्खा हुन्छ । त्यसैले ब्रेक लिनुपर्छ ।’ समस्या देखिएमा ‘लुब्रिकेटिङ’ आँखा ‘ड्रप्स’को प्रयोग गर्न सकिन्छ । यो समस्या लिएर आउने अधिकांश बिरामी सामान्यदेखि मध्यम लक्षणसहित आउने डा खनालको भनाइ छ । कहिलेकाहीँ सुक्खा आँखा शरीरका अन्य रोगजस्तै बाथरोग, थाइराइड समस्या वा केही प्रकारका ‘हर्मोन सप्लिमेन्ट’का कारण पनि हुन सक्ने भएकाले यस्तो अवस्थामा केवल ड्रप्स प्रयोग पर्याप्त नहुने बताउँदै उनले विशेषज्ञ चिकित्सकसँग परामर्श लिन आवश्यक हुने डा खनालले उल्लेख गरिन् । ‘सुक्खा आँखा देखिएपछि आत्तिनु पर्दैन तर लापरबाही गर्नु हुँदैन । समस्या बढेमा लुब्रिकेटिङ ड्रप्स प्रयोग गर्नुपर्छ, अनि सुधार नआएमा आँखाको विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ’, उनको सुझाव छ ।