विकासन्युज

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

सिरहा । यहाँको लहान–३ अस्पताल चोकदेखि आज सशस्त्र प्रहरीले स्रोत नखुलेको रु १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बिहान करिब ९ः३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।   

भायानेटको स्वतन्त्र सञ्चालकमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

काठमाडौं ।  इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका क्षेत्री भायानेटको सञ्चालक समितिको निर्णयअनुसार बोर्डमा आबद्ध भएका हुन् । क्षेत्रीले आफ्नो करियर सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट सुरु गरेका थिए। उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एसियाको विभिन्न वरिष्ठ जिम्मेवारी सम्हालेका थिए भने जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । उनले सन् २०२० मा ग्लोबल आइएमई बैंकको सीईओबाट अवकाश लिएका थिए । कम्पनीले क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढीको अनुभवले भायानेटको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

ज्योति विकास बैंक १८ औं वर्षमा प्रवेश : सामाजिक सेवा र डिजिटल क्रान्तिमा अग्रसर

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ । वि.सं. २०६५ सालको श्रावण ९ गते स्थापनाभएको बैंकले २०८२ सालको साउन ९ गते गौरवमय १७ वर्षको सफल यात्रा सम्पन्न गर्दै १८ औं वर्षमा प्रवेश गरेको हो । बैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको विधिवत उद्घाटन भएको उक्त समारोहमा बैंकका सञ्चालक समिति सदस्यहरू, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन समूह तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो। समारोहको अवसरमा बैंकले प्रविधिमा आधारित ग्राहक सेवा विस्तारको दिशामा एक कदम अघि बढ्दै २४ घण्टा ७ दिन सेवा उपलब्ध गराउने एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ। यो च्याटबटले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकलाई बैंकिङ जानकारी सहज रूपले उपलब्ध गराउनेछ। साथै, बैंकले Interbank Teller QR सेवा शुभारम्भ गरेको छ, जसले खाता नभएका व्यक्तिहरूलाई समेत मोबाइल बैंकिङ एप वा खल्ति वालेटमार्फत ज्योति विकास बैंकका शाखाबाट नगद झिक्न सक्ने व्यवस्था गरेको छ। यो सेवा विशेषगरी एटीएम सुविधा नपुग्ने तथा शाखा टाढा भएका स्थानहरूमा निकै उपयोगी हुने अपेक्षा गरिएको छ। बैंकले वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमको घोषणा तथा सम्झौता गरेको छ। ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सम्पन्न हुने यी कार्यक्रम अन्तर्गत तिलगंगा इन्स्टिच्युट अफ अफध्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन गरिनेछ। त्यसैगरी, राष्ट्रिय आविष्कार केन्द्रसँग साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरणहरू दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ। ई-नेबल नेपालसँगको सहकार्यमा १७ जना फरक क्षमताका बालबालिकालाई 3D प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ। साथै, लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १ हजार ७ सय वटा वृक्षारोपण गरिने योजना सार्वजनिक गरिएको छ। यस वर्ष पनि बैंकले ‘Jyoti’s Got Talent’ को दोस्रो संस्करण आयोजना गरी कर्मचारी तथा उनीहरूका बालबालिकाको सिर्जनशीलता र प्रतिभालाई प्रोत्साहन दिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने सहभागीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै सहभागीहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। बैंकले वार्षिकोत्सवको अवसरमा आफ्नो ‘कर्पोरेट एन्थम’ पनि सार्वजनिक गरेको छ। यस एन्थमले बैंकको उद्देश्य, ध्येय र मूल्य मान्यता समेट्दै सबै सरोकारवालासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ। संगीतमार्फत बैंकको पहिचान र भावनालाई सशक्त रूपमा व्यक्त गर्न खोजिएको यस रचनात्मक प्रयासले संस्थाको आन्तरिक भावना तथा बाह्य प्रस्तुतिलाई सन्तुलित बनाउने अपेक्षा गरिएको छ। समारोहको अवसरमा आयोजित रक्तदान कार्यक्रममा करिब ५५ जना कर्मचारी, ग्राहक तथा सर्वसाधारणले सहभागिता जनाएका थिए। साथै निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरसमेत सञ्चालन गरिएको थियो, जसमा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैंकले विगत १० वर्ष तथा १५ वर्षदेखि निरन्तर सेवा दिँदै आएका समर्पित कर्मचारीहरूलाई समारोहमै विशेष सम्मान गरेको छ। अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य व्यक्त गर्दै विगत १७ वर्षको यात्रामा साथ दिने ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे । उनले सामाजिक समृद्धि तथा कर्मचारी विकासमा बैंक निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै भविष्यमा पनि साथ र समर्थनको अपेक्षा गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संस्थापक सञ्चालक, पूर्व अध्यक्ष, कर्मचारी, शेयरधनी तथा ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै बैंकले तय गरेको लक्ष्य र ध्येयप्रति अझ सशक्त प्रतिबद्धता व्यक्त गरे । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रम र बैंकले हासिल गरेका उपलब्धिहरूको जानकारी गराउँदै भावी दिनहरूमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकसँग सहकार्य गरेका संस्थाहरूका प्रतिनिधिहरूले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए। तिलगंगा इन्स्टिच्युट अफ अफध्याल्मोलोजीकी कार्यकारी प्रमुख डा. रीता गुरुङले दृष्टि प्रदानमार्फत आत्मनिर्भर जीवन निर्माणमा बैंकको सहयोगको प्रशंसा गरे । राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक संजय झाले न्यानो नानी परियोजनामा बैंकको योगदानलाई वैज्ञानिक समाधानमार्फत समाज रूपान्तरणको उदाहरणका रूपमा उल्लेख गरे । ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले 3D कृत्रिम हातले बालबालिकाको आत्मबल बढाउने विश्वास व्यक्त गर्नुभयो भने लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बसु गौतमले हरियाली प्रवर्द्धनमा बैंकको सहभागिता भावी पुस्ताका लागि प्रेरणादायक हुने बताए । समारोहमा बैंकले सामाजिक उत्तरदायित्व, नवीनतम प्रविधिको प्रयोग, कर्मचारी सशक्तिकरण, र दिगो विकासमा निरन्तर क्रियाशील रहने अठोट दोहोर्याएको छ । संस्थागत सुशासन, नवप्रवर्तनशील सोच र नागरिकप्रति उत्तरदायित्व बोक्ने वित्तीय संस्था रूपमा ज्योति विकास बैंकले आगामी दिनमा पनि परिवर्तनको ज्योति बनेर अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।  

बीवाईडी सिलायन ७ को बिक्री सुरु, अर्ली बर्ड अफरमा २ लाख सस्तो

काठमाडौं । बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७ इलेक्ट्रिक एसयूभीको औपचारिक बिक्री सुरु गरेको छ । यो मोडल गत वर्षको नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको भए पनि अब मात्र यसको व्यावसायिक रूपमा बजारमा प्रवेश भएको हो । सिलायन ७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने, अर्ली बर्ड अफर अन्तर्गत २ लाख छुट दिँदै कम्पनीले हाल ७२ लाख ९९ हजारमा बिक्री शुरू गरेको हो । यस एसयूभीमा ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक राखिएको छ, जसले एक पटकको फुल चार्जमा ४४० किलोमिटर रेन्ज प्रदान गर्न सक्ने कम्पनीको दाबी छ । बीवाईडीको ई–प्लेटफर्म ३.० मा निर्मित यो गाडीमा बीवाईडी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, सेल–टु–बडी प्रविधि, प्याटेन्टेड ब्लेड ब्याट्री टेक्नोलोजी, डबल विसबोन सस्पेन्सन, ३६० डिग्री प्यानोरामिक भ्यु, भेइकल टु लोड लगायतका अत्याधुनिक फिचरहरू दिइएका छन् । डिजाइनका हिसाबले, सिलायन ७ मा सिल आकारको हेडलाइट, क्लोज अफ ग्रिल, १९ र २० इन्चका ड्युअल टोन अलोय ह्विल, फ्लश टाइप डोर ह्यान्डल र एलईडी टेललाइट सहितको एग्रेसिभ स्पोर्टी लुक दिइएको छ। स्टोरेजको हिसाबले यसमा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर १७८९ लिटरसम्म विस्तार गर्न सकिन्छ । यसको इन्टेरियरमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हिटेड र भेन्टिलेटेड सिट, ५० वाट वायरलेस चार्जर, हेड-अप डिस्प्ले र सनशेडसहितको प्यानोरामिक ग्लास रूफ लगायतका प्रिमियम फिचरहरू समावेश छन् । सुरक्षाको लागि, गाडीमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर अन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल तथा रियर कोलिजन वार्निङ सुविधा पनि उपलब्ध गराइएको छ । एसयूभीले नेपाली बजारमा प्रिमियम ईभीको अनुभवमा नयाँ उचाइ ल्याउनेछ र दिगो मोबिलिटीतर्फको यात्रामा थप गति प्रदान गर्ने साइमेक्स इंकको विश्वास छ ।

पार्वती बनिन् एनसेल करोडपति

काठमाडौं । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ भन्ने सोचमा विश्वास गर्ने धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले शुक्रबार खुसी हुँदै भनिन्, 'अब भने साँच्चै हाम्रो पनि दिन आयो !' कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको प्रतिक्रिया सुन्दा लाग्थ्यो, उनले जीवनमा ठुलो सङ्घर्ष गरेकी छन्, धेरै गुमाएकी छन् ।  उनले झण्डै आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् र असारको तेस्रो साता रु ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन् । विसं २०७२ सालको भूँइचालोमा धन्सारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाइन । भूँइचालोले छोरासँगै निर्माण सकेर घरपूजा गर्ने तरखरमा रहेको घर पनि ढलायो ।  त्यसपछि अझ बढी आर्थिक अवस्थाले पिसोलिएकी उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन् । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । उनका श्रीमान् अहिले बहराइनमा छन् भने छोरा काठमाडौँमा प्लस टुमा अध्ययनरत छन् । एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् ।  'मैले जीवनमा कैयौँ दुखहरू भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ, मेरो सोच र मैले गरेको सङ्घर्षको परिणाम स्वरूप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु', उनले भनिन् । श्रीमानलाई विदेश नफापेपछि उनले केही समय काठमाडौँमा व्यापार पनि गरिन् । तर केही महिनामै लाखौँ रुपैयाँ घाटा भएपछि कार्कीले श्रीमानलाई फेरि विदेश पठाइकी थिइन् ।  'अहिले पनि श्रीमान् विदेश जाँदाको र अरू ऋण बाँकी छ, श्रीमानको स्वास्थ्य पनि राम्रो छैन । अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन, नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ । छोरोको शिक्षामा लगानी गर्छौ', उनले सुनाइन् । एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौँ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो ।  'सधैँ अन करोडपति अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ,' एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले भने । 'सम्पूर्ण एनसेल परिवारको तर्फबाट म पार्वती कार्कीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कथा आशाको कथा हो । यसले हाम्रो वचनप्रति रहेको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ । उहाँको यात्रामा भागिदार हुन पाउँदा हामी हर्षित छौँ । उहाँले यो पुरस्कार रकमलाई आफ्नै व्यवसाय सुरु गर्ने सपना साकार पार्न प्रयोग गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । उहाँको श्रीमान् फर्किएपछि हामी धादिङ जाने योजनामा छौँ ।'

रिडारा आरडी ६ अब ९ लाख ९९ हजार डाउन पेमेन्टमै पाइने

काठमाडौं । सीजी मोटर्सले नेपालमा ल्याएको इलेक्ट्रिक पिकअप रिडारा आरडी ६ अब केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै खरिद गर्न सकिने भएको छ । विद्युतीय मोबिलिटीलाई अझ पहुँचयोग्य, भरपर्दो र सुविधा सम्पन्न बनाउने उद्देश्यसहित कम्पनीले यो विशेष योजना ल्याएको हो ।  अफर अन्तर्गत ग्राहकले आकर्षक क्यास ब्याक, निःशुल्क एसेसोरीहरू र ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज टप–अप बोनस समेत प्राप्त गर्न सक्नेछन् । रिडारा आरडी ६ मा ६३ किलोवाट आवरको ब्याट्री प्याक र २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३८५ एनएम टर्क दिने क्षमता राख्छ। फुल चार्जमा यो गाडीले ३७७ किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । गाडी गिलीको एमएपी प्लेटफर्ममा आधारित छ, जसमा इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ। यसले नेपाली सडकमा आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ । कम्पनीका अनुसार यस पिकअपमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र भेहिकल टु लोड सुविधा छ, जसले गाडीबाट अन्य उपकरण चार्ज गर्न सकिने बनाउँछ । साथै, गाडीमा कम्फर्ट, इकोनोमी र अफ रोड गरी तीनवटा ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलको मजबुत बडी प्रयोग गरिएको छ । चार्जिङ र सर्भिसको पहुँचलाई ध्यानमा राख्दै सीजी मोटर्सले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याइसकेको छ । यो अफरले ग्राहकलाई विद्युतीय सवारी अपनाउन थप प्रेरित गर्नेछ र देशको ईभी क्रान्तिमा नयाँ उचाइ थप्ने कम्पनीको विश्वास छ ।

नाईमा एक्सपोमा फरथिङ एसयूभीको प्रदर्शन हुने

काठमाडौं । लक्ष्मी ई-मोबिलिटीले चिनियाँ उदीयमान इलेक्ट्रिक गाडी ब्रान्ड फरथिङ नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने 'नाईमा नेपाल मोबिलिटी एक्सपो २०२५' मार्फत फरथिङ ब्रान्डको पहिलो प्रिमियम इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । सन् १९७३ देखि व्यापारिक गतिविधिमा सक्रिय लक्ष्मी ग्रुपले हुन्डाई, बिएमडब्लु, केई, एसएमएल लगायतका अन्तर्राष्ट्रिय ब्रान्डमार्फत नेपाली अटोमोबाइल बजारमा सशक्त उपस्थिति बनाउँदै आएको छ । समूहले हालै नेपालकै पहिलो फोर–ह्वीलर गाडी एसेम्ब्ली प्लान्ट 'लक्ष्मी मोटर कर्पोरेशन' पनि सञ्चालनमा ल्याइसकेको छ, जसले अटोमोबाइल क्षेत्रको औद्योगिकीकरणमा मील का पत्थर राखेको छ । नेपालभर ६३ भन्दा बढी री–ल्याक्स रिचार्ज नेटवर्क र रिपेयर स्टेसन स्थापना गरी लक्ष्मी समूहले ईभी प्रयोगकर्ताहरूलाई थप सहज बनाएको छ । फरथिङको प्रिमियम एसयूभीमा ६४.४ किलोवाट–आवरको ब्याट्री, ९९ किलोवाटको पावर मोटर, र ४०० किलोमिटरभन्दा बढी माइलेज क्षमतासहित उच्च प्रदर्शन, आधुनिक डिजाइन र स्मार्ट इन्टेरियर सुविधाहरू समावेश गरिएको छ । यो सहर भित्रको दैनिकीदेखि लामो दूरीका यात्रासम्म उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ । 'फरथिङ केवल गाडी होइन, यो भविष्यको मोबिलिटीप्रतिको दृष्टिकोण हो,' लक्ष्मी ई–मोबिलिटीका प्रवक्ताले बताए । उनले थपे, 'नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि सुलभ बनाउने लक्ष्यसहित हामी फरथिङ ब्रान्ड ल्याउँदैछौं ।' नेपालको इलेक्ट्रिक गाडी बजारमा गति र गुणस्तरको नयाँ अध्याय सुरु गर्न तयारी अवस्थामा रहेको फरथिङ ब्रान्डले आगामी दिनमा ईभी प्रविधिमा नयाँ मापदण्ड कायम गर्ने अपेक्षा गरिएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिलाई मोरङ संघद्वारा स्वागत, औद्योगिक सहकार्यमा जोड

काठमाडौं । मोरङ उद्योग व्यापार संघले शुक्रबार आयोजित कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहित सम्पूर्ण कार्यसमितिलाई स्वागत गर्दै औपचारिक भेटघाट गरेको छ । कार्यक्रममा मोरङ संघका अध्यक्ष अनुपम राठीले दुई जिल्लाबीचको औद्योगिक सहकार्य बलियो बनाउँदै मोरङ–सुनसरी औद्योगिक कोरिडोरको हकहित र संरक्षणमा संयुक्त पहलको आवश्यकता औंल्याए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले औद्योगिक विकासको गति सुस्त रहेको र युवाहरुको वैदेशिक पलायन रोक्न संघहरूको संयुक्त प्रयास अपरिहार्य रहेको बताए । कार्यक्रममा दुवै संघका पदाधिकारीहरूले आपसी सहकार्य, उद्योगप्रति राज्यको ध्यानाकर्षण, भारतीय कामदार दर्ता र एमआरपी व्यवस्थापनका विषयमा साझा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सुनसरी संघका अध्यक्ष गोपाल श्रेष्ठले मोरङ संघलाई ‘औद्योगिक अभिभावक’ को रूपमा सम्मान गर्दै भविष्यमा पनि समस्याको समाधानमा ऐक्यवद्धताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।