सुक्खा पहिराले बेनी-जोमसोम आवतजावत रोकियो
म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएका छन् ।
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
रसुवा । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो । चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ । पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ । बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिए । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरे । पुडासैनी १ हजार ४८२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी भए । भने, अध्यक्ष पदका अर्का उम्मेदवार खरेलले ९७७ र खत्रीले ४९६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी भएका छन् । सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्षपदमा राममाया विष्ट थापा विजयी भएका छन् । नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको जानकारी दिए । उनले भने, ‘तल्लो तहसम्म पुग्ने अभियान हामीले आजैदेखि सुरुआत गरेका छौँ । हामी जहाँ भएपनि नेपाली भएर बाँच्न परोस्, नेपालको राष्ट्रिय गीतले भनेझै सबै नेपाली एउटै सयौँ थुँगा फूलका एउटै माला बनेर एक हुन सक्नुपर्छ ।’ सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको उनले जानकारी दिए ।
गुल्मीमा आगलागी हुँदा एक महिलाको मृत्यु
काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका ५ बस्तुमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय मनिदेबी बिकको घरमा आगलागी हुँदा सुस्त मनस्थिति भएकी पच्चीस वर्षिया जुना बिकको मृत्यु भएको हो । बिहान पाँच बजेतिर आगलागी भएको बस्तुका वार्ड अध्यक्ष केशवराज भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीका अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ । घर भित्र रहेका सबै समान जलेका छन । क्षतिको विवरण तयार पार्ने काम भइरहेको छ अध्यक्ष भण्डारीले बताए । इलाका प्रहरी कार्यालय बस्तुका प्रहरी र वार्ड अध्यक्ष भण्डारीको नेतृत्वमा घटनास्थल पुगेका उद्धारकर्ताहरुले एक घण्टामै आगो नियन्त्रणमा लिएको भण्डारीले बताए ।
इन्फिनिटी लघुवित्तको नाफामा १०३.७१ प्रतिशत छलाङ, ७.४३ प्रतिशतमा झार्याे एनपीएल
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १०३.७१ प्रतिशत बढेर ९ करोड ३७ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ४ करोड ५७ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष खराब कर्जा घटेसँगै लघुवित्तको नाफा बढेको देखिन्छ । अघिल्लो वर्ष १०.१९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ७.४३ प्रतिशत झरेको छ । गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशत बढेर ४० करोड ४९ लाख ६९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २९ करोड १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको कुल सञ्चालन आम्दानी ४.०९ प्रतिशत बढेर ४७ करोड ७७ लाख ५४ हजार रुपैयाँ र सञ्चालन नाफा १७७.७० प्रतिशत बढेर १३ करोड ४९ लाख ८० हजार रुपैयाँ रहेको छ । गत वर्ष लघुवित्तको वितरणयोग्य नाफा ८ करोड ३२ हजार रुपैयाँ रहेको छ । लघुवित्तको चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ र जगेडा कोष ४.७९ प्रतिशत बढेर २० करोड १७ लाख ७८ हजार रुपैयाँ रहेको छ । गत वर्ष लघुवित्तले १ अर्ब ३९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब ९७ करोड २ लाख रुपैयाँ सापटी लिई ५ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ९.६४ रुपैयाँ बढेर १८.८५ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६.६५ रुपैयाँ रहेको छ ।
आइसिएफसि फाइनान्सले १० वर्षदेखि निष्क्रिय रहेका खाता बन्द गर्ने
काठमाडौं । आइसिएफसि फाइनान्सले निष्क्रिय खाताहरू बन्द गर्ने भएको छ । फाइनान्स कम्पनीले १० वर्षदेखि शून्य मौज्दात रहेका खाता बन्द गर्ने जनाएको हो । फाइनान्सका अनुसार विगत १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका र विगत २० वर्षदेखि बुझ्न नआएको वा कसैको हकदावी पर्न नआएको निक्षेप रकम भएका निष्क्रिय खाताहरू बन्द गरिनेछ । त्यस्ता खाताहरू फाइनान्सको वेबसाइटमा सार्वजनिक गरिएको हुँदा सम्बन्धित खातावालहरुले आफ्नो निष्क्रिय खाता ३५ दिनभित्र आफूलाई पायक पर्ने शाखामा गई सुचारु गर्न अनुरोध गरेको छ । अन्यथा, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम बुझ्न नआएको वा कसैको हकदावी पर्न नआएको निक्षेप रकम बैंकिङ्ग विकास कोषमा जम्मा गरिने फाइनान्सले जनाएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको नाफामा ७९.७९ प्रतिशत उछाल, १०.६७ प्रतिशत लाभांश बाँड्न सक्ने
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ७९.७९ प्रतिशत बढेर ६ करोड ९४ लाख ८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करोड ८६ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशत घटेर २० करोड २० लाख ४२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १७ करोड १६ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी २० प्रतिशत घटेर २३ करोड ३० लाख २० हजार रुपैयाँ र सञ्चाल नाफा ७२.७९ प्रतिशत बढेर ९ करोड ८७ लाख २३ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ६ करोड ७ लाख ८१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण गर्ने क्षमता १०.६७ प्रतिशत रहनेछ । बैंकको चुक्ता पुँजी ५.७४ प्रतिशत बढेर ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँ र जगेडा कोष २६.२४ प्रतिशत बढेर ६ करोड ५१ लाख ७८ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन २८.२५ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । साथै, बैंकले गत वर्ष कर्जा लगानी १९.९९ प्रतिशत बढाएर ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १२.१८ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२२.०७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ रहेको छ । गत वर्ष बैंकको खराब कर्जा सामान्य बढेको छ । अघिल्लो वर्ष ३.१८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ३.३३ प्रतिशत पुगेको छ ।
बुटवललाई धुलो र हिलोमुक्त सडक बनाउँछु, बजेटको चिन्ता गर्नु पर्दैन : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको बुटवल उप-महानगरपालिका अन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाको शनिबार निरीक्षण गरेका छन् । उनले रुपन्देही निर्वाचन क्षेत्र नं २ मा सञ्चालित विकास आयोजनाको कार्यान्वयन र गुणस्तरीयताका विषयमा शुक्रबारदेखि निरीक्षण गरिरहेका छन् । अर्थमन्त्री पौडेलले आइतबार पनि जिल्लाका विभिन्न विकास आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल नगर अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए । पौडेलले बुटवल उपमहानगरपालिका-१२, १३ र १५ मा सञ्चालित विभिन्न विकास आयोजनाको निरीक्षण गरे । त्यस क्रममा बुटवल उप-महानगरपालिका-१३ स्थित प्रदेश सरकार अन्तर्गत निर्माण हुने उजिर सिंह रङ्गशालाको निरीक्षण तथा स्थानीयसँग छलफल गर्दै उनले नियम, कानुन र प्रक्रियागत जटिलता फुकाउन केही ढिला भए पनि अब रङ्गशाला निर्माणको काम अघि बढ्ने बताए । उपप्रधानमन्त्री पौडेलले बुटवलको विकास निर्माणका लागि राम्रा योजना ल्याए बजेटको अभाव नहुने भन्दै आश्वस्त पारे । ‘बुटवललाई अब धुलो-हिलोमुक्त सडक बनाउने अभियान थाल्छौँ, त्यसका लागि बजेटको चिन्ता गर्नु पर्दैन । यहाँ सञ्चालित विकास-निर्माणका काममा जनस्तरबाट गुणस्तर, काममा ढिलाइ र प्राविधिक अनुगमन भए/नभएका विषयमा नागरिक निगरानी हुनु जरुरी छ । तपाईंहरूले यसमा ध्यान दिनुहोला,’ उनले भने । लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्ले गत फागुन ६ गते गरेको निर्णयअनुसार उक्त आयोजना युवा तथा खेलकुद मन्त्रालयबाट प्रदेश पूर्वाधार विकास प्राधिकरणमा हस्तान्तरण गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ । आयोजनाको कुल लागत अनुमान ५३ करोड रुपैयाँ रहेको छ । आयोजना दुई चरणमा कार्यान्वयन गर्न हाल पहिलो चरण अन्तर्गत १० करोड ७६ लाख ६१ हजार रुपैयाँ लागतसहित ‘टेन्डर’ स्वीकृत भएको आयोजनाका इन्जिनियर शङ्कर सुवेदीले जानकारी दिए । आयोजनाअन्तर्गत रङ्गशालामा भिलिएनसहितको फुटबल स्टेडियम, मल्टिप्रपोज कभर्डहल, स्विमिङ पुल, क्यान्टिन, पार्किङ, बाल उद्यान निर्माण गरिने उनको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले शनिबार नै बुटवल-१५ स्थित कर्साघाटामा निर्माण प्रस्ताव गरिएको कृषि उपज केन्द्र क्षेत्रको अवलोकन गर्नुभयो चालु आर्थिक वर्षमा कृषि उपज केन्द्रका लागि जग्गा प्राप्ति गरेर भौतिक पूर्वाधार निर्माणका काम अघि बढाइने लक्ष्य रहेको छ । यसका लागि रु चार अर्बभन्दा बढी लगानी हुने जनाइएको छ । यस्तै, उपप्रधानमन्त्री पौडेलले वडा नं १५ मा निर्माणाधीन बुटवल तामनगर-फर्साटिकर सडक, नयाँगाउँ खानेपानी आयोजना, बुटवल-१३ को सेवा पथ, बेलवास-झोलुङ्गे पुल सडक लगायतको निरीक्षण गरे ।