स्नेहाज केयरको आयोजनामा भेज फेस्ट सम्पन्न
ललितपुर । पशु कल्याणको क्षेत्रमा विगत एक दशकदेखि सक्रिय स्नेहाज केयरले आयोजना गरेको ‘काठमाडौं भेज फेस्ट’ भव्य रूपमा सम्पन्न भएको छ । उक्त फेस्टको उद्घाटन ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले गरेका थिए । कार्यक्रम काठमाडौंको बौद्धस्थित उत्पला रेस्टुरेन्टमा सम्पन्न भएको हो । स्नेहाज केयरले आयोजना गरेको यो पाँचौं भेज फेस्ट हो । उद्घाटन सत्रमा बोल्दै प्रमुख महर्जनले छैटौं भेज फेस्ट ललितपुरमै गर्ने घोषणा गरे । वनस्पतिमा आधारित जीवनशैलीको प्रवर्द्धन गर्न फेस्ट आयोजना गरिएको हो । उनले स्नेहाज केयरले समुदायमा रहेका कुकुरलगायत जनावरलाई आश्रय, उपचार र हेरचाह गरेर असाधारण कार्य गर्दै आएको भन्दै ललितपुर महानगरको तर्फबाट विभिन्न क्षेत्रमा सहयोग गरिएको बताए । पशु सेवा विभागका महानिर्देशक डा। रामनन्द तिवारीले पृथ्वीमा वनस्पति र प्राणी दुवैको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै पशु अधिकार र कल्याणका लागि सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य भएको बताए । स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले वनस्पतिमा आधारित परिकार र जीवनशैलीको प्रचारप्रसार गर्न फेस्ट आयोजना गरिएको जानकारी दिइन् । उनले भनिन्, 'स्वादका लागि हामीले अवोध प्राणीको हत्या गर्छौँ, त्यो किन गर्नुपर्ने ?' उनले मासुबाट मात्र पोषण प्राप्त हुन्छ भन्ने धारणा गलत भएको स्पष्ट पारिन् । भिगन जीवनशैलीले प्राणीको जीवन जोगाउने भएकाले सबैलाई यो शैली अपनाउन आग्रह गरिन् । साथै, पशु कल्याण ऐन तत्काल ल्याउनुपर्ने आवश्यकता पनि औँल्याइन् । उत्पला रेस्टुरेन्टका सञ्चालक दीपक बोहराले भिगन जीवनशैलीले प्राणीको बाँच्न पाउने अधिकारको संरक्षण गरेको बताए । उनले भने, 'पोषणका लागि प्राणीको हत्या आवश्यक छैन ।' स्नेहाज केयरले संचालन गरेको पशु अधिकार अभियानमा आबद्ध पाँच वटा विद्यालयलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । यस्तै, पशु अधिकारसम्बन्धी उत्कृष्ट कविता लेख्ने विद्यार्थीहरूलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । श्रेष्ठ एनिमल लभर श्याम महर्जनलाई पनि सम्मान गरिएको थियो । महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनी तथा विक्री, भिगन रेस्टुरेन्टहरू, भिगन सामग्रीका स्टलहरू राखिएका थिए । आयोजकका अनुसार महोत्सवमा १३ भन्दा बढी भिगन रेस्टुरेन्ट, भिगन परिकार उत्पादक, आकर्षक गरगहना, अर्गानिक कृषि उपज, हस्तकला सामग्री, पशु कल्याण संस्थाहरू, योग तथा दर्शनसम्बन्धी स्टल गरी ९० भन्दा बढी स्टलहरू राखिएका थिए । स्नेहाज केयरले सन् २०१७ देखि विरुवामा आधारित आहारको प्रवर्द्धन गर्ने कार्यक्रमहरू गर्दै आएको छ । स्वस्थकर खानपान शैलीको विकास, पशुप्रतिको क्रूरता अन्त्य गर्न फेस्ट महत्वपूर्ण हुने संस्थाले जनाएको छ । संगठनले विद्यालयहरूमा विरुवामा आधारित आहार, पशु कल्याण तथा मानवता सम्बन्धी कक्षा सञ्चालन गर्ने, विद्यालय क्यान्टिनका कुकलाई भिगन परिकार तालिम दिने, समुदाय स्तरमा महिलालाई गोष्ठी तथा तालिम दिने, रैथाने भेज खानाको प्रवर्द्धनका लागि फुड ब्लग र सामाजिक सञ्जालमार्फत प्रचार गर्ने र वार्षिक फेस्ट आयोजना गर्दै आएको छ । विसं २०७२ मा ललितपुर महानगरपालिका–२१ मा स्थापना भएको स्नेहाज केयरले विगत १० वर्षदेखि पशु कल्याणका क्षेत्रमा विविध कार्य गर्दै आएको छ । संस्थाले पशुपंक्षीहरूको उद्धार, उपचार र पुनःस्थापना, सामुदायिक कुकुरहरूको बन्ध्याकरण, रेविजविरुद्धको खोप अभियान, बेवारिसे गाई–बाच्छाको उद्धार, अव्यवस्थित पशु ढुवानी रोक्न कार्यक्रम तथा हिमाली क्षेत्रका भारवाहक जनावरको कल्याणका कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
रोटरी क्लब अफ बानेश्वरले सम्पन्न गर्यो वृक्षारोपण कार्यक्रम
टोखा । रोटरी क्लब अफ बानेश्वरले इन्द्रायणी भुतखेल सामुदायिक वनसँगको सहकार्यमा 'रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण कार्यक्रम' गरेको छ । कार्यक्रमअन्तर्गत कुल ४५० बिरुवाहरू रोपिएको छ । ५० वटा सिप्रसका बिरुवा र ४०० फलफूल तथा जडीबुटीका बिरुवा नर्सरी स्थापना गर्न वृक्षरोपण गरिएको हो । धुपी, तेजपत्ता, सुन्तला, मुन्तला, कागती, रोजमेरी, तुलसी लगायतका बहुपयोगी बिरुवा रोप्ने योजना अन्तर्गत यस कार्यक्रमले जैविक विविधता संरक्षणमा टेवा पुर्याएको छ। सामुदायिक वनको अनुरोधअनुसार सिप्रस बिरुवा वनको विशेष भागमा रोपिएको हो। वृक्षारोपणपश्चात सहभागी टोलीले नवस्थापित नर्सरीको अवलोकन गर्दै औपचारिक रूपमा ४०० बिरुवाहरू इन्द्रायणी भुतखेल सामुदायिक वनका प्रतिनिधिहरू श्री सुर्य मान डंगोल र श्री हरि नारायणलाई हस्तान्तरण गरियो । यी बिरुवाहरूलाई आवश्यक हेरचाह गरी स्थायीत्व प्राप्त भएपछि मात्र वन क्षेत्र वा अन्य उपयुक्त ठाउँमा रोप्ने योजना छ। कार्यक्रमले विगतको अनुभवलाई ध्यानमा राख्दै सिजनमा सिधा रोपाइँका साटो पहिला नर्सरीमा हुर्काउने विधि अपनाएको छ। वर्षायाममा रोपिएका ५०–६० बिरुवा अत्यधिक पानीका कारण नष्ट हुने गरेको तथ्यका आधारमा यस वर्ष नयाँ तरिका अपनाइएको हो, जसले दीर्घकालीन सफलता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। नर्सरीको एक विशेष पहलका रूपमा कम्पोस्ट मल उत्पादन केन्द्र स्थापना गरिएको छ, जसमा वन क्षेत्रमा झरेका पात र घाँसलाई प्रयोग गरी जैविक मल उत्पादन गरिन्छ । प्रतिकिलो २५ मा विक्री हुने यो मलले वन र नर्सरी व्यवस्थापनमा आर्थिक सहयोग पुर्याइरहेको छ । कार्यक्रममा ९ जना रोटेरियन, ४ जना सामुदायिक वनका स्वयंसेवक र २ जना रोटरी स्वयंसेवक गरी कुल १५ जनाको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूको सहकार्य र प्रतिबद्धताले हरित र दिगो भविष्यप्रतिको साझा दृष्टिकोणलाई स्पष्ट रुपमा झल्काउँछ । यो परियोजना वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, र स्रोतको आत्मनिर्भर उपयोगमा केन्द्रित दिगो विकासको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ । इन्द्रायणी भुतखेल सामुदायिक वन, टोखामा वृक्षरोपण गरिएको हो ।
हितेन्द्रले निकाले लोडसेडिङको तालिका, अब दैनिक ६ घण्टा बत्ती नआउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । देशभर अघोषित लोडसेडिङ गरिरहेको प्राधिकरणले अब भने तालिका नै सार्वजनिक गरेर लोडसेडिङ हुने जानकारी गराएको हो । प्राधिकरणले सुरुमा चितवनदेखि लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अब चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ हुनेछ । अब चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुने भएको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको तर्क प्राधिकरणको छ । चनौली वितरण केन्द्रले नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ हुने जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणले यो तालिका भने क्षणिक समयका लागि भएका जानकारी दिएको छ । प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा हितेन्द्रदेव शाक्य आएपछि देशमा अघोषित लोडसेडिङ सुरु भएको हो । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि शाक्यले भने लोडसेडिङको तालिका नै सार्वजनिक गरेर फेरि सर्वसाधारणलाई त्रसित बनाएका हुन् । उनले प्राधिकरणको नेतृत्व गरेपछि इन्भर्टर तथा जेनेरेटरको व्यापार बढेको छ । उनले व्यवसायीलाई खुसी बनाएर लोडसेडिङ गरेको आरोप पनि उनीमाथि छ । उसो त उनले यसअघि लोडसेडिङ गर्ने अवस्था नरहेको बताउँदै आएका थिए । उनले समय-समयमा प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरे पनि लोडसेडिङ नै गर्नु पर्ने अवस्था नरहेको बताउँदै आएका थिए । उनले प्राधिकरणको नेतृत्व गरेलगत्तै विद्युत् कटौती गरेपछि चौतर्फी रूपमा विरोध हुँदै आएको छ । त्यसको जवाफ दिँदै उनले यस्तो बताएका थिए । तर, उनी अहिले लोडसेडिङको तालिका नै सार्वजनिक गर्न बाध्य भएका हुन् । यस विषयमा उनीसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । यस्तो छ लोडसेडिङको तालिका -नारायणी-माडी फिडरहरू : बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म । - मेघौली-विजयनगर-शुक्रनगर फिडरहरू : बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म । -जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म । सम्बन्धित सामग्री : अघोषित लोडसेडिङपछि बिल तिर्ने प्रणालीमा पनि सकस, कर्मचारी भन्छन्- दबाब आउन थाल्यो लोडसेडिङ बढेसँगै इन्भर्टर र जेनेरेटरको माग दोब्बर उद्योगको लोडसेडिङ ५ घण्टामा झर्यो, उद्योगीले हितेन्द्रलाई बनाए बधाईका पात्र हितेन्द्रले प्राधिकरणको ५ अर्ब बढी घाटा देखाएर बनाए १० अर्ब ऋण लिने योजना, यस्तो छ श्वेतपत्र हितेन्द्रदेव शाक्य भन्छन्स् अब लोडसेडिङ हुदैँन, इन्भर्टर र मैनबत्ती प्रयोग नगर्नु कुलमान र हितेन्द्र स् दुई सहकर्मीको १७ वर्षे ‘हेड टु हेड’ प्रतिस्पर्धा
ताइवान विश्वकै नयाँ ‘अमीर हब’
काठमाडौं । अमेरिका संसारको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो स्थानमा पर्छ । तर संसारमा ती १० देशहरू जहाँ सबैभन्दा छिटो धनीहरूको संख्या बढिरहेको छ, तीमध्ये चीन र अमेरिका भने छैनन् । यूबीएस ग्लोबल वेल्थ रिपोर्ट २०२४ अनुसार यो सूचीमा पहिलो स्थानमा ताइवान परेको छ । चीनसँग सिमाना जोडिएको यो देशमा धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । ताइवानमा हाल ७ लाख ६० हजारभन्दा बढी व्यक्तिको सम्पत्ति १० लाख अमेरिकी डलरभन्दा बढी रहेको छ । त्यहाँ प्रति व्यक्तिको औसत सम्पत्ति ३ लाख १२ हजार ७५ छ । ताइवानको जनसंख्या करिब २ करोड ३१ लाख छ। टर्कीए दोस्रो स्थानमा यूबीएस ग्लोबल वेल्थ रिपोर्ट २०२४ अनुसार धनीहरूको संख्या तीव्र गतिमा बढिरहेको देशहरूको सूचीमा टर्कीए दोस्रो स्थानमा पर्छ । कुनै समय ‘युरोपको बिरामी देश’ भनिएको टर्कीए पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ । अनुमान अनुसार विगत एक वर्षमा टर्कीएमा मिलिनेयरहरूको संख्या ७ हजारले अर्थात् ८।४ प्रतिशतले बढेको छ । अहिले टर्कीएमा मिलिनेयरहरूको संख्या ६८ हजार पुगेको छ र यो संख्या २०२८ सम्ममा ८७ हजार ७७ पुग्ने अनुमान गरिएको छ । सूचीमा अरू को-को ? यस सूचीमा टर्कीएपछि कजाकस्तानको नम्बर आउँछ । मध्य एसियाली यो देशमा सन् २०२३ मा मिलिनेयरहरूको संख्या करिब ४४ हजार ३०७ थियो, जुन २०२८ सम्ममा ६० हजार ८७४ पुग्ने अपेक्षा गरिएको छ। दुनियाँको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको देश इन्डोनेशियामा पनि मिलिनेयरहरूको संख्या तीव्र गतिमा बढिरहेको छ र यसले यो मामलामा जापानलाई समेत पछि पारेको छ । त्यस्तै, दक्षिण कोरिया, इजरायल, मेक्सिको, थाईल्यान्ड र स्विडेन पनि ती शीर्ष १० देशहरूमा पर्छन् जहाँ मिलिनेयरहरूको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ ।
गाजाको भोकमरीको विरोधमा यमनमा र्याली
काठमाडौं । यमनको राजधानी सानामा दशौं हजार यमनीहरू भेला भइ विरोध प्रदर्शन गरेका छन् । घेराबन्दीमा परेको गाजा पट्टीको भोकमरीको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । सहभागीहरूले गाजामा भोकमरी बन्द गर,गाजामा युद्ध बन्द गर र गाजामा इजरायली नाकाबन्दी तुरुन्तै हटाइनुपर्छ लेखिएका ब्यानरहरू बोकेका थिए । इजरायलले महिनौंदेखि गाजामा मानवीय सहायता प्रवेश गर्नबाट रोकेको गरेको छ । जसले गर्दा गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार १२२ प्यालेस्टिनीहरू मारिएका छन् ।
काठमाडौं महानगरमा ट्राफिक नियम उल्लंघन गरे ५० हजारसम्म जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सवारी नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐनमा यस्तो व्यवस्था गरेको हो । ऐनमा सवारी साधनसँग सम्बन्धित ५ वटा शीर्षकमा नयाँ जरिवाना तोकिएको छ । महानगरले यी जरिवानाहरू यातायात व्यवस्था ऐनमा भएको व्यवस्थाभन्दा बाहेक थप गरेको हो । यसको अर्थ, संघीय कानुनले तोकेको जरिवानाका अतिरिक्त महानगरले आफ्नै नियमअनुसार पनि कारबाही गर्न सक्नेछ । महानगरले तोकेका जरिवानाहरुमा तोकिएको स्थानबाहेक अन्यत्र पार्किङ गरेमा सवारीको प्रकृतिअनुसार ५ हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । मोटरसाइकल र स्टकुरको १ हजार जरिवाना लाग्नेछ भने कार/जीप/भ्यान साना अन्य चारपाङ्ग्रेको लागि २ हजार ५ सय, मिनीबस/मिनीट्रक अर्थात् मझौला सवारीको ३ हजार ५ सय बस/ट्रक (ठूला सवारी) को ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै सार्वजनिक सवारीले बस बिसौनी वा तोकिएको ठाउँबाहेक अन्यत्रबाट यात्रु चढाए वा ओरालेमा ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ । सवारीसाधनले अनावश्यक हर्न बजाएर वा अन्य तरिकाले ध्वनि प्रदूषण गरेमा १ हजार रुपैयाँ जरिवाना हुनेछ । सवारीसाधनले मापदण्डभन्दा बढी धुँवा फालेर वायु प्रदूषण गराएमा १ हजार जरिवाना गरिनेछ । यसैगरी कुनै सवारी साधन वा व्यक्तिले बाटोमा माटो, बालुवा, हिलो वा अन्य निर्माण सामग्री खसालेर फोहोर गरेमा कसुरको प्रकृति हेरी ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
चिया निर्यात ३२ प्रतिशतले बढ्यो
भद्रपुर । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए । आव २०८०/८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उनले बताए । कार्यालयको तथ्याङ्कानुसार आव २०८१/८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ को सोही अवधिमा रु सात अर्ब ९३ करोड नौ लाख ९० हजार बराबरको अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । कार्यालयको तथ्याङ्कानुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ७२ दशमलव ३० प्रतिशत, फलामे पाता एक दशमलव आठ प्रतिशत, प्लाइउड सात दशमलव ६० प्रतिशत र मोलासिसको निर्यातमा दुई सय ४७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी सिमेन्ट क्लिङ्कर १३ प्रतिशत, अदुवा ६० दशमलव ७० प्रतिशत, अम्रिसो १४ दशमदव ९० प्रतिशत र छुर्पी निर्यातमा एक दशमलव पाँच प्रतिशतले कमी आएको छ । मेची भन्साबाट गत आव २०८१/८२ मा रु २५ अर्ब १३ करोड ९७ लाख ५० हजारको मालवस्तु निर्यात भएको छ ।