विकासन्युज

निर्यातमा इतिहासकै उच्च विन्दु  हासिल : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा  निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत   आव २०८१/२०८२ मा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका छन् ।   आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, 'यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।'  

कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !

दमौली । यहाँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर, कार्यालयमा कार्यरत कर्मचारी जम्मा पाँच जना छन् ।  केन्द्रमा दश जनाको स्वीकृत दरबन्दी भए पनि पाँच कर्मचारीको पद रिक्त छ । पाँच जनामध्ये एक जना अध्ययनका सिलसिलामा विदेशमा रहेको कार्यालयका निमित्त प्रमुख विजयराज पौडेलले बताए । कार्यक्षेत्र प्रदेशभर हुनु तर कर्मचारी कम हुँदा काम गर्न समस्या परिरहेको उनको गुनासो छ ।  पौडेलका अनुसार कार्यालयमा एक वरिष्ठ बाली संरक्षण अधिकृत, एक बाली संरक्षण अधिकृत, एक प्राविधिक सहायक, एक नायब प्राविधिक सहायक र एक कार्यालय सहयोगी मात्र कार्यरत छन् । कार्यालयमा कृषि प्रसार अधिकृत, लेखापाल, प्रशासन सहायक र हलुका सवारी चालकको पदपूर्ति हुन सकेको छैन ।  उनले भने, '११ जिल्ला कार्यक्षेत्र हुँदा कर्मचारीको अभावले सोचे बमोजिम काम गर्न सकिएको छैन ।' कार्यालयको मुख्य काम रेशमखेती, मौरीपालन र च्याउखेतीमा प्राविधिक सहयोग गर्नु हो । त्यसका लागि कार्यालयले कृषकलाई मौरीपालनसम्बन्धी सीपसँगै च्याउखेती तालिम प्रदान गर्दै आइरहेको छ ।  कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३१ रेशम बिज कोया उत्पादन गरेको छ । उत्पादित रेशम बिज कोया रेशम विकास केन्द्र खोपासीलाई हस्तान्तरण गरिएको पौडेलले जानकारी दिए । कार्यालयको च्याउ ल्याबमा तीन हजार पोका च्याउ बीउ उत्पादन गरिएको छ । ती च्याउहरु विभिन्न ठाउँका कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको उनले बताए ।  पौडेलका अनुसार कार्यालय परिसरमा करिब १०० केजी खायन च्याउ उत्पादन गरिएको र कार्यालयबाटै बिक्री गरिएको छ । कार्यालयले यस आवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ११० कृषकलाई मौरीपालन आधारभूत स्थलगत घुम्ती तालिम प्रदान गरेको छ । त्यसैगरी १८३ कृषकलाई च्याउखेतीसम्बन्धी तालिम दिएको छ । रासस

औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै

मनाङ । हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको केन्द्र मानिन्छ । पछिल्लो समय यहाँबाट आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै गएको छ ।  आर्थिक वर्ष २०८१/८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु निकासीबाट रु ३५ लाख ९१ हजार ९४० राजश्व सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई कार्यालयले जनाएको छ । इकाई कार्यालयका प्रमुख ढकबहादुर भुजेलले गत वर्ष यार्सागुम्बा ११२ दशमलव ६९३ किलोग्राम निकासी गरिएको जानकारी दिए ।  उनका अनुसार उक्त परिमाणको यार्सागुम्बा निकासी गरेबापत रु ३४ लाख ८५ हजार ९० राजश्व सङ्कलन भएको छ । वन लसुन तीन हजार १८६ दशमलव ३०० किलोग्राम निकासीबापत रु ९७ हजार ७५० र जिम्बु ९१० किलोग्राम निकासी गरेबापत रु नौ हजार १०० राजश्व सङ्कलन भएको भुजेलले बताए ।  उनले भने, 'गत वर्ष तीन प्रकारका औषधीय जडीबुटी निकासी गरिएको छ । विगतमा जस्तो गुची च्याउ सङ्कलन भएको पाइएन, तर पनि राजश्व बढेको छ ।' यार्सागुम्बा टिप्न जिल्लाका ४८८ र बाह्य एक हजार ३६ र वन लसुनका लागि २१४ स्थानीय र ७१५ बाह्य व्यक्तिले पुर्जी लिएका थिए ।  आव २०८०/८१ मा यार्सागुम्बा, वन लसुन, जिम्बु र गुची च्याउ निकासी गरिएको थियो । जिम्बु ९३३ किलोग्राम निकासी गर्दा रु १० हजार २८०, वन लसुन दुई हजार २०५ किलोग्राम निकासी गरी रु ६६ हजार १५०, यार्सागुम्बा ७२ दशमलव ५४२ किलोग्राम निकासी गर्दा रु २२ लाख ४८ हजार ९०२ र गुची च्याउ चार किलोग्राम निकासी गर्दा रु दुई हजार गरी रु २३ लाख २७ हजार ३३२ राजश्व सङ्कलन गरिएको थियो ।  यस्तै, आव २०७९/८० मा औषधीय जडीबुटी निकासीबापत रु २६ लाख २२ हजार ६६९ राजश्व सङ्कलन गरिएको थियो । जिम्बु ११०८ दशमलव १०० केजी निकासीबापत रु ११ हजार ८१, वन लसुन १५६६ दशमलव २०० केजी निकासीबापत रु ४६ हजार ९९६, निगालो तीन हजार ३५० प्रतिगोटा निकासीबापत रु तीन हजार ३५०, यार्सागुम्बा ८२ दशमलव २०० केजी निकासीबापत रु २५ लाख ४८ हजार २००, साधारण च्याउ ३३९ केजी रु तीन हजार ३९० र टिम्बर २२ दशमलव ९८ क्युफिट निकासीबापत रु नौ हजार ६५२ राजश्व सङ्कलन भएको थियो ।  गत वर्षको तुलनामा केही जडीबुटी निकासी नगरिँदा पनि परिमाण वृद्धि हुँदा राजश्व बढेको प्रमुख भुजेलले बताए । 'कम मूल्य पर्ने औषधीय जडीबुटी बढी परिमाणमा निकासी गरिएको छ भने केही जडीबुटीको निकासी नै गरिएको छैन । यस्तो अवस्थामा बढी मूल्य पर्ने जडीबुटीको परिमाण बढेको छ', उनले भने । 

‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक/एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो । आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परे पनि केही पदमा एकभन्दा बढी उम्मेदवारी परेको थियो । संघका अगुवाहरूले नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरेपछि सबै पदाधिकारी सदस्यहरू निर्विरोध निर्वाचित भएको आयोगले बुधबार जनाएको छ । निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा क्रमशः दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्षमा शान्ति पौड्याल, युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका छन् । त्यसैगरी राष्ट्रिय समन्वय परिषद्को महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा संगीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुंगाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना, महिला संयोजकमा सावित्रा सिवाकोटी, युवा संयोजकमा आशिष सङ्ग्रौला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)सँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार जुलाई महिनाभित्र निर्वाचन गराउनुपर्ने सन्दर्भमा विवाद उत्पन्न भएपछि आइसिसीले एनसिसी अमेरिकाको निर्वाचन गराउन विशेष निर्वाचन समिति गठन गरेको थियो । वासु फुलाराको नेतृत्वमा रहेको अर्को पक्षीय निर्वाचन आयोगले भने आगामी अगस्ट १७ र १८ तारिखमा निर्वाचन मिति घोषणा गरेको छ । संघ अमेरिकाको कानुनी संरचनाअनुसार सामाजिक संस्था स्वरूपमा दर्ता भएकाले आइसिीससँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशन बाध्यकारी नभएको जनाउँदै उक्त पक्षले छुट्टै निर्वाचन प्रक्रियाको तयारी गरेको हो । यसरी दुई पक्षीय मतभेदका कारण गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचन छुट्टाछुट्टै मितिमा हुन लागेको छ । आइसिसीको विवाद र गुटबन्दीको असर एनसिसी अमेरिकाको निर्वाचन प्रक्रियामा समेत स्पष्ट रूपमा देखिएको छ ।  

नेपाल एसबिआई र सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । दुइटै बैंकको ऋणपत्र साउन ७ गते बुधबारका दिन बाँडफाँट गरिएको जनाएको छ । नेपाल एसबिआई बैंक असार ३० गतेदेखि साउन १ गतेसम्म ३ अर्ब रुपैयाँको १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ बिक्री गरेको थियो ।  बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरेको थियो । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।  यस्तै, सिद्धार्थ बैंक असार २९ गतेदेखि असार ३२ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँको १० वर्ष अवधि रहेको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ बिक्री खुला गरेको थियो ।  बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरेको थियो । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।  बिक्री प्रबन्धक तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सकिने जनाएको छ । एसबिआई बैंकको ऋणपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र सिद्धार्थ बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

जुलाई २६ देखि सांग्रिला संवाद सुरु हुने

काठमाडौं । पठन संस्कृति अभिवृद्धि गर्ने र साहित्य तथा कलामाथि छलफल गर्ने उद्देश्यले सांग्रिला लिटरिचर फेस्टिबलले मासिक रुपमा सांग्रिला संवाद गर्ने भएको छ । संवाद जुलाई महिनाबाट आयोजना गर्ने घोषणा गरेको छ ।  सुरुवाती संवाद मोक्ष बार एण्ड रेस्टुरेन्ट, झम्सिखेलमा जुलाई २६ का दिन सुरु हुनेछ । फेस्टिबलका निर्देशक केन सुवेदीले जारी गरेको प्रेस वक्तव्यअनुसार प्रथम संवाद कविताप्रति समर्पित हुनेछ ।  वक्तव्यमा लेखिएको छ, ‘संवाद कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवससँग कवि रमेश क्षितिजबीच वार्तालाप रहेको छ ।’ उक्त वार्तालापमा दिवसको साहित्यिक जीवन र त्यसमा गरेका समर्पण साथै संस्कृति विकासमा कविताको भूमिकामाथि छलफल गरिने जानकारी समावेश छ । अन्तरक्रियापश्चात, कविता वाचन सत्र सुचारु हुनेछ जसमा वरिष्ठ र युवा कविहरूले आफ्ना उत्कृष्ट कविता वाचन गर्नेछन् । कविहरू अविनास श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, गिता त्रिपाठी, ज्योति जंगल, बिमला तुम्खेवा, शाकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती, सबिता गौतम दाहाल र दीपक सापकोटाले आफ्ना कविताहरू सुनाउने छन् । कार्यक्रमको उद्घाटन तुलसी दिवसले गर्ने छन् । अन्तरक्रिया, किताब विमोचन, पठनका लागि साथै समग्र लेखन पठन संस्कृतिको वृद्धि विकासको लागि कार्यक्रम मासिक रुपमा आयोजना गरिने प्रेस वक्तव्यमा लेखिएको छ ।

सपोर्ट लघुवित्तको नाफामा १४०.६३ प्रतिशत उछाल, खराब कर्जा पनि घट्यो

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १४०.६३ प्रतिशत बढेर ५ करोड ११ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खराब कर्जा भने घटेको छ । अघिल्लो वर्ष १.८२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.२४ प्रतिशत घटेर १.५८ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेसँगै लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा वर्षमा लघुवित्तको खुद ब्याज आम्दानी ६२.९७ प्रतिशत बढेर १३ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ८ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष लघुवित्तको कुल सञ्चालन आम्दानी ५५.६८ प्रतिशत बढेर १६ करोड ४२ लाख रुपैयाँ र सञ्चालन नाफा २०९.५९ प्रतिशत बढेर ७ करोड ९६ लाख रुपैयाँ रहेको छ ।  गत वर्ष लघुवित्तको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ र जगेडा कोष १४२.५० प्रतिशत बढेर ८ करोड ५२ लाख रुपैयाँ रहेको छ ।  गत वर्ष लघुवित्तको सापटी ५.२७ प्रतिशत बढेर १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ, निक्षेप ३२.२० प्रतिशत बढेर ४६ करोड १५ लाखअ रुपैयाँ र कर्जा लगानी १५.६७ प्रतिशत बढेर १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ गरेको छ ।  नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २४.४४ रुपैयाँ बढेर ४१.८१ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.२२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९.६२ रुपैयाँ रहेको छ ।

दरमखोला हाईड्रोपावरले साउन १५ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीले साउन १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहलाई सेयर बिक्री गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ ।  जसमध्ये १० प्रतिशत अर्थात् १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन १९ गतेसम्म आवेदन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन २९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।