विकासन्युज

सर्वाधिक सेयर कारोबार गर्नेमा नम्बर वान नासा, यी हुन् १ खर्बभन्दा बढी खरिदबिक्री गर्ने कम्पनी

काठमाडौं । एक वर्षको अवधिमा ब्रोकर कम्पनीहरुले ४२ खर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार गर्न आर्थिक वर्ष २०८१/८२ मा ९२ वटा ब्रोकर कम्पनीले ४२ खर्ब १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेका हुन् । नेप्सेका अनुसार गत वर्ष सबैभन्दा धेरै कारोबार ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटीजले गरेको छ । कम्पनीले गत वर्ष २ खर्ब ५८ अर्ब रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले १ खर्ब २९ अर्ब रुपैयाँको सेयर बिक्री गरेको छ भने १ खर्ब २९ अर्ब रुपैयाँकै सेयर बिक्री गरेको छ ।  यस्तै, इम्पेरियल सेक्युरिटीज (४५)ले गत वर्ष ८३ अर्ब २१ करोड रुपैयाँको सेयर बिक्री र ८७ अर्ब ७ करोड रुपैयाँको सेयर खरिद गरी कुल १ खर्ब ७० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको नेप्सले जनाएको छ ।  भिजन सेक्युरिटीज(३४)ले ७९ अर्ब ७८ करोड रुपैयाँको सेयर बिक्री र ७७ अर्ब २३ करोड रुपैयाँको सेयर खरिद गरी १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।  शनि सेक्युरिटीज (४२)ले गत वर्ष ७२ अर्ब ५६ करोड रुपैयाँको सेयर बिक्री र ७२ अर्ब ७० करोड रुपैयाँको सेयर खरिद गरी कुल १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ ।  यस्तै, अनलाइन सेक्युरिटिज (४९)ले ७० अर्ब ५९ करोड रुपैयाँको बिक्री र ६८ अर्ब ८८ करोड रुपैयाँको खरिद गरी कुल १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेप्सेले जनाएको छ ।  यस्तै, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीज (५७)ले १ खर्ब २० अर्ब रुपैयाँ, डाइनामिक मनी म्यानेजर सेक्युरिटीज (४४)ले १ खर्ब १० अर्ब रुपैयाँ, दिपशिखा धितोपत्र करोबार कम्पनी (३८)ले १ खर्ब ३ अर्ब रुपैयाँ, एबीसी सेक्युरिटीज (१७)ले ९७ अर्ब ९२ करोड रुपैयाँ र श्रीहरि सेक्युरिटीज (५६)ले ८४ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका छन् ।  सबैभन्दा कम कारोबार गर्नेमा मनि वर्ल्ड सेयर एक्सचेञ्ज (७३)ले गरेको छ । यस कम्पनीले गत वर्ष ५ करोड ५७ लाख रुपैयाँको सेयर बिक्री र ७ करोड १९ लाख रुपैयाँको सेयर खरिद गरी कुल १२ करोड ७६ लाख रुपैयाँको मात्रै सेयर खरिदबिक्री गरेका हुन् ।  यस्तै, पहि इन्भेष्टमेन्टले १९ करोड २८ लाखको बिक्री र २० करोड ९४ लाख रुपैयाँको खरिद खरिद गरी कुल ४० करोड २२ लाख रुपैयाँ बराबको सेयर कारोबार गरेको छ ।   

अवैतनिक वाणिज्यदूतहरू औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कुटनीतिका सक्रिय साझेदार: ढकाल

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारकालागि अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएकी छन्।  काठमाडौंमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी-एन) को १८औं वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । उनले नेपाल र अवैतनिक वाणिज्यदूतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । मन्त्री डा। राणाले भनिन्, ‘वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता छ । व्यापार प्रवद्र्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवर्द्धन तथा परस्पर लाभ र चासोका विषयहरुमा यहाँहरूको योगदान अनिवार्य र महत्त्वपूर्ण छ ।’ कार्यक्रममा बोल्दै एचसीसीएनका डीन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू केवल औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कुटनीतिका सक्रिय साझेदार भएको बताए । उनले भने, ‘हामी सेरेमोनिएलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कुटनीति र विकासमा योगदान दिइरहेका छौं ।’ ढकालले वर्तमान विश्व पारस्परिक रूपमा जोडिएको परिस्थितिमा आर्थिक कुटनीतिको महत्त्व झन तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै भने, ‘आजको विश्वव्यापी युगमा आर्थिक कुटनीति विकल्प होइन, आवश्यकता हो ।’ आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले एचसीसीएन राष्ट्रिय प्राथमिकताप्रति समर्पित रहेको बताउँदै परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा महासंघ र एचसीसीएनले पहिलोपटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्नको लागि तयारी गरिरहेको जानकारी दिए । हालै काठमाडौंको चन्द्रगिरिमा परराष्ट्र मन्त्रालयसँग संयुक्त रूपमा आयोजित कार्यशालाको स्मरण गर्दै उनले त्यस अवसरमा अवैतनिक वाणिज्यदूतहरूले वैदेशिक लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा योगदान पुर्‍याउन सक्ने बताए । सो अवसरमा संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले आफ्नो विशेष मन्तव्यमा कूटनीति र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको युनिक उपस्थिति र बदलिँदो विकासलाई समन्वय गरेर अघि बढ्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका प्रष्ट पारेका थिए । कार्यक्रममा ढकालले आजैका दिनदेखि एचसीसीएनको डीन पद नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापालाई हस्तान्तरण गरेका थिए । समारोहमा उच्च सरकारी अधिकारी, कूटनीतिज्ञ, अवैतनिक वाणिज्यदूतलगायतको उपस्थिति रहेको थियो ।

निभिक्स फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, प्रत्याभूति व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । निभिक्स फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने १३ लाख ७५ हजार कित्ता सेयरको प्रत्याभूति व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको हो ।  दुबै कम्पनीबीच बुधबार प्रत्याभूति व्यवस्थापन कार्य गर्न सम्झौता भएको हो । सम्झौतापत्रमा निभिक्स फर्मास्यूटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा निभिक्सका अध्यक्ष कालिदास पौडेल, सञ्चालक फार्मासिस्ट सुजनचन्द्र सिग्देल र चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेलको पनि उपस्थिति रहेको थियो । विसं २०७४ सालमा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्स २०८१ पुस २ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले हाल मुटु, मधुमेह, श्वास प्रश्वास, कलेजो र पेटसम्बन्धी ५६ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ । साथै नयाँ औषधीको अनुसन्धान र उत्पादन विस्तारमा समेत कम्पनी सक्रिय रहेको जनाएको छ ।

‘विदेशी लगानी बढाउन सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको छ’

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्य सचिव एक नारायण अर्यालसँग छलफल गरेको छ ।  परराष्ट्रमन्त्रीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने बताए । उनले स्वदेशी लगानीले मात्रै देशले लिएको लक्ष्य हासिल गर्न सम्भव नभएको हुँदा वैदेशिक लगानी आकर्षित गर्ने कानुनी, नीतिगत एवं सहज व्यवसायीक वातावरण बनाउन आवश्यक रहेको बताए ।  उनले देशगत रुपमा विशिष्ट आर्थिक रणनीति बनाउन, विदेशी बजारमा नेपाली वस्तुहरूको प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नियोगहरुलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए । परिसंघले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्याउने र दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए । यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास समेत व्यक्त गरे ।  परराष्ट्रमन्त्री देउवाले स्वदेशीसँगै विदेशी लगानी बढाउन सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताइन् ।  सरकारले केही कानुनहरूमा संशोधन गरिसकेको उदाहरण दिँदै उनले अन्य कानुनहरूको संशोधन गर्न लागेको समेत जानकारी गराइन् । उनले निजी क्षेत्रलाई प्रवर्द्धन नगरेसम्म आर्थिक विकास सम्भव नहुने हुँदा निजी क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको बताइन् ।  यसैगरी, मुख्य सचिव अर्यालले नवनिर्वाचित परिसंघको टिमलाई बधाई दिँदै उद्योग र निजी क्षेत्र बिना अर्थतन्त्र अगाडि बढ्न सक्दैन भन्नेमा स्पष्ट रहेको बताए । निजी क्षेत्रको लगानी अभिबृद्धि गर्न सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको उनले बताए ।  आर्थिक क्षेत्र, औद्योगिक विकास एवं वनसँग सम्बन्धितलगायत अन्य करिब १२० वटा कानुन सरकारले संशोधनको तयारी गरिरहेको बताए । समग्र अर्थतन्त्रको विकासका लागि क्षेत्रगत रुपमा सुझाव दिन समेत उनले आग्रह गरे । मुख्य सचिव अर्यालले स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका ल्याएको बताए । साथै उनले सार्वजनिक खरिद ऐन संशोधन गरी अनिवार्य स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने व्यवस्था गर्न लागिएको समेत जानकारी गराए ।  छलफलमा परिसंघका उपाध्यक्षहरू राजबहादुर शाह, हेमराज ढकाल, पदाधिकारी सदस्य सन्दीप शारडा, विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारी

काठमाडौं । हिमाल मिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करणको आयोजना गर्ने भएको छ । मेलाले देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडियाविज्ञ र कथावाचकहरूलाई एउटै मञ्चमा ल्याउने विश्वास हिमाल मिडियाले लिएको छ ।  यस वर्षको मेलामा समाचार र स्टोरीटेलिंगको बदलिँदो संसारबारे छलफल गरिने जनाइएको छ, जसमा पत्रकारिता, मोबाइल भिडियो र डिजिटल सामग्रीको भविष्यबारे गहन संवाद, कार्यशाला र मास्टरक्लासहरू समावेश हुने जनाइएको छ । यस पटकको हिमाल मिडिया मेलामा ‘पावर्ड बाई’ साझेदारको रूपमा टिकटक पहिलो पटक सहभागी हुने भएको छ । यस साझेदारीले मोबाइल- फर्स्ट सामग्री निर्माण र कथावाचनको संसारमा डिजिटल प्लेटफर्महरूको बढ्दो महत्त्वलाई अझ अघि बढाउने अवसर दिने विश्वास लिइएको छ । टिकटकले मोबाइल पत्रकारिता र भिडियो कथावाचनबारे विशेष सत्र सञ्चालन गर्नेछ, जसले पेसेवर मिडियाकर्मीहरूलाई डिजिटल-फर्स्ट दर्शकहरूको लागि उपयुक्त हुने सामग्री निर्माणबारे जानकारी दिनेछ ।  यस साझेदारीले छोटो-रूपका भिडियोहरूको बढ्दो प्रभाव र पहुँचलाई कसरी मिडियाले उपयोग गर्न सक्छ भन्नेबारे गहन छलफलको अवसर पनि दिनेछ । कार्यक्रमको सुरुवात हिमाल मिडियाका प्रकाशक कुन्द दीक्षितको सम्बोधनबाट हुनेछ, त्यसपछि मनीषा पाण्डेको की-नोट भाषण र रोमन गौतमसँगको संवाद हुनेछ ।  मुख्य सत्रहरूमा अनुप काफ्लेले डिजिटल कथावाचनबारे आफ्नो विचार साझा गर्नेछन्, टिकटक टिमद्वारा मोबाइल पत्रकारितामा मास्टरक्लास र भी-चित्रका स्वरुप न्हसिजुद्वारा आधारभूत भिडियो निर्माण कार्यशाला प्रस्तुत हुनेछ ।  अन्तमा पत्रकारिताको भविष्यबारे सन्दीप नारवाणी र कुन्द दीक्षितबीचको छलफलसँगै कार्यक्रमको समापन हुनेछ ।

चिठीमा मेयर हर्कको आक्रोश- कुनचाँहि कुलङ्गारले हाम्रो जग्गा बीपीलाई दिएछ, फर्काइ पाऊँ

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अनुमानित आयव्ययको अनुमान नगरसभामा ल्याउन नसकेर आलोचित बनेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री कार्यालयलाई बोधार्थ दिँदै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका छन् ।  साम्पाङले नगर अस्पतालको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका हुन् ।  बोलीचालीको शैलीमा लेखिएको उक्त पत्रमा साम्पाङले  धरान उपमहानगरले आफ्नै  नगरस्तरीय अस्पताल वनाउन चाहेको जानकारी गराएका छन् ।  उनले पत्रमा लेखेका छन्, ‘यस नगरको जग्गा कुन कुलङ्गारले  दलालीमा भुलेर छाता चोकको पुरानो अस्पतालको जग्गा  बीपी अस्पताललाई दिई पठाएछ । थाहा भएन । यसरी नगरको जग्गा बीपीमा लान पाइँदैन, प्लिज फिर्ता गराइ दिनुहोला ।’   उक्त पत्र स्वास्थ्य मन्त्रालयलाई पठाइए पनि प्रम कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत बोधार्थ पठाइएको छ । 

आर्थिक विकासका लक्ष्यमा  सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल

लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन् ।  उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको पनि बताए । पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले रुपन्देहीले आज बुटवलको आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस–एमाले गठबन्धनको सरकार मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको र यो गठबन्धन आगामी ०८४ सम्मै यो कायम रहने पनि बताए । 'बाहिर जसरी गठबन्धन भत्किँदैछ भनेर प्रचार गरिए पनि त्यसका कुनै सत्यता छैन', उनले भने, 'शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको सरकार निर्माण भएको हो आगामी २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन ।' सरकारका विरुद्ध नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिङ्गो समाजलाइ गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेलले भने, 'यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार अघि बढी रहेको छ ।'  नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री पौडेलले मुलुकको सर्वोच्च संस्था राष्ट्रपतिजस्तो पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरे पनि विभाजन चाहनेहरुको सपना तुहिएको बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नमिलेको उनको भनाइ थियो । सदस्यता नवीकरण गर्ने व्यवस्था पार्टीमा नरहेको र नयाँ प्रक्रियाबाट जानुपर्ने बताए । उनले भने, 'उहाँको सदस्यता स्थगित होइन, परित्याग हो, जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ ।' केन्द्रीय कमिटीले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेकाले सबैको सुझाव समेटिने जनाउँदै छिटो सुझाव दिन उनले आग्रह समेत गरे ।  

सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटलसँग गर्‍यो सम्झौता

काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि सम्झौता भएको छ । सम्झौतापत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्ना जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक गर्ने योजना सार्वजनिक गरेको छ ।  यस आईपीओमार्फत संकलित रकम कम्पनीले अन्डरग्राउन्ड केबल उत्पादन सुरु गर्ने र आल्मुनियम फर्नेन्स प्लान्ट स्थापना गर्ने लक्ष्य राखेको छ । नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको पृष्ठभूमिमा सारथी केवलको भूमिका अझै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । कम्पनीले मल्टीस्ट्रान्ड केबल, पावर केबल, कन्सेन्ट्रिक केबल र एसीएसआर कन्डक्टरजस्ता केबल उत्पादनमा विशेषज्ञता राखेको छ । १८ वर्षदेखिको अनुभव बोकेको यस कम्पनीले भविष्यमा नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।