विकासन्युज

सिद्धार्थ बैंकको ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा

काठमाडौं, ८ कात्तिक । सिद्धार्थ बैंकले ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । सिद्धार्थ १८० दिने मुद्दती खाता छोटो अवधिमा आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरुलाई लक्षित गरि ७ दशमलब ५ प्रतिशतको आकर्षक प्रतिफलको साथमा सञ्चालनमा ल्याइएको हो । बैंकले आफना ग्राहकलाई उच्चतम प्रविधियुक्त विभिन्न सेवा तथा सुविधा प्रदान गर्नुका अतिरिक आकर्षक प्रतिफल सहित संचालनमा ल्याएको हो । यस नविनतम मुद्दती योजनाबाट बढि भन्दा वढि निक्षेपकर्ताहरु लाभान्वित हुने कुरामा बैंक विस्वस्त रहेको छ । बैंकले हाल नेपालभर ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

विकास समितिले भन्यो–आगामी असोजमा मेलम्चीको पानी राजधानी बासीको धारामा पुर्याउनु

काठमाडौं, ८ कात्तिक । व्यवस्थापिका संसदको विकास समितिले आगामी असोज महिना भित्रै राजधानी बासीका धारामा मेलम्चीको पानी ल्याइपुर्याउने गरि काम गर्न निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले फेरी पनि निर्माण कम्पनीलाई समय नथप्न र २०७४ असोज भित्र राजधानीमा पानी ल्याउने गरि काम अघि बढाउन निर्देशन दिएको हो । समिति बैठकले सुरुङ निर्माण, प्रभावित क्षेत्रका जनतालाई रोयल्टी तथा लेभी प्रदान गर्ने, उपत्यका भित्र जारी पाइप बिछ्याउने काम, सुन्दरीजलमा निर्माण भैरहेको प्रसोधन केन्द्रको कामलाई समेत थप प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएको छ । समितिले याङग्री र लार्के नदिको पानी समेत मेलम्ची आयोजनामा मिसाएर ल्याउने योजना कार्यान्वयनका लागि तत्कालै काम थाल्न पनि निर्देशन दिएको हो । त्यसका साथै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको व्यवस्थापकिय क्षमता विकासमा ठोस काम गर्न पनि समितिले खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिएको छ । मेलम्चीको पानी रिङरोड बाहिरका उपभोक्तासम्म पुर्याउनका लागि क्षमता विस्तार तथा अन्य श्रोतहरुको खोजी गर्न पनि समितिले भनेको छ । समितिको बैठकमा सांसद रामकुमार भट्टराई, गणेश पहाडी, यज्ञ बहादुर थापा, टोप बहादुर रायमाझी, आङटावा शेर्पा, जनार्दन ढकाल, रञ्जना सरकार, प्रकाश शर्मा, गणेश ठगुन्ना लगायतले तोकिएको समयमै मेलम्ची आयोजना सम्पन्न गनुपर्ने धारणा राखेका थिए ।

होटल व्यवसायमा लगानी बढ्दै, करिब एक अर्ब रुपैयाँ लगानी थप

नेपालगन्ज, ८ कात्तिक । विगत चार वर्षको अवधिमा यहाँका होटल व्यवसायमा लगानी बढेको छ । मध्यपश्चिमाञ्चलको व्यापारिक सहर नेपालगन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडाअनुसार पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको हो । होटल अर्गनाइजेसन नेपाल नेपालगन्ज शाखाका अनुसार, पछिल्लो चार वर्षको अवधिमा सहरका होटल व्यवसायमा मात्र करिब एक अर्ब रुपैयाँ लगानी थप भएको छ । शान्ति सुरक्षामा आएको सुधार र पर्यटकको आगमन बढेकाले यहाँ ठूला अनि सुविधा सम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको पाइन्छ । अर्गनाइजेसनका अनुसार, द्वन्द्वका समयमा असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि बन्द गरिएका होटल पनि अहिले धमाधम खुल्दै गएका छन् भने पुराना स्नेह, किचनहट र सिद्धार्थ भ्यूलगायत ठूला होटलमा अहिले लगानीसमेत बढेकाले पर्यटकलाई सहज भएको छ । यस क्षेत्रमा पर्यटनको सङ्ख्या वृद्धि गर्न आकर्षक होटलमात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेको स्थानलाई समेत व्यवस्थित बनाउन सरकारी चाँसोसमेत हुनुपर्ने अर्गनाइजेसनको सुझाव छ । रासस

मेलम्चीले खायो १९ अर्ब ५० करोड रुपैयाँ, आगामी असोजामा धारामा पानी

काठमाडौं, ८ कात्तिक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा हालसम्म १९ अर्ब ५० करोड रुपैंयाँ खर्च भएको छ । कुल २३ अर्ब ४५ करोड ८६ लाख रुपैंयाँ लागत अनुमान गरिएको आयोजनाले ८१ प्रतिशत बजेट खर्चेर ८५ प्रतिशत काम सम्पन्न गरेको हो । हालसम्म आयोजना निर्माणका लागि दिइएको समयको ९४ प्रतिशत समय सकिएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्राई भन्छन–‘आगामी असोज महिना भित्र राजधानी बासीका धारामा मेलम्चीको पानी आइपुग्छ ।’ मेलम्ची खानेपानी आयोजनाका लागि सबै भन्दा जटिल मानिएको २६ किलोमिटर सुरुङमध्ये अब ७ किलोमिटर मात्रै खन्न बाँकी रहेको छ । खन्न बाँकी रहेको सुरुङको क्षेत्र जटिल भएकाले काम गर्न केहि असहजता भने बाँकी नै रहेको प्रमुख भट्टराईले बताए । मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा निर्माण गरिएको प्रसोधन केन्द्रमा जम्मा हुनेछ । सो पानी सुरुमा चक्रपथ भित्र र किर्तिपुर तथा ठिमी नगरपालिकामा वितरण गरिनेछ । त्यस बाहेक याङग्री र लार्के नदिबाट ३४ करोड लिटर पानी थप्ने तयारी पनि अघि बढेको छ । सुख्खा समयमा मेलम्ची नदिबाट दैनिक १७ करोेड लिटर पानी ल्याइनेछ भने बर्षातको समयमा दैनिक ३४ करोड लिटर पानी ल्याइनेछ । सरकारले आयोजनाका लागि चालु आर्थिक बर्षमा ५ अर्ब ९८ करोड ४९ लाख २९ हजार बजेट बिनियोजन गरेको छ । गत बर्ष भने सरकारले आयोजनाका लागि ४ अर्ब १५ करोड ४७ लाख ६४ हजार रुपैंयाँ रकम बिनियोजन गरेको थियो । मेलम्ची आयोजनाले प्रभावित क्षेत्रका स्थानियहरुको जिवनस्तर सुधारका लागि सिन्धुपाल्चोकका ३० वटा र काभ्रेपलाञ्चोकका ५ गाबिसका एक लाख ३० हजार व्यक्तिको लागि पुर्वाधार, विद्युतिकरण, शिक्षा, स्वास्थ्य तथा आय मुलक तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, मेलम्चीको पानी राजधानीबासीका घरघरमा पुर्याउने पुर्वाधारका रुपमा काठमाडौं उपत्यका खानेपानी तथा सरसफाई आयोजनाले धमाधम पाइप बिछ्याउने काम गरिरहेको छ । सुन्दरीजलबाट चावहिल हुँदै रिङरोडसम्मको मुख्य ६० दशमलब ६ किलोमिटरमध्ये २८ दशमलब ५३ किलोमिटर पाइप बिछ्याईसकिएको आयोजना प्रमुख तेजराज भाटले बताए । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ६७० किलोमिटर पाइप सञ्चाल विस्तारको काम भैरहेको छ । जसमध्ये ४१५ किलोमिटर क्षेत्रमा पाइप बिछ्याइसकिएको छ । ५० हजार घनमिटर पानी भण्डारण क्षमता भएका ६ वटा ट्यांकी निर्माणको काम पनि ६२ प्रतिशत सम्पन्न भैसकेको उनले जानकारी दिए ।

नेपालका लागि भियतनामका अवैतनिक वाणिज्य दूतमा डा.राजेश काजी श्रेष्ठ नियुक्त

काठमाडौं, ८ कात्तिक । नेपालका लागि भियतनामका अवैतनिक वाणिज्य दूतमा डा. राजेश काजी श्रेष्ठ नियुक्त भएका छन् । नेपालका लागि भियतनामका राजदूत टोन सिन्ह थानहोले आज एक कार्यक्रम बीच वाणिज्यदूतको कार्यालय समुद्घाटन गरेका हुन् । वाणिज्यदूतको कार्यालय स्थापनाले नेपाल र भियतनाम बीचको व्यापार, लगानी तथा पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्न जाने छ । लाजिम्पाट स्थित वाणिज्यदूतको कार्यालयको समुदघाटन पश्चात वाणिज्यदूतको निवासमा झण्डोत्तलन कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा नेपाल र भियतनामको राष्ट्रिय गानबाट कार्यक्रम प्रारम्भ गरिएको थियो । कार्यक्रमका अवसरमा राजदूत टोन सिन्ह थानहोले नेपालमा भियतनामको वाणिज्यदूत स्थापनाले नेपाल भियतनाम विचको आर्थिक, व्यापारिक तथा सांस्कृतिका सम्वन्ध अभिवृद्धिमा मद्दत पुग्न जाने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल र भियतनाम विच सांस्कृतिक एकता रहेको बताउंदै भियतनामका बुद्ध धर्मावलम्वीहरुलाई नेपालमा पर्यटकको रुपमा भित्र्याएर नेपालले आर्थिक फाईदा लिन सक्ने बताए । यसै गरी भियतनामका व्यवसायीहरु नेपालमा लगानी गर्न उत्सुक रहेकोले वाणिज्यदूतको कार्यालय स्थापनाले लगानी अभिवृद्धि गर्न समेत मद्दत पुग्ने उनले जानकारी गराए । कार्यक्रमका अवसरमा संक्षिप्त मन्तव्य दिदैं वाणिज्यदूत डा. राजेश काजी श्रेष्ठले भियतनाम सरकारले आफूलाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेकोमा खुशी व्यक्त गर्दै दुई देश विचको आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकासमा आफूले पूलको भूमिका निर्वाह गर्ने जानकारी गराए । उनले भियतनाम पनि बुद्ध दर्शनबाट प्रभावित रहेकोले दुवै देशले धार्मिक पर्यटनको माध्यमबाट प्रशस्त फाईदा लिन सक्ने बताए । वाणिज्यदूत श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेकोले कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका सेवा क्षेत्र बारे आफूले भियतनामको पूजीं र प्रविधि भित्र्याउन तथा नेपाली उद्यमी व्यवसायीहरुलाई भियतनामको बजार बारे अवगत गराउने बताउदै नेपाली उत्पादनको भियतनाममा बजारीकरण गर्न सक्दो भूमिका निर्वाह गर्ने बताएका छन् ।

तिहार लक्षित गोदावरी मेलाको तयारी पुरा, मेला कार्तिक १० गतेदेखि शुरु

काठमाडौं, ८ कात्तिक । फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा कार्तिक १० गतेबाट आयोजना हुने गोदावरी मेलाको तयारी पुरा भएको छ । ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म चल्ने १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी पुरा भइसकेको फ्यान उपाध्यक्ष तथा मेला संयोजक रामजी तिमिल्सिनाले जानकारी दिएका छन् । दिपावली तथा छठ पर्ब लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल रहने संयोजक तिमिल्सिनाले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मेलामा ब्यबसायिक स्टल ३६, गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा र सूचना मुलक ३ रहेका छन् । मेलामा सहभागी व्यवसायीबीच इन्कर्भ, रिफ्लेक्स, स्पाइडर र मिनियचर बिधामा प्रतिश्पर्धा गराइ बिजयी हुनेलाई नगद, शील्ड तथा प्रमाणपत्र प्रदान गरिने बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले प्रतिश्पर्धाले ब्यबसायीलाई हौसला प्रदान गर्ने र पुरस्कारले सम्मान पाउने बिचार ब्यक्त गरेका छन् । रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागेको फ्यानको मुख्य उद्देश्य तिहार पर्बको आकर्षणको रुपमा रहेको गोदावरी फूलको ब्यबसाय प्रवद्र्धन गर्नु रहेको छ । मेला प्रदर्शनीको आयोजनाबाट प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प ब्यबसायको बिकास, बिस्तार तथा प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पुगेको बताउँदै फ्यानका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले नेपाल बाताबरणीय बिबिधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पुष्प ब्यबसायको बिकास तथा प्रबद्र्धनको सम्भाबना प्रचुर रहेको बताए । कार्यक्रममा नेपाल सरकार कृषि बिकास मन्त्रालयका सहसचिब डा. रुद्रबहादुर श्रेष्ठले पुष्प क्षेत्रमा आयात प्रतिस्थापन गर्न नेपाल सरकारले अनुदान सहयोग गर्दै आइरहेको र यसको नतिजाका लागि समय लाग्ने बताए । आर्थिक बर्ष २०७२/७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प ब्यबसायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको बताउँदै फ्यानका महासचिब मिन बहादुर तामाङले हाल सम्म ३९ जिल्लामा यसको कारोबार हुदै आएको बताएका छन् ।

माछापुच्छ्रे बैंकद्धारा भिसा डलर प्रिपेड कार्ड सेवा शुरु, दुई देशबाहेक अन्य मुलुकमा प्रयोग गर्न सकिने

काठमाडौं, ८ कात्तिक । माछापुच्छ्रे बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकको सुबिधाको लागि भिसा डलर प्रिपेड कार्ड प्रयोगमा ल्याएको छ । भुटान तथा भारत बाहेकका देशहरुमा भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । उक्त कार्ड नेपाल राष्ट्र बैङ्कले तोकेको सीमा सम्म भुटान र भारतबाहेकका मुलुकमा भ्रमण गर्दा प्रयोग गर्न सकिनेछ । नगद विदेशी मुद्राको उत्तम विकल्पको रुपमा यो कार्डलाई सहजरुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

प्रभु मनि ट्रान्स्फर र रामारोशन माइक्रोफाइनान्स बिच रेमिटेन्स सम्झौता

काठमाडौं, ८ कात्तिक । प्रभु मनि ट्रान्स्फर प्रा.लि र रामारोशन माइक्रोफाइनान्स वित्तिय सस्था लि. बिच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट कपंनीका नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा रामारोशन माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटालाले हस्ताक्षर गरेका छन् । अछाम जिल्लाको मंगलसेन–५, मा प्रधान कार्यालय रहेको लघुवित्तको विभिन्न १० जिल्लाहरु अछाम, डडेल्धुरा, डोटी, बझाङ्, बाजुरा, कैलाली, जुम्ला, कालिकोट, दैलेख र सुर्खेतमा संचालन स्विकृति रहेको छ । हाल वित्तिय संस्थाको प्रधान कार्यलय अछामबाट प्रभु मनि ट्रान्स्फरको रेमिटेन्स सेवा प्रदान गर्ने माइक्रोफाइनान्सका सिइओ बटालाले भनेका छन् । साथै उनले चालु वर्ष भित्र नै बाकी सबै स्थानबाट सेवा सञ्चालन गर्ने संस्थाको लक्ष्य  रहेको बताएका छन् ।