विकासन्युज

बिक्रीको दाउमा प्याराग्लाइडिङ कम्पनी, जोखिम मोलेरै पोखराका ६५ कम्पनीको उडान

काठमाडौं ८, कात्तिक । प्याग्लाइडिङ कम्पनी अनुमति लिँदै बिक्री गर्न थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजतपत्र (लाइसेन्स) लिने र बिक्रीको दाउमा राख्ने कम्पनी बढ्न थालेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतको भनाइ छ । पर्यटन मन्त्रालबाट लाइसेन्स लिएपछि उडान संचालन अनुमति (एओसी)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरण जानुपर्छ । प्राधिकरण नपुग्दै कतिपय कम्पनीको किनेबेच भैइसक्ने गरेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बताए । मन्त्रालयका अनुसार किनबेच भएको खबर आइरहने गरेको भएपनि वायुसेवा कम्पनीसरह मन्त्रालयसम्म स्वामित्व परिवर्तन भएपछि आउने जानकारी भने आएको छैन । नेपालमा हाल प्याराग्लाइडिङ प्रशिक्षण स्कूल, अल्ट्रालाइट र प्याराग्लाइड गरी नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागबाट मात्रै ७१ वटा कम्पनीले अनुमति लिएका छन् । यस मध्ये बन्दिपुरको ब्लू स्काई र स्याङ्जाको बाबु एडभेन्चर प्रशिषण स्कूल हो । पोखरा, फिस्टेल र एभिया क्लव गरी तीन अल्ट्रालाईटका कम्पनी छन भने बाँकी ६५ वटा प्याराग्लाइडिङ रहेका छन् । मन्त्रालयबाट अनुमति प्राप्त प्याराग्लाइडिङका कम्पनीमध्ये स्याङ्जा, सुर्खेत र बन्दिपुरमा एकएकवटा, धरान र काठमाडौमा.दुईदुईवटा रहेको छन भने बाँकी सबै कम्पनी पोखरामा रहेका छन् । पोखरामा सराङ्कोटबाट उडान गर्ने प्याराग्लाइडिङ कम्पनी १९ वटा रहेका छन भने बाँकी सबै कम्पनी तोरेपानीमा रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको हवाइ उड्डयन सुरक्षा विभागका अनुसार कम्पनीको किनबेच भएको सुचना आउने गरेको छ । अनुमति लिएर संचालन नआएका कम्पनीले ३० देखि ४० लाख रुपैयाँसम्म विक्री भएको सूचना आएको भएपनि कुनै पनि कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी भने आएको छैन, उड्डयन सुरक्षा विभागका उडान अनुमति शाखा प्रमुख देवेन्द्र पाण्डेले भने । उनका अनुसार कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी हामीको आउन जरुरी नभएको र उद्योग विभागमा जानकारी दिए पुग्ने भएकोले पनि प्राधिकरणमक्ष नआएको हुनसक्ने उनको बुझाई छ । प्राधिकरण स्रोतका अनुसार कम्पनीको किनेबेच हुनु सामान्य भएपनि अनुमति लिनकै लागि हुने यस्तो विक्रीले भने प्याराग्लाइडिङको भविष्यप्रति नै प्रश्नचिन्ह उठाउने उल्लेख छ । प्राधिकरणबाट अनुमति लिएका कम्पनीले हवाई नीतिमा भएको व्यवस्था अनुसार एक करोड रुपैयाँको चुक्ता पूँजी देखाएर मन्त्रालय र प्राधिकरणमा पनि आश्वयक शुल्क तिर्नुपर्ने भएकोले संचालनपछिको किनबेच सामान्य हो । मन्त्रालयका एक अधिकारीका अनुसार किनबेच सामान्य प्रक्रिया हो तर खरिद विक्रीको लागि पारदर्शी व्यवस्था अपनाउने र राज्यलाई तिर्नुपर्ने करको दायित्वभित्र पनि आउनुपर्छ । जोखिममा प्याराग्लाइडिङ पर्यटन मन्त्रालयले हवाई खेलकूदका कम्पनीको अस्वस्थ प्रतिस्र्धालाई बढाउन जोखिम मोलेरै एउटै स्थानका लागि पाँच दर्जन प्याराग्लाइडिङका कम्पनीलाई उडान अनुमति दिएको छ । पोखराको सराङ्कोट र तोरेपानीबाट उडान गर्ने यी सबै कम्पनी फेवाताल किनारमा अवतरण गर्ने गर्छन । हाल पोखरामा मात्रै झण्डै ६५ वटा कम्पनीले संचालन अनुमति पाएका छन । मन्त्रालयको अनुमतिपश्चात सबै हवाई उडानका कम्पनीले प्राधिरणबाट नै उडान सञ्चालन अनुमतिपत्र (एओसी) लिनुपर्छ। एकैपटक एउटै स्थानबाट धेरैवटा कम्पनी सञ्चालन हुँदा पोखराको हवाई खेलकूद नै जोखिममा पर्ने नेपाल हवाई खेलकूद नेपाल हवाई खेदकूद संघको भनाइ छ । संघका अनुसार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा छ, विमानस्थल निर्माण पश्चात संचालनमा भएका सबै प्याराग्लाइडिङ हवाई उडान रुटमापर्ने भएकोले अनिवार्य विस्थापन हुनुपर्छ । अहिले नै पोखराको हवाई रुटमा असर पर्ने गरी प्राधिकरणले प्याराग्लाइडिङको उडान अनुमति दिएको उल्लेख छ । हवाई रुटमा प्याराग्लाइडिङ भएकै कारण यस अघि एक प्याराग्लाइडिङ यति एयरसँग ठोक्किएको थियो । पोखरामा बढेको प्याराग्लाइडिङको चापका कारण संघले हाल उडानमा रहेका प्याराग्लाइडिङका प्रत्येक प्याराग्लाइडले दैनिक तीन उडान मात्रै गर्न पाउने नियम बनाएको छ । संचालनमा रहेको सबै प्याराग्लाइडिङ ६ वटा प्याराग्लाइड रहेका छन् । यी प्याराग्लाइडबाट पोखरमा पर्यटकीय सिजनमा दैनिक ११ सय वटा उडान हुने गर्छ । यो उडान संख्या फेवाताल वरपरको सानो क्षेत्रका लागि अधिक भएको पनि संघको भनाइ छ । मनोरञ्जनपूर्ण हवाई खेल अन्र्तगत इन्जिन जोडिएर वा नजोडिकन हावाको माध्यमबाट तैरिने खेलका रुपमा प्राधिकरणले हवाई खेलकूदका संस्थालाई अनुमति दिने गरेको छ । यस अन्तर्गत अल्ट्रलाइट, माइक्रोलाईट, प्यारामोटर, स्ट्रङ्ग प्याराग्लाइडर, स्काइमोटरसहितका कम्पनी पर्छन् । यसलाई संचालन गर्न निवेदन दस्तुरवापत ५ हजार, बैंक धरौटि ५ लाख, इजातज शुल्क बापत ५० हजार तथा चुक्ता पूँजी १ करोड हुनुपर्ने प्रावधान मन्त्रालयले तोकेको छ ।

पत्रकारका लागि ७५ रुपैयाँमा पाँच लाखको दुर्घटना बिमा, एनएलजीले पायो बिमा गराउने अनुमति

काठमाडौं ८, कात्तिक । पत्रकारका लागि जम्मा ७५ रुपैयाँमा पाँच लाखको दुर्घटना बिमा हुने भएको छ । यही कात्तिक १७ गतेदेखि लागू हुने गरी एनएलजी इस्योरेन्सले पत्रकारको पाँच लाख रुपैयाँको बीमा गराउने भएको छ । सूचना बिभागले मागेको प्रस्तावमा विभिन्न बिमा कम्पनीले आवेदन दिएकामा एनएलजीले अनुमति पाएको छ । यो कम्पनीले कम्तिमा एक हजार जानको लागि बिमा गराउने एनएलजी इन्स्योरेन्सका मार्केटिङ कन्सल्ट्यान्ट विक्रान्त पाण्डेले बताए । ‘गत वर्ष पनि हामीले नै पाएको थियो यो वर्ष पनि हामीलाई नै सूचना विभागले छनोट गरेको छ,’ पाण्डेले भने । उनका अुनसार नेपाल सरकार सूचना विभाग, नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको संयुक्त प्रयासमा पत्रकारको बिमा गर्ने काम भएको हो । महासघंले विभिन्न जिल्लाबाट संकलन गरेका पत्रकारको तथ्यांकको आधार बिमा हुने उल्लेख छ । सूचना विभागले महासंघबाट लिएको पत्रकारको विवरण हामीलाई उपलब्ध गराउँछ र ती सबैको बिमा हुने पनि पाण्डेले बताए । उनका अनुसार हाल न्युनतम एक हजार जनाको बिमा हुने जानकारी दिएको छ । श्रमजीबी पत्रकारको हकमा सुचना विभागले उपलब्ध गराएका सबै पत्रकारको बिमा हुने पनि पाण्डेको भनाइ छ । यस्तो बिमामा विमा समितिले तोकेको मापदण्ड र खाकामा रहेर विमा पोलीसी जारी हुन्छ । पाँच लाखको यो दुर्घटना बिमा योजनामा बिमित पत्रकारको दुर्घटनामा मृत्यु भएमा, दुर्घटनाबाट दुबै आँखा र दुबै हात वा खुट्टा गुमाएमा पनि पाँच लाख उपलव्ध हुने छ । अन्य अंगहरुको हकमा आंशिक रकम उपलव्ध हुने छ भने दुर्घटनावापतको औषधिउपचार खर्च एक लाख रुपैयाँसम्म हुने पनि पाण्डेले जानकारी दिए । श्रमजीवी पत्रकारले पाउने यो सुविधा व्यवहारिक र आवश्यक पनि भएकोले यस्तो योजना सबै नेपाली नागरिकसम्म पुग्न जरुरी रहेको पनि पाण्डेको बुझाई छ । पाण्डेका अनुसार यही कात्तिक ५ गते एनएलजीले सूचना विभागसँग सम्झौता गरेको छ । आगामी कात्तिक १७ देखिनै बिमा आब्हान हुने भएकोले आगामी असार मसान्तभित्र जुन महिनामा बिमा भएको छ अर्को बर्ष सोही महिनासम्म लागू हुने पनि उनको भनाइ छ ।

७७ वटा बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज, अधिकांश विकास बैंक र फाइनान्स कम्पनी

काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले ७७ वटा बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज गरेको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएपछि ७७ वटालाई खारेज गरी ४१ वटा मात्र बनाएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।  असार मसान्तमा २८ वटा वाणिज्य बैंक, ६६ वटा विकास बैंक, ३९ वटा वित्त कम्पनी, ४२ वटा, माइक्रो फाइनान्स छन् । आर्थिक वर्ष २०६९/७० सम्म २ सय १४ ओटा बैंक तथा वित्तीय संस्था रहेकोमा अहिले १ सय ७३ मा सीमित रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गाभिनेमा पनि विकास बैंक र फाइनान्स कम्पनी बढी छन् । माइक्रो फाइनान्सको संख्या भने डब्बल वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली–२०६८ ल्याएसँगै नेपालमा औपचारिक रुपमा बैंक तथा वित्तीय संस्था आपसमा गाभिन सुरु गरेका छन् । पूँजी अभावले थप लगानी गर्ने नसक्दा नाफा घट्नु, व्यवसायिक वित्तीय अवस्था बिग्रिएर जानुलगायतका कारणले बैंक तथा वित्तीय संस्था बलियो, सवल तथा सक्षम बन्नु पर्ने वाध्यता देखिएको थियो । केन्द्रीय बैंकले चाहेजस्तो मर्जरमा आकर्षण नदेखिएपछि गएको आर्थिक वर्षको मौद्रिक नीतिबाट चुक्ता पूँजी बढाएर बाध्यात्मक मर्जरको नीति राष्ट्र बैंकले व्यवस्था गर्यो । त्यसयता मर्जरको पहिलो कारण राष्ट्र बैंकले निर्धारण गरेका ८ अर्ब चुक्ता पूँजी पु¥याउनु रहेको छ । राष्ट्र बैंकले दुई अर्ब पुँजी भएको वाणिज्य बैंकलाई आठ अर्ब, ६४ करोड पूँजी भएको विकास बैंकलाई दुई अर्ब ५० करोड र २० करोड पूँजी भएको फाइनान्स कम्पनीलाई ८० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । यी वित्तिय संस्थाहरुले चालू आवको अन्त्यसम्म अर्थात असारमसान्तसम्म चार गुणाले पुँजी वृद्धि गरिसक्नुपर्छ । अहिलेकै अवस्थामा तीन सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक तथा निजी क्षेत्रका नबिल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, नेपाल एसबिआई, ग्लोबल आइएमइ र प्रभु बैंकलाई पुँजी वृद्धि गर्न खासै समस्या छैन । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि आफ्नो पूँजी वृद्धिको योजना राष्ट्र बैंक समक्ष पेश गरिसकेको छ भने एफपिओर, वोसन सेयर जारी गरेर चुक्ता पूँजी पुर्याउने भएको छ । गैरआवासीय नेपालीहरुको लगानी रहेको माछापुच्छ्रे बैंक र सानिमा बैंकका सेयरधनी हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउने लाइनमा छन् भने अन्य वाणिज्य बैंकहरु विकास बैंक तथा फाइनान्स कम्पनी एक्वाएर गरेर तथा हकप्रद र बोनस सेयरबाट पुँजी वृद्धि गर्ने लाईनमा छन् । यतिबेला पनि अधिकांश विकास बैंक र फाइनान्स कम्पनी भने वाणिज्य बैंकसँग मर्जमा जान लचिलो रुपमा प्रस्तुत हुँदै आएका छन् ।

कैलाश विकास बैंकको २५ प्रतिशत बोनस स्वीकृत, २० प्रतिशत हकप्रद सेयर छिट्टै

काठमाडौं, ८ कात्तिक । कैलाश विकास बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिन गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । ‘राष्ट्र बैंकबाट व्यालेन्सिट स्वीकृत भएको पत्र आएको छ । अब छिट्टै साधारणसभा सम्वन्धि सूचना प्रकाशित गर्नेछौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले विकासन्युजसँग भने । बैंकको यसअघि सम्पन्न साधारणसभाले गरेको निर्णयअनुसार ५ बराबर १ अनुपातमा अर्थात २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए ।

काष्ठमण्डप डेभलपेमन्ट बैंकको १६ लाख कित्ता हकप्रद निष्कासन, कात्तिक २६ देखि निष्कासन खुला

काठमाडौं ८, कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अकिंत १६ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले यहि कत्तिक २६ गतेदेखि निष्कासन खुला हुने गरी सूचना जारी गरेको छ । मंसिर ३० गतेसम्म हकप्रद सेयरका लागि यसिका साधारण सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले साधारण सेयर धनिलाई चार सेयर बराबार १ सेयरको (४ः१) अनुपात एक सय रुपैयाँ अंकित सेयरको विक्री खुला गर्ने सुचना सार्वजनिक गरेको छ । यो बैंकले नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका साविकको सेयरका लागि हकप्रद निष्कासन गरेको हो । यो बैंकको नेपाल स्टक एक्सचेन्जमा ६७ लाख ९९ हजार २ सय ७३ कित्ता सेयर सूचिकृत भएको छ । यो प्रति शेयर कारोबार पाँच सय रुपैयाँमा भइरहेको छ । यो बैंकको सेयर निष्कासन तथा विक्री प्रवन्धक एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यसको हकप्रद सेयरको आवेदनका लागि विक्री प्रवन्धक र बैंकको सम्पूर्ण शाखामा सम्पर्क गर्न सकिने छ । यो बैंकले कुमारी बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।

राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा ४० लाख रूपैयाँ सङ्कलन

म्याग्दी, ८ कात्तिक । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग गरेका हुन् । अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र जातिका लागि सेवा गरिएको तर अब महावीरले चालेको राष्ट्र निर्माणलाई सहयोग गर्ने भन्दै हङकङवासी नेपालीले मुठी खोलेर आर्थिक सहयोग गरेको मोनाका संयोजक सेर्बुजाले जानकारी दिए । समाजसेवी महावीर पुनले  विज्ञान र प्रविधिकाे क्षेत्रमा विकासमा याेगदान गर्न र सिर्जनात्मक क्षमताकाे विकासमा याेगदान दिने उदेश्यले राष्ट्रिय आविस्कार केन्द्र निर्माण गर्न सहयाेग जुटाउने अभियान थालेका छन् । रासस

तपाईलाई अल्छि अनुभव भइरहेको छ, गुगलमा ‘आई एम फिलिङ क्युरियस’ सर्च गर्नुस्

काठमाडौं, ७ कात्तिक। गूगलले भर्खरै आफ्नो लोगो परिवर्तन गर्दै नयाँ फिचर पनि सार्वजनिक गरेको छ । नयाँ फिचरले आवश्यक जानकारी दिनुका साथै आलस्य भएको समयमा पढ्नका लागि रमाइला सामग्री पनि प्रस्तुत गर्छ । यसका लागि गूगलको सर्च इञ्जिन अर्थात् खोजका लागि टाइप गरिने बाकसभित्र अङ्ग्रेजीमा ‘आई एम फिलिङ क्युरियस’ वा ‘फन फ्याक्ट’ टाइप गर्नुपर्छ । यसो गरेपछि गूगलले पढ्दा रमाइला लाग्ने अनौठा प्रश्न र तिनको रोचक उत्तर पनि प्रस्तुत गर्छ । गूगलको फिचरले हाम्रा सामु राख्ने प्रश्नका बारेमा हामीले शायदै सोचेका हुन्छौं । यसो गर्दा कुनै एक विषयका बारेमा जान्ने अवसर त प्राप्त हुन्छ नै, लगत्तै तल अर्को प्रश्न सोध्ने विकल्प पनि प्रस्तुत हुन्छ । स्क्रिनमा लेखिएको ‘आक्स अनदर क्वेशन’मा क्लिक गरी आफ्नो चाहनाअनुसार विभिन्न विषयका बारेमा जानकारी लिन सकिन्छ । फुर्सदमा रहेर गूगलबाट केही जानकारीमूलक सामग्री पढ्न चाहने जो कोहीका लागि यो फिचर उपयोगी छ । अहिलेका लागि गूगलले अङ्ग्रेजी भाषामा मात्रै कमाण्ड लिइरहेको छ । तर, निकट भविष्यमा नै अन्य भाषामा समेत कमाण्ड दिन सकिने सम्भावना प्रबल छ । एजेन्सीको सहयोगमा

तिहारअघि नै फोहोरबाट बत्ती, फोहोरबाट निस्किएको ग्यासप्रयोग गरेर बत्ती बाल्ने तयारी

काठमाडौं ८, कात्तिक । काठमाडौँ महानगरपालिकाले तिहारअघि नै टेकूस्थित फोहोर स्टेसनबाट निकालिएको ग्यासबाट बत्ती बाल्न सुरु गर्ने भएको छ। गतवर्ष नमूना परीक्षणका रूपमा दैनिक तीन टन फोहोर जम्मा गर्दै आएको महानगरपालिकाले फोहोरबाट निस्किएको ग्यासबाट बत्ती बाल्न लागेको समाचार सोमबारको गोरखा पत्रमा छापिएको छ। गएको असारदेखि उक्त ठाउँमा बत्ती बालिने भनिएको भए पनि भारतबाट मेसिनरी सामग्री र प्राविधिक नआएकाले केही ढिला भए पनि आउँदो साता भने प्राविधिक आउने निश्चित भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले यही साता भारतबाट मेसिन र प्राविधिक आएपछि फोहोरबाट निस्केको ग्यासलाई विद्युत्मा परिणत गरेर बत्ती बाल्ने तयारी गरेको जानकारी गराए। उत्पादित विद्युत् टेकूका सडकबत्ती र टेकूस्थित महानगरको फोहोर ट्रान्पोर्टेसन क्षेत्रमा प्रयोग गरिने र परीक्षणपछि महानगरपालिकाबाट निस्कने सबै फोहोर प्रशोधन गरी बिजुली निकालिने कार्कीले बताए। एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवद्र्धन परियोजना सम्पन्न गर्न करिब सवा तीन करोड रुपियाँ छुट्याइएको र यस अन्तर्गत युरोपियन युनियनको ८० प्रतिशत तथा महानगरपालिकाको २० प्रतिशत लगानीमा परियोजना सञ्चालन भइरहेको छ । कार्कीले भने, ‘पहिलो प्राथमिकता भनेको फोहोरबाट बायोग्यास र त्यसबाट बिजुली निकाल्ने नै हो, यो पाइलट प्रोजेक्ट हो, सफल भए अन्य क्षेत्रका साथै देशभर विस्तार गर्न सकिन्छ।’ महानगरपालिका अन्तर्गतको वातावरण महाशाखा अनुसार तीनवर्षे परियोजना अन्तर्गत महानगरको वडा नं. १२ र १९ मा जैविक फोहोर छुट्ट्याउने काम भइरहेको छ । महानगरपालिकाले वार्षिक करिब ५० करोड रुपियाँ फोहोर व्यवस्थापनमा खर्चिंदै आएको छ ।