विकासन्युज

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो । आरोपी यादवको साथबाट रु सात लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।   

एनआईसी एशियाका ग्राहकलाई एएसजी आई केयरमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच बैंकका ग्राहकको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । ग्राहकले सर्जरी प्रोसिड्युअरमा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेष्टिगेशन र अप्टिकल लेन्समा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्ने छन् । यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले कर नतिर्ने इँटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका ५ उद्योगलाई कार्यपालिकाको बैठकको निर्णयानुसार बन्द गर्न लागिएको नगरले जनाएको छ । पाँचखालको नगरसभाबाट स्वीकृत भएको आर्थिक ऐन २०८१ को अधिनमा रही व्यवसाय कर चुक्ता गर्नुपर्ने तथा बक्यौता व्यवसाय कर चुक्ता गर्न नगरले पटकपटक पत्राचार गर्दासमेत बेवास्ता गरेकाले २०८१ चैत २६ गते नगर कार्यपालिकाको बैठकको निर्णयानुसार कर चुक्ता नगरेसम्म इँटा बिक्री बन्द गरिएको थियो । नगरमा सञ्चालित इँटा उद्योगले समयमै नगरलाई तिर्नुपर्ने हालसम्मको कर नबुझाएकाले नगर कार्यपालिकाको गत असार १८ गतेको निर्णयानुसार सिल गरिएको जनाइएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार नगरको पत्राचारलाई बेवास्ता गरी व्यवसायीले अटेर गरेपछि सोमबार सुरक्षाकर्मीसहित नगरका प्रतिनिधिको टोलीले इँटाभट्टा सिल गर्ने प्रक्रिया अगाडि बढाएको छ । नगरलाई कर तिर्न बाँकी रहेका ५ भट्टामध्ये ३ वटा सोमबार सिल गरिएको र अन्य २ सिल हुने प्रक्रियामा रहेको सापकोटाले बताए। उनका अनुसार पाँचखाल–१२ मा रहेको श्री जय भीमसेन इँटा उद्योग प्रालि र पलाञ्चोक भगवती फिक्स चिम्नी इँटा उद्योग तथा पाँचखाल–७ स्थित सुवर्णेस्वरी इँटा उद्योग प्रालि सिल गरिएको हो । यस्तै पाँचखाल–८ मा रहेको उपकार इँटा उद्योग प्रालि र वडा नं ९ स्थित पलाञ्चोक भगवती ब्रिक इन्डस्ट्रिज प्रालि सिलको प्रक्रियामा रहेको जनाइएको छ । पाँचखालमा ८ इँटा उद्योग सञ्चालनमा छन् । यसैबीच गत जेठ अन्तिम साता काभ्रेको मण्डनदेउपुर नगरपालिकाले पटकपटक ताकेता गर्दा पनि कर तिर्न नटेरेको जनाउँदै चार क्रसर तथा इँटा उद्योग बन्द गराएको थियो । नगरप्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, स्थानीय उद्योग वाणिज्य सङ्घलगायत सम्मिलित अनुगमन टोलीले नगर कार्यालयमा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका क्रसर उद्योग र इँटा उद्योग गरी चार उद्योगमा ताला लगाएको थियो । रासस

राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक​​​​​​​ विधायन समितिमा पठाइने, भौतिक र गृह मन्त्रीले उत्तर दिने

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज अपरान्ह १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।  प्रतिनिधिसभा मातहतका तीन समितिको बैठक पनि आजै बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ । कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ । महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची छ । सो समितिमा लगातार यही विधेयकमाथि छलफल भइरहेको छ । 

खराब कर्जा घटेपछि सिन्धु विकास बैंकको नाफा २८७.६० प्रतिशत बढ्यो

काठमाडौं । सिन्धु विकास बैंकको गत आर्थिक वर्ष २०८१÷८२ मा खुद नाफा २८७.६० प्रतिशत बढेर ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ३ करोड ४ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष बैंकको खराब कर्जा १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा झरेको छ । बैंकको खराब कर्जा घटेसँगै नाफा बढेको देखिन्छ ।  समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशत घटेर १३ करोड ३७ लाख ५२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १९ करोड १४ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  बैंकको कुल सञ्चालन आम्दानी ३०.४९ प्रतिशत घटेर १५ करोड ६ लाख ७६ हजार रुपैयाँ, सञ्चाल नाफा ४१७.३९ प्रतिशत बढेर १५ करोड ३५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।  बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ र गेडा कोष ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन ३.५८ प्रतिशत घटेर ५ अर्ब ६८ करोड ८ लाख रुपैयाँ र कर्जा लगानी ९.३४ प्रतिशत घटेर ३ अर्ब २५ करोड २२ लाख रुपैयाँ गरेको छ ।  बैंकको प्रतिसेयर आम्दानी १५.६९ रुपैयाँ बढेर २१.१५ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ४०.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ८६.७० रुपैयाँ रहेको छ । 

लाभांश घोषणा गर्ने पहिलो कम्पनी बन्यो एनआईबिएल एस, सहभागिता फण्डले ७ प्रतिशत बाँड्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै लाभांशको सिजन पनि सुरु भएको छ । गत वर्ष लगानी गरेका कम्पनीहरुको आम्दानीबाट सबै हिसाबकिताब मिलान तथा लेखापरीक्षणपछि लाभांश वितरणको प्रस्ताव गरिन्छ । चालु आवमा लाभांश घोषणा गर्नेमा एनआईबिएल सहभागिता फण्ड पहिलो बनेको छ ।  एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना)ले लाभांश घोषणा गरेको हो । एनआईएमबि एस क्यापिटलको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सहभागिता फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआईबिएल सहभागिता फण्का इकाईधनीहरुलाई कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साथै, लाभांश वितरण प्रयोजनार्थ साउन ५ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् साउन ५ गतेसम्म कायम इकाईधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् । क्यापिटलका अनुसार इकाईधनीहरुले लाभांशबाट प्राप्त रकमलाई पुनः लगानी योजनामार्फत थप इकाई खरिद गर्न सक्ने छन् । एनआईबिएल सहभागिता फण्डको स्वीकृत कोष आकार ६ अर्ब रुपैयाँ समाप्त भएकाले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धिको स्वीकृति प्राप्त गरे पश्चात् लाभांश प्राप्त गर्नेछन् । 

भारतका उपराष्ट्रपति धनखरले दिए राजीनामा

काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्दै राजीनामा दिने निर्णय गरेका हुन् ।  धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाएका छन् । जसमा उनले स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिने निर्णय गरेको कुरा उल्लेख गरेका हुन् ।  आफ्नो पत्रमा राष्ट्रपति र प्रधानमन्त्रीको साथसाथै मन्त्री परिषद्लाई पनि उनको कार्यकालमा दिएको अमूल्य समर्थनका लागि धन्यवाद दिए ।  उपराष्ट्रपतिको रूपमा धनखरले सन् २०२२ मा पदभार सम्हालेका थिए । उनको कार्यकाल सन् २०२५ सम्म थियो । तर स्वास्थ्य कारणले उनले यो महत्वपूर्ण निर्णय लिएका हुन् ।  धनखरको राजीनामा पछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिनेछ। यस सम्बन्धी उपराष्ट्रपतिको सचिवालयले पनि जानकारी दिएको छ। उपराष्ट्रपतिको कार्यकालमा धनखरको योगदान अत्यन्त प्रेरणादायक र महत्त्वपूर्ण रहेको बताइएको छ । उनको कार्यकालको अवधिमा देशको संविधान र संसदीय प्रक्रियामा राम्रो ज्ञान र नेतृत्व देखाएको जानकारहरु बताउँछन् । 

आजदेखि नेपाल इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन, १० कित्ता हुनेले ३.४७ कित्ता पाउने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज साउन ६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।  कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । ​​​​हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा-चिप्लेढुङ्गा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।