लाभांश घोषणा गर्ने पहिलो कम्पनी बन्यो एनआईबिएल एस, सहभागिता फण्डले ७ प्रतिशत बाँड्ने
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै लाभांशको सिजन पनि सुरु भएको छ । गत वर्ष लगानी गरेका कम्पनीहरुको आम्दानीबाट सबै हिसाबकिताब मिलान तथा लेखापरीक्षणपछि लाभांश वितरणको प्रस्ताव गरिन्छ । चालु आवमा लाभांश घोषणा गर्नेमा एनआईबिएल सहभागिता फण्ड पहिलो बनेको छ । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना)ले लाभांश घोषणा गरेको हो । एनआईएमबि एस क्यापिटलको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सहभागिता फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआईबिएल सहभागिता फण्का इकाईधनीहरुलाई कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साथै, लाभांश वितरण प्रयोजनार्थ साउन ५ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् साउन ५ गतेसम्म कायम इकाईधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् । क्यापिटलका अनुसार इकाईधनीहरुले लाभांशबाट प्राप्त रकमलाई पुनः लगानी योजनामार्फत थप इकाई खरिद गर्न सक्ने छन् । एनआईबिएल सहभागिता फण्डको स्वीकृत कोष आकार ६ अर्ब रुपैयाँ समाप्त भएकाले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धिको स्वीकृति प्राप्त गरे पश्चात् लाभांश प्राप्त गर्नेछन् ।
भारतका उपराष्ट्रपति धनखरले दिए राजीनामा
काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्दै राजीनामा दिने निर्णय गरेका हुन् । धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाएका छन् । जसमा उनले स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिने निर्णय गरेको कुरा उल्लेख गरेका हुन् । आफ्नो पत्रमा राष्ट्रपति र प्रधानमन्त्रीको साथसाथै मन्त्री परिषद्लाई पनि उनको कार्यकालमा दिएको अमूल्य समर्थनका लागि धन्यवाद दिए । उपराष्ट्रपतिको रूपमा धनखरले सन् २०२२ मा पदभार सम्हालेका थिए । उनको कार्यकाल सन् २०२५ सम्म थियो । तर स्वास्थ्य कारणले उनले यो महत्वपूर्ण निर्णय लिएका हुन् । धनखरको राजीनामा पछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिनेछ। यस सम्बन्धी उपराष्ट्रपतिको सचिवालयले पनि जानकारी दिएको छ। उपराष्ट्रपतिको कार्यकालमा धनखरको योगदान अत्यन्त प्रेरणादायक र महत्त्वपूर्ण रहेको बताइएको छ । उनको कार्यकालको अवधिमा देशको संविधान र संसदीय प्रक्रियामा राम्रो ज्ञान र नेतृत्व देखाएको जानकारहरु बताउँछन् ।
आजदेखि नेपाल इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन, १० कित्ता हुनेले ३.४७ कित्ता पाउने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज साउन ६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा-चिप्लेढुङ्गा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।
बन्दीपुर केवलकारको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमले आज साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङ्गटार नगरपालिका वढा नं. ७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै, जारी पुँजीको १८.७० प्रतिशत अर्थात् ५२ करोड ९४ लाख रुपैयाँको ५२ करोड ९४ हजार कित्ता सेयरमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता सेयर छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले साउन २० गते र वैदेशीक रोजगारीमा रहेका नेपालीले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै केवलकारको तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
बेनी-अर्थुङ्गे-पुलाचौर सडककाे बेनी-पुरुण्डी खण्ड पक्की बन्यो
काठमाडौं । म्याग्दीको बेनी-अर्थुङ्गे-पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ । यो सडकले बेनी नगरपालिका-६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ । बेनीबाट बेनी-६ अर्थुङ्गे-बाँसबोट-एकपाटे-अवेचौर हुँदै पुरुण्डीसम्म ६ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । “बेनीबाट अर्थुङ्गे हुँदै पुलाचौर जोड्ने सडक योजना बेनी नगरपालिकाको प्राथमिकताप्राप्त क्रमागत योजना हो । पुरुण्डीबाट पुलाचौतर्फको सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८२/८३ मा लागि १ करोड ६२ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ,’ उनले भने । बेनी-अर्थुङ्गे पुलाचौर सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा दुईवटा योजना सञ्चालन गरेको थियो । गत वर्षसम्म बेनीबाट अर्थुङ्गे हुँदै बेनी नगरपालिका-६ बाँसबोटसम्म ढलान र कालोपत्र भएको थियो । ६२ लाख ६७ हजार ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको योजनामार्फत एकपाटे र अवेचौर क्षेत्रमा ४२६ मिटर प्रिमिक्स कालोपत्र, १३० मिटर ढलान र १९० मिटर पक्की नाली निर्माण भएको बेनी नगरपालिकाका प्राविधिक मिलन केसीले बताए । सडक बोर्डको कार्यक्रमअन्तर्गत ६८ लाख ७९ हजार ४९८ रुपैयाँमा ठेक्का सम्झौता भएको योजनामार्फत पुरुण्डी खण्डमा २३२ मिटर ढलान, १५० मिटर पक्की नाली, पर्खाल निर्माण सकिएको र ७२ मिटर प्रिमिक्स कालोपत्र गर्न बाँकी छ । कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली र कुनातर्फ टेवा पर्खाल निर्माण भएको छ । यसअघि सडक ४ मिटरको अनुपातमा फरालिको थियो । विस्तार गरेर सात मिटरको अनुपातमा फराकिलो पारिएको छ । एकपाटेका बासिन्दा विष्णुदत्त शर्मा मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति भएसँगै आवतजावतमा सहज भएको बताए । ‘सडक सुधार भएसँगै यसअघि एकपाटेबाट बेनी आउन ४० मिनेट लाग्ने गरेकामा अहिले यात्राअवधि १० मिनेटमा छोटिएको छ,’ उनले भने, ‘हिलो र धुलोमुक्त सफा सडकमा सुरक्षित रूपमा यात्रा गर्न पाउँदा दङ्ग परेका छौँ ।’ स्तरोन्नति भएको सडकमा नियमित यातायातका साधन सञ्चालन गर्न र भाडादर समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् । स्थानीयको मागअनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नयाँ आर्थिक वर्षको सुरुआतसँगै नयाँ भाडादर लागि गरिएको नगरपालिकाले जनाएको छ ।
७ प्रतिशत ब्याज पाइने नबिल बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला
काठमाडौं । नबिल बैंकले आज साउन ६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन २० गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रमा सुरक्षित रहेको संकेत गर्दछ ।
देआज शरभर पानी पर्ने, कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर हुनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा भएका नीतिगत तथा संस्थागत सुधारका विषयमा सोमबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले धानमा आत्मनिर्भर बन्न लागेको बेला मधेस प्रदेशमा खडेरीका कारण आएको समस्या समाधानका लागि मन्त्रालयले अध्ययन गर्न कर्मचारीको टोली खटाएको जानकारी दिए । कृषकलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको मन्त्री अधिकारीको भनाइ छ । मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको उनले उल्लेख गरे । मन्त्री अधिकारीले यो अवधिमा आफ्नो सोच अनुरुपका सबै काम गर्न नसके पनि आफ्नो प्रयास मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानका पक्षमा रहेकामा जोड दिए । ‘कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो र लाखौंँ नेपालीको जीविकोपार्जनको आधार हो, यसैलाई मध्यनजर गर्दै, मन्त्रालयले कृषि उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राख्दै आएको छ’, उनले भने । यस अवधिमा विगत लामो समयदेखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिदसम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरणसम्बन्धी कार्यविधि संशोधन गरिएको जानकारी पनि उनले गराए । यसबाट रायानिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीको भनाइ छ । विगत सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारी समायोजन अनुसारको सङ्गठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरी सङ्गठन सुदृढ तथा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । बीउ विजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको, कृषि तथा पशुपन्छी बिमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको उनले उल्लेख गरे । कृषि क्षेत्रको एकीकृत कानुनको रूपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भई मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको, पशु कल्याण ऐनलाई अन्तिम रुप दिइएको मन्त्री अधिकारीले जानकारी गराए । केही वर्षदेखि थन्किएर रहेको खाद्य गुणस्तर परीक्षण गर्ने चार वटा मोबाइल भ्यान सञ्चालनमा आएको, नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्न उच्चस्तरीय कार्यदल गठन गरी कार्य भइरहेको, कृषि सम्बन्धी प्रविधिहरूको दर्ता, कृषि प्रविधि प्रसार एवं हस्तान्तरणको संस्थागत संरचना निर्माण गर्ने नीतिगत निर्णय गरी यसको कार्यान्वयनसमेतलाई सहयोग पुग्ने उद्देश्यले नेपाल राष्ट्र बैङ्कमा आवश्यक पहल गरी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । नार्कका सिफारिस प्रविधिमा कर्जा प्रवाह सहजीकरण गर्ने व्यवस्था समावेश गरिएको मन्त्री अधिकारीले जानकारी गराए । जीवनाशक विषादीको गुणस्तर परीक्षण तथा अनुसन्धान प्रयोगशाला सञ्चालनार्थ क्वारेन्टाइन केन्द्र, प्रदेश सरकार, विश्वविद्यालयलगायत सरोकारवाला संस्थासँग परामर्श र समन्वय गर्नेगरी आवश्यक संरचना, मोडेल र कार्यक्रमबारे नीतिगत निर्णय भई प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । खोरेत रोग मुक्त क्षेत्र घोषणा गर्न संघीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा कोशी प्रदेशको इलाम जिल्लाका तीन वटा क्षेत्रमा विभाजन गर्न लागिएको छ । यसबाट पशुजन्य पदार्थ (मासु, दुध, छुर्पी, घिऊ) को अन्तरराष्ट्रिय बजार पहिचान गर्न महत्त्वपूर्ण रहने विश्वास लिएको मन्त्री अधिकारीले बताए । रैथाने बालीको संरक्षण, प्रवर्द्धन एवं यसको महत्वको प्रचारप्रसार गर्न मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदको बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । यसअघि हिमाली क्षेत्रको आनुवंशिक स्रोत तथा दुर्लभ हुँदै गएको याकको संरक्षणका लागि वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने घोषणा गरी पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ । बीउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतिपत्र नवीकरण, प्रमाणीकरणलगायतका कार्य अनलाइनमार्फत् सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाइएको छ । गत मङ्सिरदेखि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपन्छी रोग प्रयोगशालामा ‘ल्याबरेटोरी इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ सुरु भएको छ । विभिन्न विधामा सात प्रदेशका १४ जना उत्कृष्ट किसानलाई राष्ट्रिय उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित गरिएको छ । यसले कृषि पेशालाई सम्मानित बनाउन एवम् युवा जनशक्तिलाई कृषि उद्यमप्रति उत्प्रेरित गर्ने विश्वास मन्त्रालयको छ । मन्त्रालय अन्तर्गतका निकायमा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा लामो समयदेखि रिक्त रहेका पदमा नेतृत्व प्रदान गरिएको पनि मन्त्रालयले जनाएको छ ।