संस्कृति मन्त्री पाण्डेले गरे पशुपति क्षेत्रको अनुगमन
काठमाडौं । साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज पशुपतिनाथ मन्दिरसहित पशुपति क्षेत्रको अनुगमन गरेका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले अनुगमनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका हुन् । उनले दर्शनार्थीसँग समेत कुराकानी गरे । दर्शनार्थीले छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएको प्रतिक्रिया दिएका थिए । यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको भक्तजनको अनुभव छ । दर्शनका लागि निःशुल्क बस, लाइन व्यवस्थापन, सुरक्षालगायत सबै पक्ष व्यवस्थित देखिएको रामकोटबाट आउनुभएकी दर्शनार्थी रमा रिमालले जानकारी दिए। यसले अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज भएको छ । धार्मिक आस्थाका दृष्टिले साउन महिनाको सोमबार शिवको भक्तिका लागि विशेष दिन मानिन्छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । भक्तजनको सहज आवागमनका लागि चक्रपथ घुमेर आउने निःशुल्क रुपमा चार वटा बस सेवा सञ्चालनमा ल्याइएको छ । अनुगमनका क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई सक्रिय रहन निर्देशनसमेत दिएका थिए । साउन महिनाभर प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ । संस्कृतिमन्त्री पाण्डे सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा लगाइएको पितृमुक्ति ज्ञान महायज्ञसमेत सहभागी भएका थिए ।
एमाले केन्द्रीय बैठक जारी, सिग्देलले भने- ‘राष्ट्रपति भइसकेका व्यक्ति सक्रिय राजनीतिमा फर्कनु ठीक होइन’
काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टी अध्यक्ष ओलीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्ना धारणा राख्ने क्रम सुरु भएको हो । अध्यक्ष ओलीले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रचार विभाग प्रमुख गौतमका अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यले विधान संशोधनका विषयमा धारणा राख्न सुरु भएको छ । हालसम्म केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गिरी, रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका छन् । उनीहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संसोधन प्रस्तावलाई समर्थन गरेका छन् । त्यसक्रममा केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताए । केन्द्रीय सदस्य पहारीले अध्यक्ष ओलीको नेतृत्वमा एमालेले मिसन ०८४ मा बहुमत ल्याउनुपर्ने सुनाए । आजदेखि सुरु भएको बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । बैठक भोलिसम्म सञ्चालन हुनेछ ।
व्यास नगरपालिकाबाट २०६ विद्यार्थीलाई छात्रवृत्ति, शिक्षा क्षेत्रमा लगानी
काठमाडौं । तनहुँको व्यास नगरपालिका कार्यालयले २०८१/८२ मा २०६ विद्यार्थीलाई १८ लाख ४८ हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । कक्षा १२ भन्दा माथिका ३९ जना विद्यार्थीलाई ११ हजारका दरले र कक्षा ९ देखि १२ सम्मका १६७ जनालाई आठ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो । आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गरेर पढ्ने वातावरण मिलाइदिएको नगरपालिकाले जनाएको छ । शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भनी नगरपालिकाले शिक्षा क्षेत्रमा बर्सेनि ठूलो रकम लगानी गर्दै आएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनले भने, ‘नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको छ, शैक्षिक क्यालेन्डर निर्माण गरी सोही आधारमा विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’ कक्षा ५ र ८ को परीक्षा सञ्चालन गरी शैक्षिक गुणस्तर मापन कार्य गरिएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, दीर्घ सेवारत शिक्षक, निवृत्त शिक्षक गरी ४९ र १२ उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत एवं सम्मान गरेको थियो । राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा अन्तर विद्यालय विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरी उत्कृष्ट चार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । संघीय शिक्षण सिकाइ सहयोग अनुदानमा माध्यमिक र आधारभूत तहको २३ कोटामा विषयगत शिक्षक पदपूर्ति गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘प्रसूति बिदामा रहेका १३ शिक्षकको सट्टामा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन गरी पठनपाठन कार्यलाई सञ्चालन गरिएको थियो ।’
बीवाईडीले बनायो नयाँ कीर्तिमान, १ करोड ३० लाख एनईभी सवारी उत्पादन
काठमाडौं । न्यु इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाखौं युनिट सवारी साधन उत्पादन गरेर माइलस्टोन हासिल गरेको छ । चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौं सवारीको रुपमा सार्वजनिक गरेर सो उत्सव मनाएको हो । कम्पनीका अनुसार सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रुपमा बढिरहेको छ । गत जनवरी देखि जुन सम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ । त्यसैगरी यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ । यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा बीवाईडी पहिलो स्थानमा रहन सफल भएको छ र १ करोड ३० लाख न्यु इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनी समेत बनेर यो उद्योगमै एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । प्रोडक्सन लाइनमा १ करोड ३० लाखौं सवारीको रुपमा न्यु इनर्जी भेइकल सार्वजनिक गरेको छ र यसले बीवाईडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजार र प्रयोगकर्ताहरुको आशा र विश्वासलाई प्रतिविम्बित गरेको छ । याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रुपमा परिचित छ र उच्च–गुणस्तरीय उपभोक्ता बजारमा यसले प्राविधिक निपुणता र ब्रान्ड भ्याल्युका लागि छुट्टै पहिचान कायम गरेको छ । याङवाङले प्राप्त गरेको निरन्तर उपलब्धिहरूले केवल उच्च–स्तरीय अटोमोबाइल क्षेत्रमा चिनियाँ ब्रान्डहरूको ऐतिहासिक फड्को मात्र जनाउँदैन, यसले न्यु इनर्जीको युगमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको प्रबल प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई पनि प्रमाणित गरेको छ ।
नेपाल मेडिसिटीले पियर किड्नी एक्सचेन्जमार्फत बचायो ४ जनाको जीवन
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ । काठमाडौं निवासी र सिराहा निवासी दुई परिवारबीच मिर्गौला साटासाट गरी असार ३१ गते प्रत्यारोपण गरिएको हो । एक परिवारका ४८ वर्षे महिलाले अर्का परिवारका ५८ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् भने ५९ वर्षे महिलाले ४९ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् । श्रीमतीले आफ्नो श्रीमानलाई मिर्गौला दान गर्न चाहे पनि रक्त समूह नमिल्दा पियर किड्नी एक्सचेन्ज विधि अपनाइएको हो । अस्पतालमा मल्टिडिसिप्लिनरी टिम भएकै कारण पियर किड्नी एक्चेन्ज प्रत्यारोपण सफल भएको हो । यो शल्यक्रिया गर्दा एकैपटक दुई जना दाता र दुई जना प्राप्तकर्तालाई छुट्टाछुट्टै चारवटा अपरेशन कक्षमा एकैपटक शल्यक्रिया गरिन्छ । यसका लागि मिर्गौला रोग विशेषज्ञ, मिर्गौला सर्जनहरु, मुटुरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्टस्, तालिमप्राप्त नर्सहरुको टीमकै सहभागिता आवश्यक पर्दछ । नेपालमा पियर किड्नी एक्सचेन्जलाई कानुनी रूपमै मान्यता दिइएको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ तथा संशोधित ऐन २०७२ अनुसार, दुई वा दुई भन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसकेको अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रूपमा एक अर्काको परिवारको सदस्यले मन्जुरी दिएको मनासिब देखिएमा प्रत्यारोपण स्वीकृती समितिले स्वीकृति दिन सक्ने छ । अस्पतालमा प्रत्यारोपण गराएका बिरामीहरुको आफ्नै परिवारबाट मिर्गौला दान गर्न सम्भव नभएपछि पियर किड्नी एक्सचेन्जको बाटो अपनाइएको हो । नेपाल मेडिसिटीको यस सफल प्रयासले नेपाली मिर्गौला उपचार सेवा क्षेत्रमा नयाँ अध्याय थपेको छ । अस्पतालले भविष्यमा पनि यस्ता नवीनतम चिकित्सा अभ्यासहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको एक वर्षको समीक्षा : 'भनेजस्तो सजिलो रहेन काम गर्न'
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्री प्रदीप पौडेलले एक वर्षको कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य पन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले एक वर्षभित्र गरेका काम र प्रयासको विषयमा सार्वजनिक गरेका हुन् । उनले आफुले मन्त्रीको पदबाट गर्न मिल्ने सबै प्रयास गरेपनि कतिपय काम भनेजस्तो गर्न सजिलो नभएको बताए । ‘मैले सक्दो मिहिनेत गरेको छु, यसमा धेरै फल भएको जस्तो पनि लागेको छ, तर भन्नु र काम गर्नुमा निकै गाह्रो हुँदो रहेछ,’ उनले भने । उनले एक वर्षमा आधारभूत अस्पताल संचालनदेखि डेंगु नियन्त्रण तथा नसर्ने रोगको स्क्रिनिंग,एचपीभी खोप अभियान तथा कर्मचारी समायोजन तथा व्यवस्थापनमा थुप्रै काम गरेको दाबी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा पाँच वर्षभित्र १२ हजार जनशक्ति थप गर्ने प्रयास स्वरुप हाल २ हजार १सय जनशक्ति सहितको संगठन संरचना सुधार गर्न सर्वेक्षण प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्मा समक्ष पेश गर्ने गरी स्वीकृतीको अन्तिम चरणमा रहेको, स्वास्थ्य क्षेत्रलाई निर्देशित गर्ने १० वटा महत्वपूर्ण विधेयक तथा विद्यमान ऐनहरुलाई संशोधन गर्ने गरी विधेयकहरूलाई अघि बढाइएको,रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रतिनिधि सभामा टेबुल गर्न मन्त्रिपरिषद् समक्ष स्वीकृतिका लागि पेश गरिएको,सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन (संशोधन) मन्त्रिपरिषदमा पेश गर्ने अन्तिम तयारीमा रहेको बताए । निःशुल्क उपचार तथा औषधि पौडेलले आफ्नो कार्यकालमा निःशुल्क उपचार तथा औषधी वितरण दिन सुरु गरेको विवरण सार्वजनिक गरेका छन् । जस अन्तर्गत कान्ती बाल, भक्तपुर क्यान्सर, पाटन अस्पताल र बी पि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अस्पतालहरुमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार पूर्णतः निःशुल्क गरिएको जानकारी दिए । संघीय अस्पतालहरुमा पक्षघात (स्ट्रोक), हिमोफिलियाको औषधि निःशुल्क उपलब्ध गराइएको छ भने सरकारी अस्पतालहरुमा सिकलसेल एनेमिया तथा थालासेमियाका बिरामीलाई आवश्यक औषधि तथा भ्याक्सिन निःशुल्क गरिएको विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य सूचना र गुनासो सम्बोधन गर्न सुरु गरेको हेल्लो स्वास्थ्य '१११५' ७ हजार बढी गुनासाहरू आएका र यसलाई मन्त्रालयले सम्बोधन गरेको बताए । नयाँ तथा विशिष्टीकृत सेवाहरूको सुरुवात गरेका छन् भने वीर अस्पतालः जलन वार्ड र सर्जिकल आईसीयू सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालः सिटि स्क्यान, रेडियोथेरापी सेवा र बाल क्यान्सर उपचारका लागि अन्कोलोजी वार्ड स्थापना,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानः नशा परीक्षणको अत्याधुनिक सेवा विस्तार,बीपी प्रतिष्ठान, धरानः बर्न वार्ड, अन्कोलोजी वार्ड र मिल्क बैंक सेवा विस्तार गरिएको जानकारी गराए । सरकारी अस्पतालको भिड हटाउन चुनौती मन्त्री पौडेलले मन्त्रीको पद सम्हाले यता सबैभन्दा अगाडि सरकारी अस्पतालको भिड नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए । त्यही अनुसार उपत्यकामा बिरामीको भिड लाग्ने अस्पताललाई निर्देशन गरेका थिए । सबै अस्पतालले भिड नियन्त्रणका लागि प्रयास गरेको लिखित जाफसमेत मन्त्री पौडेललाई पठाएका थिए । तर उनले प्रतिबद्धता जनाए जस्तो न भिड नियन्त्रण भयो न त अनलाईनमार्फत टिकट लिने व्यवस्था भयो । यो प्रसंगमा मन्त्री पौडेलले अस्पतालको भिड नियन्त्रण गर्न सबैभन्दा अफ्ठेरो काम भएको बताए । उनले भने, ‘अस्पतालमा बिरामीको भिड नियन्त्रण गर्न अस्पताल नै बढाउनुपर्ने रहेछ, मैले धेरै प्रयास गरेँ सकिएन अब कि अस्पतालको तला थप्नुपर्यो, कि अस्पतालको क्षेत्र बढाउनुपर्यो त्यो भन्दा अर्को विकल्प अर्को देखिएन । उनले सरकारी अस्पतालप्रति सेवाग्राहिको बढी विश्वास भएकाले सरकारी अस्पतालमा बिरामीको भिड बढी हुने बताए । ‘मैले लाइन व्यवस्थापन गर्न नसक्दा आलोचित पनि बन्नुपर्यो उनी भन्छन्,’ ‘भिड नियन्त्रण गर्न नसक्दा काम नै नगरेको जस्तो देखियो होला तर, नीतिगत तहमा थुप्रै काम गरेको छु ।’ यस्तो छ उनले एक वर्षको अवसरमा प्रस्तुत गरेको वक्तव्य
चरम गर्मी लहरले विश्वव्यापी रूपमा जलवायु सङ्कटको चेतावनी
काठमाडौं । युरोप र मध्यपूर्वले यस हप्ता अत्यन्त भीषण गर्मीको लहरसँग जुझ्दै गर्दा विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी दिइएको छ । भीषण गर्मीको लहरले धेरै देशमा विभिन्न जलवायु सङ्कट सिर्जना गरेको छ । राष्ट्रिय मौसम विज्ञान सेवाका अनुसार इरानमा आइतबार तेहरानको तापक्रम ४० डिग्री सेल्सियसमा पुगेको छ र यो वर्षको सबैभन्दा तातो हप्तामा ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चर्को गर्मीको लहर जारी रहँदा राजधानीलाई आपूर्ति गर्ने बाँध भण्डारहरू ‘एक शताब्दीकै सबैभन्दा तल्लो स्तरमा’ पुगेको चेतावनी दिँदै तेहरानको पानी प्राधिकरणले बासिन्दाहरूलाई कम्तीमा २० प्रतिशतले खपत घटाउन आग्रह गरेको छ । तेहरानबाट करिब तीन हजार पाँच सय किलोमिटर पश्चिममा ग्रिसको राजधानी एथेन्सले पनि यस गर्मीको पहिलो लामो गर्मी लहर सहन गरिरहेको छ । उत्तरी अफ्रिकाबाट आउने तातो हावाको मात्रा यस गर्मीको सुरुमै आइपुगेको छ र ग्रिस र बाल्कनमा तातो गुम्बज बनेको छ । यसले तापमानलाई मौसमी मानकभन्दा १० डिग्री सेल्सियस माथि धकेलेको नेसनल अब्र्जरभेटरीले बताएको छ । यस हप्ता औसत उच्च तापक्रम ३८ डिग्री सेल्सियस नजिक पुग्ने र केही क्षेत्रमा ४४ डिग्री सेल्सियसमा पुग्ने पूर्वानुमानका साथ ग्रिक दैनिक द नेसनल हेराल्डले अवस्थालाई ‘नरकभन्दा तातो’ भनेर वर्णन गरेको छ । यस्तो सुक्खापन, आँधीसँग मिलेर ग्रीसलाई गम्भीर डढेलोमा पारेको छ । बिहीबार दमकलकर्मीहरूले क्रेट टापुमा डढेलोको सामना गरेका थिए । डढेलोले एक हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गर्न बाध्य पार्दै जङ्गल र जैतुनका बगैँचाहरू जलाएको थियो । यसैबीच, एथेन्स नजिकैको नयाँ आगलागी आवासीय क्षेत्रहरूको नजिक खतरनाक रूपमा फैलिएको छ । अन्यत्र, टर्कीले जुन २६ पछिका १० दिनमा ७६१ वटा डढेलो रेकर्ड गरेको छ । पश्चिमी इजमिर प्रान्त र वरपर भड्किएको आगोले एक वृद्ध पुरुष र एक वन कर्मचारीको ज्यान लिएको छ । युरोपभरि, स्पेन र इटाली लगायत देशहरूमा गर्मीसँग सम्बन्धित कम्तीमा आठ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । युरोप महाद्वीप पनि गर्मीको लहरमा डुबेको छ । 'हामी हाल बलियो उच्च–चाप प्रणालीको प्रभावमा छौँ, यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई यस क्षेत्रमाथि फसाएको छ र हामीले देख्न सक्छौँ, यसले हामीले महसुस गर्ने तरिकामा निकै ठूलो प्रभाव पारेको छ', विश्व मौसम विज्ञान सङ्गठनका प्रवक्ता क्लेयर नुलिसले पहिले भनेका थिए । उनले जलवायु परिवर्तनको परिणामस्वरूप मानिसहरूले अधिक बारम्बार र तीव्र गर्मी लहरहरूसँग बाँच्न सिक्नुपर्ने बताए । युरोपेली सङ्घ (इयु) द्वारा वित्त पोषित कोपर्निकस जलवायु परिवर्तन सेवाले हालैको एउटा लेखमा भनेको छ, 'चरम मौसम घटनाहरूबाट निर्मित वातावरणमा हुने क्षति जलवायु परिवर्तनका कारण मात्र शताब्दीको अन्त्यसम्ममा दश गुणा बढ्ने अनुमान गरिएको छ ।' यस्ता व्यापक जलवायु प्रभावहरूले अधिक लचिलोपन निर्माणको महत्त्वलाई उजागर गर्छ भन्दै सेवाले पानी पुनर्चक्रण, वर्षाको पानी र फोहोर पानीको विभाजन, जलवायु–प्रतिरोधी भवन डिजाइन, जोखिम म्यापिङ र प्रारम्भिक चेतावनी प्रणाली जस्ता भौतिक र प्राविधिक उपायहरूको आह्वान गरेको छ । 'सबै क्षेत्र र शासन स्तरहरूमा अनुकूलन आवश्यक छ र कार्यहरूले वर्तमान जलवायु प्रभावहरू र भविष्यका जोखिमहरू विरुद्ध सुरक्षा दुवैलाई सम्बोधन गर्नुपर्दछ', कोपर्निकस जलवायु परिवर्तन सेवाले भनेको छ । रासस
सडकको अवस्था नराम्रो हुनाले चितवन निकुञ्जमा घुम्ने पर्यटक घटे
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार पाँच सय आठ जना निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख छ हजार आठ सय ३७ जना पर्यटकले निकुञ्ज घुमेका थिए । गत आर्थिक वर्ष जम्मा दुई लाख ३१ हजार तीन सय २९ जना पर्यटक निकुञ्ज प्रवेश गरेको सूचना अधिकारी थापामगरले जानकारी दिए। त्यसमध्ये एक लाख १७ हजार दुई सय छ जना स्वदेशी थिए । निकुञ्ज प्रवेश गर्नेमा महिलाको सङ्ख्याभन्दा पुरुषको सङ्ख्या बढी छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका २४ हजार आठ सय र सार्क बाहेकका देशबाट ८९ हजार तीन सय २३ जनाले निकुञ्ज घुमको निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चितवन निकुञ्ज घुम्न कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका छन् । यो महिनामा ३२ हजार दुई सय ५२ जना निकुञ्ज घुम्न आएका थिए । सबैभन्दा कम साउन सात हजार तीन सय नौ जनाले निकुञ्ज घुमेका छन् । सडक पूर्वाधार लगायतका कारणले गत आर्थिक वर्षमा पर्यटकको सङ्ख्यामा कमी आएको थापामगरले बताए । उनले यस आर्थिक वर्षमा पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको बताए । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीले चितवन निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको भन्दै यसले सौराहाको पर्यटन व्यवसायमा ठूलो असर पारेको बताए । उनले अन्तरराष्ट्रिय विमानस्थलमा केही समय भएको रात्रीकालिन उडान बन्द, मुख्य सहरसँग चितवन जोड्ने सडकको अवस्था नराम्रो भएका कारण यहाँ आउने पर्यटकको संख्यामा कमि आएको बताए । उनले विमानस्थल र मुख्य राजमार्गहरू सुधार गर्न सके मात्र पर्यटकको सङ्ख्या बढाउन सकिने धारणा राखे । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । रासस