एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ औं वार्षिकोत्सव मनाएको छ । 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' भन्ने नारालाई आत्मसात् गर्दै बैंकले आफूलाई विश्वसनीय, उत्तरदायी र प्रविधिमैत्री बैंकिङ सेवाको नमुनाका रूपमा स्थापित गरेको छ । २८ वर्षको दौरानमा ग्राहाकहरुको अगाध स्नेह एवं भरोसा पाएको बैंकले जनाएको छ । नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौँ त्यसको सम्पूर्ण श्रेय ग्राहकहरुलाई नै जाने बैंकले विज्ञप्तीमा उल्लेख गरेको छ । यस्तै आगामी दिनहरुमा पनि अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट बैंकले गरेको छ । डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले बैंक भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखाकार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट लाखौं ग्राहकहरुमाझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखाविस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पुर्याउन बैंक सफल भएको विज्ञप्तीमा भनिएको छ ।
म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता
काठमाडौं । म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता छ । याङ्गुन कन्भेन्सन सेन्टरमा चिल्लो विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिएका थिए । चम्किलो ड्यासबोर्डहरू, एआई सुविधाहरू र उत्सुक भीडले सफा अटोमोटिभ भविष्यमा म्यानमारको बढ्दो चासोलाई उजागर गरेको छ । तीन दिने म्यानमार अन्तर्राष्ट्रिय अटो एक्स्पो २०२५ मा ३० भन्दा बढी ब्राण्डहरू रहेका थिए । जसमध्ये धेरैजसो चिनियाँ थिए ।
ग्लोबल आइएमई समुन्नत योजना–२ को बाँडफाँट सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक र ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘ग्लोबल आइएमई समुन्नत योजना–२ अन्तर्गतको इकाई बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ । प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याइएको उक्त योजनाको असार २२ गतेदेखि छिटोमा असार २५ र ढिलोमा श्रावण ४ गतेसम्म बिक्री खुला गरिएको थियो । तर छिटोमा अर्थात असार २७ गतेभित्रै मागभन्दा बढी आवेदन प्राप्त भएकाले निष्कासन प्रक्रिया समयभन्दा अगावै बन्द गरिएको हो । मागभन्दा बढी आवेदन प्राप्त भएमा निष्कासन गरिएको इकाईको अधिकतम २५ प्रतिशतसम्म थप गरी बाँडफाँट गर्न सकिने व्यवस्था अनुसार यस योजनाको कुल इकाई संख्या १२ करोडमा २५ प्रतिशत थप गर्दै १५ करोड पुर्‍याइएको हो । बाँडफाँट गरिएको १५ करोड इकाईमध्ये १५ प्रतिशत अर्थात २ करोड २५ लाख इकाई बीज पूँजीका लागि छुट्याइएको थियो । सोहीअनुसार कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत अर्थात २ करोड २ लाख ५० हजार इकाई र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई १.५० प्रतिशत अर्थात २२ लाख ५० हजार इकाई मिति २०८२ असार ३० गते बाँडफाँट गरिएको छ । बीज पूँजी बाँडफाँट पश्चात बाँकी रहेको १२ करोड ७५ लाख इकाई सर्वसाधारणलाई बाँडफाँट गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सि-आस्वा प्रणालीमार्फत ३५ हजार ८०२ वटा आवेदनबाट कुल १३ करोड ९ लाख ३३ हजार ५१० इकाईका लागि आवेदन प्राप्त भएको थियो ।
साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भीड (तस्बिरसहित)
काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरूको भीड देख्न सकिन्छ । साउने सोमबारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमवार भगवान शिवजीको महिना र वार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ । काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनहरु बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन् ।
मञ्जुश्री फाइनान्सको न्यूरोड शाखा स्थानान्तरण, नयाँ स्थानबाट सेवा सुरु
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको न्यूरोड शाखा काठमाडौं महानगरपालिका–२२, खिचापोखरी, न्यूरोडस्थित हालको स्थानबाट करिब ५० मिटर उत्तरतर्फ स्थानान्तरण भई आइतबारदेखि नयाँ स्थानबाट सेवा प्रवाह सुरु गरिएको छ । नयाँ शाखा कार्यालयको उद्घाटन फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन् । शाखा स्थानान्तरणको उद्देश्य ग्राहक सेवा अझ सहज र प्रभावकारी बनाउने रहेको शाखा प्रमुख सन्जीब श्रेष्ठले जानकारी दिए । मञ्जुश्री फाइनान्सले हालसम्म करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८.८ अर्ब रुपैयाँ कर्जा परिचालन गरिसकेको छ। फाइनान्सले निक्षेपमा प्रतिस्पर्धी ब्याजदर र सुलभ कर्जा सुविधा प्रदान गर्दै आइरहेको छ। हाल २७ वटा शाखा र १ वटा विस्तारित काउन्टरमार्फत सेवा दिइरहेको यस संस्थाले १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ। देशकै अग्रणी फाइनान्स कम्पनीहरूमध्ये एकको रूपमा परिचित मञ्जुश्री फाइनान्स उत्कृष्ट बैंकिङ सेवा विस्तारमा प्रतिबद्ध रहेको जनाएको छ।
जिल्ला अदालत ललितपुरबाट सहकारीको मोटरसाइकल हरायो
काठमाडौं । कस्मिक बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल हराएको छ । कस्मिक सहकारी संस्थाको २२० सीसीको पल्सर मोटरसाइकल हराएको जनाएको छ । कस्मिक सहकारी संस्थाको नाममा दर्ता रहेको ऋणी मनोहर कार्कीको बा.प्र. ०२, ०५८ प. ८१९२ नम्बरको पल्सर २२० सीसीको मोटरसाइकल हराएकाले कसैले भेटाएमा बैंक वा प्रहरीमा सम्पर्क गराउन सहकारी संस्थाले आग्रह गरेको छ । मोटरसाइकलको इन्जिन नम्बर डीकेएक्ससीएसबी २१४७८ र च्यासिस नम्बर एमडीएमडी २ए१३ईएक्स३ एससीबी८२९८० कालो/रातो रंगको मोटरसाइकल रहेको सहकारीले जनाएको छ । सहकारी संस्थाको मोटरसाइकल असार २९ गते ललितपुरस्थित जिल्ला अदालत अगाडि पार्किङ गरी राखिएको अवस्थामा बेलुका ५ बजेदेखि ७.१५ बजेको समयमा मोटरसाइकल हराएको हुँदा फेला परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सहकारी संस्थाले आग्रह गरेको छ ।
रुसुवागढी बाढीले क्षति पुर्याउँदा ९ कम्पनीमा २९ करोड रुपैयाँ बीमा माग दाबी, सबैभन्दा धेरै शिखरमा
काठमाडौं । रुसुवागढीमा आएको बाढीले क्षति गर्दा २९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । असार २३ गते भोटेकोसी नदीमा आएको बाढीले नेपाल चिन मितेरी पुलसँगै बन्दरगाहमा रहेका सवारी साधन र केही हाइड्रोपावर कम्पनीहरुमा क्षति पुर्याएको थियो । बाढीले पुर्याएको क्षतिबाट २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा प्रारम्भिक बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सामुद्रिक बीमा लेखका ६ वटा बीमा बापत १५ करोड ७० लाख १० हजार रुपैयाँ बराबरको दाबी परेको छ । यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा लेखका ४ वटा दाबी बापत ५ करोड ५५ लाख रुपैयाँ, सम्पत्ति बीमा लेखका १० वटा दाबी बापत ४ करोड १८ लाख ५० हजार रुपैयाँ, मोटर बीमा (सार्वजनिक)लेखका ३२ वटा दाबी बापत २ करोड ३१ लाख ५० हजार रुपैयाँ र मोटर बीमा (निजी) लेखका ११ वटा दाबी बापत १ करोड १७ लाख ५० हजार रुपैयाँ माग गरिएको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा दाबी भुक्तानी परेका छन् । शिखर इन्स्योरेन्समा १० वटा दाबी बापत १६ करोड १२ लाख १० हजार रुपैयाँ माग गरिएको छ । यस्तै, नेको इन्स्योरेन्समा ३ वटा दाबी बापत ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७ वटा दाबी बापत ३ करोड ४१ लाख ५० हजार रुपैयाँ माग गरिएको छ । यस्तै, नेपाल इन्स्योरेन्समा १२ वटा दाबी बापत १ करोड २८ लाख ५० हजार रुपैयाँ, सानिमा जीआइसी इन्स्योरेन्समा ६ वटा दाबी बापत ७७ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ९ वटा दाबी बापत ७५ लाख ५० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबी बापत ६८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा दाबी बापत ४७ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा दाबी बापत ३१ लाख रुपैयाँ माग गरिएको छ ।
एनपीएल घटेसँगै ८९.९६ प्रतिशत बढ्यो गुराँस लघुवित्तको नाफा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ८९.९६ प्रतिशत बढेर ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले २ करोड ८ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको खराब कर्जा (एनपीएल) घटेसँगै नाफा वृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष ३.६७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर २.९१ प्रतिशतमा झरेको छ । गत असारसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशत बढेर १३ करोड २३ लाख ९९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ८ करोड २८ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष लघुवित्तले कुल सञ्चालन आम्दानी १५ करोड ८७ लाख ४६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले यस्तो आम्दानी ११ करोड १६ लाख ६५ हजार रुपैयाँ गरेको थियो । गत वर्ष लघुवित्तले कर्मचारी खर्चमा ६ करोड ६३ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ३ करोड २० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कर्मचारी खर्चमा ५ करोड ५७ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च २ करोड ३७ लाख रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँ र जगेडा कोष ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ रहेको छ । गत वर्ष लघुवित्तले १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी र ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३४.१७ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १५६.७९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.७८ गुणा रहेको छ । गत असारसम्म लघुवित्तको आधार दर १२.६७ प्रतिशत रहेको छ ।