राप्ती हाइड्रोले साउन १३ गतेदेखि ७ लाख कित्ता सेयर बिक्री गर्ने, मूल्य १ सय रुपैयाँ
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले ७ लाख ४ हजार १११ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले असार १ गतेदेखि असार २४ गतेसम्म चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र संस्थापक समूहतर्फ १ लाख ४० हजार १०१ कित्ता सेयर बिक्री भएको थिएन । कम्पनीका अनुसार उक्त सेयर भदौ ८ गतेसम्म लकइनमा रहनेछ । कम्पनीले सोही साउन १३ गतेदेखि साउन २० गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ठिमी-भक्तपुर, कुमारीपाटी-ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही-दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहँदा आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । यसैगरी आज रातीपनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ
नेको सहकारी पीडितले भने- ‘म मर्दैछु तर सञ्चालकहरुलाई जिउँदो राख्दिनँ’
डा.रामकुमार अधिकारी नेकपा एसका वरिष्ठ उपाध्यक्ष पाण्डे सहकारी ठगीमा मुछिए, पदाधिकारी मिलेर करोडौं रकम निजी कम्पनीमा शिर्षकमा विकासन्युजमा समाचार प्रकाशित भएपछि नेपाल स्वास्थ्य सहकारी सेवा लिमिटेड (नेको) को गम्भिर ध्यानाकर्षण भयो । यस विषयमा राजनीतिकरणका प्रयास पनि भएका छन् । सर्वोच्च अदातलमा भइरहेको बहसलाई पनि प्रभावित गर्न खोजिएको हाम्रो बुझाइ छ । एक दिन सत्य बाहिर आउने नै छ । म केही वास्तविकता भन्छु । वि.सं २०६२ सालमा २८ जनाले प्रतिव्यक्ति १ लाखका दरले लगानी गरेर मेडिकल कलेज स्थापना गर्ने उद्देश्यका साथ नेपाल स्वास्थ्य सहकारी सेवा लिमिटेड (नेको) स्थापना गरिएको हो । सुरुमा ठमेलमा १०० बेड क्षमताको अस्पताल सञ्चालन गर्यौं । पछि बिएस्सी नर्सिङ र बीएम पढाउने कलेज किन्यौं । त्यो कम्पनी सरोज देवकोटा र अञ्जनी कुमार श्रेष्ठले सञ्चालन गर्दै आएका रहेछन् । वि.सं २०६७ सालमा नेकोले मेडिकल कलेज खोल्नको लागि मनसाय पत्र (एलओआई) पायो । लगत्तै हामीले कलेज अफ टेक्निकल साइन्स चलाउँदै आएको कम्पनी पनि किन्यौं । त्यतिबेला सहकारीले कम्पनी किन्न पाउने व्यवस्था रहेछ । पछि कानुन संशोधन हुँदै गए । सहकारीले निजी कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था भयो । पछि हामीले १ अर्ब १७ करोड रुपैयाँ ऋण लिएर नेकोका लागि स्वयम्भूमा १७ रोपनी जग्गा किन्यौं । दहचोकमा ६२ रोपनी जग्गा किन्यौं । १०० रोपनीका लागि अझै १० रोपनी जग्गा कम थियो । विश्वविद्यालय खोल्ने भनेर धादिङको छत्रे देउराली र जीवनपुरमा ३०० रोपनी जग्गा किन्यौं । ७५० बेडको अस्पताल बनाउने हाम्रो योजना हो । एलओआई पाएपछि स्वयम्भूमा अस्पताल बनाउने काम सुरु भयो । भवन १० तलाको बनाउनु पर्नेमा पुग्ने पैसा थिएन । सुुरुमा हामी ३०० बेडको तयारीमा गर्यौं । श्यामसुन्दर जेभीले भवन निर्माणको ठेक्का पायो । तर, उसले समयमा काम गर्न सकेन । अरुले १/२ वर्षमा सक्ने भवन बनाउन हामीलाई ६ वर्ष लाग्यो । त्यसभित्र धेरै समस्या भए । त्यही बेला दहचोकमा बेसिक साइन्सको भवन बनाउने काम भए । त्यतिबेला चिकित्साशास्त्र अध्ययन संस्थानमा डा. अरुण सायमी डिन हुनुहुन्थ्यो । उहाँले ‘छिटो गर है, मेरै पालामा मेडिकल कलेजको लाइसेन्स लिइहाल’ भन्नुभएको पनि हो । तर, हामीले तयारी पूरा गर्न ढिलो भयो । वि.सं २०७० सालमा चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयले स्थलगत अध्ययन गर्यो । १०० जनालाई एमबीबीएस पढाउनको लागि पूर्वाधार पुग्छ, सबै कुरा ठिक छ भनेर लेखेर दिए । जब मनमोहन मेमोरियल हस्पिटलले मेडिकल कलेजको लाइसेन्स पाउन सबै तयारी पूरा भयो तब डा. गोविन्द केसी मेडिकल कलेजको नयाँ लाइसेन्स दिनुहुन्न भन्नेसहित विभिन्न माग राखेर अनसनमा बसे । त्यसपछि जब फ्याकल्टी बोर्ड बैठक बस्ने तयारी हुन्छ, तब गोविन्द केसी अनसनमा बस्न थाले । हामीले मेडिकल कलेजको लाइसेन्स पाएनौं । केसीको माग अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोग बन्यो । पछि केदारभक्त माथेमाको संयोजकत्वमा फेरी नयाँ आयोग बन्यो । त्यस आयोगले पूर्वाधार बनाइसकेको र एलओआई पाइसकेका अस्पतालहरुलाई कि लाइसेन्स दिनुपर्छ, कि राज्यले किन्नु पर्यो भन्ने सुझाव दियो । वि.सं २०७५ सालमा नयाँ ऐन आयो । जसले काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिमकल कलेजलाई लाइसेन्स नदिने र एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजको सम्बन्धन दिन नपाउने व्यवस्था गर्यो । उक्त कानुन बनेपछि हामी ढल्यौं । हामीले तत्कालीन स्वाथ्यमन्त्री गगन थापालाई हाम्रो सम्पत्ति सरकारले किनिदिनुपर्यो भन्यौं । तर, मन्त्रालयले किन्न सकिँदैन भनेर पत्र नै दियो । त्यसपछि हामी सम्पत्ति बेचेर उत्रने बाटोमा लाग्यौं। भवन बनाउने ठेकेदारलाई १२ करोड रुपैयाँ तिर्न बाँकी थियो । उसले बैना पनि गर्यो । तर, भूमि ऐनमा हदबन्दीभन्दा बढी जग्गा बेच्न नपाउने व्यवस्था रहेछ । हामीले एक रोपनी जग्गा बेच्च पनि नपाउने व्यवस्था रहेछ । लाइसेन्स पनि नपाउने, सरकारले सम्पत्ति पनि नकिन्ने, निजी क्षेत्रलाई बेच्न पनि नपाउने । कति ठूलो विपत आइलाग्यो अब । यस्तै, समस्याहरु भएर हो यो देशमा कसैले लगानी गर्दैनन् । १०० रोपनी जग्गा किनेर उद्योग लगाउँछ । उद्योग चलेन, घाटा भयो र जग्गा बेच्नु पर्यो भने सरकारले बेच्न दिँदैन । यस्तै नीतिले गर्दा लगानी गर्नेहरु टाँट पल्टिएर भाग्नुको विकल्प छैन नेपालमा । लाइसेन्स पनि नपाउने, सरकारले सम्पत्ति पनि नकिन्ने, निजी क्षेत्रलाई बेच्न पनि नपाउने । कति ठूलो विपत आइलाग्यो अब । यस्तै, समस्याहरु भएर हो यो देशमा कसैले लगानी गर्दैनन् । १०० रोपनी जग्गा किनेर उद्योग लगाउँछ । उद्योग चलेन, घाटा भयो र जग्गा बेच्नु पर्यो भने सरकारले बेच्न दिँदैन । यस्तै नीतिले गर्दा लगानी गर्नेहरु टाँट पल्टिएर भाग्नुको विकल्प छैन नेपालमा । छिमेकी भारत, चीन वा धेरै देशमा उद्योग लगाउन सरकारले जमिन निःशुल्क दिन्छ । ढल, पानी, बिजुली, बाटो सबै सरकारले प्रबन्ध गरिदिन्छ । उद्योग खोल्न निवेदन गरेको ३ घण्टामा सरकारले सबै अनुमतिहरु दिन्छ भारत सरकारले । हामीले मेडिकल कलेज खोल्न काम थालेको २० वर्ष भयो । तर, सफल भएनौ । बरु टाँट पल्टिएर भाग्नुपर्ने अवस्था सिर्जना भएको छ । म पनि प्रदेशसभामा निर्वाचित सांसद पनि भएँ । प्रदेश मन्त्री पनि भएँ । नेकोमा राजेन्द्रप्रसाद पाण्डे, डा. बंशीधर मिश्र जस्ता राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ । यस्ता व्यक्तिहरु संलग्न संस्थालाई काम गर्न यति गाह्रो छ भने नेपालमा सामान्य मान्छेले कसरी व्यवसाय गर्न सक्छ ? विषय परिस्थितिहरु निकै गम्भीर छन् । ‘मर्नुभन्दा बौलाउनु बेस्’ भन्दै हामी सर्वोच्च अदालत गयौं । वि.सं २०७५ सालमा हो हामीले सर्वोच्चमा मुद्दा हालेको । अहिलेसम्म फैसला भएको छैन । हालै मात्र दुर्गा प्रसाईंको बीएण्डसीले अनुमति पाएको छ, सर्वोच्च अदालतकै फैसाला र परमादेशअनुसार । पहिलाको कानुन अनुसार एलओआई पाएको हुनाले नयाँ कानुन बनाएर त्यसलाई रोक्न मिल्दैन भन्ने सर्वोच्चमा फैसलामा उल्लेख छ । १५ दिनभित्र सम्बन्धन दिन र विद्यार्थी भर्ना गर्न दिनु भनेर परमादेश नै जारी भएको छ । त्यसआधारमा मनमोहन मेमोरियल हस्पिटलले पनि मेडिकल कलेजको सम्बन्धन पाउनुपर्छ भन्ने हाम्रो माग छ । अदालतमा बहस यो पनि भएको छ बिएण्डसी त राजधानी बाहिर भएकोले सम्बन्धन पायो । मनमोहन त काठमाडौंभित्र हो । यसमा हामीले भनेका छौं- कानुनमा दुइटा विषय छन् । पहिलो, काठमाडौंमा १० वर्षसम्म लाइसेन्स नदिने । दोस्रो, एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नमिल्ने । बिएण्डसीले छैटौं नम्बरमा सम्बन्धन पाउन मिल्ने, हामीले काठमाडौंमा लाइसेन्स नपाउने ? बिएण्डसीको हकमा कानुन उल्लंघन गर्न पाइने, मनमोहनको हकमा नपाइने ? कानुनको एउटा उल्लंघन र दुइटा उल्लंघन बराबर होइन ? हामी ८/९ जना यति पीडामा छौं कि अब हामी पत्रकार सम्मेलन गरेर भन्न मात्र बाँकी छ कि अदालतले ‘यति दिनभित्र फैसला गर्दैन भने हामी ८/९ जनाले आफूलाई सर्बोच्च अदालत भित्रै आगो लगाउने छौं ।’ हामी डुब्यौं, अहिले नेकोको कर्जा ३ अर्ब २५ करोड रुपैयाँ भएको छ । १ अर्ब १७ करोड कर्जाको ब्याज तीन महिनामा खापिँदै ३ अर्ब २५ करोड भयो । दिनको ८ लाख रुपैयाँ ब्याज खर्च हुन्छ । ८ महिना भयो हस्पिटलका कर्मचारीले तलब नपाएको । अस्पताल चलाउन यसका मुख्य व्यक्तिहरुले निजी घर सहकारीमा धितो राखेर, ऋण लिएर पैसा जुटाउँदै आएका छौं । हामी ८/९ जना यति पीडामा छौं कि अब हामी पत्रकार सम्मेलन गरेर भन्न मात्र बाँकी छ कि अदालतले ‘यति दिनभित्र फैसला गर्दैन भने हामी ८/९ जनाले आफूलाई सर्बोच्च अदालत भित्रै आगो लगाउने छौं ।’ अपराधीहरुको देशमा यो भन्दा अर्को विकल्प हामीसँग छैन अब । विकासन्युजमा नेकोका २८ जनाले ५ करोड १० लाख भन्दा बढी पेस्की लिएको समाचार आयो । त्यसमा मेरो नाममा पनि ४४ लाख ३० हजार रुपैयाँ पेस्की लेखिएको छ । कसरी त्यस्तो भयो, तपाईंलाई म भन्छु । हस्पिटल अगाडि, हाइटेन्सनमुनिको जग्गामा पार्किङ गरिरहेका थियो । जग्गाधनीले यहाँ पार्किङ दिन्न भन्यो । ८ वर्षअघि जग्गा सस्तो थियो । त्यो जग्गा किन्न १ करोड २५ लाख बैना दियौं । त्यो पैसा राजेन्द्र पाण्डे, जीवन प्रकाश शर्मा, रामकुमार अधिकारी, बंशीधर मिश्र लगायतको नाममा अलिअलि लेख्यौं । जीवनपुर र छत्रे देउरालीमा जग्गा किन्दा त्यसरी नै पेस्की लियौं । राजधानीमा १०० रोपनी जग्गा पुर्याउनु पर्ने, १० रोपनी कम भयो, हामीले दुई जना साथीहरुको नाममा ९ रोपनी १२ आना जमिन रहेछ, मूल्य करिब ३ करोड तय भयो, नेकोको नाममा जग्गा ल्यायौं । तर, सबै पैसा तिर्न सकिएन । फेरी १०० रोपनी हुन ४ आना पुगेन, दुबईमा रहेका बोध कुमारको ४ आना जग्गा लियौं । उसलाई पनि पैसा दिन सकिएको छैन । उसले नेकोको गत साधारणसभामा नै भन्यो– ‘म मर्दैछु तर सञ्चालकहरुलाई जिउँदो राख्दिनँ ।’ यस्ता समस्या कति छन् कति । हामीले सीटीईभीटी र विश्वविद्यालय दुवैका कार्यक्रम चलाइरहेका थियौं । पछि एउटै संस्थाले विश्वविद्यालय र सीटीईभीटीका कार्यक्रम चलाउन मिल्दैन, दुईमध्ये एक रोज्नुपर्छ भन्ने नियम आयो । हामीले दुवै कार्यक्रम बचाउने निर्णय गर्यो। नेकोको नाममा एउटा चलाउने, नेकोका विश्वासिला पात्रहरुको नाममा नयाँ कम्पनी खोलेर अर्को कार्यक्रम सञ्चालन गर्ने । ‘यो कम्पनी मेरो नाममा भए पनि सबै लगानी नेकोको हो, यसमा मेरो कुनै दाबी हुने छैन’ भनेर वकिल राखेर, लिखत गरेर, कुनै विवाद नहुने गरी नेकोका विश्वाशिला व्यक्तिहरुको नाममा कम्पनी खोलेर सञ्चालन गरेका छौं । यसरी हामीले दुवै कार्यक्रम सञ्चालन गर्दै आएका छौं । ती सबै विषय नेकोको वार्षिक प्रतिवेदनमा उल्लेख नै छ । नेपाल सरकारको उपसचिव सरहको जागिर छोडेर यस संस्थामा काम गर्न थालेको २० वर्ष भयो । ४ वर्षसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निःशुल्क पूरा गरें । सबै बेदना सुनाउने हो भने जो कोहीको आँखाबाट आसुँ आउँछ । मैले मेरो सम्पूर्ण पेस्की फछ्र्यौंट गरी पाउँ भनेर ८ महिनाअघि निवेदन दिएको छु । दिनुपर्ने भए घर बेचेर दिन्छु, लिनुपर्ने भए लिन्छु भनेर माग गरेको छु । हिसाब किताब हेर्नेहरुले मलाई भनेका छन् कि–तपाईंले ७२ लाख रुपैयाँ पाउनु हुन्छ, सबै कटाएर । ७२ लाख रुपैयाँ पाउनु पर्नेले ४४ लाख रुपैयाँ खायो भनेर समाचार आउँदा बहुत चित्त दुःखेको छ । मेरो छोरो यूरोलोजिष्ट छ । अर्गान ट्रान्सप्लान्टेशन भक्तपुरमा काम गर्छ । किड्नी फेर्नी, लिभर फेर्नी नेपालमा टप ३/४ जना डाक्टर मध्येमा मेरो छोरो पनि पर्छ । उसले भनिरहेको छ कि कहीँ तिर्नुपर्ने बाँकी छ भने घर बेचेर तिरौं, केही समय डेरा गरेर बसौं । बदनाम नहौं भनेको छ । मेरो परिवारलाई पनि पीडा भएको छ । अपराधीहरुको देश विकासन्युजमा जे समाचार आयो त्यसको दूरगामी प्रभाव पर्ने देखियो । यसको प्रभाव अदालतमा पनि पर्ने देखियो । यो अपराधीहरु बसेको देशमा कसरी बस्ने ? म मेडिकल डाक्टर, पब्लिक हेल्थको एक्स्पर्ट हुँ । मसँग सहकारी कानुनका धेरै ज्ञान भएन । तर खराब नियत राखेर सहकारी खोलेका, चलाएका छैनौं । सञ्चालनका क्रममा गल्ती कमजोरी भएका पनि छन् । जतिबेला हामी दुइटा ठूला भवन बनाउन जुट्यौ, त्यतिबेला धेरै इट्टा चाहिने भयो । सेयर लगानी नै हुँदा सस्तो पर्छ भनेर शुभ उत्तम ईट्टा उद्योगमा १० लाख लगानी गर्यौं । तर, थोरै उत्पादन गर्ने र ढिला गर्ने भएकोले त्यसबाट खासै लाभ भएन । १३ रोपनी जग्गा भएको माथिल्लो थोपलमा जम्मा एक लाख हालेको हो । १ लाख हालेर मेडिकल कलेज खोल्नको लागि १३ रोपनी जग्गा देखाउन मिल्ने अवस्थामा हामीले त्यसरी लगानी गरेका हौं । महायज्ञ लगाइयो । पैसा जम्मा भयो । तत्काल अस्पताल बनाउने तयारी पुगेको थिएन । त्यतिबेला १ करोड २० लाख चम्पादेवीमा लगानी गरियो । यस्ता विभिन्न १० कम्पनीमा भएका लगानीबारे विकासन्युजमा समाचार आयो । कुनै पनि कम्पनीमा खराब नियतका साथ लगानी भएको छैन । कतिपय अवस्थामा नियम, विधिमा सबै नमिलेको पनि हुन सक्छ । तर कहीँ कतै एक रुपैयाँ पनि घोटला भएको छैन । यदि कहीँ कतै घोटला देखियो भने म भुण्डिएर मर्न तयार छु । (नेकपा एसका वरिष्ठ उपाध्यक्ष पाण्डे सहकारी ठगीमा मुछिए, पदाधिकारी मिलेर करोडौं रकम निजी कम्पनीमा शिर्षकमा विकासन्युजमा समाचार प्रकाशित भएपछि डा. अधिकारीले विकासन्युजसँग राखेको धारणा)
बाढीले अवरुद्ध स्याफ्रुबेंसी-रसुवागढी सडक दुई सातापछि एकतर्फी सञ्चालनमा
काठमाडों । भोटेकोशीको सहायक नदी ल्हेन्दे खोलामा आएको बाढीले करिब दुई सातादेखि अवरुद्ध स्याफ्रुबेंसी-रसुवागढी सडकखण्ड आइतबारदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । असार २४ गते राति आएको बाढीपहिरोले सडक बगाउँदा टिमुरे र रसुवागढी नाकासँगको सम्पर्क विच्छेद भएको थियो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाअन्तर्गत पर्ने उक्त खण्ड आइतबार अपराह्न ४ बजेदेखि अस्थायी रूपमा खोलिएको हो । सडक खुलेपछि साना तथा यात्रुवाहक सवारीसाधन चल्न थालेका छन् भने टिमुरे र रसुवागढीमा रोकिएका खाद्यान्नलगायत सामग्रीको आपूर्ति पुनः सुरु भएको छ । यद्यपि, भारी सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । वर्षा जारी रहेकाले सम्भावित जोखिमका कारण रात्रिकालीन समयमा पनि सवारी चलाउन निषेध गरिएकोप्रमुख जिल्ल अधिकारी पौडेलले जानकारी दिए । बाढीपहिरोले यस सडकखण्डको करिब १२ सय मिटर सडकमा क्षति पुर्याएको थियो । सडक विभाग र विभिन्न जलविद्युत् आयोजनाको सहकार्यमा असार २६ गतेदेखि मर्मत र नयाँ ट्र्याक खोल्ने काम थालिएको थियो । सबैभन्दा बढी क्षति भएको लिङलिङ भीरमा पहिरोले बगाएको १ सय २० मिटर सडक, चट्टानी भीर काटेर नयाँ ट्र्याक खोलेपछि सडक सञ्चालनमा आएको हो । सडक खुलाउन सडक विभागका साथै लाङटाङ भोटेकोशी, रसुवागढी र लाङटाङ जलविद्युत् आयोजनाका जेसिबी, एक्स्काभेटर, ब्रेकरजस्ता भारी उपकरण प्रयोग गरिएको थियो ।
गायिका चन्द्रकला शाह र संगीतकार शीला बहादुर मोक्तान सम्मानित
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा आयोजित 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' यही २०८२ साउन ३ गते कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको छ । सो कार्यक्रममा गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ वरिष्ठ संगीतकार शीला बहादुर मोक्तानलाई जनही नगद १० हजार रुपैयाँ सहित सम्मानित गरिएको हो । त्यसैगरी, ‘सुशिला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई मरणोपरान्त प्रदान गरिएको छ। उक्त सम्मान उनकी धर्मपत्नी यूगज्योति क्रियाशिलले ग्रहण गरिन् । २५ हजार रुपैयाँ राशिको यो सम्मान संगीत क्षेत्रमा क्रियाशील कलाकारहरूको स्वास्थ्योपचारमा सहयोग पुर्याउँदै आएको छ । सम्मान हस्तान्तरण कार्यक्रम भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा सम्पन्न गरेका थिए । भक्तराज आचार्य संगीत प्रतिष्ठानले नेपाली संगीत तथा कला क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ भने सिटी एक्सप्रेस मनि ट्रान्सफरले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १८ वर्षदेखि विश्वभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । हालै कम्पनीले डिजिटल कारोबार सशक्त बनाउन सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । यस सेवाबाट सिधै रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।
गोल्ड स्टार लगाउनेलाई गोली हानिन्थ्यो, अहिले यो राष्ट्रिय गौरवको ब्रान्ड बनेको छ : वर्षमान
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आफ्नो दलले राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् । गोल्ड स्टार जुत्ता उत्पादक कम्पनी ‘किरण शू’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध मजदुर संगठनको स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले सत्तापक्ष वा प्रतिपक्षको भूमिकामा रहँदा राष्ट्रिय पुँजीपति वर्गप्रति आफूहरूको दृष्टिकोण समान रहेको बताए । ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने हाम्रो खुला नीति छ,’ पुनले भने, ‘देशभित्रै लगानी गरेर रोजगारी सिर्जना गर्ने, मुलुकको आर्थिक विकासमा योगदान दिनेहरूलाई हामी प्रगतिशील–राष्ट्रवादी उद्योगी व्यवसायीका रूपमा लिन्छौं ।’ त्यस्ता उद्यमी व्यवसायीलाई राष्ट्रिय रूपमा स्थापित गर्ने दिशामा आफूहरू सधैं लागिपर्ने उनको प्रतिबद्धता थियो । पुनले श्रमिकबाट धेरै काम लिएर मुनाफा आर्जन गर्न खोज्ने उद्यमी व्यवसायीको प्रवृत्ति र श्रमको मूल्य बढी लिन खोज्ने श्रमिकको प्रवृत्ति दुवै हुने बताए । जीवन चलाउन श्रम बेच्नुपर्ने बाध्यतामा श्रमिक र उद्यम सञ्चालन गर्न श्रम किन्नैपर्ने उद्यमीको बाध्यता नै दुई पक्षको मिलनबिन्दु भएको उनको भनाइ थियो । ‘श्रमिकले श्रमको बढी मूल्य खोज्छ, उद्यमीले बढी नाफा खोज्छ। उद्यम पनि चल्नुपर्छ, श्रमिकले पनि बाँच्न सक्ने गरी श्रमको मूल्य पाउनुपर्छ । श्रमिकले संघर्ष गर्दा व्यवसाय नै बन्द हुने गरी गर्नुहुँदैन, व्यवसायीले श्रमिक मार्ने गरी शोषण गर्नुहुँदैन,’ पुनले भने, ‘बाँच्नका लागि श्रम बेच्नैपर्ने श्रमिकको बाध्यता र आफ्नो उद्यम चलाउन श्रम किन्नैपर्ने उद्यमीको बाध्यता नै उनीहरूबीचको ‘मिटिङ प्वाइन्ट’ हो । श्रम किन्ने र बेच्ने दुवैले एकअर्काप्रति न्यायोचित भएर सोच्नुपर्छ ।’ उद्योगीको पुँजी, जमिन, मेसिन र श्रमिकको श्रम मिलेपछि मात्र वस्तु उत्पादन भएर बजारमा जाने भएकाले दुई पक्षबीच अस्वस्थ द्वन्द्व भए उद्योग नै नचल्ने र दुवै पक्षले हार्ने उनको तर्क थियो । उनले राष्ट्रिय पुँजीपतिहरूलाई प्रवर्द्धन गर्ने पार्टीको नीति रहेकाले पार्टीनिकट मजदुर संगठनलाई पनि सोही नीति अनुसरण गर्न अपिल गरे । साथै, उद्यमी व्यवसायीलाई पनि श्रमको उचित मूल्य दिन आग्रह गरे । पुनले क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा समेत बलियो उपस्थिति जनाएको गोल्ड स्टार जुत्ता मुलुककै गर्व गर्नलायक उत्पादन भएको बताए । आफूहरूले जनयुद्धको समयमा गोल्ड स्टार जुत्ताको अधिक प्रयोग गरेको स्मरणसमेत पुनले गरे । सोही कारण राज्य सञ्चालकहरूले गोल्ड स्टारको उत्पादन, बिक्री–वितरण गर्नेहरूदेखि प्रयोगकर्तासम्मलाई समेत दुःख दिएको उनले बताए । ‘राज्य वा प्रहरी प्रशासनले गोल्ड स्टार जुत्ता लगाएको मानिस माओवादी हो भन्ने ठान्थ्यो, देख्नेबित्तिकै गोली चलाउन भनिन्थ्यो । त्यसका कारण कतिपय स्थानमा घटना पनि भएका छन् । गोल्ड स्टार जुत्ता गाउँ जान नदिने, कतिपय अवस्थामा सप्लाई र बिक्री गर्ने मान्छेलाई पनि पक्राउ गरेको घटना छ,’ पुनले भने । गत वर्ष भारतमा मात्र १ अर्ब ६० करोड रुपैयाँ बराबरको गोल्ड स्टार जुत्ता निर्यात भएको भन्दै उनले व्यवस्थापनको प्रशंसा गरे । ‘हामी धेरैजसो विदेशी सामान किन्छौं । विदेशमा निर्यात गर्ने हामीसँग कमै उत्पादन छन्। गोल्ड स्टारले भारत, अमेरिका र युरोपका बजारमा आफ्नो स्थान बनाउनु गौरवको कुरा हो,’ पुनले भने, ‘गोल्ड स्टार नेपालको राष्ट्रिय ब्रान्ड हो । हामी सबै चिज किन्छौं, तर विदेशमा जाँदा हामीले बेच्ने चिज पनि छ है भन्ने गौरव गोल्ड स्टार भएको छ। झट्ट हेर्दा व्यापार हो, तर यसमा हाम्रो राष्ट्रिय पहिचान पनि हुँदो रहेछ । भारत, अमेरिका वा युरोपको बजारमा गएर गोल्ड स्टार किन्दा गर्व हुन्छ, किनकि त्यसमा ‘मेड इन नेपाल’ लेखिएको हुन्छ ।’
२५० विद्यार्थीलाई लक्षित सडक सुरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सडक सुरक्षा र ट्राफिक सचेतनामाथि केन्द्रित एक जनचेतनामूलक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । बुधबार रोटरी क्लब अफ बानेश्वरको आयोजनामा तथा रोट्र्याक्ट क्लब अफ बानेश्वर, रोट्र्याक्ट क्लब अफ बानेश्वर रोयल र इन्टरेक्ट क्लब अफ चेल्सी इन्टरनेशनल एकेडेमीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । बिहीबार सामाखुसीस्थित रेडन कलेज एण्ड स्कूलको सभाहलमा आयोजित कार्यक्रमको उद्देश्य विद्यालय तहका विद्यार्थीहरूमा सडक सुरक्षा र ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरका नगर प्रहरी प्रमुख तथा पूर्व ट्राफिक प्रहरी प्रमुख सिताराम हत्तेछुले करिब २५० जना कक्षा १० र १२ का विद्यार्थी तथा ५ जना शिक्षक–स्टाफहरूलाई लक्षित गर्दै ४० मिनेट लामो भिडियो प्रस्तुति दिएका थिए । ट्राफिक नियम उल्लङ्घनका सम्भावित खतराहरू र सडक सुरक्षाको महत्त्वबारे उनले जीवन्त उदाहरणसहित जानकारी दिएका थिए । उनले व्यक्तिगत अनुभवहरू समेत सेयर गर्दै विद्यार्थीहरूसँग छलफल गरेका थिए । कार्यक्रमको उद्घाटन रोटरी क्लब अफ बानेश्वरका उपाध्यक्ष रोटे पुष्पराम के।सीले स्वागत मन्तव्यसहित प्रमुख अतिथिको परिचय गराएका थिए । रोटरी रोड सेफ्टी कमिटीका संयोजक रोटे। नुगल वैद्यको उपस्थिति कार्यक्रमप्रति थप उत्साहजनक बनाएको थियो। उनले विद्यार्थी तथा शिक्षकहरूलाई ट्राफिक सुरक्षा सन्देशसहितका स्टिकरहरू वितरण गरेका थिए। जसले दैनिक ट्राफिक सचेतनामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा ४ जना रोटेरियन, १ जना जिल्ला प्रतिनिधि, ३ जना रोट्रयाक्टर तथा ८ जना इन्टरेक्टरहरूको सहभागिता रहेको आयोजकहरूले जानकारी दीएका छन् । कार्यक्रमको समापनमा रोट्रयाक्टर सन्देश तुलाधरले सबै अतिथि, सहभागी, आयोजक तथा सहकार्यकर्ता क्लबहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । साथै, आयोजक संस्थाहरूले यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
साढे २१ अर्बको कारोबार, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.३२ अंकले बढेर २८७० बिन्दुमा पुगेको छ । आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४४ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार कारोबार रकम भने बढेको छ । ३१६ कम्पनीको ५ करोड कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ६४ करोड, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड, न्यादी गुप्रको ५० करोड र सानिमा माइ हाइड्रोको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह १.३८, विकास बैंक ०.०८, वित्त २.२६, जलविद्युत् ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त ०.०२ र व्यापार ०.५० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन समूह १.२४, जीवन बीमा १.४०, म्युचुअल फन्ड ०.२५, निर्जीवन बीमा १.३७ र अन्य समूह ३.३६ प्रतिशतले बढेको छ । आज ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । उन्नती सहकार्य लघुवित्त र सानभी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ट्रेड टावर र शिभा श्री हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।