विकासन्युज

चार दिनसम्म चलेको सफ्टवारिका कलेजको प्रविधि महोत्सवमा १० हजारभन्दा बढी भए सहभागी

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेक एक्सस् एलिभेट २०२५’ नामक चारदिने प्रविधि महोत्सव उत्साहजनक रूपमा सम्पन्न भएको छ । असार ३२ देखि श्रावण ३ गतेसम्म सञ्चालित उक्त कार्यक्रमले प्रविधि, उद्यमशीलता र प्रेरणालाई एउटै मञ्चमा समेट्दै युवा पुस्तालाई नवीन सोच र आत्मविश्वासको सन्देश दिएको छ । करीब १० हजारभन्दा बढी आगन्तुकहरूको सहभागिता रहेको महोत्सवमा ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी चर्चित कन्टेन्ट क्रिएटरहरूसँगको प्रत्यक्ष संवादले वातावरणलाई जटिल नभई जिज्ञासुपूर्ण बनायो । कार्यक्रममा विद्यार्थीहरूले विकास गरेका २० भन्दा बढी प्रविधिमूलक प्रोजेक्टहरू जस्तै ‘करुणा’, ‘मिरा’, ‘स्टडीसेन्स’, ‘तोमात्रों’, ‘फिसअवेर’, ‘फ्लिप आरएफआईडी’, ‘केम्ल्याब भीआर’ आदिले दर्शकहरूको ध्यान खिचे। ती इनोभेसनहरूले शिक्षा, कृषि, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा प्रविधिको सम्भावनालाई उजागर गरे। आन्त्रप्रेनरशिप मास्टरक्लास सत्रमा नारायण कोईराला, डा. मनीष थापा र निरञ्जन खडेलजस्ता विशेषज्ञहरूले अनुभव साटे । २५ भन्दा बढी स्टार्टअप आइडिया पिच गरिएका भीसी सत्रमा ७ भन्दा बढीमा लगानीकर्ताहरूले चासो देखाएका थिए । कलेजले उत्कृष्ट स्टार्टअपहरूलाई लक्षित गर्दै १ करोड रुपैयाँ लगानी गर्ने घोषणा समेत गर्‍यो । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललगायत प्रेरक व्यक्तित्वहरूले ‘इन्स्पायर टक’ सत्रमा इमान, अनुशासन र राष्ट्रप्रेमबारे विचार राखे । जब फेयरमा ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रह्यो, जसमा ५०० भन्दा बढी सहभागीले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्शका अवसर पाए । ‘आइरन क्लाश’ नामक रोबोट युद्ध प्रतियोगिता कार्यक्रमको विशेष आकर्षण बन्यो। विद्यार्थीहरूले दुई वर्षदेखि निर्माण गरेका रोबोटहरूको रोमाञ्चक भिडन्तमा विजेता समूहलाई ३ लाख बराबरको पुरस्कार प्रदान गरियो । १५ भन्दा बढी चर्चित डिजिटल इन्फ्लुएन्सरहरूको सहभागिताले युवामाझ डिजिटल सम्भावनाबारे नयाँ सोचको ढोका खोल्यो । सविन कार्की (बिस्ट), राहुल खड्गी, सिद्धार्थ घिमिरे (टेक), सजिना खनाललगायतले सामाजिक सञ्जालमा सकारात्मक प्रभावको सम्भावनाबारे चर्चा गरे । कार्यक्रमको समापन समारोहमा आयोजक संस्थाले ‘टेक एक्सस् एलिभेट’ केवल प्रविधिको प्रदर्शनी नभई शिक्षा, नवप्रवर्तन र प्रेरणाको संगम भएको स्पष्ट गर्‍यो । कलेजले नेपाली युवालाई विश्वस्तरीय प्रविधि सीप, सोच र आत्मविश्वास प्रदान गर्दै ग्लोबल प्रतिस्पर्धाका लागि तयार पार्ने प्रतिबद्धता दोहोर्‍यायो । चार दिनको कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ । अब प्रविधिको यात्रा नेपाली युवाहरूको हातमा सुरक्षित छ, र उनीहरू आत्मविश्वासका साथ भविष्यको नेतृत्व गर्न तयार छन् ।

एक वर्षमा ३७ हजार विदेशी पर्यटक मनाङ पुगे, सबैभन्दा धेरै इजरायली

मनाङ । हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य छ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन भएको छ । उक्त इलाकाअन्तर्गत धारापानी पर्यटक चेकपोष्टको तथ्याङ्कअनुसार तीमध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका दुई हजार ५५४ र अन्य राष्ट्रका ३५ हजार १७८ पर्यटकले मनाङ भ्रमण गरेको कार्यालयका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ मा १३४ देशका पर्यटकले मनाङ भ्रमण गरेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा सबैभन्दा बढी इजरायलका चार हजार ३५८ नागरिकले मनाङ भ्रमण गरेका भुजेलले बताए । फ्रान्सका तीन हजार ६१६ र जर्मनीका दुई हजार ८४२ नागरिकले भ्रमण गरेका छन् । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १० राष्ट्रका पर्यटकको आगमन वृद्धि भएको उनले बताए । आर्थिक वर्ष २०८०/८१ मा १२४ राष्ट्रका २२ हजार ३७१ पर्यटकले मनाङ भ्रमण गरेका थिए । उक्त वर्ष फ्रान्सका नागरिक सबैभन्दा बढी आएको तथ्याङ्कमा उल्लेख छ । यस वर्षमा इजरायली नागरिकको सङ्ख्या अधिक रहेको उनको भनाइ छ । उनले भने, ‘यहाँ आउने पर्यटकको आगमन बढ्ने क्रममा छ । यहाँका स्थानीय कृषि र पर्यटन व्यवसायमा निर्भर छन् । पर्यटकको आगमनले यहाँको आर्थिक स्तर वृद्धि हुनाका साथै राष्ट्रकै अर्थतन्त्रमा सुधार गरिरहेको छ ।’ विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण पदमार्ग मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको छ । उनले भने, ‘अन्य देशबाट पर्यटक आउने भए पनि इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक बढी आउने गरेका छन् । सङ्ख्याका आधारमा यी राष्ट्रबाट धेरै हुन् । अमेरिका, चीन, रसिया, भारतीय पर्यटक आउने क्रम बढ्दै गएको तथ्याङ्क हामीमा दर्ता भएका छन् ।’ मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय मनाङका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए । उनले भने, ‘तीन/चार दिन लगातार बिदा परेको बेलामा मनाङमा आन्तरिक पर्यटकको आगमन बढी भएको पाएका छौँ । भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बिस्तारै बढ्दै गएको छ । विशेषगरी हाल मनाङ भ्रमणका लागि आन्तरिक पर्यटकको रोजाइ बनेको छ ।’ आन्तरिक पर्यटकको भने अभिलेख राखिँदैन । तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उनको भनाइ छ । मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए । लगातार बिदा भएको समयमा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका पाइएको उनले बताए । दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरूआत गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन् ।

किशोरीबाट जबरजस्ती डिम्ब संकलन प्रकरण : अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयको समिति गठन

काठमाडौं । काठमाडौंमा सञ्चालन रहेको फर्टिलिटी सेन्टरले किशोरीबाट अवैध रुपमा डिम्ब लिइरहेको फेला परेपछि स्वास्थ्य मन्त्रालयले छानबिनमा चासो देखाएको छ । निसन्तान उपचार केन्द्रका नाममा खोलिएका इनभिट्रो फर्टिलाइजेशन सेन्टरका विषयमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा.ज्वला थापाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ ।  जसमा डा. सुनिता लम्साल र कानुन अधिकृत शुरेस चौलागाइ सदस्य रहेका छन् । यो समितिले यस विषयमा अनुसन्धान गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बबरमहलमा रहेको होप फर्टिलिटी डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनकले किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब लिइरहेको कुरा बाहिर आएपछि मन्त्रालयले यो विषयमा छानबिन गर्न समिती बनाएको हो । होप फर्टिलिटीले किशोरीलाई १० हजार रुपैयाँ दिएर डिम्ब लिएको र १९ लाखमा किनबेच गर्ने गरेको उजुरी परेपछि सिआइबीले सञ्चालक सहित ५ जना चिकित्सक र कर्मचारीलाई फक्राउ गरेको थियो । अदालतले थुनमा नराखेर अनुसन्धान अगाडि बढाउन भनेपछि केन्द्रिय अनुसन्धान ब्युरोले उनीहरूलाई जमानतमा छोडेको थियो ।  मन्त्रालयले एन्जल फर्टिलिटी क्लिनिकमाथि पनि गुनासो आएको भन्दै त्यसको पनि छानविन गर्ने जनाएको छ । समितिले पाँच दिन भित्र यो विषयमा अनुसन्धान गरेर प्रतिबेदन बुझाइसक्नुपर्ने छ । सिआइबीले पनि यो विषयमा आफ्ने अनुसन्धान जारी रहेको जनाएको छ । ब्युरोका अनुसार होप फर्टिलिटीले १८ वर्ष मुनिका  किशोरीलाई १० देखि १५ हजार दिएर इन्जेक्सन मार्फत डिम्ब निकाल्ने गरेको पाइएको बताएको छ ।  

अब बालुवाटार र नक्सालमा पनि मेलम्चीको खानेपानी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, नक्साल, भाटभाटेनी पूर्वलगायत क्षेत्रमा मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवका अनुसार खानीपानी पठाउनका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेकाले अब चाँडै सो क्षेत्रमा मेलम्चीको खानेपानी पुग्नेछ । खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा आज बालुवाटार क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतको ‘पाइपलाइन’ बिछ्याइएको क्षेत्रमा अनुगमन तथा निरीक्षणपछि उनले पाइपलाइन बिछ्याउने कार्य सफल भएकाले चाँडै मेलम्चीको खानेपानी वितरण गरिने बताए । मन्त्री यादवले भने, 'बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिछ्याइएको प्राइमरी पाइपलाइन सफलतापूर्वक सम्पन्न गरिएको छ । अब चाँडै मेलम्चीको खानेपानी वितरण गर्छौं । हाल पाइपलाइनको दबाब परीक्षण ‘प्रेसर टेस्ट’ को तयारी तथा कार्यसम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि  बालुवाटार, नक्साल (भाटभटेनी पूर्व), टुडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरू गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए । उनका अनुसार पानी वितरणपश्चात् उक्त क्षेत्रका करिब तीन हजार ५०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । काठमाडौं उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्यअनुरूप उक्त पाइपलाइन बिछ्याउने कार्य निर्माण गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना प्रबन्धक अमित रञ्जितले जानकारी दिए ।  

न धेरै पैसा, न साझेदारी : रिलायन्स इन्डस्ट्रीज एक्लै किन अघि बढ्न खोज्दैछ ?

काठमाडौं । क्विक कमर्स बजारमा तीव्र रूपमा विस्तार भइरहँदा मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रीजले भने निकै सावधानीपूर्वक पाइँला चालिरहेको छ । कम्पनीले यो क्षेत्रमा धेरै पैसा नलगाई र कुनै साझेदारी नगरी आफ्नै नेटवर्क निर्माणमा केन्द्रित हुने रणनीति अगाडि सारेकाे छ ।  कम्पनीका अनुसार हालको बजार विश्लेषणबाट देखिएको छ कि क्विक कमर्समा सक्रिय केही कम्पनीहरूको खरिद आर्थिक रूपमा लाभदायक नदेखिएकाले रिलायन्सले आत्मनिर्भर योजना रोजेको हो । भारतीय इकोनॉमिक टाइम्सका अनुसार रिलायन्स रिटेलका मुख्य वित्त अधिकृत दिनेश तालुजाले एक बैठकमा भने, 'हामी कुनै पनि यस्तो अवसर छुटाउन चाहँदैनौं, जहाँ हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । अर्ग्यानिक (प्राकृतिक) वृद्धि र इनअर्ग्यानिक (कम्पनी खरिद) विस्तारबारे चाखलाग्दो बहस छ । तर अरू कम्पनीलाई आफ्नै नेटवर्कमा समाहित गर्नु चुनौतीपूर्ण हुन्छ । त्यसैले हामी आफ्नै बलियो नेटवर्क निर्माणमा केन्द्रित छौं, र हामीसँग पहिलेबाटै ठूलो ग्राहक समूह पनि छ ।' तालुजाका अनुसार, रिलायन्सले ‘डार्क स्टोर’ भनिने विशेष गोदामहरू स्थापना गरिरहेको छ, जुन स्थानहरूमा माग उच्च छ तर हालको स्टोर सञ्जालले पर्याप्त सेवा दिन सक्दैन, वा जहाँ कम्पनीको उपस्थिति अझै पुगेको छैन । उनले भने, 'यो रणनीति हाम्रो लागि लाभदायक छ, किनकि हामी पहिले नै भएका पूर्वाधारहरूलाई सदुपयोग गर्न सक्छौं । हाम्रा अधिकांश डार्क स्टोरहरू पहिलो दिनदेखि नै नाफामा चलिरहेका छन् ।' भारतमा ई-कमर्स बिक्रीमा क्विक कमर्सको योगदान वर्षेनी दोब्बर दरमा बढिरहेको छ, यद्यपि यसको बजार हिस्सा अहिले पनि ३.६ प्रतिशत सीमामा सीमित छ । सुरुमा किराना वा दैनिकीका उपभोग्य सामग्रीमा केन्द्रित यो च्यानल अहिले प्रिमियम उत्पादनहरूसमेत समेट्दै तीव्र गतिमा फैलिएको छ । हालैको अध्ययनअनुसार, भारतको क्विक कमर्स बजार लगभग १० अर्ब अमेरिकी डलरसम्म पुगेको छ, जसमा झन्डै ३० मिलियन ग्राहक मासिक रूपमा किनमेल गर्छन् । यद्यपि, यसको झन्डै ८० प्रतिशत कारोबार अझै महानगरहरूमा सीमित छ, र साना शहरतिर मुनाफासहितको विस्तार अझै चुनौतीपूर्ण देखिएको छ । जीयोमार्ट, फ्लिपकार्ट र अमेजनजस्ता ठूला खेलाडीहरूको उपस्थितिपछि पनि ब्लिंकिट, इंस्टामार्ट, जेप्टोजस्ता स्टार्टअपहरू क्विक कमर्सको अगुवा बनेका छन् । यिनको तुलनामा रिलायन्सले साझेदारी वा खरिदको बाटो रोज्ने भन्दा पनि आफ्नो पूर्वाधारमा आधारित अर्ग्यानिक मोडेलमा विश्वास राखिरहेको देखिन्छ । बढ्दो अर्डर र आन्तरिक वृद्धिदर रेडसियरको पछिल्लो रिपोर्टअनुसार, २०२५ को पहिलो पाँच महिनामा भारतको क्विक कमर्स उद्योग १५० प्रतिशतले वृद्धि भएको छ । यसको पछाडि मुख्य कारणहरूमा डार्क स्टोरहरूको वृद्धि, सामानको विविधता र उपलब्धता, र प्रतिस्पर्धात्मक मूल्य छन् । रिलायन्सको हकमा, २०८२ सालको पहिलो त्रैमासमा कम्पनीले दैनिक अर्डर संख्यामा अघिल्लो त्रैमासिकको तुलनामा ६८ प्रतिशत वृद्धि गरेको छ भने गत वर्षको तुलनामा यो दर १७५ प्रतिशत पुगेको जनाएको छ।

वीपी कोइरालाको ४३औँ स्मृति दिवसमा विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । वीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा भोलि बिहान ८ बजे वीपी स्मृति अस्पताल, वसुन्धरामा विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएका छन् ।  नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमहरूको मूल उद्देश्य वीपी कोइरालाको विचार र योगदानको स्मरण गर्नु रहेको वीपी स्मृति अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए । दिवसको मुख्य आकर्षणस्वरूप 'देश विकास र देशवासीको उन्नतिको आधार विपी विचार' विषयक विचार गोष्ठी आयोजना गरिने छ । उक्त गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता रहने अध्यक्ष रायमाझीले जानकारी दिए । यसै अवसरमा, पूर्वअध्यक्ष डा. शेखर कोइरालाले वीपी स्मृति अस्पतालमा फलफूल वितरण कार्यक्रमको उद्घाटन गर्नेछन् । अस्पतालकै आयोजनामा रक्तदान कार्यक्रम पनि तय गरिएको छ, जसको शुभारम्भ महामन्त्री विश्वप्रकाश शर्माले स्वयं रक्तदान गरेर गर्नेछन् । इच्छुक रक्तदाताहरूलाई सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ । स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको समेत आयोजना गरिएको छ । साथै, पूर्वमन्त्री शशांक कोइरालाको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ । वीपी कोइरालाको स्मृतिमा विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत ऐतिहासिक चलचित्र नालापानीको विशेष प्रदर्शनसमेत गरिनेछ । वीपी स्मृति अस्पताल २०६४ साल असोज १३ गते स्थापना भएको हो । स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा केन्द्रित यस संस्थाले सातै प्रदेशका जनतालाई लक्षित गरी सेवा दिँदै आएको छ ।  हाल अस्पतालबाट विशेषज्ञहरूमार्फत विभिन्न रोगको उपचार तथा शल्यक्रियासमेत उपलब्ध गराइँदै आएको छ । स्टाफ नर्स र हेल्थ असिस्टेन्ट तहमा नियमित पढाइ सन्चालनमा रहेको संस्थाले २०६९ सालदेखि वार्षिक ४० जना स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ । अस्पतालले लोपोन्मुख जातजाति, अति गरिब र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ भने अन्य सेवामा पनि १०–२५ प्रतिशतसम्म छुट प्रदान गर्दै आएको छ । हालै मातातीर्थमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । आगामी दिनमा देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्यसहित वीरगञ्जमा सेवा सुरु गर्ने तयारी गरिएको छ ।  

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ औं वार्षिकोत्सव मनाएको छ । 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' भन्ने नारालाई आत्मसात् गर्दै बैंकले आफूलाई विश्वसनीय, उत्तरदायी र प्रविधिमैत्री बैंकिङ सेवाको नमुनाका रूपमा स्थापित गरेको छ । २८ वर्षको दौरानमा ग्राहाकहरुको अगाध स्नेह एवं भरोसा पाएको बैंकले जनाएको छ । नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौँ त्यसको सम्पूर्ण श्रेय ग्राहकहरुलाई नै जाने बैंकले विज्ञप्तीमा उल्लेख गरेको छ । यस्तै आगामी दिनहरुमा पनि अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट बैंकले गरेको छ । डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले बैंक भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखाकार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट लाखौं ग्राहकहरुमाझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखाविस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पुर्‍याउन बैंक सफल भएको विज्ञप्तीमा भनिएको छ ।

म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता

काठमाडौं । म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता छ । याङ्गुन कन्भेन्सन सेन्टरमा चिल्लो विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिएका थिए । चम्किलो ड्यासबोर्डहरू, एआई सुविधाहरू र उत्सुक भीडले सफा अटोमोटिभ भविष्यमा म्यानमारको बढ्दो चासोलाई उजागर गरेको छ । तीन दिने म्यानमार अन्तर्राष्ट्रिय अटो एक्स्पो २०२५ मा ३० भन्दा बढी ब्राण्डहरू रहेका थिए । जसमध्ये धेरैजसो चिनियाँ थिए ।