विकासन्युज

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको एक वर्षको समीक्षा : 'भनेजस्तो सजिलो रहेन काम गर्न'

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्री प्रदीप पौडेलले एक वर्षको कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य पन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले एक वर्षभित्र गरेका काम र प्रयासको विषयमा सार्वजनिक गरेका हुन् । उनले आफुले मन्त्रीको पदबाट गर्न मिल्ने सबै प्रयास गरेपनि कतिपय काम भनेजस्तो गर्न सजिलो नभएको बताए । ‘मैले सक्दो मिहिनेत गरेको छु, यसमा धेरै फल भएको जस्तो पनि लागेको छ, तर भन्नु र काम गर्नुमा निकै गाह्रो हुँदो रहेछ,’ उनले भने । उनले एक वर्षमा आधारभूत अस्पताल संचालनदेखि डेंगु नियन्त्रण तथा नसर्ने रोगको स्क्रिनिंग,एचपीभी खोप अभियान तथा कर्मचारी समायोजन तथा व्यवस्थापनमा थुप्रै काम गरेको दाबी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा पाँच वर्षभित्र १२ हजार जनशक्ति थप गर्ने प्रयास स्वरुप हाल २ हजार १सय जनशक्ति सहितको  संगठन संरचना सुधार गर्न सर्वेक्षण प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्मा समक्ष पेश गर्ने गरी स्वीकृतीको अन्तिम चरणमा रहेको, स्वास्थ्य क्षेत्रलाई निर्देशित गर्ने १० वटा महत्वपूर्ण विधेयक तथा विद्यमान ऐनहरुलाई संशोधन गर्ने गरी विधेयकहरूलाई अघि बढाइएको,रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रतिनिधि सभामा टेबुल गर्न मन्त्रिपरिषद् समक्ष स्वीकृतिका लागि पेश गरिएको,सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन (संशोधन) मन्त्रिपरिषदमा पेश गर्ने अन्तिम तयारीमा रहेको बताए ।  निःशुल्क उपचार तथा औषधि पौडेलले आफ्नो कार्यकालमा निःशुल्क उपचार तथा औषधी वितरण दिन सुरु गरेको विवरण सार्वजनिक गरेका छन् । जस अन्तर्गत कान्ती बाल, भक्तपुर क्यान्सर, पाटन अस्पताल र बी पि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अस्पतालहरुमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार पूर्णतः निःशुल्क गरिएको जानकारी दिए । संघीय अस्पतालहरुमा पक्षघात (स्ट्रोक), हिमोफिलियाको औषधि निःशुल्क उपलब्ध गराइएको छ भने सरकारी अस्पतालहरुमा सिकलसेल एनेमिया तथा थालासेमियाका बिरामीलाई आवश्यक औषधि तथा भ्याक्सिन निःशुल्क गरिएको विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य सूचना र गुनासो सम्बोधन गर्न सुरु गरेको हेल्लो स्वास्थ्य '१११५' ७ हजार बढी गुनासाहरू आएका र यसलाई मन्त्रालयले सम्बोधन गरेको बताए । नयाँ तथा विशिष्टीकृत सेवाहरूको सुरुवात गरेका छन् भने वीर अस्पतालः जलन वार्ड र सर्जिकल आईसीयू सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालः सिटि स्क्यान, रेडियोथेरापी सेवा र बाल क्यान्सर उपचारका लागि अन्कोलोजी वार्ड स्थापना,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानः नशा परीक्षणको अत्याधुनिक सेवा विस्तार,बीपी प्रतिष्ठान, धरानः बर्न वार्ड, अन्कोलोजी वार्ड र मिल्क बैंक सेवा विस्तार गरिएको जानकारी गराए ।  सरकारी अस्पतालको भिड हटाउन चुनौती मन्त्री पौडेलले मन्त्रीको पद सम्हाले यता सबैभन्दा अगाडि सरकारी अस्पतालको भिड नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए । त्यही अनुसार उपत्यकामा बिरामीको भिड लाग्ने अस्पताललाई निर्देशन गरेका थिए । सबै अस्पतालले भिड नियन्त्रणका लागि प्रयास गरेको लिखित जाफसमेत मन्त्री पौडेललाई पठाएका थिए । तर उनले प्रतिबद्धता जनाए जस्तो न भिड नियन्त्रण भयो न त अनलाईनमार्फत टिकट लिने व्यवस्था भयो । यो प्रसंगमा मन्त्री पौडेलले अस्पतालको भिड नियन्त्रण गर्न सबैभन्दा अफ्ठेरो काम भएको बताए । उनले भने, ‘अस्पतालमा बिरामीको भिड नियन्त्रण गर्न अस्पताल नै बढाउनुपर्ने रहेछ, मैले धेरै प्रयास गरेँ सकिएन अब कि अस्पतालको तला थप्नुपर्यो, कि अस्पतालको क्षेत्र बढाउनुपर्यो त्यो भन्दा अर्को विकल्प अर्को देखिएन । उनले सरकारी अस्पतालप्रति सेवाग्राहिको बढी विश्वास भएकाले सरकारी अस्पतालमा बिरामीको भिड बढी हुने बताए । ‘मैले लाइन व्यवस्थापन गर्न नसक्दा आलोचित पनि बन्नुपर्यो उनी भन्छन्,’ ‘भिड नियन्त्रण गर्न नसक्दा काम नै नगरेको जस्तो देखियो होला तर, नीतिगत तहमा थुप्रै काम गरेको छु ।’ यस्तो छ उनले एक वर्षको अवसरमा प्रस्तुत गरेको वक्तव्य  

चरम गर्मी लहरले विश्वव्यापी रूपमा जलवायु सङ्कटको चेतावनी

काठमाडौं । युरोप र मध्यपूर्वले यस हप्ता अत्यन्त भीषण गर्मीको लहरसँग जुझ्दै गर्दा विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी दिइएको छ । भीषण गर्मीको लहरले धेरै देशमा विभिन्न जलवायु सङ्कट सिर्जना गरेको छ ।  राष्ट्रिय मौसम विज्ञान सेवाका अनुसार इरानमा आइतबार तेहरानको तापक्रम ४० डिग्री सेल्सियसमा पुगेको छ र यो वर्षको सबैभन्दा तातो हप्तामा ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चर्को गर्मीको लहर जारी रहँदा राजधानीलाई आपूर्ति गर्ने बाँध भण्डारहरू ‘एक शताब्दीकै सबैभन्दा तल्लो स्तरमा’ पुगेको चेतावनी दिँदै तेहरानको पानी प्राधिकरणले बासिन्दाहरूलाई कम्तीमा २० प्रतिशतले खपत घटाउन आग्रह गरेको छ । तेहरानबाट करिब तीन हजार पाँच सय किलोमिटर पश्चिममा ग्रिसको राजधानी एथेन्सले पनि यस गर्मीको पहिलो लामो गर्मी लहर सहन गरिरहेको छ । उत्तरी अफ्रिकाबाट आउने तातो हावाको मात्रा यस गर्मीको सुरुमै आइपुगेको छ र ग्रिस र बाल्कनमा तातो गुम्बज बनेको छ । यसले तापमानलाई मौसमी मानकभन्दा १० डिग्री सेल्सियस माथि धकेलेको नेसनल अब्र्जरभेटरीले बताएको छ ।  यस हप्ता औसत उच्च तापक्रम ३८ डिग्री सेल्सियस नजिक पुग्ने र केही क्षेत्रमा ४४ डिग्री सेल्सियसमा पुग्ने पूर्वानुमानका साथ ग्रिक दैनिक द नेसनल हेराल्डले अवस्थालाई ‘नरकभन्दा तातो’ भनेर वर्णन गरेको छ । यस्तो सुक्खापन, आँधीसँग मिलेर ग्रीसलाई गम्भीर डढेलोमा पारेको छ । बिहीबार दमकलकर्मीहरूले क्रेट टापुमा डढेलोको सामना गरेका थिए । डढेलोले एक हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गर्न बाध्य पार्दै जङ्गल र जैतुनका बगैँचाहरू जलाएको थियो । यसैबीच, एथेन्स नजिकैको नयाँ आगलागी आवासीय क्षेत्रहरूको नजिक खतरनाक रूपमा फैलिएको छ । अन्यत्र, टर्कीले जुन २६ पछिका १० दिनमा ७६१ वटा डढेलो रेकर्ड गरेको छ । पश्चिमी इजमिर प्रान्त र वरपर भड्किएको आगोले एक वृद्ध पुरुष र एक वन कर्मचारीको ज्यान लिएको छ । युरोपभरि, स्पेन र इटाली लगायत देशहरूमा गर्मीसँग सम्बन्धित कम्तीमा आठ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । युरोप महाद्वीप पनि गर्मीको लहरमा डुबेको छ । 'हामी हाल बलियो उच्च–चाप प्रणालीको प्रभावमा छौँ, यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई यस क्षेत्रमाथि फसाएको छ र हामीले देख्न सक्छौँ, यसले हामीले महसुस गर्ने तरिकामा निकै ठूलो प्रभाव पारेको छ', विश्व मौसम विज्ञान सङ्गठनका प्रवक्ता क्लेयर नुलिसले पहिले भनेका थिए । उनले जलवायु परिवर्तनको परिणामस्वरूप मानिसहरूले अधिक बारम्बार र तीव्र गर्मी लहरहरूसँग बाँच्न सिक्नुपर्ने बताए ।  युरोपेली सङ्घ (इयु) द्वारा वित्त पोषित कोपर्निकस जलवायु परिवर्तन सेवाले हालैको एउटा लेखमा भनेको छ, 'चरम मौसम घटनाहरूबाट निर्मित वातावरणमा हुने क्षति जलवायु परिवर्तनका कारण मात्र शताब्दीको अन्त्यसम्ममा दश गुणा बढ्ने अनुमान गरिएको छ ।' यस्ता व्यापक जलवायु प्रभावहरूले अधिक लचिलोपन निर्माणको महत्त्वलाई उजागर गर्छ भन्दै सेवाले पानी पुनर्चक्रण, वर्षाको पानी र फोहोर पानीको विभाजन, जलवायु–प्रतिरोधी भवन डिजाइन, जोखिम म्यापिङ र प्रारम्भिक चेतावनी प्रणाली जस्ता भौतिक र प्राविधिक उपायहरूको आह्वान गरेको छ । 'सबै क्षेत्र र शासन स्तरहरूमा अनुकूलन आवश्यक छ र कार्यहरूले वर्तमान जलवायु प्रभावहरू र भविष्यका जोखिमहरू विरुद्ध सुरक्षा दुवैलाई सम्बोधन गर्नुपर्दछ', कोपर्निकस जलवायु परिवर्तन सेवाले भनेको छ । रासस

सडकको अवस्था नराम्रो हुनाले चितवन निकुञ्जमा घुम्ने पर्यटक घटे

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।  निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार पाँच सय आठ जना निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख छ हजार आठ सय ३७ जना पर्यटकले निकुञ्ज घुमेका थिए । गत आर्थिक वर्ष जम्मा दुई लाख ३१ हजार तीन सय २९ जना पर्यटक निकुञ्ज प्रवेश गरेको सूचना अधिकारी थापामगरले जानकारी दिए। त्यसमध्ये एक लाख १७ हजार दुई सय छ जना स्वदेशी थिए ।  निकुञ्ज प्रवेश गर्नेमा महिलाको सङ्ख्याभन्दा पुरुषको सङ्ख्या बढी छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका २४ हजार आठ सय र सार्क बाहेकका देशबाट ८९ हजार तीन सय २३ जनाले निकुञ्ज घुमको निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चितवन निकुञ्ज घुम्न कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका छन् । यो महिनामा ३२ हजार दुई सय ५२ जना निकुञ्ज घुम्न आएका थिए ।  सबैभन्दा कम साउन सात हजार तीन सय नौ जनाले निकुञ्ज घुमेका छन् । सडक पूर्वाधार लगायतका कारणले गत आर्थिक वर्षमा पर्यटकको सङ्ख्यामा कमी आएको थापामगरले बताए । उनले यस आर्थिक वर्षमा पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको बताए ।  रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीले चितवन निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको भन्दै यसले सौराहाको पर्यटन व्यवसायमा ठूलो असर पारेको बताए । उनले अन्तरराष्ट्रिय विमानस्थलमा केही समय भएको रात्रीकालिन उडान बन्द, मुख्य सहरसँग चितवन जोड्ने सडकको अवस्था नराम्रो भएका कारण यहाँ आउने पर्यटकको संख्यामा कमि आएको बताए । उनले विमानस्थल र मुख्य राजमार्गहरू सुधार गर्न सके मात्र पर्यटकको सङ्ख्या बढाउन सकिने धारणा राखे । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । रासस

साउन १० गते ‘काठमाडौं भेज फेस्ट’ आयोजना हुने

काठमाडौं । पशु कल्याणका क्षेत्रमा विगत एक दशक देखि विभिन्न कार्यहरू गर्दै आइरहेको स्नेहाज केयरले ‘काठमाडौं भेज फेस्ट’ को आयोजना गर्ने भएको छ । स्नेहाज केयरले  ​​​​यही आउँदो साउन १० गते शनिबार सो फेस्टको  आयोजना गर्न लागेको संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले बताइन् । स्नेहाज केयरले हरेक वर्षझैँ यस वर्ष पनि ५ औँ भेज फेस्टको रुपमा मनाउन लागेको हो । अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रम काठमाडौं बौद्धस्थित उत्पला क्याफेकाे प्रांगनमा आयोजना हुँदैछ । यो कार्यक्रम गर्नुको उद्देश्य वनस्पतिमा आधारित परिकारहरूको प्रचार-प्रसार गर्नुका साथसाथै वनस्पतिमा आधारित खाना र जीवनशैलीलाई प्रवर्द्धन गर्नु रहेको श्रेष्ठले बताइन् । महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनका साथै विक्री वितरण हुने छ । साथै उक्त कार्यक्रमलाई सफल बनाउनका भिगन रेस्टुरेन्ट, भिगन सामग्रीहरूको बिक्रेताहरुले पनि स्टल राख्दैछन् । आयोजकका अनुसार महोत्सवमा विभिन्न १३ भन्दा बढी भिगन रेस्टुरेन्ट, भिगान परिकार उत्पादकहरु, विभिन्न आकर्षक गरगहनाहरू, अर्गानिक कृषि उपजहरु तथा ह्यान्डिक्राफ्ट, पशु कल्याण संस्थाहरू, योग तथा दर्शन लगायतका सामग्रीहरू तथा जानकारीमूलक गरि ९० भन्दा धेरै स्टलहरू रहनेछन् । उक्त महोत्सवमा लबिङ हर्ट, सो भेगन, भेगन हाउस, हाम्रो भेगन, सारा बेक्स भेगन, अलोइज ह्याप्पी, भेगन फुड एण्ड वेवरेजलगायत रेष्टुरेन्टहरुले स्टल  राख्दैछन् ।  संस्थाका अध्यक्ष श्रेष्ठले भनिन्, ‘महोत्सव निकै नै रमाइलो हुनुका साथै विभिन्न स्टलहरूमा विभिन्न किसिमका स्वस्थकर र स्वादिष्ठ भिगान परिकारहरूको स्वाद लिन पाउनुहुनेछ ।’ त्यस्तै महोत्सवमा भिगन जीवनशैलीसँग सम्बन्धित जानकारीहरू प्राप्त गर्नुका महोत्सवलाई भव्य र मनोरञ्जनात्मक बनाउनका लागि लाइभ म्युजिक, नृत्य प्रस्तुति, बालबालिकाहरूका निम्ति विभिन्न विधामा गरिएको  प्रतिस्पर्धाको पुरस्कार वितरण लगायतका कार्यक्रमहरू समेत राखिएको आयोजकले जनाएको छ । पशु कल्याण अभियानको महत्वपूर्ण कार्यक्रमको रुपमा संस्थाले सन् २०१७ देखि विरुवामा आधारित आहारको उपभोगलाई बढावा दिने कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ । क्रुरता मुक्त बिरुवामा आधारित स्वस्थकर खानपान र व्यवहार व्यक्तिको स्वास्थ्यका साथै पर्यावरणका लागि पनि फाइदाजनक र पशु कल्याणमा पनि टेवा पुग्ने हुँदा, संस्थाले यस सम्बन्धी विभिन्न जनचेतना मूलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताइन् । यस कार्यक्रम अन्तर्गत विद्यालयहरूमा विरुवामा आधारित आहार र पशु कल्याण तथा मानवता सम्बन्धी कक्षा संचालन गर्ने, विद्यालयका क्यान्टिनका कुकहरूलाई भिगन परिकार सम्बन्धी तालिम संचालन, समुदाय स्तरमा महिलाहरुलाई विरुवामा आधारित आहार सम्बन्धी गोष्ठी/तालिम संचालन गर्ने, स्थानीय रैथाने भेज खानाको परिकारका बारेमा फुड भ्लग्स र सामाजिक सञ्जालको माध्यमबाट प्रचार प्रसार गर्ने र वार्षिक भेज फेस्ट आयोजना गर्दै आएको छ ।  वि.सं २०७२ मा ललितपुर महानगरपालिका वडा नं २१ मा स्थापना भएको स्नेहाज केयरले विगत १० वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ  । यस संस्थाले पशुपंक्षीहरुको उपचार, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । साथै सामुदायिक कुकुरहरूको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण, रेविज रोग उन्मुलनका लागि बृहत रेबिजविरुद्धको खोप कार्यक्रम संचालन गदै आएको छ । यस्तै बेवारिसे गाई बाच्छाहरुको उद्वार, उपचार, तथा पूनस्र्थापना, लामो दुरीमा पशु ढुवानी गर्दा, अव्यवस्थित ढुवानीका कारण पशुप्रति भईरहेको क्रुरता कम गर्नको लागि विभिन्न कार्यक्रम गर्ने गरेको छ । साथै हिमाली क्षेत्रमा प्रयोग गरिने भारवाहक पशुको कल्याणका निम्ति पनि कार्यक्रमहरू गर्दै आएको छ । 

सेयर बजारको आकारमा नयाँ रेकर्ड, नेप्से परिसूचक एक वर्ष यताकै उच्च

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले बढेर २८ सय ९२ बिन्दुमा पुगेको छ । आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ । सोमबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । बजारको आकारमा नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो । यस्तै, नेप्से परिसूचक पनि ११ महिनायताकै उच्च हो ।  साेमबार सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड, बुटवल पावर कम्पनीको ५६ करोड, फस्ट माइक्रो फाइनान्स लघुवित्तको ५१ करोड र लुम्बिनी विकास बैंकको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १.४२, लघुवित्त १.९३, निर्जीवन बीमा १.२७ र अन्य समूह १.८४ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, होटल तथा पर्यटन ०.३०, जलविद्युत् ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन  ०.३७, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.४३ प्रतिशतले बढेको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावरको ९.९९, ट्रेड टावर र सानभी इनर्जीको ९.९८ प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं । सेयर बजारमा सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगी तथा विश्वासघातको अभियोगमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार उनलाई टोखा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अग्रवालले सेयर कारोबारको नाममा विभिन्न लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई करिब २२ करोड रुपैयाँभन्दा बढी ठगी गरेका थिए । अग्रवालविरुद्ध धितोपत्र बजारसम्बन्धी आर्थिक अनियमितता, विश्वासघात र ठगीसम्बन्धी अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे नेपाल धितोपत्र बोर्डले समेत छुट्टै अनुसन्धान अघि बढाइसकेको छ ।

अर्थमन्त्री पौडेल र अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र  अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भयो । द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भयो ।  चितवनको भरतपुरस्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे ।  भरतपुर स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पातालमा १८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ । यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्नेछ।त्यस्तै निजामती कर्मचारी अस्पातालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ । यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ। यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्नेछ। यही अवसरमा रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाईन निर्माणको निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे । यसबाट रसुवागढी केरुङ्ग ट्रान्समिसन लाइन निर्माण सम्बन्धि सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ । कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धमो चर्चा गर्दै नेपाल भ्रमण गर्नु भएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिए । साथै उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाईमा पुर्याउने विचार व्यक्त गरे। अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संशाधन विकास र सिमापार विद्युत व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने बताए । उनले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने विश्वास व्यक्त गरे ।  बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने  रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । अर्थमन्त्री भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।    सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सकृयता र सहयोगप्रति धन्यवाद व्यक्त गरे । अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरुको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनीयाँ पक्षलाई धन्यवाद दिए ।  ‘आयात-निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौं,' अर्थमन्त्री पौडेलले भने ।  

पहिलोपटक पीपीपी मोडलमा ठूला लाइन निर्माण गर्न लाग्यो प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा ठूला क्षमताका विद्युत् प्रसारणलाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  यसका लागि प्राधिकरणले इच्छुक निजी फर्म तथा कम्पनीहरूबाट आशयपत्र (ईओआई) माग गरेको छ । प्राधिकरणले हाललाई ४ वटा महत्त्वपूर्ण प्रसारणलाइन आयोजना पीपीपी मोडलमा निर्माण गर्न प्रस्ताव गरेको हो ।यसले ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी र सहभागितालाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ । प्राधिकरणका अनुसार तिङ्ला–दूधकोशी–ढल्केबरः ४०० केभी, १ सय १८ किलोमिटर, अरुण हब (शीतलपाटी)–इनरुवाः ४०० केभी, ९४ किलोमिटर, न्यु खिम्ती–ढल्केबरः ४०० केभी, ८० किलोमिटर, लप्सीफेदी–तीनपिप्लेः २२० केभी, ३० किलोमिटर रहेको छ ।  इच्छुक निजी कम्पनीले ३० दिनभित्र प्राधिकरणमा आशयपत्र पेश गरिसक्नुपर्ने प्राधिकरणले जनाएको छ । आशयपत्र मूल्याङ्कनबाट छनोट भएका कम्पनीले यी आयोजनाहरू ’निर्माण–स्वामित्व ग्रहण–सञ्चालन र हस्तान्तरण’ (बुट) मोडलमा विकास गर्नुपर्नेछ ।