घरजग्गाको कारोबारबाट साढे ५१ अर्ब राजस्व संकलन, ४ अर्ब ६९ करोड रुपैयाँ छुट
काठमाडौं । सरकारले देशभरका मालपोत कार्यालयमार्फत गत आवमा ५१ अर्ब ४२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । देशभरका घरजग्गाको कारोबारको विवरण राख्ने र आवश्यक काम गर्ने मालपोत कार्यालयबाट उल्लेख्य रूपमा राजस्व सङ्कलन भएको स्पष्ट पारिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालय र मातहतका निकायमार्फत उल्लेख्य रूपमा काम भएको छ । उनका अनुसार भूमि समस्या समाधान आयोग, गाउँब्लक मिनाडी, विशेष नापीलगायतबाट २७ हजार ३५८ वटा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण भएको छ । यस्तै, जग्गा नापजाँच निर्देशिका नयाँ जारी गरिएको र भूमि बैंक स्थापनाका लागि बजेटको व्यवस्था गरिएको छ । मन्त्री अधिकारीका अनुसार, राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन र सञ्चालन, कर्जा असुली न्यायाधीकरण गठन र सञ्चालन र सहकारी कर्जा तथा बचत सुरक्षण कोषको स्थापनाका लागि बजेटको व्यवस्था गरिएको छ । यसबाट सहकारी क्षेत्रको संस्थागत सुधार र हाल देखिएका सहकारी क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधानका लागि राम्रो जग निर्माण भएको उनको दाबी छ । समस्याग्रस्त सहकारीका ६२ हजार ७६० दाबीमध्ये ८ हजार १५६ जनाको बचत फिर्ता गरिएको छ । यो बीचमा ३ अर्ब ७१ करोड रुपैयाँ बचत फिर्ता छ । त्यस्तै गरिबी घरपरिवारको परिचयपत्र वितरण गर्ने कामले तीव्रता पाएको छ । कुल १५ जिल्लाका २ लाख ७१ हजार ६४० परिवार पहिचान भई राज्य सुविधा परिचयपत्र वितरण गर्ने काम आगामी दशैँभित्र सम्पन्न हुनेछ । दर्ता छुट भई बाँकी रहेको जग्गा दर्ता गरी तथा अन्य प्रक्रियाबाट ३ लाख ६० हजार वर्गमिटर क्षेत्रफलको १७ हजार ७९१ कित्ता जग्गा नेपाल सरकारका नाउँमा कायम गरिएको छ । समावेशितालाई बलियो बनाउन महिलालाई ३ अर्ब ४९ करोड रुपैयाँ, फरक क्षमता भएकाहरूलाई १ अर्ब १० करोड रुपैयाँ र अन्य छुट १० करोड गरी जम्मा छुट ४ अर्ब ६९ करोड रुपैयाँ राजस्व छुट दिइएको छ । सो आवमा एक हजार ४२४ कारोबारबाट क्षेत्रफल २८ लाख १६ हजार वर्गमिटर जग्गा, जग्गाधनी र मोही बाँटफाँट गरी द्वैध स्वामित्व अन्त्य गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने सन्दर्भमा भूमि समस्या समाधान आयोगबाट हालसम्म ७५० स्थानीय तहसँग कार्य सहमतिपत्रमा हस्ताक्षर भई कार्यप्रारम्भ भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा २ लाख ८१ हजार ४७० कित्ता जग्गाको नापनक्सा कार्य सम्पन्न भई पाँच हजार १२१ जग्गाधनी प्रमाणपुर्जा वितरण भएको तथा २० हजार जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि तयारी भएको छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन भई सम्बन्धित प्रणालीमा निवेदन प्रविष्ट गरिएको छ । सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७९ बमोजिम गत आवमा लिज, उपयोग र दाखिल खारेज गर्न स्वीकृत दिएका जग्गासमेत गरी अस्पताल निर्माण, स्थानीय तहको भवन निर्माण, कृषि विश्वविद्यालय, बहुप्राविधिक शिक्षालय, स्मृति प्रतिष्ठान, स्वास्थ्यचौकी, मेडिकल कलेजलगायत एक सय २७ वटा निकायलाई जग्गा उपलब्ध गराइएको मन्त्रालयको विवरण छ । नापनक्सा, भूमि व्यवस्थापन र भौगोलिक सूचनाको प्रयोग सम्बन्धमा लामो अवधि (एक वर्ष) का सिनियर नापी तालिम–विभागीय समूह, जुनियर नापी तालिम–विभागीय समूह र जुनियर नापी तालिम खुला समूहतर्फका तीनवटा तालिममा सहभागी ६१ जना दीक्षित गरिएको छ । भूमि समस्या समाधान आयोगमा कार्यरत करिब पाँच सय जना अमिन तथा सर्भेक्षकका लागि कित्ता नापी नक्साङ्कन तथा जग्गा दर्तासम्बन्धी पुनर्ताजगी तालिम सञ्चालन भएको समेत मन्त्रालयले जनाएको छ ।
नेपाल एयरलाइन्सले तिर्यो ७ अर्ब ९२ करोड रुपैयाँ ऋण
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले असार मसान्तसम्मको ऋणको किस्ता भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदका लागि लिएको ऋणको किस्ता बापत कूल ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । यसमध्ये न्यारो बडी जहाजको पूरै र न्यारो बडी जहाजको आंशिक किस्ता तिरेको निगमले उल्लेख गरेको छ । जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षक अन्तर्गत २०८२ असार मसान्तसम्म ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको निगमले जनाएको छ ।
एमालेमा ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हट्याे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उप-महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने उप-महासचिव ज्ञवालीले बताए । बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ । पोलिटब्युरो बैठक ११ बजे बस्ने कार्यसूची छ । पार्टीमा दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको जानकारी दिँदै उप-महासचिव ज्ञवालीले एउटा सदस्य तथा अर्को सङ्गठित सदस्य भएको बताए । यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ ।
वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बन्यो कामना सेवा विकास बैंक, ९.१९ प्रतिशत बढ्यो नाफा
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गर्ने कामना सेवा विकास बैंक पहिलो बनेको छ । बैंकको गत वर्ष खुद नाफा ९.१९ प्रतिशत बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५८ करोड १८ लाख ३१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब १३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको खुद फि तथा कमिशन आम्दानी १५.०४ प्रतिशत बढेर ३१ करोड २५ हजार रुपैयाँ, कुल सञ्चालन खर्च ४.१९ प्रतिशत बढेर २ अर्ब ६३ करोड २६ लाख रुपैयाँ, सञ्चालन नाफा १.९७ प्रतिशत बढेर ९८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकको गत वर्ष वितरणयोग्य नाफा ४७.७१ प्रतिशत बढेर ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष वितरण गर्न मिल्ने नाफा ४१ करोड १२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ७ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ र जगेडा कोष १३.७३ प्रतिशत बढेर २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन ६.३८ प्रतिशत बढेर ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ र कर्जा लगानी ८.६७ प्रतिशत बढेर ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ३७ पैसा बढेर १८.१० रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ । अघिल्लो वर्ष ३.३६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष सामान्य बढेर ३.३८ प्रतिशत पुगेको छ ।
४५ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेकाे राहुघाटको म्याद तेस्रोपटक थपियो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो र सन २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो । हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेकेदारसँगको सम्झौताको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको रघुगङ्गा हाइड्रोपावर का प्रबन्ध सञ्चालक गणेश केसीले बताए । ‘ठेकेदारले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको थियो । परामर्शदाता ‘वाकफोस’को सिफारिसअनुसार चार महिनामात्र म्याद थपिएको हो,’ उनले भने । कोरोना महामारी, बाढी पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई ठेकेदारले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएको छ । बर्खायाममा बुग्लको पहिरो सक्रिय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधीन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो । विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युत्गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ । राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजु विष्टले सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारलाई तालमेल मिलाएर काम गराउन समन्वय, सहजीकरण र ताकेता गरिरहेको बताए । कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माण सम्पन्न हुने उनको भनाइ छ । यसअघि गत असार १५ गते सम्पन्न कार्ययोजना ठेकेदारहरूको ढिलासुस्तीका कारण असफल भएको विष्टले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभीआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लोपटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स ९जेपी०ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादी मर्ज, आज एकता सभा
काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग एकता गर्ने निर्णय गरेको छ । अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै आज एकीकरण गर्ने निर्णय गरेको हो । एकताका लागि दुवै पार्टीका शीर्ष नेताले समझदारी गरिसकेकाले बैठकले त्यसलाई अनुमोदन गरेको हो । राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको हो । नेकपा (एकीकृत समाजवादी)ले आज राष्ट्रिय सभागृहमा हुने एकता सभामा पार्टी मातहतका कमिटीलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकीकरणको तयारी पूरा भएको छ । एकता सभाको कार्यसूची तथा नेताहरूको बरियताक्रम व्यवस्थापन कार्य सम्पन्न भएको हो । उक्त सभाबाट एकीकरणको सन्देश प्रवाह गरिने कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अलग भएका दुवै पार्टीले छुट्टा छुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो । एकता हुन लागेको उक्त पार्टीको पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ ।
नेप्सेमा ऐतिहासिक रेकर्ड कायम, २१ खर्ब २४ अर्बको सेयर कारोबार
काठमाडौं । अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि सो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को विवरणअनुसार आव २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्रको कारोबार भएकामा आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम आव २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो । यसअघि आव २०७७/७८ मा सबैभन्दा धेरै (अर्थात् १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ)को कारोबार भएको थियो । त्यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको सङ्ख्या २७२ पुगेको छ । सो आवमा मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन् । त्यसैगरी, प्रथम सार्वजनिक निष्कासनमार्फत चारवटा कम्पनी थपिएका छन् । प्रथम निष्कासनमार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आव २०८१/८२ मा भएको उत्साहजनक कारोबारका लागि नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मीसहित पुँजी बजारका सरोकारवाला सबैलाई धन्यवाद दिएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
नेपाली ३० हजार वर्गमिटर गलैँचा तेस्रो मुलुक निर्यात
काठमाडौं । बारा-पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरेको हो । उक्त इन्डस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो । ‘करिब १ करोड रुपैयाँ बराबरको गलैँचा सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ,’ लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न बन्न सफल भएको उल्लेख गर्दै उनले भने । जितपुर-सिमरा उपमहानगर-२३ मा रहेको उक्त उद्योगले १०० जनालाई रोजगारी दिएको छ । उद्योगको वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ । उद्योगका अनुसार प्रतिवर्गमिटर मिटर ९०० रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मका गलैँचा उत्पादन हुने गरेको छ । विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको उद्योगमा ४० करोड रुपैयाँ लगानी भएको छ । यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुसीको कुरा भएको बताए ।