आज चार प्रदेशमा अत्यधिक वर्षा हुने, सहरी तथा तराई क्षेत्रमा डुबान
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरीको सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
फार्मेसी शिक्षा : अदक्ष फार्मासिस्टकाे कारण सयौंको ज्यान जान सक्छ
नेपालमा पछिल्लो दशकमा स्वास्थ्य सेवामा भएको विकाससँगै फार्मेसी शिक्षाको महत्व तीव्र रूपमा बढ्दो छ । खासगरि कोरोना महामारीपछि औषधी व्यवस्थापन, उत्पादन, गुणस्तर परीक्षणदेखि रोग निवारणमा फार्मासिष्टहरूको भूमिका जनचेतनामा झनै प्रष्ट देखिन थालेको छ । एसईईपछि फार्मेसी पढ्ने सोच बनाइरहेका विद्यार्थीहरू अब केवल ‘पढ्न पाइन्छ भने पढौँ’ भन्ने धारणा राख्दैनन्, बरु उनीहरूले करियर, जागिर, उद्यम, अनुसन्धान, र समाजसेवाको दृष्टिकोणबाट पनि फार्मेसी रोज्न थालेका छन् । यतिखेर, चिकित्सा विज्ञानको एउटा अत्यावश्यक र प्राविधिक पक्षका रूपमा फार्मेसी अध्ययनले विद्यार्थीहरूका लागि नयाँ सम्भावना र चुनौती दुबै ल्याएको छ। तर यहि सम्भावनाले नाना प्रश्न पनि उजाएको छ –नेपालमा फार्मेसी शिक्षाको गुणस्तर कति सन्तोषजनक छ ? विद्यार्थीहरूले के–के आधारमा यो विषय रोज्छन् ? के उनीहरूको छनोट आकांक्षा, अभाव वा परम्परागत धारणा अनुसार आधारित छ ? हामीले नेपाल औषधी लिमिटेडका निवर्तमान महाप्रबन्धक एवं गाईड पोइन्टका मान्यता प्राप्त कोच विशिस्ठ फर्मासिस्ट डा. मोहम्मद सफिउल्लाहसँग कुरा गरेका छौं । फार्मेसी शिक्षा के हो ? फार्मेसी शिक्षा स्वास्थ्य सेवाको एक महत्वपूर्ण आधार हो, यो एक वैज्ञानिक र प्राविधिक विषय हो । जुन चिकित्सा विज्ञानसँग घनिष्ठ रूपमा सम्बन्धित छ । फार्मेसी शिक्षा औषधिसम्बन्धी ज्ञान, सीप र व्यवहारिक प्रशिक्षण दिने एक शैक्षिक प्रणाली हो, जसको मुख्य उद्देश्य योग्य र दक्ष फार्मासिष्ट (औषधी विशेषज्ञ) उत्पादन गर्नु हो । यसले विद्यार्थीहरूलाई औषधीको अनुसन्धान, निर्माण, गुणस्तर परीक्षण, सुरक्षित वितरण, प्रयोग, परामर्श तथा औषधी व्यवस्थापनको सम्पूर्ण प्रक्रिया बुझ्न योग्य बनाउँछ । नेपालमा फार्मेसी शिक्षा तीन तहमा पाइन्छ । डिप्लोमा (फार्मेसी सहायक), स्नातक (बि फार्म ), र स्नातकोत्तर (एम फार्म)। यसका अतिरिक्त, पीएचडी, अनुसन्धान तथा अन्य तालिम कार्यक्रमहरू पनि छन् । फार्मेसी पढ्न के गर्नुपर्छ ? डिप्लोमाको कुरा गर्दा एसईईपछि सीटीईभीटीका अथवा सर्टिफिकेट तहका फार्मेसी कोर्स जहाँ छन्, त्यहाँ एसईई पछि भर्ना परिक्षामा उत्तीर्ण भएपछि रैङ्क अनुसार मौका पाएको कलेजमा नाम लेखाएर पढ्न सकिन्छ । ब्याचलर पढ्नको लागि साइन्स विद्यामा बाह्रपछि पुनः भर्ना परीक्षा उत्तीर्ण हुनुपर्यो र प्राप्ताङ्क अनुसार मौका पाएको फार्मेसी कलेजमा पढ्न सकिन्छ । फार्मेसी अध्यन कति वर्षको हुन्छ र के-के पढ्नु पर्छ ? सामान्यतः ब्याचलर कोर्ष चार वर्षको हुन्छ भन्ने कुनै कुनै संस्थामा ५ वर्षको पनि हुन्छ । अध्यापनको समय युनिभर्सिटी अनुसार फरक फरक हुन्छ । सामान्यतया पहिलो वर्षमा औषधी विज्ञानको सामान्य परिचय तथा क्यामेस्ट्री, बायोलोजी, फिफ्जिक्स जस्ता साइन्सका कुराहरू पढ्नुपर्छ । दोस्रो वर्षदेखि फार्मेसी तथा फर्मास्युटिकल्स टेक्नोलोजीसंग सम्बन्धित विषयहरू पढ्नुपर्छ। यसको मुख्य उदेश्य भनेको औषधीका स्रोतहरु के के छन्? औषधि कसरी बन्छ?, यसको प्रयोग र प्रयोग संग सम्बन्धित बिषयहरु, संचय तथा बिक्रि वितरण गर्ने, गुणस्तरलाई कसरी निर्धारण गर्ने भन्ने विषयमा जान्नु हो। औषधिको सुरक्षा को विषयमा पनि पढाइ हुन्छ । जस्तै एस्प्रीन भनेको हामीले बुझ्ने दुखाइको औषधी हो । तर त्यही औषधीलाई ७५ मिलीग्राममा दिइयो भने मुटुको रोगीले प्रयोग गर्ने औषधी हो । औषधी एउटै हो तर मात्रा फरक हुनेबित्तिकै काम फरक हुन्छ । यसमा औषधिसंग सम्बन्धित ऐन कानुनका कुराहरू पनि पढ्नुपर्छ । फार्मेसी पढ्न कति मिहिनेत गर्नुपर्छ ? फार्मेसी भनेको विज्ञान र कलाको मिश्रण हो । आर्ट भन्ने बित्तिकै सेन्सको कुरा आउँछ । सबै किताबमै पढेका कुरा यहाँ लागू हुन्छ भन्ने छैन । यो विषय पढ्न मानसिक र शैक्षिक तयारी दुइटा तयारी हुन आवश्यक छ । शैक्षिक तयारीमा फार्मेसी पढ्नको लागि साइन्स पढेको हुनैपर्छ र अझ रोचक त के छ भने फार्मेसी पढ्न भौतिक शास्त्र, रसायन शास्त्र, गणित र जीव बिज्ञान चारवटा नै पढ्नु पर्छ । औषधीले कसरी काम गर्छ भन्ने बुझ्न बायोलोजी पढ्नुपर्यो, औषधी कसरी बन्छ क्यामेस्ट्री पढ्नुपर्यो, औषधी बनाउने मेसिन बुझ्नलाई पिफ्जिक्स पढ्नुपर्यो,र क्याल्कुलेसन, बनावट, डोज निर्धारणका लागि गणित पढ्नुपर्यो । यो सबै चाहिन्छ । चारवटा बिषय आवश्यक भएपनि मेजर बायोलोजी र क्यामेष्ट्रि लिएको छ भने फार्मेसी पढ़नकोलागी सहज हुन्छ । त्यसैले अबु बिषय भन्दा फार्मेसी अलि कठिन बिषय मानिन्छ । कस्तो व्यक्तिले फार्मेसी पढ्ने ? फार्मेसी विषय पढ्न रुचि गरेर मात्र हुँदैन । जसलाई भित्रैबाट यो विषय पढ्ने र काम गर्ने रहर छ । मिहिनेत गर्छु भन्ने इच्छा छ उहाँहरूले यो विषय पढ्न सक्नुहुन्छ । बिज्ञान विशेषतः रसायन र मानव शरीरसंग ज्ञान मोह भएकाले यो बिषय पढ्दा राम्रो हुन्छ । अर्को यो पढाइ तुलनात्मक रुपले महंगो पनि हुन्छ । नेपाल मै ब्याचलर पढ्नको लागि ७ देखि १० लाख सम्म लाग्छ भन्ने बिदेशमा धेरै नै महँगो मानिन्छ । त्यसैले यो विषय पढ्न आर्थिक रुपले सबल पनि हुनुपर्छ । अर्को रुचि संगै जिम्मेवारीलाई बुझ्न सक्ने व्यक्तिले पढ्न सक्छ । सैधान्तिक (थ्योरी) र प्रयाक्टिकलमा पनि मिहिनेत गर्न सक्नुपर्छ । फार्मेसी शिक्षाको तथा पेशाको भविष्य नेपालमा र नेपाल बाहिर कस्तो छ ? बिदेशमा फार्मेसी शिक्षाको माग पहिले देखि नै उच्च रहेपनि हाल आएर नेपाल मै पनि धेरै राम्रो छ । सुरुमा नेपालमा यो शिक्षा त्यती आइसकेको थिएन र शिक्षकको रुपमा देखिए पनि अहिले सरकारी देखि गैरसरकारी संस्था समेतमा माग बढेको छ । यायस्रोत र सामाजिक प्रतिष्ठाको हिसाबले पनि यसको अवस्था राम्रो छ। बिदेशमा त घण्टाको ४० देखि ८० डलर सम्म आर्जन हुन्छ। संख्याको हिस्सब्ले अहिले ७ हजार हाराहारी ग्राजुएट र करिब १५ हजार डिप्लोमा गरेका भए पनि उनीहरू कही न कहीँ आवद्ध छन् । ति मध्यका मुख्य हिस्सा आफ्नै औषधि पसल तथा स्वास्थ्य सेवामा लागेको पाईन्छ । नेपालमा जसरी फार्मेसी शिक्षा पढाइ हुने शैक्षिक संस्थाहरू खुल्दै गएका छन् । ती संस्थामा गुणस्तर र दक्ष जनशक्तिको अभावको कुरा सुनिरहेको छ, यहाँले कस्तो पाउनुभएको छ ? अहिले त पहिला जस्तो छैन, विद्यावारिधीसम्मको पढाइ पनि नेपाल मै हुन्छ र पनि दक्ष जनशक्तिको कुरा गर्दा निकै चुनौतीपूर्ण छ । अझै भएको जनशक्तिलाई संस्थामा थामेर राख्न त्यो भन्दा ठुलो चुनौती हो। यो किन भएको हो भन्दा माइग्रेसन एउटा मुख्य फ्याक्टर हुन सक्छ । नेपालमा पढ्यो र जो रिजल्टमा अलि राम्रो छ आर्थिक रुपमा सक्षम छन् भने उनीहरू पलायन भएका छन् । अर्को दक्षता आउने भनेको पढाईको गुनस्तरियताले पनि हो र यसमा अध्यापन गराउने शिक्षकको ज्ञान गुणस्तर, पठाउने शैली तथा मौजुद स्रोत साधनहरु भूमिका महत्वपूर्ण हुन्छ । विद्यार्थीमा दक्षता र गुनास्तरियता आउने एउटा पक्ष यो पनि हो। इन्स्च्यिुट छन् प्रयाक्टिकल गर्ने डिभाइस छैन, भने कसरी हुन्छ? । शिक्षक छन् उनीहरू पढाउनमा पनि राम्रा छन् तर विद्यार्थीलाई प्रयाक्टिल गराउनसक्ने अवस्था छैन । यस्ता कुराले पनि शिक्षाको गुणस्तरमा असर गर्छ। धेरै यस्ता बिषयहरु पनि छन् जसको विज्ञ शिक्षकको अभाव यहा देखिन्छ । गुणस्तरलाई प्रभाव पार्ने अर्को मुख्य बिषय भनेको शिक्षा प्रणाली र त्यसको मापदण्ड को व्यवस्था पनि हो। गुणस्तर निर्धारणमा फार्मेसी काउन्सिलले अहिले धेरै महत्वपुर्ण भूमिका खेलेको देखिन्छ । विद्यार्थीको पढाई प्रतिको रुचि बिकाश पनि उतिकै जरुरि छ। आजकालका बिद्यार्थीहरुमा मन लागे पढ्नलाई आयो, मन लागेन आएन जस्तो परिपाटी पनि देखिएको छ । समग्रमा भन्दा सिस्टम, विद्यार्थीको रुचि, रिसोर्स र शिक्षकको गुणस्तर यि कुराले विद्यार्थीको गुणस्तरलाई निर्धारण गर्ने हो । निम्न गुणस्तर वा गुणस्तरहीन शिक्षाले फार्मेसी पढिरहेका विद्यार्थीमाथि कस्तो असर पर्ला ? गुणस्तरीय शिक्षा नहुँदा फार्मेसी पढिरहेका विद्यार्थीमात्र नभई देशको भविष्यमा ठूलो असर पर्छ । कलेजबाट विद्यार्थीले आशा गरेको भनेको ज्ञान र प्रतिस्पर्धामा क्षमता अभिवृद्धि नै हो । र यसको लागि चाहिन्छ प्रयाप्त ठाउँ, शिक्षक र शैक्षिक सामाग्री र त्यसको उच्च व्यवस्थापन । हामी कहाँ त यस्ता कलेज पनि छन् जहाँ एक जना फार्मासिस्ट भएर पनि चलाइरहेका छन् । किन त भन्दा यसको पछाडी धेरै कारण छन् । कहिलेकाँही शिक्षकले पाउने सेवा सुविधा पनि हुन्छ, लोकेशन पायक नपरेर पनि यो समस्या हुन सक्छ । शिक्षकलाई शिक्षककै रुपमा हेर्ने हो भने आजको जमानामा शिक्षकले किताब पढाइ राख्न आवश्यक छैन । सबै कुरा गुगलमा भेटिन्छ, एआईले पनि धेरै कुरामा सहयोग गर्छ । अहिलेका शिक्षकले प्रायाक्टिल आधारमा कसरी पढ्ने भन्ने विषयमा सिकाइदिन आवश्यक छ । विद्यार्थीको आवश्यकता र उसको रुचिलाई म्याच गराउन सक्ने अवस्था छ भने शिक्षकको गुणस्तरमा अरु केही चाहिँदैन । यसका लागि शिक्षक आफै पनि सो विषयमा विज्ञ हुनुपर्यो । तर व्यबहारमा यस्तो कमै देखिएको छ । शिक्षकको पनि आफ्नै बाध्यता होलान्, बिहान ७ बजे पढाउन जाने ९ बजेसम्म पढाएर पछि आफ्नो अर्को ड्युटीमा जानुपर्ने, साँझ ६ बजे घर फर्किने त्यसपछि परिवारसँग घुलिमल भोलिको दिनचर्या पनि यसरी बित्दा उसले आफु सिक्ने मौका पाएको खोइ ? शिक्षकले त एउटा कक्षा पढाउन एक हप्ताको तयारी गर्नुपर्छ । तर यस्तो कमै देखिन्छ आफुमा लगानी गरेको । कुनै बेला एउटाले बनाएको नोट पढेर बिद्यार्थी पास हुन बाध्य, प्रतिस्पर्धी ज्ञान कहाँबाट आउँछ । गुणस्तरीय शिक्षाको लागि शिक्षकको सेवा सुविधाको ख्याल राख्नु पनि जरुरी छ । यस्तो अवस्थामा कसरी गुणस्तर हुने ? हामीले अहिले बोलिरहेको गुणस्तरको परिभाषा बुझ्न नेपाल फार्मेसी काउन्सिलको परीक्षालाई लिन सकिन्छ । गुणस्तरीय भनेको सय जनामा १०० वा ५० जना पास हुने वा सबै फेल हुने होइन । र पनि आज फार्मेसी लाईसेन्स परीक्षामा १३ प्रतिशतसम्म विद्यार्थी पास भइरहेका पनि छन् । यस पछाडीको कारण विद्यार्थी मात्र कमजोर भन्न मिल्दैन । कहिलेकाँही कम्प्युटराइज सिस्टमले छानेको प्रश्नपत्र पनि हुनसक्छ । जब हामी प्रश्न छनोट गछौं त्यसमा सोध्ने स्टक्चर पनि नमिलेर हुन सक्छ । कहिलेकाँही विद्यार्थीलाई पढाइएको कुरा र लाइसेन्स परीक्षामा सोधिने प्रश्नको तालमेल नमिल्दा पनि यस्तो समस्या आउन सक्छ । त्यस्तै सिलेबसका कुरा पनि आउलान्, नेपाल बाहिर पढेका विद्यार्थीहरुको लागि नेपालको औषधी ऐन कानुनको ज्ञानमा कमि हुन सक्छन् । यस्ता विविध विषय छन्, जसलाई गुणस्तरसँग प्रत्यक्ष जोड्न मिल्दैन । र, पनि सामानान्तर गुणस्तर प्रणालीको विकास गरि शिक्षाको गुणस्तरियतालाई कायम राख्न सकिन्छ । अदक्ष फार्मासिस्टले दिने सेवाले कस्तो असर पार्छ ? ठूलो असर पार्छ । दक्षता भनेको सेवा गुणस्तरीयताको आधार हो । कहीँकहिँ दक्षताको कारणले पनि छिमेकी मुलुक बंगलादेश, थाइल्याण्ड र भारतमा पनि कफ सिरप खाएर कति बिरामीको मृत्यु भएको छ र मेरो बुझाइमा यो पनि फार्मासिस्टले गरेको गल्तीको परिणाम हो । एउटा डाक्टरले भुल गर्दा एउटा बिरामी मर्छ तर एउटा फार्मासिस्टले औषधी बनाउँदा उसले कुनै त्रुटी गर्यो भने त्यो ब्याचमा निस्कने जती औषधी छन् खाने जति सबैको ज्यान जोखिममा पर्छ । बायोलोजिकल सेफ्टीको हिसावले फार्मेसी पेशा निकै संवेदनशील विषय हो । औषधीमा स–साना कुराहरू धेरै छन् । एउटा औषधी पुरुषले खान मिल्छ महिलाले खान मिल्दैन, एउटा औषधी सामन्य महिलाले खान मिल्छ तर गर्भवतीले खान मिल्दैन यस्ता औषधी धेरै हुन्छन् । सामान्य दुखाइको कुरा मात्र गर्ने हो भनेपनि कलेजोको समस्या भएको व्यक्तिलाई प्यारासिटामोल दिन मिल्दैन । औषधीका यस्ता सुक्ष्म विषय छन्, जसलाई फर्मासिस्टले हेर्नुपर्ने हुन्छ । त्यसैले अदक्ष फार्मासिस्टले दिने सेवाले कस्तो असर पार्छ । रोग अनुसारको फरक फार्मासिस्ट हुन्छ ? फार्मेसीका धेरै विधाहरु हुन्छन्, रोग अनुसारको फरक फार्मासिस्ट त हुदैनन् ज्ञान त विज्ञता फरक हुनसक्छ । विदेश तथा नेपालमा पनि के छ भने फार्मेसी नपढेकालाई औषधी बेच्ने लाइसेन्स दिन बन्देज गरिएको छ, पहिला ३० दिनको तालिम उपरान्त सो अनुमति दिने गरिन्थ्यो । यही विज्ञता पनि एउटा कारण रह्यो जसको कारणले यो व्यवस्था बन्द गर्नुपर्ने भयो किन कि ३० दिनको तालिमले बैज्ञानिक ज्ञान पुग्ने देखिँदैन । समाजमा के एउटा छाप परेको छ भने औषधी व्यापार भनेको नाफामुलक व्यापार हो । यसो हुँदा चार वर्ष पढेर एउटा औषधी पसल सञ्चालन गर्न मिल्छ भन्ने हेतुले पनि फार्मेसी पढ्ने गरेको पाइयो । यो भनेको सामुदायिक फार्मेसी हो । त्यही विषयलाई अस्पतालमा स्थापित गर्यो भने अस्पताल फार्मेसी भयो । तर, ती पÞmार्मसिस्टले अर्बुद रोग, मुटु रोग जस्ता विषेश जटिल रोगमा प्रयोग हुने विशेष किसिमका औषधीको लागि विशेषतः काम गर्ने पनि हुन्छन् । तिनीहरुलाई विशेषज्ञ पÞmार्मासिस्ट पनि भन्ने गरिन्छ । फार्मासिस्टले फार्मेसी लाइसेन्स प्राप्त गर्न के गर्नुपर्छ ? प्रणाली वा सिस्टमको कुरा गर्दा नेपालमा विस्तारै लागू हुँदैछ । नेपाल फार्मेसी काउन्सिल र मेडिकल एजुकेसन काउन्सिलले यस्ता विषमा संवेदनशील भएको देखिन्छ । फार्मेसी पढ्नुभन्दा पहिले प्लसटु गरिसकेपछि विद्यार्थीले भर्नाको लागि एम ई सी को भर्ना परीक्षा दिनुपर्छ । फार्मेसी पढ्न पाउने नपाउने भन्ने विषयमा दिइएको परीक्षामा पास भइसकेपछि मात्र फार्मेसी पढ्न पाइन्छ । त्यसपछि फार्मेसी पढेर पास भइसकेपछि फार्मेसी काउन्सिलको परीक्षा दिनुपर्छ । काउन्सिलले लिएको रेजिस्ट्रेसन परीक्षा पास भए पछि बल्ल के काम गर्न चाहेको हो त्यो काम गर्न सकिन्छ । तर, औषधी पसल खोल्नुपर्यो भने औषधी व्यवस्था विभागमा काउन्सिलले दिएको सर्टिफिकेटको आधारमा औषधि व्यवस्था विभागबाट अर्को लाइसेन्स प्राप्त गर्नुपर्छ । त्यसपछि औषधीको व्यापार गर्न पाइन्छ । यस बाहेक आन्तरिक राजस्व कार्यालयमा तथा सम्बन्धित अन्य निकायमा पनि दर्ता गर्नु पर्ने हुन सक्छ । औषधी पसल खोल्ने नै बढी किन ? हो, नेपालमा फार्मेसी पढेकाहरूको ध्यान लाइसेन्स प्राप्त गरेर औषधी पसल सञ्चालन गर्ने भन्नेमा बढी छ । थोरै लगानीमा प्रतिष्ठित र नाफामुलक तथा सजिलो व्यवसाय भएकोले हुनसक्छ, यो आकर्षणको मुख्य कारण हुनसक्छ । नेपालमा फार्मेसी पढेकाकोलागि थुप्रै सम्भावना छ किनकि नेपालमा जनशक्ति आवश्यकताको आधारमा फार्मासिष्टको दरबन्दी निकै कम छ । सरकारले आज नभएपनि भोलि यो आवश्यकता पुर्ति गर्न दरबन्दी ल्याउनै पर्छ । यसो हुँदा अहिले हामीसँग जतति जनशक्ति छ । पछि त्यो भन्दा बढी आवश्यकता पर्न सक्छ । सेवासुविधाको हिसावले देश बाहिर राम्रो छ र अवसर पनि धेरै छ । नेपालमा फार्मेसी पढेका विद्यार्थी बेरोजगार अहिले पनि छैनन् तर सेवा सुविधा निकै कममा काम गर्नुपर्ने बाध्यता छ । फार्मेसी शिक्षालाई राम्रो बनाउन तीन वटा पक्षले काम गर्नुपर्छ । नेपाल सरकार, सम्बन्धित संस्था र विद्यार्थी । सरकारले शिक्षा सँग सम्बन्धित ऐन, नियम कानुन बनाएको छ । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन । अर्को, विद्यार्थीलाई फार्मेसी शिक्षा दिइरहेका शैक्षिक संस्थाहरूले आवश्यक संसाधनसहित दक्ष शिक्षकको माध्यमबाट पठन पाठन गराउने व्यवस्था मिलाईदिनु पर्यो । सम्भव भएसम्म एउटा कलेजले एउटा एउटा बिषय विज्ञता अध्यापनको पहिचान बनाउनु पर्छ । विषयविज्ञता पढाइले नया क्षेत्रसँगै पहिचान बनाउन पनि मद्दत गर्छ ।
देशभरका ३० बढी पालिकामा ‘बजेट होलिडे’
काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने कानुनी प्राबधान छ । सोही ऐनको दफा ७१ को उपदफा (१) र (५) अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, असार मसान्तभित्र देशभरका ३० भन्दा बढी पालिकाले बजेट ल्याउन सकेनन् । असार मसान्तभित्र बजेट ल्याएर पनि केही पालिकाले नगरसभाबाट पारित गर्न सकेनन् । यसरी बजेट ल्याउन नसक्ने मुलुकभरिका ३० बढी स्थानीय तहमा ‘बजेट होलिडे’ भएको छ । बजेट होलिडेमा गएसँगै ती पालिकाहरुले साउनबाट एक रुपैयाँ पनि खर्च गर्न नमिल्ने भएको छ । १२ गाउँपालिकाले ल्याउन सकेनन् बजेट हाल मूलुकभर ४६० गाउँपालिका छन् । ४६० गाउँपालिकामध्ये ४४८ अर्थात ९७ प्रतिशत गाउँपालिकाहरुले असार मसान्तसम्ममा बजेट पारित गरेको गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए । उनका अनुसार बाँकी १२ वटा पालिकाले भने बजेट पारित गर्न सकेनन् । असार मसान्तसम्म बजेट ल्याउन नसक्ने पालिकाहरुमध्ये अधिकांश मधेश प्रदेशका रहेका छन् । मधेश प्रदेशका ८ पालिकाले असारमसान्तभित्र बजेट ल्याउन नसकेका हुन् । ती पालिकाहरुमा धनुषा जिल्लामा रहेको औरही गाउँपालिका, पर्सा जिल्लामा रहेको धोबिनी गाउँपालिका, पर्साकै बिन्दाबासिनी गाउँपालिका रहेका छन् । त्यस्तै रौतहटका दुर्गा भगवाती गाउँपालिका र यमुनामाई गाउँपालिकाले आगमी आवको लागि बजेट ल्याउन सकेनन् । यसैगरी सप्तरीका अग्नीसाइर कृष्णासवरन गाउँपालिक र सर्लाहीका बसबारिया गाउँपालिका बजेट होलिडेमा गएका छन् । असार मसान्तभित्र बजेट स्वीकृत गर्न नसकेका बागमतीका दुई गाउँपालिका परेका छन् । ती पालिकाहरुमा धाधिङ जिल्लाको खनियाबास गाउँपलिका र गल्छी गाउँपालिका हुन् । त्यस्तै लुम्बिनी प्रदेशअन्र्तगत कपिलवस्तुको शुद्धोदन गाउँपालिका र सुदुरपश्चिम तुर्माखाँद गाउँपालिकाले बजेट ल्याउन सकेनन् । धरान उपमहानगरपालिकासहित १२ भन्दा बढी नगरमा ‘बजेट होलिडे’ धरान उपमहानगरपालिकाले असार मसान्तभित्रमा बजेट ल्याउन सकेन । जनप्रतिनिधिबीचको विवादले धरानमा बजेट पारित हुन नसकेको हो । त्यस्तै इटहरी उपमहानगरपालिकाले पनि बजेट ल्याउन नसक्दा बजेट होलिडेमा गएको छ । बजेट होलिडेमा गएका अधिंकाश नगरपालिकाहरु पनि मधेश प्रदेशकै रहेका छन् । नेपाल नगरपालिका संघका अनुसार असार मसान्सभित्र बजेट ल्याउन नसकेकका ६ वटा नगरपालिका मधेश प्रदेशका रहेका छन् । ती पालिकाहरुमा सिराहको सिराहा नगरपालिका रहेको छ । धनुषाका तीन नगरपालिका ‘बजेट होलिडे’ मा गएका छन् । ती पालिकाहरुमा नगराइन नगरपालिका, कमला नगरपालिका र हंसपुर नगरपालिका हुन् । सप्तरीका तीन नगरपालिकाको बजेट होलिडे हुने भएको छ । डाक्नेश्वरी नगरपालिका, हनुमान नगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाले असार मसान्तभित्र बजेट ल्याउन नसकेको हो । यसैगरी महोत्तरीका औरही नगरपालिकाले पनि बजेट ल्याउन सकेको छैन । रौतहटका दुई नगरपालिकाको पनि बजेट होलिडे हुने भएको छ । देवही गोनाही नगरपालिका र फतुवा विजयपुर नगरपालिकाले असार मसान्तभित्र बजेट स्वीकृत गर्न सकेनन् । बाराको निजगढ नगरपालिकाले पनि आगामी आवको लागि बजेट ल्याउन सकेन । त्यस्तै पर्सा बहुदरमाई नगरपालिकाको पनि बजेट आउन सकेको छैन । बागमती प्रदेशका २ नगपालिकाले बजेट ल्याउन सकेनन् । ललितपुरको गोदावरी नगरपालिका र चितवनको राप्ती नगरपालिकाको बजेट होलिडे हुने भएको छ । कोशी प्रदेशको कटारी नगरपालिका र म्याङलुङ नगरपालिकाले पनि असार मसान्तभित्रमा बजेट ल्याउन सकेको छैन । बजेट होलिडेमा गएपछिको प्रभाव गाउँपालिका तथा नगरपालिकाले समयमै बजेट ल्याउन नसक्ने विषय नौलो होइन । गत वर्ष पनि धेरै वटा गाउँपालिका र नगरपालिका बजेट होलिडेमा गएका थिए । गाउँपालिका राष्ट्रिय महासंघकाले तोकेको समयक्षेत्रभित्र बजेट ल्याउन नसक्नुमा अध्यक्ष अस्वस्थ भई कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशाशकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबीचको आपसी द्वन्द्वलगायत कारण औंल्याएको छ । संघले समयमै बजेट पारित गर्न नसकेका पालिकाहरुलाई तत्काल पारित गरी स्थानीय सरकारको सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाई वित्तीय अनुशान कायम गर्न निर्देशन दिएकोे कार्यकारी निर्देशक प्याकुरलेले बताए । पूर्व मूख्यमन्त्री एवं स्थानीय शुसासन विज्ञ डोरमणि पौडेल राजनीतिक, आन्तरिक कलह, जनप्रतिनिधिहरुबीचको आपसी बेमेलगायत कारणले समयमै बजेट ल्याउन नसकेको हुन सक्ने विचार राख्छन् । ऐनले नै असार मसान्तभित्र बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था भएपनि पालिकाहरुले भने ऐनको नै उल्लंघन गरेको उनको भनाई छ । यसरी समयमै बजेट नल्याउने पालिकाहरुलार्ई सरकारले कारबाहीको व्यवस्था गरे आगागी दिनमा बजेट होलिडेमा जाने अवस्थामा न्यूनीकरण हुँदै जाने उनको तर्क छ । उनका अनुसार सकारले समयमै बजेट नल्याउने पालिकालाई अनुदान नै रोक्का गर्नेलगायत केन्द्रबाट जाने कुनै पनि सहयोग रोकदिने हो भने यस्तो समस्या समाधान भएर जान्छ । स्थानीय शुसासन विज्ञ पौडेल बजेट होलिडेमा गएपछि कुनै पनि खर्च गर्न नपाउने र यसले पालिकाको हरेक गतिविधिमा प्रत्यक्ष असर पुग्ने बताउँछन् । यसले बेरुजु पनि बढ्ने उनको भनाइ छ ।
रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ । रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक रुपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार बनाएको हो । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री विपिन आचार्यले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सोही कार्यविधिका आधारमा उम्मेदवार छनोट गरिने जानकारी दिए । ‘रुपन्देहीलाई प्रस्थानबिन्दु मानेर पार्टीले उम्मेदवार छनोट विधि पारित गरेका हो,’ उनले भने, ‘पार्टीले छान्ने उम्मेदवार पार्टीको गतिविधिमा संलग्न, पदाधिकारीदेखि सदस्यहरुले रुचाएको र क्षमतावान व्यक्ति जसले देश र जनताका लागि योगदान दिन सक्षम हुनुहुन्छ, यस्तो उम्मेदवारलाई छनोट गर्ने गरी कार्यविधि बनाएका हौँ ।’ पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारको स्वीकारत्व, व्यक्तित्व र क्षमता सधै हाबी हुने स्पष्ट पारे । रास्वपाले पार्टी स्थापना भएयता आन्तरिकरुपमा प्रारम्भिक निर्वाचन विधिबाट उम्मेदवार चयन गर्दै आएको बताउँदै आएको छ । सोही विधिमा थप परिमार्जन र परिस्कृत गर्दै नयाँ कार्यविधि बनाइएको जनाइएको छ । ‘लिडरसिप एकेडेमीमा २५ प्रतिशत, पोलिटिकल प्राक्सेमिटीमा २० प्रतिशत, समावेशितामा पाँच प्रतिशत र प्रारम्भिक निर्वाचनको नतिजामा ५० प्रतिशत अङ्कभार निर्धारण गरिएको छ,’ प्रवक्ता झाले भने । पार्टीले एक साताभित्र उम्मेदवार छनोटको तालिका सार्वजनिक गर्ने बताएको छ ।
रसुवागढीमा बेलिब्रिज राख्न नेपाल-चीन सहमत, शुक्रबारदेखि सडक खुल्ने
काठमाडौं । बाढीले क्षति पुर्याएको रसुवागढी नाकास्थित मितेरी खोलामा बेलिब्रिज राख्न नेपाल र चीन सरकारबीच सहमति भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा दसैँअघि नै बेलिब्रिज जडान गर्ने सहमति जुटेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँगको छलफल सकारात्मक रहेको र दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको जानकारी दिए । असार २४ गते भोटेकोसी नदीमा आएको बाढीले स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बगाएपछि ९ दिनदेखि चीनसँगको व्यापारिक नाका ठप्प छ । बाढीले करिब १.१ किलोमिटर सडकमा क्षति पुर्याउँदा टिमुरे र रसुवागढीबीचको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । हाल उक्त सडक मर्मतको काम अन्तिम चरणमा पुगेको र शुक्रबारदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको सडक विभागले जनाएको छ । सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेका अनुसार लिङलिङको एक स्थानमा करिब ५० मिटर सडकखण्ड जोखिमपूर्ण अवस्थामा छ । ‘माथि पहिरो र तल खोलाको कटानले गर्दा उक्त स्थानमा बाटो खोल्न बाँकी छ,’ उनले भने, 'अन्यत्र सबै ठाउँमा एकतर्फी ट्र्याक खोलिसकिएको छ ।’ उनका अनुसार उक्त ठाउँमा अहिले ७ जनाको प्राविधिक टोली स्थलगत रूपमै खटिएको छ भने तीनवटा एक्स्काभेटर प्रयोग गरेर बाटो खुलाउने काम तीव्र गतिमा भइरहेको छ । मितेरी खोलाको पुल पुनर्निर्माणका लागि नेपालतर्फबाट सामग्री लैजान तत्काल सम्भव नभएकाले चीनतर्फबाटै सामग्री ल्याएर निर्माण गर्नेबारे दुई देशबीच समन्वय भइरहेको छ । सडक पूर्ण रूपमा खुलेपछि मात्र कस्ता सवारीसाधन सञ्चालन गर्न सकिन्छ भन्ने यकिन हुने बताइएको छ ।
लिलाम सम्पत्ति खरिद गर्न चाहनुहुन्छ ? एनआईसी एशिया बैंकको डिजिटल पोर्टलमा हेर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको स्वामित्वमा रहेका बैंकिङ तथा गैर-बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ । यस पोर्टलमार्फत बैंकले लिलाम बिक्रीमा ल्याइएका सम्पत्तिहरूको विवरण जस्तै कित्ता नम्बर, क्षेत्रफल, सम्पत्तिको फोटो, नक्सा, र लोकेशन (गुगल म्यापसहित) सहज रूपमा हेर्न सकिने व्यवस्था गरिएको छ । लिलाम सूचना प्रकाशनमा रहेको त्तच् कोड स्क्यान गरेर सो पोर्टलमा पहुँच गर्न सकिनेछ । त्यहाँबाट इच्छुक व्यक्तिले सम्पत्तिबारे थप जानकारी आवश्यक भएमा म्यासेज बक्समा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना लेखी सोधपुछ गर्न सक्ने सुविधा समेत राखिएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमा नियमित रूपमा लिलामसम्बन्धी सम्पूर्ण सूचना अद्यावधिक गरिनेछ। यसले बैंकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति तथा धितोमा रहेको सम्पत्तिहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि अत्यन्त उपयोगी र पारदर्शी माध्यमको रुपमा काम गर्ने बैंकको विश्वास छ । एनआईसी एशिया बैंकले डिजिटल माध्यमको प्रयोगद्वारा सम्पत्ति खरिद–बिक्री प्रक्रिया थप प्रभावकारी, पहुँचयुक्त र सहज बनाउन उक्त पहल सार्वजनिक गरेको हो ।
भूमि मन्त्री अधिकारीको स्पष्टिकरण : घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यका लागि घुस लिएको बारे सार्वजनिक अडियो आफूसँग सम्बन्धीत नभएको स्पष्टिकरण दिएका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरु आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको जिकिर गरेका हुन् । उनले कर्मचारी सरुवा र जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्य आफूले कुनैपनि घुस नलिएको जिकिर गरे । विचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पुरा गर्नको लागि चरित्र हत्या गरिएको जिकिर गरे । उनले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नको लागि मन्त्रालय आएपनि आफूले अस्वीकार गरेको पनि उल्लेख गरे । उनले भने, ‘मन्त्रालय र मसँग जोडिएर आएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोमा बोल्ने व्यक्तिहरु मेरो सरोकारवाला छैनन् । सञ्चारमाध्यमले यसबारे गम्भीर भइदिनुहोला । जग्गाजमिन र सरुवाको विषयमा उजरी आएको सम्बन्धमा तत्काल हुन्छ नभए नियमित तरिकाले जान्छ । मन्त्रीमा भ्रष्टाचार गरेर खायो भनेर आएको छ । मेरो छोराको नाम पनि छन् । त्यहाँ मेरो चरित्र हत्या गर्न गरेको कुप्रयास हो । मैले भनेको नमानेपछि आफ्नो अभिष्ट पुरा गर्नको लागि मेरो र मेरो परिवारको चरित्र हत्या गर्ने प्रयास गरिएको छ ।’ मन्त्री अधिकारीमाथि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग घुस लिएको दाबीसहितको अडियो सार्वजनिक भएको थियो । मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख लिएको सुनिन्छ । यसअघी तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समेत मन्त्री अधिकारीको नाम बोलेका थिए ।
आजदेखि धरहरा १२ घण्टा खुल्ने, बिदाको दिन पनि खुला रहने
काठमाडौं । आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । आजदेखि धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि खुला रहने उल्लेख गरे । यसअघि दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिँदै आइकामा आजदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने उनले जानकारी दिए । 'अब दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौंँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला रहनेछ', प्रवक्ता नारायण भने । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनःनिर्माणपछि गत असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा गरिएकामा सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको गुनासो गरेसँगै समयावधि थपिएको उनको भनाइ छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढाएर दुई सिफ्टमा सञ्चालनको तयारी गरिएको मन्त्रालयले जनाएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा पुनःनिर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट रु चार करोड ३३ लाख ९३ हजार ६५० राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले जनाएको छ । इकाईअन्तर्गत रहेर सञ्चालन भइरहेको धरहरामा हालसम्म दुई लाख ३७ हजार ६५ जनाले अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश-२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालन भइरहेको छ ।