सानिमा बैंक र दराजबीच सहकार्य : ‘महाबचत बजार २०८२’ योजनामा छुट
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग महाबचत बजार २०८२ योजनामा छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०८२ श्रावण २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।
आर्थिक मन्दीले स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो
स्याङ्जा । जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा पर्यटन तथा उद्योग कार्यालयमा नयाँ उद्योग दर्ता हुनेभन्दा खारेजी हुनेको सङ्ख्या धेरै रहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार आव २०८१/८२ मा १७७ नयाँ उद्योग दर्ता भएकामा २६३ वटा खारेजी भएका छन् । वाणिज्यतर्फ सोही आवमा १४२ वटा नयाँ दर्ता भएकामा १९७ वटाको दर्ता खारेजी गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा २५० वटा नयाँ उद्योग दर्ता भएका थिए । सोही आवमा २२६ वटाको दर्ता खारेजी भएको थियो । वाणिज्यतर्फ १८५ वटा नयाँ दर्ता हुँदा २३४ वटाको दर्ता खारेजी भएको उनले जानकारी दिए । विगतका तुलनामा पछिल्ला वर्षमा व्यापार व्यवसाय घटेकाले उद्योग तथा व्यापार व्यवसाय दर्ता खारेजी गर्न निवेदन बढी आएको जनाइएको छ । खारेजी भएकामा बढी कृषि तथा पशुपालन फार्म, खाजा घर, रेष्टुरेन्ट, कुटानीपिसानीका उद्योग, फेन्सी पसल छन् । अनुदान लिन फार्म सञ्चालन गर्ने र अनुदान लिएपछि फार्म बन्द गर्ने पनि देखिएका छन् । उद्योग तथा व्यापार ब्यवसायको दर्ता खारेजी हुनु अर्थतन्त्रका दृष्टिले राम्रो सङ्केत नभएको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठ बताउँछन् । पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीका कारण पनि उद्योग तथा व्यापार व्यवसायमा कठिनाई भएकाले खारेजी गर्ने बढेका हुनसक्ने उनको भनाइ छ । आव २०८१/८२ मा विविध शीर्षकबाट पर्यटन तथा उद्योग कार्यालयले ५५ लाख ५५ हजार ७७० राजस्व सङ्कलन गरेको थियो । आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा २२ लाख बढी राजस्व सङ्कलन भएको हो । नवीकरण गर्न एक वर्ष नाघेका फाइल जरिवाना भुक्तानी गरेर नवीकरण गर्न पाउने नियम आएसँगै गत आवमा राजस्व बढेको कार्यालयले जनाएको छ । रासस
देश जटिल मोडमा छ, भ्रष्टाचार बाहेक केही पनि छैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देश जटिल मोडमा रहेको बताएका छन् । बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको उल्लेख गरे । अहिलेको सरकारले जहाँ टेक्छ त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाए । उनले वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको आरोप लगाउँदै सम्पूर्ण रुपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको बताए । जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्ने बताए । अध्यक्ष दाहालले भने,’देश अहिले संविधानको दृष्टिकोणले, गणतन्त्रको दृष्टिकोणले, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ । अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन । हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी लाग्नुपर्छ ।’ अध्यक्ष दाहालले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरुविरुद्ध सफलता हात पार्नसक्ने बताए ।आफूहरुले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरित गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी दिए ।
केरूङमा अलपत्र १२ सय नेपालीलाई स्वदेश फर्काइँदै
रसुवा । गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ । केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ ।
आइएमई-खल्ती मर्जर : सीईओ बने खड्का, यस्तो बन्यो सञ्चालक समिति
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि (खल्ती)ले बिहीबार एकीकृत कारोबार गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै दुवै कम्पनीले एक भएको घोषणा गरेका हुन् । अब दुवै कम्पनी मर्जर भएपछि खल्ती बाई आइएमईको नामबाट कारोबार सुरु भएको छ । लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । दुई प्रमुख डिजिटल वालेट मर्ज हुने नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो पटक हो । एकीकरणपछि मुख्य कार्यालय काठमाडौंको पानी पोखरीमा रहनेछ । मर्जर पश्चात् १ करोड २७ लाखभन्दा बढी प्रयोगकर्ता हुने बताइएको छ । नयाँ कम्पनीको लाइसेन्स नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले हस्तान्तरण गरेका छन् । नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का बनेका छन् । उनी खल्तीको पनि सीईओ नै थिए । डिजिटल वालेको व्यवसायमा खड्काले पृथक पहिचान बनाएका छन् । नयाँ कम्पनीमा सात जनाको सञ्चालक समिति बनेको छ । सञ्चालक समितिको अध्यक्ष कृष्ण प्रसाद शर्मा बनेका छन् भने सञ्चालकमा दिवाकर पौडेल, सिताराम थापा, प्रविन रेग्मी, अमित अग्रवाल, अर्बिन्द शाह र मनिष मोदी चयन भएका छन् । शर्मा आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष हुन् । उनले आइएमई पे र खल्ती बीचको मर्जरबाट बनेको आइएमई खल्तीले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने बताए । मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुगेको छ । आइएमई पेमा आइएमई ग्रुपको लगानी छ भने खल्तीमा वल्र्ड लिंक, त्रिवेणी ग्रुपको लगानी छ । आइएमई पेले विसं २०७४ असार ५ गते इजाजतपत्र (लाइसेन्स) पाएको थियो भने खल्तीले वि.सं २०७६ वैशाख २ गते पाएको हो ।
घुस काण्डको अडियो बाहिरिएपछि सहकारी मन्त्री अधिकारीले राखे पत्रकार सम्मेलन
काठमाडौं । घुस काण्डमा मुछिएपछि भूमी, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्ने भएका छन् । पछिल्लो समय मन्त्री अघिकारीले घुस मागेको भन्दै अडियो सार्वजनिक भएपछि उनले पत्रकार सम्मेलनको आयोजना गर्न पत्रकारलाई बोलाएका छन् । उनले बिहीबार दिउँसो तीन बजेका लागि पत्रकार सम्मेलन राखेका छन् । उनले आर्थिक वर्ष २०८८१/८२ मा आफू र आफ्नो मातहतको कार्यालयले गरेका उपलब्धिहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको बताएका छन् । घुस काण्डको अडियो बाहिरिएपछि उनले यसअघि संसदमा जनताका समस्या हल गर्ने कुरामा कुनै आरोप आए पनि आफू नडराउने बताएका थिए ।
११ खर्ब ७८ अर्ब राजस्व संकलन, एक खर्ब २० अर्ब वृद्धि
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो एक खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । उनले भने, ‘तयारी सुरु गरिसकेका छौं । चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।’ चालु आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य छ । आर्थिक वर्ष २०७१/०७२ मा चार खर्ब पाँच अर्ब, २०७२/०७३ मा चार खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा सात खर्ब २६ अर्ब, २०७५/०७६ मा आठ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो । त्यसैगरी २०७६/०७७ मा सात खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९र०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।
विपी राजमार्ग : साउनभर राति १२ घण्टा बन्द
काभ्रेपलाञ्चोक । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ । कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो । काठमाडौंबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि विपी राजमार्गमा साँझ ६:३० बजेदेखि विहान ५ बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म सोही समयमा सडक सञ्चालनमा रोक लगाइएको थियो । यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । बितेका एक हप्ताको समयमा बाढीपहिरोले करिब चार पटक उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा सडक अबरुद्ध भइसकेको छ । गतसाल असोजको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एक्तर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको छ । पूर्वीनेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ । रासस